सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वरको वचनलाई बलियो गरी पक्री राख्नु

परमेश्‍वरको वचनलाई बलियो गरी पक्री राख्नु

अध्याय ३

परमेश्‍वरको वचनलाई बलियो गरी पक्री राख्नु

१. (क) परमेश्‍वरको वचनको सत्यतालाई पुरातन इस्राएलीहरूले कसरी अनुभव गरे? (ख) यो हाम्रालागि किन चासोको विषय हो?

 “परमप्रभु परमेश्‍वरले तिमीहरूका बारेमा भन्‍नुभएको सबै असल कुराहरूमा एउटा कुरा पनि फरक परेको छैन। तिमीहरूका निम्ति सबै पुगेको छ, र एउटा पनि त्यसबाट फरक परेको छैन भनी तिमीहरूको आफ्नो पूरा हृदयले र पूरा प्राणले थाह पाएकै छौ।” प्रतिज्ञा गरिएको देशमा तिनीहरू बसी सकेपछि इस्राएलका बूढा-प्रधानहरूलाई सम्झना गराउँदै यहोशूले यसो भनेका थिए। तर त्यसपछिका वर्षहरूमा तिनीहरूले परमेश्‍वरका वचनलाई लगातार हृदयङ्‌गम गर्दै त्यसलाई प्रयोगमा ल्याएनन्‌। त्यसको परिणाम के भयो? जसरी परमेश्‍वरका आशिष सम्बन्धी प्रतिज्ञाहरू विश्‍वसनीय साबित भए, त्यसरी नै अनाज्ञाकारिताका प्रतिफलहरूबारे उहाँले जे जे भन्‍नु भएको थियो ती सबै पूरा भएको कुरा बाइबलले स्पष्ट पार्दछ। (यहो. २३:१४-१६) त्यो लेखोटका साथसाथै बाइबलका बाँकी सबै भागहरू हाम्रै शिक्षाका लागि साँचेर राखिएका थिए—ताकि “हामीमा आशा होस्‌” र हामीले यस्तो कुनै काम नगरौं जसले गर्दा त्यो आशा हराउनु परोस्‌।—रोमी १५:४.

२. (क) कुन अर्थमा बाइबल “परमेश्‍वरबाट प्रेरणा भएको” हो? (ख) त्यो थाह पाएपछि हाम्रो जिम्मेवारी के हुन जान्छ?

चालीस जना मानव “सचिवहरूलाई” बाइबल लेख्न प्रयोग गरिए तापनि यसको लेखक स्वयं यहोवा हुनुहुन्छ। के यसको अर्थ त्यसमा भएका सबै कुरा उहाँकै सक्रिय निर्देशनअनुसार लेखिएको थियो? हो। प्रेरित पावलले सत्यतासाथ यसो भने: “हरेक धर्मशास्त्र परमेश्‍वरबाट प्रेरणा भएको छ।” यस कुरामा हामी विश्‍वस्त छौं। अतः, हरेक ठाउँका मानिसहरूलाई यसमा ध्यान दिन र यसमा भएका कुराहरूको आधारमा आफ्नो जीवन-शैली सञ्चालन गर्न हामीहरू आग्रह गर्दछौं र हामी आफै पनि सो गर्ने प्रयत्न गरिरहेका छौं।—२ तिमो. ३:१६; १ थिस्स. २:१३.

यसको मूल्याङ्‌कन गर्न अरूहरूलाई केले मद्दत दिनेछ?

३. बाइबल परमेश्‍वरको वचन हो भनी पूर्ण रूपले विश्‍वस्त नभएका धेरै मानिसहरूलाई मदत दिने सबैभन्दा असल तरिका के हो?

