सल्लाह सुन्नुहोस्, अनुशासन स्वीकार्नु होस्
अध्याय १६
सल्लाह सुन्नुहोस्, अनुशासन स्वीकार्नु होस्
१. (क) के हामीमध्ये कोही यस्ता छन् जसलाई सल्लाह र अनुशासनको आवश्यकता पर्दैन? (ख) तर कुन प्रश्नहरू हामीले विचार गर्नु बेस हुनेछ?
“धेरै कुरामा हामी चुक्छौं।” यो शास्त्रपदसँग हामीमध्ये धेरै जना तुरुन्तै आफ्नो सहमति जनाउँछौं। (याकु. ३:२) कैयौं पटक हामी परमेश्वरको वचनले आग्रह गरेअनुसारको व्यक्ति, अथवा जुन प्रकारको व्यक्ति हामी हुन चाहन्छौं होला त्यस्तो हुन नसकेको हामी स्वंयलाई थाह छ। अतः बाइबलका यी शब्दहरूको सत्यतालाई हामी स्वीकार्दछौं: “दिएको सल्लाह राम्ररी सुन, र अर्ती ग्रहण गर, यसरी [भविष्यमा तिमी बुद्धिमान हुनेछौ, न्यु व.]।” (हितो. १९:२०) हामी जान्दछौं, हामीलाई यसप्रकारको मदत चाहिन्छ। बाइबलबाट सिकेको कुराअनुसार आफ्नो जीवनलाई ढाल्न हामीले निःसन्देह आवश्यक छाँटकाँट गरेका छौं। तर हामीले बुद्धि नपुऱ्याएको कुनै कुरा छ र त्यसबारे एकजना सङ्गी मसीहीले हामीलाई व्यक्तिगत रूपमा सल्लाह दिंदा हाम्रो कस्तो प्रतिक्रिया हुन्छ? अथवा हाम्रा केही गतिविधिहरूमा हामीले सुधार ल्याउनेसन्बन्धमा तिनले एउटा सानो सुझाव दिंदा हामी के गर्छौं?
२. (क) व्यक्तिगत सल्लाहका लागि हामीले किन मूल्याङ्कन व्यक्त गर्नुपर्दछ? (ख) कुन प्रकारको प्रतिक्रिया हामीले देखाउनु हुँदैन?
२ हाम्रो असिद्ध मानव स्वभावको कारण हाम्रो भित्री प्रतिक्रिया त्यतिखेर जे भए तापनि सल्लाहका लागि हामीले हार्दिक मूल्याङ्कन जाहेर गरेर त्यसलाई प्रयोगमा ल्याउने कोशिश गर्नुपर्दछ। हामीले यसो गऱ्यौं भने परिणाम लाभदायक हुनसक्छ। (हिब्रू १२:११) तथापि, सल्लाह पाउँदा सम्भवतः हामीले गलतीको गम्भीरतालाई कम पार्न खोज्दै आफूलाई ठीक साबित गर्न खोजेका छौं होला वा अरूमाथि नै दोष थोपर्ने प्रयास पनि गर्न सक्छौं। के तपाईंले कहिले यस प्रकारको प्रतिक्रिया देखाउनु भएको छ? पछिबाट त्यस घटनालाई सम्झँदा सल्लाह दिने व्यक्तिसित के हामीलाई रीस उठेर आउँछ? आफ्नो कमजोरीबाट दोषमुक्त हुनका लागि सल्लाह दिने व्यक्तिको गल्तीहरूलाई कोट्याउने वा सल्लाह दिने तिनको तरिकाको आलोचना गर्ने मानसिक झुकाव के हामीमा छ? यसप्रकारको मानसिक झुकावमाथि विजयी हुन के बाइबलले कुनै पनि व्यक्तिलाई मद्दत दिन सक्छ?
