सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वरले दुष्टतालाई रहिरहने अनुमति दिनु भएको कुराबाट हामी के सिक्न सक्छौं?

परमेश्‍वरले दुष्टतालाई रहिरहने अनुमति दिनु भएको कुराबाट हामी के सिक्न सक्छौं?

अध्याय ७

परमेश्‍वरले दुष्टतालाई रहिरहने अनुमति दिनु भएको कुराबाट हामी के सिक्न सक्छौं?

१. (क) यहोवाले तुरुन्तै अदनमा विद्रोहीहरूलाई प्राणदण्ड दिनु भएको भए त्यसको हामीमाथि के असर पर्ने थियो? (ख) बरु त्यसको ठाउँमा हाम्रा निम्ति यहोवाले के मायालु प्रबन्धहरू उपलब्ध गराउनु भएको छ?

 जीवनको बाटोमा जस्तोसुकै कठिनाइहरू आइपरे तापनि हामीलाई जन्मनु दिनु भएर परमेश्‍वरले कुनै अन्याय गर्नु भएन। उहाँले प्रथम मानवहरूलाई सिद्धता प्रदान गर्नुभयो। तिनीहरूलाई घरको रूपमा प्रमोदवन दिनुभयो। तिनीहरूले विद्रोह गर्ना साथै तिनीहरूलाई तुरुन्तै प्राणदण्ड दिनु भएन। यसो गर्नु भएको भए, हो, आज हामीले देखिरहेका बिमारी, गरिबी र अपराधले पीडित मानवजाति हुने थिएन। तथापि, दयापूर्वक यहोवाले आदम र हव्वालाई तिनीहरू मर्नअघि सन्तान जन्माउन दिनुभयो। हालाँकि ती सन्तान वंशानुगत्‌ असिद्ध भएर जन्मने थिए। तर आदमले हराएको कुरा, अर्थात्‌ जीवनको सर्वोत्तम आनन्द उठाउन सकिने अनन्त जीवन, आदमका विश्‍वासी सन्तानहरूले पाउन सक्ने व्यवस्था उहाँले ख्रीष्टद्वारा मिलाइदिनु भयो।—व्यव. ३२:४, ५; यूह. १०:१०.

२. के यी सबै कुराहरू हाम्रो मुक्‍तिका लागि मात्र हुन्‌?

हामीले व्यक्‍तिगत रूपमा यसबाट उठाउन सक्ने लाभहरूको बयान गरेर साध्य छैन। तर हाम्रो व्यक्‍तिगत मुक्‍तिभन्दा पनि अझ धेरै नै महत्त्वपूर्ण कुरा यसमा विथोलित थियो, सो हामी बाइबलका लेखोटबाट बुझ्दछौं।

उहाँको महान नाउँका निम्ति

३. पृथ्वी र मानवजातिका निम्ति यहोवाको उद्देश्‍यको पूर्तिसित अरू कुन कुरो विथोलित थियो?

पृथ्वी र मानवजातिका निम्ति उहाँको उद्देश्‍यको पूर्तिसित यहोवाको नाउँ, विश्‍वका सार्वभौमिक शासक र सत्यको परमेश्‍वरको रूपमा उहाँको प्रतिष्ठा विथोलित थियो। यहोवा सर्वोच्च हुनु भएकोले उहाँप्रति सबैजना आज्ञाकारी हुनु र उहाँको नाउँले पाउनुपर्ने आदर पाउनु सारा विश्‍वको शान्ति र भलाइका लागि जरुरी छ।

४. त्यस उद्देश्‍यमा के सम्मिलित थियो?

आदम र हव्वालाई सृजनु भएपछि उहाँले तिनीहरूलाई एउटा जिम्मेवारी सुम्पिनु भयो। उहाँको उद्देश्‍य सारा पृथ्वीलाई वशमा पार्नु मात्र थिएन। प्रमोदवनका सिमानाहरूलाई फैलाएर प्रथम पुरुष र स्त्रीका सन्तानहरूले पृथ्वी भरिभराउ भएको देख्ने चाहना उहाँले स्पष्ट रूपमा व्यक्‍त गर्नु भएको थियो। (उत्प. १:२८) तर के तिनीहरूको पापले गर्दा अब यो उद्देश्‍य असफल हुने भयो त? के यसबाट परमेश्‍वरको नाउँमा कलङ्‌क लाग्ने भयो?

