यहोवाको उद्देश्यले महान सफलता प्राप्त गर्दछ
अध्याय २४
यहोवाको उद्देश्यले महान सफलता प्राप्त गर्दछ
१, २. (क) सोच्ने क्षमता भएका आफ्ना सारा सृष्टिका लागि यहोवाको उद्देश्य के हो? (ख) परमेश्वरका उपासकहरूको संयुक्त परिवारमा कसकसलाई सम्मिलित गरिएको थियो? (ग) यसबारे कुनचाहिं व्यक्तिगत प्रश्न विचारयोग्य छ?
सोच्ने क्षमता भएका सारा सृष्टिले साँचो उपासनामा एकताबद्ध भएर परमेश्वरको सन्तानको महिमावान स्वतन्त्रताबाट आनन्द उठाउन पाउनु—त्यही नै यहोवाको बुद्धिमत्तापूर्ण र मायालु उद्देश्य हो। धार्मिकताका सबै प्रेमीहरूको हृदयको चाहना पनि यही हो।
२ सृष्टि गर्ने आफ्नो कार्य सुरु गर्नु भएदेखि नै यहोवाले यो महान उद्देश्यलाई पूरा गर्न थाल्नुभयो। उहाँले प्रथमतः एकजना पुत्र सृजनु भएको थियो जो “उहाँको महिमा र परमेश्वरकै तत्त्वको प्रतिबिम्ब” प्रमाणित हुनुभयो। (हिब्रू १:१-३) उहाँजस्तो अरू कोही पनि हुन सक्तैन थियो किनकि उहाँलाई स्वयं परमेश्वरले नै सृष्टि गर्नु भएको थियो। उहाँद्वारा नै अरू पुत्रहरूको सृष्टि गरियो अर्थात् पहिले स्वर्गमा स्वर्गदूतहरू अनि पृथ्वीमा मानव। (अय्यु. ३८:७; लूका ३:३८) यी सबै पुत्रहरू मिलेर एउटा विश्व-व्यापी परिवार बन्यो। ती सबैले उपासना गर्नुपर्ने यहोवा नै एक मात्र परमेश्वर हुनुहुन्थ्यो। उहाँ नै विश्वको सर्वोच्च शासक हुनुहुन्थ्यो। उहाँ नै तिनीहरूको मायालु पिता पनि हुनुहुन्थ्यो। के उहाँ तपाईंको पनि पिता हुनुहुन्छ र के तपाईं उहाँका छोराहरूमध्ये एक जना हुनुहुन्छ? यो एउटा अति नै बहुमूल्य सम्बन्ध हुन सक्छ!
३. (क) जन्मदेखि नै हामीमध्ये कोही पनि परमेश्वरका पुत्रहरू किन होइनौं? (ख) तर यहोवाले आदमका सन्तानका निम्ति के मायालु प्रबन्ध मिलाउनु भयो?
३ तथापि हाम्रो प्रथम मानव आमा-बाबुले जानाजानी पाप गरेर मृत्यु-दण्ड पाएपछि तिनीहरू अदनबाट निष्कासित भए। तिनीहरू परमेश्वरद्वारा त्यागिएका थिए भन्ने कुरा हामीले स्वीकार्नै पर्छ। तिनीहरू यहोवाको विश्वव्यापी परिवारको एउटा भाग हुन छाडे। (उत्प. ३:२२-२४; व्यवस्था ३२:४, ५ सङ्ग तुलना गर्नुहोस्।) हामी सबै नै पापी आदमका सन्तान भएका हुनाले पापपूर्ण प्रवृत्तिसाथ जन्मिएका छौं। परमेश्वरको परिवारबाट निष्कासित भएका आमा-बाबुका हामी सन्तान भएका हुनाले हाम्रो मानव जन्मको आधारमा मात्र हामीले परमेश्वरका पुत्रहरू हुने दाबी गर्न सक्तैनौं। तापनि आदमका सन्तानहरूमध्येका केहीले चाहिं धार्मिकतालाई प्रेम गर्नेछन् भनी यहोवालाई थाह थियो। अतः यसप्रकारका व्यक्तिहरूले परमेश्वरका पुत्रहरूको स्वतन्त्रता प्राप्त गर्न सकून् भनेर उहाँले प्रेमपूर्ण ढङ्गमा एउटा प्रबन्ध गरी दिनुभयो।—रोमी ८:२०, २१.
