सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाको सिंहासनअगाडि एउटा ठूलो भीड

यहोवाको सिंहासनअगाडि एउटा ठूलो भीड

अध्याय १३

यहोवाको सिंहासनअगाडि एउटा ठूलो भीड

१. (क) मसीहीपूर्व परमेश्‍वरका सेवकहरू अथवा १,४४,०००-ले आफ्नो इनाम पाउनुअघि तिनीहरूले के अनुभव गर्नै पर्छ? (ख) तर “महा सङ्‌कष्ट” आइलाग्दा बाँचिरहेको एउटा ठूलो भीडका लागि कुन कुरा सम्भव हुनेछ?

 हाबिलदेखि बप्तिस्मा दिने यूहन्‍ना लगायत सबै नै परमेश्‍वरका विश्‍वासी सेवकहरूले परमेश्‍वरको इच्छालाई आफ्नो जीवनमा प्रथम स्थान दिए। तापनि तिनीहरू सबैले नै मर्नु र पुनरुत्थानका निम्ति पर्खिनु पऱ्‍यो। ख्रीष्टसँग उहाँको स्वर्गीय राज्यमा हुने १,४४,००० जनहरूले पनि आफ्नो इनाम पाउनुअघि मर्नै पर्छ। तर यी सबैभन्दा बेग्लै प्रेरित यूहन्‍नालाई एउटा यस्तो ठूलो भीडको दर्शन देखाइयो जो वास्तवमा “महा सङ्‌कष्टबाट” बाँच्नेछन्‌ र नमरिकनै अनन्त जीवन प्राप्त गर्न तिनीहरूका लागि सम्भव हुनेछ।—प्रकाश ७:९-१७.

“ठूलो भीड”-लाई चिन्‍ने

२. प्रकाश ७:९-मा उल्लिखित “ठूलो भीड”-लाई स्पष्टसङ्‌ग चिन्‍ने कार्य कसरी सिलसिलाबद्ध ढङ्‌गमा अघि बढ्यो?

कैयन शताब्दियौं देखिन्‌ यो “ठूलो भीड़”-लाई चिन्‍न सकिएको थिएन। तर सम्बन्धित अगमवाणीहरू क्रमशः बुझ्दै जाँदा त्यसलाई चिन्‍ने बाटो तयार हुँदै गयो। मत्ती २५:३१-४६ मा येशूको उखानमा उल्लिखित “भेंड़ाहरू” र यूहन्‍ना १०:१६-मा उहाँले चर्चा गर्नु भएका “अरू भेंड़ा” ती मानिसहरू हुन्‌ जो आज बाँची रहेका छन्‌ र जसले पृथ्वीमा सदाका लागि बाँच्ने मौका पाउँनेछन्‌ भन्‍ने कुरा १९२३ सालमा स्पष्टसङ्‌ग बुझ्न सकियो। इजकिएल ९:१-११ मा, सीङ्‌को मसीदानी भिरेको मानिसको हातबाट निधारमा चिन्ह पाउने व्यक्‍तिहरू मत्तीको २५ अध्यायमा सङ्‌केत गरिएका “भेंड़ाहरू” नै हुन्‌ भनी १९३१ सालमा बुझियो। अनि, प्रकाशितवाक्य ७:९-१७ को “ठूलो भीड़”, येशूले भेंडा र बाख्राहरू बारे दिनु भएको उखानका भेडाहरू हुन्‌ भनी १९३५ सालमा बुझ्न सकियो। सन्‌ १९२३-मा भेंडा खालका यस्ता केही व्यक्‍तिहरू देखा पर्न थालिसकेका थिए। तर तिनीहरूको सङ्‌खया विशेष तवर्‌ले जोडतोडका साथ १९३५ देखिन्‌ बढ्‌न थाल्यो। दैवी आशिष प्राप्त “अरू भेडा”-को “ठूलो भीड़” सित सम्मिलित हुन आज अक्षरशः लाखौंले प्रयास गरिरहेका छन्‌।

३. तिनीहरू “सिंहासनका सामु उभिरहेको” अर्थ तिनीहरू एउटा स्वर्गीय वर्गका हुन्‌ भन्‍नु किन मिल्दैन?

