एउटा राज्य “जो कहिल्यै नाश हुनेछैन”
अध्याय १०
एउटा राज्य “जो कहिल्यै नाश हुनेछैन”
१, २. (क) संसारमा घटेका घटनाहरूद्वारा प्रत्येक दिन कुन कुरा स्पष्टसँग देख्न पाइन्दैछ र कसरी? (ख) यसको एक मात्र समाधान के हो?
यहोवाका सार्वभौमिकतालाई तिरस्कार गर्दै त्यसको ठाउँमा आफ्नै शासन कायम गर्ने प्रयास गरेर मानिसहरू सुखी हुन सकेका छैनन्। यस तथ्यको ज्वलन्त व्याख्या संसारका घटनाहरूमा देखिन्छ। कुनै पनि मानव सरकारले मानिसजातिका निम्ति निष्पक्ष रूपमा लाभ पुऱ्याउन सकेको छैन। मानिसहरूले अपूर्व वैज्ञानिक दक्षता हासिल गरे। तापनि तिनीहरूले आफ्ना प्रजामध्ये एक जनाका लागि पनि पापलाई जरैसमेत उखेल्न र बिमारीमाथि विजयी हुँदै मृत्युलाई अन्त गर्न सकेका छैनन्। यसको विपरीत, राष्ट्रहरू नयाँ नयाँ र झन-झन भयङ्कर हात-हतियारहरूको विकाश गर्दै छन्। हिंसात्मक अपराधको जताततै वृद्धि हुँदैछ। तकनीकी ज्ञान, लोभ र अज्ञानता, सबै मिलेर जमीन, पानी र हावालाई दूषित पार्दै छन्। बेहिसाबले चर्कदो महँगी र बेरोजगारीले गर्दा मानिसहरूलाई जीवनका दैनिक आवश्यकताहरू जुटाउन धौधौ परिरहेको छ। मानिसहरू यसको समाधान खोज्दा-खोज्दा हैरान भइसकेका छन्।—उप. ८:९.
२ यसको समाधान के हो? यसको समाधान परमेश्वरको राज्य हो जसका लागि येशूले आफ्ना अनुयायीहरूलाई प्रार्थना गर्न सिकाउनु भयो। (मत्ती ६:९, १०) यसले ल्याउने उद्धार अब नजिकै भएको हुनाले हामी कति कृतज्ञ हुनुपर्दछ!
३. (क) यस राज्यको सम्बन्धमा सा. यु. १९१४-मा स्वर्गमा के भयो? (ख) यो हाम्रालागि किन महत्त्वपूर्ण छ?
३ सन् १९१४ देखिन् येशू ख्रीष्टको हातमा परमेश्वरको राज्य क्रियाशील भइसकेको छ। a वास्तवमा दानियलले भविष्यवाणीपूर्ण दर्शनमा देखेका घटनाहरू स्वर्गमा त्यसै वर्ष घटे। “अति प्राचीन उमेरका” यहोवा परमेश्वरले मानिसको पुत्र, येशू ख्रीष्टलाई “विभिन्न भाषा बोल्ने सबै जातिका मानिसहरूले उहाँको सेवा गरून् भनेर उहाँलाई सर्वाधिकार, महिमा र राज्याधिकार” दिनुभयो। यस दर्शनको वर्णन गर्दै दानियलले लेखे: “उहाँको सर्वाधिकार कहिल्यै नबित्ने सदा सर्वदैको सर्वाधिकार छ, औ उहाँको राज्याधिकार कहिल्यै नष्ट हुनेछैन।” (दानि. ७:१३, १४) यसै राज्यद्वारा परमेश्वरले धार्मिकताका प्रेमीहरूलाई अनगिन्ती राम्रा कुराहरूको आनन्द उठाउन दिनु हुनेछ जुन कुराहरूको उद्देश्य उहाँले हाम्रा प्रथम मानवीय आमा-बाबुलाई प्रमोदवनमा राख्नु हुँदा रच्नु भएको थियो।
४. राज्यसम्बन्धी कुन विस्तृत जानकारीहरू हाम्रालागि गहिरो चासोका विषयहरू हुन् र किन?
