सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“असम्भव!” यसको अर्थ के हो?

“असम्भव!” यसको अर्थ के हो?

“असम्भव!” यसको अर्थ के हो?

सन्‌ १९१२ मा त्यतिखेरको सबैभन्दा ठूलो अनि सुविधा सम्पन्‍न पानीजहाज टाइटानिक पहिलो पटक यात्रामा निस्कियो। त्यसको अत्याधुनिक डिजाइनले गर्दा त्यो जहाज “कहिल्यै डुब्दैन” भन्ठानिएको थियो। तर के भयो, त्यो त सबैलाई विदितै छ। पहिलो यात्रामा नै त्यो जहाज उत्तरी आन्द्र महासागरमा दुर्घटनाग्रस्त भयो। जहाज महासागरमा तैरिरहेको हिमशिलामा ठोक्कियो र जहाजसँगसँगै लगभग १,५०० यात्रु डुबे। डुब्न असम्भव भनिएको त्यो जहाज केही घण्टाभित्रै महासागरको गर्भमा विलीन भयो।

कुनै कुरा गर्नु वा बुझ्नु हाम्रो क्षमताबाहिर छ भने हामी त्यसलाई “असम्भव” भन्छौं। प्रविधिको क्षेत्रमा अहिले हामीले देखेका थुप्रै प्रगति कुनै समय असम्भव नै थियो; मानिसको क्षमताबाहिर नै थियो वा त्यसबारे कल्पनासमेत गर्न सकिंदैन थियो। मानिसलाई चन्द्रमामा पठाउनु, मङ्‌गल ग्रहमा यन्त्र पठाउनु र त्यसलाई पृथ्वीबाटै नियन्त्रण गर्नु, मानव आनुवंशिक कोडबारे राम्ररी बुझ्नु अनि कुनै शहरमा वा विश्‍वको कुनै ठाउँमा भइरहेको घटना तुरुन्तातुरुन्तै थाह पाउन सक्नु आदि ५० वर्षअघि मात्र असम्भव थिए तर अहिले वास्तविकतामा परिणत भएको छ। यस सम्बन्धमा विज्ञान तथा प्रविधिका विभिन्‍न क्षेत्रका हस्तीहरूलाई सम्बोधन गर्दा भूतपूर्व अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले सारांशमा यसो भने: “विज्ञान तथा प्रविधिले ठूलो फड्‌को मारिरहेको बेला तपाईंहरूले हिजोसम्म असम्भव देखिएको कुरालाई आज सामान्य तुल्याइदिनुभएको छ।”

उदेकलाग्दा प्रगति देखेर प्राध्यापक जन ब्रोबेकले यसो भने: “वैज्ञानिकले कुनै पनि कुरा असम्भव छ भनेर ठोकुवा गर्नै सक्दैन; ‘सम्भावना कम छ’ मात्र भन्‍न सक्छ। असम्भव छ भन्‍नुपऱ्‍यो भने पनि अहिले हाम्रो बुझाइको आधारमा यसलाई व्याख्या गर्न सकिंदैन भन्‍न सक्छ।” तर कुनै कुरा असम्भव छ जस्तो देखियो भने नि? प्राध्यापक अझै यसो भन्छन्‌, “त्यो त जीव तथा भौतिक विज्ञानले व्याख्या गर्न नसकेको शक्‍तिले गर्दा भएको हो। अनि हाम्रो धर्मशास्त्रमा शक्‍तिको त्यो स्रोतलाई परमेश्‍वरको शक्‍ति भनेर व्याख्या गरिएको छ।”

परमेश्‍वरको लागि सबै कुरा सम्भव छ

प्राध्यापक ब्रोबेकले उपरोक्‍त कुरा याद गर्नु धेरैअघि नै नासरतका येशू अर्थात्‌ अहिलेसम्मकै सबैभन्दा महान्‌ पुरुषले यसो भन्‍नुभयो: “मानिसहरूका लागि असम्भव कुरा परमेश्‍वरको लागि सम्भव छ।” (लूका १८:२७) परमेश्‍वरको पवित्र शक्‍ति ब्रह्‍माण्डमै सबैभन्दा शक्‍तिशाली छ। यो शक्‍तिलाई कुनै पनि यन्त्रमा नाप्न सकिंदैन। पवित्र शक्‍तिले हामीलाई आफ्नै बलमा भर परेर गर्न नसकिने कुरा गर्न सम्भव तुल्याउँछ।

