सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईं आफ्नो भविष्य सुखमय बनाउन सक्नुहुन्छ कसरी?

तपाईं आफ्नो भविष्य सुखमय बनाउन सक्नुहुन्छ कसरी?

तपाईं आफ्नो भविष्य सुखमय बनाउन सक्नुहुन्छ कसरी?

तपाईं साँच्चैको सुखमय अनि सन्तोषदायी जीवन कसरी प्राप्त गर्न सक्नुहुन्छ? एउटा तरिका, अहिले गरेको निर्णयले चिरकालीन असर पार्छ भनेर विचार गर्न सक्ने तपाईंको क्षमता प्रयोग गरेर।

तपाईं आफूले गरेको निर्णयले भविष्य उज्ज्वल होस्‌ भन्‍ने चाहनुहुन्छ। तर त्यस्तो प्रकारको निर्णय गर्न तपाईंलाई गाह्रो लाग्न सक्छ। किन? आजकल धेरैजसो मानिसलाई आफूलाई जे मन पऱ्‍यो, त्यो तुरुन्तै चाहिहाल्छ। जस्तै, बाइबलको सल्लाह लागू गरेर पारिवारिक सम्बन्ध बलियो बनाउन सकिन्छ भनेर तपाईंले बुझ्नुभएको छ होला। (एफिसी ५:२२–६:४) तर त्यसको लागि तपाईंले परिवारलाई नियमित रूपमा समय दिनै पर्छ। काममा मात्र अथवा मनोरञ्जनमा मात्र धेरै समय खर्च गर्ने बानी हटाउनुपर्छ। जीवनका अरू विभिन्‍न क्षेत्रमा जस्तै क्षणिक खुस-विलास र चिरस्थायी आनन्दबीच के रोज्ने, निर्णय गर्नै पर्छ। तपाईं कसरी बुद्धिमानी निर्णय गर्न सक्नुहुन्छ? निम्न चार तरिका लागू गर्नुहोस्‌।

आफ्नो निर्णयको नतिजा कल्पना गर्नुहोस्‌

कुनै निर्णय गर्नुपर्दा त्यसले पार्ने असरबारे व्यावहारिक भई सोच्नुहोस्‌। बाइबल यस्तो सल्लाह दिन्छ: “चतुर मानिस दुःख आएको देखेर जोगिन्छ।” (हितोपदेश २२:३) यदि तपाईंले इमानदार भई नतिजाबारे सोच्नुभयो भने सायद तपाईं सम्भावित खतरादेखि जोगिनुहुनेछ। अर्कोतर्फ तपाईंको बुद्धिमानी निर्णयले कस्ता चिरकालीन लाभहरू पाइन्छ, कल्पना गर्दा त्यसैअनुसार कदम चाल्ने तपाईंको सङ्‌कल्प बलियो हुनेछ।

आफैलाई सोध्नुहोस्‌: ‘मेरो निर्णयले अबको एक वर्षमा अथवा १० वा २० वर्षमा कस्तो असर पार्छ? मेरो निर्णयले मेरो भावना तथा स्वास्थ्यमा कस्तो असर पार्छ? मेरो निर्णयले परिवार, साथी, नातेदार अनि अरूलाई कस्तो असर पार्छ?’ अनि सबैभन्दा महत्त्वपूर्ण प्रश्‍न हो, ‘के मेरो निर्णयले परमेश्‍वरलाई खुसी पार्छ? यसले उहाँसितको मेरो सम्बन्धमा कस्तो असर पर्न जान्छ?’ परमेश्‍वरद्वारा प्रेरित वचन भएकोले बाइबलले तपाईंलाई परमेश्‍वरलाई खुसी पार्ने तरिका बुझ्न र तपाईंलाई त्यत्ति याद नहुने पासो चिन्‍न मदत गर्छ।—हितोपदेश १४:१२; २ तिमोथी ३:१६.

