आवरण लेख: किन यतिबिघ्न दुःखकष्ट? यसको अन्त कहिले हुनेछ?
कैयौं निर्दोषको ज्यान गयो!
दाङको गोबरडिहा गा.वि.स.का तिर्सना पुन र कुटिसा बुढा बेलुकीपख घरनजिकैको खोलामा नुहाउन गएका थिए। खोलामा डुबेर तिनीहरूको मृत्यु भयो। तिनीहरूमध्ये एक जना चार वर्षको र अर्को तीन वर्ष मात्र पुगेको थियो।
शारलट, डानियल, ओलिभ्या, जोजेफिन . . . यी ६/७ वर्षका केटाकेटी थिए। यिनीहरू डिसेम्बर १४, २०१२ मा अमेरिकाको कनेक्टिकटमा भएको गोली काण्डमा मारिए। त्यतिबेला मारिएका २६ जनामध्ये २० जना स्कूले केटाकेटी थिए। श्रद्धाञ्जली कार्यक्रममा राष्ट्रपति ओबामाले ती केटाकेटीहरूको नाम लिंदै शोकसन्तप्त परिवारलाई यसो भने: “यस प्रकारको त्रासदी अन्त्य हुनै पर्छ।”
सन् १९९६ मा १८ वर्षीया बानो परिवारसँगै इराकबाट नर्वेमा बसाइँ सरिन्। तर दुःखको कुरा, जुलाई २२, २०११ मा एक जना उग्रवादीको हातबाट तिनको ज्यान गयो। त्यतिबेला जम्मा ७७ जना मारिएका थिए। त्यो उग्रवादीले फुइँ गर्दै यसो भन्यो: ‘मैले अझ धेरैलाई मार्न नसकेकोमा क्षमा प्रार्थी छु।’
संसारभरि यस्ता मार्मिक घटनाहरू दिनदिनै सुन्नमा आइरहन्छन्। मानिसहरूले दुर्घटना, अपराध, युद्ध, आतङ्कवाद, प्राकृतिक प्रकोप र अन्य यस्तै घटनाहरूले गर्दा कति दुःख भोगिरहेका छन्, सोच्नुहोस् त। कैयौं निर्दोष मानिसको अकालमा ज्यान गएको छ र विनाकारण दुःख भोग्नुपरेको छ।
कसै-कसैले भन्छन्, ‘भगवान्लाई हाम्रो कुनै चासो छैन।’ त्यसैले सबै दुःखकष्टको लागि भगवान्लाई दोष दिन्छन्। कतिपयको विचारमा भगवान्ले हाम्रो दुःख देख्नु त हुन्छ तर हस्तक्षेप गर्न चाहनुहुन्न। अनि अरूचाहिं ‘भाग्यमै त्यस्तो लेख्या’ रहेछ’ भन्छन्। दुःखकष्टको कारणबारे मान्छेपिच्छे फरक-फरक धारणा छ। त्यसोभए भरपर्दो अनि चित्तबुझ्दो जवाफ कहाँ पाउन सक्छौं? दुःखकष्टको कारण र यसको अन्तबारे परमेश्वरको वचन बाइबल के भन्छ, यसपछिको लेखले जवाफ दिनेछ। (w13-E 09/01)