कहिलेकाहीं हामीलाई कुनै-कुनै परिस्थितिको सामना गर्नु सम्भव नै छैन जस्तो लाग्छ। जस्तै, आफ्नो नजिकको प्रिय व्यक्‍तिको मृत्यु हुँदा अथवा पारिवारिक जीवन अत्यन्तै तनावग्रस्त हुँदा ‘अब सकिंदैन’ जस्तो लाग्न सक्छ। सायद हामी आफ्नो जीवनशैलीले गर्दा अत्यन्तै हताश भएका हुन सक्छौं र हामीलाई उम्कने बाटो नै छैन जस्तो लाग्न सक्छ। हामी असहाय र व्याकुल महसुस गर्न सक्छौं। यस्तो अवस्थामा हामी के गर्न सक्छौं?

सर्वशक्‍तिमान्‌ परमेश्‍वरमाथि भरोसा गर्नेहरूले र उहाँलाई प्रसन्‍न तुल्याउन सक्दो प्रयास गर्न प्रार्थनामार्फत उहाँसित पवित्र शक्‍ति माग्नेहरूले पहाडरूपी विकराल समस्यालाई सजिलै पार लगाउन मदत पाउन सक्छन्‌ भनी बाइबल बताउँछ। येशूका यी सान्त्वनादायी शब्दहरू पनि याद गर्नुहोस्‌: “म तिमीहरूलाई साँचो-साँचो भन्छु, यदि कसैले यस पहाडलाई ‘यहाँबाट उप्किएर समुद्रमा खस्‌’ भन्छ र आफ्नो मनमा शङ्‌का गर्दैन तर आफूले भनेको कुरा पूरा हुनेछ भनेर विश्‍वास गर्छ भने उसले भनेझैं हुनेछ।” (मर्कूस ११:२३) परमेश्‍वरको वचनको शक्‍तिलाई र उहाँको पवित्र शक्‍तिलाई हामीमा प्रभाव पार्न दियौं भने जस्तोसुकै परिस्थितिको सामना गर्न सक्छौं।

जस्तै, विवाह गरेको ३८ वर्षपछि क्यान्सरले गर्दा श्रीमती गुमाएका एक जना पुरुषलाई विचार गर्नुहोस्‌। श्रीमतीको मृत्युले गर्दा तिनी भावविह्वल भए। तिनलाई सहन एकदमै गाह्रो भयो। कति पटक त तिनलाई श्रीमतीविना बाँचिरहनुभन्दा मर्नु नै बेस लाग्यो। तिनलाई आफू “मृत्युको अन्धकारमय घाटी भएर” हिंडिरहेको जस्तो लाग्यो। (भजन २३:४, NRV) रूँदै प्रार्थना गरेको, दिनहुँ बाइबल पढेको र परमेश्‍वरको पवित्र शक्‍तिको निर्देशन खोज्न अथक प्रयास गरेकोले नै त्यतिखेर त्यस्तो असम्भव परिस्थिति सामना गर्न मदत मिलेको हो भनी तिनी विश्‍वास गर्छन्‌।

एउटा दम्पतीको जीवनमा गम्भीर समस्या आइपरेछ। श्रीमान्‌को थुप्रै बानी नराम्रो थियो। तिनी हिंस्रक स्वभावका थिए। तिनकी श्रीमतीलाई तिनीसित जीवन बिताउनु असम्भवै लाग्यो। उनले आत्महत्या गर्ने प्रयास गरिन्‌। पछि श्रीमान्‌चाहिंले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्न थालेछन्‌। सिकिरहेको कुराले तिनलाई आफ्नो खराब बानी र हिंस्रक स्वभाव त्याग्न मदत गऱ्‍यो। श्रीमान्‌मा यस्ता “असम्भव” परिवर्तनहरू देखेर श्रीमती दङ्‌ग परिन्‌।

