सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

जीवन र रगत–के तपाईं तिनीहरूलाई पवित्र ठान्‍नुहुन्छ?

जीवन र रगत–के तपाईं तिनीहरूलाई पवित्र ठान्‍नुहुन्छ?

अध्याय २०

जीवन र रगत–के तपाईं तिनीहरूलाई पवित्र ठान्‍नुहुन्छ?

१. (क) परमेश्‍वरले जीवनलाई कुन दृष्टिकोणले हेर्नुहुन्छ? (ख) परमेश्‍वरले दिनु भएको जीवनको वरदानको हामी मूल्याङ्‌कन गर्दछौं भनेर कसरी प्रदर्शित गर्न सक्छौं?

 जीवनप्रति परमेश्‍वरको दृष्टिकोण संसारको दृष्टिकोणभन्दा धेरै नै भिन्‍न छ। यो कुनै छक्क पर्दो कुरा होइन। परमेश्‍वरले मानव जीवनलाई पवित्र ठान्‍नुहुन्छ। के तपाईं पनि त्यसलाई पवित्र ठान्‍नुहुन्छ? हामी परमेश्‍वरमाथि सम्पूर्णतया निर्भर गर्छौं किनभने “उहाँलेनै सबैलाई जीवन, सास र सबै चीज दिनुहुन्छ।” (प्रे. १७:२५-२८; भजन. ३६:९) परमेश्‍वरको जस्तै दृष्टिकोण राख्यौं भने हामीले आफ्नो जीवनको सुरक्षा गर्नेछौं। तर आफ्नो वर्तमान जीवन बचाउने प्रयासमा हामी ईश्‍वरीय कानुन उल्लङ्‌घन गर्नेछैनौं। परमेश्‍वरको पुत्रमाथि साँच्चै नै विश्‍वास राख्नेहरूलाई अनन्त जीवन दिने उहाँको प्रतिज्ञाको हामी मोल गर्दछौं।—मत्ती १६:२५, २६; यूह. ६:४०; यहू. २१.

२. संसारले जीवनप्रति कसको मनोवृत्ति व्यक्‍त गर्दछ र यसले कहिलेकाहीं कुन प्रकारको सोचाइतिर लग्न सक्छ?

त्यसको ठीक विपरीत, यस संसारको शासक, शैतान अर्थात्‌ दियाबल “शुरुदेखिनै हत्यारा थियो” भनेर येशूले भन्‍नुभयो। (यूह. ८:४४; १२:३१) त्यसले विद्रोह सुरु गर्नासाथै मानवजातिमाथि मृत्यु ल्यायो। संसारको हिंसात्मक इतिहासभरि त्यसैको मनोवृत्ति व्यापक​रूपमा देखिन्छ। तर हेर्नमा बेग्लै देखिने रूप पनि शैतानले धारण गर्न सक्छ। यसकारण त्यसको सोचाइबाट प्रभावित भएकाहरूको तर्कानुसार तपाईंको धर्म सिद्धान्तको पालन गर्नु ठीकै हो तर जीवन खतरामा पर्दाचाहिं बाइबलका कुराहरू उद्धरण गर्नुभन्दा “निपुण मानिसहरूको” सल्लाह मान्‍नु नै लाभदायक हुनेछ। (२ कोरिन्थी ११:१४, १५ सङ्‌ग तुलना गर्नुहोस्‌।) जीवन र मृत्युजस्तो सवालको सामना गर्नुपर्दा तपाईंको हृदय कतातिर ढल्कनेछ? निश्‍चय पनि हामीमा यहोवालाई खुशी पार्ने इच्छा हुनुपर्दछ।

३. (क) बाइबलले रगतको विषयमा जे भन्छ, त्यस विषयमा हाम्रो विशेष चासो किन हुनुपर्दछ? (ख) उत्पत्ति ९:३-६ र प्रेरित १५:२८, २९ पढ्‌नु होस्‌ र यी पदहरूको आधारमा दिइएका प्रश्‍नहरूको जवाफ दिनुहोस्‌।

