सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

किन यतिबिघ्न प्राकृतिक प्रकोप?

किन यतिबिघ्न प्राकृतिक प्रकोप?

किन यतिबिघ्न प्राकृतिक प्रकोप?

अखबार पढ्‌दा, टिभी हेर्दा वा रेडियो सुन्दा संसारमा कतै न कतै प्राकृतिक प्रकोप गएको समाचार त आइरहेकै हुन्छ। पहिलेको तुलनामा अहिले धेरै मानिस कुनै न कुनै विपत्तिको सिकार भइरहेका छन्‌। प्राकृतिक प्रकोपसम्बन्धी बेल्जियमको एउटा अनुसन्धान-केन्द्रको रिपोर्टअनुसार सन्‌ २०१० मा मात्रै ३७३ वटा विपत्ति गए, जसले गर्दा कम्तीमा २,९६,००० मानिसको ज्यान गयो।

विगतका केही दशकमा प्राकृतिक प्रकोपहरूको सङ्‌ख्या पनि बढेको छ। जस्तै:- सन्‌ १९७५ र १९९९ को बीचमा वर्षेनी कम्तीमा ३०० विपत्ति गए। तर सन्‌ २००० र २०१० को बीचमा भने विपत्तिको सङ्‌ख्या बढेर करिब ४०० पुग्यो। अरू थुप्रैलाई जस्तै तपाईंलाई पनि यस्तो लाग्छ होला, ‘आज यतिबिघ्न प्राकृतिक प्रकोप किन?’

मानिसहरूले यस्ता विपत्तिहरूलाई अक्सर “दैवको लीला” भन्छन्‌ तर विपत्तिसँग यसरी भगवान्‌को नाम जोडेर गलत अर्थ लगाउनु उचित होइन। आज थुप्रै मानिसले भोगेको विपत्तिको लागि भगवान्‌ दोषी हुनुहुन्‍न। तथापि, हाम्रो समयमा प्राकृतिक प्रकोपहरू हुनेछ भनेर बाइबलमा भविष्यवाणी गरिएको थियो। उदाहरणको लागि, मत्ती २४:७, ८ मा येशूले यसो भन्‍नुभएको पाउँछौं: “ठाउँ-ठाउँमा अनिकाल र भूकम्प हुनेछ। तर यी सब त प्रसववेदनाको सुरुवात मात्र हुन्‌।” येशूले किन यस्तो भविष्यवाणी गर्नुभयो र यसले हाम्रो जीवनमा कस्तो अर्थ राख्छ?

परमेश्‍वरका छोरा येशूले आफूलाई सोधिएको यस प्रश्‍नको जवाफ दिंदै हुनुहुन्थ्यो: “यस युगको आखिरी समयको चिन्ह के हुनेछ?” (मत्ती २४:३) उहाँले विभिन्‍न घटना हुनेछ भनेर बताउनुभयो, जसमा माथि उल्लिखित विपत्तिहरू पनि पर्छन्‌। त्यसपछि उहाँले यो महत्त्वपूर्ण कुरा बताउनुभयो: “जब यी कुराहरू भइरहेका देख्छौ, तब परमेश्‍वरको राज्य नजिकै छ भनेर जान।” (लूका २१:३१) त्यसकारण ती विपत्तिहरूले हाम्रो जीवनमा ठूलो अर्थ राख्छ। ती विपत्तिहरूले भविष्यमा हुने एकदमै महत्त्वपूर्ण परिवर्तनलाई सङ्‌केत गर्छ।

विपत्तिको कारण

थुप्रै मानिस अझै यस्तो प्रश्‍न सोध्छन्‌, ‘यदि विपत्तिको लागि भगवान्‌ दोषी हुनुहुन्‍न भने दोषी को त?’ यसको जवाफ पाउन बाइबलमा बताइएको यो महत्त्वपूर्ण सत्यलाई मानिलिनुपर्छ: “सारा संसार त्यस दुष्टको हातमा परेको छ।” (१ यूहन्‍ना ५:१९) यहाँ बताइएअनुसार संसारको दुःखद परिस्थितिको लागि भगवान्‌ दोषी हुनुहुन्‍न तर धेरैजसो अवस्थामा उहाँको शत्रु अर्थात्‌ “त्यस दुष्ट” दोषी छ, जसलाई बाइबलमा “दियाबल” पनि भनिएको छ।—प्रकाश १२:९, १२.

