सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यो संसारको शासक वास्तवमा को हो?

यो संसारको शासक वास्तवमा को हो?

यो संसारको शासक वास्तवमा को हो?

आपराधिक गिरोहका नाइकेहरूलाई सायद तपाईंले भेट्‌नुभएको छैन होला। के त्यसको मतलब तिनीहरू छँदै छैनन्‌ त? आपराधिक गिरोहका नाइकेहरू आफ्नो चिनारी लुकाउन वा आफू झ्यालखानामा परेको अवस्थामा त्यहींबाट आफ्नो धन्धा चलाउन खप्पिस हुन्छन्‌। लागूपदार्थको ओसारपसार, वेश्‍यावृत्तिको सञ्जाल, मानव बेचबिखनजस्ता कुराहरू समाचारको मुख्य पृष्ठमा छापिएको देख्छौं। यसले तिनीहरूको गतिविधिको कुप्रभाव र दुष्परिणाम अनि ती नाइकेहरूको अस्तित्वबारे हामीलाई याद दिलाउँछ। समाजमा तिनीहरूको प्रभावलाई विचार गर्दा त्यस्ता नाइकेहरू साँच्चै छन्‌ भनेर प्रस्ट हुन्छ।

परमेश्‍वरको वचन बाइबलले सैतान वास्तविक व्यक्‍ति हो भनी प्रकट गर्छ। त्यसले शक्‍तिशाली आपराधिक गिरोहका नाइकेले जस्तै “झूटा चमत्कारहरू” र “हरकिसिमका खराबी अनि छल”-मार्फत आफ्नो कुइच्छा पूरा गर्छ। भनौं भने, त्यसले “आफूलाई ज्योतिर्मय स्वर्गदूतको भेषमा परिवर्तन गर्छ” भनी बाइबल बताउँछ। (२ थिस्सलोनिकी २:९, १०; २ कोरिन्थी ११:१४) दियाबलको प्रभावले त्यसको अस्तित्वलाई प्रमाणित गर्छ। तर धेरैजसो मानिस अदृश्‍य दुष्ट व्यक्‍तिको अस्तित्व स्वीकार्न गाह्रो मान्छन्‌। बाइबलले दियाबलबारे के भन्छ भनी गहिरिएर केलाउनुअघि थुप्रैलाई दियाबल वास्तविक व्यक्‍ति हो भनी स्वीकार्न गाह्रो बनाउने बाधा-अड्‌चन र गलत विश्‍वास के-कस्ता छन्‌, त्यो हेरौं।

◼ “एक जना मायालु भगवान्‌ले दियाबललाई सृष्टि गर्न सुहाउँछ र?” बाइबलले भगवान्‌ असल र त्रुटिरहित हुनुहुन्छ भनी सिकाउँछ। त्यसैले उहाँले दुष्ट, खराब र क्रूर व्यक्‍ति सृष्टि गर्नुभयो भन्‍ने कुरा बाइबलसित पटक्कै मेल खाएजस्तो देखिंदैन। सत्य कुरा के हो भने भगवान्‌ले त्यस्तो व्यक्‍ति सृष्टि गर्नुभयो भनी बाइबल बताउँदैन। बरु भगवान्‌को विषयमा बाइबल यसो भन्छ: “उहाँनै चटान हुनुहुन्छ। उहाँको काम सिद्ध छ, किनकि उहाँका सबै काम न्यायसंगत छन्‌। परमेश्‍वर विश्‍वासयोग्य र अधर्मविहीन, न्यायी र सत्य हुनुहुन्छ।”—व्यवस्था ३२:४; भजन ५:४.

हामीले विचार गर्नुपर्ने बुँदा हो, भगवान्‌ले बनाएको त्रुटिरहित व्यक्‍तिले त्रुटिपूर्ण काम गर्न सक्छ र? भगवान्‌ले आफ्नो सृष्टिलाई रोबोटजस्तो बनाउनुभएन। बरु तिनीहरूलाई स्वतन्त्र इच्छा दिनुभयो। त्यसैले तिनीहरूसित छनौट गर्ने क्षमता छ। यसर्थ त्रुटिरहित बुद्धिमान्‌ सृष्टिले असल या खराब गर्ने छनौट गर्न सक्छ।

त्यसैले भगवान्‌ले आफ्नो सृष्टिलाई सही वा गलत काम गर्ने स्वतन्त्रता दिनुहुन्छ तर अर्कोतर्फ तिनीहरूले गलत काम गर्न चाहेमा तिनीहरूलाई रोक्नुहुन्छ भन्‍ने सोचाइ मेल खाँदैन। स्वतन्त्र इच्छाको दुरुपयोगबारे येशूले दियाबललाई सङ्‌केत गर्दै यसो भन्‍नुभयो: “त्यो सत्यमा अडिग रहेन।” (यूहन्‍ना ८:४४) यो वाक्यांशले स्पष्टसित देखाउँछ कि पछि गएर दियाबल बनेको व्यक्‍ति सुरुमा “सत्यमा अडिग” त्रुटिरहित अदृश्‍य व्यक्‍ति थियो। a यहोवाले सही वा गलत गर्ने छनौट गर्न स्वतन्त्र व्यक्‍तिहरू सृष्टि गर्नुभयो किनभने उहाँ तिनीहरूलाई माया र भरोसा गर्नुहुन्छ।—पृष्ठ २६ को   “के त्रुटिरहित व्यक्‍ति त्रुटिपूर्ण हुन सक्छ?” भन्‍ने पेटी हेर्नुहोस्‌।