हाम्रो चेताउनीका निम्ति लेखबद्ध गरिएका उदाहरणहरू
३. (क) बाइबलमा के कस्ता कुराहरू छन् जसले गर्दा सल्लाह र अनुशासनप्रति सही दृष्टिकोण विकाश गर्नमा हामीले मदत पाउन सक्तछौं? (ख) सल्लाह पाउँदा शाऊल र उज्जियाहले देखाएको प्रतिक्रियालाई विश्लेषण गर्न, माथि दिएका प्रश्नहरूहरूको प्रयोग गर्नुहोस्।
३ यसबारे परमेश्वरको वचनले प्रत्यक्ष रूपमा प्रशस्त चेताउनी दिएको छ। तर यसबाहेक, सल्लाह पाएका मानिसहरूको सत्यकथाहरू पनि यसमा पाइन्छन्। सल्लाह पाउने व्यक्तिले आफ्नो मनोवृत्ति अथवा चालचलनमा परिवर्तन ल्याउन आवश्यक पर्दा अक्सर अनुशासनको रूपमा पनि सल्लाह दिइन्थ्यो। यस्ता केही उदाहरणहरूलाई जाँच्नका निम्ति तल दिएका प्रश्नहरूको प्रयोग गर्नुहुँदा तिनमा हामी सबैका लाभका लागि धेरै कुराहरू तपाईंले भेट्टाउनु हुनेछ:
किशको छोरा, शाऊल: अमालेकीहरूको विरुद्धमा युद्ध गर्दा उसले त्यहाँका राजा र असल असल जनावरहरूलाई बचाएर राख्यो। ऊ यहोवाप्रति पूर्णरूपमा आज्ञाकारी भएन। (१ शमू. १५:१-११)
त्यतिखेर शमूएलले सुधारसहितको अर्ती दिंदा शाऊलले आफ्नो गल्तीलाई सानो पार्ने कोशिश गरेको कुरा उसको प्रतिक्रियाबाट कसरी देखिन्छ? (२० पद) उसले दोष को माथि थोपर्न खोज्यो? (२१ पद) अन्तमा आफ्नो गलती स्वीकार गर्दा पनि, उसले के बहाना प्रस्तुत गऱ्यो? (२४ पद) यस्तो बेलामा पनि उसलाई विशेषतः कुन कुराकै चिन्ता थियो? (२५, ३० पदहरू)
उज्जियाह: ऊ यहोवाको मन्दिरभित्र धूप चढाउन गयो। यसो गर्ने अधिकार पूजाहारीहरूलाई मात्र दिइएको थियो। (२ इति. २६:१६-२०)
मुख्य पूजाहारीले उज्जियाह राजालाई रोक्न खोज्दा राजा किन क्रोधित भयो? (१६ पदसङ्ग तुलना गर्नुहोस्।) यसको परिणाम के भयो? (१९-२१ पदहरू)
४. (क) शाऊल र उज्जियाह दुवैलाई सल्लाह स्वीकार्न किन यति गाह्रो भयो? (ख) आज पनि त्यो किन एउटा गम्भीर समस्या छ?
४ यी दुवै घटनाहरूसित सम्बन्धित व्यक्तिहरूलाई सल्लाह स्वीकार्न किन यति गाह्रो लाग्यो? मूल समस्या अहङ्कार थियो। दुवैले आफूलाई आवश्यकताभन्दा ठूला ठान्दथिए। यसप्रकारको स्वभावको कारण मानिसहरूले आफूमाथि धेरै दुःख ल्याएका छन्। उमेर अथवा कुनै ओहदाको कारण कति जनाले आफूलाई एउटा उच्च सामाजिक श्रेणीका ठान्दछन्। यसले गर्दा तिनीहरू व्यक्तिगत सल्लाह स्वीकार्न तयार हुँदैनन्। तिनीहरूको विचारमा सल्लाह पाउनुको अर्थ आफूमा केही कमी देखिनु अथवा आफ्नो मानहानि हुनु हो। तर वास्तवमा अहङ्कार नै तिनीहरूको कमजोरी हो। यसप्रकारको त्रुटि सबैमा हुन्छ भन्दै आफू दोषमुक्त हुन पाइँन्दैन। यहोवाले उहाँको वचन र दृश्य सङ्गठनद्वारा दिनुहुने प्रेमपूर्ण मदतलाई तिरस्कार गर्न लगाउन शैतानले प्रयोग गर्ने यो एउटा पासो हो। त्यसले एकजना व्यक्तिको सोचाइलाई धमिलो पार्दछ। यहोवाले यो चेताउनी दिनुहुन्छ: “नाशको अघि अहंकार र पतनको अघि अभिमान आउँछ।”—हितो. १६:१८; साथै हेर्नुहोस् रोमी १२:३; हितोपदेश १६:५.
