सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ती जन जसबारे सबै अगमवक्‍ताहरूले गवाही दिए

ती जन जसबारे सबै अगमवक्‍ताहरूले गवाही दिए

अध्याय ४

ती जन जसबारे सबै अगमवक्‍ताहरूले गवाही दिए

१. मानवको रूप धारण गर्नुभन्दा अघि येशूको जुन अस्तित्व थियो, त्यसबाट यहोवासितको उहाँको सम्बन्धबारे के भन्‍न सकिन्छ?

 यहोवासङ्‌गको आफ्नो न्यानो सम्बन्धबारे वर्णन गर्नुहुँदै येशूले यसो भन्‍नुभयो: “पिताले पुत्रलाई माया गर्नुहुन्छ, र उहाँ आफैले गर्नुहुने सबै काम उसलाई देखाउनुहुन्छ।” (यूह. ५:१९, २०) यो घनिष्ठताको सुरुआत उहाँ सृजनु भएको बेलादेखि नै थियो अर्थात्‌ उहाँ मानव भएर जन्मनुभन्दा अनगन्ती हजारौं वर्ष अघि। उहाँ परमेश्‍वरको एक मात्र पुत्र हुनुहुन्थ्यो अथार्त्‌ यहोवा आफैले सृजनु भएको उहाँ एक मात्र व्यक्‍ति हुनुहुन्थ्यो। स्वर्ग र पृथ्वीका बाँकी सबै कुराहरू ती प्रिय जेठो पुत्रद्वारा सृजियो। उहाँ परमेश्‍वरको वचन वा प्रवक्‍ताको रूपमा पनि काम गर्नुहुन्थ्यो। उहाँद्वारा नै ईश्‍वरीय इच्छा अरूहरूलाई सुनाइन्‌थ्यो। यही व्यक्‍ति, अथवा परमेश्‍वरले विशेष रूपमा माया गर्नु भएको पुत्र नै पछि गएर मानव येशू ख्रीष्ट हुन आउनु भयो।—कल. १:१५, १६; यूह. १:१४; १२:४९, ५०.

२. बाइबलका भविष्यवाणीहरूले येशूलाई कहाँसम्म सङ्‌केत गर्दछन्‌?

एउटा मानवको रूपमा चमत्कारपूर्ण ढङ्‌गमा उहाँको जन्म हुनुभन्दा अघि उहाँबारे थुप्रै प्रेरित अगमवाणीहरू लेखिएका थिए। प्रेरित पत्रुसले कर्नीलियसलाई बयान दिंदा भने: “उहाँकै निम्ति सबै अगमवक्‍ताहरूले गवाही दिएका छन्‌।” (प्रे. १०:४३) शुद्ध उपासनामा येशूको भूमिकाबारे बाइबलमा यति विस्तृत विवरणहरू दिएका छन्‌ कि एउटा स्वर्गदूतले प्रेरित यूहन्‍नालाई यसो भने: “परमेश्‍वरलाई दण्डवत्‌ गर, किनकि येशूको साक्षी अगमवाणीको आत्मा हो।” (प्रकाश १९:१०) ती अगमवाणीहरूले स्पष्ट रूपमा उहाँलाई सङ्‌केत गर्दछन्‌ र उहाँसित सम्बन्धित ईश्‍वरीय उद्देश्‍यका पक्षहरूतर्फ हाम्रो ध्यान आकर्षित गर्दछन्‌। यी कुराहरू आज हाम्रालागि विशेष चासोका विषय हुन्‌।

अगमवाणीहरूले के प्रकट गरे

३. (क) उत्पत्ति ३:१४, १५-को भविष्यवाणीमा, “साँपले”, “स्त्रीले”, ‘साँपको सन्तानले’ कसको प्रतिनिधित्व गर्दछ? (ख) ‘साँपको शिर कुच्याउने’ विषयमा यहोवाका साक्षीहरूले किन ठूलो चासो लिन्छन्‌?

