बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
म आफ्नै विषयमा मात्र सोच्ने गर्थें
जन्म मिति: १९५१
जन्म स्थान: जर्मनी
विगतमा: घमन्डी र कसैको अधीनमा बस्न नचाहने व्यक्ति
मेरो विगत:
म सानो छँदा मेरो परिवार पूर्व जर्मनीको लाइपजिग भन्ने सहर नजिकै बस्थ्यो। त्यो ठाउँ चेकोस्लोभाकिया र पोल्याण्डको सीमाना नजिकै पर्थ्यो। म छ वर्ष पुग्दा मेरो बुबाको कामले गर्दा हामी पहिला ब्राजिलमा सर्नुपऱ्यो र त्यसपछि इक्वेडरमा।
चौध वर्षको छँदा बुबाआमाले मलाई जर्मनीको एउटा बोर्डिङ स्कुलमा राख्नुभयो। बुबाआमा टाढा दक्षिण अमेरिकामा हुनुभएकोले मैले आफ्नो ख्याल आफैले राख्नुपऱ्यो। यसले गर्दा म आफैमा भर पर्ने र अरूको अधीनमा बस्न नचाहने स्वभावको हुँदै गएँ। मेरो व्यवहारले अरूलाई कस्तो असर पार्छ भनेर म खासै सोच्दिनथें।
म १७ वर्षको छँदा मेरो बुबाआमा जर्मनी फर्कनुभयो। केही समयको लागि त म उहाँहरूसँगै बसें। तर एक्लै बस्ने बानी भइसकेकोले बुबाआमाको अधीनमा बस्न मलाई साह्रै गाह्रो भयो। अठाह्र वर्ष पुग्नेबित्तिकै म अन्तै बस्न गएँ।
जीवनको उद्देश्य के हो, म बुझ्न चाहन्थें। त्यसैले निरन्तर यसको खोजी गरिनै रहें। मैले अनेक थरीका जीवनशैली अनि विभिन्न सङ्गठनहरू नियालेर हेरें। त्यसपछि जीवनमा मैले गर्न सक्ने सबैभन्दा राम्रो काम भनेको मानिसहरूले यो सुन्दर पृथ्वी विनाश गर्नुअघि नै यहाँका सुन्दर ठाउँहरू घुम्नु र ती ठाउँहरूबारे जानकारी हासिल गर्नु हो जस्तो मलाई लाग्यो।
त्यसैले मैले एउटा मोटरसाइकल किनें। अनि जर्मनी छोडेर अफ्रिकातिर लागें। तर केही समयपछि मेरो मोटरसाइकल बिग्रियो र त्यसको मर्मत गर्न म फेरि युरोप फर्कनुपऱ्यो। एक दिनको कुरा हो, म पोर्चुगलको एउटा समुद्र किनारमा थिएँ। मैले मेरो मोटरसाइकल त्यहीं छोडेर अबदेखि डुङ्गामा यात्रा गर्ने निधो गरें।
मैले आन्द्र महासागर पार गर्न लागेका जवान मानिसहरूको एउटा टोली भेटें। अनि उनीहरूसितै यात्रा सुरु गरें। त्यहीं मैले लरीलाई भेटें, जो पछि मेरी श्रीमती भइन्। सबैभन्दा पहिला हामी क्यारिबियन सागरमा भएका टापुहरुमा गयौं। पोर्टो रिकोमा केही समय बिताएपछि हामी युरोप फर्क्यौं। हामी एउटा डुङ्गा किनेर त्यसलाई बस्न मिल्ने खालको मोटरबोट बनाउन चाहन्थ्यौं। तर तीन महिनासम्म त्यस्तो डुङ्गा खोजेपछि हामीले आफ्नो योजना बदल्नु पऱ्यो। किनभने मलाई जर्मनीको अनिवार्य सैनिक सेवामा काम गर्ने आदेश दिइयो।
मैले जर्मनीको जलसेनामा १५ महिना काम गरें। त्यही समयताका मैले लरीसित विवाह गरें अनि हामीले फेरि घुमफिर गर्दै जीवन बिताउने निधो गऱ्यौं। सेनामा भर्ती हुनुअघि मैले एउटा डुङ्गा किनेको थिएँ। तर त्यसमा इन्जिन, डुङ्गा हाँक्ने कोठा वा सुत्ने-बस्ने कोठा केही पनि थिएन। सेनाको जागिर खाउन्जेल हामीले त्यो डुङ्गालाई मर्मत गऱ्यौं र बस्न अनि यात्रा गर्न मिल्ने खालको डुङ्गा बनायौं। हामीले त्यसै डुङ्गामा बसेर यो सुन्दर पृथ्वी डुल्ने सपना सजाएका थियौं। यसै समयतिर अर्थात् सेनाबाट छुटेपछि तर डुङ्गा बनाइसक्नुअघि यहोवाका साक्षीहरूसँग हाम्रो भेट भयो र हामीले बाइबल अध्ययन सुरु गऱ्यौं।
बाइबलले कसरी मेरो जीवनलाई नयाँ मोड दियो?