४ यस सरकारको गठन र सञ्चालनमा राज्यका वफादार प्रजाहरूले गहिरो चासो लिन्छन्। त्यसले अहिले के गरिरहेको छ, भविष्यमा के सम्पन्न गर्नेछ र यसले तिनीहरूबाट के चाहन्छ, सो कुराहरू जान्न तिनीहरू इच्छुक छन्। तिनीहरूले यस राज्यको विषयलाई नजीकबाट जाँच गर्दछन्, र तिनीहरू जसै यसो गर्छन्, त्यसका लागि तिनीहरूको मूल्याङ्कन पनि अझ बढ्दछ र यसबारे अरूहरूसित कुरा गर्न पनि तिनीहरू तत्पर रहन्छन्।—भजन. ४८:१२, १३.
एउटा उत्साहवर्धक निरीक्षण
५. (क) मसीही राज्यद्वारा कसको सार्वभौमिकता व्यक्त गरिन्छ भनेर शास्त्रपदहरूले कसरी देखाउँछन्? (ख) त्यसकारण राज्यबारे हामी जे सिक्तछौं, त्यसले हामीमाथि के प्रभाव पार्दछ?
५ यो मसीही राज्य स्वयं यहोवाको सार्वभौमिकताको एउटा अभिव्यक्ति हो भन्ने कुरा यसप्रकारको निरीक्षणबाट प्रकट हुने प्रथम तथ्यहरूमथ्ये हो। उहाँले नै आफ्नो छोरालाई “सर्वाधिकार, महिमा र राज्याधिकार” दिनुभयो। त्यसैकारण त यस राज्यले शासन गर्न थालिसकेपछि स्वर्गमा यो उपयुक्त घोषणा गरिएको सुनियो: “पृथ्वीको राज्य हाम्रा प्रभुको [यहोवा परमेश्वरको] र उहाँका [यहोवाको] ख्रीष्टको राज्य भएको छ, उहाँले सदा सर्वदा राज्य गर्नुहुनेछ।” (प्रकाश ११:१५) अतः यस राज्यसित सम्बन्धित सबै कुरा अथवा यसले सम्पन्न गर्ने हर विषयलाई नियालेर हेर्दा स्वयं यहोवासित हाम्रो घनिष्ठता बढ्दछ। उहाँको सार्वभौमिकताको अधीनमा सदा सर्वदाका लागि बस्ने इच्छा हामीमा उत्पन्न हुन्छ।
६. येशू ख्रीष्ट यहोवाका उप-शासक हुनुहुन्छ, सो हाम्रालागि विशेष चासोको कुरा किन हो?
६ आफ्नो उप-शासकको रूपमा येशू ख्रीष्टलाई यहोवाले सिंहासनमा बसाल्नु भएको कति राम्रो कुरा हो! पृथ्वी र मनुष्यलाई बनाउनमा परमेश्वरले येशूलाई प्रधान कार्यकर्त्ताको हैसियतमा प्रयोग गर्नु भएको थियो। यसैकारण पनि हाम्रा आवश्यकताहरूबारे हामीहरूलाईभन्दा उहाँलाई बढी थाह हुन्छ। यति मात्र होइन। उहाँ ‘मानवजातिमा आनन्द लिनु हुन्थ्यो’ [न्यु व०] भनेर मानव इतिहासको सुरुदेखि नै उहाँले प्रदर्शित गर्नुभयो। (हितो. ८:३०, ३१; कल. १:१५-१७) त्यो प्रेम यति महान थियो कि उहाँ स्वयं पृथ्वीमा आउनुभएर मानिसजातिको छुटकाराका लागि आफ्नो प्राण अर्पण गर्नुभयो। यसप्रकार हामीले पाप र मृत्युबाट छुटकारा पाउने बाटो र अनन्त जीवनको मौका हाम्रालागि उपलब्ध गराइ दिनुभयो।—मत्ती २०:२८.
