सोह्रौं शताब्दीका सत्य खोज्ने तीन व्यक्ति—तिनीहरूले के पत्ता लगाए?
“के हो सत्य?” यो प्रश्न प्रथम शताब्दीमा यहूदियाका रोमी राज्यपाल पन्तियस पिलातसले येशूलाई सोधेका थिए। त्यतिबेला येशूलाई पुर्पक्षको लागि राज्यपालसामु उभ्याइएको थियो। (यूहन्ना १८:३८) पिलातसले त्यो प्रश्न सत्य जान्न चाहेकोले सोधेका थिएनन्। तिनले ‘सत्य भन्ने कुरा पनि छ र’ भन्ने जस्तो शङ्कालु मनोवृत्ति देखाइरहेका थिए। पिलातसको लागि सत्य भनेको कुनै व्यक्तिलाई जे विश्वास गर्न मन लाग्छ वा अरूले जे विश्वास गर्न सिकाउँछ, त्यही हो। तिनको लागि सत्य भन्ने कुरै छैन। आज थुप्रै मानिसलाई पनि त्यस्तै लाग्छ।
युरोपमा सोह्रौं शताब्दीतिर चर्च जानेहरू कुन कुरालाई सत्य मान्ने भनेर दोधारमा परे। तिनीहरूले पोपलाई नै सर्वेसर्वा मान्दै अनि चर्चका अरू शिक्षाहरूमा विश्वास गर्दै आएका थिए। तर सोह्रौं शताब्दीको धर्मसुधार आन्दोलनले गर्दा युरोपभरि नयाँ धार्मिक विचारहरू फैलियो। तिनीहरूले कुन कुरामा विश्वास गर्नुपर्थ्यो? सत्य के हो भनेर तिनीहरूले कसरी छुट्टयाउने थिए?
त्यतिबेला थुप्रैमध्ये तीन जना व्यक्तिले सत्य खोजेरै छाड्ने निश्चय गरे। * तिनीहरूले सत्य के हो अनि झूटो के हो भनेर कसरी ठम्याउने थिए? तिनीहरूले के पत्ता लगाए? अब हामी हेरौं।
‘बाइबललाई नै सधैं सर्वोच्च मानौं’
वोल्फगाङ क्यापिटो बाइबलमा बलियो विश्वास राख्ने जवान व्यक्ति थिए। तिनी चिकित्सा, कानुन र धर्मविज्ञानका विद्यार्थी थिए। सन् १५१२ मा क्यापिटो पादरी भए। पछि माइन्ज सहरको प्रधान पादरीको सहयोगी भए।
सुरुमा क्यापिटोले धर्मसुधार आन्दोलनकारीहरूको जोसलाई शान्त पार्न खोजे। किनभने तिनीहरूले क्याथोलिक शिक्षासित नमिल्ने कुरा प्रचारप्रसार गरिरहेका थिए। तर त्यसको केही समयपछि नै क्यापिटो आफै तिनीहरूको पक्षमा बोल्न थाले। उनले क्याथोलिक शिक्षाको खण्डन गरे। आफू र आफ्ना साथीहरूले प्रचार गरेको कुरा सही हो वा होइन भनेर छुट्टयाउने भरपर्दो आधार बाइबल मात्र हो भन्ने मान्यता क्यापिटोको थियो। उनको यस मान्यताबारे इतिहासकार जेम्स एम. किटल्सनले आफ्नो किताबमा लेखेका छन्। रोटी र दाखमद्य येशूको शरीर र रगतमा परिणत हुन्छ भन्ने क्याथोलिक शिक्षा (ट्रान्स-सब्स्टेन्सीएशन) र सन्तहरूको उपासना बाइबलविपरीत हो भन्ने निष्कर्ष क्यापिटोले निकाले। (‘ सत्य हुन् कि होइनन् जाँच्नुहोस्’ भन्ने पेटी हेर्नुहोस्।) सन् १५२३ मा क्यापिटोले प्रधान पादरीको सहयोगीको रूपमा गरिरहेको विशेष काम त्यागे। त्यसपछि तिनी धर्मसुधार आन्दोलनको मुख्य केन्द्र स्ट्रासबर्ग सहरमा बसोबास गर्न थाले।
