‘पहिले राज्यको खोजी गर’
अध्याय ११
‘पहिले राज्यको खोजी गर’
१. (क) आजभन्दा १,९०० वर्षअघि सर्वप्रथम राज्यको खोजी गर्न भनी येशूले किन भन्नु भएको? (ख) हामीले आफैलाई के प्रश्न सोध्नु पर्दछ?
येशूले १,९०० वर्षभन्दा अघि गालीलमा एउटा छलफलको सिलसिलामा आफ्ना श्रोताहरूलाई यो आग्रह गर्नुभयो: “पहिले उहाँको राज्य र उहाँको धार्मिकता खोजी गर।” तर किन? येशू सिंहासनमा बस्ने समय आउन अझ कयौं शताब्दी बाँकी नै थियो, होइन र? हो, थियो। तर यहोवाको पवित्र नाउँलाई उच्च पार्ने र पृथ्वीका लागि उहाँको महान उद्देश्य पूरा गर्ने माध्यम त्यही मसीही राज्य नै हो। यसको महत्त्वलाई साँच्चै नै मूल्याङ्कन गर्ने कसैले पनि यो राज्यलाई आफ्नो जीवनमा प्रथम स्थान दिनेछ। यो कुरा प्रथम शताब्दीमा लागू हुन्थ्यो भने, अब त्यस राज्यले शासन गरेको बेलामा त झन साह्रो लागूहुन्छ। तपाईंले परमेश्वरको राज्यको खोजी गर्नु हुँदैछ भन्ने कुराको प्रमाण के तपाईंको आफ्नो जीवन-शैलीबाट देख्न सकिन्छ?—मत्ती ६:३३.
२. आम मानिसहरू कुन कुराहरूका पछि बेहाल भएर लाग्दछन्?
२ साधारणतया, मानिसहरूको अभिरुचि अरू नै कुराहरूमा हुन्छ। तिनीहरू उत्सुकताका साथ धनको पिछा गर्छन्। साथै, पैसाले किन्न सकिने लत्ता-कपडा, खाने कुरा र अन्य भौतिक सरसामान र मोज-मज्जाको पछि बेहाल हुन्छन्। (मत्ती ६:३१, ३२) आफूमा र मोज-मज्जामा नै तिनीहरू चुर्लुम्मै डुबेको कुरा तिनीहरूको जीवन-शैलीबाट देख्न सकिन्छ। तिनीहरूको जीवनमा परमेश्वरलाई दोस्रो स्थान दिइएको हुन्छ—त्यो पनि उहाँमाथि विश्वास गर्दछन् भने मात्र।
३. (क) कुन प्रकारका धन जम्मा गर्न येशूले आफ्ना प्रेरितहरूलाई प्रोत्साहित गर्नुभयो, र किन? (ख) भौतिक आवश्यकताहरूका निम्ति अनावश्यक ढङ्गमा चिन्तित हुनुपर्ने कुनै खाँचो किन थिएन?
