परिवार आनन्दमय बनाउने तरिकाहरू
अशक्त बच्चाको हेरचाह गर्नुपर्दा
निक: a “हाम्रो छोरा एन्जेलोलाई डाउन सिन्ड्रोम भएको छ। उसको बिरामीको कारण हामी शारीरिक, मानसिक र भावनात्मक तवरमा लखतरान हुन्छौं। स्वस्थ बच्चाको हेरचाह गर्न कत्तिको खटिनुपर्छ, सोच्नुहोस् त। अनि त्योभन्दा सय गुणा बढी खटिनुपर्दा हाम्रो हालत कस्तो होला! यसले गर्दा कहिलेकाहीं हामी श्रीमान्श्रीमतीबीच खटपट हुन्छ।”
सारा: “एन्जेलोलाई एकदमै स-साना कुरा सिकाउन पनि निकै समय लाग्छ र साह्रै धैर्य गर्नुपर्छ। एकदम थकाइ लागेको बेला श्रीमान्सित झर्किन्छु र झनक्क रिसाइहाल्छु। कहिलेकाहीं हाम्रो कुरा मिल्दैन अनि भनाभन हुन्छ।”
आफ्नो बच्चा जन्मेको दिन सम्झनुभएको छ? बच्चा काखमा लिन तपाईंलाई कस्तो हतार भएको थियो होला। तर बच्चा बिरामी वा अशक्त छ भन्ने खबर सुन्दा निक र साराजस्ता दम्पतीको मन भरङ्ग हुन्छ र बच्चा जन्मँदाको खुसी हराउँछ।
के तपाईंको बच्चा अशक्त छ? तपाईंलाई के गर्ने, कसो गर्ने भन्ने चिन्ता होला। यसो हो भने निराश नहुनुहोस्। तपाईंको जस्तै समस्या भोगेका आमाबाबुले सफलतापूर्वक त्यसको सामना गरेका छन्। तपाईंले सामना गर्नुपर्ने तीनवटा चुनौती र ती सामना गर्न बाइबलको सल्लाहले कसरी मदत गर्छ, विचार गर्नुहोस्।
चुनौती १: बच्चा अशक्त छ भनेर स्वीकार्न गाह्रो हुन्छ।
आफ्नो बच्चा अशक्त छ भनेर थाह पाउँदा थुप्रै आमाबाबुको मन छियाछिया हुन्छ। मेक्सिकोमा बस्ने जुलियाना भन्छिन्, “हाम्रो छोरा सान्टियागोलाई मस्तिष्कको पक्षाघात भएको छ भनेर डाक्टरहरूले
बताउँदा मैले पत्याउनै सकिनँ, छाँगाबाट खसेझैं भएँ।” कतिपयले भने इटालीमा बस्ने भिलानाले जस्तो महसुस गर्छन्। तिनी भन्छिन्, “मेरो उमेरमा बच्चा जन्माउँदा खतरा हुन्छ भनेर थाह हुँदा हुँदै पनि मैले बच्चा जन्माउने निर्णय गरें। अहिले मेरो छोरालाई डाउन सिन्ड्रोम भएको देख्दा दोषी महसुस गर्छु।”निराश वा दोषी महसुस गर्नुहुन्छ भने त्यो स्वाभाविक हो भनेर मानिलिनुहोस्। परमेश्वरले सुरुमा मानिस सृष्टि गर्दा बिरामी होस् भन्ने चाहनुभएको थिएन। (उत्पत्ति १:२७, २८) असामान्य कुराहरूलाई सजिलै स्वीकार्न सक्ने गरी उहाँले आमाबाबु सृष्टि गर्नुभएको थिएन। यसकारण आफ्नो बच्चाको सुस्वास्थ्य गुम्दा तपाईं “दुःखी” हुनुहुन्छ। त्यसैले आफ्नो भावनालाई नियन्त्रणमा राख्न र नयाँ परिस्थतिअनुसार जिउन समय लाग्छ।
आफ्नो बच्चाको अशक्तताको लागि तपाईं दोषी महसुस गर्नुहुन्छ भने के गर्ने? बच्चाको स्वास्थ्यमा वंशाणु, वातावरण र अन्य तत्त्वहरूले कुन हदसम्म असर गर्छ भनेर कसैलाई थाह छैन। अर्कोतर्फ आफ्नो जोडीलाई दोष दिने झुकाव हुन सक्छ। त्यसो नगर्नुहोस्। आफ्नो जोडीलाई सहयोग गर्नुभयो र बच्चाको हेरचाहमा ध्यान दिनुभयो भने राम्रो हुनेछ।—उपदेशक ४:९, १०.