५. (क) उत्पत्ति २:१७-अनुसार असल र खराबको ज्ञानको रूखको फल खाने कुनै पनि व्यक्‍ति कहिले मर्ने थियो? (ख) यहोवाले यो वाणी कसरी पूरा गर्नु भयो, र साथै पृथ्वीलाई भरिभराउ पार्ने आफ्नो उद्देश्‍यलाई पनि कसरी कायमै राख्नु भयो?

आदम अनाज्ञाकारी भएर असल र खराबको ज्ञान दिने रूखबाट खाएमा तिनी “त्यसै दिन” मर्नेछन्‌ भनेर यहोवाले आदमलाई चेताउनी दिनु भएको थियो। (उत्प. २:१७) परमेश्‍वरको वचनअनुसार आदमले पाप गरेकै दिनमा यहोवाले ती अपराधीहरूसङ्‌ग हिसाब लिनुभयो र मृत्यु-दण्डको फैसला सुनाउनु भयो। यस दण्डबाट उम्किने कुरै थिएन। परमेश्‍वरको दृष्टिकोणमा आदम र हव्वा कानुनन्‌ त्यसै दिन मरे। (लूका २०:३७, ३८ सङ्‌ग तुलना गर्नुहोस्‌।) तर पृथ्वीलाई भरिभराउ गराउने उहाँको घोषित्‌ उद्देश्‍य पूरा गर्नका लागि तिनीहरू अक्षरशः मर्नुभन्दा अघि यहोवाले तिनीहरूलाई सन्तान जन्माउन दिनुभयो। तथापि, परमेश्‍वरको दृष्टिकोणमा १,००० वर्ष एक दिन समान छ। अतः ९३० वर्षको उमेरमा आदमको जीवन अन्त हुँदा तिनी त्यो एक “दिन” भित्रै मरेको सरह भयो। (उत्प. ५:३-५; भजन. ९०:४; २ पत्रुस ३:८ सङ्‌ग तुलना गर्नुहोस्‌।) यसप्रकार दण्डलाई कार्यान्यवन गर्ने विषयमा यहोवा सत्य साबित हुनुभयो। साथै, आदमका सन्तानहरूद्वारा पृथ्वीलाई भरिभराउ गर्ने उहाँको उद्देश्‍य पनि विफल भएन। तर यसले गर्दा पृथ्वीमा पापी मानिसहरूले केही समयसम्म बाँच्ने अनुमति पाउने भए।

६, ७. (क) यहोवाले केही समयका लागि दुष्टलाई रहिरहन दिनु भएको कारणबारे प्रस्थान ९:१५, १६-ले के सङ्‌केत दिन्छ? (ख) फिरऊनसित सम्बन्धित घट्‌नामा यहोवाको शक्‍ति कसरी प्रदर्शित भयो र उहाँको नाउँको ख्याति कसरी फैलियो? (ग) अतः वर्तमान रीतिरिवाजको अन्तमा परिणाम के हुनेछ?

मोशाको समयमा मिस्रको शासकलाई यहोवाले एउटा कुरा भन्‍नुभएको थियो। परमेश्‍वरले दुष्टहरूलाई केही समयसम्म रहिरहन दिनु हुने कारण त्यस कुराबाट अझ स्पष्ट हुन्छ। फिरऊनले इस्राएलका सन्तानलाई मिस्रबाट निस्किन निषेध गरी दिएको थियो। यहोवाले उसलाई तुरुन्तै खतम्‌ गर्नु भएन। बरु त्यस मुलुकमा दस विपत्तिहरू पठाउनु भयो। ती विपत्तिहरूद्वारा यहोवाको शक्‍ति आश्‍चर्यमय र विविध ढङ्‌गमा प्रदर्शित हुन सक्यो। यहोवाले सजिलैसित फिरऊन र उसका मानिसहरूलाई पृथ्वीबाट मेटाइ दिन सक्नुहुन्थ्यो। “तर मेरो शक्‍ति प्रकट गर्ने अभिप्रायलेनै मैले तँलाई जीवित राखेको छु, र यसरी सारा संसारमा मेरो नाउँको घोषणा होस्‌” भन्‍नु हुँदै यहोवाले सातौं विपत्ति ल्याउनुअघि फिरऊनलाई चेताउनी दिनुभयो।—प्रस्थ. ९:१५, १६.