जीवन र रगतबीच एउटा नजिकको सम्बन्ध छ भनेर परमेश्‍वरको वचनले यसो भन्दै प्रकाशित पार्दछ: “जीवधारीको प्राण [वा जीवन] त्यसको रगतमा हुन्छ।” जसरी जीवन पवित्र छ, त्यसरीनै परमेश्‍वरले रगतलाई पनि पवित्र तुल्याउनु भएको छ। यो उहाँको सम्पत्ति हो। त्यसको प्रयोग उहाँलाई स्वीकार्य हुने ढङ्‌गमा मात्र गर्नुपर्दछ। (लेवी १७:३, ४, ११; व्यव. १२:२३) अतः रगतको सम्बन्धमा उहाँ हामीबाट के चाहनुहुन्छ, त्यसबारे राम्ररी विचार गर्नु हाम्रालागि असल हुनेछ।

 उत्पत्ति ९:३-६ पढ्‌नुहोस्‌

 पशुको रगत खान नपरोस्‌ भनेर तपाईं बस्नुभएको इलाकाका कुन कुन चलनहरूदेखि तपाईं सतर्क रहनु पर्दछ?

 चौथो पदमा पशुको रगतसम्बन्धी भनिएको कुरालाई ध्यानमा राखेर हेर्दा मानव रगत खाने चलनबारे (जस्तो कि रोमी रङ्‌गशालाहरूमा योद्धाहरूले देखाउने तमाशाहरूमा गरिन्थ्यो) तपाईंको कस्तो प्रतिक्रिया हुनेथियो?

 पद ५ र ६ अनुसार, मानव रगत बगाएको लेखा मुख्यतः कसलाई दिनु पर्दछ?

 प्रेरित १५:२८, २९ पढ्‌नुहोस्‌

 यी आवश्‍यकताहरू सीमित समयका लागि मात्र लागू हुनेहुन्‌ भनेर के यी पदहरूमा सङ्‌केत गरिएको छ? के यी आवश्‍यकता हामीमा पनि लागू हुन्छ?

 यहाँ प्रयोग गरिएको भाषाले मानव रगतलाई समावेश गर्दैन भन्‍नु मिल्छ र?

 अति नै अप्ठ्यारो परेको बेलामा चाहिं अन्यथा गर्न सकिन्छ भनेर के यस पदले सङ्‌केत गर्दछ?

४. यहाँ छलफल गरेअनुसार रगतको दोषी नहुनका लागि एकजना व्यक्‍तिले के कदम चाल्नु पर्दछ भनेर शास्त्रले देखाउँछ?

मानव रगतबारे कुरागर्दा, हत्या नगर्दैमा हामी निर्दोष ठहरिन्छौं भन्‍न सकिन्दैन। परमेश्‍वरको सामुन्‍ने रगतको दोषी ठहरिएको कुनै पनि सङ्‌गठनको हामी एउटा भाग हौं भने त्यसका पापहरूमा सहभागी नहुनाका लागि हामीले त्योसँगको आफ्नो सम्बन्धलाई विच्छेद गर्नु पर्दछ भनी धर्मशास्त्रले देखाउँछ। (प्रकाश १८:४, २४; मीका ४:३) उक्‍त काम तुरुन्तै गर्न आवश्‍यक छ।

५. क्षेत्र सेवकाईमा मेहनती हुने र रगतको दोषबाट मुक्‍त रहने कुरा कसरी सम्बन्धित छन्‌?

महासङ्‌कष्टको समयमा आउने विनाशबारे चेताउनी दिने जिम्मेवारी पाएका परमेश्‍वरका सेवकहरूले रक्‍त-दोषबाट मुक्‍त रहनका निम्ति त्यो समाचारको घोषणा विश्‍वासिलो भएर गरी नै रहनु पर्दछ। (इजकिएल ३:१७-२१ सङ्‌ग तुलना गर्नुहोस्‌।) आफूलाई यो सेवकाई सुम्पिएको हुनाकारण प्रेरित पावलले हर प्रकारका व्यक्‍तिहरूप्रति आफूलाई ऋणी ठाने। मुक्‍तिका निम्ति परमेश्‍वरको प्रबन्धबारे अरूहरूलाई पूर्णतया साक्षी दिइसकेपछि मात्र तिनले आफूलाई तिनीहरूको रगतको दोषबाट मुक्‍त ठाने। (रोमी १:१४, १५; प्रे. १८:५, ६; २०:२६, २७) यहोवाका सबै नै साक्षीहरूले उठाउनु परेको जिम्मेवारीप्रति त्यस्तै चेतनशीलता र मेहनतसाथ तपाईंले गर्नु​भएको सेवकाईद्वारा पनि के प्रदर्शित हुन्छ?