हुन तः हामीले कुरा गरेका मानिसहरूमध्ये धेरैले बाइबल वास्तवमा परमेश्‍वरको वचन हो भन्‍ने हाम्रो दृढ विश्‍वाससङ्‌ग सहमति जनाउँदैनन्‌। तिनीहरूलाई हामी कसरी मदत गर्न सक्‍तछौं? अक्सर सबैभन्दा असल तरीका बाइबल खोलेर त्यसमा भएका कुराहरू तिनीहरूलाई देखाउनु हो। “परमेश्‍वरको वचन जीवित र प्रबल, र कुनै दुई-धारे तरवारभन्दा पनि धारिलो . . . र हृदयको भावना र विचारलाई जाँच्न सक्ने हुन्छ।” (हिब्रू ४:१२) “परमेश्‍वरको वचन” उहाँको प्रतिज्ञाको वचन हो, र यसलाई बाइबलमा सुरक्षित राखिएको छ। यो कुनै बितेर गइसकेको इतिहास होइन। यो जीवित छ र पूर्तितर्फ धमाधम अघि लम्किरहेछ। यसरी अघि बढिरहेको बेलामा यसमा उल्लिखित शर्तहरू पूरा गर्ने नगर्ने सम्बन्धमा यसको समीप आउने व्यक्‍तिहरूको हृदयका साँचो नियतहरू जाहेर हुन्छ। यसको शक्‍तिशाली प्रभावको विषयमा हामीले व्यक्‍तिगत रूपमा बयान गरेर साध्य छैन।

४. बाइबलमा पाइने कुन कुन सत्य कुराहरूको सरल व्याख्याद्वारा बाइबलबारे केही व्यक्‍तिहरूको विचारमा परिवर्तन आएको छ? किन?

बाइबलमा परमेश्‍वरको नाउँ मात्र देखेर पनि धेरै मानिसहरूको जीवनमा आमूल परिवर्तन आएको छ। अरूहरूलाई चाहिं जीवनको उद्देश्‍य के हो, परमेश्‍वरले दुष्टता रहने अनुमति किन दिनुहुन्छ, वर्तमान घटनाहरूको महत्त्व वा परमेश्‍वरको राज्यमा केन्द्रित वास्तविक आशाबारे बाइबलले के भन्दछ भनी देखाउँदा नै तिनीहरूले बाइबल अध्ययन गर्ने फैसला गरेका छन्‌। कुनै कुनै देशहरूमा चाहिं त्यहाँका धार्मिक चलनहरूले गर्दा मानिसहरूलाई दुष्ट आत्माहरूले निकै नै हैरान पारेको छ। यसप्रकारको समस्याको कारण र यसबाट मुक्‍त हुने विषयबारे बाइबलले के भन्दछ भनेर देखाउँदा त्यहाँका मानिसहरूमा चासो जगाउन सकिएको छ। यी कुराहरूले तिनीहरूमाथि यत्तिको गहिरो प्रभाव किन पार्न सक्‍तछ? किनकि यस्ता अत्यावश्‍यक विषयहरूबारे भरपर्दो जानकारी दिने एक मात्र श्रोत बाइबल हो।—भजन. ११९:१३०.

५. कुनै एउटा व्यक्‍तिले बाइबलमा विश्‍वास गर्दिन भन्‍ने कारण के हुन सक्‍तछ? तिनलाई हामीले कसरी मदत दिन सक्‍तछौं?

तथापि बाइबलमा विश्‍वास गर्दिन भनी हामीलाई कसैले सोझै भन्यो भने नि? के यति मै वार्तालाप टुङ्‌ग्‌याइ दिने हो कि? तिनी तर्क गर्न तयार छन्‌ भने कुरा टुङ्‌ग्‌याउनु पर्दैन। परमेश्‍वरको वचनको पक्षमा पूर्ण विश्‍वासका साथ बोल्ने जिम्मावारीप्रति हामी सजग हुनुपर्दछ। शायद ती व्यक्‍तिले बाइबललाई मसीही जगतको पुस्तक ठान्दछन्‌। मसीही जगतको कपट, राजनीतिमा हस्तक्षेप, साथै त्यसले लगातार पैसा मागेको देखेर बाइबलप्रति तिनको नकारात्मक दृष्टिकोण भएको हुन सक्‍तछ। यसो हो कि भनेर सोधे कसो होला? मसीही जगतको सांसारिक गतिविधिलाई बाइबलले भर्त्सना गरेको कुराका साथै मसीही जगत र साँचो मसीही धर्म बीचका भिन्‍नताहरू देखाएमा तिनमा चासो जगाउन सकिन्छ।—मत्ती १५:७-९; याकूब ४:४; मीका ३:११, १२ सङ्‌ग तुलना गर्नुहोस्‌।

६. (क) बाइबल परमेश्‍वरको वचन हो भनी तपाईंलाई व्यक्‍तिगत रूपमा कुन कुराले विश्‍वस्त पार्दछ? (ख) बाइबल वास्तवमा परमेश्‍वरको वचन हो भन्‍ने कुराको मूल्याङ्‌कन मानिसहरूलाई गर्न लगाउँदा के के अन्य तर्कहरू प्रयोग गर्न सकिन्छ?