७. (क) कुनै मानवीय शासन भन्दा यो सरकार किन स्थिर रहनेछ? (ख) स्वर्गमा केन्द्रित सरकारसँग “विश्वासी र बुद्धिमान दास” को के सम्बन्ध छ?
७ यो एउटा स्थिर र स्थायी सरकार हो। यहोवा मरणशील नहुनु नै यसको स्थायित्वको एउटा निश्चित प्रमाण हो। (हब. १:१२; भजन. १४६:३-५, १०) परमेश्वरबाट राज्याधिकार पाउनु भएको येशू ख्रीष्ट पनि मानव राजाहरूजस्तो नभएर अमर हुनुहुन्छ। (रोमी ६:९; १ तिमो. ६:१५, १६) स्वर्गीय सिंहासनहरूमा येशूसँग १,४४,००० अन्य जनहरू पनि हुनेछन्। तिनीहरू “हरेक कुल, भाषा, मानिस, र जातिबाट” लिइएका परमेश्वरका वफादार सेवकहरू हुन्। यिनीहरूलाई पनि अमरत्व प्रदान गरिएको हुनेछ। (प्रकाश ५:९, १०; १ कोरि. १५:४२-४४, ५३) तिनीहरूमध्येका धेरैजसो त स्वर्ग पुगिसकेका छन्, र तिनीहरूमध्येका शेष जनहरू चाहिं पृथ्वीमा “विश्वासी र बुद्धिमान दास”-को हैसियतमा सेवा गर्दैछन् र वफादारीका साथ राज्यसित सम्बन्धित काम-कुरालाई अघि बढाउँछन्।—मत्ती २४:४५-४७.
८, ९. (क) फूट र भ्रष्टाचार उत्पन्न गराउने कुन-कुन प्रभावहरूलाई राज्यले हटाउनेछ? (ख) अतः, हामी परमेश्वरको राज्यको शत्रु हुन चाँहदैनौं भने कुन कुन सङ्गठनहरू र गतिविधिहरूबाट हामीले आफूलाई अलग्ग राख्ने छौं?
८ अब चाँडै नै यहोवाले तोक्नु भएको समयमा यस पृथ्वीलाई सफा पार्ने कामलाई कार्यान्वयन गर्न उहाँका सेनाहरू क्रियाशील हुनेछन्। जानाजानी परमेश्वरलाई चिन्न नचाहनेहरू, उहाँको सार्वभौमिकतालाई मान्यता दिन इन्कार गर्नेहरू र येशू ख्रीष्टद्वारा उहाँले मिलाउनु भएको मायालु प्रबन्धलाई ठट्टामा उडाउनेहरू सबैलाई सदाका लागि तिनीहरूले नष्ट गर्नेछन्। (२ थिस्स. १:६-९) त्यो दिन यहोवाको दिन हुनेछ। उहाँको विश्व-सार्वभौमिकतालाई प्रमाणित गर्ने त्यो समय हुनेछ जसको प्रतीक्षा धेरै दिनदेखि गर्दै आइएको थियो।
९ सारा झूटा धर्महरू, र यस संसारको अदृश्य दुष्ट शासकले चतुऱ्याइसँग चलाएका सारा मानव सरकारहरू र तिनीहरूका सेनाहरू सदाका लागि ध्वस्त पारिनेछन्। स्वार्थी, बेइमान र अनैतिक जीवन बिताएर आफूलाई यस संसारको भाग बनाउनेहरू सबै नै मारिनेछन्। शैतान र उसका दूतहरूलाई उम्कनु नपाउने गरी हजार वर्षसम्म थुनेर राखिनेछ। अतः, तिनीहरूले पृथ्वीका बासिन्दाहरूसित कुनै सम्पर्क राख्न पाउने छैनन्। धार्मिकतालाई प्रेम गर्ने सबैका लागि यो एउटा कति आरामदायी कुरा हुनेछ!—प्रकाश १८:२१, २४; १९:११-१६, १९-२१; २०:१, २.