इस्राएलले पाएको विशेष स्थान
४. (क) इस्राएलीहरू कुन कुराको आधारमा परमेश्वरका “सन्तान” थिए? (ख) यसको अर्थ के थिएन?
४ आदमको सृष्टि भएको लगभग २,५०० वर्षपछि यहोवाले कुनै कुनै मानवहरूलाई उहाँका पुत्रहरू हुने सुअवसर फेरि प्रदान गर्नुभयो। अब्राहामसँग उहाँले गर्नुभएको वाचाअनुसार यहोवाले इस्राएललाई आफ्ना मानिसहरू हुन छान्नुभयो। अतः, मिस्रका फिरऊनसित कुरा गर्नुहुँदा उहाँले इस्राएललाई “मेरो छोरो” भनेर सम्बोधन गर्नुभयो। (प्रस्थ. ४:२२, २३; उत्प. १२:१, २) पछि उहाँले सीनै पर्वतमा इस्राएललाई आफ्नो व्यवस्था दिनुभयो, ती मानिसहरूलाई एउटा राष्ट्रको रूपमा गठन गर्नुभयो र तिनीहरूलाई आफ्नो उद्देश्य पूरा गर्ने सिलसिलामा प्रयोग गर्नुभयो। तिनीहरू यहोवाको “निज प्रजा” भएका हुनाले तिनीहरू एउटा राष्ट्रिय दृष्टिकोणबाट परमेश्वरका “पुत्रहरू” कहलाइन्थ्ये। (व्यव. १४:१, २; यशै. ४३:१) साथै त्यस राष्ट्रका कुनै कुनै व्यक्तिहरूसँग यहोवाले विशेष सम्बन्ध राख्नु भएको हुनाकारण तिनीहरू उहाँका पुत्रहरू पनि कहलिए। (१ इति. २२:९, १०) यो सम्बन्ध परमेश्वरसँगको वाचामा आधारित थियो। तथापि, तिनीहरूले त्यस महिमावान स्वतन्त्रताको आनन्द उठाउन सकेनन् जुनचाहिं आदमले परमेश्वरको पुत्रको हैसियतमा अनुभव गरेका थिए। तिनीहरू अझ पनि पाप र मृत्युको बन्धनमै थिए।
५. इस्राएलीहरूले परमेश्वरको सामुन्ने आफ्नो विशेष स्थान कसरी गुमाए?
