यहोवाका उपासकहरूले उपभोग गर्ने स्वतन्त्रता
अध्याय ५
यहोवाका उपासकहरूले उपभोग गर्ने स्वतन्त्रता
१, २. (क) प्रथम मानव जोडीलाई परमेश्वरले कुन प्रकारको स्वतन्त्रता दिनु भयो? (ख) तिनीहरूको गतिविधिलाई सञ्चालित गर्ने केही नियमहरू उल्लेख गर्नुहोस्।
यहोवाले प्रथम मानव जोडी सृजनु हुँदा तिनीहरूले अनुभव गरेको स्वतन्त्रता आजका मानवहरूले उपभोग गर्ने कुनै पनि स्वतन्त्रताभन्दा अति नै उच्च स्तरको थियो। प्रमोदवन तिनीहरूको घर थियो। कुनै प्रकारको रोगले जीवनको आनन्दमा बाधा पुर्याउँदैन थियो। मृत्युले तिनीहरूको बाटो ढुकेर बसेको थिएन। तर यसप्रकारको स्वतन्त्रता तिनीहरूले अनुभव गरी नै रहनका लागि परमेश्वरका नियमहरूको आदर गर्नु अत्यावश्यक थियो।
२ तीमध्ये केही नियमहरू शब्दमा बयान नगरिएका भए तापनि ती नियमहरूलाई स्वभाविक ढङ्गमा पालन गर्नसक्ने क्षमताका साथ आदम र हव्वा बनाइएका थिए। तसर्थ, भोक लाग्दा तिनीहरूले खाने आवश्यकता महसुस गर्द थिए; तिर्खा लाग्दा पिउने आवश्यकताको बोध हुँदथ्यो। सूर्यास्तपछि आवश्यक आराम र निद्रा पाउँन तिनीहरू इच्छुक हुन्थे। यहोवा तिनीहरूसङ्ग बोल्नु पनि हुन्थ्यो र तिनीहरूका लागि विशेष काम खटाउनु हुन्थ्यो। यथार्थमा त्यो काम एउटा आज्ञा थियो। त्यसै आज्ञाले तिनीहरूको जीवनको गतिविधिलाई निर्देशित पार्थ्यो। तर त्यो एउटा कस्तो मायालु र लाभदायक आज्ञा थियो! तिनीहरूले त्यसबाट पूर्णतया सन्तोषजनक काम गर्न पाउने थिए र आफ्नो समझ-शक्तिलाई राम्रो ढङ्गमा प्रयोग गर्न सक्ने थिए। तिनीहरूले सन्तान जन्माउनु परेको थियो, पृथ्वीका जनावरहरूमाथि आधिपत्य कायम गर्नु थियो र पृथ्वीलाई ढाक्ने गरी प्रमोदवनका सिमानाहरू बिस्तारै फैलाउनु परेको थियो। (उत्प. १:२८; २:१५) परमेश्वरले अनावश्यक नाटीकुटी नियमहरूको बोझ तिनीहरूलाई बोकाउनु भएन। तिनीहरूलाई निर्णयहरू लिने प्रशस्त मौका दिइएको थियो। त्योभन्दा बढी कसैलाई के चाहिन्थ्यो र?
३. निर्णयहरू गर्नका निम्ति आफ्नो स्वतन्त्रतालाई राम्रोसङ्ग प्रयोग गर्न आदमले के मदत पाउन सक्ने थियो?
