सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

‘तिमीहरूका निम्ति म एउटा राज्य नियुक्‍त गर्छु’

‘तिमीहरूका निम्ति म एउटा राज्य नियुक्‍त गर्छु’

अध्याय १४

‘तिमीहरूका निम्ति म एउटा राज्य नियुक्‍त गर्छु’

१. आफ्नो मृत्यु हुनुभन्दा अघिल्लो राती येशूले आफ्ना प्रेरितहरूका सामुन्‍ने के आशा प्रस्तुत गर्नुभयो?

 येशू मारिनुभन्दा अघिल्लो राती उहाँले आफ्ना विश्‍वासी प्रेरितहरूलाई भन्‍नुभयो: ‘मेरा पिताको घरमा धेरै बस्ने ठाउँहरू छन्‌। म तिमीहरूका निम्ति ठाउँ तयार पार्न जान्छु र जहाँ म छु, त्यहाँ तिमीहरू पनि हुनेछौ।’ तिनीहरूलाई उहाँले अझै भन्‍नुभयो: “मेरा पिताले मेरो निम्ति नियुक्‍त गर्नुभएझैं तिमीहरूका निम्ति म एउटा राज्य नियुक्‍त गर्छु।” (यूह. १४:२, ३; लूका २२:२९) एउटा कस्तो अद्‌भुत आशा उहाँले तिनीहरूका सामुन्‍ने राखी दिनुभयो!

२. ख्रीष्टसँग उहाँको स्वर्गीय राज्यमा कति जनाले भाग लिनेछन्‌?

तथापि उहाँको स्वर्गीय राज्यमा ती प्रेरितहरूले मात्र उहाँसित शासन गर्न पाउने छन्‌ भनी येशूले भन्‍न खोज्नु भएको होइन। पृथ्वीबाट किनिएका १,४४,०००-ले पनि त्यो सुअवसर पाउने छन्‌ भनेर केही समयपछि थाह पाइयो। (प्रकाश ५:९, १०; १४:१, ४) त्यो सुअवसर प्राप्त गर्नका लागि के आज पनि केही व्यक्‍तिहरू अघि बढिरहेका छन्‌?

राज्यका हकवालाहरूलाई जम्मा गर्ने

३. आफ्नो आम सेवकाईमा येशूले कुन मौकातर्फ ध्यान आकर्षित गर्नुभयो?

बप्तिस्मा दिने यूहन्‍ना हेरोद एन्टिपसद्वारा झ्यालखानमा थुनिएपछि येशूले धुमधामसित आम प्रचारको एउटा अभियान चलाउनु भयो। यसमा उहाँले “स्वर्गको राज्य”-माथि विशेष ध्यान आकर्षित गराउनु भयो। (मत्ती ४:१२, १७) त्यस राज्यमा प्रवेश गर्ने मौका तिनीहरूले पाउनेछन्‌ भन्‍ने विषयमा उहाँले मानिसहरूलाई सचेत पार्नुभयो। त्यो इनामलाई प्राप्त गर्न उहाँका चेलाहरूले अथक प्रयास गरे।—मत्ती ५:३, १०, २०; ७:२१; ११:१२.

४. (क) येशूका प्रथम चेलाहरू कहिले पवित्र आत्माद्वारा अभिषिक्‍त भए? (ख) त्यस बेलादेखि राज्यका हकवालाहरूलाई जम्मा गरिने कामतर्फ ध्यान दिन थालियो भन्‍ने कुरा के ले देखाउँछ?