५ तापनि पुत्रहरूको हैसियतमा तिनीहरूले परमेश्वरसित एउटा विशेष सम्बन्ध कायम राख्न सके। आफ्नो पिताको आदर गर्ने र उहाँको उद्देश्यअनुसार काम गर्ने जिम्मेवारी पनि तिनीहरूको थियो। यस जिम्मेवारीलाई पूरा गर्ने महत्त्वमाथि येशूले जोड दिनुभयो। तिनीहरूले परमेश्वरलाई आफ्नो पिता ठान्नु यथेष्ट थिएन। तिनीहरूलाई ‘उहाँका सन्तान प्रमाणित हुनु’ आवश्यक थियो। (मत्ती ५:४३-४८; मला. १:६) तर यसो गर्न यहूदीहरू राष्ट्रिय तवर्मा असफल भए। अतः येशूको पार्थिव सेवकाईको अन्तिम वर्षमा उहाँलाई मार्न खोज्ने यहूदीहरूले “हाम्रा एउटै पिता हुनुहुन्छ, अर्थात् परमेश्वर” भनेर दाबी गरे तापनि यो दाबीलाई तिनीहरूको काम-कुरा र मनोवृत्तिले झुट्टा साबित गराइरहेको थियो भन्ने कुरा येशूले दृढतासाथ बताइ दिनुभयो। (यूह. ८:४१, ४४, ४७) सा. यु. ३३-मा परमेश्वरले वाचाको व्यवस्थालाई अन्त गरी दिनुभयो। यसका साथसाथै जुन आधारमा इस्राएलीहरूले एउटा विशेष सम्बन्धको आनन्द उठाइ रहेका थिए, त्यो आधार पनि अन्त भयो। तरै पनि मानव परिवारमा यहोवाले आफ्ना पुत्रहरूको रूपमा स्वीकार गर्नु हुने व्यक्तिहरूको अन्तचाहिं भएन।
यहोवाले आफ्ना जनहरूलाई एकताबद्ध गर्नुहुन्छ
६. एफिसी १:९, १०-मा पावलले कुन “प्रबन्ध”-को वर्णन गरे र त्यसको उद्देश्य के हो?
६ आफ्ना जनहरूलाई एकताबद्ध गराउने अर्थात् विश्वास गर्नेहरूलाई उहाँको परिवारका प्रिय सदस्यहरू बनाउने यहोवाको उद्देश्य र प्रबन्धबारे एफिसीका मसीहीहरूलाई प्रेरित पावलले यसप्रकार लेखे: “हामीलाई उहाँकै [परमेश्वरकै] इच्छाको रहस्य जान्न दिनुभएर उहाँको अभिप्रायअनुसार, जो उहाँले ख्रीष्टमा ठहराउनु भयो, चाहे स्वर्गका, चाहे पृथ्वीका, सबै कुरा [पारिवारिक प्रबन्ध] ख्रीष्टमा गाभ्नालाई समयको पूर्णताको प्रबन्धको निम्ति।” (एफि. १:९, १०) यो “प्रबन्ध” येशूमा केन्द्रित छ। उहाँद्वारा नै मानिसहरू परमेश्वरको सामुन्ने ग्रहणयोग्य हुन सक्छन् र यहोवाप्रति वफादार प्रमाणित भएका स्वर्गदूतहरूसित एकता बद्ध भएर सेवा गर्नका लागि कसैकसैले स्वर्गमा जाने र कसैकसैले चाहिं पृथ्वीमा बस्ने आशा राख्न सक्छन्।
७. “स्वर्गका कुराहरू” के हुन् र तिनीहरूलाई एक साथ जम्मा गर्नुको अर्थ के हो?
७ प्रथमतः, सा. यु.-३३ को पेन्तिकोसदेखि “स्वर्गका कुराहरू” अर्थात् ख्रीष्टसँग उहाँको स्वर्गीय राज्यमा साझे हकवाला हुनेहरूलाई ध्यान दिइयो। येशूको बलिदानमाथि तिनीहरूको विश्वासको आधारमा तिनीहरूलाई परमेश्वरले धर्मी ठहराउनु भयो। (रोमी ५:१, २) यसपछि तिनीहरू “नयाँ गरी जन्मिए,” अर्थात् परमेश्वरका पुत्रहरूको हैसियतमा स्वर्गीय जीवन पाउने अधिकार तिनीहरूलाई दिइयो। (यूह. ३:३; १:१२, १३) यिनीहरूलाई एउटा आत्मिक राष्ट्रको रूपमा गठन गर्नु भएर यिनीहरूसित नै परमेश्वरले एउटा नयाँ वाचा बाँध्नु भयो। समय बित्दै जाँदा त्यसमा यहूदी र अन्य जातिका मानिसहरू दुवै सम्मिलित भएर तिनीहरूको संख्या जम्मा १,४४,००० हुने थियो।—गला. ३:२६-२९; प्रकाश १४:१.