“दियाबल परमेश्‍वरको सेवक हो” बाइबलको अय्यूबको किताब पढ्‌दा कसै-कसैलाई यस्तै लाग्न सक्छ। एउटा बाइबल टिप्पणीअनुसार दियाबल “पृथ्वीमा चारैतिर घुमफिर गर्दै” थियो भन्‍ने वाक्यांशले प्राचीन समयका फारसी गुप्तचरहरूको भूमिकालाई बुझाउँछ, जो यताउता यात्रा गरेर राजालाई रिपोर्ट गर्न हाजिर हुन्थे। (अय्यूब १:७) यदि दियाबल साँच्चै परमेश्‍वरको सेवामा खटिएको गुप्तचर हुँदो हो त त्यसले “पृथ्वीमा चारैतिर घुमफिर गर्दै आएको” भनी परमेश्‍वरलाई किन बताउनुपर्थ्यो र? अय्यूबको विवरणले त्यसलाई परमेश्‍वरको समर्थकको रूपमा नभई सैतान अर्थात्‌ “विरोधी” भनेर चित्रण गरेको छ। (अय्यूब १:६) त्यो साँच्चै परमेश्‍वरको मुख्य शत्रु हो। त्यसोभए दियाबल परमेश्‍वरको सेवामा हाजिर छ भन्‍ने धारणा कहाँबाट आयो त?

इस्वी संवत्‌ प्रथम शताब्दीतिरै यहूदी अप्रमाणित (एपोक्रिफल) किताबहरूले दियाबल परमेश्‍वरसित वादविवाद गरे तापनि उहाँकै इच्छाअनुसार चल्छ भनेर चित्रण गऱ्‍यो। इतिहासकार जे. बी. रसलले आफ्नो किताब मेफिस्टोफेलेस-मा प्रोटेस्टेन्ट सुधारवादी मार्टिन लुथरले दियाबलबारे व्यक्‍त गरेको धारणा लेखेका छन्‌। त्यो हो, मार्टिन लुथरले दियाबललाई परमेश्‍वरले “आफ्नो बगैंचामा प्रयोग गर्ने दाँते वा कुटो”-सित तुलना गरेका छन्‌। यो धारणाको तात्पर्यबारे रसल अझ यसो भन्छन्‌, “दाँतेले झार उखेल्छ” तर त्यो दाँते परमेश्‍वरकै पराक्रमी बाहुलीको नियन्त्रणमा हुन्छ र उहाँकै इच्छा पूरा गर्छ। लुथरको सिद्धान्तलाई पछि फ्रान्सेली धर्मविद्‌ जोन क्याल्भिनले स्वीकारे। परिणामस्वरूप, लुथरको सिद्धान्तले ख्रीष्टियन धर्ममा विश्‍वास गर्ने थुप्रैको न्यायसम्बन्धी धारणामा आघात पुऱ्‍यायो। मायालु परमेश्‍वरले खराब कुराहरू हुन दिनु मात्र होइन, खराब कुरा गर्ने इच्छा पनि गर्नु मिल्छ र? (याकूब १:१३) यो सिद्धान्तलगायत २० औं शताब्दीमा भएका बीभत्स घटनाहरूले गर्दा थुप्रै मानिस परमेश्‍वर र दियाबल दुवैलाई मान्दैनन्‌।

“दियाबल वास्तविक नभई दुष्टताको धारणा मात्र हो” दियाबललाई दुष्टताको धारणा मात्र ठान्‍ने हो भने बाइबलका कुनै-कुनै अंश बुझ्न असम्भव हुन्छ। उदाहरणको लागि अय्यूब २:३-६ को विवरणमा परमेश्‍वर कोसित कुराकानी गर्दै हुनुहुन्थ्यो? के उहाँ अय्यूबमा भएको दुष्टताको धारणासित कुरा गर्दै हुनुहुन्थ्यो वा सायद उहाँ आफैसित कुरा गर्दै हुनुहुन्थ्यो कि? साथै, परमेश्‍वरले अय्यूबको सद्‌गुणको बखान गर्नु तर त्यसको लगत्तै दुष्टताको धारणाबाट अय्यूबको परीक्षा गर्नु मिल्छ र? उहाँलाई यस्तो मनसाय राखेको आरोप लगाउनु भनेको उहाँ ‘केही अधर्म नभएको’ परमेश्‍वर नभई अव्यावहारिक हुनुहुन्छ भन्ठान्‍नु सरह हुनेछ। (भजन ९२:१५) तर त्यसको विपरीत परमेश्‍वरले अय्यूबलाई चोट पुऱ्‍याउनको लागि ‘आफ्नो हात पसार्न’ इन्कार गर्नुभयो। स्पष्ट छ, दियाबल दुष्टताको धारणा वा परमोश्‍वरको व्यक्‍तित्वको नराम्रो पक्ष होइन तर आफूलाई परमेश्‍वरको विरोधी बनाउने अदृश्‍य व्यक्‍ति हो।

संसारलाई वास्तवमा कसले शासन गरिरहेको छ?

