सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

येशू ख्रीष्ट वास्तवमा को हुनुहुन्छ?

येशू ख्रीष्ट वास्तवमा को हुनुहुन्छ?

येशू ख्रीष्ट वास्तवमा को हुनुहुन्छ?

“यसरी जब उहाँ यरूशलेमभित्र पस्नुभयो, तब पूरै सहरमा हल्लीखल्ली मच्चियो र मानिसहरूले सोध्न थाले: ‘यिनी को हुन्‌?’ अनि भीडले यसो भन्‍न थाले: ‘यिनी गालीलको नासरतका येशू हुन्‌। प्रतिज्ञा गरिएको भविष्यवक्‍ता यिनी नै हुन्‌।’ ” —मत्ती २१:१०, ११.

येशू ख्रीष्ट a इस्वी संवत्‌ ३३ को वसन्त ऋतुमा यरूशलेम आइपुग्नुहुँदा किन यत्तिको हल्लीखल्ली मच्चियो? त्यस सहरका थुप्रैले येशू र उहाँले गर्नुभएका अचम्मका कामहरूबारे सुनेका थिए। तिनीहरू उहाँको बारेमा अरूसँग कुरा गर्थे। (यूहन्‍ना १२:१७-१९) आफ्नो माझमा भएको मानिसले शताब्दियौंसम्म, आज हाम्रो समयसम्मै सारा संसारलाई प्रभाव पार्नेछन्‌ भनेर त्यस भीडले सोचेकै थिएन!

येशूले मानव इतिहासमा अत्यन्तै गहिरो प्रभाव पार्नुभयो। यसका केही उदाहरण विचार गर्नुहोस्‌।

▪ संसारका थुप्रै भागमा प्रायजसो प्रयोग गरिने क्यालेन्डर येशूको जन्म भएको भनी मानिएको सालमा आधारित छ।

▪ संसारको लगभग दुई अरब मानिस अर्थात्‌ विश्‍वको कुल जनसङ्‌ख्याको करिब एकतिहाइ मानिसहरू आफूलाई ख्रीष्टियन भन्छन्‌।

▪ विश्‍वमा एक अरबभन्दा धेरै सदस्य भएको इस्लाम धर्मले येशूलाई “अब्राहाम, नूह र मोशाभन्दा पनि महान्‌ भविष्यवक्‍ता” भनेर सिकाउँछ।

▪ आज मानिसहरूले आफ्नो बोलीचालीमा येशूका प्रख्यात भनाइहरू फरक-फरक तरिकामा प्रयोग गरेको पाउँछौं। तीमध्ये केही यसप्रकार छन्‌:-

‘सहेर सानो, भनेर ठूलो हुँदैन।’मत्ती ५:३९.

‘अरूको आङको जुम्रा देख्ने, आफ्नो आङको भैंसी नदेख्ने।’मत्ती ७:३.

‘दुई नाउमा खुट्टा हालेर पार तरिन्‍न।’मत्ती ६:२४.

‘हीराको मोल कीराले जान्दैन।’मत्ती ७:६.

‘आफू भलो त जगत्‌ भलो।’मत्ती ७:१२.

‘अघि सम्झे सदा सुखी, पछि सम्झे सदा दुःखी।‘लूका १४:२८.

येशूले मानव इतिहासमा प्रभाव पार्नुभयो भन्‍ने कुरामा कुनै शङ्‌का छैन। तैपनि उहाँबारे मानिसहरूको फरक-फरक धारणा छ। त्यसैले तपाईंलाई लाग्ला, ‘येशू ख्रीष्ट वास्तवमा को हुनुहुन्छ?’ येशू कहाँबाट आउनुभयो, उहाँले कसरी जीवन बिताउनुभयो र उहाँले किन आफ्नो जीवन दिनुभयो भनेर बाइबलले मात्र बताएको छ। उहाँबारे यी विषयमा साँचो कुरा थाह पाउनुभयो भने यसले तपाईंको जीवनमा गहिरो प्रभाव पार्न सक्छ— अहिले र भविष्यमा पनि। ( w11 -E 04/01)

[फुटनोट]

a नासरतका यी भविष्यवक्‍ता “येशू” भन्‍ने नामको अर्थ हो, “यहोवा उद्धारक हुनुहुन्छ।” “ख्रीष्ट” शब्द एउटा पदवी हो, जसको अर्थ “अभिषिक्‍त जन” भन्‍ने हुन्छ र यसले येशू एउटा विशेष ओहदाको लागि परमेश्‍वरद्वारा अभिषिक्‍त वा नियुक्‍त व्यक्‍ति हुनुहुन्थ्यो भनी बुझाउँछ।