८. पितासित राज्यका हकवालाहरूको र मोशाको व्यवस्थाको अधीनमा भएका यहूदीहरूको सम्बन्धमा के भिन्नता छ?
८ शारीरिक तवर्मा असिद्ध भए तापनि स्वर्गीय राज्यका यी हकवालाहरूका शेष जनहरूले पितासँग एउटा बहुमूल्य र घनिष्ठ सम्बन्धको आनन्द उठाउँछन्। यसबारे पावलले लेखे: “औ तिमीहरू पुत्र भएका हुनाले, परमेश्वरले आफ्ना पुत्रको ‘हे अब्बा! पिता!’ भनी कराउने आत्मा हाम्रा हृदयमा पठाइदिनुभएको छ। यसैकारण, तिमी अब उप्रान्त दास होइनौ, तर पुत्र हौ, र पुत्र हौ भनेता परमेश्वरद्वारा हकवाला पनि हौ।” (गला. ४:६, ७) अब्बा भन्ने आरामी अभिव्यक्तिको अर्थ “पिता” हो। तर यो एउटा स्नेहपूर्ण सम्बोधन हो। यो एकजना सानो बालकले आफ्नो पितालाई बोलाउँदा प्रयोग गरिने अभिव्यक्ति हो। येशूको बलिदानको विशिष्टता र परमेश्वरको अनुग्रहले गर्दा आत्माद्वारा अभिषिक्त यी मसीहीहरूले परमेश्वरसित एउटा अति नै घनिष्ठ सम्बन्ध कायम राख्न सक्छन्। असिद्ध मानिसहरूका लागि व्यवस्था अन्तर्गत् यसप्रकारको आत्मीयता कायम राख्न कुनै हालतमा पनि सम्भव थिएन। तथापि तिनीहरूले अझ धेरै नै अद्भुत कुराहरू अनुभव गर्न बाँकी नै छ।
९. सम्पूर्णतया परमेश्वरको पुत्र हुन पाउनुको अर्थ के हुनेछ?
९ मृत्युसम्मै विश्वासी रहे भने तिनीहरूले स्वर्गमा पुनरुत्थान पश्चात् अमरत्व पाउने छन् र पुत्र हुने अधिकार पनि पूर्ण रूपमा प्राप्त गर्नेछन्। त्यहाँ यहोवा परमेश्वरको उपस्थितिमा एक भएर सेवा गर्ने सुअवसर तिनीहरूलाई दिइनेछ। परमेश्वरका यी पुत्रहरूको एउटा सानो सङ्ख्या मात्र हाल पृथ्वीमा बाँकी छ।—रोमी ८:१४, २३; १ यूह. ३:१, २.
“पृथ्वीका सबै कुरा”-लाई जम्मा गर्नु
१०. (क) “पृथ्वीका कुराहरू” के हुन्, र उपासनासित सम्बन्धित एकतामा तिनीहरूलाई कहिलेदेखि जम्मा गर्न थालियो? (ख) यहोवासँग तिनीहरूको के सम्बन्ध छ?