ती अगमवाणीहरूमध्ये प्रथमचाहिं अदनको बगैंचामा विद्रोह भएपछि गरिएको थियो। यो भविष्यवाणी यहोवाले साँपलाई सुनाउनु भएको दण्डमा समावेश थियो। यहोवाले भन्‍नुभयो: “तेरो र स्त्रीको बीचमा, र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्‍मनी हालिदिनेछु। त्यसले तेरो शिर कुच्याउनेछ, र तैंले त्यसको कुर्कुच्चो डस्नेछस्‌।” (उत्प. ३:१४, १५) त्यसको अर्थ के थियो? परमेश्‍वरको आफ्नै समयमा अन्य अरू अगमवाणीहरूद्वारा त्यसलाई अझ स्पष्ट पारियो र त्यसबारे थप व्याख्या पनि दिइयो। फलःस्वरूप हामी जान्दछौं कि त्यो साँप, शैतान अर्थात्‌ दियाबलको एउटा प्रतीक मात्र थियो र यो भविष्यवाणीले शैतानलाई नै सम्बोधन गर्दछ। “स्त्री” चाहिं यहोवाको आफ्नै वफादार स्वर्गीय सङ्‌गठन हो, जो उहाँका निम्ति एउटी विश्‍वासिलो पत्नी सरह छे। ‘साँपको सन्तान’ भन्‍नाले यहोवा र उहाँका जनहरू दुवैको विरोध गर्ने र दियाबलको प्रवृत्ति प्रदर्शित गर्ने ती स्वर्गदूतहरू र मान्छेहरू बोध हुन्छ। अदनमा दियाबलले साँपलाई प्रयोग गरेको हुनाकारण ‘साँपको शिर कुच्याउनु’-को अर्थ यहोवाको नाउँ बदनाम गर्ने र मानवजातिमाथि ठूलो कष्ट ल्याउने परमेश्‍वरको त्यो विद्रोही पुत्रलाई अन्ततोगत्वा नष्ट गर्नु हो। तर शिर कुच्याइदिने “सन्तान” को हुने हो, त्यो चाहिं धेरै समयसम्म एउटा पवित्र रहस्य नै रह्‍यो।—रोमी १६:२५, २६.

४. येशू नै प्रतिज्ञा गरिएका सन्तान हुनुहुन्छ भनेर चिन्‍न उहाँको पुर्खौलीले कसरी मदत दियो?

मानव इतिहासको करीब २,००० वर्षपछि यहोवाले अझ बढी जानकारी दिनुभयो। त्यो सन्तानले अब्राहामको परिवारमा जन्म लिनेछ भनी उहाँले सङ्‌केत गर्नु भयो। (उत्प. २२:१५-१८) तथापि, त्यो सन्तान प्रस्तुत गर्ने कुल शारीरिक वंशावलीमा मात्र आधारित नभएर परमेश्‍वरको रोजाइमा भर पर्ने थियो। दासी हागारबाट जन्मिएको आफ्नो छोरो इश्‍माएललाई अब्राहामले जति नै माया गरे तापनि यहोवाले ठोकेर भन्‍नुभयो: “मेरो करार ता म इसहाकसँगै स्थापित गर्नेछु, जसलाई साराले आउँदो साल यही समयमा तँबाट जन्माउनेछ।” (उत्प. १७:१८-२१; २१:८-१२) पछि त्यही करार इसहाकको पहिलो पुत्र एसावसित होइन, तर याकूबसित पक्का गरियो जसबाट इस्राएलका १२ गोत्रहरू पनि उत्पन्‍न भए। (उत्प. २८:१०-१४) यो सन्तान यहूदाको गोत्रमा अथवा दाऊदको घरानामा जन्मिनेछ भनेर केही समयपछि सङ्‌केत गरियो।—उत्प. ४९:१०; १ इति. १७:३, ४, ११-१४.

५. उहाँ नै मसीह हुनुहुन्छ भनेर येशूको पार्थिव सेवकाईको सुरुमै पनि अन्य कुन कुराले स्पष्ट पारेको थियो?