६. दुर्घटनालाई रोक्न चालिएका पूर्व कदमहरू र जीवनको पवित्रताका लागि आदर दुवै कसरी सम्बन्धित छन्‌?

घातक दुर्घटनाहरूलाई पनि हामीले गम्भीरतापूर्वक ध्यान दिनुपर्दछ। आफ्नो एकजना सङ्‌गी मानवको दुर्घटनावश मृत्युको कारण हुने व्यक्‍ति मोशाको व्यवस्थानुसार निर्दोष हुँदैन थियो। उसले जरिमाना तिर्नु पर्दथियो। (प्रस्थ. २१:२९, ३०; व्यव. २२:८; गन्ती ३५:२२-२५) यसमा बिथोलित सिद्धान्तलाई हृदयङ्‌गम गऱ्‍यौं भने हामीले मोटर हाँक्ने आफ्नो ढङ्‌गद्वारा मूर्खतापूर्वक खतरा मोलेर वा आफ्नो घरमा अथवा काम गर्ने ठाउँमा असुरक्षित स्थितिहरू रहन दिएर कुनै प्रकारको घातक दुर्घटना हुनमा सघाउ पुऱ्‍याउने छैनौं। यी कुराहरू बारे तपाईंको मनोवृत्तिद्वारा जीवनको पवित्रताप्रति के पूर्ण मूल्याङ्‌कन प्रदर्शित हुन्छ?

औषधीको रूपमा प्रयोग गरिने रगतबारे के नि?

७. (क) एकजना मानिसको रगतलाई अर्को मानिसको शरीरमा हाल्नु रगतलाई पवित्र मान्‍नु हो र? (ख) ‘रगतबाट अलग’ बस्नु भन्‍ने आज्ञा प्रथम शताब्दीका चलनहरूमा मात्र लागूहुन्छ भन्‍नु किन मनासिब होइन?

यसप्रकारको प्रयोग नयाँ नभए तापनि खासगरी २०-औं शताब्दीमा जीवन धान्‍ने उद्देश्‍यले रगतलाई विस्तृत रूपमा रक्‍तक्षेपणका निम्ति प्रयोग गरिएको छ। रगत र रगतका मुख्य तत्त्व दुवैलाई यसप्रकारबाट प्रयोग गरिन्छ। हुन तः यसप्रकारको उपचार​द्वारा बिरामी निश्‍चय नै बाँच्ने छ भन्‍न सकिन्दैन। वास्तवमा, रगतको यसप्रकारको प्रयोग नै मृत्युको कारण हुन गएको छ। तर त्योभन्दा पनि विशेष चासोको कारण त यो हो—‘रगतबाट अलग’ रहनु भन्‍ने बाइबलको नियम के यस उपचारात्मक प्रयोगमा पनि लागूहुन्छ र? हुन्छ! आफ्नो शरीरभित्र मानव वा जनावर, जुन सुकै जीवको रगत लिनाले यस ईश्‍वरीय आदेशको उल्लङ्‌घन हुन्छ। यसबाट रगतको पवित्रताको अवलेहना हुन्छ। (प्रे. १५:१९, २०) ‘रगतबाट अलग’ रहनु भन्‍ने आज्ञा प्रथम शताब्दीका चलनहरूमा मात्र लागूहुन्छ तर आधुनिक उपचारात्मक प्रविधिसित चाहिं त्यस आदेशलाई जोडनु मिल्दैन भन्‍ने केही आधार छैन। यसबारे यसो विचार गर्नुहोस्‌: दशौं शताब्दीभन्दा अघि बारूदको आविष्कारै भएको थिएन भन्दैमा के हत्या नगर्नु भन्‍ने बाइबलको आदेशमा कानुन विपरीत बन्दुकले अरूको ज्यान लिने कुरा समावेश छैन भन्‍न मिल्छ र? साथै, मतवालापनसम्बन्धी निषेधाज्ञा प्रथम शताब्दीमा उपलब्ध मादक पदार्थहरूको प्रयोग गर्दा मात्र लागूहुन्छ र आधुनिक समयमा पाइने मादक पदार्थहरूको प्रयोग हुँदा चाहिं लागू हुँदैन भन्‍नु के मनासिब हुन्छ? ‘रगतबाट अलग’ रहनु भन्‍ने आज्ञाको अर्थ परमेश्‍वरलाई साँच्चै नै खुशी तुल्याउन चाहनेहरूका लागि स्पष्ट छ।

