यौनबारे दस वटा प्रश्नको जवाफ
यौनबारे दस वटा प्रश्नको जवाफ
१ के आदम र हव्वाले अदनको बगैंचामा गरेको पहिलो पाप यौनसम्बन्ध थियो?
▪ जवाफ: धेरैजसो मानिसको सोचाइमा अदनको बगैंचामा भएको निषेधित फलले यौनसम्बन्धलाई बुझाउँछ। तर बाइबलले भने त्यस्तो कुरा सिकाउँदैन।
विचार गर्नुहोस्: हव्वालाई सृष्टि गर्नुअघि नै परमेश्वरले आदमलाई “असल र खराबको ज्ञान दिने रूखको फलचाहिं नखानू” भन्ने आज्ञा दिइसक्नुभएको थियो। (उत्पत्ति २:१५-१८) यो आज्ञा दिंदा आदम एक्लै भएको हुँदा त्यस निषेधाज्ञाले यौनसम्बन्धलाई सङ्केत गरेको हुन सक्दैन। साथै, परमेश्वरले आदम र हव्वालाई “फल्दै-फुल्दै, वृद्धि हुँदै, पृथ्वीमा भरिंदै . . . जाओ” भन्ने सुस्पष्ट आज्ञा दिनुभयो। (उत्पत्ति १:२८) पृथ्वीमा भरिंदै जानको लागि त्यस दम्पतीले यौनसम्बन्ध राख्नुपर्ने थियो। त्यसैले एक जना मायालु परमेश्वरले त्यस दम्पतीलाई “पृथ्वीमा भरिंदै . . . जाओ” भन्ने आज्ञा दिने अनि त्यो आज्ञा पालन गरेकोमा उल्टै तिनीहरूलाई मृत्युदण्ड दिन सुहाउँछ र?—१ यूहन्ना ४:८.
यति मात्र होइन, हव्वाले आफ्नो श्रीमान् सँगै नभएको बेलामा “त्यस रूखको [निषेधित] फल टिपेर खाइन्।” पछि “आफ्ना पतिलाई पनि दिइन्, औ तिनले पनि खाए।”—उत्पत्ति ३:६.
अर्को महत्त्वपूर्ण कुरा, आदम र हव्वाले छोराछोरी जन्माउन यौनसम्बन्ध राखेकोमा परमेश्वरले तिनीहरूलाई सजाय दिनुभएन। (उत्पत्ति ४:१, २) त्यसैले कुरा स्पष्ट छ, आदम र हव्वाले खाएको फलले यौनसम्बन्धलाई बुझाउँदैन, त्यो साँच्चैको फल थियो।
२ के बाइबलले यौनसम्बन्धबाट आनन्द उठाउनुलाई निषेध गर्छ?
▪ जवाफ: बाइबलको पहिलो किताबले बताएअनुसार परमेश्वरले नै मानिसलाई “नर र नारी” गरी सृष्टि गर्नुभयो। आफूले बनाएको हरेक कुरालाई परमेश्वरले “साह्रै राम्रो” भन्नुभयो। (उत्पत्ति १:२७, ३१) पछि, परमेश्वरको प्रेरणा पाएर बाइबल लेखकले पतिहरूलाई यस्तो निर्देशन दिए: “तेरो युवावस्थाकी पत्नी[सित] . . . तँ सुखी हो। . . . त्यसकै वक्षमा तँ सन्तुष्ट बन्, तँ सधैं त्यसकै प्रेममा डुबिरह।” (हितोपदेश ५:१८, १९) के यी अभिव्यक्तिहरू पढ्दा बाइबलले यौनसम्बन्धबाट आनन्द उठाउनुलाई निषेध गरेको जस्तो बुझिन्छ?
वास्तवमा परमेश्वरले सन्तान जन्माउन मात्र होइन तर विवाहित जोडी दुवैलाई आनन्द प्राप्त हुने गरी एकअर्काप्रतिको मायापिर्ती व्यक्त गर्न सकून्
भनेर यौन अङ्गको सृष्टि गर्नुभयो। यस्तो यौनसम्बन्धले आत्मीय वैवाहिक बन्धनमा बाँधिएका पुरुष र स्त्रीको शारीरिक तथा भावनात्मक आवश्यकता पूरा गर्छ।३ के कानुनी तवरमा विवाह नगरी सँगै बस्न बाइबलले अनुमति दिन्छ?