सुझाव: आफ्नो बच्चाको अवस्थाबारे सकेसम्म धेरै कुरा थाह पाउनुहोस्। बाइबल भन्छ: “बुद्धिले घर बनाउँछ, असल समझशक्तिले त्यसलाई सुरक्षित राख्छ।”—हितोपदेश २४:३.
चिकित्सा पेसासित सम्बन्धित व्यक्तिहरूबाट र पत्र-पत्रिकाबाट तपाईं धेरै कुरा सिक्न सक्नुहुन्छ। आफ्नो बच्चाको अवस्थाबारे सिक्नु भनेको नयाँ भाषा सिक्नुजस्तै हो। सुरु-सुरुमा गाह्रो हुन्छ तर बिस्तारै सिक्न सक्नुहुन्छ।
सुरुमा बताइएका निक र साराले आफ्नो छोराको अवस्थाबारे राम्ररी बुझ्न सम्बन्धित क्षेत्रका डाक्टर र सङ्गठनबाट जानकारी खोजे। तिनीहरू भन्छन्, “डाउन सिन्ड्रोमले गर्दा हुने समस्याहरूबारे मात्र होइन तर यसका ‘राम्रा’ पक्षबारे पनि बुझ्न सक्यौं। हाम्रो छोराले निकै हदसम्म सामान्य जीवन बिताउन सक्छ भनेर थाह पाउँदा ढुक्क भयौं।”
यसो गरे कसो होला? तपाईंको बच्चाले के गर्न सक्छ, त्यसमा ध्यान केन्द्रित गर्नुहोस्। सपरिवार मिलेर विभिन्न क्रियाकलापमा भाग लिनुहोस्। तपाईंको बच्चाले जस्तोसुकै सानो “सफलता” हासिल गरेको किन नहोस्, तुरुन्तै तारिफ गर्नुहोस् र ऊसँगै रमाउनुहोस्।
चुनौती २: अत्यन्तै थकित र भावनात्मक तवरमा खोक्रो महसुस गर्नुहुन्छ।
बिरामी बच्चाको स्याहार गर्दा अलिकता पनि बल बाँकी नभएको जस्तो महसुस हुन सक्छ। न्यु जील्याण्डमा बस्ने जेनी भन्छिन्, “मेरो छोरालाई मेरुदण्डको समस्या भएको पत्ता लाग्यो। त्यसको केही वर्षसम्म घरमा अलिकता मात्र थप काम गरें भने पनि असाध्यै लखतरान हुन्थें र कसैले केही भन्यो भने आँसु झरिहाल्थ्यो।”
अर्को चुनौती भनेको एक्लो महसुस गर्नु हो। विनोदको छोरालाई मांशपेसीको विकार र एक प्रकारको मानसिक असन्तुलन भएको छ। तिनी भन्छन्, “हाम्रो जीवन कस्तो छ भनेर धेरैजसोले राम्ररी बुझ्न सक्दैनन्।” तपाईं कसैसित कुरा गर्न चाहनुहुन्छ होला। तर वरपर तपाईंका साथीहरूको छोराछोरी अशक्त छैनन्। त्यसैले आफ्नो दुःख पोख्न हिचकिचाउनुहुन्छ।
सुझाव: मदत माग्नुहोस्। कसैले मदत दिंदा स्वीकार्नुहोस्। माथि उल्लेख गरिएको जुलियाना भन्छिन्, “कहिलेकाहीं मेरो श्रीमान् र मलाई अरूसित मदत माग्न लाज लाग्छ। तर आफैले सबै कुरा गर्न सक्दैनौं भनेर हामीले बुझ्यौं। अरूले मदत गर्दा हाम्रो विषयमा सोच्ने कोही रहेछ भन्ने महसुस गर्छौं।” कुनै जमघट वा ख्रीष्टियन सभामा घनिष्ठ साथी वा परिवारको सदस्य तपाईंको बच्चासित बसिदिन अग्रसर हुँदा खुसीसाथ स्वीकार्नुहोस्। बाइबलको एउटा हितोपदेशअनुसार “मित्र सब समय एक प्रेमी साथी हुन्छ” र दुःखमा साथ दिन जन्मेको दाजुभाइ सरह हुन्छ।—हितोपदेश १७:१७.
आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोस्। एम्बुलेन्सले आफ्नो काम राम्रोसित गरिरहने हो भने त्यसमा ठीक ठीक समयमा तेल भर्नुपर्छ। त्यसरी नै आफ्नो बच्चाको राम्रो स्याहारसुसार गर्न तपाईंले पोसिलो भोजन खाएर, व्यायाम र आराम गरेर आफ्नो स्वास्थ्यको ख्याल गर्नु महत्त्वपूर्ण छ। रोहनको छोराको खुट्टा चल्दैन। तिनी यसो भन्छन्, “मेरो छोरा हिंड्न सक्दैन। उसलाई यताउता लग्नुपर्छ। म नै उसको खुट्टा हुँ। यसकारण मैले खानपिनमा हेलचेक्य्राइँ गर्नु हुँदैन।”
आफ्नो स्वास्थ्यको ख्याल गर्न तपाईं कसरी समय निकाल्न सक्नुहुन्छ? केही आमाबाबु पालैपालो बच्चाको स्याहार गर्छन्। यसो गर्दा एक जनाले आराम गर्न वा अरू काम गर्न समय पाउँछ। अनावश्यक कामकुरामा समय खेर फाल्नु हुँदैन। यसो गर्नु सजिलो छैन। भारतमा बस्ने एउटी आमा, मयुरी भन्छिन्, “पछि बानी बस्छ।”
भरोसायोग्य साथीसित कुरा गर्नुहोस्। अशक्त छोराछोरी नभएका साथीहरूले पनि तपाईंको कुरा ध्यान दिएर सुनिदिंदा सान्त्वना पाउन सक्नुहुन्छ। तपाईं यहोवा परमेश्वरलाई पनि प्रार्थना गर्न सक्नुहुन्छ। प्रार्थनाले साँच्चै मदत गर्छ र? याज्मिनको भजन १४५:१८.
दुइटा बच्चालाई सिस्टिक फाइब्रोसिस भन्ने गम्भीर रोग लागेको छ। तिनी भन्छिन्, “कहिलेकाहीं यस्तो असह्य पीडा हुन्छ, सासै रोकिएर मर्छु कि जस्तो लाग्छ।” तर तिनी भन्छिन्, “सान्त्वना र बलको लागि यहोवालाई प्रार्थना गर्छु। त्यसपछि बल्ल आँट आउँछ।”—यसो गरे कसो होला? कस्तो भोजन खाँदै छु, कहिले व्यायाम गर्दै छु अनि सुत्नको लागि कति समय बिताउँदै छु भनेर केलाउनुहोस्। कम महत्त्वपूर्ण कुराहरूमा धेरै समय खर्च नगरेर बरु आफ्नो स्वास्थ्यको ख्याल गर्न कसरी समय निकाल्न सकिन्छ, पत्ता लगाउनुहोस्। आवश्यकताअनुसार तालिका छाँटकाँट गरिरहनुहोस्।
चुनौती ३: परिवारका बाँकी सदस्यलाई भन्दा बिरामी बच्चालाई बढी ध्यान दिनुहुन्छ।
घरमा बिरामी बच्चा छ भने खानपिन, कहाँ जाने/कहाँ नजाने अनि आमाबाबुले प्रत्येक बच्चासित कति समय बिताउने इत्यादि कुरालाई असर गर्छ। यसले गर्दा अरू छोराछोरीले आफूलाई वास्ता नगरेको महसुस गर्न सक्छन्। यति मात्र होइन, बिरामी बच्चाको स्याहारसुसार गर्न एकदमै तल्लीन भएकोले श्रीमान्-श्रीमतीबीचको सम्बन्धमा असर पर्न सक्छ। लाइबेरियामा बस्ने लिनेल भन्छन्, “कहिलेकाहीं मेरी श्रीमतीले ऊ एक्लैले ठूलो भारी बोक्नुपरेको अनि मलाई चाहिं छोराको कुनै वास्ता नभएको गुनासो गर्छिन्। यो सुन्दा असाध्यै चित्त दुख्छ अनि कहिलेकाहीं म ऊसित नराम्रो व्यवहार गर्छु।”
