छिमेकीसित कुराकानी
येशू ख्रीष्टको मृत्युको दिन किन सम्झनुपर्छ?
एक जना यहोवाको साक्षी र छिमेकीबीच हुन सक्ने कुराकानी तल दिइएको छ। कल्पना गर्नुहोस्, मेघा नाम गरेकी एक जना यहोवाका साक्षीले शान्ति नाम गरेकी एक जना महिलालाई भेटेर कुराकानी गर्छिन्।
“मेरो सम्झनामा यो गर्नेगर”
मेघा: नमस्ते, शान्ति बहिनी। गएको हप्ता तपाईं येशूको मृत्युको स्मरणार्थ उत्सवमा आउनुभएकोले मलाई धेरै खुसी लाग्यो। a त्यहाँ भएको सभा तपाईंलाई कस्तो लाग्यो?
शान्ति: रमाइलो लाग्यो। तर त्यहाँ बताइएको सबै कुरा त बुझ्न सकिनँ। येशूको जन्मदिन भनेर क्रिसमस अनि उहाँले पुनर्जीवन पाउनुभएको दिन भनेर इस्टर मनाएको चाहिं थाह छ तर येशूको मृत्युको सम्झना गरिएको त कहिल्यै सुनेको थिइनँ।
मेघा: हुन त हो, क्रिसमस र इस्टर चाड संसारभरि नै लोकप्रिय छ। तर यहोवाका साक्षीहरूले भने येशूको मृत्युको दिन सम्झना गर्नु महत्त्वपूर्ण छ भनेर बुझेका छन्। तपाईंसित केही समय छ भने हामी किन त्यस दिनको सम्झना गर्छौं भनेर बताउन चाहन्छु।
शान्ति: हुन्छ, भइहाल्छ नि।
मेघा: येशूले चेलाहरूलाई आफ्नो मृत्युको दिनको सम्झना गर्न अह्राउनुभएको थियो। त्यसैले यहोवाका साक्षीहरू त्यस दिनको सम्झना गर्छन्। येशूको मृत्युको अघिल्लो रात के भएको थियो, विचार गरौं। येशूले आफ्ना वफादार चेलाहरूसित अन्तिम रात्रि भोज मनाउनुभएको कुरा तपाईंलाई थाह छ?
शान्ति: ए. . . प्रभुको साँझको भोज?
मेघा: हो, ठीक भन्नुभयो। यस भोजको दौडान येशूले आफ्ना चेलाहरूलाई केही स्पष्ट निर्देशनहरू दिनुभयो। तपाईं लूका २२:१९ पढ्न सक्नुहुन्छ?
शान्ति: हुन्छ। “उहाँले एउटा रोटी पनि लिनुभयो र धन्यवाद चढाएपछि भाँचेर यसो भन्दै तिनीहरूलाई दिनुभयो: ‘यो तिमीहरूका लागि दिइने मेरो शरीरको प्रतीक हो। मेरो सम्झनामा यो गर्नेगर।’”
मेघा: धन्यवाद। अन्तिम वाक्यमा येशूले दिनुभएको आज्ञालाई ध्यान दिनुहोस्, उहाँले यस्तो भन्नुभयो: “मेरो सम्झनामा यो गर्नेगर।” चेलाहरूलाई यो आज्ञा दिनुअघि उहाँको बारेमा के कुरा सम्झनुपर्ने हो, त्यो पनि स्पष्ट बताउनुभएको थियो। त्यो हो, आफ्नो जीवन चेलाहरूको निम्ति बलिदान दिइनेछ। उहाँले भन्नुभएका यस्तै शब्दहरू मत्ती २०:२८ मा पनि पाइन्छ। यो पदमा यस्तो लेखिएको छ: “जसरी मानिसको छोरा पनि सेवा पाउन होइन तर सेवा गर्न र धेरैको निम्ति फिरौतीस्वरूप आफ्नो ज्यान दिन आयो।” छोटकरीमा भन्नुपर्दा येशूले दिनुभएको फिरौतीको बलिदानको सम्झना गर्नका लागि यहोवाका साक्षीहरू हरेक वर्ष उहाँको मृत्यु भएको दिनमा भेला हुन्छन्। किनभने उहाँको फिरौतीको बलिदानले गर्दा सबै आज्ञाकारी मानिसहरूले जीवन पाउन सम्भव भएको छ।
फिरौतीको बलिदान किन चाहियो?