यसका लक्ष्यहरू—कसरी प्राप्त हुनेछन्
१०. (क) पृथ्वीका लागि यहोवाको उद्देश्यलाई मसीही राज्यले कसरी पूरा गर्नेछ? (ख) त्यसबेला पृथ्वीमा हुनेहरूका लागि यसले के अर्थ राख्नेछ?
१० पृथ्वीका लागि परमेश्वरले सुरुमा रच्नु भएको उद्देश्यलाई यो मसीही राज्यले सम्पूर्ण रूपमा पूरा गर्नेछ। (उत्प. २:८, ९, १५; १:२८) आजको दिनसम्म पनि त्यस उद्देश्यलाई पूरा गर्न मानिस असफल भएको छ। तथापि, “आउँदो संसारलाई” मानिसको पुत्र, येशू ख्रीष्टको हातमा सुम्पिएको छ। यस पुरानो रीतिरिवाजमाथि यहोवाको इन्साफ कार्यान्वयन हुँदा बाँच्नेहरू सबैले नै ख्रीष्टलाई राजा मान्दै उहाँले दिनु भएको निर्देशन बमोजिम खुसीका साथ काम गरेर यस पृथ्वीलाई एउटा विश्वव्यापी प्रमोदवन बनाउनेछन्। (हिब्रू २:५-९) आ-आफ्ना हातले गरेको कामबाट सारा मानवजातिले आनन्द उठाउँदै पृथ्वीका प्रशस्त उब्जनीबाट पूर्ण लाभ उठाउनेछन्।—भजन. ७२:१, ७, ८, १६-१९; यशैया ६५:२१, २२ सङ्ग तुलना गर्नुहोस्।
११. (क) राज्यका प्रजाहरूको मन र शरीरलाई सिद्धावस्थामा कसरी ल्याइनेछ? (ख) त्यसमा कुन कुरा सम्मिलित हुनेछ?
११ आदम र हव्वा सिद्ध सृजिएका थिए। साथै पृथ्वी तिनीहरूका सन्तानले भरिऊन् र सबैले नै सिद्ध मन र शरीरको आनन्द उठाऊन्, यो नै परमेश्वरको उद्देश्य थियो। राज्यको शासन अन्तर्गत त्यो उद्देश्य एउटा महान वास्तविकता हुनेछ। यसका निम्ति पापको सारा असर हटाइनु पर्दछ। अतः, ख्रीष्टले राजाको हैसियतमा मात्र नभएर प्रधान पूजाहारीको रूपमा पनि काम गर्नुहुन्छ। उहाँको आफ्नै मानव जीवनको बलिदानमा पाप मोचन गर्ने शक्ति छ। त्यसबाट लाभ उठाउन उहाँले आफ्ना वफादार प्रजालाई धैर्यसाथ मदत दिनु हुनेछ। अन्धा आँखाहरू खोलिनेछन्। बहिरा कानहरू उघारिनेछन्। उमेर वा रोगको कारण कुरूप भएको शरीर बच्चाको भन्दा पनि कलकलाउँदो हुनेछ। समय आउनेछ जब कसैलाई पनि “म बिरामी परें,” भन्ने कारण हुनेछैन। ईश्वर-भीरु मानिसहरूले पाप र त्यसका दुःखदायी असरहरूको बोझबाट छुटकारा पाउनेछन्।—तुलना गर्नुहोस् यशैया ३३:२२, २४; ३५:५, ६; अय्यूब ३३:२५; लूका १३:११-१३.
