सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाको दिनको बाटो हेर्दै बस्नुहोस्‌

यहोवाको दिनको बाटो हेर्दै बस्नुहोस्‌

अध्याय २३

यहोवाको दिनको बाटो हेर्दै बस्नुहोस्‌

१. (क) यस पुरानो रीतिरिवाजका पीडाहरूबाट छुटकारा नजिकै छ भनी तपाईंले पहिलो पटक सिकनुहुँदा तपाईंको प्रतिक्रिया कस्तो थियो? (ख) यस सम्बन्धमा कुन कुन प्रश्‍नहरूलाई हामीले गम्भीरतापूर्वक विचार गर्नुपर्दछ?

 वर्तमान रीतिरिवाजमा अनुभव गरिने दुःखदायी परिस्थितिहरूबाट छुटकारा पाउने समय अब नजिकै छ। निःसन्देह, बाइबल अध्ययन गर्दा तपाईंले सबैभन्दा पहिले सिक्नु भएको कुरा यही नै थियो। (लूका २१:२८) सारा पृथ्वीलाई एउटा प्रमोदवन बनाउनु नै परमेश्‍वरको उद्देश्‍य हो भनेर तपाईंले बुझ्नु भयो। अपराध, युद्ध, बिमारी र मृत्यु कहिल्यै हुनेछैन र मरेका हाम्रा प्रियजनहरूसमेत फेरि बाँच्नेछन्‌। कस्तो हृदयस्पर्शी आशा! यी सबै अब चाँडै नै हुनेछ भनेर १९१४-देखि राजाको हैसियतमा ख्रीष्ट अदृश्‍य रूपले उपस्थित हुनुभएको र त्यही सालदेखि हामी यो दुष्ट संसारका अन्तिम दिनहरूमा बाँची रहेका छौं भन्‍ने प्रमाणले थप पुष्टि दिन्छ। के यी कुराहरूको जानकारीले तपाईंको जीवनमा परिवर्तनहरू ल्याउन सकेको छ? ‘यहोवाको दिन’ नजिकै छ भनी तपाईं वास्तवमा विश्‍वास गर्नुहुन्छ भनेर के तपाईंको जीवनशैलीद्वारा प्रमाणित हुन्छ?

२. (क) ‘यहोवाको दिन’ कहिले आउँनेछ? (ख) यहोवाले त्यो “दिन वा घड़ी” प्रकट नगरी दिनु भएको कुरा कसरी लाभदायक हुन गएको छ?

धर्मशास्त्रले स्पष्टसँग देखाउँछ कि ख्रीष्टको उपस्थितिको सुरुआत देख्ने “पुस्ताले” यहोवाको “भयानक दिन” पनि देख्नेछ। (मत्ती २४:३४; सप. १:१४–२:३) त्यतिखेर अधर्मी कामकुरा गर्ने सबैका विरुद्धमा उहाँले न्याय गर्नुहुनेछ। त्यो “पुस्ता” अब धेरैजसो बितिसकेको छ। तर शैतानको पार्थिव रीतिरिवाजको विरुद्धमा यहोवाको दण्ड निष्पादनकर्त्ताको रूपमा येशू ख्रीष्ट आउनु हुने दिन बाइबलमा तोकिएको छैन। येशूले भन्‍नुभयो: “त्यस दिन कि त्यस घड़ीको विषयमा पिताले बाहेक अरू कसैले जान्दैन—नता स्वर्गमा हुने स्वर्गदूतहरूले, न पुत्रले।” (मर्कूस १३:३२) यसो हुनु अति नै लाभदायक साबित भएको छ। कुन तरिकामा? यसले मानिसहरूको हृदयमा भएको कुरालाई जाहेर गर्ने मदत दिएको छ। जसजसले यहोवालाई वास्तवमा प्रेम गर्दैनन्‌, तिनीहरूमा “यहोवाको दिनलाई” आफ्नो मनबाट टाढा राख्दै सांसारिक काम-धन्दातिर लाग्ने झुकाव हुन्छ। यहोवाले आफ्नो सेवकको रूपमा ती व्यक्‍तिहरूलाई स्वीकार्नु हुन्छ जसले यहोवालाई साँच्चै नै प्रेम गर्दछन्‌ र यो दुष्ट रीतिरिवाजको अन्त जहिले सुकै आउने भए तापनि तनमन लगाएर उहाँको सेवा गर्दै उहाँप्रति आफ्नो प्रेम प्रदर्शन गर्छन्‌। आले-टालेगर्नेहरू वा दोमनका हुनेहरूमाथि परमेश्‍वर र उहाँको पुत्रको अनुमोदन हुँदैन।—प्रकाश ३:१६; भजन. ३७:४; १ यूह. ५:३.

