सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“आपसमा प्रगाढ प्रेम राख”

“आपसमा प्रगाढ प्रेम राख”

अध्याय १७

“आपसमा प्रगाढ प्रेम राख”

१, २. (क) यहोवाका साक्षीहरूका सभाहरूमा आगन्तुकहरूलाई कुन कुराले अक्सर प्रभावित पार्दछ? (ख) हाम्रा सम्मेलनहरूमा यस गुणको अन्य अरू के प्रमाण तिनीहरूले अनुभव गर्दछन्‌?

 मानिसहरू यहोवाका साक्षीहरूको मण्डलीका सभाहरूमा पहिलो पटक आउँदा त्यहाँ देखाइने प्रेमले तिनीहरूमाथि गहिरो प्रभाव पार्दछ। व्यक्‍तिगत रूपमा तिनीहरूले पाएको स्वागत र त्यहाँको न्यानो सङ्‌गतिमा तिनीहरूले त्यो प्रेम अनुभव गर्दछन्‌।

हाम्रा सम्मेलनहरूमा भेला हुनेहरूमध्ये धेरैजसोको शिष्ट व्यवहार पनि आगन्तुकहरूले देख्छन्‌। एउटा यस्तै सम्मेलनबारे एउटा पत्रकारले यसरी लेखे: ‘मादक पदार्थ वा मद्यपानको प्रयोग गर्ने कोही थिएनन्‌। हो-हल्ला अथवा चर्को स्वरले कराएको सुनिन्दैन थियो। धक्कमधक्का अथवा घचेटाघचेट थिएन। अपमानजनक भाषाको प्रयोग थिएन। फोहोर ठट्टा अथवा अपशब्द थिएन। धुम्रपान गर्ने कोही थिएन। चोरी थिएन। चौरमा खाली टीनहरू फाल्ने कोही थिएन। यो वास्तवमा एउटा असामान्य कुरा थियो।’ यी सबै त्यस किसिमको प्रेमको प्रमाण हो जो ‘बेकायदासाथ चल्दैन र आफ्नै भलाइ खोज्दैन।’—१ कोरि. १३:४-८.

३. (क) समय बित्दै जाँदा हाम्रो प्रेमको प्रदर्शनमा कुन कुरा स्पष्ट रूपले देखिनु पर्दछ? (ख) ख्रीष्टको अनुकरण गर्दै, कुन प्रकारको प्रेमको विकाश हामीले गर्नुपर्दछ?

प्रत्येक असली मसीहीमा हुनुपर्ने प्रेम एउटा गुण हो। (यूह. १३:३५) हामी जसै आध्यात्मिकतामा प्रगति गर्दै जान्छौं, यसलाई हामीले अझ पूर्ण रूपले व्यक्‍त गर्न सक्नुपर्दछ। भाइहरूका बीच प्रेम “झन्‌ झन्‌ प्रशस्त हुँदै जाओस्‌” भनी प्रेरित पावलले प्रार्थना गरे। (फिलि. १:९; १ थिस्स. ३:१२) साथै पत्रुसले पनि सङ्‌गी मसीहीहरूलाई तिनीहरूको प्रेमले “सबै भाइ-बन्धुहरूलाई” समेट्‌नु पर्दछ भनी आग्रह गरे। (१ पत्रु. २:१७) हाम्रो प्रेमको अर्थ हामीले राम्रोसित चिन्‍ने प्रयासै नगरेका मानिसहरूसित सभाहरूमा उपस्थित हुनु मात्र होइन। नता समय समयमा मित्रैलो भावका साथ “नमस्कार” भन्‍नु मात्र हो। त्यसमा आत्म-बलिदानको भाव हुनुपर्दछ भनेर प्रेरित यूहन्‍नाले देखाए। तिनले लेखे: “यसैमा हामीले प्रेम थाह पाउँछौं, किनभने उहाँले [परमेश्‍वरको पुत्रले] हाम्रा निम्ति आफ्नो प्राण अर्पण गर्नुभयो, र हामीले पनि हाम्रो भाइको निम्ति आफ्नो प्राण अर्पण गर्नुपर्छ।” (१ यूह. ३:१६; यूह. १५:१२, १३) हामीले अहिलेसम्म त त्यसो गरेका छैनौं। तर के हामीले आफ्ना भाइहरूका निम्ति वास्तवमा आफ्नो प्राण दिनेछौं र? अहिले पनि असुविधाहरूको बावजूद हामी आफ्ना भाइहरूलाई मद्दत दिन कुन हद्‌सम्म अघि बढछौं?