लागू पदार्थको दुरुपयोगले गर्दा तथा व्यभिचारी जीवनशैलीले गर्दा आफू अत्यन्तै हताश भएको अर्को एक जना पुरुषले बताए। तिनी भन्छन्‌, “मैले सम्पूर्ण आत्मसम्मान गुमाइसकेको थिएँ।” तिनले यसो भन्दै व्यग्रतासाथ परमेश्‍वरलाई प्रार्थना गरेछन्‌: “हे प्रभु, मलाई थाह छ, तपाईं हुनुहुन्छ। बिन्ती, मलाई बचाउनुहोस्‌!” तिनले प्रार्थनाको जवाफ पाए। तिनले यहोवाका साक्षीहरूसित अध्ययन गर्न थाले र तिनको जीवनमा अकल्पनीय परिवर्तनहरू हुन थाल्यो। तिनी भन्छन्‌, “मलाई दोषी भाव र आत्मसम्मानको कमीले अक्सर पिरोल्थ्यो। कहिलेकाहीं असाध्यै निराश हुन्थें। तर परमेश्‍वरको वचनले मलाई यस्ता नकारात्मक भावनासित लड्‌न मदत गऱ्‍यो। अनिदा रातहरूमा म अक्सर आफूले सिकेका बाइबल पदहरू घोक्ने गर्थें। यसो गर्दा मनबाट नकारात्मक भावना हटाउन मदत पाउँथें।” अहिले तिनको विवाह भइसक्यो र तिनी खुसी छन्‌। तिनी र तिनकी श्रीमती अरू मानिसलाई पनि परमेश्‍वरको वचनको शक्‍तिमा भर पर्न सक्रियतासाथ मदत गरिरहेका छन्‌। युवावस्था समस्याग्रस्त भएकोले तिनलाई अहिलेको जस्तो आनन्ददायी जीवन बिताउनु सम्भव होला जस्तो लागेकै थिएन।

परमेश्‍वरको वचन वास्तवमै शक्‍तिशाली छ र उहाँको पवित्र शक्‍तिले हाम्रो जीवनका “असम्भव” कुराहरूलाई पनि सम्भव गरिदिन सक्छ भनेर यी अनुभवले देखाउँछ। तर “यसको लागि त विश्‍वास गर्नुपर्छ नि” तपाईं भन्‍नुहोला। हो, विश्‍वास त गर्नै पर्छ। वास्तवमा बाइबलमा “विनाविश्‍वास उहाँलाई [परमेश्‍वरलाई] खुसी पार्न असम्भव छ” भनेर लेखिएको छ। (हिब्रू ११:६) तर यसलाई यसरी विचार गर्नुहोस्‌: मानिलिनुहोस्‌, तपाईंको मिल्ने साथीले तपाईंलाई “चिन्ता नगर; केही पऱ्‍यो भने म छँदैछु नि” भन्यो। तिनी सायद बैङ्‌कका म्यानेजर हुन्‌ वा ठूलो ओहदामा काम गर्छन्‌। साथीको त्यस्तो वाचा सुनेर तपाईंलाई पक्कै पनि सान्त्वना मिलेको हुनुपर्छ। तर दुःखको कुरा, मानिसहरू अक्सर आफ्नो वाचा पूरा गर्न सक्दैनन्‌। साथीको मनसाय राम्रै थियो होला तर परिबन्दमा परेर तिनी तपाईंलाई सहयोग गर्न सक्दैनन्‌। अनि साथीको मृत्यु हुँदा अरूलाई मदत गर्ने तिनको इच्छा र क्षमता पनि तिनीसितै हराउँछ। तर मानिसलाई सीमित पार्ने यस्ता कुराले परमेश्‍वरलाई कुनै प्रभाव पार्दैन। बाइबल हामीलाई यसरी आश्‍वस्त पार्छ: “कुनै पनि कुरा पूरा गर्न परमेश्‍वरको लागि असम्भव हुँदैन।”लूका १:३७.

“के तिमी यो कुरा विश्‍वास गर्छ्यौ?”

बाइबलमा भएका थुप्रै घटनाले अघिल्लो अनुच्छेदको अन्तिम वाक्य सत्य छ भनेर प्रमाणित गर्छ। केही उदाहरण विचार गर्नुहोस्‌।