३. यस विषयमा हामीलाई सतर्क पार्न येशूले के भन्‍नुभयो?

यहोवाका प्रेमीहरूलाई सावधान गराउनु हुँदै येशूले भन्‍नुभयो: “होशियार रहो, जागा बस र प्रार्थना गर, किनकि त्यो बेला कहिले हुने हो सो तिमीहरू जान्दैनौ।” (मर्कूस १३:३३-३७) खानु, पिउनु अथवा “जीवनका फिक्रीहरू”-मा अति नै धेरै ध्यान नदिनु नत्रता समयको गम्भीरतालाई हामी बिर्सन सक्छौं भनेर येशूले हामीलाई यहाँ आग्रह गर्नुहुन्छ।—लूका २२:३४-३६; मत्ती २४:३७-४२.

४. पत्रुसले व्याख्या गरेअनुसार, ‘यहोवाको दिन’ द्वारा के सम्भव हुनेछ?

‘परमेश्‍वरको त्यस दिनको बाटो हेर्ने गर जब आगलागी भएको आकाश पग्लिहाल्नेछ र तत्त्वहरू चाहिं उखुम गर्मीले गलिहाल्नेछ’ भनेर पछि प्रेरित पत्रुसले पनि साँचो विश्‍वास हुनेहरू सबैलाई सल्लाह दिए। “परमेश्‍वरको दिन”-को निकटता एउटा यस्तो वास्तविकता हो जसको हेलचक्र्‌याइँ हामी कसैले गर्न मिल्दैन। स्वर्गसित तुल्ना गरिएका सरकारहरू र दुष्ट मानव समाजको ठाउँमा चाँडै नै परमेश्‍वरद्वारा निर्मित “नयाँ स्वर्ग र नयाँ पृथ्वी” आउनेछ। वर्तमान दुष्ट रीतिरिवाजसँग मिल्ने “तत्त्वहरू” अर्थात्‌ यसको स्वतंत्र मनोवृत्ति, अनैतिक र भौतिकवादी जीवनशैली सबै नै “परमेश्‍वरको दिनको” उखुम गर्मीमा नाश हुनेछन्‌। (२ पत्रु. ३:१०-१३) हामी सतर्क भएर बस्नु पर्दछ किनभने संसार थर्काउने यी घटनाहरू कुनै पनि बेला सुरु हुन सक्छन्‌।—मत्ती २४:४४.

चिन्ह पूरा गर्ने घटनाहरूतर्फ सचेत रहनुहोस्‌

५. (क) मत्ती २४:३-मा उल्लिखित प्रश्‍नका लागि येशूले दिनु भएको जवाफ यहूदीहरूको व्यवस्थाको अन्त हुँदा कुन हद्‌सम्म पूरा भयो? (ख) उहाँको जवाफको कुन भागहरूले सा. यु. १९१४-देखि यताको घटनाहरूतर्फ हाम्रो ध्यान आकर्षित गर्दछ?

हामी बाँची रहेको समयलाई विशेष ध्यान दिंदै “अखिरी दिन” वा “जगतको अन्तको” संयुक्‍त चिन्हका विवरणहरूसँग परिचित हुनु हाम्रोनिम्ति असल हुनेछ। त्यस चिन्हलाई सही ढङ्‌गमा बुझ्नका लागि हामीले यो एउटा कुरा बिर्सनु हुँदैन, अर्थात्‌ मत्ती २४:३-मा उल्लिखित आफ्ना चेलाहरूको प्रश्‍नलाई उत्तर दिनु हुँदा येशूले भन्‍नु भएका केही कुराहरू प्रथम शताब्दीमा यहूदी व्यवस्थाको अन्त हुँदा नै पूरा भयो। तापनि त्यसको विशेष पूर्ति चाहिं त्यस समयभन्दा धेरै नै पछि हुनेथियो। चौथो पद देखिन्‌ २२ पदसम्ममा उहाँले वर्णन गर्नु भएका कुराहरू सा. यु. ३३ र सा. यु. ७०-का बीचका सालहरूमा एउटा सानो स्तरमा पूरा भएको थियो। तर त्यस भविष्यवाणीको ठूलो पूर्तिचाहिं हाम्रो समयमा हुनेछ। त्यसले १९१४-देखिन्‌ यताको समयलाई ख्रीष्टको “आगमन [उपस्थिति, न्यु व.] र जगतको अन्तको समय” हो भनी सङ्‌केत गर्छ। (मर्कूस १३:५-२० र लूका २१:८-२४ पनि) मत्ती २४:२३-२८ ले हामीलाई सा. यु. ७० देखिन्‌ ख्रीष्टको उपस्थितिसम्म हुने कुराहरूको व्याख्या गर्दछ। (मर्कूस १३:२१-२३ ले पनि।) साथै, मत्ती २४:२९ देखि २५ अध्यायको अन्तसम्ममा वर्णन गरिएका गतिविधिहरूले चाहिं सा. यु. १९१४ देखि यताको समयावधिलाई सङ्‌केत गर्दछ।—मर्कूस १३:२४-३७ र लूका २१:२५-३६ पनि।