४. (क) अझ अरू कुन ढङ्‌गमा हामीले प्रेमलाई अझ पूर्ण रूपमा व्यक्‍त गर्न सक्छौं? (ख) एक अर्काका लागि प्रगाढ प्रेम हुनु किन अत्यन्तै जरुरी छ?

आत्म-बलिदानको भाव दर्शाउने कामकुराका साथसाथै हामीमा हाम्रा भाइहरूका लागि एउटा साँचो न्यानोपना हुनु पनि जरुरी छ। परमेश्‍वरको वचनले हामीलाई आग्रह गर्दछ: “भातृ-प्रेममा एक दोस्रोतर्फ मयालु होओ।” (रोमी १२:१०) त्यसप्रकारको भावना केही व्यक्‍तिहरूप्रति हामी सबैमा हुन्छ। तर के हामीले त्यसप्रकारको स्नेह अझ धेरै व्यक्‍तिहरूका लागि देखाउन सक्छौं कि? जसै यो पुरानो दुष्ट रीतिरिवाजको अन्त झन झन नजीक आउँछ, हामी आफ्ना मसीही भाइहरूसँग अझ नजीक हुनु जरुरी छ। यसबारे हामीलाई सतर्क गराउँदै बाइबल भन्दछ: “सबै कुराको अन्त नजीकै आएको छ। . . . सबैभन्दा बढ़ता आपसमा प्रगाढ़ प्रेम राख, किनभने प्रेमलेनै असंख्य पापहरू ढाक्‍तछ।”—१ पत्रु. ४:७, ८.

५. मण्डलीका सदस्यहरूबीच कुनै समस्या उठ्‌ने छैन भनी आशा गर्नु किन गलत हो?

हुन तः हामी असिद्ध होउञ्जेल अरूहरूलाई अप्रसन्‍न पार्ने कुराहरू हामीबाट भइ नै रहनेछ। अरूहरूले पनि अनेक प्रकारबाट हामीहरूका विरुद्धमा पाप गर्ने नै छन्‌। (१ यूह. १:८) तपाईं त्यसप्रकारको परिस्थितिमा पर्नु भयो भने के गर्नु उचित हुनेछ?

समस्याहरू उठ्‌दा के गर्नुपर्दछ

६. (क) हाम्रा मानसिक झुकावहरू र बाइबलका सल्लाहले किन सधैं मेल नखान सक्छ? (ख) तर ती सल्लाहको प्रयोग गरेमा परिणाम के हुनेछ?

शास्त्रमा आवश्‍यक निर्देशन प्रदान गरिएको छ। तर त्यसमा दिएको सल्लाह र हामी असिद्ध मानिसहरूले गर्न चाहेको कुराको मेल नहोला। (रोमी ७:२१-२३) तथापि, इमान्दारीसाथ त्यस निर्देशअनुसार चल्ने हाम्रो प्रयासले यहोवालाई प्रसन्‍न तुल्याउने हाम्रो इच्छालाई जाहेर गर्नेछ, र अरूहरूप्रतिको हाम्रो प्रेमको गुणस्तरलाई पनि त्यसले बढाउनेछ।

७. (क) कसैले हाम्रो चित्त दुखाएमा हामीले बदला लिनु किन हुँदैन? (ख) हाम्रो चित्त दुखाउने भाइबाट अलग भएर किन बस्नु हुँदैन?