१० परमेश्वरको परिवारमा स्वर्गीय जीवन पाउनका लागि मानिसहरूलाई जम्मा गर्ने “प्रबन्ध”-मा ‘पृथ्वीका कुराहरू’ जम्मा गर्ने काम पनि सम्मिलित छ। खासगरी सा. यु. १९३५ देखि ख्रीष्टको बलिदानमा विश्वास गर्दै पृथ्वीमा अनन्त जीवन पाउने आशा राख्ने मानिसहरूलाई जम्मा गरिएको छ। शेष अभिषिक्त जनहरूका साथ काँधमा काँध मिलाएर तिनीहरूले यहोवाको नाउँलाई महिमित पार्दछ र उहाँको उपासनालाई उच्च स्थान दिन्छन्। (सप. ३:९; यशै. २:२, ३) गहिरो श्रद्धाका साथ तिनीहरूले यहोवा नै जीवनको स्रोत हुनुहुन्छ भनी स्वीकार गर्दछन्। यसले गर्दा तिनीहरूले पनि उहाँलाई “पिता” भनी सम्बोधन गर्न सक्छन्। साथै उहाँले आफ्ना छोराहरूमा देख्न चाहनु हुने गुणहरू प्रतिबिम्बित गर्न तिनीहरूले पनि इमान्दारीका साथ प्रयास गर्दछन्। येशूको बगेको रगतमा तिनीहरूको विश्वासको आधारमा तिनीहरू उहाँका सामु ग्रहणयोग्य हुन्छन्। (मत्ती ६:९; प्रकाश ७:९, १४) तर परमेश्वरले तिनीहरूलाई आफ्ना पुत्रहरूको रूपमा सम्पूर्णतया स्वीकार गर्नुहुने समयचाहिं भविष्यमा आउन बाँकी नै छ भनी तिनीहरू जान्दछन्।
११. (क) मानवजातिका निम्ति रोमी ८:१९-२१ मा के प्रतिज्ञा गरिएको छ? (ख) तिनीहरूले बडो उत्सुकतासाथ प्रतिक्षा गरेको “परमेश्वरका छोराहरू प्रकट” हुने समय के हो?
११ रोमी ८:१९-२१ अनुसार “परमेश्वरका छोराहरू प्रकट” हुने समयका लागि तिनीहरू बडो उत्सुकताका साथ पर्खिबसेका छन्। त्यति बेला मानव सृष्टिमध्येका यी जनहरूले “विनाशको बन्धनबाट छुटकारा” पाउनेछन्। यस कुराको “प्रकाश” त्यसबेला हुनेछ जब आत्माद्वारा अभिषिक्त परमेश्वरका पुत्रहरूले स्वर्गीय इनाम पाएर तिनीहरूका महिमित प्रभु येशू ख्रीष्टका सहकर्मीहरूको रूपमा तिनीहरू कार्यरत भएको प्रमाण पृथ्वीका मानिसहरूले देख्नेछन्। सारा दुष्ट रीतिरिवाजको विनाश र “परमेश्वरका छोराहरू” राजा र पूजाहारीको हैसियतमा ख्रीष्टसँग साझेदार भएर काम गर्ने उहाँको हजार वर्षीय राज्यका आशिषहरूद्वारा यी सबै कुरा स्पष्टसँग देखिनेछ।—प्रकाश २:२६, २७; २०:६.
१२. महा सङ्कष्टपछि आत्माद्वारा अभिषिक्त परमेश्वरका विजयी छोराहरूले प्रशंसाको कुन गीत गाउनमा भाग लिनेछन् र यसको अर्थ के हो?
१२ त्यो कस्तो हर्षोल्लासपूर्ण समय हुनेछ जब महा सङ्कष्ट समाप्त भइसकेपछि परमेश्वरका यी पुत्रहरूले ख्रीष्टसँग स्वरमा स्वर मिलाएर परमेश्वरको प्रशंसा गर्दै आनन्दका साथ यो घोषणा गर्नेछन्: “हे परमप्रभु, परमेश्वर सर्वशक्तिमान, तपाईंका काम ठूला र आश्चर्यपूर्ण छन्। तपाईं युगयुगका महाराजा, तपाईंका मार्ग धार्मिक र सत्य छन्। हे परमप्रभु, तपाईंको डर कसले मान्दैन? र तपाईंको नाउँको महिमा कसले गर्दैन? किनकि तपाईं मात्र पवित्र हुनुहुन्छ। सबै जातिहरू तपाईंको सामने आएर दण्डवत् गर्नेछन्। किनकि तपाईंको धार्मिक कार्यहरू प्रकट भएका छन्”! (प्रकाश १५:३, ४) हो, पहिलेका विभिन्न जातिहरूबाट आएका मानिसहरू साँचो परमेश्वरको उपासनामा एक हुनेछन्। चिहानहरूमा हुनेहरूको पनि पुनरुत्थान हुनेछ र तिनीहरूले पनि यहोवाको प्रशंसा गर्ने सुअवसर पाउनेछन्।
१३. महा सङ्कष्टमा बाँच्नेहरूले तुरुन्तै कुन प्रकारको अद्भुत स्वतन्त्रता अनुभव गर्नेछन्?