प्रकाशितवाक्यको त्यसै अध्यायमा अलिकताअघि सङ्‌केत गरिएका आत्मिक इस्राएलका १,४४,००० सदस्यहरूलाई र “ठूलो भीड़”-काहरूलाई बेग्ला बेग्लै प्रस्तुत गरिएको छ। आफ्नो दर्शनमा यूहन्‍नाले त्यो “ठूलो भीड़”-लाई स्वर्गमा भएको देखेनन्‌। परमेश्‍वरको ‘सिंहासनको अगाडि उभिन’-का (युनानी भाषामा: एनोपिओन टोउ थ्रोनाउ, “सिंहासनबाट देखिने गरी”) लागि तिनीहरू स्वर्गमै हुनुपर्छ भन्‍न मिल्दैन। तिनीहरू खालि परमेश्‍वरले “देख्न सक्नु हुने” ठाउँमा छन्‌ किनकि उहाँले स्वर्गबाट मानिसहरूका सन्तानलाई हेर्नुहुन्छ भनी उहाँले स्वयं भन्‍नु भएको छ। (प्रकाश ७:९; भजन. ११:४; भजनसंग्रह १००:१, २, साथै लूका १:७४, ७५ र प्रेरित १०:३३ सङ्‌ग तुलना गर्नुहोस्‌। किङ्‌गडम इन्टरलिन्यर) त्यसैगरी, मत्ती २५:३१, ३२-मा वर्णन गरिएअनुसार “सबै देशका मानिसहरू” ख्रीष्टको सिंहासन अगाडि (अक्षरशः “उहाँका सामु”) हुनका लागि तिनीहरू स्वर्ग मै हुनु पर्दैन। “कसैले गन्‍न नसक्ने ठूलो भीड़,” एउटा स्वर्गीय वर्ग होइन भन्‍ने कुरा प्रकाश ७:४-८ र १४:१-४ सङ्‌ग तुलना गर्दा देखिन्छ। किनकि ती पदहरूमा पृथ्वीबाट स्वर्ग लगिनेहरूको निर्दिष्ट सङ्‌खया किटेर प्रकाशित गरिएको छ।

४. (क) जुन “महा सङ्‌कष्ट”-मा तिनीहरूको बचाउ हुनेछ त्यो वास्तवमा के हो? (ख) प्रकाश ७:११, १२-मा भनिएअनुसार, “ठूलो भीड़”-लाई नियालेर हेर्ने र तिनीहरूसङ्‌ग उपासनामा भाग लिनेहरू को हुन्‌?

“ठूलो भीड़”-लाई चिनाउँदा यूहन्‍ना लेख्तछन्‌: “यी तिनै हुन्‌ जो महा सङ्‌कष्टबाट आएका छन्‌।” अर्थात्‌ तिनीहरू पृथ्वीमा अहिलेसम्म कहिल्यै अनुभव नगरिएको महा सङ्‌कष्टमा बाँच्नेछन्‌। (प्रकाश ७:१३, १४; मत्ती २४:२१) यहोवाको त्यो महा डरलाग्दो दिनमा बाँच्नेहरू कसले गर्दा मात्र बाँचेका हुन्‌, सो तिनीहरूले स्पष्टसँग देख्नेछन्‌। तिनीहरूले आफ्ना मुक्‍तिका लागि परमेश्‍वर र थुमालाई धन्यवाद चढाउँदा यूहन्‍नाको दर्शनअनुसार स्वर्गमा हुने सबै नै विश्‍वासी जीवहरू मिलेर एकमात्र साँचो परमेश्‍वरलाई यसो भन्दै उपासना गर्नेछन्‌: “आमिन! हाम्रा परमेश्‍वरलाई प्रशंसा, महिमा, ज्ञान, धन्यवाद, आदर, शक्‍ति र सामर्थ्य सदा सर्वदा होस्‌। आमिन।”—प्रकाश ७:११, १२.