३ तर आदमलाई निर्णय लिने अधिकार दिएको थियो भन्दैमा तिनले लिएका जुनसुकै निर्णयको परिणाम राम्रै नै हुनेछ भन्न सकिन्दैन थियो। निर्णयहरू लिने तिनको स्वतन्त्रतामा एउटा जिम्मेवारी समावेश थियो। स्वर्गमा हुनुहुने आफ्ना पिताले भन्नु हुने कुरा सुनेर, उहाँका कामहरूलाई हेरेर, तिनले सिक्न सक्थे। साथै, तिनले सिकेका कुराहरूलाई प्रयोगमा ल्याउन सक्ने क्षमता परमेश्वरले आदमलाई दिनु भएको थियो। आदम “परमेश्वरको स्वरूपमा” सृजिएको हुनाकारण निर्णय गर्दा ईश्वरीय गुणहरू प्रतिबिम्बित गर्ने मानसिक झुकाउ तिनमा थियो। परमेश्वरले तिनका निम्ति गरिदिनु भएका कुराहरूको मूल्याङ्कन तिनले गर्न सक्थे। तिनले परमेश्वरलाई खुशी तुल्याउन चाहेमा निर्णयहरू लिंदा तिनी निश्चय नै सावधान हुन सक्थे।—उत्प. १:२६, २७; यूहन्ना ८:२९ सङ्ग तुलना गर्नुहोस्।
४. (क) आदमलाई दिइएका निषेधात्मक आज्ञाले के उसको स्वतन्त्रतामा कुनै बाधा पुऱ्याएको थियो? (ख) त्यो किन एउटा उपयुक्त आवश्यकता थियो?
४ आफ्ना सृष्टिकर्ता र जीवन-दातामाथि भर पर्नु मानिसको लागि आवश्यक थियो। सो कुराको सम्झना गराउँदै यहोवाले तिनलाई यो आज्ञा दिनुभयो: “बगैंचाका सबै रूखका फल तैंले संकोच नमानी खाए हुन्छ, तर असल र खराबको ज्ञान दिने रूखको फल चाहिं नखानू, किनभने जुन दिन तैंले त्यो खान्छस् त्यसै दिन तँ मर्नेछस्।” (उत्प. २:१६, १७) के त्यस आज्ञाले मानिसको स्वतन्त्रतामा बाधा पुऱ्याउने थियो? कदापि पुऱ्याउने थिएन। आज्ञा पालन गर्नु वा नगर्नु, त्यो आदमको खुशी थियो। त्यो प्रतिबन्ध कुनै बोझ थिएन। त्यो रूखलाई छुँदै नछोएर पनि तिनका लागि प्रशस्त खाने कुराहरू उपलब्ध थिए। तथापि, जुन पृथ्वीमा तिनी बसेका थिए, त्यो परमेश्वरको सम्पत्ति हो र सृष्टिकर्ता हुनाकरण आफ्नो सृष्टिको शासक हुन उहाँको हक लाग्छ भन्ने कुरा तिनले स्वीकार्नु उचित थियो।—भजन. २४:१, १०.
५. (क) आदम र हव्वाले तिनीहरूसङ्ग भएको महिमायुक्त स्वतन्त्रता कसरी गुमाए? (ख) त्यसको ठाउँ केले लियो, र हामीहरूमाथि त्यसको के प्रभाव परेको छ?
५ तर के हुन गयो? स्वार्थपूण अभिलाषाबाट प्रेरित एक जना स्वर्गदूतले एकजना साँचो पथप्रदर्शकको रूप धारण गर्यो। त्यसले हव्वालाई परमेश्वरको इच्छा विपरीत जान फकायो। आफ्ना पिताको आज्ञा पालन गर्नुको सट्टा आज्ञा उल्लङ्घन गर्ने काममा आदमले पनि हव्वाको साथ दियो। आफ्नो अधिकारभित्र नपर्ने कुरालाई हडप गर्ने कोशिश तिनीहरूले गरे। फलःस्वरूप, आफूले पाएको महान स्वतन्त्रता आदम र हव्वा दुवैले गुमाए। पाप तिनीहरूको मालिक भयो। परमेश्वरले दिनु भएको चेताउनी तिनीहरूमा पूरा भयो। मृत्युले निश्चित रूपमा तिनीहरूको बाटो ढुक्न थाल्यो। फलःस्वरूप, तिनीहरूका सन्तानले पैतृक सम्पत्तिको रूपमा के पाए? गलत काम गर्ने जन्मजात प्रवृत्ति, रोगको सजिलैसित शिकार हुनसक्ने कमजोरी, र बूढो हुँदै गएर अन्ततोगत्वा ह्रास हुने र मरी जाने जस्ता कुराहरूको रूपमा पाप प्रकट हुन थाल्यो। गलत काम गर्ने जन्मजात प्रवृत्तिमाथि शैतानको थप प्रभाव परेको छ। यसले गर्दा आज एउटा यस्तो समाजको सृजना भएको छ जहाँ हरेकको जीवन अनिश्चित छ। मानवजातिलाई परमेश्वरले सुरुमा दिनु भएको स्वतन्त्रताभन्दा यो कति भिन्न छ!—रोमी ५:१२; अय्यु. १४:१; प्रकाश १२:९.