क्यापिटोको घरमा चर्चको शिक्षा चित्त नबुझेका व्यक्तिहरू विभिन्न धार्मिक विषयमा र बाइबलको शिक्षाबारे छलफल गर्ने गर्थे। केही धर्मसुधारवादीले अझै पनि त्रिएकको शिक्षालाई बढवा दिइरहेका थिए। तर क्यापिटोको लेखहरूमा “त्रिएकको विषयमा केही बताइएको छैन” भनेर बृहत् धर्मसुधार आन्दोलन (अङ्ग्रेजी) किताब बताउँछ। स्पेनका शास्त्रविद् माइकल सर्भिटसले त्रिएकको शिक्षालाई झूटो साबित गर्न बाइबलका पदहरू चलाएको देखेर क्यापिटो निकै प्रभावित भए। *
त्रिएकको शिक्षा इन्कार गरेको खण्डमा नतिजा भयानक हुन सक्थ्यो। त्यसैले क्यापिटो एकदमै होसियार भएर आफ्नो विचार व्यक्त गर्थे। माइकल सर्भिटसलाई भेट्नुअघि नै क्यापिटोले त्रिएकको शिक्षामाथि प्रश्न खडा गरेको कुरा क्यापिटोका लेखहरूबाट थाह पाउन सकिन्छ। एक जना क्याथोलिक पादरीले क्यापिटो र तिनका साथीहरूबारे यसरी लेखे: “तिनीहरूले गुप्तमा धर्मको गहिरा रहस्यहरूबारे छलफल गरे; [अनि] महापवित्र मानिने त्रिएकको शिक्षालाई इन्कार गरे।” त्यसको सय वर्षपछि त्रिएकको खण्डन गर्ने लेखकहरूको सूचीमा क्यापिटोको नाम अग्रपङ्क्तिमा थियो।
सत्यको स्रोत बाइबल हो भनेर क्यापिटो विश्वास गर्थे। “धर्मविज्ञानमा बाइबल र येशू ख्रीष्टको व्यवस्थालाई नै सधैं सर्वोच्च मानौं” भनी तिनले बताए। डाक्टर किटल्सनअनुसार “बाइबललाई बेवास्ता गर्नु नै शास्त्रविद्हरूको मुख्य कमजोरी हो” भनेर क्यापिटोले दाबी गरे।
परमेश्वरको वचनबाट सत्य सिक्ने यस्तै तीव्र इच्छा मार्टिन सेलारस (मार्टिन बोरहाउस नामले पनि चिनिन्थे) नाम गरेका युवकको पनि थियो। तिनी सन् १५२६ मा क्यापिटोको घरमा बस्थे।
“साँचो परमेश्वरको ज्ञान”
सेलारस सन् १४९९ मा जन्मेका थिए। तिनी धर्मविज्ञान र मानव विज्ञानका लगनशील विद्यार्थी थिए। तिनले जर्मनीको विटेनबर्गमा शिक्षकको काम गर्न थाले। धर्मसुधार आन्दोलन विटेनबर्गबाट सुरु भएकोले सेलारसको चिनजान मार्टिन लुथर र चर्चको शिक्षामा सुधार गर्न चाहने व्यक्तिहरूसित भयो। सेलारसले मानव शिक्षा र बाइबलको शिक्षाबीचको भिन्नता कसरी छुट्टयाउन सक्ने थिए?
धर्मसुधार आन्दोलनसम्बन्धी शिक्षा (अङ्ग्रेजी) किताबअनुसार “बाइबलको लगनशील अध्ययन गरेर, बाइबल पदहरूलाई आपसमा तुलना गरेर अनि पश्चात्तापसहित प्रार्थना गरेर” बाइबललाई सही तरिकाले बुझ्न सकिन्छ भनेर सेलारस विश्वास गर्थे। सेलारसले बाइबल जाँचेर के पत्ता लगाए?