कहिलेकाहीं मानिसहरूको चित्त दुख्दा तिनीहरूको चित्त दुखाइ​दिने​सित बदला लिने मौकाहरू तिनीहरू खोज्दछन्‌। तर त्यसबाट परिस्थिति झनै बिग्रिन्छ। प्रतिशोध लिनै पर्छ भने पनि त्यसलाई हामीले परमेश्‍वरको हातमा छाडि दिनुपर्दछ। (हितो. २४:२९; रोमी १२:१७-२१) कसै कसैले चाहिं चित्त दुखाइ दिने व्यक्‍तिलाई सम्पूर्णतया बिर्सिदिने अथवा ऊसित कुनै सम्पर्क नै नराख्ने प्रयास गर्न सक्छन्‌। तर आफ्ना सङ्‌गी उपासकहरूलाई हामी त्यसो गर्न सक्‍तैनौं। हाम्रो उपासना ग्रहणयोग्य हुने नहुने कुरा केही हद्‌सम्म आफ्ना भाइहरूप्रतिको हाम्रो प्रेममा भर पर्दछ। (१ यूह. ४:२०) जुन व्यक्‍तिसङ्‌ग हामी बोल्न पनि चाँहदैनौं अथवा जसको उपस्थितिले हामीलाई विचलित पार्दछ, त्यस व्यक्‍तिलाई हामी प्रेम गर्दछौं भनेर के हामीले इमान्दारीका साथ भन्‍न सक्छौं र? हामीले समस्यालाई ठीकसित ठम्याउनु र त्यसलाई समाधान गर्नुपर्दछ। तर कसरी?

८, ९. (क) एकजना भाइसँग हाम्रो कुनै सिकायत छ भने के गर्नु उचित हुनेछ? (ख) तर तिनले बारम्बार हाम्रो विरुद्धमा पाप गरेमा नि? (ग) यो समस्याको समाधान यसप्रकार गर्नु किन उचित हो र के कुराले हामीलाई त्यसो गर्ने मदत दिनेछ?

यस विषयमा प्रेरित पावलले लेखे: “एउटाले अर्कोलाई सहेर, कुनै मानिसका विरुद्धमा केही दोषको कारण छ भने, एउटाले अर्कालाई क्षमागर, जसरी प्रभुले [यहोवाले, न्यु व.] पनि तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी तिमीहरूले पनि क्षमा गर।” (कल. ३:१३) के तपाईं त्यसो गर्न सक्नुहुन्छ? तर कसैले तपाईंको विरुद्ध अनेक प्रकारले बारम्बार पाप गर्छ भने नि?

प्रेरित पत्रुसले पनि सोही प्रश्‍न सोधेका थिए। तिनको विचारमा एकजना भाइलाई सम्भवतः सात पटकसम्म क्षमा गर्ने प्रयास गर्नु उचित थियो। तर येशूले उत्तर दिनुभयो: “म तिमीलाई सात पल्टसम्म भन्दिनँ, तर सात गुणा सत्तरी पल्टसम्म।” किन? यहाँ येशूले एउटा उदाहरण दिनुभयो। कुनै मानिसले हाम्रो जतिसुकै कर्जा खाएको भए तापनि त्योभन्दा अति नै धेरै कर्जा ता हामी स्वयंले परमेश्‍वरबाट खाएको हुन्छौं भन्‍ने कुरा उहाँले त्यस उदाहरणद्वारा बताउनु भयो। (मत्ती १८:२१-३५) प्रत्येक दिन हामी अनेक ढङ्‌गमा परमेश्‍वरको विरुद्धमा पाप गर्दछौं—कहिले कुनै स्वार्थपूर्ण कामबाट, अक्सर आफ्नो बोली वा सोचाइबाट, साथै आफूले गर्नुपर्ने काम नगरेर पनि। हामीले गरेको कुनै कुरा गलत थियो भनी हामीलाई थाहा समेत नहोला, अथवा जीवनको भागदौडमा हामी त्यस कुराबारे सोच्दा पनि नसोचौंला। हाम्रा पापहरूको मोल चुकाउन परमेश्‍वरले हाम्रो जीवन माग्न सक्नुहुन्थ्यो। (रोमी ६:२३) तापनि उहाँ हामीप्रति निरन्तर दयावन्त हुनु भएको छ। (भजन. १०३:१०-१४) र यसैप्रकारको व्यवहार हामीले पनि एक अर्कासित गरेको उहाँ चाहनुहुन्छ। यो निश्‍चय नै कुनै बेमनासिब माग होइन। (मत्ती ६:१४, १५; एफि. ४:१-३) हामीले ईख राख्नुको सट्टा त्यो माग पूरा गऱ्‍यौं भने, “खराबीको वास्ता” नगर्ने खालको प्रेम हामीमा छ भन्‍ने कुराको प्रमाण हामी दिन्छौं।—१ कोरि. १३:४, ५; १ पत्रु. ३:८, ९.