यहोवाले इस्राएललाई छुटकारा दिनुहुँदा उहाँको नाउँको ख्याति निश्‍चय नै फैलियो। आज, करीब ३,५०० वर्षपछि पनि उहाँले गर्नु भएका कुराहरू बिर्सिएको छैन। उहाँको व्यक्‍तिगत नाउँ यहोवा हो भन्‍ने कुरा मात्र घोषित नभएर त्यस नाउँको व्यक्‍तिसित सम्बन्धित सत्यता पनि प्रकट भएको छ। यहोवा आफ्नो वाचा पूरा गर्नुहुने र आफ्ना सेवकहरूका पक्षमा कार्य गर्ने परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुरा वास्तविकताको रूपमा स्थापित भएको छ। उहाँ सर्वशक्‍तिमान हुनु भएकोले उहाँको उद्देश्‍यलाई कुनै कुराले पनि रोक्न सक्‍तैन रहेछ भन्‍ने कुरा यसले प्रदर्शित गऱ्‍यो। तर यीभन्दा अझ प्रभावशाली घटना त तब घटनेछ जब दुष्ट रीतिरिवाजको दृश्‍य र अदृश्‍य भाग, दुवै नष्ट हुनेछन्‌। सर्वश्रेष्ठ शक्‍तिको त्यस प्रदर्शनले यहोवाको नाउँलाई दिने महिमा विश्‍व इतिहासमा अविस्मरणीय हुनेछ। यसबाट हुने लाभहरूको कुनै अन्त नै हुनेछैन।—इज. ३८:२३; प्रकाश १९:१, २.

‘अहा! परमेश्‍वरको ज्ञान कस्तो गहिरो!’

८. अझ अरू कुन थप कुराहरूबारे विचार गर्न भनी पावलले हामीसित आग्रह गर्दछन्‌?

रोमीहरूलाई लेखेको आफ्नो पत्रमा प्रेरित पावलले यो प्रश्‍न उठाए: “के परमेश्‍वरमा अधर्म छ ता?” अनि त्यसपछि परमेश्‍वरको कृपामाथि जोड दिंदै यहोवाले फिरऊनलाई भन्‍नुभएको कुरालाई सङ्‌केत गर्दै तिनले उत्तर दिन्छन्‌। हामी मानिसहरू कुमालेको हातको माटो सरह हौं भन्‍ने कुरालाई तिनले सम्झना गराउँछन्‌। आफू कुन कामका लागि प्रयोग गरिन्छ, के त्यसबारे माटोले कहिले शिकायत गर्छ र? पावलले अझ यो कुरा पनि थप्छन्‌: “यदि परमेश्‍वरले आफ्नो क्रोध देखाउन र आफ्नो शक्‍ति जनाउन इच्छा गरेर विनाशको निम्ति बनाउनुभएको क्रोधका भाँड़ाहरूलाई साह्रै धैर्यसङ्‌ग सहनुभयो, र आफ्नो महिमाका सम्पत्ति आफूले अघिबाटै महिमाको निम्ति तयार गर्नुभएको कृपा पात्रहरूमाथि देखाऊँ भनेर, जसलाई, अर्थात्‌ हामीलाई उहाँले न केवल यहूदीहरूबाट, तर अन्यजातिहरूबाट पनि बोलाउनु भयो भने के?”—रोमी ९:१४-२४.

९. (क) “विनाशको निम्ति बनाउनुभएको क्रोधका भाँड़ाहरू” को हुन्‌? (ख) तिनीहरूले वैरभाव देखाउँदा देखाउँदै पनि यहोवाले अति नै धैर्य किन धारण गर्नु भएको छ, र कसरी सबै कुरा उहाँलाई प्रेम गर्नेहरूको भलाइका लागि नै हुन आउनेछ?