यो सन्तानको मानवीय जन्म बेतलेहेम भन्‍ने ठाउँमा हुनेछ भनेर ७०० वर्षभन्दा अघि बाइबलमा घोषित्‌ गरिएको थियो। यति मात्र होइन। त्यो सन्तान “प्राचीनकाल देखि नै” अथवा स्वर्गमा सृजिनु भए देखि नै अस्तित्वमा हुनु भएको व्यक्‍ति हुनुहुन्छ भन्‍ने कुरा पनि प्रकाश गरियो। (मीका ५:२) उहाँ यहोवाका अभिषिक्‍त जन अर्थात्‌ मसीहको रूपमा देखा पर्नु हुने समय पनि दानियल अगमवक्‍ताद्वारा अग्रिमवाणी गरिएको थियो। (दानि. ९:२४-२६) र उहाँ अभिषिक्‍त हुनु भएको बेलामा पवित्र-आत्माले स्वर्गबाट आएको आवाजद्वारा उहाँको परिचय दियो। (मत्ती ३:१६, १७) अतः, येशूका अनुयायी भइसकेपछि फिलिपले विश्‍वस्त भएर यसो भन्‍न सके: “जसका विषयमा मोशाले व्यवस्थामा औ अगमवक्‍ताहरूले लेखे, हामीले उहाँलाई भेट्टाएका छौं, अर्थात्‌ यूसुफका पुत्र [धर्मपुत्र], नासरतका येशूलाई।”—यूह. १:४५.

६. (क) येशूको मरणोपरान्त उहाँका चेलाहरूले के बुझ्न सके? (ख) ‘स्त्रीको सन्तान’ मूलतः को हुनुहुन्छ र उहाँले साँपको शिर कुच्याउनुको अर्थ के हो?

त्यसपछि, येशूका अनुयायीहरूले थाह पाए कि उहाँका विषयमा थुप्रै अगमवाणीहरू प्रेरित शास्त्रभरि उल्लिखित गरिएका रहेछन्‌। आफ्नो मृत्यु र पुनरुत्थानपछि उहाँ आफैले “धर्मशास्त्रहरूमा आफ्नो विषयका कुराहरूको अर्थ तिनीहरूलाई खोलिदिनुभयो।” (लूका २४:२७) अन्ततोगत्वा शैतानको अस्तित्व नै नरहने गरी “साँप”-को शिर कुच्याउने ‘स्त्रीको सन्तान’ मूलतः येशू नै हुनुहुन्छ भन्‍ने कुरा अब प्रत्यक्ष भएको छ। मानवजातिका लागि परमेश्‍वरले गर्नु भएका जम्मै प्रतिज्ञाहरू र सारा कुराहरू जसको हामी तृष्णा गर्दछौं, सबै नै येशूद्वारा पूरा हुनेछ।—२ कोरि. १:२०.

७. यी भविष्यवाणीहरूले चिनाउन खोजेको व्यक्‍तिबाहेक अन्य अरू कुन कुराहरूबारे विचार गर्नु लाभदायक हुनेछ?

यी प्रतिज्ञाहरूबारे प्रथम पटक पढ्‌नु हुँदा सायद तपाईंले पनि ती एथियोपी नपुंसकले झैं “अगमवक्‍ताले यो कसको विषयमा भनेका हुन्‌?” भन्‍ने प्रश्‍न गर्नु भयो होला। तर यसको उत्तर पाएपछि ती नपुंसकले कुरा त्यत्तिमै टुङ्‌ग्‌याएनन्‌। सर्वप्रथम तिनले फिलिपले दिएका व्याख्या ध्यानपूर्वक सुने। त्यसपछि तिनले महसुस गरे कि येशूले भविष्यवाणी पूरा गर्नु भएको कुराका लागि मूल्याङ्‌कन प्रकट गर्ने हो भने आफूले पनि केही कदम चाल्नु पर्दछ अथवा बप्तिस्मा लिनु आवश्‍यक छ। (प्रे. ८:३२-३८; यशै. ५३:३-९) के हामी पनि त्यसैगरी आफ्नो प्रतिक्रिया जनाउने गर्छौं? कहिलेकाहीं त अगमवाणी प्रस्तुत गरिएको ढङ्‌गले नै हाम्रो हृदयलाई प्रभावित पार्दछ। अथवा सो भविष्यवाणीको पूर्तिलाई औंल्याउने स्वयं बाइबलमा प्रस्तुत निष्कर्षहरूले हाम्रो हृदय छुन सक्छ।

