सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

यहोवाले आफ्नो सङ्‌गठनलाई कसरी डोऱ्‍याउनु हुन्छ?

यहोवाले आफ्नो सङ्‌गठनलाई कसरी डोऱ्‍याउनु हुन्छ?

अध्याय १५

यहोवाले आफ्नो सङ्‌गठनलाई कसरी डोऱ्‍याउनु हुन्छ?

१. यहोवाको सङ्‌गठनबारे बाइबलले के जानकारी प्रकाश पार्दछ, र त्यो हाम्रालागि किन महत्त्वपूर्ण छ?

 प्रेरित शास्त्रहरूद्वारा यहोवाले उहाँको अद्‌भुत स्वर्गीय सङ्‌गठनका केही झलकहरु हामीलाई दिनुहुन्छ। (यशै. ६:२, ३; इज. १:१, ४-२८; दानि. ७:९, १०, १३, १४) आत्मिक जीवहरूलाई हामीले देख्न नसके तापनि ती पवित्र स्वर्गदूतहरूको गतिविधिले पृथ्वीमा साँचो उपासकहरूमाथि पार्ने प्रभावबारे उहाँले हामीलाई जानकारी दिनुहुन्छ। (उत्प. २८:१२, १३; २ राजा. ६:१५-१७; भजन. ३४:७; मत्ती १३:४१, ४२; २५:३१, ३२) यहोवाको सङ्‌गठनको दृश्‍य भागलाई पनि बाइबलले वर्णन गर्दछ र उहाँले त्यसलाई कसरी निर्देशित गर्नुहुन्छ सो बुझ्नमा हामीलाई मदत दिन्छ। हामीमा ती कुराहरूको आध्यात्मिक समझ साँच्चै नै छ भने त्यसले हामीलाई “हर किसिमले खुश पार्नेगरी प्रभुको [यहोवाको, न्यु व.] योग्य चालमा चल्न” मदत दिनेछ।—कल. १:९, १०.

दृश्‍य भागको पहिचान गर्ने

२. सा. यु. ३३-देखि कुनचाहिं समूह परमेश्‍वरको मण्डली हुन गयो?

इस्राएल राष्ट्र १,५४५ वर्षसम्म परमेश्‍वरको मण्डली थियो। तर तिनीहरू व्यवस्थाको वाचा पूरा गर्न असफल भए र परमेश्‍वरको आफ्नै पुत्रलाई समेत इन्कार गरे। अतः यहोवाले एउटा नयाँ मण्डली स्थापित गर्नुभयो जससँग उहाँले एउटा नयाँ वाचा बाँध्नुभयो। शास्त्रले यस मण्डलीलाई ख्रीष्टको “दुलही” भनेर चिनाउने गर्छ। यसमा परमेश्‍वरले उहाँको पुत्रसित स्वर्गमा एकत्रित हुनका लागि छान्‍नु भएका १,४४,००० जनहरू सम्मिलित छन्‌। (एफि. ५:२२-३२; प्रकाश १४:१; २१:९, १०) यिनीहरूमध्येका प्रथम सदस्यहरू सा. यु. ३३-को पेन्तिकोसको समयमा पवित्र आत्माद्वारा अभिषिक्‍त भएका थिए। यहोवाले पवित्र आत्माद्वारा अकाट्य तवर्‌मा प्रमाणित गर्नु भयो कि आफ्नो उद्देश्‍य पूरा गर्नका लागि अब उप्रान्त उहाँले यही मण्डलीलाई प्रयोग गर्नु हुनेछ।—हिब्रू २:२-४.

३. आज यहोवाको दृश्‍य सङ्‌गठनमा को को सम्मिलित छन्‌?