शान्ति: येशूको मृत्युले गर्दा जीवन पाउन सकिन्छ भनेर मानिसहरू भन्छन्। तर मैले यो कुरा कहिल्यै बुझ्न सकिनँ।
मेघा: धेरैलाई यस्तै लाग्छ। येशूको फिरौतीको बलिदान निकै गहन विषय हो। साथै परमेश्वरको वचनमा पाइने यो
एउटा महत्त्वपूर्ण सत्य कुरा पनि हो। तपाईंसँग अझै समय छ कि?शान्ति: केही समय त छ।
मेघा: मैले फिरौतीको विषयमा पढिरहेकी थिएँ। तपाईंलाई बुझ्न सजिलो हुनेगरि बताउने प्रयास गर्छु है?
शान्ति: हुन्छ।
मेघा: फिरौतीको बलिदानबारे बुझ्न सुरुमा पहिलो मानव दम्पती आदम र हव्वाले अदनको बगैंचामा गरेको पापबारे बुझ्नुपर्छ। त्यतिखेरको समस्याबारे बुझ्न हामी रोमी ६:२३ पढौं है। तपाईं यो पद पढ्न सक्नुहुन्छ?
शान्ति: हुन्छ। यहाँ यस्तो लेखिएको छ: “पापले तिर्ने ज्याला मृत्यु हो तर परमेश्वरले दिनुहुने वरदान हाम्रा प्रभु ख्रीष्ट येशूमार्फत अनन्त जीवन हो।”
मेघा: धन्यवाद। यी शब्दको अर्थ बुझ्ने प्रयास गरौं। पदको सुरुमा के भनिएको छ विचार गर्नुहोस्: “पापले तिर्ने ज्याला मृत्यु हो।” मानव इतिहासको सुरुमा परमेश्वरले एउटा साधारण नियम दिनुभयो, त्यो हो: पाप गरेमा तिर्नुपर्ने ज्याला मृत्यु। सुरुमा त कोही पनि पापी थिएन। आदम र हव्वामा कुनै खोट थिएन अनि तिनीहरूका सन्तान पनि त्रुटिरहित हुने थिए। त्यसैले मर्नुपर्ने आवश्यकता त कसैलाई थिएन। आदम र हव्वा अनि तिनीहरूका सन्तान खुसीसाथ सधैंभरि बाँच्न सक्थे। तर के साँच्चै त्यस्तो भए त?
शान्ति: अहँ! आदम र हव्वाले निषेध गरिएको रूखबाट फल खाएकाले त्यस्तो त सम्भव भएन।
मेघा: हो, ठीक भन्नुभयो। परमेश्वरको आज्ञा नमानेर तिनीहरूले पाप गरे। मतलब, तिनीहरूले आफू त्रुटिपूर्ण र पापी हुने छनौट गरे। यस्तो छनौटले तिनीहरूलाई मात्र नभई तिनीहरूका सबै सन्तानलाई पनि असर गऱ्यो।
शान्ति: मैले त बुझिनँ नि।
मेघा: एउटा उदाहरण दिन्छु है त। तपाईंलाई रोटी पकाउन मनपर्छ?
शान्ति: मनपर्छ।
मेघा: मानिलिनुहोस्, तपाईंले एउटा नयाँ तावा किन्नुभयो। तर त्यो प्रयोग गर्नुअघि नै तावा जोडसित भुइँमा खसेर कुच्चियो। अब तपाईंले त्यस्तो तावामा रोटी पकाउनुभयो भने के हुन्छ? के हरेक रोटीमा त्यसको दाग बस्दैन र?