८. येशू ख्रीष्ट सम्बन्धी यहाँ चारवटा भविष्यसूचक नमुनाहरूबारे विचार गरिएको छ। यी भविष्यवाणीहरूले हामीमाथि कसरी प्रभाव पार्दछन्‌ भनेर बुझाउनका निम्ति यहाँ उल्लिखित प्रश्‍नहरू र शास्त्र-पदहरूको आधारमा तर्क गर्नुहोस्‌। एक एकवटा गर्दै छलफल गर्नुहोस्‌।

उक्‍त कुरा येशू ख्रीष्टसित सम्बन्धित निम्न भविष्यसूचक प्रतिज्ञाहरू र प्रतीकहरूद्वारा महसुस्‌ गर्न सक्नु हुन्छ। उल्लिखित शास्त्रपदहरूको सहायता लिंदै निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌।

 (१) अब्राहामले इसहाकलाई बलिदान चढाउने प्रयास गरेको लेखोटबाट यहोवाले उहाँका पुत्रद्वारा छुटकाराको बलिदान उपलब्ध गराउनु भएको कुराको मोल गर्नमा हामीले के मद्दत पाउन सक्‍तछौं? (यूह. ३:१६; उत्प. २२:१-१८ [दोस्रो पदमा इसहाकको वर्णन कसरी गरिएको छ ध्यान दिनुहोस्‌।])

 यसबाट हामी कुन कुराबारे विश्‍वस्त हुन सक्छौं? (रोमी ८:३२, ३८, ३९)

 तर हामीले चाहिं के गर्नु पर्दछ? (उत्प. २२:१८; यूह. ३:३६)

 (२) मोशाजस्तो अगमवक्‍ता येशू नै हुनुहुन्छ भनेर बाइबलले औंल्याउँदा हामीलाई कुन गम्भीर जिम्मेवारीको सम्झना गराउँछ? (प्रे. ३:२२, २३; व्यव. १८:१५-१९)

 येशूले हामीहरूलाई भन्‍नुभएका केही कुराहरू के के हुन्‌, र ती अहिले किन समसामयिक छन्‌? (मत्ती २८:१८-२०; १९:४-९; १८:३-६)

 (३) हारूनको पुरोहित्याइँले चित्रित गरेका कुराहरूको व्याख्या गर्दा प्रधान पूजाहारीको हैसियतमा येशूका कुन घतलाग्दा गुणहरू तर्फ बाइबलले हाम्रो ध्यान आकर्षित गर्दछ? (हिब्रू ४:१५–५:३; ७:२६-२८)

 अतः आफ्ना कमजोरीहरूमाथि विजयी हुने मदत पाउनका लागि परमेश्‍वरसित येशूद्वारा प्रार्थना गर्ने विषयमा हामीले कस्तो विचार राख्नु पर्दछ?

 (४) येशूको बलिदानको श्रेष्ठतालाई ध्यानमा राखेर, (जसले मोशाको व्यवस्था अन्तर्गत चढाइने सबै बलिदानहरूको स्थान लियो) जुन कुराहरू परमेश्‍वर मन पराउनुहुन्‍न भनी हामीलाई थाह छ, त्यही कुराहरू बारम्बार गर्ने बानी नबसाल्न हामी किन अति नै होसियार हुनुपर्दछ? (हिब्रू १०:२६, २७)

 येशूको बलिदानद्वारा जुन प्रकारको जीवन पाउने आशा सम्भव हुन सकेको छ त्यसको हामी साँच्चै नै मूल्याङ्‌कन गर्दछौं भने हामी कुन कुन कुरा गर्नमा परिश्रमी हुनेछौं? (हिब्रू १०:१९-२५)

ख्रीष्टमाथिको आफ्नो विश्‍वास हामी कसरी देखाउन सक्छौं?

९. येशू ख्रीष्टबाहेक अरू कसैद्वारा हामीले मुक्‍ति किन पाउन सक्‍तैनौं?