अझ अरूहरूसङ्‌ग चाहिं ईश्‍वरीय प्रेरणाका प्रमाणहरूबारे सोझै छलफल गरेमा उपयोगी हुन सक्‍तछ। बाइबल परमेश्‍वरबाट आएको हो भनेर प्रमाणित पार्ने कुरा तपाईंको विचारमा के हो? आफ्नो उत्पत्तिबारे बाइबल स्वयंले भनेको कुरा नै हो कि? (२ तिमो. ३:१६, १७; प्रकाश १:१) वा, भविष्यबारे विस्तृत जानकारी प्रदर्शित गर्ने बाइबलमा भएका अनेकन्‌ भविष्यवाणीहरू हुन्‌ कि? यसप्रकारका भविष्यवाणीहरूले गर्दा बाइबल निश्‍चयपनि कुनै एउटा ईश्‍वरीय स्रोतबाटै आएको हुनुपर्छ भनेर प्रमाणित हुँदछ। (२ पत्रु. १:२०, २१; यशै. ४२:९) अथवा १,६१० वर्षको दौडानमा धेरै मानिसहरूद्वारा लेखिएको भए तापनि बाइबलमा पाइने आन्तरिक एकरूपता पो हो कि? अथवा ती समयहरूका अरू लेखोटहरूको तुलनामा बाइबलको वैज्ञानिक विशुद्धता हो कि? अथवा यसका लेखकहरूको स्पष्टवादिता हो कि? होइन भने यसलाई नष्ट पार्ने भीषण प्रयासहरूको बावजूद यो टिकेर बस्न सकेको कुरा पो हो कि? तपाईं जुन कुराबाट प्रभावित हुनुहुन्छ, त्यही कुरा अरूहरूलाई मद्दत दिने बेलामा प्रयोग गर्न सक्नुहुन्छ।

हाम्रो व्यक्‍तिगत बाइबल अध्ययन

७, ८. (क) हामीले व्यक्‍तिगत रूपमा बाइबललाई के गर्नु पर्दछ? (ख) व्यक्‍तिगत रूपमा बाइबल अध्ययन गर्नु बाहेक हामीलाई अझ थप कुन कुराको आवश्‍यकता छ, र यस कुरालाई बाइबलले स्वयं कसरी देखाउँदछ? (ग) यहोवाका उद्देश्‍यहरूबारे तपाईं स्वयंले पनि कसरी ज्ञान प्राप्त गर्न सक्नु भयो?

बाइबलमाथि विश्‍वास गर्न अरूहरूलाई मदत दिनका साथै हामी आफैले पनि बराबर बाइबल अध्ययन गर्ने समय निकाल्नु पर्दछ। के तपाईं त्यसो गर्दै हुनुहुन्छ? आजसम्म प्रकाशित सबै पुस्तकहरूमध्ये यो सबैभन्दा महत्त्वपूर्ण पुस्तक हो। तर यसको अर्थ यसलाई पढ्‌दैमा अरू कुनै कुरा गर्नु पर्दैन भनेको होइन। हामी आफै मनमानी ढङ्‌गले अनुसन्धान गर्दै सबै कुरा स्वयं पता लगाउन सक्छौं भनेर आफूलाई अलग्ग नपार्नु भनी शास्त्रले चेताउनी दिन्छ। सन्तुलित मसीहीहरू हुनका लागि व्यक्‍तिगत अध्ययन र सभाहरूमा नियमित रूपले उपस्थित हुनु जरुरी छ।—हितो. १८:१; हिब्रू १०:२४, २५.

