सारा सृष्टिले सामना गर्नु पर्ने प्रश्न
अध्याय ६
सारा सृष्टिले सामना गर्नु पर्ने प्रश्न
१. (क) अदनमा शैतानले के विवाद उठायो? (ख) त्यसले भनेको कुरा यो विवादसँग कसरी सम्बन्धित छ?
अदनमा विद्रोह भड्किंदा सारा सृष्टिलाई असर पर्ने गरी एउटा गम्भीर प्रश्न उठेको थियो। शैतानको भनाइअनुसार हव्वा र तिनको पति धेरै कुराबाट वञ्चित गराइएका थिए। त्यसले तिनीहरूलाई यो प्रश्न सोध्यो: “के परमेश्वरले तिमीहरूलाई बगैंचाको कुनै रूखको फल नखानू भनी भन्नुभएको छ?” एउटै रूखको विषयमा मात्र परमेश्वरले यसो भन्नु भएको छ भनेर हव्वाले यसप्रकार उत्तर दिइन्: “त्यो चाहिं नखानू र नछुनू, नत्रता तिमीहरू मर्छौ।” त्यसो भन्दा यहोवाले झूट बोल्नु हुँदैछ भनेर शैतानले सोझै यहोवामाथि दोष लगायो। त्यसको विचारमा नता हव्वाको न आदमको जीवन परमेश्वरको आज्ञा पालन गर्नुमा भर पर्द थियो। जीवनमा आफ्नालागि आफै नियम बनाउने क्षमता परमेश्वरले आफ्ना सृष्टिबाट खोसेर राख्नु भएको छ भन्ने दाबी शैतानले गर्यो। त्यसले ठोकेर भन्यो: “तिमीहरू कदापि मर्दैनौ। किनकि परमेश्वर जान्नु हुन्छ कि जुन दिन तिमीहरू त्यो फल खान्छौ त्यही दिन तिमीहरूका आँखा खुल्नेछन्, र असल र खराबको ज्ञान पाएर तिमीहरू पनि परमेश्वरजस्तै हुनेछौ।” (उत्प. ३:१-५) आफ्ना लागि आफै फैसला गरेमा तिनी अझ सुखी हुनेछन् भनेर शैतानले हव्वालाई विश्वास दिलायो। यसप्रकार त्यसले परमेश्वरको शासन गर्ने अधिकार र उहाँको शासन-प्रणालीलाई नै चुनौती दियो। त्यहाँ उठाइएको प्रश्न वास्तवमा ब्रह्माण्डको सार्वभौमिकतासित सम्बन्धित थियो।
२. प्रथम मानव जोडीलाई कुन कुराले बचाउन सक्ने थियो?
२ हव्वाले यहोवालाई प्रेम गरेकी भए तिनी जोगिन सक्ने थिइन्। आफ्नो पतिको अधिकारलाई आदर गरेकी भए तिनी गलत काम गर्नदेखिन् बाँच्ने थिइन्। तर तिनले आफूलाई तुरुन्तै फायदा हुने कुरा मात्र सोचिन्। निषेध गरिएको कुरा तिनको नजरमा रहरलाग्दो हुनगयो। तिनी शैतानका तर्कहरू द्वारा पूर्णतया भ्रममा परेकी थिइन्। तिनले परमेश्वरको नियम भङ्ग गरिन्। त्यसपछि, तिनले आदमलाई पनि सामेल गराइन्। आदम भने शैतानको झुट्टा कुरा सुनेर भ्रममा परेनन्। तर उनले चाहिं परमेश्वरको प्रेमको मूल्याङ्कन पटक्कै गर्न सकेनन्। उनले यहोवाको अधिकारको अनादर गर्दै आफ्नी विद्रोही पत्नीसङ्गै लाग्न रोजे।—उत्प. ३:६; १ तिमो. २:१३, १४.
३. (क) यहोवाको सार्वभौमिकतामाथि शैतानले गरेको आक्रमणसित अर्को कुन विवाद सम्बन्धित छ? (ख) त्यसबाट को को प्रभावित भएका छन्?