५. मोशा र दाऊदसित सम्बन्धित घटनाहरूबाट हामी के शिक्षा लिन सक्छौं, सो पत्ता लाउन यस अनुच्छेदसङ्गै दिइएका प्रश्नहरूलाई प्रयोग गर्नुहोस्।
५ अर्कोतर्फ, सल्लाह मान्नेहरूको राम्रा उदाहरणहरू पनि शास्त्रमा पाइन्छन्। यिनीहरूबाट पनि बहुमूल्य पाठ सिक्न सकिन्छ। विचार गर्नुहोस्:
मोशा: आफ्नो स्वास्थ्यलाई हानि नहुनेगरी आफूलाई सुम्पिएको ठूलो जिम्मेवारी उठाउन केही व्यावहारिक तरिकाहरू मोशालाई तिनको ससुराले दिए। मोशाले त्यो सल्लाह सुने र त्यसलाई तुरुन्तै प्रयोगमा पनि ल्याए। (प्रस्थ. १८:१३-२४)
मोशासित त्यत्रो अधिकार हुँदाहुँदै पनि उचित सल्लाह स्वीकार्न तिनी किन तयार थिए? (गन्ती १२:३ सङ्ग तुलना गर्नुहोस्।) त्यसप्रकारको गुण हाम्रालागि कतिको महत्त्वपूर्ण छ? (सप. २:३)
दाऊद: तिनले व्यभिचार गरे। साथै, आफ्नो व्यभिचारी कार्यलाई ढाकछोप गर्न र ती स्त्रीसित विवाह गर्न तिनले त्यस स्त्रीको लोग्नेलाई मारिदिने षडयन्त्र रचे। यी सबैका लागि दाऊद दोषी थिए। महिनौंपछि मात्र यहोवाले दाऊदलाई हप्काउन नातानलाई पठाउनु भयो। (२ शमू. ११:२–१२:१२)
हप्की पाउँदा के दाऊद रिसाए? के तिनले आफ्नो गलतीलाई सानो बनाउने अथवा अरूमाथि दोष थोपर्ने प्रयास गरे? (२ शमू. १२:१३; भजन. ५१: माथि शीर्षक र १-३ पदहरू) दाऊदले गरेको पश्चात्तापलाई परमेश्वरले स्वीकार्नु भए तापनि के तिनको गलत चालको खराब असरबाट दाऊद र तिनका घर-परिवार मुक्त भए? (२ शमू. १२:१०, ११, १४; प्रस्थ. ३४:६, ७)
६. (क) आफूलाई राम्रो सल्लाह दिने मानिसहरूबारे दाऊदले के कस्तो विचार राखे? (ख) यस प्रकारको सल्लाहलाई सहजताका साथ स्वीकार्दा हामी कसरी लाभान्वित हुन सक्छौं? (ग) हामीले कडा अनुशासन पाउँदा के कुरा बिर्सनु भएन?