आज धेरैलाई दियाबल छ भनी पत्याउनु पुरानो जमानाको कुराजस्तो लाग्छ। तर दुष्टताको क्रूर वास्तविकतालाई दियाबलको अस्तित्वबाहेक अरू केहीले पनि चित्तबुझ्दो जवाफ दिन सकेको छैन। भनौं भने, दियाबल छ भन्‍ने धारणालाई नकार्ने प्रयास गर्दा थुप्रै मानिस परमेश्‍वरलाई अनि सबै नैतिक स्तरलाई तिरस्कार गर्न पुगेका छन्‌।

“दियाबलको सबैभन्दा ठूलो धुर्त्याइँ भनेको आफ्नो अस्तित्व छैन भनी मानिसहरूलाई विश्‍वास गर्न लगाउनु हो” भनी १९ औं शताब्दीका कवि शार्ल-प्येर बडिलेरले लेखे। आफ्नो चिनारी लुकाएर दियाबलले वास्तवमा परमेश्‍वरको अस्तित्वबारे शङ्‌का उत्पन्‍न गराएको छ। यदि दियाबलको अस्तित्व छैन भने सबै दुष्टताको लागि परमेश्‍वर नै जिम्मेवार हुनुहुन्छ नि, होइन र? के दियाबलले चाहेको पनि मानिसहरूले यस्तै सोचून्‌ भन्‍ने होइन र?

आपराधिक गिरोहको नाइकेले जस्तै दियाबलले पनि आफ्नो उद्देश्‍य हासिल गर्न आफ्नो चिनारी लुकाउँछ। त्यसको उद्देश्‍य के हो? बाइबल यस्तो जवाफ दिन्छ: “विश्‍वास नगर्ने ती मानिसहरूमाथि परमेश्‍वरको प्रतिरूप, ख्रीष्टसित सम्बन्धित गौरवशाली सुसमाचारको ज्योति नचम्कोस्‌ भनेर यस युगको ईश्‍वरले तिनीहरूको दिमागलाई अन्धो तुल्याइदिएको छ।”—२ कोरिन्थी ४:४.

एउटा महत्त्वपूर्ण प्रश्‍नको जवाफ पाउन अझ बाँकी छ। सबै दुष्टता र दुःखकष्टको स्रोत, त्यो रहस्यमय नाइकेलाई परमेश्‍वरले के गर्नुहुनेछ? यसको जवाफ यसपछिको लेखमा पाउनेछौं। (w11-E 09/01)

[फुटनोट]

a परमेश्‍वरले दियाबलको विद्रोहलाई किन तुरुन्तै अन्त गर्नुभएन भनी बुझ्न यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? किताबको अध्याय ११ हेर्नुहोस्‌।

[पृष्ठ २५-मा भएको ठूलो अक्षरको क्याप्सन]

दियाबल को हो—परमेश्‍वरको सेवक कि उहाँको विरोधी?

[पृष्ठ २६-मा भएको पेटी/चित्र]

 के त्रुटिरहित व्यक्‍ति त्रुटिपूर्ण हुन सक्छ?

परमेश्‍वरले आफ्नो सृष्टिलाई त्रुटिरहित बनाउनुभयो तर तिनीहरूलाई दिइएको स्वतन्त्रताको सीमा थियो। आदम त्रुटिरहित सृष्टि गरिएको भए तापनि तिनी सृष्टिकर्ताले तोक्नुभएको सीमाभित्र रहनुपर्थ्यो। उदाहरणको लागि तिनले धुलोमुलो, गिट्टी वा काठ खाए भने त्यसको परिणाम भोग्नेथिए। तिनले गुरुत्वाकर्षण शक्‍तिलाई वास्ता नगरेर अग्लो भीरबाट हाम्फाले भने तिनी मर्नेथिए वा गम्भीर घाइते हुनेथिए।

त्यसरी नै, मानिस होस्‌ या स्वर्गदूत, परमेश्‍वरले सही र गलतबारे तोक्नुभएको सीमा उल्लङ्‌घन गर्ने जो कोहीले त्यसको नराम्रो परिणाम भोग्नुपर्छ। तसर्थ बुद्धिमान्‌ सृष्टिले आफ्नो स्वतन्त्र इच्छाको दुरुपयोग गर्दा ऊबाट गल्ती हुन र ऊ पापमा फस्न धेरै बेर लाग्दैन।—उत्पत्ति १:२९; मत्ती ४:४.