▪ जवाफ: बाइबल स्पष्टसित भन्छ: “अवैध यौनसम्बन्ध राख्ने . . . मानिसहरूलाई परमेश्वरले न्याय गर्नुहुनेछ।” (हिब्रू १३:४) अवैध यौनसम्बन्धलाई बुझाउने ग्रीक शब्द पोर्निया-को विभिन्न अर्थ लाग्छ। यसले वैवाहिक सम्बन्धबाहिर राखिने सबै प्रकारको यौनसम्बन्धलाई बुझाउँछ। a त्यसैले पछि विवाह गर्ने नै भए तापनि विवाह नगरी सँगै बस्नु परमेश्वरको नजरमा गलत हो।
केटा र केटी एकअर्काको प्रेममा चुर्लुम्मै डुबिसकेका छन् भने पनि विवाह गरेपछि मात्र यौनसम्बन्ध राखेको परमेश्वर चाहनुहुन्छ। अरूलाई प्रेम गर्ने क्षमतासहित परमेश्वरले हामीलाई सृष्टि गर्नुभएको छ। परमेश्वरको प्रमुख गुण प्रेम हो। त्यसैले विवाहित जोडीबीच मात्र यौनसम्बन्ध राख्नू भनी आज्ञा दिनुमा जायज कारण छ।
४ के परमेश्वरको नजरमा बहुविवाह स्वीकार्य छ?
▪ जवाफ: परमेश्वरले केही समयको लागि बहुविवाह गर्ने अनुमति दिनुभयो। (उत्पत्ति ४:१९; १६:१-४; २९:१८–३०:२४) तर बहुविवाह गर्ने चलन परमेश्वरले सुरु गर्नुभएको होइन। उहाँले आदमको लागि एउटी मात्र पत्नी दिनुभयो।
एक जनासित मात्र विवाह गर्नू भन्ने आफ्नो सुरुको स्तरलाई दोहोऱ्याउन परमेश्वरले येशू ख्रीष्टलाई अख्तियार दिनुभयो। (यूहन्ना ८:२८) विवाहबारे सोधिएको प्रश्नको जवाफमा येशूले यसो भन्नुभयो: “जसले मानिस सृष्टि गर्नुभयो, उहाँले सुरुदेखि नै नर र नारी बनाउनुभयो र भन्नुभयो: ‘यसैकारण पुरुषले आफ्ना बुबा र आमालाई छोड्नेछ अनि आफ्नी पत्नीसित बस्नेछ र ती दुई एउटै शरीर हुनेछन्’?”—मत्ती १९:४, ५.
येशूका एक जना चेलाले परमेश्वरको प्रेरणा पाएर यस्तो लेखे: “हरेक पुरुषको आफ्नै पत्नी अनि हरेक स्त्रीको आफ्नै पति होस्।” (१ कोरिन्थी ७:२) ख्रीष्टियन मण्डलीमा विशेष जिम्मेवारी पाउने विवाहित पुरुष “एकै जना स्त्रीको पति” होऊन् भनेर पनि बाइबलमा बताइएको छ।—१ तिमोथी ३:२, १२.
५ के विवाहित दम्पतीले गर्भनिरोधक साधन प्रयोग गर्नु गलत हो?
▪ जवाफ: येशूले आफ्ना चेलाहरूलाई छोराछोरी जन्माउने आज्ञा दिनुभएन। अनि येशूका चेलाहरूमध्ये कसैले पनि त्यस्तो निर्देशन दिएनन्। परिवार नियोजन गर्नु हुँदैन भनेर बाइबलमा कतै पनि तोकेरै उल्लेख गरिएको छैन।
त्यसैले छोराछोरी जन्माउने कि नजन्माउने भनेर निर्णय गर्न विवाहित जोडी स्वतन्त्र छन्। अनि तिनीहरूले कति जना छोराछोरी जन्माउने अनि कहिले जन्माउने भनेर पनि निर्णय गर्न सक्छन्। गर्भवती नहुनको लागि पति र पत्नीले गर्भपतन नगराउने किसिमको गर्भनिरोधक साधन प्रयोग गर्न सक्छन्। यो तिनीहरूको व्यक्तिगत निर्णय र जिम्मेवारी हो। b तिनीहरूले गरेको छनौटमा कसैले आलोचना गर्नु हुँदैन।—रोमी १४:४, १०-१३.