यरूशलेम स्थित यहूदीहरूको उच्च न्यायालयको सामुन्‍ने प्रेरित पत्रुसले येशूमा भविष्यवाणी पूरा भएको कुरा किटेर बताइ दिए। यसपछि तिनले जोडदार ढङ्‌गमा यो निष्कर्ष प्रस्तुत गरे: “नता अरू कसैबाट मुक्‍ति छ, किनकि स्वर्गमनि मानिसहरूमा अर्को कुनै नाउँ दिइएको छैन, जसबाट हामीले उद्धार पाउनसक्छौं।” (प्रे. ४:११, १२; भजन. ११८:२२) आदमका जम्मै सन्तान पापी छन्‌। अतः तिनीहरूको मृत्यु पापको दण्ड सरह हो। यस प्रकारको मृत्युमा कसैलाई छुटकारा दिने शक्‍ति नभएको हुनाकारण त्यसलाई कसैको छुटकाराका लागि प्रयोग गर्न सकिन्दैन। तर येशू सिद्ध हुनु हुन्थ्यो। त्यसकारण उहाँले त्याग्नु भएको जीवनलाई एउटा बहुमूल्य बलिदानको रूपमा प्रयोग गर्न सकिन्थ्यो। (भजन. ४९:६-९; हिब्रू २:९) उहाँले परमेश्‍वरलाई हाम्रो छुटकाराका लागि एउटा बलिदान चढाउनु भयो। यसको मूल्य र आदमले आफ्ना सन्तानका निम्ति गुमाएको चीजको मूल्य बराबर थियो। यो कुरा हामी सबैका लागि कसरी फायदाजनक हुन सकेको छ?—१ तिमो. २:५, ६.

१०. येशूको बलिदानले हामीलाई ठूलो लाभ पुऱ्‍याउने एउटा तरिका के हो व्याख्या गर्नुहोस्‌।

१० यसले गर्दा हामीले आफ्ना पापहरूका लागि क्षमा पाउन सकेका छौं। अतः हामीमा एउटा सफा अन्तस्करण हुन सम्भव भएको छ। मोशाको व्यवस्था अन्तर्गत चढाइने जनावरहरूको बलिदानद्वारा यसप्रकारको क्षमा पाउन कुनै हालतमा पनि सम्भव थिएन। (प्रे. १३:३८, ३९; हिब्रू ९:१३, १४) तर यसरी आफ्ना पापहरूको क्षमा पाउने भएपछि, हामीलाई इमान्दार हुनु र येशू ख्रीष्टमाथि साँचो हृदयले विश्‍वास राख्नु आवश्‍यक छ। ख्रीष्टको बलिदान वास्तवमा हाम्रालागि कतिको आवश्‍यक छ भन्‍ने कुरा के हामी व्यक्‍तिगत रूपमा मूल्याङ्‌कन गर्दछौं? “यदि हामीमा पाप छैन भनी हामी भन्छौं भनेता हामीले आफैलाई धोका दिन्छौं, र हामीमा सत्य हुँदैन। यदि हामीले आफ्ना पापको स्वीकार गऱ्‍यौं भने, हाम्रो पाप क्षमा गर्न र हामीलाई सबै अधर्मबाट शुद्ध पार्नालाई उहाँ विश्‍वासयोग्य र धर्मी हुनुहुन्छ।”—१ यूह. १:८, ९.

११. परमेश्‍वरका सामुन्‍ने सफा अन्तस्करण प्राप्त गर्नका लागि पानीमा डुबुल्की लिनु किन महत्त्वपूर्ण हो?