शान्ति: बस्छ।
मेघा: त्यसैगरि आदम र हव्वा परमेश्वरप्रति अनाज्ञाकारी हुँदा तावा ‘कुच्चिए’-जस्तै तिनीहरू पापी अर्थात् त्रुटिपूर्ण भए। तिनीहरूले सन्तान जन्माउनुअघि नै पाप गरेका कारण त्यसपछि जन्मने सबै सन्तानहरू “दाग” सहित पैदा हुने थिए अर्थात् पापी नै। बाइबलमा “पाप” भन्ने शब्दले खराब कामलाई मात्र बुझाउँदैन बरु यसले जन्मजात पाएको हाम्रो अवस्थालाई बुझाउँछ। आदम र हव्वाले पाप गर्दा हामी जन्मेका थिएनौं। हामीले केही खराब काम पनि गरेका थिएनौं। वास्तवमा तिनीहरूको पापले गर्दा हामी सबै पापी र त्रुटिपूर्ण भएका हौं र यसैको परिणामस्वरूप मृत्यु भोग्नुपरेको हो। त्यसैले रोमी ६:२३ मा पापको ज्याला मृत्यु भनेर बताइएको छ।
शान्ति: तर यो त अन्याय भयो नि। पाप गर्ने आदम र हव्वा अनि दुःख भोग्ने चाहिं सबै मानिसजाति?
मेघा: हो, यो अन्याय भएजस्तो देखिए तापनि यसमा थुप्रै कुरा मुछिएका छन्। परमेश्वरको न्याय त्रुटिरहित भएकोले आदम र हव्वाले गरेको पापको कारण तिनीहरू मर्ने थिए भनेर परमेश्वरले भन्नुभयो। साथै उहाँले आदम र हव्वाका सन्तानलाई त्यत्तिकै छोड्नुभएन। यस्तो अवस्थाबाट मुक्त गर्न परमेश्वरले कदम चाल्नुभयो। येशू ख्रीष्टको फिरौतीको बलिदान यसैसित सम्बन्धित छ। हामी रोमी ६:२३ फेरि हेरौं। “पापले तिर्ने ज्याला मृत्यु हो” भनिसकेपछि यस पदमा “तर परमेश्वरले दिनुहुने वरदान हाम्रा प्रभु ख्रीष्ट येशूमार्फत अनन्त जीवन हो” भनेर लेखिएको छ। त्यसैले मानिसजातिलाई पाप र मृत्युबाट छुटकारा दिन येशूको मृत्युले ठूलो भूमिका खेल्ने थियो। b
फिरौतीको बलिदान—परमेश्वरले दिनुभएको उपहार
मेघा: यही बाइबल पदमा चर्चा गरिएको अर्को एउटा कुरा पनि म तपाईंलाई बताउन चाहन्छु।
शान्ति: के होला?
मेघा: यस पदमा यस्तो लेखिएको छ: “परमेश्वरले दिनुहुने वरदान हाम्रा प्रभु ख्रीष्ट येशूमार्फत अनन्त जीवन हो।” येशूले हाम्रो निम्ति दुःख र मृत्यु भोग्नुभयो तर यस पदमा किन “परमेश्वरले दिनुहुने वरदान” भनेर लेखिएको छ त? किन “येशूले दिनुहुने वरदान” भनेर लेखिएको छैन। c
शान्ति: खै! त्यो त थाह छैन।
मेघा: परमेश्वरले आदम र हव्वालाई सृष्टि गर्नुभएको थियो अनि तिनीहरू उहाँ विरुद्ध नै अनाज्ञाकारी भएका थिए। उहाँका छोराछोरी अर्थात् ती पहिलो मानव जोडी उहाँको विरुद्धमा खडा भएको देखेर परमेश्वर धेरै दुःखित भएको हुनुपर्छ। तर यहोवा परमेश्वरले तुरुन्तै समस्याको समाधान पनि बताउनुभयो। d एक जना स्वर्गदूत पृथ्वीमा आएर मानिसको जस्तै जीवन बिताएर अनि अन्तमा आफ्नो जीवन मानिसजातिको लागि बलिदान दिएर मानिसजातिले पाप र मृत्युबाट छुटकारा पाउनेछन् भनेर परमेश्वरले आफ्नो उद्देश्य बताउनुभयो। त्यसैले फिरौतीको बलिदानको प्रबन्ध वास्तवमा परमेश्वरको उपहार थियो। अर्को तरिकामा पनि यो प्रबन्ध परमेश्वरको उपहार भन्न सकिन्छ। येशूलाई यातना दिएर मारिंदा परमेश्वरलाई कस्तो महसुस भयो होला भनेर तपाईंले कहिल्यै सोच्नुभएको छ?
शान्ति: अहँ। सोचेकै थिइनँ।
मेघा: यहाँ बाहिर केही खेलौना रहेछ। तपाईंको बच्चाहरू पनि छन् कि?