६ के गर्भपतन गर्नु गलत हो?
▪ जवाफ: परमेश्वर जीवनलाई पवित्र ठान्नुहुन्छ अनि गर्भको भ्रूणलाई पनि छुट्टै चिनारी भएको व्यक्तिविशेष ठान्नुहुन्छ। (भजन १३९:१६) परमेश्वरको व्यवस्थामा यसो भनिएको थियो: “यदि पुरुषहरू आपसमा झगडा गर्दा कुनै गर्भवती स्त्रीलाई चोट लाग्यो, . . . यदि ज्यान गयो भने ज्यानको सट्टा ज्यान दिनुपर्छ।” (प्रस्थान २१:२२, २३, NW) त्यसैले परमेश्वरको नजरमा गर्भपतन गर्नु भनेको हत्या गर्नु हो।—प्रस्थान २०:१३.
तर सुत्केरी हुने बेला आमा वा बच्चामध्ये एक जनालाई मात्र बचाउन सकिने आकस्मिक अवस्था सृजना भयो भने दम्पतीले के गर्नुपर्छ? त्यस्तो अवस्थामा कसको ज्यान बचाउने भनेर त्यस दम्पतीले त्यतिखेरै निर्णय गर्नुपर्ने हुन्छ। c
७ के बाइबलले सम्बन्धविच्छेद गर्ने अनुमति दिन्छ?
▪ जवाफ: बाइबलले सम्बन्धविच्छेद गर्ने अनुमति दिन्छ। तर वैवाहिक बन्धन तोड्न सकिने एक मात्र आधारबारे येशूले भन्नुभयो: “जसले अवैध यौनसम्बन्धबाहेक अन्य कारणले आफ्नी पत्नीसित सम्बन्धविच्छेद गर्छ र अर्कीसित विवाह गर्छ, उसले परस्त्रीसित यौन सम्बन्ध राखेको ठहरिन्छ।”—मत्ती १९:९.
छलछामपूर्वक गरिएको सम्बन्धविच्छेदलाई परमेश्वर घृणा गर्नुहुन्छ। विनाकारण आफ्नो पति वा पत्नीलाई त्याग्ने व्यक्तिलाई परमेश्वरले नै न्याय गर्नुहुनेछ, अझ विशेषगरि अर्को पुरुष वा स्त्रीसित विवाह गर्न आफ्नो जोडी त्याग्नेहरूलाई।—मलाकी २:१३-१६; मर्कूस १०:९.
८ के बाइबलले समलैङ्गिकतालाई अनुमति दिन्छ?
▪ जवाफ: बाइबलले अवैध यौनसम्बन्धलाई स्पष्टसित निन्दा गरेको छ र यस्तो सम्बन्धमा समलैङ्गिकता पनि पर्छ। (रोमी १:२६, २७; गलाती ५:१९-२१) यस्तो जीवनशैलीलाई परमेश्वरले स्वीकार्नुहुन्न भनेर बाइबलले प्रस्ट बताउँछ। तर हामीलाई यो पनि थाह छ, “परमेश्वरले संसारलाई यत्ति धेरै प्रेम गर्नुभयो कि उहाँले आफ्नो एक मात्र छोरा दिनुभयो, ताकि ऊमाथि विश्वास गर्ने हरेक नाश नहोस् तर उसले अनन्त जीवन पाओस्।”—यूहन्ना ३:१६.
साँचो ख्रीष्टियनहरू समलैङ्गिक यौनसम्बन्धलाई समर्थन गर्दैनन् तर तिनीहरू सबैसित राम्रो व्यवहार गर्छन्। (मत्ती ७:१२) हामीले “हरप्रकारका मानिसहरूको आदर” गरेको परमेश्वर चाहनुहुन्छ। त्यसैले साँचो ख्रीष्टियनहरू समलिङ्गीहरूलाई घृणा गर्दैनन्।—१ पत्रुस २:१७.