८. (क) कुनै उपचार एकजना मसीहीका लागि सुहाउँदो कुरा हो कि होइन, त्यो तपाईंले कसरी निर्धारित गर्न सक्नुहुन्छ? (ख) कुनै डाक्टरले तपाईंको शरीरबाट केही मात्रामा रगत निकालेर, त्यसलाई साँचेर पछि फेरि तपाईंको शरीरमै हाली दिन चाहेमा बाइबलका कुन सिद्धान्तहरूले तपाईंलाई एउटा उचित फैसला गर्ने मदत दिन सक्छ? (ग) आफ्नो शरीर बाहिर भएको कुनै यन्त्रभित्र रगत पठाएर फेरि त्यसै रगतलाई शरीरभित्र बगाउने किसिमको उपचारबारे एकजना व्यक्‍तिले कुन ढङ्‌गमा तर्क गर्न सक्छ?

तापनि, केही उपचारात्मक जटिलताको कारण प्रश्‍नहरू खडा हुन सक्छन्‌। तिनीहरूको समाधान कसरी गर्न सकिन्छ? प्रथमतः, तपाईंको डाक्टरले अपनाउने विचार गरेको उपचारको एउटा स्पष्ट व्याख्या तिनीबाट लिनुहोस्‌। अनि बाइबलका सिद्धान्तहरूको आधारमा प्रार्थनापूर्वक त्यसको विश्‍लेषण गर्नुहोस्‌। शायद तपाईंको आफ्नै रगत निकालेर पछि अप्रेसनको समयमा प्रयोग गर्नका लागि राख्ने सुझाउ तिनले तपाईंलाई दिन सक्छन्‌। के तपाईं मान्‍नुहुन्छ? नबिर्सनु होस्‌, परमेश्‍वरले मोशाद्वारा दिनुभएको व्यवस्था​अनुसार कुनै जीवको शरीरबाट निकालेको रगतलाई भूइँमा पोखाइदिनु पर्थ्यो। (व्यव. १२:२४) हुन तः आज हामी व्यवस्थाको अधीनमा छैनौं। तापनि हामीले बुझ्नु पर्ने कुरा के हो भने रगत पवित्र हो र कुनै पनि जीवको शरीरबाट बाहिर निकालेपछि त्यसलाई भूइँमा अर्थात्‌ परमेश्‍वरको पाउदानमा पोखाइ दिएर उहाँलाई नै फर्काइ दिनुपर्दछ। (मत्ती ५:३४, ३५ सङ्‌ग तुलना गर्नुहोस्‌।) अतः तपाईंको आफ्नो रगतलाई जम्मा गरेर (केही समयका निम्ति मात्र भए तापनि) त्यसलाई फेरि तपाईंको शरीरमा हाल्नु कसरी उचित हुन सक्थ्यो र? तर अप्रेसन वा अन्य उपचारको समयमा तपाईंको रगतलाई तपाईंको शरीर बाहिर रहेको कुनै यन्त्रमा पठाएर फेरि तपाईंकै शरीरमा पठाइनेछ भनी डाक्टरले भनेमा के गर्नुहुन्छ? के तपाईं यसका लागि आफ्नो स्वीकृति दिनुहुन्छ? त्यस यन्त्रलाई सुरुमा चालू गर्दा रगतबाहेक अरू नै तरलपदार्थको प्रयोग गरिने हो भने यसप्रकारको स्थितिमा एउटा स्वच्छ अन्तस्करणका साथ आफ्नो स्वीकृति जनाउन सकिन्छ भन्‍ने विचार कसै कसैले व्यक्‍त गरेका छन्‌। तिनीहरूले त्यो बाह्‍य यन्त्रलाई आफ्नै रक्‍तसंचार प्रणालीको एउटा बहिरङ्‌ग ठान्छन्‌। तर सबै परिस्थितिहरू एउटै हुँदैनन्‌ र निर्णय तपाईंले नै लिनुपर्दछ। तर त्यो निर्णय लिइसकेपछि परमेश्‍वरको सामुन्‍ने तपाईंको अन्तस्करण साफ छ भनेर तपाईंले भन्‍न सक्नु पर्दछ।—१ पत्रु. ३:१६; १ तिमो. १:१९.