आज १,४४,००० मध्येबाट केही शेष जनहरू मात्र यस पृथ्वीमा छन्‌। तर बाइबलको भविष्यवाणीको पूर्तिअनुसार, “अरू भेडा”-हरूको एउटा ठूलो भीडले तिनीहरूसङ्‌ग सक्रिय रूपमा सङ्‌गत गर्न थालेका छन्‌। असल गोठाला, येशू ख्रीष्टले यी “अरू भेडा”-हरूलाई आत्माद्वारा अभिषिक्‍त अनुयायीहरूमध्येका शेष जनहरू​सित गाभ्नु भएको छ। यसप्रकार, तिनीहरू येशू अर्थात्‌ “एकै गोठाला”-को अधीनमा “एकै बगाल” हुन गएका छन्‌। (यूह. १०:११, १६; प्रकाश ७:९, १०) यिनीहरू सबै मिलेर एउटा एकताबद्ध सङ्‌गठन बनेका छन्‌, अर्थात्‌ यहोवाको वर्तमान दृश्‍य सङ्‌गठन।

ईश्‍वरतान्त्रिक संरचना

४. सङ्‌गठनलाई कसले निर्देशित गर्दछ, र कसरी?

“जीवित परमेश्‍वरको मण्डली” भन्‍ने शास्त्रीय अभिव्यक्‍तिद्वारा नै यसको सञ्चालक को हो भन्‍ने कुरा स्पष्ट हुन्छ। यो एउटा ईश्‍वरतान्त्रिक सङ्‌गठन हो जसमाथि परमेश्‍वरले नै शासन गर्नुहुन्छ। यहोवाले मण्डलीका अदृश्‍य शिर हुनका लागि नियुक्‍त गर्नु भएको येशू ख्रीष्ट र आफ्नो प्रेरित वचन, बाइबलद्वारा आफ्ना जनहरूलाई निर्देशन दिनुहुन्छ।—१ तिमो. ३:१४, १५; एफि. १:२२, २३; २ तिमो. ३:१६, १७.

५. (क) प्रथम शताब्दीमा मण्डलीमाथिको स्वर्गीय निर्देशन कसरी प्रदर्शित हुन्थ्यो? (ख) येशू अझै पनि मण्डलीको शिर हुनुहुन्छ भनी केले देखाउँदछ?

सा. यु. ३३-मा पेन्तिकोसको दिन यस मण्डलीका प्रथम सदस्यहरू पवित्र आत्माद्वारा जोडतोडका साथ गतिशील हुँदा ईश्‍वरतान्त्रिक निर्देशनको स्पष्ट प्रमाण देखियो। (प्रे. २:१-४, ३२, ३३) यसको थप प्रमाण त्यसबेला पनि देखियो जब अफ्रिकासम्म सुसमाचार फैलाउने काममा यहोवाको एकजना स्वर्गदूतले निर्देशन दिएको थियो। (प्रे. ८:२६-३९) त्यसैगरी, टार्ससको शावलको धर्म परिवर्तन हुने बेलामा स्वयं येशूको आवाजले निर्देशन दिंदा र पछि अन्य जातिहरूका बीचमा धर्म प्रचारको काम सुरु हुँदा ईश्‍वरतान्त्रिक निर्देशन अझ स्पष्टगरी प्रमाणित भयो। (प्रे. ९:३-७, १०-१७; १०:९-१६, १९-२३; ११:१२) तर आवश्‍यक निर्देशन सधैं नै यस प्रकारको चमत्कारपूर्ण ढङ्‌गमा दिइने थिएन। केही समयपछि स्वर्गबाट आवाज सुनिन छाड्यो, मानिसहरूको सामु स्वर्गदूतहरू देखा परेनन्‌ र आत्माका चमत्कारपूर्ण वरदानहरू पनि बन्द भए। तापनि येशूले आफ्ना विश्‍वासी अनुयायीहरूलाई यो प्रतिज्ञा गर्नु भएको थियो: “हेर, म सब दिन, अँ, जगतको अन्तसम्म तिमीहरूका साथमा छँदैछु।” (मत्ती २८:२०; १ कोरि. १३:८) यहोवाका साक्षीहरूले उहाँ, अर्थात्‌ ख्रीष्टलाई आफ्नो शिर मान्दछन्‌। साथै यतिका घोर विरोधको बावजूद तिनीहरूले उहाँको मदत बिना राज्यको समाचारको घोषणा गर्न असम्भव हुने थियो भन्‍ने कुरा पनि स्वीकार्दछन्‌।

६. (क) “विश्‍वासी र बुद्धिमान दास” भन्‍नाले त्यसमा को को सम्मिलित हुन्छन्‌, र किन? (ख) उहाँले त्यस “दासलाई” के जिम्मावारी दिनु भयो?