आफ्ना विकल्पहरू जाँच्नुहोस्‌

थुप्रै मानिस आफ्नो निर्णय आफै गर्नुको साटो अरूले जस्तो निर्णय गरे, त्यस्तै गर्छन्‌। तर लोकप्रिय निर्णयको पछि लाग्दैमा तपाईंको भविष्य सुखमय हुन सक्दैन। आफ्ना विकल्पहरू जाँच्नुहोस्‌। उदाहरणको लागि नैनालाई a लिऊँ। तिनी भन्छिन्‌: “म मेरो वैवाहिक जीवन राम्रो होस्‌ भन्‍ने चाहन्थें। तर मलाई थाह थियो, मेरो जीवनशैलीले गर्दा त्यस्तो जीवन पाउन सम्भव छैन। कलेजका मेरा सबै साथीहरू निकै टाठाबाठा थिए। तैपनि तिनीहरूले बारम्बार खराब निर्णय गरे। तिनीहरू आफ्नो बोइफ्रेन्ड/गर्लफ्रेन्ड फेरिरहन्थे। तिनीहरूको जस्तै मेरा पनि केही बोइफ्रेन्ड थिए। यस्तो जीवनशैलीले गर्दा मैले धेरै भावनात्मक चोट सहनुपऱ्‍यो।”

नैनाले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्न थालिन्‌। तिनी भन्छिन्‌, “मैले यहोवाका साक्षीहरूमाझ आनन्दित युवाहरू अनि बलियो वैवाहिक सम्बन्ध भएका श्रीमान्‌-श्रीमतीहरू देखें। मलाई आफ्नो मूल्यमान्यता अनि जीवनशैली परिवर्तन गर्नु सजिलो त थिएन तैपनि मैले बिस्तारै-बिस्तारै परिवर्तन गर्न थालें।” नतिजा? नैना भन्छिन्‌, “मेरो सधैं एउटै चाहना थियो, मेरो जीवनसाथी मैले गहिरो आदर गर्न सक्ने मान्छे होस्‌ भन्‍ने। . . . हुन पनि मैले पछि आफ्नै जस्तो धार्मिक आस्था राख्ने व्यक्‍तिसित विवाह गरें। परमेश्‍वरले मलाई यस्तो राम्रो पारिवारिक जीवन दिनुभएको छ, जुन मैले सोचेकी समेत थिइनँ।”

चिरकालीन सोच राख्नुहोस्‌

छोटो समयसम्म मात्र लाभ पुऱ्‍याउने सोचाइ नराख्न आफूले चाहेको भविष्य मनमा स्पष्ट हुनुपर्छ र त्यो हासिल गर्ने योजना पनि हुनुपर्छ। (हितोपदेश २१:५) आफ्नो सोचाइलाई ७०-८० वर्षसम्म मात्र सीमित नपार्नुहोस्‌। बरु बाइबलमा बताइएको अनन्त जीवनको आनन्द उठाइरहेको दृश्‍य कल्पना गर्नुहोस्‌।

ख्रीष्ट येशूको फिरौतीको बलिदानको प्रबन्ध गरेर परमेश्‍वरले मानिसजातिलाई अनन्त जीवनको आशा दिनुभयो भनी बाइबल बताउँछ। (मत्ती २०:२८; रोमी ६:२३) आफूले मानिसजाति र पृथ्वीको लागि राखेको सुरुको उद्देश्‍य चाँडै पूरा हुनेछ भनेर परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको छ। परमेश्‍वरलाई प्रेम गर्नेहरूले पुनर्स्थापित सुन्दर पृथ्वीमा सधैंभरि बस्ने मौका पाउनेछन्‌। (भजन ३७:११; प्रकाश २१:३-५) चिरकालीन सोच राख्नुभयो भने तपाईंको भविष्य पनि त्यस्तै सुन्दर हुनेछ।

लक्ष्यतर्फ अघि बढ्‌नुहोस्‌

प्रतिज्ञा गरिएको त्यो भविष्य हासिल गर्न तपाईं के गर्न सक्नुहुन्छ? सुरुमा परमेश्‍वरको ज्ञान लिनुहोस्‌। (यूहन्‍ना १७:३) बाइबलको सही ज्ञानले तपाईंलाई भविष्यसम्बन्धी परमेश्‍वरका प्रतिज्ञाहरू वास्तविकतामा परिणत हुनेछन्‌ भनेर अझै विश्‍वस्त तुल्याउनेछ। यस्तो विश्‍वासले परमेश्‍वरको अनुमोदन पाउन जस्तोसुकै परिवर्तनहरू गर्न मदत गर्छ।