३ तर आफ्ना चेलाहरूलाई येशूले यो सल्लाह दिनुभयो: “आफ्नो निम्ति पृथ्वीमा धन-सम्पत्ति नथुपार,” किनभने त्यस प्रकारको कुनै पनि धन-सम्पत्ति सदाका लागि टिक्दैन। “तर,” यहोवाको सेवा गर्दै “आफ्नो निम्ति स्वर्गमा धन-सम्पत्ति थुपार” उहाँले भन्नुभयो। उहाँले आफ्ना अनुयायीहरूलाई तिनीहरूका आँखा “निर्मल” राख्न भन्नुभयो। यसको अर्थ तिनीहरूको ध्यान एउटै कुरामा अर्थात् परमेश्वरको इच्छा गर्नमा केन्द्रित हुनु थियो। “तिमीहरूले परमेश्वर र धन दुवैको चाकरी गर्नसक्तैनौ,” उहाँले तिनीहरूलाई भन्नुभयो। तर खानेकुरा, वस्त्र र बस्ने घरजस्ता भौतिक आवश्यकताहरू बारे नि? “फिक्री नगर,” येशूले सल्लाह दिनुभयो। उहाँले तिनीहरूको ध्यान चरा-चुरुङ्गीहरूतर्फ लैजानु भयो—परमेश्वरले तिनीहरूलाई खुवाउनु हुन्छ। उहाँले आफ्ना अनुयायीहरूलाई फूलहरूबाट शिक्षा लिन प्रोत्साहित गर्नु भयो—परमेश्वरले तिनीहरूलाई सुन्दरताका साथ पहिराउनु हुन्छ। तिनीहरूभन्दा त सोच्ने क्षमता भएका यहोवाका मानव सेवकहरू श्रेष्ठ होइनन् र? अतः “पहिले उहाँको राज्य र उहाँको धार्मिकता खोजी गर, र यी सबै [आवश्यक] थोक तिमीहरूलाई थपिनेछन्” भनेर येशूले भन्नुभयो। (मत्ती ६:१९-३४) के तपाईं यस कुरामाथि विश्वास गर्नुहुन्छ? के तपाईंको कामकारबाईबाट त्यो देखिन्छ?
राज्यसम्बन्धी यथार्थतालाई निसासिन नदिनुहोस्
४. एउटा व्यक्तिले भौतिक कुराहरूमाथि बढ्ता जोर दिएमा त्यसको के परिणाम हुन सक्छ? उदाहरण दिनुहोस्।
४ कुनै व्यक्ति भौतिक पदार्थहरूबारे अत्यधिक चिन्तित छ भने परिणाम खतरनाक हुन सक्छ। राज्यमा चासो व्यक्त गरे तापनि उसले आफ्नो हृदयमा चाहिं अरू नै कुरालाई महत्त्व दिन्छ भने राज्यसित सम्बन्धित सत्यताले बढ्ने मौका पाउने छैन। (मत्ती १३:१८, १९, २२) उदाहरणका लागि, एक पटक एक जना धनसम्पन्न नौजवान शासकले येशूलाई यो प्रश्न गऱ्यो: “अनन्त जीवनको हकदार हुनालाई मैले के गर्नुपर्छ?” येशूको उत्तर सुनेर उसले देखाएको प्रतिक्रियाबाट स्पष्ट हुन्छ कि उसले एउटा नैतिक जीवन बिताउनुका साथसाथै अरूहरूसँग पनि राम्रो व्यवहार गर्थ्यो। तर ऊ आफ्नो भौतिक धन-सम्पत्तितर्फ धेरै नै लिप्त थियो। येशूको अनुयायी हुनका लागि ऊ त्यसलाई त्याग्न तयार थिएन। अतः उसले ख्रीष्टसँग स्वर्गीय राज्यमा एउटा शासक हुन पाउने मौका गुमायो। त्यसैकारण त येशूले त्यतिखेर यसो भन्नुभयो, “धनीहरू कस्तो कठिनसँग परमेश्वरको राज्यभित्र पस्छन्!”—मर्कूस १०:१७-२३.
५. (क) कुन कुराहरूसित सन्तुष्ट हुनु भनी पावलले तिमोथीलाई प्रोत्साहन दिए, र किन? (ख) “धनी हुने इच्छालाई” शैतानले एउटा विनाशकारी पासोको रूपमा कसरी प्रयोग गर्दछ?
