सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

किन यतिबिघ्न दुःखकष्ट?

किन यतिबिघ्न दुःखकष्ट?

यतिबिघ्न दुःखकष्ट किन छ र त्यो हटाउन मानिसहरूले गरेको प्रयास किन विफल भएको छ भनेर बुझ्न दुःखकष्टका मूल कारणहरू थाह पाउनुपर्छ। दुःखकष्ट हुनुका कारणहरू बुझ्न त्यति सजिलो छैन। तर खुसीको कुरा, बाइबलले ती कारणहरू बुझ्न मदत गर्छ। हामी यस लेखमा यतिबिघ्न दुःखकष्ट हुनुका पाँचवटा मुख्य कारणबारे छलफल गर्नेछौं। यस विषयमा बाइबल के भन्छ र दुःखकष्टको खास कारण बुझ्न बाइबलले कसरी मदत गर्छ, त्यो राम्ररी जाँच्न हामी तपाईंलाई आग्रह गर्छौं।—२ तिमोथी ३:१६.

खराब सरकार

“दुष्टले शासन गर्दा मानिसहरू वेदनाले छटपटाउँछन्‌।”—हितोपदेश २९:२, NRV.

अहिलेसम्मको इतिहासमा थुप्रै निरङ्‌कुश शासक देखा परे। तिनीहरूले जनतालाई दिनुसम्म दुःख दिए। तर सबै शासक निरङ्‌कुश थिएनन्‌। देश र जनताको लागि मरिमेट्‌ने शासकहरू पनि छन्‌। तर सत्तामा पुगेपछि प्रायजसो आफ्नो कुर्सी जोगाउने होडबाजीमा लाग्छन्‌ र जनताको हितमा केही गर्न सक्दैनन्‌। अथवा व्यक्‍तिगत स्वार्थको लागि शक्‍तिको दुरुपयोग गर्छन्‌। यसले गर्दा सर्वसाधारण मारमा पर्छन्‌। अमेरिकाका भूतपूर्व परराष्ट्र मन्त्री हेन्री किसिङ्‌गरले भने: “इतिहास भनेको असफल प्रयासहरू, पूरा हुन नसकेका आकाङ्‌क्षाहरूको वृत्तान्त हो।”

बाइबल यसो पनि भन्छ: “आफ्नो पाइलालाई ठीक मार्गमा हिंडाउने शक्‍ति मानिसमा छैन।” (यर्मिया १०:२३) त्रुटिपूर्ण भएकोले मानिससित आफ्नो समस्या सुल्झाउने बुद्धि र पछिसम्मको कुरा विचार गर्ने क्षमता छैन। मानिसले आफ्नै पाइलालाई त सही मार्गमा डोऱ्‍याउन सक्दैन भने कसरी सिङ्‌गो देशलाई डोऱ्‍याउन सक्छ? मानव शासकहरूले दुःखकष्ट हटाउन नसक्नुको कारण के तपाईंले बुझ्नुभयो? मानिसहरूले दुःख भोग्नुमा धेरै हदसम्म खराब सरकार अर्थात्‌ निरङ्‌कुश शासकहरूको हात छ!

झूटो धर्मको प्रभाव

“तिमीहरूले आपसमा प्रेम गऱ्‍यौ भने तिमीहरू मेरा चेलाहरू हौ भनी सबैले यसैबाट थाह पाउनेछन्‌।”—यूहन्‍ना १३:३५.

प्रेम र एकताको सन्देश नदिने धर्मगुरु सायद विरलै होला। तर वास्तविकता फरक छ। तिनीहरूले आफ्ना अनुयायीहरूको मनमा साँचो प्रेम विकास गर्न सकेका छैनन्‌। प्रेमभाव जगाउनुको साटो धर्मले मानिस-मानिसबीच र राष्ट्र-राष्ट्रबीच फूट, असहिष्णुता, जातीय पूर्वाग्रह र कलहको बीउ रोपेको छ। धर्मविद्‌ हान्स कुङले ख्रीष्टियन धर्म र संसारका धर्महरू (अङ्‌ग्रेजी) भन्‍ने आफ्नो किताबको समापनमा यसरी लेखे: “धर्मले समर्थन गरेको, उक्साएको र वैध ठहराएको राजनैतिक सङ्‌घर्ष सबैभन्दा क्रूर हुन्छ।”

साथै विवाहअघिको यौनसम्बन्ध, विवाहित जोडीबाहेक अरूसितको यौनसम्बन्ध र समलैङ्‌गिकतालाई थुप्रै धर्मले खुलेआम स्वीकारेका छन्‌। यसले गर्दा अनेकन्‌ रोग फैलिएको छ; गर्भपतन, अनिच्छित गर्भधारणको सङ्‌ख्या बढेको छ; वैवाहिक तथा पारिवारिक जीवन टुक्रिएको छ। यसले गर्दा थुप्रैले असह्‍य मानसिक तथा भावनात्मक पीडा भोगेका छन्‌।

मानिसको त्रुटिपूर्ण अवस्था र स्वार्थी इच्छा

“हरेक मानिस आफ्नै तृष्णाद्वारा खिचिएर लोभमा फस्छ र परीक्षामा पर्छ। जब तृष्णा गर्भवती हुन्छ, तब त्यसले पापलाई जन्माउँछ।”—याकूब १:१४, १५.