सुरुमा त मलाई आफ्नो जीवनमा केही परिवर्तन गर्नुपर्छ जस्तो खासै लागेन। किनभने म लरीसित विवाह नगरी बसेको त थिइनँ र मैले धूम्रपान गर्न पनि छोडिसकेको थिएँ। (एफिसी ५:५) संसारको सबै ठाउँमा यात्रा गर्ने योजनालाई पनि हामीले कायमै राख्यौं। किनभने परमेश्वरको अद्भुत सृष्टि हेरेर जीवन बिताउनु पक्कै अर्थपूर्ण कुरा हो जस्तो मलाई लाग्थ्यो।
तर वास्तवमा मैले जीवनमा थुप्रै परिवर्तन गर्नु आवश्यक थियो। खासगरि मेरो व्यक्तित्व। निकै घमन्डी र आफैमा मात्र भर पर्ने व्यक्ति भएकोले म आफ्नै खुबी र सफलतामा मात्र ध्यान दिन्थें। आफ्नै विषयमा मात्र सोच्ने गर्थें।
एक दिन मैले डाँडाको उपदेश भनेर चिनिने येशूको एउटा प्रख्यात भाषण बाइबलमा पढें। (मत्ती अध्याय ५ देखि ७ सम्म) येशूले कसरी आनन्दित हुने भनेर बताउनुभएका कुराहरू सुरुमा त मैले बुझ्न सकिनँ। उदाहरणका लागि, उहाँले भोकाउनेहरू र तिर्खाउनेहरू आनन्दित हुन्छन् भन्नुभयो। (मत्ती ५:६) म अचम्ममा परें। खाँचोमा पर्दा पनि मानिस कसरी आनन्दित हुन सक्छ र जस्तो मलाई लाग्यो। तर बाइबल अध्ययन गर्दै जाँदा हामी सबैलाई परमेश्वरको निर्देशनको खाँचो छ अनि यो कुरा नम्र भई स्वीकारेपछि मात्र उहाँबारे ज्ञान लिन सकिन्छ भनेर मैले बुझें। येशूले भन्नुभएझैं “आनन्दित हुन् ती मानिसहरू, जसले परमेश्वरको मार्गनिर्देशनको खाँचो महसुस गर्छन्।”—मत्ती ५:३.
जर्मनीमा बाइबल अध्ययन सुरु गरेको केही समयपछि नै लरी र म फ्रान्स अनि त्यसपछि इटालीमा बसाइँ सऱ्यौं। तर जहाँ गए पनि हामीले यहोवाका साक्षीहरूलाई भेट्यौं। तिनीहरूबीचको साँचो माया र एकता देखेर म निकै प्रभावित भएँ। यहोवाका साक्षीहरू साँच्चै विश्वव्यापी परिवार हुन् भन्ने मैले महसुस गरें। (यूहन्ना १३:३४, ३५) केही समयपछि हामी दुवै जनाले बप्तिस्मा गऱ्यौं।
बप्तिस्मापछि पनि मैले आफ्नो व्यक्तित्व सुधार्ने प्रयास गरिरहें। हामीले डुङ्गामा अफ्रिकाको समुद्र र आन्द्र महासागर पार गर्दै अमेरिका पुग्ने निर्णय गरेका थियौं। त्यसैले हामीले यात्रा सुरु गऱ्यौं। महासागरको बीचमा हाम्रो सानो डुङ्गाबाट वरिपरि हेर्दा हजारौं किलोमिटर परसम्म पनि पानी नै पानी देख्यौं। त्यसबेला हाम्रो शक्तिशाली सृष्टिकर्ताको तुलनामा म त कत्ति सानो रहेछु भनी मैले महसुस गरें। समुद्रमा यात्रा गर्दा खासै काम हुँदैन थियो। त्यसैले मैले आफ्नो फुर्सतको समय बाइबल पढेरै बिताएँ। विशेषगरि येशूले पृथ्वीमा बिताउनुभएको जीवनबारे पढ्दा म निकै प्रभावित भएँ। येशूमा कुनै त्रुटि थिएन र उहाँ जे गर्न पनि सक्षम हुनुहुन्थ्यो। तर उहाँले कहिल्यै अरूको ध्यान आफूतिर खिच्नुभएन। उहाँ आफ्नै विषयमा नभई स्वर्गमा बस्नुहुने आफ्नो बुबाको विषयमा सोच्नुहुन्थ्यो।
जीवनमा परमेश्वरको राज्यलाई पहिलो स्थान दिनुपर्छ भन्ने महसुस गरें
येशूको उदाहरणलाई मनन गर्दा जीवनमा परमेश्वरको राज्यलाई पहिलो स्थान दिनुपर्छ, आफूले गर्न चाहेका विभिन्न कुराहरूलाई होइन भन्ने महसुस गरें। (मत्ती ६:३३) अन्तमा हामी अमेरिका आइपुग्यौं। अनि हामीले संसारका विभिन्न ठाउँमा यात्रा गर्नुको साटो त्यहीं बसेर परमेश्वरको सेवा गर्ने निर्णय गऱ्यौं।
मैले कसरी लाभ उठाएको छु?
पहिला म आफैमा मात्र भर पर्थें। त्यसैले म आफैले गरेका निर्णयहरूमा समेत विश्वस्त हुन सक्दिनथें। तर अहिले भने मैले परमेश्वरको डोऱ्याइ पाएको छु, जुन कहिल्यै गलत हुन सक्दैन। (यशैया ४८:१७, १८) साथै मैले आफ्नो जीवनमा पहिला कहिल्यै नपाएको उद्देश्य पाएको छु। त्यो हो, परमेश्वरको सेवा गर्ने र उहाँको बारेमा अरूलाई सिकाउने।
बाइबलमा दिइएका सिद्धान्तहरू लागू गरेर म र मेरी श्रीमतीले हाम्रो वैवाहिक सम्बन्धलाई निकै बलियो बनाउन सकेका छौं। अनि हाम्रो एउटा प्यारी छोरी पनि छे। उसले पनि यहोवालाई चिनेकी छे र उहाँलाई माया गर्छे।
हाम्रो जीवन सधैं सजिलो भएको त छैन। तर हामीले यहोवा परमेश्वरको मदत पाएर सधैंभरि उहाँको सेवा गर्ने र उहाँमा भरोसा गर्न कहिल्यै नछोड्ने अठोट गरेका छौं।—हितोपदेश ३:५, ६.