बुढेसकालमा छोरो जन्माउनेछिन्‌ भनेर बताइँदा ९० वर्षकी सारा हाँसिन्‌ तर इस्राएली जाति अस्तित्वमा हुनुले तिनले साँच्चै छोरो जन्माइन्‌ भन्‍ने प्रमाण दिन्छ। एउटा ठूलो माछाले सुलुत्तै निलेका पुरुष तीन दिनपछि जिउँदै भेटिन्छन्‌ र आफ्नो आत्मकथा लेख्छन्‌। तिनी योना हुन्‌। डाक्टर लूकालाई बेहोस हुनु र मृत्यु हुनुबीचको भिन्‍नता राम्ररी थाह थियो। तिनले माथिल्लो तल्लाबाट खसेर मरेका युवक युटाइकस फेरि कसरी जीवित बनाइए भन्‍नेबारे लेखेका छन्‌। यी वास्तविक घटना हुन्‌; मिथ्या होइनन्‌। बाइबलका यी घटनाबारे थप अनुसन्धान गर्नुभयो भने यी वास्तविक घटना हुन्‌ भनेर बुझ्नुहुनेछ।—उत्पत्ति १८:१०-१४; २१:१, २; योना १:१७; २:१, १०; प्रेषित २०:९-१२.

येशूले साथी मार्थालाई यस्तो अचम्मको कुरा भन्‍नुभयो: “जो अहिले जीवित छ र ममाथि विश्‍वास गर्छ, ऊ कहिल्यै मर्नेछैन।” यो असम्भव प्रतिज्ञा गरेपछि येशूले एउटा गहिरो प्रश्‍न सोध्नुभयो: “के तिमी यो कुरा विश्‍वास गर्छ्यौ?” अहिले पनि हामीले यो प्रश्‍न गहिरिएर विचार गर्नुपर्छ।—यूहन्‍ना ११:२६.

पृथ्वीमा सधैंभरि जीवन बिताउनु के सम्भव छ?

केही लेखकले एउटा वैज्ञानिक अध्ययनपछि याद गरेको कुरा यसरी लेखे: “अब त्यो समय धेरै टाढा छैन, जब मानिसहरू अहिलेभन्दा धेरै वर्ष बाँच्न सक्नेछन्‌—सायद सधैंभरिको लागि।” न्यु इन्साइक्लोपीडिया ब्रिटानिका-अनुसार कोषहरू नविकरण हुन छोडेको, हामीले शरीरलाई धेरै घोटेको वा अन्य कारणले गर्दा हाम्रो मृत्यु हुने नभई कुनै अज्ञात कारणले गर्दा हाम्रो शरीरले राम्ररी काम गर्न छोड्‌छ र हामी मर्छौं। a सोही इन्साइक्लोपीडिया-अनुसार वैज्ञानिकहरू अहिले असम्भव देखिएको यही प्रक्रियालाई रोक्न खोजिरहेका छन्‌।

उपरोक्‍त कुरा निकै रोचक भए तापनि सधैंभरि बाँच्न सक्ने कुरामा विश्‍वास गर्न कुनै तर्क वा विज्ञानको दाँजोमा बाइबलले दिएको प्रणाम बलियो छ। जीवनको स्रोत हाम्रो सृष्टिकर्ता यहोवा परमेश्‍वरले यस्तो प्रतिज्ञा गर्नुभएको छ: “उहाँले मृत्युलाई सदाको निम्ति निल्नुहुनेछ।” (भजन ३६:९; यशैया २५:८) के तपाईं यो कुरा विश्‍वास गर्नुहुन्छ? यो प्रतिज्ञा स्वयम्‌ यहोवाले नै गर्नुभएको हो र उहाँ कहिल्यै झूटो बोल्नुहुन्‍न।—तीतस १:२. (w12-E 06/01)

[फुटनोट]

a बुढ्यौली र मानिसको सरदर आयुबारे विस्तृत छलफल गर्न यहोवाका साक्षीहरूद्वारा प्रकाशित मे २००६, ब्यूँझनुहोस्‌!-को (अङ्‌ग्रेजी) “तपाईं कतिन्जेल बाँच्न सक्नुहुन्छ?” आवरण लेख हेर्नुहोस्‌।

[पृष्ठ २९-मा भएको ठूलो अक्षरको क्याप्सन]

“हिजोसम्म असम्भव देखिएको कुरा . . . आज सामान्य . . . भएको छ।”—रोनाल्ड रेगन

[पृष्ठ ३०-मा भएको ठूलो अक्षरको क्याप्सन]

जीवन जिउन असम्भव लाग्दा तपाईं कोमाथि भरोसा गर्नुहुन्छ?

[पृष्ठ २९-मा भएको चित्रको स्रोत]

NASA photo