५ वर्षौंपछि, एउटा धनी व्यापारिक केन्द्र, एफिससमा बसिरहेका तिमोथीलाई प्रेरित पावलले पत्र लेखे। त्यसमा तिनले तिमोथीलाई यस कुराको सम्झना गराए: “हामीले नता यस दुनियाँमा केही ल्यायौं, न केही बोकी लैजानसक्छौं, तर खान र लाउन भएपछि हामी त्यसमा सन्तुष्ट हुनेछौं।” आफ्नो र आफ्ना परिवारका निम्ति “खाने र लाउने” कुराको व्यवस्था मिलाउनका लागि काम गर्नु उचित हो। तर पावलले यो चेतावनी दिए: “धनी हुने इच्छा गर्ने चाहिं, सर्वनाश र विनाशमा डुबेका मानिसझैं परीक्षा र पासो, औ धेरै मूर्ख र हानिकारक अभिलाषाहरूमा फस्तछन्।” शैतान छली छ। सुरु सुरुमा त त्यसले सा-सानो कुराद्वारा फसाउन सक्तछ। यसपछि अक्सर अलिक ठूलो दबावहरू हाल्दछ—जस्तो कि अलिकता बढी तलब पाइने नोकरी। तर सम्भवतः सो नोकरीले गर्दा आध्यात्मिक कामकुराका निम्ति छुट्टाइ राखिएको समय पनि दिनु आवश्यक होला। हामी होशियार रहेनौं भने “धनी हुने इच्छा”-को कारण राज्यसित सम्बन्धित सर्व-महत्त्वपूर्ण कामकुराहरू मै बाधा पर्न सक्छ। पावलले भने झैं, “जसको पछि [धनको पछि] लाग्ने कुनै कुनै विश्वासबाट कुमार्गमा तर्केका हुन्छन्, र धेरै दुःखले तिनीहरूका हृदय छेंड़ेका हुन्छन्।”—१ तिमो. ६:७-१०.
६. (क) जालमा नफस्नका लागि हामीले के गर्नु पर्दछ? (ख) आजको संसारको आर्थिक अवस्थालाई ध्यानमा राखेर हेर्दा, के त्यसो गर्नु व्यावहारिक हुनेछ र?
६ आफ्ना मसीही भाइका निम्ति साँचो प्रेम राखेर पावलले तिमोथीलाई आग्रह गरे: “यी कुराहरूबाट दूर बस,” र “विश्वासको उत्तम लड़न्त लड़।” (१ तिमो. ६:११, १२) संसारमा हाम्रा वरिपरि भएका भौतिक जीवन शैलीले हामीलाई बगाएर लगेको हामी चाहदैनौं भने उत्कट प्रयत्न गर्नु आवश्यक छ। तर हामीले आफ्नो विश्वासअनुरुप जोडसित प्रयास पनि गऱ्यौं भने यहोवाले हामीलाई कदापि त्याग्नु हुनेछैन। बढ्दो महँगी र व्यापक बेरोजगारीका बावजूद उहाँले हामीलाई वास्तवमा चाहिएका कुराहरू निश्चय नै पुऱ्याइ दिनु हुनेछ।—हिब्रू १३:५, ६.
पहिलेका चेलाहरूले एउटा नमुना प्रस्तुत गरेका छन्
७. येशूले प्रेरितहरूलाई इस्राएलमा प्रचार गर्न पठाउनु हुँदा तिनीहरूलाई के कस्ता निर्देशन दिनुभयो, र ती किन उपयुक्त थिए?
७ आफ्ना प्रेरितहरूलाई यथोचित् प्रशिक्षण दिनु भएपछि येशूले तिनीहरूलाई इस्राएलमा सुसमाचार अर्थात् “स्वर्गको राज्य नजीकै आइपुगेको छ” भनी प्रचार गर्न पठाउनु भयो। यो एउटा कस्तो सनसनीपूर्ण समाचार थियो! मसीही राजा, येशू ख्रीष्ट स्वयं तिनीहरूको माँझमा हुनुहुन्थ्यो। प्रेरितहरूले आफूलाई परमेश्वरको सेवामा समर्पित गरिरहेको हुनाकारण तिनीहरूको हेरचाह परमेश्वरले नै गर्नु हुनेछ भनी विश्वस्त रहन येशूले तिनीहरूलाई आग्रह गर्नुभयो। अतः उहाँले भन्नुभयो: “तिमीहरूको सफरमा साथमा केही नलेऊ—न लहुरो, न झोली, न रोटी, न पैसा, नता दुई दौरा साथमा होस्। औ जुन घरमा तिमीहरू पसौला त्यहीं बसिरहो, र त्यहींबाट बिदा होओ।” (मत्ती १०:५-१०; लूका ९:१-६; १०:४-७) यहोवाले तिनीहरूका आवश्यकताहरू सङ्गी इस्राएलीहरूद्वारा पूरा हुनेथियो किनकि इस्राएलमा परदेशीहरूको सत्कार गर्ने चलन थियो।
८. (क) केही समयपछि नै फेरि येशूले आफ्नो मृत्युभन्दा पहिले बेग्लै प्रकारको निर्देशन किन दिनुभयो? (ख) तथापि, तिनीहरूको जीवनमा अझै पनि प्रथम स्थान के ले नै लिएको थियो?