१३ फेरि कहिल्यै शैतान अर्थात् दियाबल “यस संसारको देव” हुनेछैन। पृथ्वीमा भएका यहोवाका उपासकहरूले त्यसको दुष्ट प्रभावसँग फेरि सङ्घर्ष गर्ने खाँचोपर्ने छैन। (२ कोरि. ४:४; प्रकाश २०:१-३) हाम्रो मायालु परमेश्वरको गलत प्रतिनिधित्व गर्दै मानव समाजमा फूट उत्पन्न गर्ने मौका झूटो धर्मले फेरि पाउने छैन। त्यसपछि सरकारी ओहदामा बस्ने मानिसहरूको हातबाट परमेश्वरका सेवकहरूले अन्याय र शोषण अनुभव गर्नुपर्ने छैन। महा सङ्कष्टमा बाँच्नेहरूका लागि यो कस्तो अद्भुत स्वतन्त्रताको सुरुआत हुनेछ!
१४. पाप र त्यसका सबै असरहरूबाट तिनीहरू कसरी मुक्त हुनेछन्?
१४ “संसारको पाप उठाइ लैजाने परमेश्वरको थुमा”-को हैसियतमा येशू ख्रीष्टले आफ्नो बलिदानको मोलको प्रयोग गर्नु हुनेछ। मानवजातिले बितेको समयमा गरेका जम्मै पापहरू रद्द गरिनेछन्। (यूह. १:२९) पृथ्वीमा छँदा येशूले कुनै व्यक्तिका पापहरू क्षमा गरी दिनुहुँदा ती व्यक्तिलाई निको पनि पारिदिनु हुन्थ्यो। (मत्ती ९:१-७) त्यसैगरी उहाँले अन्धा, बहिरा, लाटो, अपङ्ग, मानसिक रोग लागेका र अन्य प्रकारका व्यथा भएकाहरूलाई स्वर्गबाट चमत्कारपूर्ण रीतिले निको पारी दिनु हुनेछ। सबै इच्छुक र आज्ञाकारी जनहरूले आफूलाई परमेश्वरका धार्मिक मार्गहरू अनुरूप क्रमशः ढाल्नेछन्। यसप्रकार तिनीहरू कुनै रीतिले पनि “पापको अधीनमा” हुने छैनन्। तिनीहरूको काम, सोचविचार र हृदयका अभिलाषाहरू सबै तिनीहरूको आफ्नो नजरमा र परमेश्वरको सामु ग्रहणयोग्य हुनेछ। (रोमी ७:२१-२३; यशैया २५:७, ८ र प्रकाश २१:३, ४ सङ्ग तुलना गर्नुहोस्।) हजार वर्षे राज्यको अन्त हुनुभन्दा अघि नै तिनीहरू पाप र त्यसका सारा दुःखदायी असरहरूबाट मुक्त हुनेछन्। सारा पृथ्वीलाई ढाक्ने एउटा पार्थिव प्रमोदवनमा तिनीहरूले ‘परमेश्वरको स्वरूप र प्रतिरूप’-लाई उचित रूपमा प्रतिबिम्बित गर्नेछन्।—उत्प. १:२६.
१५. हजार वर्षे राज्यको अन्तमा ख्रीष्टले के कदम उठाउनु हुनेछ र कुन उद्देश्यले?