३ यहोवाको सार्वभौमिकतामाथि शैतानले गरेको आक्रमण अदनमा घटेको घटनासितै समाप्त भएन। अदनमा शैतानले आफूलाई केही हदसम्म सफल ठान्यो। अतः, त्यसले पछि यहोवाप्रति अरूहरूको वफादारीबारे पनि शङ्का व्यक्त गर्यो। त्यसकारण, यो कुरा प्रथम पटक उठाइएको प्रश्नसित सम्बन्धित हुनगयो, अर्थात् एउटा दोस्रो प्रश्नको रूपमा खडाभयो। उसको यस चुनौतीमा आदमका सन्तान र यहोवाका अति नै प्रिय प्रथम पुत्र लगायत परमेश्वरका सबै नै आत्मिक पुत्रहरू समावेश भए। शैतानको भनाइअनुसार यहोवाको सेवा गर्नेहरूले यहोवालाई र उहाँको शासन-प्रणालीलाई प्रेम गर्दैनन्। तिनीहरूले त आफ्नो स्वार्थपूर्तिका लागि मात्र सेवा गरिरहेका छन्। कुनै अप्ठ्यारो स्थितिको सामना गर्नु परेमा तिनीहरू जम्मै आफ्ना स्वार्थी इच्छाहरूको पछि लाग्नेछन्। के उसले भनेको कुरा सही थियो?—अय्यु. १:६-१२; २:१-६; प्रकाश १२:१०.
यस प्रश्नप्रति तिनीहरूले कस्तो प्रतिक्रिया व्यक्त गरे?
४. यहोवाको सार्वभौमिकतालाई धेरै मानिसहरूले किन समर्थन गर्दैनन्?
४ यस विद्रोहमा शैतानलाई अरूहरूले पनि साथ दिन सक्ने सम्भावनालाई यहोवाले इन्कार गर्नु भएन। भनौं भने, अदनमा फैसला सुनाउनु हुँदा परमेश्वरले ‘साँपका सन्तान’ बारे चर्चा गर्नुभयो। (उत्प. ३:१५) यस सन्तानमा येशूलाई मार्ने षडयन्त्र गर्ने फरिसीहरू र येशूलाई विश्वासघात गर्ने यहूदा इस्करयोती सम्मिलित थिए। तिनीहरूले अनजानमा कुनै कदम उठाएका थिएनन्। के ठीक हो, सो तिनीहरूलाई थाह थियो। तापनि यहोवा र उहाँका सेवकहरूको विरोध तिनीहरूले जानाजानी गरे। तथापि, यहोवाका आवश्यकताहरूअनुसार नहिंड्ने अझ अनगिन्ती मानिसहरूले चाहिं सो कुरा अज्ञानताको कारण गरे।—प्रे. १७:२९, ३०.
५. (क) हव्वाजस्तो नभएर यहोवाप्रति वफादार रहनेहरूले उहाँको वचनलाई कुन दृष्टिकोणले हेरेका छन्? (ख) नूहले आफ्नो वफादारीको प्रमाण कसरी दिए र उनको उदाहरणबाट हामी कसरी लाभ उठाउन सक्छौं?
५ तर त्यसको विपरीत, आफ्ना सृष्टिकर्ताबारे जानकारी लिने र उहाँलाई नै सर्वोच्च मानेर आफ्नो वफादारीको प्रमाण दिने विश्वासी पुरुषहरू र महिलाहरू पनि थिए। तिनीहरू परमेश्वरमाथि विश्वास राख्ने गर्थे। उहाँको कुरा सुन्नु र उहाँको आज्ञा मान्नुमा नै तिनीहरूको जीवन निर्भर छ भनी तिनीहरूलाई थाह थियो। यस्ता एक जना व्यक्ति नूह थिए। अतः परमेश्वरले नूहलाई “सबै प्राणीको अन्त्य गर्ने मैले अठोट गरिसकेको छु . . . तैले गोपेर काठको एउटा जहाज बनाउनू” भन्नु हुँदा, नूहले परमेश्वरको निर्देशन माने। त्यसबेलाका अरू मानिसहरू चाहिं चेताउनी पाउँदा पाउँदै पनि कुनै असामान्य घटना नघट्लाजस्तो गरी आफ्नो दैनिक कामकुरामा लागिरहे। तर नूहले एउटा विशाल जहाज बनाए। यहोवाको धार्मिकताबारे अरूहरूलाई प्रचार गर्नमा आफूलाई व्यस्त राखे। लेखोटअनुसार, “नूहले त्यसै गरे—परमेश्वरले तिनीलाई आज्ञा गरेबमोजिम तिनले सबै गरे।”—उत्प. ६:१३-२२; हिब्रू ११:७ र २ पत्रुस २:५ पनि हेर्नुहोस्।
६. (क) सम्पूर्ण निष्ठा कायम राख्नेहरूका अरू गुणहरू के के हुन्? (ख) साराले ती गुणहरूलाई कसरी प्रदर्शित गरिन्, र तिनको उदाहरणबाट हामी कुन रीतिले लाभ उठाउन सक्तछौं?