६ ठोस सल्लाह सुन्नु लाभदायक हो भन्ने कुरा राजा दाऊदलाई पूरा थाह थियो। सल्लाह दिन आउने व्यक्तिका लागि पनि दाऊदले समय समयमा परमेश्वरलाई धन्यवाद चढाउँदथिए। (१ शमू. २५:३२-३५; हितोपदेश ९:८ पनि हेर्नुहोस्।) के हामी पनि त्यस्तै छौं? छौं भने, हामी त्यस्ता कुराहरू बोल्ने र गर्ने छैनौं जसको कारण हामीले पछितो गर्नुपर्छ। तर दाऊदले बेतशेबासित गरेको पापका लागि पाएको जस्तै कडा अनुशासन कुनै परिस्थितिवश हामीले पनि पायौं भने यो एउटा कुरा कहिले बिर्सनु भएन, अर्थात् अनुशासन हाम्रै अनन्त भलाइका लागि यहोवाको प्रेमको एउटा प्रमाण हो।—हितो. ३:११, १२; ४:१३.
विकास गर्नुपर्ने अमूल्य गुणहरू
७. राज्यमा प्रवेश गर्नका निम्ति मानिसहरूमा हुनुपर्ने कुनचाहिं गुण येशूले देखाउनु भयो?
७ यहोवा र हाम्रा मसीही भाइहरूसँग एउटा राम्रो सम्बन्ध कायम गर्न हामीले केही व्यक्तिगत गुणहरूको विकाश गर्नु आवश्यक छ। तीमध्ये एउटा गुणलाई महत्त्व दिनु हुँदै येशूले एउटा सानो बालकलाई आफ्ना चेलाहरूका बीचमा राख्नुभयो र भन्नुभयो: “तिमीहरू बदलिएर साना बालकहरूजस्ता भएनौ भने कुनै रीतिले स्वर्गको राज्यमा पस्नेछैनौं। यसकारण जसले यो सानो बालक जस्तै आफूलाई नम्र तुल्याउँछ, त्यही स्वर्गको राज्यमा सबैभन्दा ठूलो हुनेछ।” (मत्ती १८:३, ४) ती चेलाहरूले आफूमा परिवर्तन ल्याउनु परेको थियो। तिनीहरूले आफ्नो अहङ्कार त्यागेर नम्रताको विकाश गर्नु परेको थियो।
८. (क) कसका अगाडि हामी नम्र हुनुपर्दछ, र किन? (ख) हामी नम्र छौं भने सल्लाह पाउँदा कस्तो प्रतिक्रिया देखाउनेछौं?
८ प्रेरित पत्रुसले पछि आफ्नो सङ्गी मसीहीहरूलाई यसप्रकार लेखे: “तिमीहरू सबै एउटाले अर्कोप्रति नम्रताको व्यवहार गर, किनभने परमेश्वरले घमण्डीहरूलाई विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्छ।” (१ पत्रु. ५:५) परमेश्वरका सामुन्ने नम्र हुनुपर्दछ भनी हामी जान्दछौं। तर यस पदअनुसार त विश्वासका आफ्ना सङ्गीहरू सित व्यवहार गर्दा पनि हामीलाई नम्र हुने खाँचो छ। हामी नम्र छौं भने तिनीहरूले दिएका सुझावहरूलाई हामी मूर्खतापूर्वक तिरस्कार गर्नेछैनौं। एक अर्काबाट सिक्न हामी इच्छुक हुनेछौं। (हितो. १२:१५) र हाम्रो सुधारका लागि हामीलाई हाम्रा भाइहरूले सल्लाह दिन आवश्यक ठानेमा हामी त्यसलाई इन्कार गर्ने छैनौं। किनभने हामीलाई तहमा ल्याउने यहोवाको यो एउटा प्रेमपूर्ण माध्यम हो भनी हामी स्वीकार्छौं।—भजन. १४१:५.
९. (क) नम्रतासित अर्को कुन महत्त्वपूर्ण गुण सम्बन्धित छ? (ख) हाम्रा कामकुराबाट अरूहरूमाथि पर्ने प्रभावबारे हामी किन संवेदनशील हुनुपर्दछ?