१५ ख्रीष्टले मानवजातिलाई सिद्धावस्थामा ल्याइसक्नु भएपछि सो काम सम्पन्न गर्नका लागि पाउनु भएको अधिकारलाई उहाँले फेरि आफ्नो पितालाई फर्काइ दिनु हुनेछ। पहिलो कोरिन्थी १५:२८-मा अग्रिमवाणी गरेअनुसार: “जब सबै कुरा उहाँको [पुत्रको] अधीनमा भएका हुन्छन्, तब परमेश्वर सबैमा सर्वश्रेष्ठ हुनालाई, सबै कुरा उहाँको अधीनमा ल्याउनुहुने पुत्र पनि उहाँको अधीनमा हुनुहुनेछ।”
१६. सिद्धता प्राप्त गरेका सबै मानवहरूले के को सामना गर्नु पर्नेछ र किन?
१६ यी कुराहरू पश्चात्, सिद्धता प्राप्त मानवजातिको एक मात्र र अपरिवर्तनीय फैसला जीवित र सच्चा परमेश्वरको सेवा गर्नु हो भनेर प्रमाणित गर्ने मौका तिनीहरूले पाउनेछन्। अतः सिद्धता प्राप्त ती मानिसहरूलाई येशू ख्रीष्टद्वारा पुत्रहरूको रूपमा यहोवाले स्वीकार गर्नुभन्दा अघि आखिरी पटक उहाँले तिनीहरूको एउटा निर्णायक जाँच गर्नु हुनेछ। यसका लागि शैतान र त्यसका प्रेतहरू अगाध खाँदबाट छाडिनेछन्। तापनि, यहोवालाई साँचो हृदयले प्रेम गर्नेहरूको कुनै विशेष हानि हुनेछैन। तर आफ्नो वफादारी कायम नराखेर यहोवाप्रति अनाज्ञाकारी हुनेहरू चाहिं सुरुको विरोधी र त्यसका प्रेतहरूका साथै सदाका लागि नाश गरिनेछन्।—प्रकाश २०:७-१०.
१७. यहोवाको उद्देश्य पूरा हुँदा सोच्ने क्षमता हुने उहाँका सारा सृष्टिको बीच फेरि कुन प्रकारको परिस्थिति कायम हुनेछ?
१७ त्यो आखिरी र निर्णायक जाँचको सामना गर्न सक्ने सबै नै सिद्ध मानवहरूलाई यहोवाले प्रेमसहित ख्रीष्टद्वारा आफ्ना पुत्रहरूको रूपमा स्वीकार्नु हुनेछ। यसपछि तिनीहरूले “परमेश्वरको सन्तानको महिमाको स्वतन्त्रतामा” सम्पूर्णतया भाग लिनेछन्। (रोमी ८:२१) बल्ल तिनीहरू परमेश्वरको विश्वव्यापी एकताबद्ध परिवारमा समावेश हुनेछन्। तिनीहरू सबैका लागि यहोवा सदाका निम्ति एक मात्र परमेश्वर, सर्वोच्च शासक र तिनीहरूको मायालु पिता हुनु हुनेछ। तब भने स्वर्ग र पृथ्वीमा भएका समस्त बौद्धिक सृष्टि फेरि एक मात्र साँचो परमेश्वरको उपासनामा एकताबद्ध हुनेछन्।
पुनरावलोकन एवं छलफल
• अदनमा विद्रोह हुनुभन्दा अघि यहोवासित उहाँका सबै उपासकहरूको कस्तो सम्बन्ध थियो?
• परमेश्वरका सन्तानको जिम्मावारी के हो?
• आज परमेश्वरका सन्तान को हुन्? अझै अरू को को परमेश्वरका सन्तान हुनेछन् र एकताबद्ध उपासना सम्बन्धी यहोवाको उद्देश्यसित यसको के सम्बन्ध छ?
[अध्ययनका लागि प्रश्नहरू]