९ के फोनसेक्स, “सेक्सटिङ” वा साइबरसेक्स गलत हो?
▪ जवाफ: फोनसेक्स भनेको फोनमा यौनबारे अनुचित कुराकानी गर्नु वा अति कामुक सन्देश सुन्नु हो। “सेक्सटिङ” भनेको मोबाइलबाट अरूलाई कामुक फोटो वा यौनसम्बन्धबारे निर्लज्ज सन्देश पठाउनु हो। साइबरसेक्स भनेको इन्टरनेटमा कामुक कुराकानी गर्नु हो।
यी जस्ता आधुनिक प्रचलनहरूबारे बाइबलमा तोकेरै बताइएको त छैन। तर बाइबल यसो भन्छ: “जस्तो कि पवित्र जनहरूलाई पनि सुहाउँछ, तिमीहरूमाझ अवैध यौनसम्बन्ध अनि हरकिसिमका अशुद्धपन वा लोभको नामसमेत नलिइओस्; निर्लज्ज आचरण, मूर्खताले भरिएको कुराकानी, अश्लील ठट्टा पनि तिमीहरूमाझ नहोस्, किनकि यस्ता कुराहरूले शोभा दिंदैन।” (एफिसी ५:३, ४) फोनसेक्स, “सेक्सटिङ” र साइबरसेक्सजस्ता कुराहरूले यौनबारे विकृत धारणा फैलाउँछ अनि विवाहित जोडीबीच मात्र सीमित हुनुपर्ने यौनसम्बन्धको गलत प्रयोग गर्न उक्साउँछ। यस्ता कुराहरूले आफ्नो यौन चाहनालाई वशमा राख्न होइन तर आफ्नै शारीरिक इच्छा पूरा गर्न लगाउँछ।
१० हस्तमैथुनप्रति बाइबलको धारणा के हो?
▪ जवाफ: हस्तमैथुनबारे बाइबलमा तोकेरै उल्लेख गरिएको छैन। हस्तमैथुन भनेको यौन उत्तेजना र कामुकता जगाउन आफ्नो यौन अङ्ग सुमसुम्याउनु हो। तथापि परमेश्वरको वचनले ख्रीष्टियनहरूलाई यस्तो आज्ञा दिन्छ: “त्यसकारण, पृथ्वीमा भएको तिमीहरूको शरीरका ती अङ्गहरूलाई मार, जसमा यस्ता कुइच्छाहरू उत्पन्न हुन्छन्: अवैध यौनसम्बन्ध, अशुद्धपन, कामवासना।”—कलस्सी ३:५.
हस्तमैथुनले यौनप्रति विकृत धारणा जगाउँछ र आफ्नै यौन चाहना पूरा गर्न उक्साउँछ। यस्तो नराम्रो बानी त्याग्न निष्कपट प्रयास गर्नेहरूलाई परमेश्वरले “असाधारण शक्ति” दिनुहुनेछ भनी बाइबलले आश्वासन दिन्छ।—२ कोरिन्थी ४:७; फिलिप्पी ४:१३. (w11-E 11/01)
[फुटनोटहरू]
a परमेश्वरले सुरुमा जुन उद्देश्य राखेर यौन अङ्ग सृष्टि गर्नुभएको थियो, त्यसबाहेक सबै किसिमको दुरुपयोग पोर्निया हो। जस्तै: आफ्नो पति वा पत्नीबाहेक अरूसितको यौनसम्बन्ध, समलैङ्गिकता अनि पशुसितको यौनसम्बन्ध।
b बन्ध्याकरणसम्बन्धी बाइबलको दृष्टिकोण बुझ्न कृपया प्रहरीधरहरा जून १५, १९९९, पृष्ठ २७-२८ मा प्रकाशित “पाठकहरूको प्रश्न” हेर्नुहोस्।
c बलात्कारको सिकार भएकी स्त्रीले गर्भपतन गर्नु जायज हो कि होइन भन्ने विषयमा यहोवाका साक्षीहरूद्वारा प्रकाशित ब्यूँझनुहोस्! gbr-१९९३ (अवेक! मे २२, १९९३, पृष्ठ १०-११) हेर्नुहोस्।