६ अगुवाइको सिद्धान्तलाई मान्यता दिनु र यहोवाका लागि व्यक्तिगत रूपमा प्रेम दर्शाउनु, सम्पूर्ण निष्ठा कायम राख्ने मानिसहरूका केही उल्लेखनीय गुणहरू हुन्। तिनीहरू हव्वाजस्तै आफ्नो पति आदमभन्दा अघि-अघि दगुर्ने गर्दैनन्। नता तिनीहरू आदमजस्ता छन् जसले यहोवाको नियमको उपेक्षा गरे। अब्राहामकी पत्नी, साराले यी असल गुणहरू प्रदर्शित गरिन्। वचनमा मात्र नभएर हृदयबाट पनि तिनका निम्ति अब्राहाम “प्रभु” थिए। यसबाहेक, तिनले व्यक्तिगत रूपमा यहोवालाई प्रेम गर्थिन्। तिनी एउटी विश्वासी स्त्री थिइन्। अब्राहाम सङ्गसङ्गै तिनी “त्यही जग भएको शहरको [परमेश्वरको राज्य] प्रतीक्षा गर्दथिए, जसको बनाउने र निर्माण गर्ने परमेश्वरनै हुनुहुन्छ।”—१ पत्रु. ३:५, ६; हिब्रू ११:१०-१६.
७. (क) कस्ता परिस्थितिहरूमा मोशाले यहोवाको सार्वभौमिकतालाई समर्थन गरे? (ख) तिनको उदाहरणबाट हामी कसरी लाभान्वित हुन सक्तछौं?
७ अब्राहामले आफ्नो देश छाडेको करीब ४३० वर्षपछि, मोशाले मिस्रका फिरऊनको आमने-सामने मुकाबिला गर्दै यहोवाको सार्वभौमिकतालाई समर्थन गरे। मोशा कुनै आत्म-विश्वास भएका मानिस थिएनन्। बरु, ठीकसित बोल्न सक्ने आफ्नो योग्यताबारे समेत तिनलाई शङ्कै थियो। तर तिनले यहोवाको आज्ञा पालन गरे। यहोवाको आड र आफ्ना दाज्यू हारूनबाट सहयोग पाएर मोशाले यहोवाको वचन फिरऊनलाई बारम्बार पुऱ्याउन सके। फिरऊन अट्टेरी थियो। इस्राएलका केही सन्तानहरू समेतले मोशाको तीव्र आलोचना गर्द थिए। तापनि यहोवाले अह्राउनु भएको जम्मै कुरा मोशाले वफादारी साथ गरे। पछि तिनीद्वारा नै इस्राएलीहरूले मिस्रबाट छुटकारा पनि पाए।—प्रस्थ. ७:६; १२:५०, ५१.
८. (क) यहोवाप्रति वफादार हुनुको अर्थ परमेश्वरले लिखित् रूपमा तोक्नु भएका कुराहरू मात्र गर्नु होइन तर त्यसमा अझ अन्य कुराहरू पनि बिथोलित छन् भनेर के ले देखाउँछ? (ख) यसप्रकारको वफादारीको मूल्याङ्कन गर्नाले, १ यूहन्ना २:१५-लाई प्रयोगमा ल्याउन हामीलाई कसरी मद्दत मिल्नेछ?
