बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
बाइबलले मेरा प्रश्नहरूको चित्तबुझ्दो जवाफ दियो
-
जन्म मिति: १९८७
-
जन्म स्थान: अजरबैजान
-
पृष्ठभूमि: मुसलमान बुबा र यहूदी आमा
मेरो विगत:
म अजरबैजानको बाकु भन्ने सहरमा जन्मेकी थिएँ। मेरो एक जना दिदी पनि हुनुहुन्छ। बुबा मुसलमान र आमा यहूदी हुनुहुन्थ्यो। तर बुबाआमा एकअर्कालाई धेरै माया गर्नुहुन्थ्यो र एकअर्काको धार्मिक आस्थालाई आदर गर्नुहुन्थ्यो। रमजानको समयमा बुबा उपवास बस्नुहुँदा आमाले मदत गर्नुहुन्थ्यो अनि त्यसैगरि आमाले यहूदीहरूको निस्तार चाड मनाउनुहुँदा बुबाले सघाउनुहुन्थ्यो। हाम्रो घरमा कुरान, तोरह र बाइबल तीनवटै किताब थियो।
म आफैलाई मुसलमान ठान्थें। हुन त परमेश्वर हुनुहुन्छ भन्ने कुरामा मलाई कुनै शङ्का थिएन। तर मनमा अनेक प्रश्नहरू पनि थिए। म सोच्थें: ‘परमेश्वरले मानिसहरूलाई किन सृष्टि गर्नुभयो? यस पृथ्वीमा जीवनभर दुःख पाएर पनि सधैंका लागि नरकमा सास्ती भोग्नुपर्छ भने जिउनुको अर्थ नै छैन।’ यो सब परमेश्वरकै इच्छा हो भनेर मानिसहरू भन्थे। त्यसैले मलाई लाग्थ्यो: ‘के परमेश्वर आफैले मानिसहरूलाई दुःख दिने अनि मानिसहरूले दुःख पाएको हेर्दै रमाउने व्यक्ति हुनुहोला र?’
बाह्र वर्षकी हुँदा मैले नमाज पढ्न सुरु गरें। नमाज भनेको मुसलमानहरूले दिनमा पाँच पटक विधिअनुसार गर्ने प्रार्थना हो। त्यही समयताका बुबाले म र दिदीलाई यहूदी स्कुलमा पठाउनुभयो। हामीलाई स्कुलमा हिब्रू भाषा र तोरहबाट यहूदी परम्परा पनि सिकाइन्थ्यो। हरेक दिन कक्षा सुरु हुनुअघि हामीले यहूदी परम्पराअनुसार प्रार्थना गर्नुपर्थ्यो। त्यसैले म बिहान घरमा नमाज पढ्थें अनि दिउँसो स्कुलमा चाहिं यहूदी चलनअनुसार प्रार्थना गर्थें।
म आफ्ना प्रश्नहरूको चित्तबुझ्दो जवाफ पाउन आतुर थिएँ। स्कुलमा गुरुहरूलाई बारम्बार यही प्रश्नहरू सोध्थें: “परमेश्वरले किन मानिसहरूलाई सृष्टि गर्नुभयो? परमेश्वर मेरो मुसलमान बुबालाई कस्तो ठान्नुहुन्छ? उहाँ असल व्यक्ति हुनुभए पनि यहूदीहरू किन उहाँलाई अशुद्ध मान्छन्? परमेश्वरले उहाँलाई किन बनाउनुभएको त?” केही जवाफहरू त पाएँ। तर ती जवाफहरू न चित्तबुझ्दो थिए, न त तार्किक नै।
बाइबलले कसरी मेरो जीवनलाई नयाँ मोड दियो?
सन् २००२ मा भएको एउटा घटनाले गर्दा परमेश्वरमाथिको मेरो भरोसा टुट्यो। हामी भर्खरै मात्र जर्मनीमा बसाइँ सरेका थियौं। एक हप्तापछि नै बुबालाई मस्तिष्कघात
भयो र उहाँ कोमामा पुग्नुभयो। मैले वर्षौंदेखि परमेश्वरलाई आफ्नो परिवारको सुस्वास्थ्यको लागि प्रार्थना गर्दै आएकी थिएँ। सर्वशक्तिमान् परमेश्वरसित मात्र जीवन र मृत्यु दिने शक्ति छ भनेर म विश्वस्त थिएँ। त्यसैले हरेक दिन बुबालाई बचाउनुहोस् भनेर प्रार्थना गर्थें। ‘म जस्तो सानी केटीले मनैदेखि मागेको कुरा दिनु त परमेश्वरको लागि खासै ठूलो कुरा होइन’ भनेर म सोच्ने गर्थें। परमेश्वरले मेरो बिन्ती सुन्नुहुन्छ भनेर म पक्का थिएँ। तर दुःखको कुरा मेरो बुबा बित्नुभयो।परमेश्वरले कुनै चासो नदेखाएको जस्तो लाग्दा मेरो मन छियाछिया भयो। मलाई लाग्यो: ‘या त मैले गलत तरिकामा प्रार्थना गर्दै छु या परमेश्वरको अस्तित्व नै छैन।’ मनमा ठूलो चोट लागेकोले मैले नमाज पनि पढ्न सकिनँ। अरू धर्महरू भने मलाई अर्थहीन लाग्थ्यो। त्यसैले परमेश्वर हुनुहुन्न भन्ने निष्कर्षमा म पुगें।