११ तर कुनै कुनै मानिसहरूले आफ्नो पापी अवस्था स्वीकार गर्दछन्‌, येशूमाथि विश्‍वास गर्ने दाबी पनि गर्छन्‌ र येशूले गर्नु भए झैं अरूहरूलाई राज्यको सुसमाचार प्रचार गर्ने काममा केही हद्‌सम्म भाग पनि लिन्छन्‌। तापनि तिनीहरू येशूमाथि पूर्ण विश्‍वास राख्न असमर्थ भएका हुन्छन्‌। कसरी? बाइबलको लेखोटअनुसार प्रथम शताब्दीमा जब कुनै कुनै व्यक्‍तिहरूले साँचो हृदयका साथ विश्‍वास गर्न थाले, तब तिनीहरूले यसको प्रमाण कसरी दिए? तिनीहरूले बप्तिस्मा लिए। किन? किनकि उहाँका चेलाहरूले बप्तिस्मा लिनु पर्दछ भनी येशूले आज्ञा दिनु भएको थियो। (मत्ती २८:१९, २; प्रे. ८:१२; १८:८) येशूद्वारा यहोवाले गर्नु भएको मायालु प्रबन्धबाट जब कुनै व्यक्‍ति हृदयदेखि प्रभावित हुँदछ, तब ऊ बप्तिस्मा लिनदेखि पछि हट्‌ने छैन। उसले आफ्नो जीवनमा हर आवश्‍यक छाँटकाँट गर्नेछ, आफ्नो जीवन परमेश्‍वरमा समर्पण गर्नेछ र सो कुरा पानीमा डुबुल्की लगाएर प्रदर्शित गर्नेछ। बाइबलले देखाएको ढङ्‌गमा आफ्नो विश्‍वास प्रकट गरेर मात्र उसले ‘परमेश्‍वरतर्फ सफा विवेकको लागि बिन्ती चढाएको’ हुनेछ।—१ पत्रु. ३:२१.

१२. कुनै पाप गरेका छौं भनी हामीले महसुस गर्‌यौं भने त्यसबारे हामीले के गर्नुपर्दछ, र किन?

१२ तर यसपछि पनि पापपूर्ण झुकावहरू देखा परिहाल्नेछन्‌। त्यति खेर के गर्ने? प्रेरित यूहन्‍नाले भने: “तिमीहरूले पाप नगर भनी यी कुराहरू म तिमीहरूलाई लेख्तैछु।” अतः आफ्नो काम, वचन वा मनोवृत्तिमा देखा पर्ने पापलाई हामीले हल्का गरी लिनु हुँदैन। “औ कुनै मानिसले पाप गऱ्‍यो भने पनि पितासँग हाम्रा एक सहायक हुनुहुन्छ, अर्थात्‌ धार्मिक येशू ख्रीष्ट। औ उहाँ हाम्रा पापको निम्ति प्रायश्‍चित हुनुहुन्छ, औ हाम्रा निम्ति मात्र होइन, तर सबै संसारका निम्ति पनि।” (१ यूह. २:१, २) यसको अर्थ के ‘हाम्रा पापहरू क्षमा गरी दिनुहोस्‌’ भनी परमेश्‍वरसङ्‌ग प्रार्थना गऱ्‍यौं भने सबै कुरा ठीक भइ हाल्ने हो र? होइन। क्षमादान पाउँनका लागि साँचो पश्‍चात्तापको भावना आवश्‍यक छ। शायद मसीही मण्डलीका प्राचीनहरूबाट पनि मदतको खाँचो पर्न सक्छ। हामीबाट भएको काम किन गलत हो, सो बुझ्नु पर्दछ, त्यसका निम्ति हृदयदेखि नै दुःखित हुनु पर्छ र त्यसलाई बारम्बार नदोहोर्‌याउनका लागि अथक प्रयास गर्नुपर्छ। (प्रे. ३:१९; याकु. ५:१३-१६) यसो गऱ्‍यौं भने हामीले येशूबाट निश्‍चय नै मदत पाउनेछौं। उहाँको बलिदानद्वारा हाम्रो पाप मोचन हुन सक्छ भन्‍ने विश्‍वासको आधारमा यहोवाको कृपा पुनः प्राप्त गर्न सम्भव हुनेछ। र उहाँको नजरमा हाम्रो उपासना ग्रहणयोग्य हुनका लागि यसो गर्नु अत्यावश्‍यक छ।

१३. (क) येशूको बलिदानले हामीलाई लाभान्वित गर्ने एउटा अर्को तरिकाको पनि व्याख्या गर्नुहोस्‌। (ख) परमेश्‍वरको सेवा गरेर हामीले यो इनाम किन आर्जन गर्न सक्‍तैनौं? (ग) तर हामीमा साँच्चै नै विश्‍वास छ भने हामीले के गर्नेछौं?