तिनीहरूमध्ये प्रथम हुनेहरूलाई सा. यु. ३३-मा पवित्र आत्माद्वारा अभिषेक गरियो। (प्रे. २:१-४; २ कोरि. १:२१, २२) स्वर्गमा अमरत्वसहितको जीवन प्रदान गर्ने मुक्‍तितर्फ लैजाने परमेश्‍वरको प्रबन्धबारे घोषणा गरियो। यस कुराको ज्ञानको रहस्य खोल्न पत्रुसले “स्वर्गको राज्यका साँचाहरू” प्रयोग गरे—पहिले यहूदीहरूका लागि, त्यसपछि सामरीहरूका लागि, र अनि अन्यजातिहरूका मानिसहरूका लागि। (मत्ती १६:१९) मानव जातिलाई १,००० वर्षसम्म शासन गर्ने सरकार गठन गर्नमा विशेष ध्यान दिइन्दै थियो। मसीही युनानी शास्त्रको लगभग सबै नै प्रेरित पत्रहरूले विशेषतः राज्यका यही हकवालाहरूको समूहलाई अर्थात्‌ “पवित्र जनहरू,” अथवा “स्वर्गीय बोलावटका सह-भागीहरूलाई” सम्बोधन गर्दछ। a

५. आफूभन्दा पहिले बाँच्ने परमेश्‍वरका सेवकहरूभन्दा बढ्‌ता असल भएका हुनाले नै तिनीहरूले स्वर्गीय जीवनको बोलावट पाएका हुन्‌ र?

सा. यु. ३३-को पेन्तिकोसको दिनभन्दा अघिका परमेश्‍वरका सेवकहरूभन्दा तिनीहरू बढ्‌ता असल भएको हुनाकारण तिनीहरूले स्वर्गीय बोलाहट पाएका होइनन्‌। (मत्ती ११:११) बरु, येशू ख्रीष्टसँग सह-शासक हुनेहरूलाई यहोवाले अहिलेदेखि मात्र छान्‍ने काम सुरु गर्नु भएको थियो। यसपछिका केही १९ शताब्दीसम्म यो एउटै बोलाहट अर्थात्‌ स्वर्गीय बोलाहट मात्र प्रस्तुत गरियो। आफ्नो बुद्धिमत्तापूर्ण र मायालु उद्देश्‍यहरूलाई अघि बढाउनका लागि परमेश्‍वरले एउटा सीमित सङ्‌खयामाथि दर्शाउनु भएको यो एउटा अनुग्रह थियो।—एफि. २:८-१०.

६. (क) स्वर्गीय बोलावट बन्द हुने समय किन आउनै पर्दछ? (ख) “ठूलो भीड़” सम्बन्धी अगमवाणी पूरा गर्ने गतिविधिलाई निर्देशन कसले गर्ने थियो र वास्तवमा के हुन गएको छ?

समयमा, १,४४,०००-को निर्दिष्ट तर सीमित सङ्‌खया पूरा हुने थियो। यी आत्मिक इस्राएलीहरूमाथि अनुमोदनको सीलबन्दी लगाउने समय पनि नजिकै थियो। (प्रकाश ७:१-८) यसपछि प्रकाश ७:९-१७ मा उल्लिखित आफ्नो उद्देश्‍यको एउटा अर्को भागतर्फ यहोवाले ध्यान दिनु हुने थियो। आफ्नो आत्माद्वारा र दृश्‍य सङ्‌गठनलाई उहाँको वचन बुझ्न सम्भव पारिदिनु भएर उहाँले सो कार्य सम्पन्‍न गर्नु हुने थियो। सारा जातिहरूबाट एउटा “ठूलो भीड़” जम्मा गरिने थियो र महा सङ्‌कष्ट पार गरेर एउटा पार्थिव प्रमोदवनमा सिद्धतासाथ सधैंभरि जीवनको आनन्द उठाउने रोमाञ्चकारी आशा त्यो ठूलो भीडको सामुन्‍ने थियो। यथार्थमा घटेका घटनाहरूलाई विचार गर्दा स्वर्गीय बोलावट प्रायः सा. यु. १९३५-मा पूरा भइसकेको जस्तो देखिन्छ। किनकि त्यसै बेला​देखि “ठूलो भीड़”-को पार्थिव आशा स्पष्टसँग बुझ्न सकियो। त्यस बेलादेखि स्वर्गीय वर्गका मात्र केही हजार शेष जनहरूलाई साथ दिन यहोवाका लाखौं उपासकहरू जम्मा हुन थालेका छन्‌ जसले यसै पृथ्वीमा सधैंभरि बाँच्ने उत्कट आशा राख्दछन्‌।

७. के कसै कसैले अहिले पनि स्वर्गीय बोलावट पाउने सम्भावना छ र तपाईं यसो किन भन्‍नुहुन्छ?