८ तर पछि भने तिनीहरू बेग्लै परिस्थितिहरूको माझमा काम गर्नुपर्ने थियो। यसबारे येशूले आफ्नो मृत्युअघि आफ्ना अनुयायीहरूलाई सतर्क गराउनु भयो। सरकारी विरोधले गर्दा इस्राएलमा आतिथ्य सजिलैसित उपलब्ध नहोला। साथै, चाँडै नै तिनीहरूले राज्यको समाचार अन्यजातिका देशहरूमा पनि लैजानु परेको थियो। यसकारण, अबचाहिं तिनीहरूले एउटा “थैली” र एउटा “खाना हाल्ने झोला” आफ्नो साथमा लिनु आवश्यक थियो। तथापि, आफूलाई चाहिने खाना र लुगा प्राप्त गर्नका लागि तिनीहरूले गरेको प्रयत्नलाई परमेश्वरले आशिष दिनु हुनेछ भनी विश्वस्त हुँदै पहिले यहोवाको राज्य र उहाँको धार्मिकताको खोजी गरी नै रहनु पर्ने थियो।—लूका २२:३५-३७.
९. (क) पावलले राज्यलाई पहिलो स्थानमा कसरी राखे? (ख) तिनका शारीरिक आवश्यकताको पूर्ति कसरी हुन्थ्यो? (ग) ती कुराहरूबारे अरूहरूलाई तिनले के सल्लाह दिए?
९ येशूले दिनु भएको सल्लाहलाई प्रयोगमा ल्याउनेसम्बन्धमा प्रेरित पावलले एउटा राम्रो उदाहरण दिए। पावलले मसीही सेवकाईलाई नै आफ्नो जीवनको मूल आधार बनाए। (प्रे. २०:२४, २५) कुनै ठाउँमा प्रचार गर्न जाँदा पाल सिउँने काम गरेर तिनले आफ्ना भौतिक आवश्यकताहरूलाई पूरा गर्थे। तिनका आवश्यकताहरूको हेरविचार अरूले नै गरिदिऊन् भनी तिनले आशा गरेनन्। (प्रे. १८:१-४; १ थिस्स. २:९; १ कोरि. ९:१८) तापनि अरूहरूले मूल्याङ्कन र प्रेमका साथ देखाएको सत्कार अथवा तिनलाई दिएका कोसेलीहरू तिनले कृतज्ञताका साथ स्वीकार गर्थे। (प्रे. १६:१५, ३४; फिलि. ४:१५-१७) आफ्ना पारिवारिक जिम्मेवारीहरूको अवहेलना गर्दै प्रचारमा जाने प्रोत्साहन तिनले मसीही पुरुष र महिलाहरूलाई कहिले पनि दिएनन्। बरु आ-आफ्ना विभिन्न प्रकारका जिम्मावारीहरूलाई सन्तुलित ढङ्गले निभाउने सल्लाह तिनले दिए। आ-आफ्ना हातले काम गर्न, आ-आफ्ना परिवारलाई प्रेम गर्न र आफूसित भएका कुराहरू अरूहरूसङ्ग उदारताका भावसाथ बाँड्ने गर्नु भनी तिनले तिनीहरूलाई आग्रह गरे। (एफि. ४:२८; २ थिस्स. ३:७-१२; तित. २:३-५) साथै, भौतिक कुराहरूको सट्टा तिनीहरूले परमेश्वरमाथि भरोसा राखून् भनी तिनले आग्रह गरे। यसबाहेक, जीवनमा सबैभन्दा महत्त्वपूर्ण कुराहरू के हुन् भनी तिनीहरूले बुझेका छन् भने सो कुरा तिनीहरूले आफ्नो जीवन-शैलीद्वारा देखाऊन् भनी तिनले सल्लाह दिए। यसको अर्थ, येशूको शिक्षाअनुसार पहिले परमेश्वरको राज्य र उहाँको धार्मिकताको खोजी गर्नु थियो।—फिलि. १:९-११.