हाम्रो लाभका निम्ति बाइबलले एक जना एथियोपी अफिसरबारे चर्चा गर्दछ। तिनले यशैयाको भविष्यवाणी पढी रहेका थिए। त्यसै बखत एउटा स्वर्गदूतले सुसमाचारको प्रचारक फिलिपलाई तिनीकहाँ जान भनी निर्देशित गऱ्‍यो। फिलिपले ती मानिसलाई सोधे: “के तपाईंले पढ़ी रहनुभएको कुरा बुझ्नुहुन्छ?” एथियोपियाका ती मानिसले नम्रतापूर्वक उत्तर दिए: “कसैले नबताईकन म कसरी बुझौंला र?” यस शास्त्रपदको अर्थ खोली दिन तिनले फिलिपलाई अनुरोध गरे। अब, शास्त्रपदहरूबारे आफ्नो व्यक्‍तिगत राय प्रकट गर्ने व्यक्‍तिजस्तै फिलिप बाइबलको कुनै एउटा स्वच्छन्द पाठक पटक्कै थिएनन्‌। यरूशलेमस्थित मण्डलीका प्रेरितहरूसित उनले बराबर सम्पर्क राख्ने गर्दथिए र तिनी यहोवाको दृश्‍य सङ्‌गठनका एक जना सदस्य पनि थिए भनेर लेखोटबाट देखिन्छ। अतः यहोवाले आफ्नो सङ्‌गठनद्वारा उपलब्ध गराउनु भएको शिक्षाबाट तिनले ती एथियोपीलाई पनि लाभ उठाउने मद्दत दिन सके। (प्रे. ६:५, ६; ८:५, १४, १५, २६-३५) त्यसैगरी, यहोवाका उद्देश्‍यलाई आज पनि हामीहरूमध्ये कसले पो स्वतः स्पष्ट र सही ढङ्‌गमा बुझ्न सकेका थियौं र? यसको विपरीत, यहोवाले आफ्नो दृश्‍य सङ्‌गठनद्वारा प्रेमसाथ प्रदान गर्नुहुने सहायताको आवश्‍यकता हामीलाई परेको थियो र अझै पनि पर्नेछ।

९. बाइबल अध्ययनसम्बन्धी कुन प्रकारका कार्यक्रमहरूबाट हामी सबैले लाभ उठाउन सक्‍तछौं?

बाइबलको प्रयोग गर्न र बुझ्नमा हामीलाई मदत होस्‌ भनी यहोवाको सङ्‌गठनले वाचटावर [प्रहरीधरहरा] र सम्बन्धित प्रकाशनहरूमा उत्कृष्ट शास्त्रीय सामग्रीहरू दिन्छ। त्यसमाथि थप, यहोवाका साक्षीहरूका मण्डलीहरूमा हुने ईश्‍वरतान्त्रिक सेवकाई पाठशालामा [थियोक्र्‌याटिक मिनिस्ट्री स्कूल] बाइबल अध्ययन गर्ने एउटा नियमित तालिका प्रस्तुत गरिएको हुन्छ। तर यसबाहेक, यहोवाका कुनै कुनै साक्षीहरूले बाइबललाई क्रमानुसार पढ्‌ने पनि गर्छन्‌। पवित्र शास्त्र जाँच गर्नका लागि समय बिताउनु धेरै नै लाभदायक हुन सक्‍तछ। (भजन. १:१-३; १९:७, ८) के तपाईंले व्यक्‍तिगत रूपमा सम्पूर्ण बाइबल पढ्‌नु भएको छ? छैन भने त्यसो गर्ने एउटा विशेष प्रयत्न गर्नुहोस्‌। तपाईंले सबै कुरा नबुझ्नु भए तापनि यसबाट एउटा मोटामोटी अन्दाज मात्र प्राप्त गर्नु भयोभने पनि अति नै लाभदायक हुनेछ। प्रत्येक दिन चार वा पाँच पाना मात्र पढ्‌नु भयो भने पनि एक वर्षमा पूरै बाइबल तपाईंले पढी सक्नु हुनेछ।

१०. (क) व्यक्‍तिगत रूपमा बाइबल अध्ययन तपाईंले कति बेला गर्नुहुन्छ? (ख) नियमित तवरमा यसो गर्नु किन महत्त्वपूर्ण हो?