९. (क) ‘रगतबाट अलग’ रहने तपाईंको फैसला पालन गराउनका लागि तपाईंले के पूर्वकदमहरू चाल्न सक्नुहुन्छ? (ख) अपर्झट कुनै सङ्‌कटकालीन स्थिति आइपर्दा एउटा नमीठो भनाभनको स्थितिलाई कसरी रोक्न सकिन्छ? (ग) कुनै डाक्टर अथवा अदालतले जबरजस्ती रक्‍तक्षेपण दिन खोजे भने पनि तपाईं के गर्न सक्नुहुनेछ?

‘रगतबाट अलग’ रहने तपाईंको फैसलालाई तपाईंको डाक्टरले पालन गरेको तपाईं निश्‍चित हुन चाहनुहुन्छ भने कुनै उपचारात्मक सङ्‌कट खडा हुनुभन्दा अघि नै तिनीसित कुरा गरी हाल्नुहोस्‌। उपचारका लागि कुनै अस्पतालमा भर्ना हुन आवश्‍यक पऱ्‍यो भने कुनै हालतमा पनि रगतको प्रयोग नगर्नु भनेर लिखितमा दिनुहोस्‌। यसका साथसाथै, तपाईंको उपचार गर्ने डाक्टरसित पनि व्यक्‍तिगत रूपमा कुरा गर्नुहोस्‌। तर अपर्झट कुनै सङ्‌कटकालीन स्थिति आइपरेमा नि? तपाईंलाई मदत दिन तिनले आफ्नो निपुणताको प्रयोग गरून्‌ र तपाईंको मसीही अन्तस्करणको पनि कदर गरी दिऊन्‌ भनेर डाक्टरसित आदरपूर्ण र तार्किक ढङ्‌गमा छलफल गर्दै आग्रह गर्नुहोस्‌। यसो गर्नुभयो भने नमिठो भनाभनलाई रोक्न सकिन्छ। (हितो. १५:१; १६:२१, २३) तथापि, हामीले रगत लिएनौं भने हाम्रो जीवन खतरामा पर्नेछ भनेर अस्पतालका सम्भवतः सद्‌भावी कर्मचारीहरूले पनि जिद्द गर्दै जबरजस्ती हामीबाट स्वीकृति लिन खोजेमा के गर्ने? यहोवाका मार्गहरूको औचित्यमा विश्‍वास राख्दै हामी दृढ रहनु पर्दछ। यहोवाप्रति वफादार रहँदै हामीले दृढताका साथ तिनीहरूको दबाउको विरोध गर्नुपर्छ। किनभने हामी मानिसहरूको भन्दा परमेश्‍वरको आज्ञा पालन गर्न रोज्छौं।—प्रे. ५:२९; अय्यूब २:४; हितोपदेश २७:११ सङ्‌ग तुलना गर्नुहोस्‌।

विषय कतिको गम्भीर हो?

१०. एकजनाको प्राण बचाउनका लागि रक्‍तक्षेपण चाहिएको छ भन्दैमा हाम्रो दृष्टिकोण किन बद्‌लिने छैन?

१० यहोवालाई हाल नचिन्‍ने व्यक्‍तिहरूको विचारमा रक्‍तक्षेपण लिने पक्षमा प्रस्तुत गरिएका तर्कहरूले नै जीवनको ठूलो कदर गरेको जस्तो देखिन सक्छ। तर हामीले यो एउटा कुरा बिर्सनु भएन कि यसप्रकार तर्कगर्ने धेरै जनाले गर्भपातद्वारा जीवन नष्टगर्ने अनुमति पनि दिन्छन्‌। जीवन र रगतबारे चिकित्सासम्बन्धी कुनै पनि “विशेषज्ञलाई” भन्दा बढी यहोवालाई ज्ञान छ। उहाँका सबै नै आदेशहरू हाम्रालागि हितकारी साबित भएका छन्‌। तिनीहरूले हाम्रो वर्तमान जीवन र भविष्यलाई सुरक्षित राख्छन्‌। (यशै. ४८:१७; १ तिमो. ४:८) ‘रगतबाट अलग’ रहने आज्ञा ती आज्ञाहरूभन्दा के कुनै फरक छ र?

