परमेश्वरको नजिक हुनुहोस्
“तपाईंले यी कुरा . . . बालकहरूलाई प्रकट गर्नुभएको छ”
के तपाईं परमेश्वरबारे साँचो कुरा बुझ्न चाहनुहुन्छ? जस्तै:- परमेश्वर को हुनुहुन्छ, उहाँलाई के मन पर्छ, के मन पर्दैन? अनि उहाँको इच्छा के हो? परमेश्वरले आफ्नो वचन बाइबलमा आफूबारे साँचो कुरा प्रकट गर्नुभएको छ। तर बाइबल पढ्ने जोसुकैले सत्य कुरा पूर्णतया बुझ्न सक्दैन। किन? किनभने परमेश्वरबारे साँचो कुरा बुझ्न पाउनु ठूलो सुअवसर हो, जुन सबैले पाउँदैनन्। यस सन्दर्भमा येशूले के भन्नुभयो, अब हामी विचार गरौं।—मत्ती ११:२५ पढ्नुहोस्।
मत्ती ११:२५ को सुरुमा यस्तो लेखिएको छ: “त्यसबेला येशूले यसो भन्नुभयो।” भर्खरै घटेको कुनै घटनाले गर्दा येशूले केही कुरा भन्न लाग्नुभएको हुन सक्छ। येशूले गालीलका तीनवटा सहरमा चमत्कारहरू गर्नुभएको थियो र उहाँको कुरामा त्यति चासो नदेखाएका मानिसहरूलाई भर्खरै मात्र हप्काउनुभएको थियो। (मत्ती ११:२०-२४) तपाईंलाई लाग्ला, ‘येशूका चमत्कारहरू देखेर पनि किन तिनीहरू उहाँको चेला बन्न चाहेनन्?’ किनभने तिनीहरूको मन कठोर थियो।—मत्ती १३:१०-१५.
परमेश्वरबारे साँचो कुरा बुझ्न हामीलाई दुइटा कुरा चाहिन्छ भनेर येशूलाई थाह थियो: परमेश्वरको मदत र बुझ्ने मन। येशू भन्नुहुन्छ: “हे बुबा, स्वर्ग र पृथ्वीका मालिक, सबैको अगाडि म तपाईंको प्रशंसा गर्छु, किनकि तपाईंले यी कुरा बुद्धिमान् र बुद्धिजीवीहरूबाट लुकाउनुभएको छ तर बालकहरूलाई प्रकट गर्नुभएको छ।” बाइबल सत्य बुझ्न पाउनु ठूलो सुअवसर हो भनेर के तपाईंले बुझ्नुभयो? “स्वर्ग र पृथ्वीका मालिक” यहोवासित कसलाई सत्य प्रकट गर्ने र कसलाई नगर्ने भनेर निर्णय गर्ने अधिकार छ। तर त्यसो भन्दैमा यहोवा मनपरी निर्णय गर्नुहुन्न। उसोभए उहाँ केको आधारमा कसैलाई सत्य प्रकट गर्नुहुन्छ अनि कसैलाई गर्नुहुन्न?
यहोवा अहङ्कारीलाई होइन, नम्रलाई अनुग्रह देखाउनुहुन्छ। (याकूब ४:६) परमेश्वरको मदत लिन नचाहने अनि आफ्नो क्षमतामा घमन्ड गर्ने “बुद्धिमान् र बुद्धिजीवीहरूबाट” यहोवा सत्य लुकाउनुहुन्छ। (१ कोरिन्थी १:१९-२१) तर “बालक”-ले जस्तै नम्रता देखाउने निष्कपट मन भएकाहरूलाई उहाँ सत्य प्रकट गर्नुहुन्छ। (मत्ती १८:१-४; १ कोरिन्थी १:२६-२८) परमेश्वरका छोरा येशूले घमन्डी र नम्र दुवै खाले मानिस देख्नुभयो। घमन्डी अनि धेरै ज्ञान हासिल गरेका धर्मगुरुहरूले येशूको सन्देशको भाव बुझ्न सकेनन् तर नम्र मन भएका जलारीहरूले भने बुझे। (मत्ती ४:१८-२२; २३:१-५; प्रेषित ४:१३) साथै साँचो नम्रता देखाउने केही धनी अनि शिक्षित मानिसहरू पनि येशूको अनुयायी बने।—लूका १९:१, २, ८; प्रेषित २२:१-३.
सुरुमा सोधिएको प्रश्नबारे फेरि विचार गरौं: के तपाईं परमेश्वरबारे साँचो कुरा बुझ्न चाहनुहुन्छ? चाहनुहुन्छ भने यो कुरा थाह पाउँदा तपाईंलाई खुसी लाग्ला, आफूलाई बुद्धिमान् ठान्नेहरूलाई यहोवा अनुग्रह देखाउनुहुन्न। बरु बुद्धिमान् भनाउँदाहरूले तुच्छ ठान्नेहरूलाई यहोवा अनुग्रह देखाउनुहुन्छ। नम्रता देखाउँदै परमेश्वरको वचन अध्ययन गर्नुभयो भने तपाईंले पनि अनमोल उपहार पाउन सक्नुहुन्छ। त्यो उपहार हो, परमेश्वरबारे सत्य कुरा बुझ्ने सुअवसर। सत्य कुरा बुझ्दा तपाईंको जीवन अझै अर्थपूर्ण हुनेछ र परमेश्वरको प्रतिज्ञाबमोजिम न्यायले बास गर्ने नयाँ संसारमा कहिल्यै अन्त नहुने “साँच्चैको जीवन” पाउनुहुनेछ। a—१ तिमोथी ६:१२, १९; २ पत्रुस ३:१३. (w13-E 01/01)
सुझावित बाइबल पढाइ
a परमेश्वर र उहाँको उद्देश्यबारे तपाईंलाई सत्य कुरा बताउन यहोवाका साक्षीहरू खुसी हुनेछन्। बाइबलले वास्तवमा के सिकाउँछ? किताबबाट तपाईंसित निश्शुल्क गृह बाइबल अध्ययन गराउन तिनीहरू इच्छुक छन्।