स्वतन्त्रता कहाँ पाउन सकिन्छ
६. (क) साँचो स्वतन्त्रता कहाँ पाउन सकिन्छ? (ख) यूहन्ना ८:३१, ३२-मा येशू कुन प्रकारको स्वतन्त्रताबारे कुरा गर्नु हुँदै थियो?
६ आज मानिसहरू आफूले पाएको भन्दा बढी स्वतन्त्रताको चाहना गर्दछन्। वर्तमान स्थिति हेर्दा यो कुनै छक्कपर्दो कुरा होइन। तर वास्तविक स्वतन्त्रता कहाँ पाउन सकिन्छ? येशू ख्रीष्टले भन्नुभयो: “तिमीहरू मेरो वचनमा रह्यौ भने साँच्चै मेरा चेला हौ, औ तिमीहरूले सत्य के हो, सो जान्नेछौ, र सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ।” (यूह. ८:३१, ३२) यो स्वतन्त्रता मानिसहरूले एउटा राजनैतिक शासक वा शासन व्यवस्थालाई इन्कार गर्दै अर्को व्यवस्थालाई अङ्गीकार गर्दा आशा गरिएको सीमित स्वतन्त्रता जस्तो होइन। यसले मानव समस्याहरूको मूल कारणलाई समात्दछ। येशू यहाँ पाप अर्थात् पापको दासत्वबाट पाइने स्वतन्त्रताबारे छलफल गर्दै हुनु हुन्थ्यो। (यूहन्ना ८:२४, ३४-३६ हेर्नुहोस्।) अतः कुनै व्यक्ति येशू ख्रीष्टको चेला हुँदा उसको जीवनमा एउटा ठूलो परिवर्तन हुन्छ। त्यो परिवर्तनलाई छुटकारा पनि भन्न सकिन्छ।
७. (क) हामीहरू कुन अर्थमा आज पापबाट स्वतन्त्र हुन सक्तछौं? (ख) त्यस प्रकारको स्वतन्त्रता प्राप्त गर्न हामीले के गर्नु पर्दछ?
७ यसको अर्थ यो होइन कि वर्तमानमा साँचो मसीहीहरूले पापपूर्ण काम गर्ने जन्मजात झुकाउको असर महसुस गर्दैनन्। यसको विपरीत, त्यस प्रकारको प्रवृत्तिले गर्दा तिनीहरूलाई ठूलो सङ्घर्ष गर्नु पर्दछ। (रोमी ७:२१-२५) तर एक जना व्यक्ति वास्तवमा येशूको शिक्षा अनुरूप जीवन बिताउँछ भने ऊ फेरि पापको दास रहिरहने छैन। पाप उसको लागि अब एउटा राजाजस्तो हुनेछैन। त्यसले अह्राएका आज्ञाहरू पालन गर्न ऊ बाध्य हुनेछैन। उद्देश्यहीन अथवा एउटा पीडित अन्तस्करण सहितको जीवनबाट ऊ मुक्त हुनेछ। उसले परमेश्वरका सामुन्ने एउटा सफा अन्तस्करणको आनन्द उठाउनेछ। उसले येशूको बलिदानमाथि विश्वास राखेको हुनाकारण बितेको समयमा गरिएका उसका सबै पापहरू क्षमा हुनेछन्। पापपूर्ण झुकाउहरूले समय समयमा उसलाई आफ्नो वशमा ल्याउन खोज्लान्। तर उसले येशूका शिक्षाहरूलाई सम्झनेछ। ऊ ती झुकाउहरूअनुसार काम गर्न मान्ने छैन। यसप्रकार, पाप उसको मालिक होइन भन्ने कुरा उसले जाहेर गर्नेछ।—रोमी ६:१२-१७.