१० बाइबल अध्ययनका लागि तपाईंले व्यक्‍तिगत तवर्‌मा कुन समय मिलाउन सक्नुहुन्छ? प्रत्येक दिन यदि तपाईंले १० वा १५ मिनेट समय निकाल्न सक्नु भयो भने पनि कति फायदाजनक हुनेछ! होइन भने, यसका लागि कमसे कम प्रत्येक हप्ता नियमित रूपमा समय छुट्ट्याउनु होस्‌ र त्यसै तालिकामा अडिनु होस्‌। भोजन खाएजस्तै बाइबल अध्ययन गर्ने पनि एउटा आजीवन बानी हुनुपर्दछ। कुनै व्यक्‍तिको खाना खाने बानी अनियमित भयो भने उसको स्वास्थ्यमाथि खराब असर पर्नेछ भन्‍ने कुरा त तपाईंलाई थाहै छ। हाम्रो आध्यात्मिकता पनि त्यस्तै हो। “परमेश्‍वरको मुखबाट निस्केको हरेक वचन”-बाट नियमित रूपमा पोषण लिनुमा नै हाम्रो जीवन भरपर्दछ।—मत्ती ४:४.

११. बाइबल पढ्‌दा हाम्रो उद्देश्‍य के हुनुपर्दछ?

११ बाइबल पढ्‌दा हाम्रो उद्देश्‍य के हुनुपर्दछ? खटाइएका केही पानाहरू पढी सिद्ध्‌याउनु अथवा अनन्त जीवन प्राप्त गर्नु मात्र हाम्रो उद्देश्‍य हो भने यो गलत हुनेछ। अनन्तकालीन लाभ उठाउनका निम्ति हाम्रा नियतहरू पनि राम्रो हुनुपर्छ—जस्तो कि परमेश्‍वरका लागि प्रेम, उहाँलाई अझ राम्ररी चिन्‍ने र उहाँको इच्छा बुझ्ने र उहाँलाई ग्रहणयोग्य हुने प्रकारको उपासना चढाउने इच्छा। (यूह. ५:३९-४२) हाम्रो मनोवृत्ति बाइबलका ती लेखकको जस्तो हुनुपर्दछ जसले भने: “तपाईंको मार्ग मलाई देखाउनुहोस्‌, हे परमप्रभु; तपाईंको बाटो मलाई दिनुहोस्‌।”—भजन. २५:४.

१२. (क) “सही ज्ञान” प्राप्त गर्नु किन आवश्‍यक छ, र त्यसलाई प्राप्त गर्नका लागि पढ्‌ने बेलामा के प्रयास गर्नु आवश्‍यक हुन सक्छ? (ख) पाना २७-मा उल्लिखित्‌ कुन कुन दृष्टिकोणबाट बाइबलमा पढेका कुराहरूलाई विश्‍लेषण गरेमा हामीले लाभ उठाउन सक्‍तछौं? (ग) यस अनुच्छेदको अन्तमा दिएका प्रश्‍नहरूको उत्तर दिनु हुँदा, ती पाँचवटा बुँदाहरूलाई एक एक गरी प्रयोग गर्नुहोस्‌। आफ्नो बाइबल निश्‍चय नै प्रयोग गर्नुहोस्‌।

१२ हामी जसै त्यो शिक्षा पाउँदछौं, “सही ज्ञान” प्राप्त गर्ने इच्छा हामीमा हुनुपर्दछ। सही ज्ञानबिना हामीले परमेश्‍वरको वचनलाई आफ्नो जीवनमा सही ढङ्‌गले कसरी प्रयोग गर्न सक्नेछौं वा अरूहरूलाई त्यसबारे ठीक रीतिले कसरी व्याख्या दिन सक्ने छौं? (कल. ३:१०; २ तिमो. २:१५) सही ज्ञान लिनका निम्ति सावधानीसाथ अध्ययन गर्नु आवश्‍यक छ। र कुनै ठाउँमा बुझ्न गाह्रो परेमा त्यसको मर्म बुझ्नका लागि त्यसलाई एक पटक होइन, बारम्बार पढने खाँचो पर्न सक्छ। पढ्‌ने सामग्रीमाथि मनन गर्‌यौं वा विभिन्‍न दृष्टिकोणबाट त्यसबारे सोच्न समय लगायौं भने पनि हामीलाई फायदा हुनेछ। आफूलाई जाँच गर्नका लागि यस पुस्तकको पाना २७-मा विचार गर्ने पाँचवटा विशेष तरीकाहरू उल्लिखित्‌ छन्‌। यी मध्ये एक वा दुई तरीकाहरू प्रयोग गर्दै पनि शास्त्रपदहरूका धेरै भागहरूलाई फायदाजनक ढङ्‌गमा विश्‍लेषण गर्न सकिन्छ। यो कसरी सम्भव छ भन्‍ने कुरा तपाईंले अगाडिका पानाहरूमा भएका प्रश्‍नहरूको उत्तर दिनुहुँदा बुझ्नु हुनेछ।