६. (क) वर्तमान घटनाहरूले “चिन्ह”-लाई कसरी पूरा गर्दछ भन्‍ने कुराबारे हामी व्यक्‍तिगत रूपमा किन सतर्क हुनुपर्दछ? (ख) सन्‌ १९१४-देखिन्‌ “चिन्ह” कसरी पूरा भइरहेछ भनी देखाउँदै यस अनुच्छेदको अन्तमा दिएका प्रश्‍नहरूको उत्तर दिनुहोस्‌।

“चिन्ह”-लाई पूरा गर्ने घटनाहरूबारे हामी पनि व्यक्‍तिगत रूपमा सतर्क हुनुपर्छ। ती घटनाहरूलाई बाइबलका भविष्यवाणी​सित दाँजेर हेर्दा हामीले यहोवाको दिनलाई सधैं “ध्यानमा राख्ने” मदत पाउन सक्ने छौं। यसले हामीलाई “हाम्रा परमेश्‍वरको बदला दिने दिन” बारे घोषणा गर्दा अरूहरूलाई राम्ररी समझाउन सक्ने क्षमता पनि दिनेछ। (यशै. ६१:१, २) यिनै उद्देश्‍यहरूलाई मनमा राखेर “चिन्हका” निम्नलिखित पक्षहरूको पुनरावलोकन गर्नुहोस्‌।

 ‘जातिको विरुद्धमा जाति, र राज्यको विरुद्धमा राज्य’ उठ्‌नेछ भन्‍ने भविष्यवाणी सा. यु. १९१४-देखि कसरी असाधारण ढङ्‌गले पूरा भएको छ? त्यसलाई अझ पूर्णरूपमा पूरा गर्दै हालसालका महिनाहरूमा अझ के पनि भएको छ?

 बीसौं शताब्दीको वैज्ञानिक ज्ञानको बावजूद खाद्यान्‍नको अभावले पृथ्वीमाथि कहाँसम्म असर पारेको छ?

 एक ठाउँदेखि अर्को ठाउँमा भैंचालो जाने क्रममा सा. यु. १९१४-देखि के वास्तवमा कुनै फरक भएको छ र?

 सन्‌ १९१८-मा कुन महामारीले विश्‍वयुद्धले भन्दा बढी मानिसहरूको जीवन खत्तम पाऱ्‍यो? चिकित्सासम्बन्धी यतिका ज्ञान हुँदाहुँदै पनि कुन रोगहरू महामारी सरह अझ पनि छँदैछन्‌?

 लूका २१:२६-मा भविष्यवाणी गरिएअनुसार मानिसहरू वास्तवमा डरले मूर्च्छा परेको के प्रमाण तपाईं देख्नुहुन्छ?

 तपाईंलाई कुन कुराले विश्‍वास दिलाउँछ कि दोस्रो तिमोथी ३:१-५ मा वर्णन गरिएका परिस्थितिहरू पहिलेदेखि नै चली आएको जीवनको क्रम नभएर आखिरी दिनहरूको अन्ततर्फ हामी बढ्‌दै जाँदा झन झन डरलाग्दो हुँदै गइरहेका अवस्थाहरू हुन्‌?

मानिसहरूलाई छुट्ट्याउने काम

७. (क) मत्ती १३:३६-४३ मा वर्णन गरिएको कुन अर्को घटनालाई येशूले यस रीतिरिवाजको अन्तसित जोडनु भयो? (ख) त्यस उखानको के अर्थ हो?