येशूले एउटा मालिकको हैसियतमा एकजना “विश्‍वासी र बुद्धिमान दासलाई” विशेष जिम्मावारी दिनु हुनेछ भनेर आफ्नो मृत्यु हुनुभन्दा केही समयअघि मात्र आफ्ना चेलाहरूलाई भन्‍नु भएको थियो। येशूको वर्णनअनुसार, प्रभु स्वर्ग जानु हुँदा त्यो “दास,” उपस्थित हुने थियो र ख्रीष्ट फर्कि आउनु हुने समयमा पनि ऊ जिउँदै हुने थियो। यो वर्णन कुनै एउटा व्यक्‍तिबारे हुनै सक्‍तैन। तर सामूहिक रूपमा हेर्दा त्यो ख्रीष्टको विश्‍वासी अभिषिक्‍त मण्डलीचाहिं हुन सक्छ। येशूले तिनीहरूलाई आफ्नो रगतले किन्‍नु हुनेछ भन्‍ने कुरा उहाँलाई थाहा थियो। यसैकारण उहाँले तिनीहरूलाई सामूहिक रूपमा आफ्नो “दास” भनेर सम्बोधन गर्नु उचित थियो। उहाँले तिनीहरूलाई काम दिनुभयो। तिनीहरू सबैले चेला बनाउने काममा भाग लिनु परेको थियो र अनि ती चेलाहरूलाई गतिशील ढङ्‌गमा खुवाउन अर्थात्‌ “ठीक ठीक समयमा [आत्मिक] खाना” दिनु आवश्‍यक थियो। सा. यु. ३३-को पेन्तिकोसको दिनमा पवित्र आत्माद्वारा तिनीहरूको नियुक्‍ति सदर गरियो।—मत्ती २४:४५-४७; २८:१९, २०; १ कोरि. ६:१९, २०; यशैया ४३:१० सङ्‌ग तुलना गर्नुहोस्‌।

७. (क) अब अहिले त्यस “दास”-लाई के थप जिम्मेवारीहरू दिइएका छन्‌? (ख) त्यस प्रबन्धद्वारा आएको निर्देशनलाई हामीले मान्‍नु किन महत्त्वपूर्ण हो?

मालिक फर्केर आउँदा त्यस “दासले” विश्‍वासिलो भएर आफ्नो काम गरिरहेको पाइएमा उसलाई अझ बढी जिम्मावारीहरू सुम्पिने थियो। त्यसपछिका वर्षहरू राज्यबारे एउटा विश्‍व-व्यापी साक्षी दिने समय हुने थियो। साथै, “महा सङ्‌कष्टबाट” बचाउनका लागि यहोवाका उपासकहरूको एउटा “ठूलो भीड” जम्मा गरिने थियो। (मत्ती २४:१४; प्रकाश ७:९, १०) यिनीहरूलाई पनि आध्यात्मिक भोजनको आवश्‍यकता हुने थियो, र त्यो भोजन तिनीहरूलाई आत्माद्वारा अभिषिक्‍त ख्रीष्टका सेवकहरूद्वारा बनिएको एउटा संयुक्‍त “दास” द्वारा दिइने थियो। यहोवालाई प्रसन्‍न पार्नका लागि यसै माध्यमद्वारा उहाँले दिनुहुने निर्देशनलाई हामीले स्वीकार्नु पर्दछ र सम्पूर्ण रूपले त्यसै अनुरूप काम गर्नु पर्दछ।

८, ९. (क) प्रथम शताब्दीमा धर्म सिद्धान्तसम्बन्धी उठेका प्रश्‍नहरूको फैसला गर्ने र सुसमाचारको प्रचारलाई आवश्‍यक निर्देशन दिने के प्रबन्ध थियो? (ख) आज पनि त्यस्तै प्रकारको कुन प्रबन्ध छ?