८. (क) साँचो मसीही धर्मले हामीलाई अझ थप कुन प्रकारको स्वतन्त्रता दिन्छ? (ख) सांसारिक शासकहरूबारे हाम्रो दृष्टिकोणमा यसले के प्रभाव पार्नु पर्दछ?
८ हामी मसीहीहरू एउटा ठूलो स्वतन्त्रताबाट आनन्द उठाउँछौं। हामीहरू झुट्टा शिक्षाहरूको प्रभावबाट, अन्धविश्वास र पापको दासत्वबाट मुक्त भएका छौं। मृतकहरूको अवस्था र पुनरुत्थानबारेका महान सत्यहरूले गर्दा हामी अकाल मृत्युको अचाक्ली डर मान्दैनौं। यस प्रकारको डरको कारण धेरै मानिसहरूले आफ्नो अन्तस्करणको आवाजलाई दबाएका छन्। असिद्ध मानवीय सरकारहरूको ठाउँमा परमेश्वरको न्याययुक्त राज्य आउनेछ। यस कुराको ज्ञानले हामीलाई निराश हुनदेखि बचाउँदछ। तर चाँडै नै यो पुरानो रीतिरिवाजको अन्त हुनेछ भन्दैमा कानुनको अवहेलना वा सरकारी अधिकृतहरूको अनादर गर्ने अनुमति हाम्रो स्वतन्त्रताले हामीलाई दिंदैन।—१ पत्रु. २:१६, १७; तित. ३:१, २.
९. (क) मानवहरूले अहिले सम्भवतः ज्यादासे ज्यादा स्वतन्त्रताको आनन्द उठाउन सकून् भनेर यहोवाले हामीलाई प्रेमपूर्ण ढङ्गमा कसरी मद्दत दिनुहुन्छ? (ख) आदमले स्वतन्त्रताको दुरुपयोग गरेको परिणाम हामीले राम्रोसङ्ग बुझेका छौं भन्ने कुरा आफूले निर्णयहरू लिंदा कसरी देखाउन सक्छौं?
९ जीवन यापन गर्ने सबैभन्दा असल तरिका बारम्बार गलती गर्दै र अनुमान लगाउँदै हामीले ठम्याएको यहोवा चाहनु हुन्न। हाम्रो बनौट, कुन कुराले हामीलाई वास्तविक सन्तोष र आत्म-गौरव अनुभव गर्न दिनेछ, र हाम्रोलागि कुनचाहिं कुरा पछिसम्मै लाभदायक हुनेछ, सबै उहाँलाई थाह छ। आफ्नो उद्देश्य कार्यान्वयन गर्ने आफ्नो समय-तालिका पनि उहाँलाई थाह छ। अतः, कुन गतिविधिहरूमा भाग लिन हाम्रोलागि सबैभन्दा उपयोगी हुनेछ, त्यो पनि उहाँ जान्नुहुन्छ। त्यसै प्रकारले एक जना व्यक्तिलाई भ्रष्ट पार्ने वा अरूसङ्गको उसको सम्बन्धलाई बिगार्ने र परमेश्वरको राज्यको आशिष समेतबाट वञ्चित गराउने विचारहरू र गतिविधिबारे पनि उहाँ जान्नुहुन्छ। बाइबल र उहाँको दृश्य सङ्गठनद्वारा प्रेमपूर्ण ढङ्गमा उहाँले हामीलाई यी सबै कुराहरूबारे थाह दिनुहुन्छ। (गला. ५:१९-२३; मर्कूस १३:१०; १ तिमो. १:१२, १३ सङ्ग तुलना गर्नुहोस्।) यसपछि, ईश्वर-प्रदत्त आफ्नो स्व-इच्छा प्रयोग गर्दै हामीले कसतो प्रतिक्रिया व्यक्त गर्नेछौं, सो निर्णय गर्ने जिम्मेवारी हाम्रो हो। तर ती निर्णयहरू बुद्धिमानीका साथ लिनु पर्दछ। मानवजातिलाई दिएको स्वतन्त्रता आदमले कसरी गुमायो भन्ने विषयमा बाइबलमा दिइएको व्याख्यालाई हामीले हृदयङ्गम गर्नु पर्दछ। यहोवासितको एउटा राम्रो सम्बन्ध राख्नु नै हाम्रो जीवनमा मुख्य चासोको विषय हो भनी हामीले देखाउनु पर्दछ।
एउटा अर्कै प्रकारको स्वतन्त्रताको चाहना
१०. मसीही हुने दाबी गर्ने कुनै कुनै व्यक्तिले कुन प्रकारको स्वतन्त्रता प्राप्त गर्न अघि लम्केका छन्?