आफ्नो जीवनमा राज्यलाई पहिलो स्थान दिनुहोस्
१०. (क) ‘पहिले राज्यको खोजी’ गर्नु भनेको अर्थ के हो? (ख) तर के कुराको चाहिं उपेक्षा गर्नु हुँदैन?
१० कुन हदसम्म हामी व्यक्तिगत रूपमा अरूहरूसित राज्यको सुसमाचार बाँड्दछौं? केही हदसम्म हाम्रो आफ्नो परिस्थितिहरू र अक्सरगरी हाम्रो मूल्याङ्कनको गहराईमा त्यो भर पर्दछ। ‘तपाईंको अरू कुनै काम नभएको बेलामा राज्यको खोजी गर्नुहोस्’ अर्थात् ‘कहिलेकाहीं राज्यबारे कुरा गर्नुभयो भने पुगिहाल्छ’ अथवा ‘राज्यसम्बन्धी कार्यहरूका निम्ति सुरुमा बडो उत्साहित हुनुहोस्; तर नयाँ रीतिरिवाज आउनमा अबेर भएजस्तो लागेमा एकातिर परमेश्वरको सेवा पनि गर्दै गर्नुहोस् तर धेरैजसो समय चाहिं अरूहरूले जस्तै जीवन बिताउँनु होस्’ भनेर येशूले कहिले भन्नु भएन। राज्यको महत्त्वबारे उहाँले राम्ररी बुझेको हुनाले यस विषयमा आफ्ना पिताको इच्छा जाहेर गर्दै भन्नुभयो: “उहाँको राज्यको खोजी गर।” अथवा, प्रेरित मत्तीले त्यसलाई यसरी लेखे, “पहिले उहाँको राज्य र उहाँको धार्मिकता खोजी गर।” (लूका १२:३१; मत्ती ६:३३) हुनः त हामीहरूमध्ये धेरैलाई आफ्नो र आफ्ना परिवारका आवश्यकताहरूका निम्ति कुनै न कुनै प्रकारको काम गर्नु जरुरी छ। तापनि हामीमा साँचो विश्वास छ भने परमेश्वरले दिनु भएको उहाँको राज्यसम्बन्धी कामलाई हामीले आफ्नो केन्द्रविन्दु बनाउनेछौं। त्यसै अनुरूप हामीले आफ्नो जीवन सञ्चालन गर्नेछौं। साथै परिवारप्रतिको आफ्नो जिम्मेवारीहरूको पनि हामीले उपेक्षा गर्ने छैनौं।—१ तिमो. ५:८; हितो. २९:१५.
११. (क) राज्यको समाचार फैलाउने काममा सबैले एकनास गर्न सक्ने छैनन् भन्ने कुरालाई येशूले उखानद्वारा कसरी बताउनु भयो? (ख) यसमाथि कुन कुन कुराको असर पर्न सक्छ?
११ सेवकाईको काममा हामीमध्ये केहीले अरूले भन्दा बढी समय लगाउन सक्छन्। तर विभिन्न प्रकारको माटोसम्बन्धी आफ्नो उखानमा येशूले देखाउनु भयो कि असल माटोसरह हृदय हुनेहरू सबैले नै फल फलाउँने छन्। कुन हदसम्म? व्यक्तिहरूका परिस्थितिहरू भिन्न हुन्छन्। उमेर, स्वास्थ्य, र पारिवारिक जिम्मावारी सबै बेग्लै हुन्छन्। तर जहाँ हार्दिक मूल्याङ्कन हुन्छ, त्यहाँ धेरै कुरा गर्न सम्भव हुन्छ।—मत्ती १३:१९, २३.