हुन तः, कहिलेकाहीं सिद्धान्त र कार्य-प्रणालीबारे प्रश्‍नहरू उठ्‌न सक्‍तछन्‌। यस्तो बेलामा के गर्ने? धर्म परिवर्तन गरेका अन्यजातिका मानिसहरूले पूरा गर्नुपर्ने आवश्‍यकताहरूबारे उठेको विवादको समाधान कसरी गरियो, सो प्रेरितको १५-औं अध्यायले हामीलाई बताउँछ। त्यसै विवाद यरूशलेममा केन्द्रीय परिचालक निकायको रूपमा काम गर्ने प्रेरितहरू र धर्म-गुरुहरूको सामु प्रस्तुत गरियो। ती धर्म-गुरुहरू कहिले नचुक्ने अथवा गलती गर्नै नसक्ने मानिसहरू थिएनन्‌। (गलाती २:११-१४ सङ्‌ग तुलना गर्नुहोस्‌।) तापनि परमेश्‍वरले तिनीहरूलाई नै प्रयोग गर्नुभयो। प्रस्तुत विषयबारे प्रेरित शास्त्रले भन्‍ने कुराहरू, साथै अन्यजातिहरूको क्षेत्रमा प्रचार गर्ने बाटो खोल्नमा पवित्र आत्माले निभाएको भूमिकाको प्रमाणलाई तिनीहरूले ध्यान पुऱ्‍याएर विचार गरे। अनि मात्र तिनीहरूले एउटा निर्णय गरे। परमेश्‍वरले त्यस प्रबन्धमाथि आशिष दिनुभयो। (प्रे. १५:१-२९; १६:४, ५) स्वंय प्रभुले अह्राउनु भए बमोजिम त्यस केन्द्रीय निकाय​बाट बेग्ला-बेग्लै व्यक्‍तिहरूलाई सुसमाचारको विस्तारपूर्वक प्रचार गर्न ठाउँ-ठाउँमा पठाइयो।—प्रे. ८:१४; गला. २:९.

हाम्रो समयमा आत्माद्वारा अभिषिक्‍त विभिन्‍न देशका भाइहरूबाट परिचालक निकायको गठन भएको छ। यस निकायले विश्‍वभरिका लागि यहोवाका साक्षीहरूको मुख्य कार्यालयबाट काम गर्छन्‌। येशू ख्रीष्टको अगुवाइमा यसले शुद्ध उपासनासित सम्बन्धित गतिविधिलाई वफादारीका साथ अगाडि बढाइ राख्छ। यी भाइहरू प्रेरित पावलको दृष्टिकोणसँग सहमत छन्‌, जसले सङ्‌गी मसीहीहरूलाई आध्यात्मिक सर-सल्लाह दिंदा यसप्रकार लेखे: “तिमीहरूका विश्‍वासमा हाम्रो प्रभुत्व भएको होइन, तर तिमीहरूका आनन्दका सहयोगी हौं, किनकि विश्‍वासबाटनै तिमीहरू स्थिर छौ।”—२ कोरि. १:२४.

१०. (क) प्राचीनहरू र सहायक सेवकहरू को को हुने हो, यसको निर्धारण कसले गर्दछ? (ख) ती जिम्मेवारीहरू उठाउन नियुक्‍त भएकाहरूलाई हामीले किन राम्ररी सहयोग दिनु पर्दछ?