त्यस शत्रुले आफ्नो स्वार्थ मात्र पूरा गर्न खोज्ने हुँदा त्यसले मानिसहरूलाई कुनै मोलको ठान्दैन। सारा संसार त्यसको हातमा भएकोले मानिसहरूमा त्यस्तै स्वार्थी मनोभाव बढ्‌दै गएको छ। यही पक्षलाई जोड दिंदै बाइबलले “अन्तको दिनमा” मानिसहरू “आफैलाई मात्र प्रेम गर्ने, पैसालाई प्रेम गर्ने, धाक लगाउने, अहङ्‌कारी” हुनेछन्‌ भनेर भविष्यवाणी गरेको छ। (२ तिमोथी ३:१, २) त्यसकारण दियाबलले यस्ता अभक्‍त दुर्गुणहरूमा मौलाउने विश्‍वव्यापी प्रणाली सृजना गरेकोमा हामी छक्क मान्‍नुपर्दैन। त्यसले मानिसहरूलाई आफ्नै स्वार्थ पूरा गर्न प्राकृतिक स्रोतसाधनको दुरुपयोग गर्न उक्साउँछ, जसले गर्दा मानिसहरूले अक्सर हानि बेहोर्नुपर्छ।

आजको लोभी प्रणालीले गर्दा कसरी विपत्तिहरू बढ्‌दै छन्‌? विश्‍वभर भइरहेको विपत्तिबारे संयुक्‍त राष्ट्र सङ्‌घले यस्तो रिपोर्ट निकाल्यो: “बाढी आउने खतरा बढी भएको समतल भूभागमा मानिसहरूको बाक्लो बस्ती छ। साथै वन फँडानी र सिमसार क्षेत्रको नाशले गर्दा विपत्ति आइपर्दा वातावरणले थेग्नै नसक्ने अवस्था सृजना भएको छ। त्यसमाथि अर्को खतरा भनेको विश्‍वभरि भइरहेको जलवायु परिवर्तन र समुद्री सतहको वृद्धि हो। यी खतराको कारण हो, मानव गतिविधिले गर्दा वायुमण्डलमा फैलिएका विभिन्‍न ग्याँसको प्रदूषण।” हुन त यी “मानव गतिविधि” आर्थिक स्तर उकास्नको लागि गरिएको भनिए तापनि वास्तवमा संसारमा व्याप्त स्वार्थी र लोभी मनोभावको परिणाम हो।

मानिसहरूको गैरजिम्मेवारपूर्ण गतिविधिले गर्दा विपत्तिले ल्याउने क्षति झनै बढेको छ भनी अहिले थुप्रै विशेषज्ञले बुझेका छन्‌। वास्तवमा विपत्तिलाई नै चर्काउने प्रणालीलाई साथ दिएर मानिसहरू दियाबलको कठपुतली बनेका छन्‌।

मानिसहरूको गैरजिम्मेवारपूर्ण गतिविधिले गर्दा यतिबिघ्न विपत्तिहरू भएका हुन्‌ भनेर हामीले बुझ्यौं। कुनै-कुनै विपत्ति सायद जोखिमपूर्ण इलाकामा नभई अरू ठाउँमा गएको भए त्यत्तिको भयावह हुने थिएन। संसारका थुप्रै ठाउँमा प्राकृतिक प्रकोप गएको बेला ठूलो धनजनको क्षति हुनुका विभिन्‍न कारण छन्‌। त्यसमध्ये एउटा हो, दुष्ट मानिसहरूको स्वार्थपूर्ण गतिविधि। अर्को हो, संसारमा व्याप्त आर्थिक र सामाजिक असमानता, जसले गर्दा आम मानिस जोखिमपूर्ण इलाकामा बसोबास गर्न बाध्य भएका छन्‌। हुन त हो, केही मानिस विपत्तिको सिकार हुन्छन्‌। तर सबैले अरू कसैको गल्ती वा लापरबाहीले गर्दा विपत्ति भोग्ने होइनन्‌ किनभने “समय र अवसरले नै सबैलाई अधीन गरेको हुन्छ।”—उपदेशक ९:११.

कारण जेसुकै होस्‌, यदि तपाईं विपत्तिको सिकार हुनुभयो भने कसरी त्यसको सामना गर्न सक्नुहुन्छ? विपत्ति आइपर्दा कसरी त्यसको असर कम गर्न सकिन्छ, अब हामी ध्यान देऔं। (w11-E 12/01)

[पृष्ठ ५-मा भएको चित्र]

बाक्लो बस्ती

[पृष्ठ ५-मा भएको चित्र]

वन फँडानी

[पृष्ठ ५-मा भएको चित्र]

प्रदूषण

[पृष्ठ ५-मा भएको चित्रको स्रोत]

Left: © Mark Henley/Panos Pictures

Middle: © Jeroen Oerlemans/Panos Pictures