१२. कुन हितकारी आध्यात्मिक लक्ष्यबारे सोच्नु भनी खासगरी नौजवानहरूलाई प्रोत्साहित गरिएको छ?
१२ राज्य सेवकाईको काममा एउटा लक्ष्य हुनु राम्रो हो। यसबाट हामीले सेवाको काममा अझ बढी भाग लिने मदत पाउन सक्छौं। नौजवानहरूले उत्साही नौजवान तिमोथीको अत्युत्तम उदाहरणबारे गम्भीरतापूर्वक विचार गर्नु पर्दछ। (फिलि. २:१९-२२) स्कूलको आफ्नो पढाइ समाप्त गरिसकेपछि पूर्ण सेवकाईमा प्रवेश गर्नुभन्दा बढिया कुरा तिनीहरूको निम्ति के हुन सक्छ र? उमेर पाकेकाहरूले पनि हितकारी आध्यात्मिक लक्ष्यहरू राख्नु तिनीहरूका निम्ति लाभदायक हुन सक्छ।
१३. (क) राज्य सेवामा तपाईं व्यक्तिगत रूपले कति गर्न समर्थ हुनुहुन्छ भनेर कसले निर्णय गर्दछ? (ख) यदि हामी साँच्चै नै पहिले राज्यको खोजी गर्दछौं भने त्यो कुन कुराको प्रमाण हो?
१३ कसै कसैले अझ बढी गर्न सक्ने थिए भनी हामीलाई लागेका व्यक्तिहरूको आलोचना गर्नुको सट्टा आफ्नै व्यक्तिगत उन्नति गर्नमा विश्वासद्वारा हामी प्रेरित हुनु पर्दछ ताकि हाम्रा आफ्ना परिस्थितिहरूले भ्याएसम्म पूर्णरूपले परमेश्वरको सेवा गर्नसकौं। (रोमी १४:१०-१२; गला. ६:४) हामी आफ्नै भौतिक धन-सम्पत्ति, आफ्नै सुख-सुविधा र व्यक्तिगत भलाइमा मात्र चासो लिन्छौं र आफ्नै स्वार्थका लागि परमेश्वरको सेवा गर्दछौं भनेर शैतानले दाबी गर्दछ भन्ने कुरा अय्यूबको घटनाबाट देखियो। तर, हामीले साँच्चै नै पहिले राज्यको खोजी गऱ्यौं भने दियाबललाई घोर झुट्टा प्रमाणित गर्ने काममा भाग लिन सक्नेछौं किनकि वास्तवमा त्यो एकजना घोर झुट्टा नै हो। हाम्रो जीवनमा भौतिक धन-सम्पत्तिहरू, वा व्यक्तिगत सुविधाले पहिलो स्थान लिनुको सट्टा परमेश्वरको सेवाले लिएको छ भन्ने कुराको प्रमाण हामीले दिइरहेका हुनेछौं। यसप्रकार हामी वचन र कर्मद्वारा यहोवाप्रतिको हाम्रो प्रेम, उहाँको सार्वभौमिकता प्रतिको वफादारीपूर्ण समर्थन र सङ्गी मानिसहरूका लागि हाम्रो प्रेमलाई प्रमाणित गर्दछौं।—हितो. २७:११; अय्यु. १:९-११; २:४, ५.
१४. (क) क्षेत्र-सेवकाईका निम्ति एउटा तालिका बनाउनु किन लाभदायक हुन्छ? (ख) धेरैजसा साक्षीहरूले कुन हदसम्म क्षेत्र सेवकाईमा भाग लिइरहेका छन्, र किन?