८ यहोवाले लिखित रूपमा दिनु भएका नियमहरू पालन गर्नु अथवा नियमलाई अक्षरशः मान्नु यथेष्ट हो भन्ने कुरा यहोवाप्रति वफादार हुने व्यक्तिहरूले सोच्ने गर्दैन थिए। पोतीफरकी पत्नीले आफूसङ्ग व्यभिचारपूर्ण सम्बन्ध राख्न यूसुफलाई फसाउने प्रयास गर्दा व्यभिचार नगर्नु भनेर परमेश्वरबाट कुनै खास लिखित नियम थिएन। तर यहोवाले अदनमा स्थापित गर्नु भएको वैवाहिक प्रबन्धबारे यूसुफलाई जानकारी थियो। त्यसैको आधारमा यूसुफलाई थाह थियो कि अर्काकी पत्नीसङ्ग यौनिक सम्बन्ध राख्दा परमेश्वर अप्रसन्न हुनु हुनेछ। परमेश्वरले उसलाई कहाँसम्म मिस्रका मानिसहरूजस्तै हुन दिनु हुनेछ भनेर हेर्न यूसुफ इच्छुक थिएन। परमेश्वरले मानवजातिसित गर्नु भएको व्यवहारबारे ऊ मनन गर्द थियो र परमेश्वरको इच्छा के हो भनी बुझेपछि त्यसलाई इमान्दारीपूर्वक प्रयोगमा ल्याउँदै यूसुफले यहोवाका मार्गहरूलाई समर्थन गर्थ्यो।—उत्प. ३९:७-१२; भजनसंग्रह ७७:११, १२ सङ्ग तुलना गर्नुहोस्।
९. अय्यूबबारे उठाइएको आरोपको सम्बन्धमा शैतान कसरी बारम्बार झुट्टा साबित हुँदै आएको छ?
९ यहोवालाई साँच्चै नै चिन्नेहरू जस्तोसुकै कठिन परीक्षामा पर्दा पनि तिनीहरू उहाँबाट कदापि विमुख हुँदैनन्। यहोवाले अय्यूबबारे धेरै नै प्रशंसनीय कुरा गर्नु भएको थियो। तर अय्यूबजस्तो मानिसले पनि शारीरिक कष्ट भोग्नु अथवा आफ्ना सारा सम्पत्ति गुमाउनु परेमा यहोवालाई छाडिदिनेछ भन्ने दोष शैतानले लगायो। तापनि अय्यूबले शैतानलाई झुट्टा ठहराए। आफूमाथि चारैतिरबाट आइपरेका त्यत्तिका विपत्तिहरूको कारण तिनलाई थाह नभए तापनि तिनले शैतानलाई झुट्टा ठहर्याउन सके। (अय्यु. २:३, ९, १०) आफ्नो कुरालाई अझ ठीक प्रमाणित गर्ने कोशिश गर्दै शैतानले केही समयपछि बेबिलोनका एक जना क्रोधी राजालाई प्रयोग गर्यो। यी राजाले एउटा मूर्तिको निर्माण गरेका थिए। त्यस मूर्तिको सामुन्ने घोप्टो परेर दण्डवत् नगर्ने तीन जना हिब्रू जवानहरूलाई दन्केको आगोको भट्टीमा फालिदिने धम्की राजाले दिए। एकातिर राजाको आज्ञा र अर्कोतिर मूर्ति-पूजाको विरुद्धमा यहोवाको नियम। यी दुई कुरा बीचको छनौट गर्न ती हिब्रू जवानहरू बाध्य भए। तर तिनीहरू यहोवाको सेवा गर्दछन् र उहाँ नै तिनीहरूको सर्वोच्च शासक हुनुहुन्छ भन्ने कुरा तिनीहरूले दृढतासाथ जाहेर गरे। परमेश्वरप्रति विश्वासी हुनु तिनीहरूका लागि जीवनभन्दा मूल्यवान थियो।—दानि. ३:१४-१८.
१०. यहोवाप्रति हामी साँच्चै नै वफादार छौं भनी प्रमाणित गर्न हामीजस्ता असिद्ध मानिसहरूको निम्ति कसरी सम्भव छ?