शान्ति: दुइटा छ नि। एउटा छोरा र एउटी छोरी।
मेघा: तपाईं आमा हुनुहुन्छ। त्यसैले येशूको मृत्युको दिनमा यहोवा परमेश्वरले कस्तो महसुस गर्नुभएको थियो होला भनेर कल्पना गर्न सक्नुहुन्छ। मानिसहरूले येशूलाई गिरफ्तार गरेर खिल्ली उडाएर पिट्दा परमेश्वरलाई कस्तो लाग्यो होला? साथै उहाँको छोरालाई मानिसहरूले काठको खम्बामा झुन्ड्याएर किला ठोकिदिंदा अनि तड्पी-तड्पी मर्न छोडिदिंदा, बुबालाई कस्तो लाग्यो होला?
शान्ति: परमेश्वरलाई साह्रै दुःख लाग्यो होला। यसरी त मैले पहिला कहिल्यै सोचेकी थिइनँ।
मेघा: हो, परमेश्वरले कस्तो महसुस गर्नुभएको थियो भनेर हामीलाई ठ्याक्कै त थाह छैन। तर उहाँको पनि भावना छ, साथै उहाँले किन यसो हुन दिनुभयो भनेर पनि हामीलाई थाह छ। यूहन्ना ३:१६ मा यस कुरालाई स्पष्टसित बुझाइएको छ। तपाईं पढ्न चाहनुहुन्छ कि?
शान्ति: हुन्छ। यहाँ यस्तो लेखिएको छ: “किनकि परमेश्वरले संसारलाई यत्ति धेरै प्रेम गर्नुभयो कि उहाँले आफ्नो एक मात्र छोरा दिनुभयो, ताकि ऊमाथि विश्वास गर्ने हरेक नाश नहोस् तर उसले अनन्त जीवन पाओस्।”
परमेश्वरले बाहेक यस संसारमा कसैले पनि यस्तो प्रेम देखाएको छैन।
मेघा: यस पदको सुरुमै बताइएको कुरा हेर्नुस् त। यहाँ यस्तो लेखिएको छ: “परमेश्वरले संसारलाई यत्ति धेरै प्रेम गर्नुभयो।” मानिसजातिप्रतिको प्रेमले गर्दा नै परमेश्वरले आफ्नो छोरा पृथ्वीमा हाम्रो निम्ति पठाउनुभयो। परमेश्वरले बाहेक यस संसारमा कसैले पनि यस्तो प्रेम देखाएको छैन। त्यसैले यहोवाका साक्षीहरू हरेक वर्ष येशूको मृत्युको दिनको सम्झना गर्न भेला हुन्छन्। हाम्रो कुराकानीले गर्दा तपाईंले केही लाभ उठाउन सक्नुभयो?
शान्ति: अवश्य। यसरी बुझाइ दिनुभएकोमा तपाईंलाई धेरै धन्यवाद छ।
तपाईंलाई छलफल गर्न मन लागेको कुनै बाइबल विषय छ? यहोवाका साक्षीहरूको कुनै विश्वास वा गतिविधिबारे तपाईं जान्न चाहनुहुन्छ कि? यदि त्यसो हो भने कुनै एक जना यहोवाका साक्षीलाई सोध्न नहिचकिचाउनुहोस्। तिनीहरू यस्ता विषयमा तपाईंसित छलफल गर्न खुसी हुनेछन्।
a येशूले दिनुभएको बलिदानको दिन सम्झना गर्न हरेक वर्ष यहोवाका साक्षीहरू भेला हुन्छन्।
b प्रहरीधरहरा पत्रिकाको आगामी अङ्कमा येशूको फिरौतीको बलिदानले कसरी पापबाट छुटकारा दिन सक्छ र यस्तो प्रबन्धबाट लाभ उठाउन के गर्नुपर्छ भन्ने विषयमा छलफल गरिनेछ।
c बाइबलअनुसार परमेश्वर र येशू दुई बेग्लाबेग्लै व्यक्तिहरू हुन्। थप जानकारीका लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? भन्ने यस किताबको अध्याय ४ हेर्नुहोस्।
d उत्पत्ति ३:१५ हेर्नुहोस्।