१० कहिलेकाहीं यहोवाका साक्षीहरूको हैसियतमा हुर्केका केही नौजवानहरू, साथै अलिक कच्चा उमेरकाहरू समेतले एउटा अर्कै प्रकारको स्वतन्त्रताको चाहना गर्न थाल्दछन्। संसार हेर्नमा लोभलाग्दो हुन सक्छ। त्यसबारे जति जति तिनीहरू सोंच्तछन्, त्यत्ति त्यत्ति सांसारिक मानिसहरूले गरेका कुराहरू गर्ने इच्छा तिनीहरूमा प्रबल हुँदै जान्छ। तिनीहरूले मादक पदार्थ खाएर मस्त हुने, धेरै नै पिउने वा व्यभिचार गर्ने विचार गरेका छैनन् होला। तर स्कूल वा आफ्नो काम गर्ने समय सकिएपछि तिनीहरू सांसारिक साथीहरूसित समय बिताउन थाल्दछन्। निश्चय नै, आफ्ना नयाँ साथीहरूको नजरमा तिनीहरू स्वीकार्य हुन चाहन्छन्। यसकारण तिनीहरू ती साथीहरूका बोली-वचन र चाल-चलनको नकल गर्न थाल्छन्।—३ यूह. ११.
११. सो गर्ने प्रलोभन कहिलेकाहीं कहाँबाट आउँछ?
११ कहिलेकाहीं चाहिं सांसारिक गतिविधिमा भाग लिने प्रलोभन यहोवाको सेवक हुँ भनी दाबी गर्ने कुनै एक जना व्यक्तिबाट आउँछ। शैतानले हव्वालाई बहकाउँदा, र त्यसपछि हव्वाले उसलाई साथ दिन आदमलाई आग्रह गर्दा यस्तै भएको थियो। प्राचीन मसीहीहरूबीच पनि त्यस्तै भएको थियो। हाम्रै समयमा पनि त्यस्तो हुन्छ। यस्ता व्यक्तिहरू अक्सर चञ्चले र मोज-मज्जा रुचाउने हुन्छन्। साथै तिनीहरूले अरूहरूलाई पनि “मोज-मज्जा” गर्न उस्काउँछन्। तिनीहरू ‘आफै विनाशका दास भईकन उनीहरूलाई स्वतन्त्रताको प्रतिज्ञा गर्छन्।’—२ पत्रु. २:१८, १९.
१२. (क) सांसारिक चालचलनका दुःखदायी परिणामहरू के हुन्? (ख) त्यसमा लाग्नेहरूलाई यसको परिणाम थाह भए तापनि त्यस प्रकारका कामहरू तिनीहरू किन गरिरहन्छन्?
