सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सामञ्जस्यपूर्ण पुस्तकालय

सामञ्जस्यपूर्ण पुस्तकालय

सामञ्जस्यपूर्ण पुस्तकालय

“कुनै पनि भविष्यवाणी मानिसको इच्छाबाट कहिल्यै आएन तर पवित्र शक्‍ति पाएर मानिसहरूले परमेश्‍वरको तर्फबाट बोल्थे।”—२ पत्रुस १:२१.

बाइबल किन भिन्‍न? पुरातन समयका रेकर्डहरू एउटै समयावधिमा लेखिएको भए तापनि अक्सर आपसमा बाझिन्छन्‌। लेखक, लेखिएको स्थान अनि समय फरक-फरक छ भने त्यस्ता किताबहरू आपसमा विरलै मेल खान्छन्‌। तर ६६ वटा किताबको सङ्‌गालो बाइबल भने ४० जना पुरुषद्वारा लगभग १,५०० वर्षको अवधिमा लेखिएको भए तापनि यसको सन्देश एउटै छ। किनकि यसको ग्रन्थकार एकै जना हुनुहुन्छ र उहाँ परमेश्‍वर हुनुहुन्छ भनी बाइबल दाबी गर्छ।—२ तिमोथी ३:१६.

एउटा उदाहरण: ई.पू. १६ औं शताब्दीका गोठालो मोशाले बाइबलको पहिलो किताबमा मानिसजातिको उद्धार गर्न एक जना “सन्तान” आउनेछ भनेर लेखे। त्यो सन्तान अब्राहाम, इसहाक र याकूबको वंशबाट आउनेछ भनेर पनि उक्‍त किताबमा भविष्यवाणी गरिएको थियो। (उत्पत्ति ३:१५; २२:१७, १८; २६:२४; २८:१४) लगभग ५०० वर्षपछि भविष्यवक्‍ता नातानले त्यो सन्तान दाऊदको राजकीय घरानाबाट आउनेछ भनेर प्रकट गरे। (२ शमूएल ७:१२) त्यसको १,००० वर्षपछि प्रेषित पावलले त्यो सन्तान येशू र उहाँका चुनिएका अनुयायीहरूको समूह मिलेर बन्‍नेछ भनेर बताए। (रोमी १:१-४; गलाती ३:१६, २९) अनि आखिरीमा इ.सं. प्रथम शताब्दीको अन्ततिर बाइबलको अन्तिम किताबमा त्यस सन्तानका सदस्यहरूले येशूको विषयमा साक्षी दिनेछन्‌ भनेर भविष्यवाणी गरिएको थियो। साथै त्यस सन्तानका सबै सदस्य स्वर्गमा गएर येशूसँगै १,००० वर्ष शासन गर्नेछन्‌ भनेर पनि भविष्यवाणी गरिएको थियो। त्यो सन्तान र त्यसका सदस्यहरूले सैतानलाई नाश गर्नेछ र मानिसजातिको उद्धार गर्नेछ।—प्रकाश १२:१७; २०:६-१०.

बाइबल टिप्पणीकारहरू के भन्छन्‌: बाइबलका ६६ वटा किताबको गहन अध्ययन-अनुसन्धान गरेपछि लुई गोसेनले लेखे: ‘बाइबलका लेखकहरूले परमेश्‍वरको छोराले संसारको उद्धार गर्ने विषयमा राम्ररी बुझेका थिएनन्‌ तापनि यत्ति धेरै लेखकले १,५०० वर्षको अवधिमा त्यही विषयमा लेखे र निरन्तर लेखिरहे। यस्तो एकरूपता आफैमा अत्यन्तै अचम्मलाग्दो छ।’—थिअप्नुस्ती—परमेश्‍वरद्वारा प्रेरित पवित्र शास्त्र (फ्रान्सेली)

तपाईंलाई कस्तो लाग्यो? लगभग १,५०० वर्षको अवधिमा ४० जना जति पुरुषद्वारा लेखिएको किताब सामञ्जस्यपूर्ण हुन्छ जस्तो के तपाईंलाई लाग्छ? अथवा बाइबल नै उत्कृष्ट छ? (w12-E 06/01)

[पृष्ठ ७-मा भएको ठूलो अक्षरको क्याप्सन]

“यी सबै लेखोटलाई एकै ठाउँमा समेट्‌ने हो भने एउटा सिङ्‌गो किताब बन्छ . . . यसको दाँजोमा संसारको अरू कुनै पनि किताब आउन सक्दैन।”—पुरानो करारको समस्या, जेम्स ओरको अङ्‌ग्रेजी पुस्तक