सुझाव: सबै छोराछोरीलाई उत्तिकै माया गरेको देखाउन उनीहरूलाई मनपर्ने गतिविधिमा सँगै भाग लिने योजना बनाउनुहोस्। माथि उल्लेख गरिएकी जेनी भन्छिन्, “कहिलेकाहीं हाम्रो जेठो छोराको लागि विशेष कुरा गर्छौं, जस्तै उसलाई मनपर्ने रेस्टुराँमा खाना खाने।”
वैवाहिक बन्धनलाई बलियो बनाइराख्न आफ्नो जोडीसित कुरा गर्नुहोस् र सँगै प्रार्थना गर्नुहोस्। भारतमा बस्ने असिम जसको छोरालाई छारे रोग लागेको छ, तिनी भन्छन्, “कहिलेकाहीं म र मेरी श्रीमती एकदम थकित र निराश हुन्छौं। तैपनि सँगै बसेर कुरा गर्न अनि प्रार्थना गर्न समय निकाल्छौं। हरेक दिन बिहान छोराछोरी उठ्नुअघि बाइबलबाट एउटा पद सँगै छलफल गर्छौं।” अरू कतिपय दम्पती भने राती सुत्नुअघि दुई जना मात्र बसेर कुरा गर्न समय निकाल्छन्। यस्ता आत्मीय कुराकानी अनि निष्कपट प्रार्थनाले कठिन अवस्थामा तपाईंको वैवाहिक बन्धनलाई अझ बलियो बनाउनेछ। (हितोपदेश १५:२२) एक दम्पती यसो भन्छन्, “हामीले अत्यन्तै कठिन घडीमा जीवनका सबैभन्दा मीठा पलहरू अनुभव गऱ्यौं।”
यसो गरे कसो होला? बिरामी बच्चालाई सघाउन अरू छोराछोरीले गरेको जस्तोसुकै सानो कुरा किन नहोस्, तिनीहरूको तारिफ गर्नुहोस्। छोराछोरी अनि आफ्नो जोडीप्रतिको माया र कृतज्ञता व्यक्त गर्न नबिर्सनुहोस्।
आशावादी हुनुहोस्
बच्चा-बूढो सबैलाई पिरोल्ने रोगबिमार र अशक्तता परमेश्वरले चाँडै हटाउनुहुनेछ भनी बाइबलमा प्रतिज्ञा गरिएको छ। (प्रकाश २१:३, ४) तब “त्यहाँका बासिन्दाहरूले यसो भन्नेछैनन्, ‘म बिरामी परें।’” b—यशैया ३३:२४.
त्यो समय नआउन्जेल आफ्नो अशक्त बच्चाको राम्रो स्याहारसुसार गर्न तपाईं सफल हुन सक्नुहुन्छ। सुरुमा बताइएका निक र सारा भन्छन्, “कुनै पनि कुरा आफूले सोचेजस्तो नहुँदा निराश नहुनुहोस्। बरु बच्चाको राम्रो कुरामा ध्यान केन्द्रित गर्नुहोस्।” (w13-E 02/01)
a यस लेखमा नामहरू परिवर्तन गरिएका छन्।
b पूर्णतया स्वस्थ हुने बाइबलको प्रतिज्ञाबारे थप कुरा जान्न यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? किताबको अध्याय ३ हेर्नुहोस्।
आफैलाई सोध्नुहोस् . . .
-
शारीरिक, भावनात्मक र आध्यात्मिक तवरमा सकेसम्म स्वस्थ रहन म के गर्छु?
-
अरू छोराछोरीले मदत गर्दा मैले उनीहरूको तारिफ नगरेको कति भयो?