यसको अर्थ के अब कसैलाई पनि स्वर्गीय जीवनका निम्ति बोलाइने छैन? अन्तिम सिलबन्दी नहोउञ्जेल्‌ त्यो आशा हुनेहरू​मध्येबाट कोही अविश्‍वासी साबित हुन सक्छन्‌ र तिनको ठाउँ लिन अरूहरूलाई छान्‍न आवश्‍यक हुन सक्छ। तर यस्तो हतपत होला जस्तो देखिंदैन।

आत्मिक सन्तान—तिनीहरूलाई कसरी थाहा हुन्छ?

८. पवित्र आत्माद्वारा प्रस्तुत गरिएकाहरूलाई यसबारे जानकारी हुन्छ भनेर देखाउन पावलले के व्याख्या दिएका छन्‌?

बप्तिस्मा लिएका मसीहीहरूमध्ये ज-जसले स्वर्गीय बोलाहट पाउँछन्‌, तिनीहरू परमेश्‍वरका आत्मिक धर्म-पुत्र पनि हुन्छन्‌ र सो कुराबारे तिनीहरूलाई परमेश्‍वरको आत्माले नै निश्‍चित तुल्याउँदछ। पावलले त्यस बेलाका सबै नै साँचो मसीहीहरूको स्थितिको वर्णन गर्दै रोमका “पवित्र जनहरूलाई” लेखेको पत्रमा यो कुरा खुलस्त पारिदिए। तिनले भने: “जति जनालाई परमेश्‍वरका आत्माले डोर्‌याएका हुन्छन्‌ तिनीहरूनै परमेश्‍वरका छोराहरू हुन्‌। किनभने फेरि भयभीत हुनालाई बन्धनको आत्मा तिमीहरूले पाएका छैनौ, तर तिमीहरूले धर्म-पुत्र हुने आत्मा पायौ, जसबाट ‘अब्बा, पिता!’ भनी हामी पुकार्दछौं। हामी परमेश्‍वरका सन्तान हौं, भनी आत्मासँग, आत्मा आफैले हाम्रा गवाही दिनु​हुन्छ। औ सन्तान हौं भनेता हकवाला पनि हौं। परमेश्‍वरका हकवाला र ख्रीष्टसँग साझे-हकवाला। यदि उहाँसँगै दुःख भोग्छौं भनेता—उहाँसँगै महिमित पनि हुनेछौं।”—रोमी ८:१४-१७.

९. वास्तवमा परमेश्‍वरका पुत्र हुनेहरूको आत्मालाई कसरी ‘आत्मा आफैले गवाही दिन्छ?’