प्रनिलको अनुभव विचार गर्नुहोस्‌। तिनी भन्छन्‌: “१२ वर्षको छँदादेखि मैले रक्सी र ड्रग्स खान थालेको थिएँ। म एउटा ग्याङको सदस्य थिएँ। मलाई ३० वर्ष पुग्नुअघि नै मरिहाल्छु कि जस्तो लाग्थ्यो। रिस अनि निराशाले गर्दा मैले कैयौं पटक आत्महत्या गर्ने प्रयास गरें। जीवनको केही उद्देश्‍य हुनुपर्छ जस्तो लाग्थ्यो तर त्यो भेट्टाउन सकिरहेको थिइनँ।” स्कूलमै छँदा प्रनिलको ग्याङको एक जना साथीले यहोवाका साक्षीहरूसित बाइबल अध्ययन गर्न थाल्यो। पछि प्रनिल पनि अध्ययन गर्न राजी भए।

बाइबलको शिक्षाले प्रनिलको भविष्यप्रतिको दृष्टिकोण परिवर्तन गरिदियो। तिनी भन्छन्‌, “मैले बाइबलबाट पृथ्वी प्रमोदवनमा परिणत हुनेछ र मानिसहरू कुनै चिन्ता-फिक्रीविना शान्तिसित जीवन बिताउनेछन्‌ भनेर थाह पाएँ। मेरो भविष्य यस्तै हुनेछ भनेर सोच्न थालें। मैले यहोवाको घनिष्ठ साथी हुने लक्ष्य बनाएँ। तर म यहोवालाई खुसी पार्नदेखि कहिलेकाहीं चुक्थें। बाइबल अध्ययन गर्न थालेपछि पनि मैले दुई-चार पटक होसै नहुने गरी रक्सी खाएँ। अनि एक जना केटीसित रात बिताएँ।”

बेलाबेलामा चुके तापनि प्रनिलले आफ्नो जीवनमा कसरी परिवर्तन गर्न सके? तिनी भन्छन्‌, “मलाई बाइबलको कुरा सिकाउने साक्षीले दिनहुँ बाइबल पढ्‌न अनि परमेश्‍वरलाई खुसी पार्न चाहनेहरूसित सरसङ्‌गत गर्न प्रोत्साहन दिनुभयो। ग्याङका साथीहरूले मलाई अझै पनि प्रभाव पारिरहेका थिए भनेर मैले बुझें। तिनीहरू मेरो लागि परिवारजस्तै भए तापनि मैले तिनीहरूसित सङ्‌गत गर्न छोडें।”

प्रनिलले छोटो समयमा हासिल गर्न सकिने लक्ष्यहरू राखे र प्राथमिकता तय गरे। यसले तिनलाई परमेश्‍वरको स्तरअनुसार जीवन बिताउने ठूलो लक्ष्यसम्म पुग्न मदत गऱ्‍यो। तपाईं पनि त्यसै गर्न सक्नुहुन्छ। लामो समयमा हासिल गर्न सकिने लक्ष्य र त्यो लक्ष्य हासिल गर्न चाल्नुपर्ने कदमहरू लेख्नुहोस्‌। तपाईंलाई मदत गर्न सक्ने व्यक्‍तिहरूलाई आफ्नो लक्ष्यबारे बताउनुहोस्‌ र के-कस्तो उन्‍नति गर्नुभयो, जाँचिदिन आग्रह गर्नुहोस्‌।

परमेश्‍वरबारे सिक्ने अनि उहाँको निर्देशन जीवनमा लागू गर्ने कुरा ‘पछि गर्दै गरौंला नि’ भनेर पन्छ्याउने नगर्नुहोस्‌। परमेश्‍वरप्रतिको र उहाँको वचन बाइबलप्रतिको माया बढाउँदै लैजान अहिल्यै कदम चाल्नुहोस्‌। बाइबलको सिद्धान्त लागू गर्ने मानिसबारे बाइबलमा यसो भनिएको छ: “त्यसले जे गर्छ, त्यसमा त्यो सफल हुन्छ।”—भजन १:१-३. (w12-E 05/01)

[फुटनोट]

a यस लेखमा नामहरू परिवर्तन गरिएका छन्‌।