जगतको अन्तको सम्बन्धमा येशूले अरू पनि महत्त्वपूर्ण घटनाहरूको चर्चा गर्नु भएको थियो। तीमध्ये एउटा त “राज्यका सन्तान”-लाई “दुष्टको सन्तान”-देखि छुट्ट्याउनु हो। यसको चर्चा येशूले गहुँको खेतको उखान भन्‍नुहुँदा गर्नुभयो जुन खेतमा दुश्‍मनले गहुँको माझमा सामा छरेको थियो। उहाँको त्यस उदाहरणमा “गहुँ” सच्चा अभिषिक्‍त मसीहीहरूको प्रतीक हो। “सामा” चाहिं नकली मसीहीहरू हुन्‌। यी सामाहरू ती व्यक्‍तिहरू हुन्‌ जसले मसीही हुने दाबी गरे तापनि तिनीहरू “दुष्टका सन्तान” साबित हुन्छन्‌ किनकि तिनीहरू त्यस संसारसित टाँसिन्छन्‌ जसको शासक शैतान हो। यस रीतिरिवाजको अन्तको समयमा यी “सामा”-हरूलाई “[परमेश्‍वरको] राज्यको सन्तान” देखि अलग पारिन्छन्‌ र विनाशका लागि साँचेर राखिन्छन्‌। (मत्ती १३:३६-४३) के यो वास्तवमा भएको छ?

८. (क) आफूलाई मसीही कहलाउने सबैलाई प्रथम विश्‍व-युद्ध पछि छुट्ट्याउने कुन महान काम सम्पन्‍न भयो? (ख) सच्चा अभिषिक्‍त मसीहीहरू वास्तवमा “राज्यका सन्तान” हुन्‌ भनेर तिनीहरूले के प्रमाण दिए?

भनौं भने मसीहीहरू हौं भनेर दाबी गर्ने सबैलाई प्रथम विश्‍व-युद्धपछि वास्तवमा दुई वर्गमा छुट्ट्याइयो: (१) मसीही जगतका पादरीहरू र तिनका समर्थकहरू जसले एकातिर आफ्नो राष्ट्रियतालाई समात्दै अर्कोतिर राष्ट्र सङ्‌घलाई (अब संयुक्‍त साष्ट्र सङ्‌घ) पूरा समर्थन गरे। (२) युद्धपछिको समयका केही सच्चा अभिषिक्‍त मसीहीहरू जसले परमेश्‍वरको मसीही राज्यलाई पूर्ण समर्थन दिए। उक्‍त उल्लिखित प्रथम वर्गकाहरूले संसारका सरकारहरूलाई साँचो शान्ति र सुरक्षा ल्याउने माध्यम ठान्दै खुलेआम आफ्नो समर्थन पनि व्यक्‍त गरे। अतः तिनीहरू सच्चा मसीहीहरू थिएनन्‌ भन्‍ने कुरा तिनीहरूले नै स्पष्ट पारे। (यूह. १७:१६) त्यसको विपरीत, यहोवाका सेवकहरूले मत्ती २४:१५-मा उल्लिखित “उजाड गर्ने घृणित कुरा” आधुनिक समयमा राष्ट्र सङ्‌घघ हो भनी चिनाइ दिए। आफूलाई ‘[परमेश्‍वरको] राज्यका सच्चा सन्तानहरू’ साबित गर्दै तिनीहरूले “राज्यको यो सुसमाचार . . . सारा संसारमा” प्रचार गर्ने जिम्मा लिए। (मत्ती २४:१४) त्यसको परिणाम के भयो?

९. राज्य प्रचारको यो अभियानको प्रथम परिणाम के भयो?

प्रथमतः, “छानिएकाहरू,” अर्थात्‌ आत्माद्वारा अभिषिक्‍त मसीहीहरूको शेष जनहरूलाई जम्मा गर्ने काम भयो। “चारै दिशामा” झैं तिनीहरू जाति जातिमा विस्तृत रूपले फैलिएका भए तापनि स्वर्गदूतको निर्देशनमा तिनीहरूलाई सङ्‌गठनात्मक एकतामा ल्याइयो।—मत्ती २४:३१.

१०. (क) अझ अर्को पनि छुट्ट्याउने काम कसरी चलिरहेको छ र कुन भविष्यवाणी अनुसार? (ख) यी भविष्यवाणीहरूको पूर्तिले के महत्त्व राख्तछ?