सन् १५२७, जुलाईमा सेलारसले आफूले पत्ता लगाएका कुराहरू परमेश्वरका कामहरू (अङ्ग्रेजी) किताबमा प्रकाशित गरे। ट्रान्स-सब्स्टेन्सीएशन-जस्तो चर्चको धार्मिक चलनको प्रतीकात्मक अर्थ छ भनेर सेलारसले लेखे। प्रोफेसर रबिन बान्र्जअनुसार सेलारसको किताबमा “भविष्यमा हुने विपत्ति र दुःखकष्टपछि पूरै ब्रह्माण्ड पुनर्निर्माण हुनेछ भन्ने बाइबल भविष्यवाणीहरूको अर्थमा” पनि जोड दिइएको छ।—२ पत्रुस ३:१०-१३.
येशू ख्रीष्ट वास्तवमा को हुनुहुन्छ भनेर सेलारसले बताएको कुरा उल्लेखनीय छ। तिनले सीधै त्रिएकको शिक्षाको विरोध नगरे तापनि “स्वर्गका बुबा” र “उहाँका छोरा येशू ख्रीष्ट” फरक-फरक व्यक्ति हुन् भनेर बताए। साथै तिनले येशू ख्रीष्ट सर्वशक्तिमान् परमेश्वरका छोराहरूमध्ये अनि थुप्रै ईश्वरमध्ये एक हुन् भनेर लेखे।—यूहन्ना १०:३४, ३५.
रोबर्ट वालेसले त्रिएक विरोधीको जीवनी (अङ्ग्रेजी) नामक आफ्नो किताबमा सेलारसको लेखहरूमा त्रिएकको शिक्षाको समर्थन गरेको पाइँदैन भनेर उल्लेख गरे, जुन शिक्षालाई १६ औं शताब्दीमा सबैले स्वीकार्दै आएका थिए। त्यसैले सेलारसले त्रिएकको शिक्षालाई इन्कार गरेको हुनुपर्छ भन्ने निष्कर्ष थुप्रै शास्त्रविद्ले निकाले। तिनी “साँचो परमेश्वर र येशू ख्रीष्टको ज्ञान सिकाउने” एक माध्यम भनेर चिनिन्थे।
पुनर्स्थापनाको आशा
सन् १५२७ तिर विटेनबर्गका योहानेस कामपानसलाई त्यतिखेरको एक महान् शास्त्रविद् मानिन्थ्यो। धर्मसुधारको केन्द्र विटेनबर्गमा बसे तापनि तिनी मार्टिन लुथरका शिक्षासित सहमत थिएनन्। किन?
कामपानसले ट्रान्स-सब्स्टेन्सीएशन र कन-सब्स्टेन्सीएशन *-को शिक्षालाई इन्कार गरे। एक जना लेखक आन्द्रे सेगेनीअनुसार “प्रभु भोजमा रोटी कहिल्यै परिवर्तन हुँदैन तर त्यसले येशूको शरीरलाई सङ्केत गर्छ” भनी कामपानस विश्वास गर्थे। सन् १५२९ मा ट्रान्स-सब्स्टेन्सीएशन र कन-सब्स्टेन्सीएशनको विषयमा छलफल गर्न मारबर्गमा एउटा सभाको आयोजना गरियो। तर उक्त सभामा कामपानसलाई बाइबलबाट सिकेको कुनै पनि कुरा व्यक्त गर्ने अनुमति दिइएन। त्यसपछि विटेनबर्गका तिनका धर्मसुधारवादी साथीहरूले तिनीसित कुनै पनि सम्बन्ध राखेनन्।
बुबा, छोरा र पवित्र शक्तिबारे कामपानसको धारणाले गर्दा सुधारवादीहरू रिसाएका थिए। कामपानसले सन् १५३२ मा निकालेको पुनर्स्थापना (अङ्ग्रेजी) नामक आफ्नो किताबमा येशू र उहाँको बुबा दुई फरक व्यक्ति हुन् भनेर लेखे। श्रीमान् र श्रीमती दुई अलग-अलग व्यक्ति भए तापनि तिनीहरूलाई “एउटै शरीर” भनिएझैं बुबा र छोरा पनि “एक हुन्” भनेर तिनले बताए। (यूहन्ना १०:३०; मत्ती १९:५) छोरामाथि बुबाको अधिकार छ भनेर बुझाउन बाइबलमा यही उदाहरण चलाइएको कामपानसले याद गरे: “हरेक पुरुषको शिर ख्रीष्ट हुनुहुन्छ; त्यसैगरि स्त्रीको शिर पुरुष अनि ख्रीष्टको शिर परमेश्वर हुनुहुन्छ।”—१ कोरिन्थी ११:३.