 () तपाईंले शास्त्रको जुन भाग पढिरहनु भएको होला, अकसर त्यसले यहोवा कुन प्रकारको व्यक्‍ति हुनुहुन्छ भन्‍ने विषयमा केही सङ्‌केत दिने गर्छ।

 यहोवाको सृष्टिका कार्यहरूबारे बाइबलले भनेका कुराहरूको जब हामी मूल्याङ्‌कन गर्दै मनन गर्दछौं, तब यहोवाप्रति हाम्रो मनोवृत्तिमा के असर पर्दछ? (भजन. १३९:१३, १४; अय्यूब ३८-४२ अध्यायहरूबाट, खासगरी ३८:१, २४०:२,  अनि ४२:१-६ माथि ध्यान दिनुहोस्‌।)

 येशूले यूहन्‍ना १४:९, १०-मा भन्‍नुभएको कुरालाई ध्यानमा राख्दै लूका ५:१२, १३-मा उल्लेख गरिएका जस्ता घटनाहरूबाट यहोवा बारे हामी के निष्कर्षमा पुग्न सक्‍तछौं?

 () प्रतिज्ञा गरिएको सन्तान, येशू ख्रीष्टको अधीनमा रहेको राज्यद्वारा यहोवाको नाउँको औचित्य स्थापित हुनु नै बाइबलको मूल ध्येय हो। अब यही ध्येय र तपाईंले पढिरहनु भएको वृत्तान्तमा के सम्बन्ध छ, सो विचार गर्नुहोस्‌।

 यस मूल ध्येयसित मिस्रमाथि आइपरेका विपत्तिहरूको के सम्बन्ध छ? (प्रस्थ. ५:२; ९:१६; १२:१२ हेर्नुहोस्‌।)

 मोआबी रूथसित सम्बन्धित्‌ त्यो हृदयस्पर्शी वृत्तान्तबारे के भन्‍न सकिन्छ? (रूथ ४:१३-१७; मत्ती १:१, ५)

 गब्रिएलले येशूको जन्मबारे मरियमलाई घोषणा गरेको कुरासित मूल ध्येय कसरी मिल्दछ? (लूका १:२६-३३)

 पेन्तिकोसको दिनमा येशूका चेलाहरू पवित्र आत्माद्वारा अभिषिक्‍त हुनु किन महत्त्वपूर्ण थियो? (प्रे. २:१-४; १ पत्रु. २:४, ५, ९; २ पत्रु. १:१, ११)

 () खास खास पदहरूको अर्थमा प्रसङ्‌गले फरक पार्न सक्छ।

 रोमी ५:१ र ८:१६-का शब्दहरूले कसलाई सम्बोधन गर्दछ? (रोमी १:७ हेर्नुहोस्‌।)

 पृथ्वीमाथि १ कोरिन्थी २:९-ले परमेश्‍वरको नयाँ संसारमा बिताइने जीवनबारे चर्चा गरेको हो भनेर कुन प्रसङ्‌गले सङ्‌केत गर्दछ? ६-८ पदहरू अनुसार, पावलले लेखेका कुराहरू कसका आँखा र कानहरूले बुझ्न सकेका थिएनन्‌?

