आफ्नो सेवा गर्ने सबैलाई इनाम दिनुहुने परमेश्वर
परमेश्वरको नजिक हुनुहोस्
आफ्नो सेवा गर्ने सबैलाई इनाम दिनुहुने परमेश्वर
“तपाईंलाई धेरै धन्यवाद छ।” कुनै काम राम्ररी पूरा गर्दा वा माया गरेर कसैलाई उपहार दिंदा कृतज्ञताका शब्दहरू सुन्न कसलाई पो मन पर्दैन र? हामी सबै अरूले हाम्रो मेहनतको कदर गरोस् भन्ने चाहन्छौं। विशेषगरि आफूले माया गर्ने व्यक्तिहरूले। हो, हामीले सबैभन्दा धेरै माया गर्ने व्यक्ति हाम्रा परमेश्वर यहोवा हुनुहुन्छ। उहाँको सेवा गर्न हामीले गरेको प्रयासको के उहाँ कदर गर्नुहुन्छ? यहोवाका एक जना भविष्यवक्तालाई जोगाउन आफ्नो ज्यानै जोखिममा पारेका एबेदमेलेकसित उहाँले कस्तो व्यवहार गर्नुभयो, अब हामी जाँचौं।—यर्मिया ३८:७-१३ र ३९:१६-१८ पढ्नुहोस्।
एबेदमेलेक को थिए? प्राप्त प्रमाणअनुसार तिनी यहूदाका राजा सिदकियाहको दरबारका एक जना अफिसर थिए। a परमेश्वरले यहूदाको विनाशबारे अवफादार यहूदीहरूलाई चेतावनी दिन भविष्यवक्ता यर्मियालाई पठाउनुभएको थियो। एबेदमेलेक यिनै भविष्यवक्ताका समकालीन थिए। भक्तिहीन हाकिमहरूमाझ बस्नुपरे तापनि एबेदमेलेक परमेश्वरको डर मान्थे र यर्मियाको गहिरो आदर गर्थे। दुष्ट हाकिमहरूले यर्मियालाई राजद्रोहको झूटो आरोप लगाएर मरोस् भनेर हिलाम्मे इनारमा फ्याँकिदिंदा एबेदमेलेकका ईश्वरीय गुणहरूको परीक्षा भयो। (यर्मिया ३८:४-६) एबेदमेलेकले के गरे?
एबेदमेलेकले साहसी भएर ठोस कदम चाले। तिनी हाकिमहरूले केही हानि गर्ने हुन् कि भनेर डराएर बसेनन्। तिनले सिदकियाह राजाकहाँ गएर यर्मियामाथि गरिएको अन्यायपूर्ण व्यवहारको सबैसामु विरोध गरे। हुन सक्छ, दोषीहरूलाई देखाउँदै तिनले राजालाई यसो भने: “यी मानिसहरूले यर्मिया अगमवक्तालाई इनारमा हालेर दुष्ट काम गरे।” (यर्मिया ३८:९) एबेदमेलेकको प्रयास सफल भयो र तिनले सिदकियाहको आदेशमा ३० जना मानिसको मदत लिएर यर्मियालाई बचाए।
एबेदमेलेकले देखाएको अर्को मनमोहक गुण दया हो। तिनले “पुराना थोत्रे फाटेका लुगाहरू झिके र . . . यर्मियाको लागि डोरीहरूले बाँधेर ती खसालिदिए।” किन पुराना फाटेका लुगाहरू खसालिए? गहिरो अनि हिलाम्मे इनारबाट तान्दा यर्मियाको काखीमा डोरीले नपाछियोस् भनेर।—यर्मिया ३८:११-१३.
यहोवाले एबेदमेलेकको काम देख्नुभयो। के यहोवाले त्यसको कदर गर्नुभयो? यहोवाले यर्मियामार्फत यहूदाको विनाश नजिकै छ भनेर एबेदमेलेकलाई बताउनुभयो। त्यसपछि यहोवाले एबेदमेलेकलाई तिनले पाउने उद्धारबारे पाँच-पाँच पटक बताउनुभयो। यहोवाले यसो भन्नुभयो: “म तँलाई . . . बचाउनेछु, . . . मानिसहरू[को] हातमा तँ सुम्पिइनेछैनस्। . . . म निश्चय तँलाई बचाउनेछु . . . तँ तरवारले मारिनेछैनस्, . . . तैंले तेरो प्राण युद्धको लूटको धनसरह हासिल गर्नेछस्।” यहोवाले एबेदमेलेकलाई बचाउने प्रतिज्ञा किन गर्नुभयो? यहोवाले तिनलाई यसो भन्नुभयो: “किनभने तैंले ममाथि भरोसा गरेको छस्।” (यर्मिया ३९:१६-१८) यर्मियाको चिन्ता लागेर मात्र नभई यहोवाप्रतिको भरोसा र विश्वासले गर्दा तिनले त्यस्तो कदम चालेका हुन् भनेर उहाँलाई थाह थियो।
हामीले सिक्नुपर्ने कुरा स्पष्ट छ: यहोवाको सेवामा हामी जे-जति गर्छौं, यहोवा त्यसको कदर गर्नुहुन्छ। विश्वासले उत्प्रेरित भएर यहोवाको उपासनामा हामीले गरेको सानोभन्दा सानो काम पनि उहाँ सम्झनुहुन्छ भनेर बाइबल हामीलाई आश्वस्त पार्छ। (मर्कूस १२:४१-४४) के तपाईं सेवाको कदर गर्ने यस्तो परमेश्वरको नजिक हुन उत्प्रेरित हुनुभयो? त्यसो हो भने यहोवा उहाँको वचनमा बताइएझैं हुनुहुन्छ भन्ने कुरामा हामी ढुक्क हुन सक्छौं। बाइबलमा उहाँबारे यस्तो लेखिएको छ: “जोडतोडले उहाँको खोजी गरिरहनेहरूलाई [उहाँ] इनाम दिनुहुन्छ।”—हिब्रू ११:६. (w12-E 05/01)
[फुटनोट]
a बाइबलमा एबेदमेलेकलाई “नपुंसक” भनिएको छ। (यर्मिया ३८:७) यो शब्द नपुंसक बनाइएको पुरुषलाई बुझाउन प्रयोग गरिएको भए तापनि राजाको दरबारमा काम गर्ने अफिसरलाई बुझाउन पनि प्रयोग गरिन्थ्यो।