१०. हाम्रो विरुद्धमा कुनै भाइको केही सिकायत छ भने हामीले के गर्नुपर्दछ?

१० कुनै बेलाचाहिं आफ्नो भाइको विरुद्धमा हाम्रो कुनै प्रकारको मनमुटाव नभए तापनि उसको चाहिं हाम्रो विरुद्धमा केही कुरा छ जस्तो हामीलाई लाग्न सक्छ। त्यस्तो बेलामा के गर्न सकिन्छ? तुरुन्तै ऊसँग हामीले कुरा गरी हाल्नु पर्दछ र शान्तिमय सम्बन्ध पुनःकायम गर्ने प्रयास गर्नुपर्छ। प्रथम पाइला हामीले नै चाल्नुपर्दछ भनी बाइबलले आग्रह गर्दछ। (मत्ती ५:२३, २४) त्यसो गर्न सजिलो नहोला। त्यसका लागि प्रेम र नम्रताको आवश्‍यकता पर्दछ। बाइबलको सल्लाहअनुसार गर्न सक्नका लागि के तपाईंमा ती गुणहरूले बलियो जरा गाडेको छ? यो एउटा महत्त्वपूर्ण लक्ष्य हो जसलाई प्राप्त गर्ने प्रयास हामी सबैले गर्नुपर्दछ।

११. कुनै भाइले गरेको कामले हामीलाई विचलित पार्छ भने त्यसबारे के गर्नु पर्दछ?

११ यस बाहेक, कसैले तपाईंलाई—सम्भवतः अरूहरूलाई पनि—दिक्क पार्ने काम गरिरहेको होला। यसबारे कसैले त्यस व्यक्‍तिसित कुरा गरी दिए राम्रो हुने थियो, होइन र? सायद। तपाईं आफैले पनि उसलाई व्यक्‍तिगत रूपमा र कृपालु ढङ्‌गले समस्या बताइदिनु भयोभने परिणाम राम्रो हुनसक्छ। तर सर्वप्रथम तपाईंले आफैलाई यो सोध्नु पर्दछ: ‘उसले गरिरहेका कामहरू के वास्तवमा शास्त्रका विरुद्धमा छन्‌? कि मेरै संस्कार र रहनसहन उसको भन्दा बेग्लै भएको हुनाकारण यो समस्या उठेको हो?’ हो भने, तपाईंले आफ्नै सिद्धान्तहरू स्थापित गर्दै अरूहरूले पनि त्यही सिद्धान्तहरू पालन गरून्‌ भन्‍ने इच्छा नगर्नुहोस्‌। (याकु. ४:११, १२) यहोवा हर प्रकारको संस्कृतिबाट आएका मानिसहरूलाई निष्पक्षतापूर्वक स्वीकार गर्नुहुन्छ र तिनीहरूले आफ्नो आध्यात्मिकतामा उन्‍नति गर्दै जाँदा तिनीहरूप्रति उहाँ धैर्य धारण गर्नुहुन्छ।

१२. (क) मण्डलीमा कुनै गम्भीर गल्ती गरिएको खण्डमा त्यसको हेर-विचार कसले गर्दछ? (ख) तर कुन परिस्थितिहरूमा चाहिं जसको विरुद्धमा पाप गरिएको छ उसैले नै पहिलो कदम चाल्नु पर्दछ? के उद्देश्‍य राखेर?

१२ तथापि, मण्डलीमा कुनै व्यक्‍ति एउटा गम्भीर प्रकारको गलत काममा विथोलित हुँदा त्यस मामिलामा तुरुन्तै ध्यान दिनु आवश्‍यक हुन्छ। तर ध्यान दिने काम कसको हो? प्रायः प्राचीनहरूको। तर यदि भाइहरूबीच व्यापारसम्बन्धी मामिलाले गर्दा वा एउटाले जीब्रोको दुरुपयोग गरेर अर्कोलाई गम्भीर चोट पुऱ्‍याएको छ भने चाहिं, जसको विरुद्धमा पाप गरिएको हो, प्रथमतः उसैले काम बिराउने व्यक्‍तिलाई व्यक्‍तिगत रूपमा मदत दिने प्रयास गर्नुपर्दछ। कसैकसैका लागि यसो गर्न अलिक अप्ठ्यारो लाग्न सक्छ। तर मत्ती १८:१५-१७ मा येशूले यही नै सल्लाह दिनु भएको छ। र हामीमा आफ्नो भाइका लागि प्रेम छ र तिनलाई पछिसम्म भाइ बनाएर राख्न चाहन्छौं भने तिनको हृदय छुने ढङ्‌गमा हामीले तिनलाई मदत दिन सक्ने छौं अर्थात्‌ उक्‍त सल्लाह प्रयोगमा ल्याउन सफल हुनेछौं।—हितो. १६:२३.