उत्पत्ति ३:१५-मा यहोवाले भविष्यवाणी गर्नु भएदेखि यता शैतान र त्यसका सन्तान “विनाशको निम्ति बनाउनु भएको क्रोधका भाँड़ाहरू” भएका छन्‌। यत्तिका धेरै समयसम्म यहोवाले धैर्य धारण गर्नुभएको छ। दुष्टहरूले उहाँका मार्गहरूको गिल्ला गरेका छन्‌; उहाँका सेवकहरूलाई तिनीहरूले सताएका छन्‌। यहाँसम्म कि उहाँका पुत्रको त तिनीहरूले हत्या नै गरी दिए। तापनि यहोवाले अति नै धैर्य धारण गर्नुभयो। र यसबाट उहाँका सेवकहरूले स्थायी लाभ उठाउन सम्भव भएको छ। परमेश्‍वरका विरुद्धमा विद्रोह गर्दा परिणाम विपत्तिजनक हुँदो रहेछ भनेर हेर्ने मौका सारा सृष्टिले पाएको छ। साथसाथै, आज्ञाकारी मानवजातिलाई मुक्‍ति दिने र ‘शैतानका कामहरू नष्ट पार्ने’ आधार येशूको मृत्युद्वारा उपलब्ध भएको छ।—१ यूह. ३:८; हिब्रू २:१४, १५.

१०. बितेका १,९०० वर्षदेखि यहोवाले दुष्टतालाई किन सहनु भएको छ?

१० येशूको पुनरुत्थानपछिको १,९०० वर्षभन्दा बढी समयसम्म पनि यहोवाले सहनशीलता देखाउनु भएको छ। उहाँले “क्रोधका भाँड़ाहरूलाई” नाश गर्नु भएको छैन। किन? किनकि उहाँ स्त्रीको सन्तानको दोस्रो भागलाई तयार पार्दै हुनुहुन्छ। यिनीहरू येशू ख्रीष्टसङ्‌ग उहाँको स्वर्गीय राज्यमा सम्मिलित गराइने छन्‌। (गला. ३:२९) यी १,४४,००० जनहरू नै ती “कृपाका पात्रहरू” हुन्‌ जसको विषयमा प्रेरित पावलले चर्चा गरेका थिए। यस वर्गमा सम्मिलित हुनका लागि पहिले यहूदीहरूबाट केही व्यक्‍तिहरूलाई आमन्त्रित गरियो। त्यसपछि खतना गरिएका सामरीहरू थपिए। अन्तमा अन्यजातिका मानिसहरू। निकै नै धैर्य धारण गर्नुहुँदै यहोवाले आफ्नो उद्देश्‍य पूरा गर्नु भएको छ। उहाँको सेवा गर्न उहाँले कसैलाई करमा पार्नु भएको छैन। बरु उहाँको मायालु प्रबन्धहरूको मूल्याङ्‌कन गर्नेहरूमाथि महान आशिषहरू बर्साउनु भएको छ। अब त्यो स्वर्गीय श्रेणीको तयारी करीब करीब पूरा भइसकेको छ।

११. यहोवाको धैर्यबाट कुन अन्य समूहले आज लाभ उठाइ रहेका छन्‌?

११ तर पृथ्वीका बासिन्दाहरूबारे के नि? परमेश्‍वरको आफ्नो समयमा राज्यका पार्थिव प्रजा हुन करोडौं मनिसहरूको पुनरुत्थान हुनेछ। साथै, यहोवाको धैर्यको फलःस्वरूप, खासगरी सा. यु. १९३५-देखि सारा जातिहरूबाट एउटा “ठूलो भीड़”-लाई तिनीहरूका मुक्‍तिका लागि जम्मा गर्ने काम सम्भव भएको छ।—प्रकाश ७:९, १०; यूह. १०:१६.

१२. (क) परिणामस्वरूप स्वयं यहोवाबारे हामीले के सिक्न सकेका छौं? (ख) यी कुराहरू परिचालन गर्ने यहोवाको प्रणालीबारे तपाईंले के कस्तो प्रतिक्रिया व्यक्‍त गर्नुहुन्छ?