१२. (क) मानव सिद्धताका लागि अरू कुन कुराको आवश्यकता छ? (ख) त्यो कसरी प्राप्त हुनेछ, र त्यसको प्रतिफल के हुनेछ?
१२ तथापि, सिद्धता प्राप्त गर्नुको अर्थ एउटा स्वस्थ शरीर र स्वस्थ मन प्राप्त गर्नु मात्र होइन। यहोवाको व्यक्तित्वमा भएका गुणहरूलाई उचित ढङ्गमा प्रतिबिम्बित गर्नु पनि आवश्यक छ, किनकि मनुष्यलाई ‘परमेश्वरको स्वरूपमा उहाँकै अनुरूप’ बनाइएको थियो। (उत्प. १:२६) यस्तो गर्न सक्नका लागि निकै नै शिक्षाको आवश्यकता पर्नेछ। यो एउटा नयाँ व्यवस्था हुनेछ जसमा “धार्मिकताले बास [गर्नेछ]।” अतः अगमवक्ता यशैयाले भने झैं “संसारका बासिन्दाहरूले धार्मिकता सिक्नेछन्।” (२ पत्रु. ३:१३; यशै. २६:९) यस गुणको परिणामस्वरूप सारा जातिका मानिसहरू बीच, नजिकका साथीहरूको आपसमा, आफ्नै परिवारमा र सबैभन्दा त स्वयं यहोवासँग शान्ति स्थापित हुनेछ। (यशै. ३२:१७; भजन. ८५:१०-१३) धार्मिकता सिक्नेहरूलाई तिनीहरूका निम्ति परमेश्वरको इच्छा के हो, सो विषयमा क्रमशः शिक्षा दिइने छ। यहोवाका मार्गहरूका लागि तिनीहरूको हृदयमा गहिरो प्रेम उत्पन्न हुन थालेपछि तिनीहरू आफ्नो जीवनको हरेक क्षेत्रमा ती मार्ग बमोजिम हिंड्नेछन्। सिद्ध मानव येशूले यसो भन्न सक्नुभयो, ‘म सधैं उहाँलाई मन पर्ने कुराहरू गर्दछु।’ (यूह. ८:२९) सबै मानवजातिले त्यसो भन्न सकेमा जीवन कस्तो आनन्दमय हुनेछ!
प्रत्यक्ष रूपमा सम्पन्न भइसकेका कुराहरू
१३. माथि दिइएका प्रश्नहरूको प्रयोग गर्दै राज्यका उपलब्धिहरू र त्यस विषयमा हामीले गर्नु पर्ने कुराहरूको विवरण दिनुहोस्।
१३ विश्वासका आँखा हुने व्यक्तिहरूका लागि राज्यद्वारा सम्पन्न भएका प्रभावशाली कुराहरू अहिले पनि स्पष्ट छन्। निम्नलिखित प्रश्नहरू र उल्लिखित शास्त्र पदहरूले तपाईंलाई ती सम्पन्न भएका केही कुराहरूबारे सम्झना गराउँने छन्। साथै राज्यका सबै नै प्रजाहरूले अहिले गर्नुपर्ने र गर्न सक्ने कुराहरूको पनि याद दिलाउनेछन्:
कसका विरुद्धमा राजाले सर्वप्रथम कारबाई गर्नुभयो, र त्यसको के परिणाम भयो? (प्रकाश १२:७-१०, १२)
ख्रीष्ट सिंहासनमा विराजमान हुनु भएपछि, कुन समूहका अन्तिम सदस्यहरूलाई जम्मा गर्ने कामलाई प्रथम ध्यान दिइयो? (मत्ती २४:३१; प्रकाश ७:१-४)
आफू सिंहासनमा बस्नुभए पछि र दुष्टलाई नाश गर्नुभन्दा अघि, येशूले अरू कुन काम गर्नु हुनेछ भनी मत्ती २५:३१-३३ मा उहाँले अगमवाणी गर्नु भएको थियो?