१३ येशूको बलिदानद्वारा “सानो बगाल”-ले स्वर्गमा, र अरबौं मानिसहरूले चाहिं एउटा पार्थिव प्रमोदवनमा अनन्त जीवन पाउन सम्भव भएको छ। (लूका १२:३२; प्रकाश २:११, १२; २१:३, ४) यो हामी आफैले आर्जन गर्न सक्ने इनाम होइन। यहोवाको सेवामा हामीले जति नै गरे तापनि हामीलाई अनन्त जीवन दिन परमेश्‍वरलाई बाध्य पार्नेसम्मको नेकी हामी कसैले पनि कमाउन सक्‍तैनौं। “परमेश्‍वरको अनुग्रहको वरदान हाम्रा येशू ख्रीष्टमा” अनन्त जीवन हो। (रोमी ६:२३; एफि. २:८-१०) तथापि यस वरदानमा हामी विश्‍वास गर्छौं र यो कसरी उपलब्ध गराइयो सो कुराका लागि हामी निश्‍चय नै मूल्याङ्‌कन प्रकट गर्नेछौं। आफ्नो इच्छा पूरा गर्नका लागि यहोवाले येशूलाई एउटा अद्‌भुत रीतिले प्रयोग गर्नुभयो। साथै, हामी सबैलाई येशूको पाइलामा हिंड्‌न अत्यावश्‍यक छ। अतः, मसीही सेवकाई हाम्रो जीवनको एउटा सर्व-महत्त्वपूर्ण कुरा हुनुपर्दछ। जुन आस्था र विश्‍वासका साथ हामीले परमेश्‍वरको यो महान अनुग्रहबारे अरूहरूलाई भन्‍नेछौं, त्यसबाट हामीले आफ्नो विश्‍वासको प्रमाण प्रस्तुत गर्दछौं।—प्रे. २:२४ सित तुलना गर्नुहोस्‌।

१४. येशू ख्रीष्टमाथि यस प्रकारको विश्‍वास राख्दा त्यसले एकता सम्बन्धी के प्रभाव पार्न सक्छ?

१४ यस प्रकारको विश्‍वासको असर कति राम्रो हुन्छ। यसले हामीलाई एकताबद्ध पार्नमा ठूलो योगदान दिन्छ! यसद्वारा हामी यहोवा, उहाँका पुत्र र मण्डलीमा एक अर्काको अझ नजिक हुन जान्छौं। (१ यूह. ३:२३, २४) हामी आनन्द मनाउँदछौं कि यहोवाले दयापूर्वक आफ्ना पुत्रलाई “त्यो नाउँ प्रदान गर्नुभयो, जो हरेक नाउँभन्दा [परमेश्‍वरको नाउँ बाहेक] उच्च छ, कि स्वर्गमा, पृथ्वीमाथि, र पृथ्वीमनि भएका हरेक प्राणीले येशूको नाउँमा घुँड़ा टेक्नुपर्छ र हरेक जिब्रोले परमेश्‍वर पिताको महिमाको निम्ति येशू ख्रीष्टलाई प्रभु हो भनी स्वीकार गर्नुपर्छ।”—फिलि. २:९-११.

पुनरावलोकन एवं छलफल

• मसीह प्रकट हुनुहुँदा परमेश्‍वरका वचनमाथि साँचो विश्‍वास गर्नेहरूले उहाँलाई किन छर्लङ्‌गै चिन्‍न सके?

• पाना ३४-मा उल्लिखित येशूमा पूरा भएका भविष्यसूचक नमुनाहरूले हामीमाथि कस्तो प्रभाव पार्नु पर्ने हो?

• येशूको बलिदानद्वारा हामीहरूले के कस्ता लाभ उठाइ सकेका छौं? त्यसका लागि हामीले कसरी मूल्याङ्‌कन व्यक्‍त गर्न सक्छौं?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ ३४-मा भएको पेटी/चित्र]

येशूका विषयमा भविष्यसूचक नमुनाहरू—तिनीहरूले तपाईंमाथि कस्तो प्रभाव पार्नु पर्ने हो?

अब्राहामले इसहाकलाई बलिदान चढाएका

मोशा परमेश्‍वरका प्रवक्‍ताको रूपमा

हारून महायाजकको रूपमा

पशु-बलिहरू