बाइबल प्रश्नहरूको जवाफ
हामीले येशूको मृत्युको सम्झना किन गर्नु पर्छ?
येशूको मृत्यु इतिहासको सबैभन्दा महत्त्वपूर्ण घटना थियो। मानिसहरूले अनन्त जीवन पाऊन् भनेर उहाँले मृत्यु भोग्नुभयो। वास्तवमा मानिसलाई खराब काम गर्ने स्वभाव सहित सृष्टि गरिएको थिएन न त तिनीहरूलाई बिरामी हुन वा मर्न नै सृष्टि गरिएको थियो। (उत्पत्ति १:३१) पहिलो मानिस आदमले गर्दा पाप संसारमा प्रवेश भयो। हामीलाई पाप र मृत्युको दलदलबाट बचाउन येशूले आफ्नो जीवन दिनुभयो।—मत्ती २०:२८; रोमी ६:२३ पढ्नुहोस्।
परमेश्वरले आफ्नो प्यारो छोरा हाम्रो लागि यस पृथ्वीमा पठाउनु भएर मानिसलाई असाध्यै माया गरेको कुरा उहाँले देखाउनुभयो। (१ यूहन्ना ४:९, १०) येशूले आफ्नो मृत्युको सम्झना गर्नु भनेर चेलाहरूलाई आज्ञा दिनुभयो। त्यो समारोह तिनीहरूले रोटी र दाखमद्यको प्रयोग गरेर सामान्य तरिकामा मनाउनुपर्ने थियो। हरेक वर्ष यसरी येशूको मृत्युको सम्झना गर्दा परमेश्वर र येशूले देखाउनुभएको मायाप्रति हामी आभारी छौं भनेर देखाइरहेका हुन्छौं।—लूका २२:१९, २० पढ्नुहोस्।
रोटी र दाखमद्य क-कसले खान्छन्?
येशूले पहिलो पटक चेलाहरूलाई आफ्नो मृत्युको सम्झना गर्ने आज्ञा दिनुहुँदा उहाँले तिनीहरूसित एउटा करारको विषयमा कुरा गर्नुभएको थियो। (मत्ती २६:२६-२८) यो करारले गर्दा तिनीहरू र अरू सीमित मानिसहरूले स्वर्गमा येशूसितै राजा र पूजाहारीको रूपमा शासन गर्ने सुअवसरको ढोका खुल्यो। लाखौं मानिसले येशूको मृत्युको सम्झना गरे तापनि रोटी र दाखमद्य भने त्यस करारमा बाँधिएकाहरू अर्थात् स्वर्ग जाने आशा भएकाहरूले मात्र खान्छन्।—प्रकाश ५:१० पढ्नुहोस्।
झन्डै २,००० वर्ष अघिदेखि यहोवा परमेश्वरले स्वर्गमा राजा हुन योग्य व्यक्तिहरू छान्दै हुनुहुन्छ। (लूका १२:३२) पृथ्वीमा सधैंका लागि बसोबास गर्ने मानिसहरूको तुलनामा स्वर्ग जानेहरूको सङ्ख्या थोरै छ।—प्रकाश ७:४, ९, १७ पढ्नुहोस्।