१२ यसको फल मीठो हुँदैन। अवैध यौनिक सम्बन्धको परिणाम अशान्त मनस्थिति हुन्छ। यसबाट रोग, अनावश्यक गर्भ-धारण र सम्भवतः वैवाहिक सम्बन्धसमेत टुट्न सक्छ। (हितो. ६:३२-३५; १ कोरि. ६:१८; १ थिस्स. ४:३-८) मादक पदार्थको दुरुपयोगले झिज्याँहट, लटपटिएको बोली, अस्पष्ट दृष्टि, रिंगटा लाग्ने, सास लिन गाह्रो हुने, मतिविभ्रम र मृत्यु समेत हुन सक्तछ। (हितोपदेश २३:२९-३५ सङ्ग तुलना गर्नुहोस्।) मादक पर्दाथको लत लागेको व्यक्तिले सो बानीलाई धान्न अपराध समेत गर्न तयार हुन्छ। यस प्रकारको गतिविधिमा लाग्नेहरूलाई अक्सर यसको परिणाम थाह हुन्छ। तर चमकदमक र शारीरिक कामुकताको तृष्णाले गर्दा परिणामबारे तिनीहरू सोच्नै चाँहदैनन्। यो त स्वतन्त्रता हो भन्दै तिनीहरूले आफ्नो मन बुझाउछन्। तर वास्तवमा तिनीहरू पापका दास भइ रहेका हुन्छन् र यो कुरा तिनीहरूले थाह पाउञ्जेल धेरै नै अबेर भइ सकेको हुन्छ। पाप एउटा अति नै क्रूर मालिक हो! हामीले यस विषयमा अहिले नै राम्रोसित सोचविचार गऱ्यौं भने यसप्रकारको अनुभवबाट आफूलाई जोगाउन सक्नेछौं।—गला. ६:७, ८.
समस्याहरू कहाँबाट सुरु हुन्छन्
१३. (क) यसप्रकारका समस्याहरू उत्पन्न गर्ने इच्छाहरू अक्सर कसरी जागृत हुन्छन्? (ख) “खराब सङ्गत” भनेको के हो भनी बुझ्न हामीलाई कसको दृष्टिकोणको आवश्यकता पर्दछ? (ग) यस अनुच्छेदको अन्तका प्रश्नहरूको उत्तर दिनु हुँदा यहोवाको दृष्टिकोणमाथि जोड दिनुहोस्। प्रत्येक प्रश्नमाथि एक एक गरी टिप्पणी दिनुहोस्।
१३ ती समस्याहरू अक्सर कहाँबाट सुरु हुन्छन्, एक छिन यसो ध्यान दिएर सोच्नुहोस्। बाइबल व्याख्या गर्दछ: “हरेक मानिस आफ्नै तृष्णाबाट खिंचिई लोभिएर परीक्षामा पर्दछ। तब तृष्णा गर्भवती भएर पापलाई जन्माउँछ, र पाप पूरा बढेपछि मृत्यु उत्पन्न गराउँछ।” (याकु. १:१४, १५) तर ती इच्छाहरू कसरी उत्पन्न हुन्छन्? मनभित्र प्रवेश हुने कुराहरूद्वारा। यो प्रायः बाइबलका सिद्धान्तहरूलाई आफ्नो जीवनमा प्रयोग नगर्नेहरूसित गरिएको सङ्गतबाट हुन्छ। निश्चय पनि, “खराब संगत” नगर्नु भन्ने कुरा हामी सबैलाई थाह छ। तर यहाँ प्रश्न यो उठ्दछ: कुनचाहिं सङ्गत खराब हो? यस विषयमा यहोवाको दृष्टिकोण के हो? निम्नलिखित प्रश्नहरू र शास्त्रपदहरूमाथि छलफल गर्नाले सही निर्णयमा पुग्ने मद्दत हामीले पाउन सक्छौं।
देख्दा कुनै कुनै व्यक्तिहरू आदर पाउने योग्यको हुँदैमा के तिनीहरू असल सङ्गत हुन सक्तछन्? (उत्पत्ति ३४:१, २, १८, १९ सङ्ग तुलना गर्नुहोस्।)