त्यसको छ महिनापछि यहोवाका साक्षीहरू हाम्रो घरमा आए। हामीलाई ख्रीष्टियन धर्म त्यत्ति मन पर्दैनथ्यो। त्यसैले दिदी र म आदरपूर्वक तिनीहरूलाई गलत साबित गर्न चाहन्थ्यौं। हामीले तिनीहरूलाई सोध्यौं: “ख्रीष्टियनहरू किन येशू, क्रस, मरियम र अरू मूर्तिहरू पुज्छन्? यो कुरा त दस आज्ञा विपरीत भएन र?” ती यहोवाका साक्षीहरूले बाइबलबाटै साँचो ख्रीष्टियनहरूले मूर्तिपूजा गर्नुहुँदैन र परमेश्वरलाई मात्र प्रार्थना गर्नुपर्छ भन्ने कुराको चित्तबुझ्दो प्रमाण देखाए। त्यो कुरा सुनेर म छक्क परें।
त्यसपछि हामीले सोध्यौं: “त्रिएकको विषयमा नि? यदि येशू परमेश्वर हो भने उहाँ पृथ्वीमा आएर बस्न र मानिसहरूको हातबाट मारिन कसरी सम्भव हुन्थ्यो र?” ती साक्षीहरूले फेरि बाइबलबाटै जवाफ दिए र येशू परमेश्वर हुनुहुन्न अनि परमेश्वर बराबर पनि हुनुहुन्न भनेर बुझाए। यही कारणले गर्दा यहोवाका साक्षीहरू त्रिएकमा विश्वास गर्दैनन् भनेर पनि बताए। म चकित भएँ र सोचें: ‘यिनीहरू त अनौठो ख्रीष्टियनहरू रहेछन्।’
म अझै मानिसहरू किन मर्छन् अनि परमेश्वरले किन दुःखकष्ट हटाउनुहुन्न भन्ने कुरा बुझ्न चाहन्थें। ती साक्षीहरूले मलाई ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्याउँछ a भन्ने किताब देखाए। त्यो किताबमा मैले सोधेका प्रश्नहरूको जवाफ थियो। तिनीहरूले तुरुन्तै मसित बाइबल अध्ययन सुरु गरे।
हरेक पटक अध्ययन गर्दा मैले आफ्ना प्रश्नहरूको बाइबल आधारित अनि चित्तबुझ्दो जवाफ पाएँ। परमेश्वरको नाम यहोवा हो भनेर थाह पाएँ। (मर्कूस १२:२९) उहाँको मुख्य गुण निःस्वार्थ प्रेम हो। (१ यूहन्ना ४:८) उहाँले मानिसहरूलाई सृष्टि गर्नुभयो किनभने उहाँ तिनीहरूलाई जीवनको उपहार दिन चाहनुहुन्थ्यो। हुन त परमेश्वरले अन्याय हुन दिनुभएको छ। तर उहाँ अन्यायलाई घृणा गर्नुहुन्छ अनि चाँडै सधैंका लागि त्यसको अन्त गरिदिनुहुनेछ भनेर मैले बुझें। प्रथम मानव दम्पती आदम र हव्वाले गरेको विद्रोहको कारण मानिसहरूले खराब नतिजा भोग्नुपरेको हो भन्ने कुरा पनि मैले सिकें। (रोमी ५:१२) प्रियजनको मृत्यु पनि ती दुःखद परिणाममध्ये एउटा हो। त्यही कारणले गर्दा मैले बुबालाई गुमाउनु परेको थियो। तर परमेश्वरले आउँदै गरेको नयाँ संसारमा यस्ता दुःखकष्टको अन्त्य गरिदिनुहुनेछ अनि मरिसकेकाहरूलाई फेरि जीवित पार्नुहुनेछ।—प्रेषित २४:१५.
बाइबलले मेरा प्रश्नहरूको चित्तबुझ्दो जवाफ दियो। मैले परमेश्वरमा फेरि भरोसा गर्न थालें। यहोवाका साक्षीहरूलाई अझ राम्ररी चिन्न सकें र तिनीहरू विश्वव्यापी परिवार हुन् भनेर बुझें। तिनीहरूको एकता र प्रेमले मलाई गहिरो प्रभाव पाऱ्यो। (यूहन्ना १३:३४, ३५) यहोवा परमेश्वरबारे सिकेको कुराले मलाई उहाँको सेवा गर्न उत्प्रेरित गऱ्यो। त्यसैले एक जना यहोवाको साक्षी बन्ने निर्णय गरें। मैले सन् २००५ को जनवरी ८ मा बप्तिस्मा गरें।
मैले कसरी लाभ उठाएकी छु?
बाइबलको चित्तबुझ्दो र भरपर्दो जवाफले मलाई जीवनप्रति सकारात्मक दृष्टिकोण राख्न मदत गरेको छ। अनि मैले भित्री शान्ति पनि अनुभव गर्न सकेकी छु। परमेश्वरको वचनमा मरेकाहरू फेरि जिउनेछन् भनेर प्रतिज्ञा गरिएको छ। बुबालाई फेरि भेट्न पाउने आशाले गर्दा मैले सान्त्वना पाएकी छु र निकै आनन्दित महसुस गर्छु।—यूहन्ना ५:२८, २९.
मेरो विवाह भएको ६ वर्ष भइसक्यो। मेरो श्रीमान् पनि यहोवा परमेश्वरमा विश्वास गर्नुहुन्छ। हामी दुवैले परमेश्वरको विषयमा सिकेको सत्य ज्ञान चित्तबुझ्दो अनि सरल हुनुका साथै अमूल्य छ भनेर पनि थाह पाएका छौं। त्यसैले हामी आफ्नो विश्वास र सुन्दर भविष्यको आशाबारे अरूलाई बताउन पाएको सुअवसरको कदर गर्छौं। अहिले मलाई यहोवाका साक्षीहरू “अनौठो” नभई साँचो ख्रीष्टियन हुन् भनेर थाह छ।
a यहोवाका साक्षीहरूद्वारा प्रकाशित तर अहिले छापिंदैन।