“आत्मा” शब्दको दुई प्रकारको प्रयोग यहाँ हाम्रो सामुन्‍ने प्रस्तुत गरिएको छ: “आत्मा आफैले” र “हाम्रो आत्मा।” पहिलोचाहिं परमेश्‍वरको अदृश्‍य सक्रिय शक्‍ति हो। परमेश्‍वरको स्वतन्त्र सन्तान हुनका लागि तिनीहरूलाई परमेश्‍वरले धर्म-पुत्र बनाउनु भएको छ भन्‍ने कुराबारे यस आत्माले परमेश्‍वरको आत्मिक सन्तानलाई विश्‍वास दिलाउँदछ। त्यस आत्माले परमेश्‍वरको प्रेरित वचन, बाइबल मार्फत पनि गवाही दिन्छ, किनकि यो वचन उहाँका आत्मिक सन्तानहरूका निम्ति एउटा व्यक्‍तिगत पत्र जस्तै हो। (१ पत्रु. १:१०-१२) परमेश्‍वरका आत्मिक पुत्रहरूका निम्ति शास्त्रमा धेरै कुराहरू लेखिएका छन्‌। पवित्र आत्माद्वारा प्रस्तुत परमेश्‍वरका आत्मिक पुत्रहरूले ती कुराहरू पढ्‌दा तिनीहरूले ‘त्यो कुरा ममा लागू हुन्छ’ भनेर उचित रूपमा भन्छन्‌। यसप्रकार, तिनीहरू परमेश्‍वरका सन्तान हुन्‌ भनी परमेश्‍वरको आफ्नै सक्रिय शक्‍तिले विभिन्‍न तरिकाहरूद्वारा तिनीहरूको आत्मा अर्थात्‌ तिनीहरूको मन र हृदयको मनोवृत्तिलाई गवाही दिन्छ। परमेश्‍वरको आत्माले दिएको सङ्‌केत बमोजिम तिनीहरूले आ-आफ्नो मन र हृदयमा ख्रीष्टसँग साझे-हकवाला हुने आशा राख्दछन्‌। परमेश्‍वरको आत्मिक सन्तान हुने दायित्व तिनीहरूले स्वीकार गर्दछन्‌।—फिलि. ३:१३, १४.

१०. (क) कुन विशेषताहरू छन्‌ भन्दैमा एकजना व्यक्‍ति एउटा अभिषिक्‍त मसीही हो भन्‍नु मिल्दैन? (ख) परमेश्‍वरको उद्देश्‍यमा आफ्नो स्थानबारे “अरू भेंड़ाले” कुन दृष्टिकोण राख्दछन्‌?

१० के यो कुरा तपाईंमा लागू हुन्छ? हुन्छ भने तपाईंले एउटा महान सौभाग्य पाउनु भएको छ। तथापि, गहिरो आध्यात्मिक कुराहरूको कसैले राम्ररी मूल्याङ्‌कन गर्दछन्‌ वा तिनले क्षेत्र सेवकाईमा उत्साहसाथ काम गर्दछन्‌ अथवा आफ्ना भाइहरूका लागि प्रगाढ प्रेम राख्दछन्‌ भन्दैमा उनी आत्माद्वारा अभिषिक्‍त मसीही हुन्‌ भन्‍ने निष्कर्षमा पुग्नु गलत हुनेछ। यी सबै गुणहरू थुप्रै “अरू भेड़ा”-मा पनि पाइन्छ। शास्त्रमा ख्रीष्टका साझे-हकवालाहरूबारे लेखिएका कुराहरूले तिनीहरूको हृदयमा पनि गहिरो प्रभाव पार्दछ। तर जुन कुरा परमेश्‍वरले तिनीहरूका लागि साँचेर राख्नु भएको छैन, सो कुराको दाबी गर्ने आँट तिनीहरूले गर्दैनन्‌। (गन्ती १६:१-४० सङ्‌ग तुलना गर्नुहोस्‌।) पृथ्वीका निम्ति परमेश्‍वरको सुरुको उद्देश्‍यलाई तिनीहरू बुझ्दछन्‌ र त्यसमा भाग लिन तिनीहरू मूल्याङ्‌कन व्यक्‍त गर्दै अघि बढ्‌छन्‌।

योग्यताका साथ भाग लिने

११. येशूको मृत्युको वार्षिक स्मरणोत्सवमा को उपस्थित हुन्छन्‌ र किन?