१० अनि येशूले भविष्यवाणी गर्नु भएअनुसार उहाँले सारा जातिहरूका मानिसहरूलाई छुट्ट्याउन थाल्नु भयो, “जसरी गोठालाले भेड़ालाई बाख्राबाट छुट्ट्याउँछ।” आजको दिनसम्म चलिरहेको यस कामलाई ख्रीष्टले उहाँको स्वर्गीय सिंहासनबाट निर्देशन दिनुहुँदैछ र यसको असर व्यक्‍तिगत रूपमा तपाईंमाथि पनि पर्दछ। धेरैजसो मानिसहरूले परमेश्‍वरको राज्य र आत्माबाट अभिषिक्‍त त्यसका “सन्तान”-को अवहेलना गर्छन्‌। तर यसो गर्नेहरूलाई मृत्युको “अनन्त दण्डमा” फालिनेछन्‌। तथापि अरूहरूलाई चाहिं प्रभुको राज्यको पार्थिव क्षेत्रमाथि अधिकार गरेर अनन्त जीवन प्राप्त गर्न उहाँले आमन्त्रण गर्नुहुन्छ। “राज्यका [अभिषिक्‍त] सन्तान” क्रूर सतावटका पात्रहरू भए तापनि यिनीहरूलाई ती भेडाखालका मानिसहरूले साथ दिएका छन्‌। (मत्ती २५:३१-४६) राज्यको अत्यावश्‍यक सन्देशलाई प्रसार गर्न यी भेडाखालका मानिसहरूले वफादारीका साथ ती अभिषिक्‍त जनहरूलाई साथ दिन्छन्‌। यस काममा लाखौं जनहरूको एउटा ठूलो भीडले भाग लिइ रहेको छ। पृथ्वीको एक छेउदेखि अर्को छेउसम्म राज्यको समाचार सुनाइदैंछ। यी घटनाहरूले कुन कुरालाई जनाउँदछ? यही कि हामी “अखिरी दिनको” अन्तको नजिक छौं र “यहोवाको दिन” अब आउनै लागेको छ।

अगाडि के हुनेवाला छ?

११. ‘यहोवाको दिन’ आउनु भन्दाअघि के अझै प्रचारको काम गर्नु पर्नेछ र?

११ यहोवाको ठूलो र डरलाग्दो दिन सुरु हुनुभन्दा अघि पूरा हुनुपर्ने भविष्यवाणीहरू के अझ पनि बाँकी नै छन्‌? छन्‌! राज्यसम्बन्धी विवादको आधारमा मानिसहरूलाई छुट्ट्याउने काम अहिले समाप्त भएको छैन। पहिले पहिले वर्षौंसम्म भयङ्‌कर विरोध अनुभव गर्ने क्षेत्रहरूमा अहिले नयाँ चेलाहरूको एउटा ठूलो फसल जम्मा हुँदैछ। र जहाँ मानिसहरूले सुसमाचारलाई अस्वीकार गर्दछन्‌, त्यहाँ पनि साक्षी दिने हाम्रो कामद्वारा यहोवाको न्याय र दया घोषित हुन्छ। अतः, कामलाई अगाडि बढाऔं! यो गरी सकेपछि, निश्‍चय नै “अन्त आउने छ” भनी येशूले हामीलाई आश्‍वासन दिनुहुन्छ।—मत्ती २४:१४.

१२. (क) पहिलो थिस्सलोनिकी ५:२, ३-मा देखाएअनुसार, कुन स्मरणीय घटना हुन बाँकी नै छ? (ख) हाम्रोनिम्ति त्यसको के अर्थ हुनेछ?

१२ बाइबलको अर्को अति नै महत्त्वपूर्ण भविष्यवाणी भन्छ: “जब मानिसहरूले शान्ति र सुरक्षित भनिरहेका हुन्छन्‌, तब सुत्केरी हुने स्त्रीलाई बेथा लागेझैं, अचानकसँग तिनीहरूमाथि विनाश आइलाग्छ र तिनीहरू कुनै रीतिले उम्कने छैनन्‌।” (१ थिस्स. ५:२, ३) ‘शान्ति र सुरक्षा’ भन्‍ने त्यो घोषणाले कुन रूप धारण गर्ने हो, त्यो हेर्नु बाँकी नै छ। तर त्यसको अर्थ संसारका नेताहरूले मानवजातिका समस्याहरूलाई साँच्चै नै समाधान गर्न सकेको चाहिं हुनेछैन। यहोवाको दिनको “बाटो हेर्दै” बस्नेहरूलाई त्यस घोषणाले झुक्क्‌याउन सक्ने छैन। किनकि त्यसपछि तुरन्तै “अचानकसँग विनाश” आइलाग्नेछ भनी तिनीहरूलाई थाह छ।

१३. ‘शान्ति र सुरक्षा’ भन्‍ने घोषणा हुनासाथै कुन कुन घटनाहरू घटनेछन्‌ र कुन क्रममा?