१० विश्‍वभरिका यहोवाका साक्षीहरूले यो ईश्‍वरतान्त्रिक प्रबन्धलाई मान्यता दिन्छन्‌। तिनीहरू सबैका स्थानीय मण्डलीहरू योसङ्‌ग पूर्ण सहयोग राखेर काम गर्दछन्‌। मण्डलीहरू राम्ररी सञ्चालित हुन सकून्‌ भनेर प्राचीनहरू र सहायक सेवकहरूको नियुक्‍तिका लागि तिनीहरू परिचालक निकायमा भर पर्दछन्‌। यी कार्यहरूका लागि नियुक्‍त गरिने मानिसहरूलाई छान्‍ने आधार के हो? यसको पूर्ण विवरण बाइबलमा स्पष्टसँग उल्लेख गरिएको छ। सिफारिस गर्ने प्राचीनहरू र नियुक्‍त गर्ने जिम्मावारी भएका दुवैले नै यी आवश्‍यकताहरूलाई ध्यानमा राख्दै परमेश्‍वरको सामुन्‍ने एउटा गम्भीर जिम्मेवारी पूरा गर्नु पर्दछ। (१ तिमो. ३:१-१०, १२, १३; ५:२२; तित. १:५-९) मण्डलीका सदस्यहरूबीच कुनै चुनाउ अभियान चलाइन्दैन नता मण्डलीमा कुनै भोट खसाल्ने गरिन्छ। बरु, प्रथम शताब्दीमा प्रेरितहरूले जसरी मानिसहरू नियुक्‍त गर्थे, सोही आज पनि सिफारिस गर्ने र पछि नियुक्‍त गर्ने जिम्मेवारी भएका निरीक्षकहरूले गर्दछन्‌। तिनीहरू परमेश्‍वरको आत्माको मद्दत र उहाँको वचनबाट निर्देशनको खोजी गर्दै प्रार्थना गर्ने गर्छन्‌। (प्रे. ६:२-४, ६; १४:२३; भजनसंग्रह ७५:६, ७ सङ्‌ग तुलना गर्नुहोस्‌।) हामी सबैले “विश्‍वासमा एकता” प्राप्त गर्न सकौं भनेर ख्रीष्टले हामीहरूका निम्ति “मानिसहरूलाई वरदान”-को रूपमा प्रेमपूर्वक प्रबन्ध गरी दिनु भएको हो। प्राचीनहरूले दिने निर्देशनलाई राम्ररी सुन्‍ने गऱ्‍यौं भने हामीले त्यो प्रबन्धका लागि मूल्याङ्‌गन देखाएको हुनेछ।—एफि. ४:८, ११, १६.

११. (क) आइमाईहरूले पनि ईश्‍वरतान्त्रिक प्रबन्धभित्र कुन कुन प्रकारका सेवाहरू गर्छन्‌? (ख) तिनीहरूले आफ्नो शिरलाई कति बेला ढाक्नु पर्दछ, र किन?

११ शास्त्रमा दिएको निर्देशनअनुसार मण्डलीमा देखरेख गर्ने जिम्मेवारी लोग्ने मानिसहरूले उठाउनु पर्दछ। यो प्रबन्धले आइमाईहरूलाई कुनै रीतिले पनि होच्याउँदैन। स्वर्गीय राज्यका हकवाला हुनेहरूमा धेरै जना आइमाईहरू पनि समावेश गरिएका छन्‌। सुशील र पवित्र चालचलनका साथ आ-आफ्नो परिवारको देखरेख गर्नमा परिश्रमी भएर मसीही आइमाईहरूले पनि मण्डलीको प्रतिष्ठा बढाउनमा योगदान दिन सक्छन्‌। (तित. २:३-५) चासो देखाउने नयाँ नयाँ व्यक्‍तिहरूलाई फेला पार्ने र तिनीहरू र सङ्‌गठनबीच सम्पर्क कायम गर्ने काममा आइमाईहरूले अक्सर ठूलो भूमिका खेल्दछन्‌। (भजन. ६८:११) तर मण्डलीभित्र शिक्षा दिने कामचाहिं नियुक्‍त गरिएका पुरुषहरूले मात्र गर्ने गर्छन्‌। (१ तिमो. २:१२, १३) तथापि, मण्डलीद्वारा प्रबन्ध गरिएको कुनै सभामा योग्य पुरुषहरू छैनन्‌ भने एक जना आइमाईले आफ्नो शिर ढाकेर सभा सञ्चालन अथवा प्रार्थना गर्न सक्‌छिन्‌। a यसप्रकार तिनले यहोवाको प्रबन्धका लागि आदर देखाउँछिन्‌, जसरी येशूले पनि आफ्नो पिताको अधीनमा रहनु भएर सबैका लागि एउटा उदाहरण कायम गरी दिनुभयो।—१ कोरि. ११:३-१६; यूह. ८:२८, २९.