९ नम्रतासित सम्बन्धित एउटा अर्को गुण अर्काको भलाइमा हार्दिक चासो लिनु हो। हामी जे गर्दछौं त्यसको प्रभाव अरूहरूमाथि पनि पर्दछ। यो कुरा हामीले कहिले बिर्सनु हुँदैन। अरूहरूको अन्तस्करणमा पर्ने प्रभावबारे संवेदनशील हुनु भनेर प्रेरित पावलले कोरिन्थ र रोमका प्राचीन मसीहीहरूलाई सल्लाह दिए। यसको अर्थ तिनीहरूले आफ्ना सबै व्यक्तिगत अभिरुचिहरू पन्छाउनु भनेको होइन। बरु, तिनीहरूले त्यस्ता कुनै काम गर्नु हुँदैन थियो जसबाट एउटा अर्को व्यक्तिले आफ्नो अन्तस्करणको विपरीत कार्य गर्ने बल पाओस्। किनकि यसबाट त्यस व्यक्तिको आध्यात्मिकता बरबाद हुन सक्थ्यो। मोटा-मोटी रूपमा त्यस सिद्धान्तलाई स्पष्ट ढङ्गले व्यक्त गर्दै पावलले लेखे: “आफ्नै होइन, तर आफ्नो छिमेकीको भलाइ खोज . . . यसकारण चाहे तिमीहरू खाओ अथवा पिओ, अथवा तिमीहरू जेसुकै गर, सबै परमेश्वरकै महिमाको निम्ति गर। तिमीहरूले यहूदीहरू अथवा ग्रीकहरू, या परमेश्वरको मण्डलीलाई कुनै किसिमको बाधा पर्ने मौका नदेओ।”—१ कोरि. १०:२४-३३; ८:४-१३; रोमी १४:१३-२३.
१०. शास्त्रमा आधारित त्यस सल्लाहलाई प्रयोगमा ल्याउने बानी हामीले बसालेका छौं कि छैनौं भन्ने कुरा केले जनाउनेछ?
१० के तपाईं आफ्नो अभिरुचिलाई भन्दा अरूहरूको भलाइलाई प्राथमिकता दिने व्यक्ति हुनुहुन्छ? यसो गर्ने धेरै तरिकाहरू छन्। तर यहाँ एउटा उदाहरणलाई विचार गर्नुहोस्: हामी उत्ताउला नभएर सफा-सुग्घर छौं भने हाम्रो पोशाक र कोरीबाटी साधारणतया व्यक्तिगत अभिरुचिको कुरा हो। तर तपाईं बस्नु भएको समाजका मानिसहरूको संस्कृतिको कारण तपाईंको पोशाक अथवा कपाल कोर्ने ढङ्ग राज्यको समाचार सुन्नमा तिनीहरूलाई एउटा बाधा भइरहेको हुन सक्छ। र सो कुरा तपाईंलाई थाह भयो भने तपाईं के गर्नुहुन्छ? के तपाईं आफ्नो तौर-तरिकमा केही छाँट-काँट ल्याउनुहुन्छ? आफ्नो खुशीलाई भन्दा एउटा अर्को व्यक्तिको जीवनलाई के तपाईं बढी महत्त्व दिनुहुन्छ?
११. हामी वास्तवमा मसीहीहरू हुन चाहन्छौं भने ती गुणहरूको विकाश गर्न अत्यन्त जरुरी छ भनी केले देखाउँदछ?
११ माथि छलफल गरिएका गुणहरू हाम्रो व्यक्तित्वको एउटा भाग हुन थालेपछि हामीमा ख्रीष्टको जस्तो मनको विकाश हुन थालेको छ भनेर प्रमाणित हुँदछ। नम्र हुनुमा येशूले एउटा उत्कृष्ट उदाहरण कायम गर्नुभयो। (यूह. १३:१२-१५; फिलि. २:५-८) आफूलाई मात्र खुशी पार्नुको सट्टा अरूहरूप्रति चासो देखाउनु भएर उहाँले हाम्रालागि एउटा अनुकरणीय उदाहरण कायम गरी दिनुभयो।—रोमी १५:२, ३.
यहोवाको अनुशासनलाई इन्कार नगर्नुहोस्
१२. (क) परमेश्वरलाई खुशी तुल्याउने किसिमको व्यक्तित्व बनाउनका लागि हामी सबैले आफूमा कुन कुन परिवर्तनहरू ल्याउनु पर्दछ? (ख) केले हामीलाई मदत दिनेछ?