हामीले तिनीहरूसित घनिष्ठ मित्रता राख्नु मिल्छ कि मिल्दैन भन्ने कुरा सायद तिनीहरूका कुराकानी अथवा हँसीमजाकद्वारा ठम्याउन सकिन्छ कि? (एफि. ५:३, ४)
परमेश्वरको उद्देश्यबारे हामी जे विश्वास गर्दछौं, सोही कुराहरूमा तिनीहरू विश्वास गर्दैनन् भने, के यसमा हामी चिन्तित हुनु पर्ने केही कारण छ र? (१ कोरिन्थी १५:१२, ३२, ३३ सङ्ग तुलना गर्नुहोस्।)
यहोवालाई प्रेम नगर्नेहरूसित सङ्गत गर्न हामीले रोज्यौं भने उहाँले हाम्रोबारे के सोच्नु हुनेछ होला? (२ इतिहास १९:१, २ सङ्ग तुलना गर्नुहोस्।)
अविश्वासीहरू सङ्गै हामीहरूले काम गर्नु वा स्कूल जानु परे तापनि तिनीहरूलाई हामी आफ्ना साथीहरूको रूपमा रोज्दैनौं भनी कसरी देखाउन सक्छौं? (१ पत्रु. ४:३, ४)
टेलिभिजन हेर्नु, पुस्तकहरू, पत्रिकाहरू र अखबारहरू पढ्नु पनि अरूहरूसित सङ्गत गर्ने तरिकाहरू हुन्। यी श्रोतहरूमा पाइने कुन प्रकारका सामग्रीहरू हितो. ३:३१; यशै. ८:१९; एफि. ४:१७-१९)
सित होशियार हुनुपर्ने आजकल विशेष खाँचो छ? (हामीले रोजेको सङ्गतीबाट हामी कुन प्रकारका व्यक्तिहरू हौं भन्ने विषयमा यहोवाले के बुझ्नु हुनेछ? (भजन. २६:१, ४, ५; ९७:१०)
१४. परमेश्वरको वचनअनुसारको सल्लाहलाई अहिले विश्वासपूर्वक प्रयोगमा ल्याउनेहरूका अगाडि के महान स्वतन्त्रता राखिएको छ?
१४ परमेश्वरको नयाँ रीतिरिवाज बिल्कुलै हाम्रो अगाडि छ। उहाँको राज्यद्वारा शैतान र त्यसको सारा दुष्ट रीतिरिवाजको दासत्वबाट मानवजाति मुक्त गरिनेछ। मानवजातिबाट पापका सबै प्रभावहरू क्रमशः हटाइनेछन्। प्रमोदवनमा अनन्त जीवन तिनीहरूका अगाडि हुनेछ। अन्ततोगत्वा सारा सृष्टिले “यहोवाको [न्यु व०] आत्मा” अनुरूपको स्वतन्त्रताको आनन्द उठाउनेछ। (२ कोरि. ३:१७) अहिले परमेश्वरको वचनको सल्लाहलाई हल्का ठानेर ती सबै कुरा गुमाउने खतरा मोल्नु के मनासिब छ र? आज हामीले जुनप्रकारबाट आफ्नो मसीही स्वतन्त्रताको सदुपयोग गर्दछौं, हामी त्यसबाट वास्तवमा “परमेश्वरको सन्तानको महिमाको स्वतन्त्रता” चाहन्छौं भनी स्पष्टसङ्ग देखाऊँछौं।—रोमी ८:२१.
पुनरावलोकन एवं छलफल
• प्रथम मानव जोडीले कुन प्रकारको स्वतन्त्रताको आनन्द उठाए? अहिले मानवजातिले अनुभव गरिरहेको स्वतन्त्रतासित त्यसको तुलना कसरी गर्न सकिन्छ?
• साँचो मसीहीहरूसङ्ग संसारभन्दा भिन्न कुन स्वतन्त्रता छ? यो कसरी सम्भव छ?
• संसारमा पाइने स्वतन्त्रताको खोजी गर्नेहरूले के मोल चुकाउनु पर्दछ?
• “खराब सङ्गत” बाट अलग रहनु त्यत्तिको महत्त्वपूर्ण किन हो? आदमजस्तो नभएर, खराबीको परिभाषाबारे हामी कसले गरेका निर्णयहरू स्वीकार्दछौं?
[अध्ययनका लागि प्रश्नहरू]