बाँच्ने योग्यका छन्‌ वा छैनन्‌ भनी जाँचिएका

५. (क) सुरक्षित राखिने “ठूलो भीड़”-मा सम्मिलित हुनका लागि के आवश्‍यक छ, सो हामी कसरी निर्धारित गर्न सक्छौं? (ख) “महा सङ्‌कष्ट”-मा बाँच्नका लागि के गर्न आवश्‍यक छ, यस अनुच्छेदको अन्तमा दिइएका प्रश्‍नहरूको उत्तर दिंदै व्याख्या गर्नुहोस्‌।

“ठूलो भीड़”-को संरक्षण यहोवाको आफ्नै धार्मिक स्तरहरू बमोजिम हुनेछ। बचाइनेहरूमा हुनुपर्ने विशिष्ट गुणहरूको सङ्‌केत बाइबलका अगमवाणीहरूमा स्पष्टसित दिइएको छ। यसले गर्दा धार्मिकताका प्रेमीहरूलाई बाँच्नका लागि अहिलेदेखि नै तयारी गर्न सम्भव छ। तल दिइएका शास्त्रीय पदहरूको चर्चा हामीले गरी सकेका छौं। तर अब त्यहाँ उल्लिखित अन्य पदहरूको मद्दत लिंदै सावधानीपूर्वक तिनको विश्‍लेषण गर्नुहोस्‌ र ती भविष्यसूचक वर्णनहरूसँग मेल खानका लागि तपाईंले के गर्नु पर्ने हो त्यसबारे विचार गर्नुहोस्‌।

 यूहन्‍ना १०:१६-मा उल्लेख गरिएको “अरू भेंड़ा”

 येशूको स्वर एकजना व्यक्‍तिले सुन्‍नुको अर्थ यथार्थमा के हो? (यूह. १०:२७; मत्ती ९:९; एफि. ४:१७-२४)

 येशूलाई हाम्रो “एउटा गोठाला”-को रूपमा स्वीकार गर्दछौं भनी हामीले कसरी देखाउन सक्छौं? (मत्ती २३:१०, ११)

 भेडा र बाख्राबारे येशूको उखानमा “भेडा”-हरू (मत्ती २५:३१-४६)

 ख्रीष्टका “भाइहरू” को हुन्‌ जसका लागि यी भेडाहरूले भलाइ गर्दछन्‌? (हिब्रू २:१०, ११; ३:१)

 पृथ्वीमा कस्ता कठिन परिस्थितिहरू बीच तिनीहरू ख्रीष्टका भाइहरूलाई साथ दिन बोलाइन्छन्‌? र कुन काममा तिनीहरूले वफादारीका साथ सहयोग दिन्छन्‌? (प्रकाश १२:१२, १७; मत्ती २४:१४; २८:१९, २०)

 बाँच्नका लागि मसीदानी भिरेको एक जना मानिसद्वारा निधारमा चिन्ह पाउने मानिसहरू (इज. ९:१-११)

 लाक्षणिक यरूशलेम, अर्थात्‌ मसीही जगतमा गरिने घृणास्पद कुराहरू सित तिनीहरूको सहमति छैन भनी तिनीहरूले कसरी देखाउँछन्‌? (प्रकाश १८:४, ५)

 त्यस “चिन्हमा” कुन कुरा सम्मिलित छ जसले तिनीहरूलाई मसीही कहलाउँदाहरूबाट फरक पार्दै बचावका लागि अलग्ग राख्तछ? (१ पत्रु. ३:२१; मत्ती ७:२१-२७; यूह. १३:३५)

६. “ठूलो भीड़”-को बचाव किन हुन्छ भन्‍ने कुरा बुझ्ने मद्दत यूहन्‍नाले तिनीहरूबारे दिएको वर्णनबाट कसरी पाउन सकिन्छ?

“ठूलो भीड”-बारे प्रकाश ७:९-१५ मा पाइने वर्णनले थप महत्त्वपूर्ण विवरण दिन्छ। “महा सङ्‌कष्ट” पछि त्यो “ठूलो भीड़”-का मानिसहरू कसरी देखा पर्दछन्‌ भन्‍ने कुरा हामीलाई बताउँदा तिनीहरूको बचावका कारणहरूतर्फ पनि शास्त्रले हाम्रो ध्यान आकर्षित गर्दछ।

७. “महा सङ्‌कष्ट” हुनुअघि तिनीहरूले के गरेका थिए, र यसको सङ्‌केत कसरी गरिएको छ?