११ प्रत्येक वर्ष, निसान १४-मा, सूर्यास्तपछि, संसारका सबै भागमा येशू ख्रीष्टका अभिषिक्‍त अनुयायीहरूले उहाँको मृत्युको स्मरण मनाउँदछन्‌। उहाँले आफ्ना प्रेरितहरूलाई दिनु भएको निर्देशहरूअनुसार नै तिनीहरूले यो मनाउने गर्छन्‌। (लूका २२:१९, २०) “अरू भेंड़ाहरू” पनि उपस्थित हुन्छन्‌। रोटी र मद्य खानेहरूको हैसियतमा होइन, तर विनयशील दर्शकहरूको रूपमा।

१२. कोरिन्थमा सुरु सुरुका केही मसीहीहरूले प्रभुको साँझको भोजका लागि उचित मूल्याङ्‌कन कसरी देखाउन सकेका थिएनन्‌?

१२ यो कुनै खोक्रो धार्मिक विधान होइन। प्रभावशाली अर्थले यो भरिपूर्ण छ। ग्रीसको कोरिन्थ शहरमा प्रथम शताब्दीका केही मसीहीहरूले यस अवसरको उचित मूल्याङ्‌कन नगर्दा प्रेरित पावलले यसो भन्दै कडा सल्लाह दिए: “जसले अयोग्यसाथ प्रभुको रोटी खान्छ, कि कचौराबाट पिउँछ भने, त्यो प्रभुको शरीर र रगतको दोषी हुनेछ।” के कारणले गर्दा तिनीहरू ‘अयोग्य’ सहभागीहरू भए? तिनीहरूले आफ्नो हृदय र मनलाई उचित रूपमा तयार पारेका थिएनन्‌। मण्डलीमा फूट थियो। साथै कति त सभा हुनुभन्दा अघि नै बेसरी खाने र पिउने गर्थे। प्रभुको साँझको भोजको तिनीहरूले कदर गर्दैन थिए। रोटी र मद्यको गम्भीर महत्त्वलाई बुझ्न सक्ने स्थितिमा तिनीहरू हुँदैन थिए।—१ कोरि. ११:१७-३४.

१३. स्मरणोत्सवमा बाँडिने रोटी र मद्यको महत्त्व के हो?

१३ त्यसको महत्त्व के थियो? त्यसको महत्त्व कसै-कसैले विचार गरे झैं रोटी र दाख-मद्य कुनै चमत्कारपूर्ण ढङ्‌गमा परिवर्तित हुनुमा छैन। प्रत्येक स्मरर्णाथको दिन ख्रीष्टको बलिदान कुनै रीतिले फेरि-फेरि हुँदैन। शास्त्र भन्छ कि “ख्रीष्ट धेरै जनाका पाप बोक्नालाई एकैचोटी बलिदान” हुनुभयो। (हिब्रू ९:२८; १०:१०; रोमी ६:९) अखमीरी रोटी र रातो मद्य येशूले बलिदानको रूपमा चढाउनु भएको उहाँको वास्तविक शरीर र बगेको रगतका प्रतीकहरू मात्र हुन्‌। तर ती वास्तविकताहरू कति बहुमूल्य छन्‌! सारा मानव​जातिले सदासर्वदा बाँच्ने मौका पाउन सकून्‌ भनेर येशूको पापरहित मानव शरीर दिइयो। (यूह. ६:५१) र उहाँको बगेको रगतले दोहोरो उद्देश्‍यलाई पूरा गर्दछ। त्यसमा विश्‍वास गर्ने मानिसहरूको पापलाई त्यसले धोइदिन्छ र आत्माद्वारा अभिषिक्‍त मसीहीहरूको मण्डली र परमेश्‍वरबीच बाँधिएको नयाँ वाचालाई त्यसले कार्यान्वयन गर्दछ। (१ यूह. १:७; १ कोरि. ११:२५; गला. ६:१४-१६) यिनै बहुमूल्य प्रबन्धहरूले गर्दा “सानो बगालका” सदस्यहरूलाई परमेश्‍वरको सामुन्‍ने धर्मी ठहरिन सम्भव भएको छ। भनौंभने, तिनीहरूलाई मानव सिद्धता उधारो दिइन्छ। (लूका १२:३२) तिनीहरू पवित्र आत्माद्वारा परमेश्‍वरका पुत्रहरू र ख्रीष्टसङ्‌ग उहाँको स्वर्गीय राज्यमा साझेहकवाला हुन सकून्‌ भनेर नै यसो गरिएको हो। प्रत्येक वर्ष स्मरणार्थका प्रतीकहरू खाएर आफ्नो स्वर्गीय आशाबारे गवाही दिंदा ख्रीष्टको मध्यस्तताद्वारा स्थापित “नयाँ वाचा”-का लागि तिनीहरूको मूल्याङ्‌कन झन नयाँ र गहिरो हुँदै जान्छ।—हिब्रू ८:६-१२.

