सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

 आवरण लेख | त्यो युद्ध जसले संसारको रूप परिवर्तन गरिदियो

युद्ध अनि दुःखकष्ट पछाडि कसको हात छ?

युद्ध अनि दुःखकष्ट पछाडि कसको हात छ?

सन्‌ १९१८ नोभेम्बर ११ मा प्रथम विश्वयुद्धको अन्त भयो। मानिसहरू व्यापार व्यवसाय बन्द गरेर खुसीयाली मनाउन सडकमा ओर्लिए। तर तिनीहरूको त्यो हर्ष धेरै समयसम्म टिकेन। नभन्दै मेसिन गनको गटटटट्भन्दा पनि डरलाग्दो अर्को एउटा विपत्ति आइपऱ्यो।

सन्‌ १९१८ जूनमा स्पेनिस फ्लू भनिने महामारीबाट फ्रान्समा भएका सैनिकहरू सङ्क्रमित भइसकेका थिए। यो रोग कत्तिको घातक छ भन्ने कुरा मानिसहरूले चाँडै थाह पाए। उदाहरणको लागि केही महिनामै यस रोगले फ्रान्समा भएका थुप्रै अमेरिकी सैनिकहरूको ज्यान लियो। यो सङ्ख्या लडाइँमा शत्रुहरूको हातबाट मर्नेहरूको भन्दा धेरै थियो। युद्धपछि घर फर्किएका सैनिकहरूले आफू सँगसँगै यो रोग बोकेर ल्याए। यसले गर्दा महामारी जताततै फैलियो।

युद्धपछि भोकमरी फैलियो र अर्थतन्त्र पनि उथलपुथल भयो। सन्‌ १९१८ मा युद्ध थामुन्जेल युरोपका थुप्रै देश भोकमरीको चपेटामा परिसकेका थिए। सन्‌ १९२३ सम्ममा जर्मनीको पैसा कामै नलाग्ने भइसकेको थियो। त्यसको छ वर्षपछि पूरै विश्वको अर्थतन्त्र तहसनहस भयो। प्रथम विश्वयुद्धमा सुरु भएको राष्ट्रहरूबीचको असमझदारी अझै साम्य नभएकोले पनि सन्‌ १९३९ मा दोस्रो विश्वयुद्ध सुरु भयो। यी विपत्तिका लहरपछाडि कसको हात थियो?

अन्तको दिनको चिन्ह

बाइबलमा गरिएका भविष्यवाणीले यी ऐतिहासिक घटनाहरू अझ खासगरि प्रथम विश्वयुद्ध हुनुको वास्तविक कारण बुझ्न हामीलाई मदत गर्छ। येशू ख्रीष्टले ‘जातिको विरुद्धमा  जाति उठ्नेछ’ अनि अनिकाल र महामारी हुनेछ भनेर भविष्यवाणी गर्नुभएको थियो। (मत्ती २४:३, ७; लूका २१:१०, ११) उहाँले आफ्ना चेलाहरूलाई यी कुराहरू अन्तको दिनको चिन्ह हुन्‌ भन्नुभयो। यसबारे थप कुरा बाइबलको प्रकाशको किताबमा बताइएको छ। उक्त किताबमा स्वर्गमा भएको लडाइँ र पृथ्वीको समस्याबीच सम्बन्ध छ भनेर बताइएको छ।— “पृथ्वी र स्वर्गमा लडाइँ” शीर्षकको पेटी हेर्नुहोस्।

बाइबलको यसै किताबमा चार घोडसवारबारे बताइएको छ। यीमध्ये तीन घोडसवारले येशूले भविष्यवाणी गर्नुभएका विपत्तिहरू अर्थात्‌ युद्ध, अनिकाल र महामारीलाई चित्रण गर्छ। ( “के चार घोडसवार साँच्चै अघि लम्किरहेका छन्‌?” शीर्षकको पेटी हेर्नुहोस्) प्रथम विश्वयुद्ध कष्टमय समयको सुरुवात साबित भयो र ती कष्टहरूले उग्र रूप लिंदैछन्‌। यी सबै समस्याको जड सैतान भनिने एक दुष्ट स्वर्गदूत हो भनेर बाइबल बताउँछ। (१ यूहन्ना ५:१९) के त्यस जडलाई उखेलिनेछ?

सैतानको “समय थोरै मात्र बाँकी” छ भनेर प्रकाशको किताबमा बताइएको छ। (प्रकाश १२:१२) त्यसैले त्यो असाध्यै रिसाएको छ र त्यसले पृथ्वीमा थुप्रै समस्या ल्याएको छ। तर ती समस्याहरूले सैतानको समय थोरै मात्र बाँकी छ भन्ने कुराको प्रमाण दिन्छ।

 दियाबलका कामहरू नष्ट गरिनेछ

प्रथम विश्वयुद्ध इतिहासमा एउटा निर्णायक घडी साबित भयो। यसपछि विश्वका सबै राष्ट्रहरू एकअर्काको विरुद्धमा उत्रिए। क्रान्तिको आगो सल्कियो अनि मानव नेताहरूले जनताको भरोसा गुमाए। यो, सैतान स्वर्गबाट फालिएको कुराको बलियो प्रमाण पनि हो। (प्रकाश १२:९) संसारको यो अदृश्य शासक क्रूर ताना शाही जस्तै छ। आफ्नो शासन गर्ने समय थोरै छ भनेर त्यसलाई थाह छ। त्यसको समय सिद्धिएपछि प्रथम विश्वयुद्धको कारण सुरु भएका सबै समस्याको नामोनिसान रहनेछैन।

यी बाइबल भविष्यवाणीलाई विचार गर्दा स्वर्गमा हुनुहुने हाम्रो राजा येशू ख्रीष्टले चाँडै नै “दियाबलका कामहरू नष्ट” गर्नुहुनेछ भनेर तपाईं विश्वस्त हुन सक्नुहुन्छ। (१ यूहन्ना ३:८) लाखौं मानिसहरू परमेश्वरको राज्य आओस् भनेर प्रार्थना गर्छन्‌। तपाईं नि? त्यस राज्यले गर्दा नै वफादार मानिसहरूले सैतानको होइन तर परमेश्वरको इच्छा पृथ्वीमा पूरा भएको देख्नेछन्‌। (मत्ती ६:९, १०) परमेश्वरको राज्यमा विश्वयुद्ध त के, कुनै युद्ध नै हुनेछैन! (भजन ४६:९) त्यस राज्यबारे सिक्नुहोस्। त्यसो गर्नुभयो भने शान्तिले भरिभराउ भएको पृथ्वीमा बाँच्न पाउनुहुनेछ!—यशैया ९:६, ७.

^ अनु. 20 यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? किताबको अध्याय ८ हेर्नुहोस्।