१२ हामी सबै नै पापी भएका हुनाले हाम्रो परमेश्वरको व्यक्तित्वलाई प्रतिबिम्बित गर्न सक्नका लागि हाम्रो बोली-वचन र व्यवहारमा परिवर्तन ल्याउनु आवश्यक पर्छ। हामीलाई “नयाँ चोला” धारण गर्ने खाँचो पर्छ। (कल. ३:५-१४; तित. २:११-१४) कुन कुन क्षेत्रमा छाँट-काँटको आवश्यकता छ, सो ठम्याउने र त्यसलाई कार्यान्वयन गर्ने मदत हामीलाई सल्लाह र अनुशासनले दिन्छ।
१३. (क) हामी सबैका लागि यहोवाले कुन माध्यमद्वारा सल्लाह र अनुशासन प्रदान गर्नु भएको छ? (ख) तीसित हामीले के गर्नु पर्दछ?
१३ त्यसप्रकारको शिक्षाको आधारभूत स्रोत बाइबल नै हो। (२ तिमो. ३:१६, १७) र त्यसलाई प्रयोगमा ल्याउने मदत हामीले यहोवाको दृश्य सङ्गठनद्वारा उपलब्ध बाइबलसम्बन्धी साहित्य र सभाहरूद्वारा पाउँदछौं। ती कुराहरू हामीले पहिले सुनेकै भए तापनि हाम्रालागि व्यक्तिगत रूपमा ती कुराहरू आवश्यक छन् भन्दै के हामी त्यसलाई नम्रतापूर्वक स्वीकार्दछौं? र के आफूमा सुधार ल्याउने प्रयास निरन्तर गरिरहन्छौं?
१४. व्यक्तिगत रूपमा यहोवाले हामीलाई अझ बढी के मदत दिनुहुन्छ?
१४ हाम्रोनिम्ति एउटा विशेष समस्या हुन सक्ने विषयसित एकलै सङ्घर्ष गर्न यहोवाले हामीलाई एकलै छाडनु हुन्न। प्रेमपूर्ण चासोसहित उहाँले हाम्रो व्यक्तिगत मदतका लागि प्रबन्ध मिलाउनु हुन्छ। गृह बाइबल अध्ययनहरूद्वारा पाइने यसप्रकारको मदतबाट लाखौं मानिसहरूले लाभ उठाएका छन्। आफ्नो छोरा-छोरीको चालचलन पछि गएर जीवनमा एउटा ठूलो दुःखको कारण नहोस् भनेर तिनीहरूलाई अनुशासनमा राख्ने आमाबाबुहरूको एउटा ठूलो जिम्मेवारी छ। (हितो. ६:२०-३५; १५:५) आवश्यकता परेको खण्डमा मण्डलीभित्र पनि शास्त्रपदहरूको प्रयोग गर्दै नम्रताको भावसाथ अरूहरूमा सुधार ल्याउनु आध्यात्मिक योग्यता भएकाहरूको जिम्मेवारी हो। (गला. ६:१, २) यिनै तरिकाहरूद्वारा यहोवाले हामीलाई सल्लाह र अनुशासन दिनुहुन्छ ताकि हामीले उहाँको उपासना एकताबद्ध भएर गर्नसकौं।
पुनरावलोकन एवं छलफल
• हामीले आफूमा के कस्ता छाँट-काँटहरू ल्याउनु परेको छ, सो पत्ता लाउनु यहोवाले हामीलाई कसरी मायालु ढङ्गमा मदत दिनुहुन्छ?
• सल्लाह मान्न धेरैलाई किन गाह्रो लाग्दछ? यो कतिको खतरनाक हो?
• कुन अमूल्य गुणहरूले हामीलाई सल्लाह मान्न मदत दिनेछन्? यसबारे येशूले कसरी उदाहरण कायम गर्नुभयो?
[अध्ययनका लागि प्रश्नहरू]