१४ साधारणतया गर्न सकिनेभन्दा बढी काम सम्पन्न गर्नमा एउटा समय तालिकाले हामीलाई मदत दिन सक्छ। आफ्नो उद्देश्य पूरा गर्नका निम्ति यहोवा स्वयंको पनि आफूले ‘तोकिएको समय’ छ र त्यसको अनुकरण गरेमा हामीलाई असल हुनेछ। (प्रस्थ. ९:५; मर्कूस १:१५; गला. ४:४) प्रत्येक हप्ता तोकिएको कुनै समयमा क्षेत्र सेवकाईमा भाग लिनु राम्रो कुरा हो। संसारभरिका दशौं हजार यहोवाका साक्षीहरूले सहायक अग्रगामीहरू हुन नाउँ दर्ता गराएका छन् र सुसमाचारको प्रचारको काममा सरदर प्रत्येक दिन दुई घण्टा वा त्योभन्दा बढी समय बिताउनमा आनन्दित हुन्छन्। कसै कसैले यो काम नियमित रूपमा गर्दछन्; अरूहरू चाहिं वर्षमा दुई-चार पटक गर्दछन्। अझ हजारौंले राज्यको समाचार घोषणा गर्ने काम सरदरमा प्रत्येक दिन, नियमित अग्रगामीहरूको रूपमा, कमसेकम तीन घण्टा समय लगाउँदछन्। अरूहरू चाहिं विशेष अग्रगामीहरू र मिसनरीहरू भएर राज्यको सेवामा अझ बढी समय लगाउँछन्। अनि क्षेत्र सेवकाईमा हौं वा न हौं, हरेक उपयुक्त अवसरहरूमा सुन्न चाहनेहरूलाई राज्य आशाबारे सुनाउने काममा सहभागी हुने मौका हामी खोज्न सक्छौं। (यूहन्ना ४:७-१५ सङ्ग तुलना गर्नुहोस्।) “राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त हुनेछ” भन्ने येशूका अगमवाणीको तात्पर्यबारे गम्भीरतापूर्वक सोच्नु पर्दछ। हाम्रा परिस्थितिहरूले भ्याएसम्म त्यस काममा सहभागी हुने हाम्रो इच्छा हुनुपर्दछ।—मत्ती २४:१४; एफि. ५:१५-१७.
१५. हाम्रो सेवकाईका सम्बन्धमा १ कोरिन्थी १५:५८-मा दिएको सल्लाह सामयिक छ भनी तपाईं किन ठान्नुहुन्छ?
१५ संसारका सबै भागमा, चाहे जुनसुकै राष्ट्रमा बसेका भए तापनि, एकताबद्ध भएर यहोवाका साक्षीहरू त्यस सेवाको महान सुनौलो मौकामा सक्रियतासाथ भाग लिइरहेका छन्। बाइबलको यस प्रेरित सल्लाहलाई आफूमा प्रयोग गर्दछन्: “स्थिर र अटल बस। सधैं प्रभुको काममा प्रशस्त हुँदै जाओ। किनकि तिमीहरू जान्दछौ, कि तिमीहरूको परिश्रम प्रभुमा व्यर्थ हुँदैन।”—१ कोरि. १५:५८.
पुनरावलोकन एवं छलफल
• पहिले राज्यको खोजी गर भनी येशूले भन्नुहुँदा कुन कुराहरूलाई दोस्रो स्थानमा राख्न भनी सङ्केत गर्दै हुनुहुन्थ्यो?
• आफ्नो र आफ्ना परिवारका भौतिक आवश्यकताहरूको हेर-विचार गर्ने सम्बन्धमा हामीले कस्तो दृष्टिकोण राख्नु पर्दछ? परमेश्वरले हामीलाई के मद्दत दिनुहुनेछ?
• राज्य सेवामा हामीले भाग लिउञ्जेल, त्यसमा के कति गर्छौं भन्ने कुराले फरक पार्छ र? कसरी?
[अध्ययनका लागि प्रश्नहरू]