तिनीहरू हरेक जाति, कुल र मानिस र भाषाहरूबाट आएका हुन्‌। तापनि तिनीहरू एकताबद्ध भएर “सिंहासनको अगाड़ि उभिरहेका,” र सिंहासनमा बस्नु हुने यहोवालाई ब्रह्‍माण्डको सर्व​सत्ताधारीको रूपमा तिनीहरूले मान्यता दिएको देखिन्छ। उहाँको शासनका तिनीहरू वफादार समर्थकहरू हुन्‌ भन्‍ने कुरा तिनीहरूले आफ्नो जीवनशैलीद्वारा प्रमाणित गरेका छन्‌। तिनीहरूले “आफ्ना आफ्ना लुगाहरू थुमाको रगतमा धोएर सेता बनाएका छन्‌”। यसबाट यो सङ्‌केत हुँदछ कि परमेश्‍वरको थुमा अर्थात्‌ पापमोचन गर्ने शक्‍ति भएको येशूको बलिदानको शक्‍तिको आवश्‍यकतालाई तिनीहरूले स्वीकारेका छन्‌। (यूह. १:२९; १ यूह. २:२) त्यही बलिदानको आधारमा तिनीहरूले आफ्नो जीवन परमेश्‍वरलाई विश्‍वासका साथ समर्पण गरेका छन्‌, यस कुरालाई पानीमा बप्तिस्मा लिएर देखाएका छन्‌ र अब परमेश्‍वरको सामुन्‍ने शुद्ध भएर उभिने आनन्द उठाइरहेका छन्‌। यस अवस्थालाई तिनीहरूको सेतो वस्त्रले चित्रित गर्दछ। परमेश्‍वरका पुत्रमाथि आफ्नो विश्‍वासलाई खुल्लमखुल्ला जनाउन तिनीहरू पछि हटेका छैनन्‌। (मत्ती १०:३२, ३३) यसैकारण त तिनीहरू परमेश्‍वरको मन्दिरमा अर्थात्‌ उपासनाको विश्‍वगृहभित्र भएको कुरा देखाइएको छ जहाँबाट तिनीहरूले परमेश्‍वरलाई “दिन-रात पवित्र सेवा” चढाइ रहन्छन्‌। यसप्रकार साँचो उपासनाका वफादार समर्थकहरू र उहाँको राज्यका उद्‌घोषकहरू भएर काम गरेको रेकर्ड तिनीहरूले कायम गरेका छन्‌।—यशै. २:२, ३.

८. यस सूचनाबाट फायदा उठाउनका निम्ति हामीले के गर्नु पर्दछ?

के यी भविष्यसूचक चित्रका विवरणहरू तपाईंको जीवनको कार्यकलापसित मिल्दछन्‌? यहाँ वर्णन गरिएका कुराहरू अनुरूप आफ्नो जीवनलाई अझ राम्ररी ढाल्नका लागि के तपाईंले गर्नुपर्ने केही कुराहरू छन्‌ कि? छन्‌ भने, सो गर्ने समय अहिले नै हो!

एउटा आत्मिक प्रमोदवनमा बसेका

९. अहिले नै “ठूलो भीड़”-ले अनुभव गरिरहेका आत्मिक आशिषहरूको आनन्दको वर्णन यूहन्‍ना कसरी गर्दछन्‌?