१२ यी सबै कामकुरामा के कुनै अन्याय भएको छ? कदापि भएको छैन! परमेश्‍वरले उहाँको उद्देश्‍य अनुरूप अन्य व्यक्‍तिहरूलाई दया देखाउनका लागि दुष्टहरू अर्थात्‌ “क्रोधका भाँड़ाहरू”-लाई नष्ट गर्ने काम केही समयका निम्ति स्थगित गर्नुभयो भनेर शिकायत गर्नु कसरी उचित होला र? किनकि जसै उहाँको उद्देश्‍य हाम्रो सामुन्‍ने उघारिंदै जान्छ, स्वयं यहोवाबारे हामी अझ धेरै कुराहरू सिक्‍तछौं। उहाँको व्यक्‍तित्वका विभिन्‍न पक्षहरू अर्थात्‌ उहाँको न्याय, उहाँको कृपा, उहाँको धैर्य, उहाँको बुद्धिको विविधता देखेर हामी चकित हुन्छौं। यस विवादलाई यहोवाले जसरी बुद्धिमत्तापूर्वक परिचालन गर्नु भएको छ, त्यसबाट उहाँकै शासनप्रणाली सर्वश्रेष्ठ छ भन्‍ने कुरा सदाका लागि प्रमाणित हुनेछ। प्रेरित पावल सङ्‌ग-सङ्‌गै हामी भन्दछौं: “अहा! परमेश्‍वरका बुद्धि र ज्ञान, दुवैका सम्पत्ति कस्तो गहिरो छ! उहाँका इन्साफ कति अगम, र उहाँका मार्ग अभेद्य छ!”—रोमी ११:३३.

हाम्रो भक्‍ति देखाउने मौका

१३. (क) व्यक्‍तिगत रूपमा सङ्‌कष्ट अनुभव गर्नु पर्दा हामीले के गर्ने मौका पाउँदछौं? (ख) यस्तो हुँदा बुद्धिमानीका साथ व्यवहार गर्न हामीलाई के ले मद्दत दिनेछ?

१३ परमेश्‍वरले अझसम्म दुष्टहरूको नाश र मानवजातिको पुनःस्थापना गर्ने अग्रिमवाणी पूरा नगर्नु भएको हुनाकारण कहिलेकाहीं व्यक्‍तिगत रूपमा साँच्चै नै कष्टदायक परिस्थितिहरूको सामना गरिन्छ। यस्तो हुँदा हामीले कस्तो प्रतिक्रिया व्यक्‍त गर्छौं? यसप्रकारका परिस्थितिहरू वास्तवमा परमेश्‍वरको नाउँमा लागेको कलङ्‌कलाई हटाउने र दियाबललाई झुट्टा प्रमाणित गर्ने मौकाहरू हुन्‌ भनी के हामी विश्‍वास गर्दछौं? यसो गर्नका लागि निम्नलिखित सल्लाहलाई मनमा राख्यौं भने हामीलाई ठूलो बल मिल्नेछ: “हे मेरो छोरो, बुद्धिमान हो, र त्यसले मेरो हृदयलाई आनन्दित तुल्याउँछ, र मेरो आलोचना गर्नेहरूलाई म मुखभरिको जवाफ दिनसक्छु।” (हितो. २७:११) यहोवालाई आलोचना गर्ने व्यक्‍ति, शैतानको भनाइअनुसार मानिसहरूले नोक्सानी वा शारीरिक कष्ट सहनु परेमा तिनीहरूले परमेश्‍वरलाई दोष अथवा सरापसम्म दिने छन्‌। (अय्यु. १:९-११; २:४, ५) तर जस्तो सुकै कठिनाइको सामुन्‍ने पनि हामी परमेश्‍वरप्रति भक्‍त रह्‌यौं भने हामीले परमेश्‍वरको हृदयलाई प्रसन्‍न तुल्याउने छौं। शैतानले लगाएको आरोप हामीमा लागू हुँदैन भनेर हामीले प्रमाणित गर्न सक्छौं। आफ्ना सेवकहरूका लागि यहोवामा कोमल स्नेह छ भनेर हामी विश्‍वस्त छौं। हामीले आफूलाई विश्‍वासी साबित गर्‌यौं भने यहोवाले समयमा अय्यूबलाई झैं हामीलाई पनि उदारताका साथ इनाम दिनु हुनेछ भनेर हामी ढुक्क छौं।—याकु. ५:११; अय्यु. ४२:१०-१६.