सो काम कसरी सम्पन्न गरिन्छ? त्यसमा कस-कसले भाग लिइरहेका छन्? (मत्ती २४:१४; भजन. ११०:३; प्रकाश १४:६, ७)
राजनैतिक र सामाजिक विरोधीहरूले त्यस कामलाई किन रोक्न सकेका छैनन्? (प्रे. ५:३८, ३९; जक. ४:६)
आज चलिरहेको शैक्षिक कार्यक्रमको कारण परमेश्वरको शासनको अधीनमा आउने मानिसहरूको जीवनमा कुन प्रकारका परिवर्तनहरू भइसकेका छन्? (यशै. २:४; १ कोरि. ६:९-११)
राज्यको स्थायित्व
१४. (क) ख्रीष्टले कहिलेसम्म शासन गर्नुहुनेछ? (ख) त्यस समयावधिभित्र कुनकुन कुराहरू सम्पन्न हुनेछन्?
१४ शैतान र त्यसका प्रेतहरूलाई अगाध खाँदमा फालिदिएपछि येशू ख्रीष्टले आफ्ना १,४४,००० साझे-हकवालाहरूसित मिलेर एक हजार वर्षसम्म शासन गर्नु हुनेछ। (प्रकाश २०:६) त्यस समयको दौडानमा मानवजातिलाई सिद्धावस्थामा ल्याइनेछ। यहोवाको विरुद्धमा हुने सारा प्रभुत्व, सारा अधिकार र शक्ति नामेट गरिनेछ। त्यो काम सम्पन्न भइसकेपछि “परमेश्वर सबैमा सर्वश्रेष्ठ” होऊन् भनेर येशूले पितालाई राज्य फिर्ता दिनु हुनेछ।—१ कोरि. १५:२४, २८.
१५. त्यो राज्य ‘कहिल्यै नष्ट हुनेछैन’ भन्ने कुरा कसरी सत्य हो?
१५ अतः पृथ्वीसम्बन्धी येशूको ओहदामा परिवर्तन हुनेछ। तथापि, उहाँको सर्वाधिकार “कहिल्यै नबित्ने सदा सर्वदैको” र उहाँको राज्याधिकार “कहिल्यै नष्ट” हुनेछैन। (दानि. ७:१४) यसको अर्थ के हुनेछ? यही कि बेग्लै लक्ष्य राख्ने व्यक्तिहरूको हातमा राज्याधिकार जाने छैन। यस राज्यले सम्पन्न गरेका कुराहरू ‘कहिल्यै नष्ट हुने छैनन्।’ यहोवाको नाउँलाई उच्च पार्न र पृथ्वीमा उहाँको उद्देश्यलाई पूरा गर्नका निम्ति राज्यले सम्पन्न गरेको कुरा सदा रहिरहनेछ।
[फुटनोट]
a “लेट योर किङ्गडम कम” भन्ने पुस्तकका १२७-१३९ पानाहरू हेर्नुहोस्।
पुनरावलोकन एवं छलफल
• मानव समस्याहरूका लागि किन परमेश्वरको राज्य नै एक मात्र समाधान हो? त्यसले कहिलेदेखि शासन गर्न सुरु गऱ्यो?
• परमेश्वरको राज्यबारे तपाईंलाई कुन कुरा विशेष रूपमा मन पर्दछ र त्यसले के सम्पन्न गर्नेछ? किन?
• राज्यद्वारा सम्पन्न भएका कुन कुन कुरा हामी अहिले पनि देख्न सक्छौं? तिनीहरूमा हामीले निभाउनु पर्ने भूमिका के हो?
[अध्ययनका लागि प्रश्नहरू]
[पृष्ठ ८४, ८५-मा भएको चित्र]
मानिसहरूले धार्मिकता सिक्नेछन्