“हामी तपाईंसितै जानेछौं”

१४. (क) स्मरणोत्सवको प्रतीकहरूबाट “अरू भेंड़ाले” किन खाने-पिउने गर्दैनन्‌ तर तिनीहरूले उत्सुकताका साथ के को प्रतीक्षा गर्दछन्‌? (ख) राज्यका शेष हकवालाहरूसँग सङ्‌गत गर्न पाएकोमा तिनीहरूले के दृष्टिकोण राख्दछन्‌?

१४ यहोवाले आफ्ना अभिषिक्‍त जनहरूसित गर्नु भएको व्यवहार “अरू भेंडाहरू”-ले स्पष्ट देख्तछन्‌ र यसो भन्दै तिनीहरूलाई साथ दिएका छन्‌: “हामी तपाईंसितै जानेछौं किनभने हामीले सुनेका छौं कि परमेश्‍वर तपाईंसित हुनुहुन्छ।” (जक. ८:२०-२३) तिनीहरू एक ठाउँमा भेला हुने गर्छन्‌। तर यस बाहेक तिनीहरू सारा पृथ्वीमा राज्यको सुसमाचारबारे साक्षी दिने काममा पनि मिलेर भाग लिन्छन्‌। तथापि, यी “अरू भेंडाहरू” आत्मिक इस्राएलसित “नयाँ वाचामा” समावेश छैनन्‌। यिनीहरू ख्रीष्टसँग स्वर्गीय जीवनमा सहभागी हुनका लागि छानिएकाहरूसित “एउटा राज्यका” निम्ति बाँधिएको वाचामा पनि सम्मिलित हुँदैनन्‌। यसैकारण, तिनीहरूले स्मरणार्थका प्रतीकहरूबाट खाने गर्दैनन्‌ र यो उचित पनि हो। (लूका २२:२०, २९) तर “नयाँ वाचा”-को उद्देश्‍य पूरा हुँदै जाँदा अर्थात्‌ “सानो बगालका” अन्तिम सदस्यहरू स्वर्गीय राज्यमा जम्मा हुँदा “अरू भेडाहरू”-ले बुझ्दछन्‌ कि तिनीहरूले अब चाँडै नै त्यो राज्यद्वारा पृथ्वीमा आशिषहरू पाउनेछन्‌। तिनीहरूले “अखिरी दिनहरूमा” राज्यका हकवालाहरूमध्येका वफादार शेष जनहरूसँग मिलेर सेवा गर्ने मौकालाई आफ्नो एउटा सौभाग्य ठान्दछन्‌।

[फुटनोट]

पुनरावलोकन एवं छलफल

• यतिका मसीही युनानी शास्त्रपदहरूले स्वर्गीय आशातर्फ किन ध्यान आकर्षित गर्दछन्‌?

• परमेश्‍वरका पुत्रको रूपमा प्रस्तुत गरिएकाहरूलाई सो कुरा कसरी थाह हुन्छ? स्मरणोत्सवका जुन प्रतीकहरू बाट तिनीहरूले खाने र पिउने गर्छन्‌, त्यसको अर्थ के हो?

• “सानो बगाल” सङ्‌ग साँच्चै नै एकतावद्ध भएको कुरा “अरू भेडा”-ले कसरी प्रदर्शित गर्दछन्‌?

[अध्ययनका लागि प्रश्‍नहरू]