१४. हामीले परीक्षाहरूको सामना गर्दा यहोवामाथि भरोसा राख्यौं भने अरू कुन कुन लाभहरू उठाउन सक्नेछौं?

१४ पीडादायक परीक्षाहरू हामीले अनुभव गर्दा यहोवामाथि पूर्ण भरोसा गऱ्‍यौं भने अमूल्य गुणहरू हामीले आफूमा विकाश गर्न सक्छौं। उहाँले भोग्नु भएका कष्टहरूद्वारा येशूले पनि “आज्ञा पालन गर्न सिक्नुभयो”। उहाँले सिक्नु भएको आज्ञाकारिताका केही पक्षहरू उहाँलाई पहिले पटक्कै थाह थिएन। अतः हामीले पनि सिक्न सक्छौं। धैर्य र सहनशीलताको विकाश र यहोवाका धार्मिक प्रणालीहरूको गहिरो मूल्याङ्‌कन गर्ने बानी हामी बसाल्न सक्छौं। यसो गर्ने प्रशिक्षण के हामी धैर्यपूर्वक स्वीकार गर्नेछौं?—हिब्रू ५:८, ९; १२:११; याकु. १:२-४.

१५. धैर्यपूर्वक हामीले कठिनाइहरू सहँदा यसबाट अरूहरूले के लाभ उठाउन सक्छन्‌?

१५ हामी जे गर्दछौं त्यसलाई अरूहरूले ध्यान दिएर हेर्नेछन्‌। धार्मिकताको प्रेमको खातिर हामीले भोगेका कष्टहरू देखेर कति जनाले समयमा ख्रीष्टका “भाइहरू” आज को को हुन्‌ भन्‍ने कुराको मूल्याङ्‌कन गर्न सक्नेछन्‌। यी “भाइहरू”-सित मिलेर उपासना गर्न थाल्दै तिनीहरू पनि अनन्त जीवनको आशिष पाउने बाटोमा सामेल हुन सक्नेछन्‌। (मत्ती २५:३४-३६, ४०, ४६) तिनीहरूले यसो गर्ने मौका पाएको यहोवा र येशू चाहनुहुन्छ। के हामी पनि त्यही चाहन्छौं? त्यसलाई सम्भव पार्नका लागि के हामी कठिनाइहरूको सामना गर्न तयार छौं?

१६. यसप्रकारका व्यक्‍तिगत कठिनाइहरूप्रतिको हाम्रो दृष्टिकोण एकताको कुरासित कसरी सम्बन्धित छ?

१६ जीवनमा आइपर्ने कठिन परिस्थितिहरू वास्तवमा यहोवाप्रति आफ्नो भक्‍ति देखाउने र साथै उहाँको इच्छा पूरा गर्नमा भाग लिने मौकाहरू हुन्‌ भन्‍ने दृष्टिकोण अपनाउनु कति राम्रो हो! यसो गर्‌यौं भने हामी साँच्चै नै परमेश्‍वर र ख्रीष्टसित एकताबद्ध हुन अघि बढी रहेका छौं भन्‍ने कुरा प्रमाणित हुनेछ। यही एकताका लागि येशूले पनि सबै साँचो मसीहीहरूका तर्फबाट प्रार्थना गर्नु भएको थियो।—यूह. १७:२०, २१.

पुनरावलोकन एवं छलफल

• दुष्टतालाई रहिरहन दिनु भएर आफ्नो नाउँका लागि महान र उचित आदर यहोवाले कसरी देखाउनु भएको छ?

• परमेश्‍वरले “क्रोधका भाँड़ाहरूलाई” सहनु भएर उहाँको कृपा हामीसम्मै पुग्न कसरी सम्भव भयो?

• व्यक्‍तिगत रूपमा अनुभव हुने दुःखदायी परिस्थितिहरूप्रति हामी आफैले कस्तो दृष्टिकोण राख्ने प्रयास गर्नुपर्दछ?

[अध्ययनका लागि प्रश्‍नहरू]