११. (क) यहोवाले इस्राएलीहरूलाई रगतको कुन एक मात्र प्रयोग गर्ने अनुमति दिनु भयो? (ख) यो हामी मसीहीहरूका लागि किन एउटा अति नै महत्त्वपूर्ण विषय हो?

११ रगत एक मात्र कामका लागि प्रयोग गर्न सकिन्छ भनेर यहोवाले भन्‍नु भएको थियो। यसबाट रगतको पवित्रताको कदर गर्नु कतिको गम्भीर कुरा हो, सो बुझ्न सकिन्छ। उहाँले यसो भन्‍नुभयो: “जीवधारीको प्राण त्यसको रगतमा हुन्छ। मैंले रगतचाहिं वेदीमा तिमीहरूको प्रायश्‍चित गर्नलाई दिइएको छु, किनभने त्यसमा प्राण भएको हुनाले रगतद्वारा प्रायश्‍चित गरिन्छ। यसकारण ‘तिमीहरू कसैले पनि रगत नखानू भनी मैले इस्राएलीहरूलाई भनेको हुँ।’” (लेवी १७:११, १२) त्यो आवश्‍यकता बमोजिम यहोवाको वेदीमा बगाइएको सबै जनावरहरूको रगतले येशू ख्रीष्टको बहुमूल्य रगतको पूर्वचित्रण गऱ्‍यो। (हिब्रू ९:११, १२; १ पत्रु. १:१८, १९) अतः परमेश्‍वरको व्यवस्थाले रगतको अरू सबै प्रयोग निषेध गरेर येशूको रगतको पवित्रतामाथि जोड दिन्छ। रगतको दुरूपयोग गऱ्‍यौं भने यहोवाले आफ्नो पुत्रद्वारा गर्नु भएको उद्धारको प्रबन्धको ठूलो अनादर हुनेछ।

१२. एकजना साँचो मसीहीले मृत्युको सामना गर्नु पर्दा जिउँदो रहने प्रयासमा रगतको हर दुरुपयोगबाट ऊ किन अलग बस्नेछ?

१२ जीवन र मृत्युको सवाल सामने आइपर्दा परमेश्‍वरप्रति पिठिउँ फर्काउनु कति अदूरदृष्टि हुनेछ? मेहनती डाक्टरहरूले गरेका सेवाहरूको हामी मूल्याङ्‌कन गर्दछौं। तर हामी आफूलाई अथवा आफ्ना प्रिय जनहरूलाई अझ केही दिनहरू या वर्षहरूका लागि जसरी भएपनि जीवित राख्ने प्रयास गर्दैनौं। किनकी यो जीवन नै सबै थोक होइन। येशूले बगाउनु भएको रगतमा र त्यसद्वारा सम्भव हुने अनन्त जीवनमा हामी विश्‍वास राख्तछौं। परमेश्‍वरका विश्‍वासी सेवकहरूले—मरी गए तापनि—अनन्त जीवनको इनाम पाउने छन्‌ भनी हामीले सम्पूर्ण हृदयबाट विश्‍वास गर्दछौं।—यूह. ११:२५; १ तिमो. ४:१०.

पुनरावलोकन एवं छलफल

• जीवन र रगतलाई कुन कुराले पवित्र पार्दछ? एउटा बेग्लै विचारको पक्षमा संसारले किन तर्क गर्दछ?

• हामीले जनावरहरूको रगतका लागि पनि कसरी आदर व्यक्‍त गर्दछौं?

• कुन बेग्ला बेग्लै ढङ्‌गहरूमा हामी सबैले नै मानव जीवनलाई पवित्र ठान्‍न सक्छौं? यसो गर्नु कतिको महत्त्वपूर्ण छ?

[अध्ययनका लागि प्रश्‍नहरू]