 () तपाईंले पढी रहनु भएका कुराहरूलाई व्यक्‍तिगत रूपमा कसरी प्रयोगमा ल्याउन सकिन्छ स्वयंलाई सोध्नुहोस्‌।

 कयिनले हाबिलको हत्या गरेको वर्णन के हाम्रालागि एउटा ऐतिहासिक चासोको विषय मात्र हो वा त्यसमा हामीहरूका निम्ति उपदेश पनि छ? (उत्प. ४:३-१२; १ यूह. ३:१०-१५; हिब्रू ११:४)

 उजाड-स्थानमा इस्राएलीहरूका अनुभवहरू (प्रस्थान देखि व्यवस्था विवरणसम्म) पढ्‌दा त्यसको व्यक्‍तिगत प्रयोग हामीले कसरी गर्नु पर्ने हो? (१ कोरि. १०:६-११)

 अभिषिक्‍त मसीहीहरूका निम्ति लेखिएका आचार-व्यवहार सम्बन्धी सल्लाहहरू के पार्थिव प्रमोदवनमा अनन्त जीवनको आशा हुनेहरूका निम्ति पनि लागू हुन्छ? (गन्ती १५:१६ र यूहन्‍ना १०:१६-सङ्‌ग तुलना गर्नुहोस्‌।)

 मसीही मण्डलीमा हाम्रो असल नाउँ चलेको भए तापनि हामीले जानेका बाइबलका सल्लाहहरूलाई अझ पूर्णरूपले प्रयोगमा ल्याउने तरिकाहरूबारे विचार गर्ने आवश्‍यकता छ कि? (२ कोरि. १३:५; १ थिस्स. ४:१)

 () अरूहरूलाई मद्दत दिनका निम्ति तपाईंले पढिरहनु भएका कुराहरू कसरी प्रयोग गर्न सक्नुहुन्छ, सो विचार गर्नुहोस्‌।

 याइरसकी छोरीको पुनरुत्थानको विवरणद्वारा कसलाई मदत दिन सकिन्छ? (लूका ८:४१, ४२, ४९-५६)

१३. बाइबल पढ्‌ने र यहोवाको सङ्‌गठनसित अध्ययन गर्ने एउटा नियमित कार्यक्रमबाट कुन प्रकारको परिणामको हामी आशा गर्न सक्‍तछौं?

१३ यसप्रकार बाइबल अध्ययन गर्दा कति फलदायी हुन्छ! पक्कै पनि बाइबल अध्ययन गर्नु एउटा चुनौती हो—यो एउटा योजना हो जसमा हामी आजीवन मेहनत गरेर लाभान्वित हुन सक्छौं। जसै हामी यसमा लागि रहन्छौं आध्यात्मिक तवर्‌मा हामी अझ बलियो हुनेछौं। यसले हामीलाई हाम्रा मायालु पिता, यहोवा र हाम्रा मसीही भाइहरूको अझ नजिक तान्‍नेछ। “परमेश्‍वरको वचनलाई बलियो गरी पक्री राख्नु” भन्‍ने सल्लाहलाई मान्‍ने मदत यसले हामीलाई दिनेछ।—फिलि. २:१६, न्यु व.

पुनरावलोकन एवं छलफल

• बाइबल किन लेखिएको थियो र हाम्रा दिनहरूसम्म यसलाई किन सुरक्षित राखियो?

• त्यसलाई मूल्याङ्‌कन गर्नमा हामीले अरूहरूलाई कसरी मदत दिन सक्‍तछौं?

• नियमित रूपमा बाइबल पढ्‌नु किन लाभदायक हो? हामीले पढ्‌ने कुराहरूको विश्‍लेषण कुन पाँचवटा दृष्टिकोणबाट गर्न सक्नेछौं?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ २७-मा भएको पेटी/चित्र]

बाइबल पढ्‌नु हुँदा यी कुराहरू विचार गर्नुहोस्‌—

प्रत्येक भागले तपाईंलाई यहोवाका व्यक्‍तित्वबारे के भन्दछ

बाइबलको मूल ध्येयसित यसको के सम्बन्ध छ

विषय-प्रसङ्‌गले अर्थमाथि कसरी प्रभाव पार्दछ

तपाईंको आफ्नो जीवनमाथि यसले कस्तो प्रभाव पार्नु पर्ने हो

अरूहरूलाई सहायता दिनका लागि तपाईंले यसको प्रयोग कसरी गर्न सक्नुहुन्छ