मोशा—नम्रताको उदाहरण
नम्रता के हो?
नम्र हुनु भनेको घमन्डी वा अभिमानी नहुनु हो। नम्र व्यक्तिले अरूलाई आफूभन्दा तुच्छ ठान्दैन। त्रुटिपूर्ण व्यक्ति नम्र छ भने उसले आफ्नो सीमितता बुझ्नुपर्छ।
मोशाले कसरी नम्रता देखाए?
आफूले पाएको अख्तियारप्रति मोशाले कहिल्यै घमन्ड गरेनन्। अक्सर, मानिसले अख्तियार पाउँदा कस्तो प्रतिक्रिया देखाउँछ, त्यसबाट तिनी नम्र हो वा घमन्डी भनेर प्रमाणित हुन्छ। उन्नाइसौं शताब्दीका लेखक रोबर्ट जी. ईङ्गरसोलले यस्तो लेखे: “मान्छेको वास्तविक रूप थाह पाउने हो भने उसलाई अख्तियार देऊ।” अख्तियार पाएका मोशाले नम्रताको उत्कृष्ट उदाहरण बसाले। कसरी?
यहोवाले मोशालाई इस्राएलीहरूलाई डोऱ्याउने जिम्मा सुम्पनुभएको थियो। त्यसैले तिनले ठूलो अख्तियार पाएका थिए। तर तिनले कहिल्यै घमन्ड गरेनन्। उदाहरणको लागि, पैतृक सम्पत्तिको हकबारे एउटा गम्भीर विषय खडा हुँदा मोशाले त्यसलाई नम्र भई सुल्झाएको विवरण विचार गर्नुहोस्। (गन्ती २७:१-११) तिनले गम्भीर निर्णय गर्नुपरेको थियो किनभने त्यो निर्णय भावी पुस्ताहरूका लागि नजिर हुनेथियो।
मोशाले के गर्नेथिए? के तिनले इस्राएलको नाइकेको हैसियतमा उक्त मामिलामा निर्णय गर्न आफू योग्य छु भन्नेथिए? के तिनी आफ्नै क्षमता र वर्षौंको अनुभवमा भर पर्नेथिए? के तिनी यहोवाको सोचाइबारे आफूसित भएको ज्ञानमा भर पर्नेथिए?
घमन्डी मानिसले त त्यस्तै गर्नेथिए होलान्। तर मोशाले त्यसो गरेनन्। बाइबल विवरण यसो भन्छ: “मोशाले तिनीहरूको मामिला परमप्रभुकहाँ ल्याए।” (गन्ती २७:५) सोच्नुहोस् त! लगभग ४० वर्षसम्म इस्राएल राष्ट्रलाई डोऱ्याइसकेपछि पनि मोशा आफैमा भर परेनन् बरु यहोवामा भर परे। यसबाट मोशा कत्ति नम्र थिए भनेर बुझ्न सक्छौं।
मोशाले अख्तियार पाउन आफू मात्र योग्य छु भन्ठानेनन्। यहोवाले अरू इस्राएलीहरूलाई पनि भविष्यवक्ताको काम गर्न खटाउनुहुँदा मोशा खुसी भए। (गन्ती ११:२४-२९) मोशाका ससुराले तिनलाई केही काम अरूलाई सुम्पने सल्लाह दिंदा नम्र भई त्यसै गरे। (प्रस्थान १८:१३-२४) आफ्नो जीवनको अन्ततिर शारीरिक रूपमा बलियो भए पनि मोशाले यहोवालाई एक जना उत्तराधिकारी नियुक्त गर्न आग्रह गरे। यहोवाले यहोशूलाई छान्नुहुँदा मोशाले मनैदेखि ती जवान मानिसलाई साथ दिए। साथै प्रतिज्ञा गरिएको देशसम्म डोऱ्याउने यहोशूलाई साथ दिनू भनी मोशाले इस्राएलीहरूलाई आग्रह गरे। (गन्ती २७:१५-१८; व्यवस्था ३१:३-६; ३४:७) इस्राएलीहरूलाई यहोवाको उपासना गर्न डोऱ्याउन पाउनुलाई मोशाले सुअवसर ठाने। तर आफ्नो अख्तियारलाई भन्दा तिनले सधैं अरूको हितलाई ध्यान दिए।
हामी के सिक्न सक्छौं?
आफूले पाएको अख्तियार वा आफ्नो क्षमताप्रति हामी कहिल्यै घमन्ड गर्न चाहँदैनौं। नबिर्सनुहोस्, यहोवासामु स्वीकारयोग्य हुने हो भने क्षमताभन्दा नम्रता आवश्यक छ। (१ शमूएल १५:१७) हामी साँच्चै नम्र छौं भने बाइबलको यो बुद्धिमानी सल्लाह लागू गर्ने प्रयास गर्नेछौं: “तेरो सारा भरोसा परमेश्वरमा राख्, र तेरो आफ्नै समझ-शक्तिमा भरोसा नगर्।”—हितोपदेश ३:५, ६.
मोशाको उदाहरणले हामीलाई आफ्नो ओहदा वा अख्तियारलाई बढ्तै महत्त्व नदिन पनि सिकाउँछ।
नम्रताको सन्दर्भमा मोशाको उदाहरण पछ्याएर हामी कस्तो लाभ उठाउन सक्छौं? हो, साँचो नम्रता खेती गर्दा अरू मानिसलाई हामीसित व्यवहार गर्न सजिलो लाग्नेछ। तिनीहरूले हामीलाई मन पराउनेछन्। तर अझ रोचक कुरा, नम्रता देखाउनुहुने परमेश्वर यहोवाले हामीलाई मन पराउनुहुनेछ। (भजन १८:३५) “परमेश्वरले अहङ्कारीहरूको विरोध गर्नुहुन्छ तर नम्रहरूलाई असीम अनुग्रह देखाउनुहुन्छ।” (१ पत्रुस ५:५) मोशाको नम्रताको अनुकरण गर्ने कस्तो सशक्त कारण! (w13-E 02/01)