पवित्र शक्तिको विषयमा चाहिं के भन्न सकिन्छ? कामपानसले बाइबलको मदतद्वारा यस्तो लेखे: “पवित्र शक्ति त्रिएकको एक जना व्यक्ति हो भन्ने कुनै शास्त्रीय आधार छैन . . . परमेश्वरको शक्ति उहाँको काममा देखिन्छ। उहाँ आफ्नो सम्पूर्ण कामकुरा पवित्र शक्ति प्रयोग गरेर गर्नुहुन्छ।”—उत्पत्ति १:२.
लुथरले कामपानसलाई ईश्वरनिन्दक अनि परमेश्वरको छोराको शत्रु भनेर आरोप लगाए। अर्को एक जना धर्मसुधारवादीले चाहिं कामपानसलाई मृत्युदण्ड दिनुपर्छ भने। तैपनि कामपानस विचलित भएनन्। बृहत् धर्मसुधार आन्दोलन किताबअनुसार “परमेश्वर, येशू ख्रीष्ट र पवित्र शक्तिबीचको सम्बन्ध अनि शिरत्वको विषयमा येशूका प्रेषितहरू र बाइबलले बताएको कुरा बुझ्न नसक्नु नै चर्चको असफलता हो भन्ने कुरामा कामपानस पक्का थिए।”
कामपानसको कुनै धार्मिक समूह स्थापित गर्ने उद्देश्य थिएन। “गुटहरू अनि धर्मविरोधीहरूको बीचमा” सत्य खोज्नु व्यर्थ रहेछ भनेर तिनले भने। क्याथोलिक चर्चले साँचो ख्रीष्टियन शिक्षाको पुनर्स्थापना गर्नेछ भन्ने तिनको आशा थियो। तर अन्तमा क्याथोलिक अधिकारीहरूले नै तिनलाई पक्रे। सायद तिनले २० वर्षभन्दा धेरै समय झ्यालखानामा बिताए। सन् १५७५ तिर तिनको मृत्यु भयो भनेर इतिहासकारहरू बताउँछन्।
“सबै कुरा जाँच”
क्यापिटो, सेलारस, कामपानस र अरूले लगनशील भई बाइबलको अध्ययन गरेकोले सत्य र झूटबीचको फरक छुट्टयाउन सके। हुन त सत्य खोज्ने यी व्यक्तिहरूले निकालेको निष्कर्ष बाइबलसित शतप्रतिशत मेल खाँदैन। तर नम्र हुँदै तिनीहरूले बाइबलमा सत्य खोजे अनि आफूले सिकेको सत्य कुराको मोल गरे।
प्रेषित पावलले सङ्गी ख्रीष्टियनहरूलाई यस्तो आग्रह गरे: “सबै कुरा जाँच र असल के हो, सो पक्का गर अनि त्यसैलाई पक्रिराख।” (१ थिस्सलोनिकी ५:२१) तपाईंलाई सत्य खोज्न मदत गर्न यहोवाका साक्षीहरूले बाइबलले वास्तवमा के सिकाउँछ? किताब प्रकाशित गरेको छ। यसको निश्शुल्क प्रति प्राप्त गर्न यस पत्रिकाको पृष्ठ १६ वा हाम्रो वेब साइट jw.org/ne हेर्नुहोस्।