जन्मँदै हामी सबै त्रुटिपूर्ण भएकोले हामीमा गलत काम गर्ने झुकाव छ। त्यसैले ‘शरीरले जे गर्न लगाउँछ, त्यसै गर्ने’ कुइच्छाविरुद्ध सङ्‌घर्ष गर्नै पर्छ। (एफिसी २:३) कुइच्छा पूरा गर्ने मौका आएको खण्डमा त्यसलाई तिरस्कार गर्न झनै गाह्रो हुन्छ। हामीले हार मान्यौं भने ठूलो मोल चुकाउनुपर्ने हुन्छ।

एक जना लेखक पी. डी. मेहताले यस्तो लेखे: “धेरैजसो दुःखकष्टको कारण आफ्नै कामवासना, अचाक्ली मोजमस्ती, आत्मविलासिता, लोभ र महत्त्वाकाङ्‌क्षा हो।” जाँडरक्सी, लागूपदार्थ, जूवातास, अवैध यौनसम्बन्धजस्ता कुलत र कुइच्छाले समाजका थुप्रै “गण्यमान्य व्यक्‍तिको” जीवन बर्बाद पारेको छ। साथै उनीहरूको परिवार, साथीभाइ र अरूले पनि निकै दुःख झेल्नुपरेको छ। मानिसको त्रुटिपूर्ण झुकावलाई विचार गर्दा हामी बाइबलको यस भनाइसित सहमत हुन्छौं: “हामीलाई थाह छ, सारा सृष्टि अहिलेसम्म एकसाथ सुस्केरा हाल्दै पीडाले छटपटाइरहेको छ।”—रोमी ८:२२.

दुष्ट स्वर्गदूतहरूको शक्‍ति

सैतान “यस युगको ईश्‍वर” हो र त्यसलाई साथ दिने अरू शक्‍तिशाली दुष्ट स्वर्गदूतहरू छन्‌ भनेर बाइबल बताउँछ।—२ कोरिन्थी ४:४; प्रकाश १२:९.

सैतानजस्तै दुष्ट स्वर्गदूतहरू पनि मानिसहरूलाई आफ्नो वशमा पार्न र बहकाउन सक्रिय छन्‌। यो कुरा येशूका अनुयायी पावलले बुझेका थिए। तिनले यसो भने: “हाम्रो यो लडन्त मानिसहरूसित होइन तर सरकारहरूसित, अख्तियारवालाहरूसित, यस अन्धकार संसारका शासकहरूसित अनि स्वर्गका दुष्ट दूतहरूका दलसित हो।”—एफिसी ६:१२.

मानिसहरूलाई सताउन पाउँदा दुष्ट स्वर्गदूतहरू रमाउँछन्‌। तर त्यही नै तिनीहरूको मुख्य उद्देश्‍य होइन। तिनीहरू मानिसहरूलाई सर्वोच्च परमेश्‍वर यहोवादेखि तर्काउन चाहन्छन्‌। (भजन ८३:१८) मानिसहरूलाई बहकाउन र आफ्नो वशमा पार्न दुष्ट स्वर्गदूतहरू विभिन्‍न तरिका अपनाउँछन्‌। जस्तै: जादुगरी, तन्त्रमन्त्र, राशिफल, भावी बताउने। त्यसकारण यहोवा परमेश्‍वर हामीलाई ती खतराहरूदेखि सचेत गराउनुहुन्छ र सैतान अनि दुष्ट स्वर्गदूतहरूको विरोध गर्नेहरूलाई सुरक्षा दिनुहुन्छ।—याकूब ४:७.

हामी “अन्तको दिनमा” बाँचिरहेका छौं

लगभग दुई हजार वर्षअघि बाइबलमा यस्तो भविष्यवाणी गरिएको थियो: “अन्तको दिनमा असाध्यै कठिन समय आउनेछ भनेर थाह पाइ राख।”

अहिलेको समय असाध्यै कठिन हुनुको कारणबारे बाइबल यसो भन्छ: “मानिसहरू आफैलाई मात्र प्रेम गर्ने, पैसालाई प्रेम गर्ने, धाक लगाउने, अहङ्‌कारी, . . . स्वाभाविक स्नेह नभएका, कुनै पनि कुरामा सहमत नहुने, निन्दक, असंयमित, निष्ठुर, भलाइलाई प्रेम नगर्ने, धोकेबाज, जिद्दी गर्ने, घमन्डले फुल्ने, परमेश्‍वरलाई भन्दा सुखविलासलाई प्रेम गर्ने हुनेछन्‌।” हामीले देखिरहेको सबै दुःखकष्टको एउटा मूल कारण यही हो—हामी “अन्तको दिनमा” बाँचिरहेका छौं।—२ तिमोथी ३:१-४.

असल मनसाय हुँदाहुँदै पनि मानिसहरूले दुःखकष्ट हटाउन नसक्नुको कारण भर्खरै छलफल गरिएका बुँदाहरूबाट स्पष्ट हुँदैन र? त्यसोभए हामी कसमाथि भर पर्न सक्छौं? सृष्टिकर्तामाथि भर पर्न सक्छौं, जसले “दियाबलका” र त्यसको पछि लाग्ने दुष्ट स्वर्गदूतका “कामहरू नष्ट गर्ने” प्रतिज्ञा गर्नुभएको छ। (१ यूहन्‍ना ३:८) दुःखकष्टका सबै कारण हटाउन परमेश्‍वरले के गर्नुहुनेछ, यसपछिको लेखमा छलफल गरिनेछ। (w13-E 09/01)