१२. (क) प्राचीनहरूले आफ्नो जिम्मेवारीप्रति कुन दृष्टिकोण राख्नु भनी बाइबलमा आग्रह गरिएको छ? (ख) कुन काममा भागलिने अत्युत्तम मौका हामी सबैले नै पाएका छौं?

१२ संसारमा एउटा महत्त्वपूर्ण ओहदामा हुने व्यक्‍ति प्रतिष्ठित ठानिन्छ। तर परमेश्‍वरको सङ्‌गठनमा भने यो नियम लागूहुन्छ: “तिमीहरू सबैमा जो सबैभन्दा सानो छ, त्यही ठूलो हुन्छ।” (लूका ९:४६-४८; २२:२४-२६) अतः परमेश्‍वरको बगालमाथि प्रभुत्व जमाउन​देखि होसियार हुनु र बरु तिनीहरूका लागि एउटा उदाहरण बन्‍नु भनेर शास्त्रले प्राचीनहरूलाई सल्लाह दिएको छ। (१ पत्रु. ५:२, ३) केही थोरैले मात्र होइन, तर सबै यहोवाका साक्षीहरूले, पुरुष र महिला सबैले नै, विश्‍वका सर्वसत्ताधारीलाई प्रतिनिधित्व गर्ने, उहाँको नाउँमा नम्रतापूर्वक बोल्ने र उहाँको राज्यबारे प्रत्येक ठाउँमा मानिसहरूलाई भन्‍ने अत्युत्तम मौका पाएका छन्‌।

१३. उद्धृत शास्त्रपदहरूलाई प्रयोग गर्दै अनुच्छेदको अन्तमा दिएका प्रश्‍नहरूको छलफल गर्नुहोस्‌।

१३ हामीले आफैलाई यो प्रश्‍न सोध्नु बेस हुनेछ: “यहोवाले आफ्नो सङ्‌गठनलाई जुन ढङ्‌गमा सञ्चालन गर्नु हुँदैछ, के त्यसको हामी साँच्चै नै मूल्याङ्‌कन गर्दछौं? के हाम्रो बोली, वचन र कार्यले त्यस कुरालाई प्रतिबिम्बित गर्दछ?” निम्नलिखित बुँदाहरूबारे विचार गऱ्‍यौं भने हामीले त्यस प्रकारको विश्‍लेषण गर्ने मदत पाउन सक्नेछौं।

 ख्रीष्टलाई वास्तवमा मण्डलीका शिर मानेर हामी उहाँका अधीनमा हुन्छौं भने, निम्नलिखित शास्त्रपदहरूमा सङ्‌केत गरिए झैं हामीले के गरिरहेका हुनेछौं? (मत्ती २४:१४; २८:१९, २०; लूका २१:३४-३६; यूह. १३:३४, ३५)

 फलदायी मसीही हुने प्रयत्न गर्दा सङ्‌गठनका सबै नै सदस्यहरूले परमेश्‍वर र ख्रीष्टमाथि कुन हद्‌सम्म भरोसा राख्नु पर्दछ? (यूह. १५:५; १ कोरि. ३:५-७)

 सङ्‌गठनका बाँकी सबै नै सदस्यहरूले राखेको दृष्टिकोण राख्न सकून्‌ भनेर प्राचीनहरूले कुनै कुनै व्यक्‍तिहरूको सोचाइमा छाँटकाँट ल्याउने कोशिश गर्दा यो कसको दयापूर्ण चासो हो भनी हामीले बुझ्नु पर्दछ? (एफि. ४:७, ८, ११-१३; २ कोरि. १३:११)

 हामीले “दास” वर्ग र परिचालक निकायबाट आउने आध्यात्मिक प्रबन्धहरूलाई मूल्याङ्‌कनको भावका साथ स्वीकार गर्दा कसका निम्ति आदर देखाइ रहेका हुनेछौं? तर तिनीहरूलाई होच्याउने किसिमबाट कुरा गऱ्‍यौं भने नि? (लूका १०:१६; ३ यूह. ९, १० सङ्‌ग तुलना गर्नुहोस्‌।)

 नियुक्‍त प्राचीनहरूको विरुद्धमा तीव्र आलोचना हामीले किन गर्नु हुँदैन? (प्रे. २०:२८; रोमी १२:१०)

१४. (क) ईश्‍वरतान्त्रिक सङ्‌गठनप्रतिको आफ्नो मनोवृत्तिद्वारा हामी के प्रदर्शित गर्दछौं? (ख) यस सम्बन्धमा शैतानलाई झुट्टा ठहराउने र यहोवाको हृदयलाई आनन्दित पार्ने हाम्रालागि के मौकाहरू उपलब्ध छन्‌?