१३. भाइ-भाइ बीच कुनै एउटा समस्या उठेको खण्डमा त्यस कुराप्रति उचित दृष्टिकोण राख्न हामीलाई के ले मदत दिनेछ?

१३ सानो वा ठूलो, जस्तोसुकै प्रकारको समस्या आइपर्दा त्यसप्रति यहोवाको दृष्टिकोण अपनायौं भने हामीले मदत पाउँछौं। कुनै प्रकारको पाप उहाँको नजरमा स्वीकार्य हुँदैन। तापनि उहाँले हामी सबैमा पाप देख्नुहुन्छ। बारम्बार पाप गरिरहने हठीहरूलाई उहाँले आफ्नो समयमा उहाँको सङ्‌गठनबाट हटाइ दिनुहुन्छ। तर हामी बाँकी रहेकाहरूबारे के भन्‍न सकिन्छ? हामी सबै नै उहाँको दया र धैर्यका पात्रहरू हौं। हामीले अनुकरण गर्नुपर्ने उदाहरण उहाँले नै कायम गर्नुहुन्छ। हामीले त्यसको अनुकरण गर्दा उहाँको प्रेमलाई प्रतिबिम्बित गरिरहेका हुन्छौं।—एफि. ५:१, २.

“ठूला मनका” हुने तरिकाहरू खोज्नुहोस्‌

१४. (क) कोरिन्थीहरूलाई पावलले “ठूला मनका” हुन किन प्रोत्साहित गरे? (ख) हामी सबैले नै यसबारे सोच्नु उचित हो भनेर यहाँ उल्लिखित शास्त्रपदहरूले कसरी सङ्‌केत गर्दछन्‌?

१४ ग्रीसको कोरिन्थ शहरमा मण्डली खडा गर्न प्रेरित पावलले धेरै महिना लगाएका थिए। त्यहाँका भाइहरूलाई मदत गर्न तिनले धेरै मेहनत गरेका थिए र तिनीहरूलाई तिनले प्रेम गर्थे। तर कसै कसैमा तिनीप्रति स्नेहको अभाव थियो। तिनीहरू अति नै आलोचना गर्दथिए। माया व्यक्‍त गर्नमा “ठूला मनका” हुनु भनेर तिनले तिनीहरूलाई आग्रह गरे। (२ कोरि. ६:११-१३; १२:१५) हामीले पनि अरूहरूका निम्ति कुन हद्‌सम्म प्रेम व्यक्‍त गर्दछौं सो विचार गर्नु र त्यसमा “ठूलो मनका” हुने तरिकाहरू खोज्नु राम्रो हो।—१ यूह. ३:१४; १ कोरि. १३:३.

१५. व्यक्‍तिगत रूपमा हामी कुनै व्यक्‍तिप्रति आकर्षित छैनौं भने त्यस व्यक्‍तिका लागि आफ्नो प्रेम बढाउन हामीले के गर्नसक्छौं?

१५ के मण्डलीमा कुनै यस्ता व्यक्‍तिहरू छन्‌ जसका नजिक जान हामीलाई अप्ठ्यारो लाग्छ? जसरी अरूहरूले हाम्रालागि गरेको चाहन्छौं, त्यसरी नै हामी पनि सानोतिनो गल्तीहरूलाई ढाक्न मन खोलेर अघि बढ्यौं भने यसले आपसमा आत्मीयता बढाउने मद्दत दिनेछ। (हितो. १७:९; १९:११) तिनीहरूमा भएका राम्रा गुणहरू खोज्ने प्रयास गर्दै त्यसमा ध्यान केन्द्रित गऱ्‍यौं भने तिनीहरूप्रतिको हाम्रो भावनामा उन्‍नति हुनेछ। ती भाइहरूलाई यहोवाले कसरी प्रयोग गर्नु हुँदैछ, यस विषयमा के हामीले वास्तवमा ध्यान दिएका छौं? यसो गर्ने गऱ्‍यौं भने तिनीहरूप्रतिको हाम्रो प्रेम निश्‍चय नै बढ्‌नेछ।—लूका ६:३२, ३३, ३६.