के तपाईंले पनि “ठूलो भीड़”-सङ्‌गसङ्‌गै बाँच्ने आशा राख्नु भएको छ? तपाईंले आफ्नो जीवनमा यहोवाका धार्मिक तौर-तरिका अपनाइ सक्नु भएको छ भने प्रतिज्ञा गरिएका ती अवस्थाहरू जसलाई उचित ढङ्‌गमा आत्मिक प्रमोदवन भनिएको छ, त्यसको तपाईंले निस्सन्देह आनन्द उठाउन थालिसक्नु भएको हुनुपर्छ। प्रेरित यूहन्‍नालाई यसो भनिएको थियो: “तिनीहरू कहिल्यै भोकाउने र तिर्खाउने छैनन्‌, नता सूर्यको राप अथवा कुनै ताप तिनीहरू​माथि पर्नेछ, किनकि सिंहासनका बीचमा हुने थुमा तिनीहरूका रखवाला हुनुहुनेछ, र तिनीहरूलाई जीवनका पानीहरूका फोहोरासम्म अगुवा भएर लानु हुनेछ, र परमेश्‍वरले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ।” (प्रकाश ७:१६, १७) यो कुरा तपाईंका लागि कहाँसम्म सत्य साबित भएको छ?

१०. (क) आत्मिक तवर्‌मा “ठूलो भीड़” “कहिल्यै भोकाउने र तिर्खाउने छैनन्‌” भन्‍नु किन ठीक हो? (ख) के तपाईंले यो अनुभव गर्नु भएको छ?

१० असल गोठाला येशू ख्रीष्टको मायालु रेख-देखको अधीनमा आउनुभन्दा अघि के तपाईं धार्मिकताका लागि भोकाउनु र तिर्खाउनु हुन्थ्यो? (मत्ती ५:६ सङ्‌ग-तुलना गर्नुहोस्‌।) हुन्थ्यो भने जुन कुराको तपाईंलाई तिर्सना थियो, त्यो कुरा यहोवाले मात्र आफ्ना पुत्रद्वारा तपाईंलाई दिन सक्नु हुन्थ्यो। यहोवाका धार्मिक कार्यप्रणालीहरू, अर्थात्‌ दुष्टहरूलाई नाश गर्ने तर आदमको सन्तानलाई मुक्‍ति पाउन सम्भव पारिदिने उहाँको अपार अनुग्रहपूर्ण उद्देश्‍यबारे जब तपाईंले सिक्नुभयो, तब निश्‍चय नै जीवनमा प्रथम पटक तपाईंले साँचो सन्तोष अनुभव गर्नु भएको हुनु पर्छ। परमेश्‍वरको वचनमा आधारित र उहाँको सङ्‌गठनद्वारा उपलब्ध गराइएको आत्मिक भोजन र पानीले तपाईंलाई नियमित रूपमा सन्तोष प्रदान गर्दै नै आएको छ। (यशै. ६५:१३, १४) र ख्रीष्ट मार्फत आफ्नो जीवन परमेश्‍वरलाई अर्पण गर्नु भएको छ भने तपाईंले जीवनमा अब एउटा साँचो उद्देश्‍य पाउनु भएको छ। (यूहन्‍ना ४:३२-३४ सङ्‌ग तुलना गर्नुहोस्‌।) तपाईंको अगाडि एउटा पार्थिव प्रमोदवनमा अनन्त जीवन पाउने आनन्दमय आशा छ किनकि थुमाले “जीवनका पानीहरूका फोहोरासम्म [ठूलो भीडलाई] अगुवा भएर लानु हुनेछ।”

११. (क) तिनीहरूमाथि ‘नता सूर्यको राप अथवा कुनै ताप पर्नेछ’ भन्‍नु कुन अर्थमा ठीक हो? (ख) तपाईंको निम्ति यो कतिको महत्त्वपूर्ण छ?