१३ धर्मशास्त्रअनुसार पहिले त राजनैतिक शासकहरूले झुट्टा धर्मको विश्‍व साम्राज्य, महान बेबिलोनमाथि विश्‍वव्यापी तवर्‌मा आक्रमण गरेर त्यसलाई नष्ट पार्नेछ। (प्रकाश १७:१५, १६) अहिले नै पनि विशेषगरी मसीही जगतका धर्महरूप्रति वैरभावपूर्ण प्रवृत्तिहरू देखा पर्दैछन्‌। धर्मको विरुद्धमा कडा नीतिहरू अपनाउने सरकारहरूले संयुक्‍त राष्ट्र सङ्‌घमा शक्‍तिशाली प्रभाव पार्न थालिसकेका छन्‌। धार्मिक परम्परा भएका देशहरूमा पनि धेरै मानिसहरूले आफ्ना पूर्खाहरूको धर्मलाई छाडदैछन्‌। यी सबैको के अर्थ हो? यही कि झूटो धर्म उजाड हुने समय अब नजिकै छ। त्यसपछि यहोवाको सार्वभौमिकतालाई मान्यता दिनेहरूको विरुद्धमा राष्ट्रहरू अटेर गर्दै जाइलाग्दा राजनैतिक सरकारहरू र तिनका समर्थकहरूमाथि ईश्‍वरीय क्रोध भडकिने छ। परिणामस्वरूप तिनीहरू सबैको सम्पूर्ण विनाश हुनेछ। अन्तमा शैतान र त्यसका प्रेतहरू अगाध खाँदमा फालिनेछन्‌। अर्थात्‌ मानवजातिमाथि प्रभाव पार्न तिनीहरूले पटक्कै पाउने छैनन्‌। यो साँच्चै नै “यहोवाको ठूलो दिन” हुनेछ जब उहाँको नाउँ उच्च पारिनेछ।—इज. ३८:१८, २२, २३; प्रकाश १९:११–२०:३.

१४. यहोवाको दिन अझै टाढै छ भनी ठान्‍नु किन मुर्खता हो?

१४ परमेश्‍वरले तोक्नु भएको ठीक समयमा नै यो घटना घटने छ। त्यो ढीलो हुनेछैन। (हब. २:३) याद गर्नुहोस्‌ यहूदीहरूले आशै नगरेको बेलामा अर्थात्‌ तिनीहरूले अब खतरा टलिसक्यो भनी ठान्दा सा. यु. ७० मा यरूशलेममाथि नाश एक्कासि आइलाग्यो। प्राचीन बेबिलोनबारे के भन्‍न सकिन्छ? ऊ पनि आफ्नो वरिपरि ठूलाठूला पर्खालहरू राखेर शक्‍तिशाली र विश्‍वस्त थियो। तर एकै रातमा उसको नाश भयो। त्यस्तैगरी, वर्तमान दुष्ट रीतिरिवाजमाथि पनि “अचानक विनाश” आइलाग्नेछ। त्यो आइलाग्दा हामी यहोवाको दिनको ‘बाटो हेर्दै’ साँचो उपासनामा संयुक्‍त भएका हुन सकौं।

पुनरावलोकन एवं छलफल

• यहोवाको दिनको ‘बाटो हेर्दै बस्नु’ किन अत्यावश्‍यक छ? र हामी त्यसो कसरी गर्न सक्छौं?

• मानिसहरूलाई छुट्ट्याउने जुन काम आज भइरहेको छ त्यसको असर हामीमाथि व्यक्‍तिगत रूपमा कसरी पर्दछ?

• यहोवाको दिन सुरु हुनभन्दा अघि अझै के हुन बाँकी छ? अतः हामीले व्यक्‍तिगत रूपमा के गरिरहेको हुनु पर्दछ?

[अध्ययनका लागि प्रश्‍नहरू]