१४ ख्रीष्टलाई शिर नियुक्‍त गर्नु भएको आफ्नो दृश्‍य सङ्‌गठनद्वारा यहोवाले हामीसित आज सम्पर्क राख्नु हुन्छ। अतः यस सङ्‌गठनप्रतिको हाम्रो मनोवृत्तिद्वारा सार्वभौमिकताको विवादमा हामीले आफ्नो अडान व्यावहारिक ढङ्‌गमा प्रदर्शित गर्दछौं। (हिब्रू १३:१७) शैतानको भनाइ छ कि हामी सबै नै व्यक्‍तिगत फायदा पाउने इच्छाले प्रेरित छौं र स्वार्थ सिद्धि नै हाम्रो मुख्य चासोको विषय हो। तर यदि आफूतिर चाँहिदोभन्दा बढी ध्यान आकर्षित गर्ने काम नगरेर आवश्‍यकतानुसार कुनै पनि काम गर्न खुशीसाथ सदा अघि बढने गऱ्‍यौं भने शैतानलाई हामी झुट्टा साबित गर्नेछौं। ‘लाभको खातिर मानिसको पक्षपात गर्नेहरू’ जस्ता नभएर बरु हाम्रोबीच ‘अगुवाइ गर्नेहरूको’ विश्‍वासको अनुकरण गर्दै तिनीहरूलाई हामीले प्रेम र आदर गऱ्‍यौं भने यहोवाको हृदयलाई हामीले खुशी पार्नेछौं। (हिब्रू १३:७; यहू. १६) यहोवाको सङ्‌गठनप्रति सम्पूर्ण आदर विकाश गर्दै उहाँले दिनुहुने निर्देशनअनुसार कुनै सङ्‌कोच नमानी काम गर्नाले यहोवा साँच्चै नै हाम्रो परमेश्‍वर हुनुहुन्छ र उहाँको उपासनामा हामी एकताबद्ध छौं भन्‍ने कुराको प्रमाण दिइरहेका हुनेछौं।—१ कोरि. १५:५८.

[फुटनोट]

a तथापि, घर-घर प्रचार गर्दा तिनले आफ्नो शिर ढाक्नु पर्दैन किनभने प्रचार गर्ने जिम्मेवारी सबै नै मसीहीहरूले पाएका छन्‌। तर आफ्नो पतिको उपस्थितिमा (जो तिनको शिर हुन्‌, मसीही नभए तापनि) बाइबल अध्ययन सञ्चालन गर्नु परेमा तिनले शिर ढाक्नु पर्दछ। साथै, तिनले कुनै पूर्वनिर्धारित बाइबल अध्ययन सञ्चालन गर्दा त्यहाँ कथङ्‌कदाचित मण्डलीका एक जना समर्पित पुरुष उपस्थित छन्‌ भने तिनले आफ्नो शिर ढाक्नु पर्दछ। तर प्रार्थना चाहिं पुरुषले गर्नेछन्‌।

पुनरावलोकन एवं छलफल

• आज यहोवाको दृश्‍य सङ्‌गठन कुन हो? त्यसको उद्देश्‍य के हो?

• मण्डलीको शिर कसलाई नियुक्‍त गरिएको छ? उहाँले कुन दृश्‍य प्रबन्धहरूद्वारा हामीलाई प्रेमपूर्ण निर्देशन दिनुहुन्छ?

• सङ्‌गठनका व्यक्‍तिहरू र जिम्मेवारीहरूप्रति हामीले कुन हितकर मनोवृत्तिको विकाश गर्नु पर्दछ?

[अध्ययनका लागि प्रश्‍नहरू]