११ सोझा “भेंड़ाहरू” झैं, ती “ठूलो भीड़”-काहरू पनि सुरक्षित्‌ छन्‌ र असल गोठालाले तिनीहरूलाई सुरक्षित राखेर डोऱ्‍याउँछन्‌। त्यसैकारण त, लक्षणात्मक भाषामा भन्‍ने हो भने तिनीहरू माथि ‘नता सूर्यको राप अथवा कुनै ताप कहिल्यै पर्नेछ।’ तर यसको अर्थ तपाईं “ठूलो भीड़”-को एकजना सदस्य हुनाकारण तपाईंले संसार​बाट कुनै प्रकारको सतावट भोग्नु पर्नेछैन भनेको होइन। बरु, यसको अर्थ स्वयं परमेश्‍वरको अप्रसन्‍नताको तापबाट तपाईंलाई सुरक्षित राखिनेछ। र उहाँले दुष्टमाथि दैवी विनाश ल्याउनु हुँदा त्यो विनाश तपाईंमाथि आइलाग्ने छैन। यो अनुग्रहपूर्ण सम्बन्ध सदाकालसम्म कायम रहन सक्छ।—इज. ३८:२२, २३; भजनसंग्रह ११:६; ८५:३, ४ सङ्‌ग तुलना गर्नुहोस्‌।

१२. अहिले नै पनि तपाईंका आँखाहरूबाट आँसु कसरी पुछिएका छन्‌?

१२ तपाईं साँच्चै नै त्यस “ठूलो भीड़” मध्येको एकजना हुनुहुन्छ भने तपाईंको सामु पनि आनन्दित हुने थुप्रै अद्‌भुत कारणहरू छन्‌! दुष्टहरू पूरै हटाइएको र अनि पापको प्रभावबाट तपाईंको आफ्नै मन र तन वस्तुतः मुक्‍त भएको देख्न पाउने अद्‌भुत आशा तपाईंको सामुन्‍ने छ। हाल परमेश्‍वरबारे अज्ञान रहेका मानिसहरूले मात्र अनुभव गर्ने शोकले तपाईंलाई पीडित पार्दैन। यहोवालाई नै परमेश्‍वर मान्‍ने मानिसहरूले अनुभव गर्ने आनन्द अहिले तपाईंले अनुभव गर्न थाल्नु हुँदैछ। (भजन. १४४:१५ख) यसप्रकार तपाईंले यो प्रतिज्ञाको पूर्ति पनि अनुभव गर्न थालिसक्नु भएको छ: “परमेश्‍वरले तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ।”

१३. ख्रीष्टको हजार वर्षीय राज्य जसै अघि बढ्‌दै जान्छ आत्मिक प्रमोदवनका आनन्दलाई बढाउने अरू कुन कुन कुराहरू हुनेछन्‌?

१३ यो रीतिरिवाजको अन्त हुँदा “ठूलो भीड़”-का साथ-साथै आत्मिक प्रमोदवन पनि सुरक्षित रहनेछ। तपाईं त्यस ठूलो भीडमध्येको एकजना हुनुहुन्छ भने ख्रीष्टको हजार वर्षीय राज्यमा तपाईंले असल कुराहरूको आत्मिक भोजबाट आनन्द उठाउन पाउनु हुनेछ। परमेश्‍वरको अचूक उद्देश्‍यको भव्य पूर्ति देख्नु हुँदा उहाँबारे तपाईंको ज्ञान झन-झन गहरिंदै जानेछ। मृतावस्थाबाट फर्केर आउने एउटा बढ्‌दो भीडलाई साँचो उपासनामा एकताबद्ध हुन स्वागत गर्ने काममा भाग लिनु हुँदा तपाईं आनन्दले विह्वल हुनु हुनेछ। अनि त्यसबेला उपलब्ध गराइने भौतिक आशिषहरू परमेश्‍वरका वफादार सेवकहरूका लागि विशेषगरी अमूल्य हुनेछन्‌ किनकि ती सबै नै स्वयं यहोवाको प्रेमको अभिव्यक्‍ति मानिनेछ।—यशै. २५:६-९; याकु. १:१७.

पुनरावलोकन एवं छलफल

• बाइबलमा “ठूलो भीड” कुन असाधारण घटनासङ्‌ग सम्बन्धित छ?

• हामी साँच्चै नै ईश्‍वरीय अनुग्रहप्राप्त त्यो “ठूलो भीड़”-मा सम्मिलित हुन चाहन्छौं भने हामीले अहिले नै के गर्नुपर्दछ?

• आत्मिक प्रमोदवनका आशिषहरू तपाईंका निम्ति कतिका महत्त्वपूर्ण छन्‌?

[अध्ययनका लागि प्रश्‍नहरू]