१६. हाम्रा मण्डलीमा हुने भाइहरूप्रति प्रेम देखाउनमा हामी “ठूला मनका” वास्तवमा कसरी हुनसक्छौं?

१६ हुन त हो, अरूहरूका निम्ति हामीले गर्न सक्ने कुराहरू सीमित छन्‌। प्रत्येक सभामा हरेकलाई अभिवादन गर्न हामी नसकौंला। साथीहरूलाई भोज खान निम्तो दिंदा हरेकलाई निम्तो दिन सम्भव नहोला। हामी सबैको कुनै न कुनै व्यक्‍तिहरूसित विशेष घनिष्ठता हुन्छ। तर के हामी अलिकता अझ “ठूला मनका” हुन सक्‍तैनौं र? हाम्रा विशेष मित्रहरू नभएकामध्ये कुनै एक जना व्यक्‍तिसित अझ राम्रोसित चिनजान बढाउन के हामी प्रत्येक हप्ता केही मिनेट तिनीसङ्‌ग बिताउन सक्‍तैनौं? तिनीहरूमध्येका कुनै एक जनालाई के हामीले कहिलकाहीं आफूसित क्षेत्र सेवकाईमा भाग लिने निम्तो दिन सक्‍तैनौं? हामीमा एकअर्काका लागि प्रगाढ प्रेम छ भने सो प्रेम प्रदर्शित गर्ने तरिकाहरू हामीले निश्‍चय नै पाउनेछौं।

१७. पहिले कहिले नभेटेका भाइहरूका माझमा हामी हुँदा तिनीहरूका लागि पनि हामीमा प्रगाढ प्रेम छ भनेर हामीले कसरी देखाउन सक्छौं?

१७ मसीही सम्मेलनहरूले हामीलाई प्रेम देखाउनमा “ठूला मनका” हुने सुअवसरहरू दिन्छन्‌। त्यहाँ हजारौं उपस्थित भएका हुन सक्छन्‌। हामी तिनीहरू सबैसँग भेट गर्न सक्‍तैनौं। तिनीहरूलाई हामीले पहिले कहिले पनि नभेटेको होला। तापनि आफ्नो सुविधालाई भन्दा तिनीहरूको हितलाई प्रथम स्थान दिन्छौं भन्‍ने कुरा हामी आफ्नो व्यवहारबाट देखाउन सक्छौं। साथै, बैठक बिसर्जन भएको बेला हामीले आफ्नो व्यक्‍तिगत चासो हाम्रा अगल-बगल बस्नेहरूसँग भेट गर्न अघि बढेर देखाउन सक्‍तछौं। यस पृथ्वीमा बस्ने सबै नै कुनै दिन भाइहरू र बहिनीहरू भएर हामी सबैका परमेश्‍वर र पिताको उपासनामा एकता बद्ध हुनेछौं। कस्तो आनन्दको कुरा हुनेछ जब ती सबैलाई तिनीहरूका अनेक विभिन्‍न गुणहरूसहित हामीले चिन्‍न पाउने छौं। र तिनीहरूका लागी हामीमा भएको प्रगाढ प्रेमले हामीलाई त्यसो गर्न प्रेरित गर्नेछ। अतः सो गर्न अहिले नै सुरु गरे कसो होला?

पुनरावलोकन एवं छलफल

• भाइहरू अथवा बहिनीहरूका बीचमा समस्याहरू आइपर्दा तिनीहरूको समाधान कसरी गर्नु पर्दछ? किन?

• हाम्रो आध्यात्मिकता जसै बढ्‌दै जान्छ हाम्रो प्रेम पनि कुन कुन तरिकामा बढ्‌दै जानुपर्छ?

• घनिष्ठ साथीहरूको गुट बाहिरकाहरूप्रति पनि प्रगाढ प्रेम देखाउन कसरी सम्भव छ?

[अध्ययनका लागि प्रश्‍नहरू]