१० तर के यसको अर्थ यहोवाप्रति विश्वासी हुनका लागि मानिस सिद्ध हुनैपर्छ? के कुनै गलती गर्नुको अर्थ पूर्णतया असफल हुनु हो? कदापि होइन! बेला-बेलामा मोशाले पनि गलती गरेको कुरा बाइबलमा पाइन्छ। यस्तो हुँदा यहोवा तिनीसित अप्रसन्न हुनुभयो। तर उहाँले मोशालाई इन्कार गर्नु भएन। प्रेरितहरू धेरै कुरामा अनुकरणीय भए तापनि तिनीहरूका आफ्नै कमजोरीहरू थिए। वफादार हुनका लागि हृदयदेखि नै निरन्तर आज्ञाकारी हुने आवश्यकता छ। तर हाम्रो वंशानुगत असिद्धतालाई यहोवाले ध्यानमा राख्नुहुन्छ। हामीले कुनै पनि कुरामा जानाजानी उहाँको इच्छाको उपेक्षा गरेनौं भने उहाँ प्रसन्न हुनुहुन्छ। कमजोरीको कारण गलत काम गरी हाल्यौं भने पनि साँचो पश्चात्तापको भाव प्रकट गर्नु महत्त्वपूर्ण हो। साथै हामीले त्यसै गलतीलाई बारम्बार दोहोर्याउने बानी बसाल्नु हुँदैन। अतः, यहोवाले जुन कुरालाई राम्रो भन्नुहुन्छ त्यसलाई प्रेम गर्दछौं र जुन कुरालाई उहाँ खराब ठान्नुहुन्छ त्यसलाई घृणा गर्दछौं भनी हामी प्रदर्शित गर्दछौं। येशूको बलिदानमा पापको प्रायश्चित गर्न सक्ने शक्ति छ। त्यस बलिदानमाथि हामीले गरेको विश्वासको आधारमा परमेश्वरका अगाडि हामी शुद्ध भएर उभिन सक्नेछौं।—आमो. ५:१५; प्रे. ३:१९; हिब्रू ९:१४.
११. (क) मानिसहरूमध्ये कसले पूर्ण रूपमा ईश्वरीय भक्ति कायम राख्न सक्यो र त्यसबाट के प्रमाणित भयो? (ख) उहाँले जे गर्नुभयो त्यसबाट हामी के मदत पाउन सक्तछौं?
११ तथापि, पूर्णरूपमा ईश्वरीय भक्ति कायम राख्न के एक जना मानिसका लागि असम्भव छ र? यसको उत्तर लगभग ४,००० वर्षसम्म एउटा “पवित्र रहस्य” नै रह्यो। (१ तिमो. ३:१६) आदम सिद्ध सृजिएका भए तापनि तिनले ईश्वरीय भक्तिको एउटा सिद्ध उदाहरण कायम गर्न सकेनन्। कसले गर्न सक्नेछ त? निश्चय पनि तिनका कुनै पापी सन्तानले त यसो गर्न सक्तैन थियो। यसो गर्न सक्ने एक मात्र मानव येशू ख्रीष्ट हुनुहुन्थ्यो। येशूले गर्नु भएको कुराबाट यो प्रमाणित भयो कि अझ अधिक अनुकूल परिस्थितिहरूमा बाँचेका आदमले पनि चाहेको भए सम्पूर्ण निष्ठा कायम गर्न सक्ने थिए। परमेश्वरको सृष्टि नै त्रुटियुक्त थियो भन्न मिल्दैन। त्यसकारण, ईश्वरीय नियमहरू पालन गर्ने सम्बन्धमा मात्र होइन तर सार्वभौमिक शासक, यहोवाप्रति आफ्नो व्यक्तिगत भक्ति प्रदर्शन गर्ने कुरामा पनि हामी येशूको अनुकरण गर्न चाहन्छौं।
हाम्रो व्यक्तिगत उत्तर के हो?
१२. यहोवाको सार्वभौमिकताप्रति हाम्रो मनोवृत्तिबारे हामी किन निरन्तर सचेत हुनुपर्दछ?
१२ हामी प्रत्येकले आज यो विश्वव्यापी प्रश्नको सामना गर्नु परेको छ। यसबाट हामी उम्कन सक्तैनौं। हामी यहोवाको पक्षमा छौं भन्ने कुराको हामीले खुल्लमखुल्ला घोषणा गरेको हुनाकारण शैतानले हामीलाई त्यसको तारो बनाउँछ। हामीले सोच्न सक्ने प्रत्येक दिशाबाट त्यसले दबाव ल्याउँदछ। त्यसको यो दुष्ट रीतिरिवाजको अन्त नहोउञ्जेलसम्म त्यसले यसो गरी नै रहनेछ। हामी सदा होशियार रहनु पर्दछ। (१ पत्रु. ५:८) सर्वमहत्त्वपूर्ण प्रश्नको सम्बन्धमा हाम्रो अडान के छ, सो कुरा हाम्रो गतिविधिले देखाउनेछ।
१३. (क) झूट र चोरीको प्रारम्भबारे कुन कुराले गर्दा हामी ती कुराहरू बाट टाढा बस्नु पर्दछ? (ख) मानिसहरूलाई यसप्रकारका गलत कामहरूतर्फ प्रवृत्त गराउने परिस्थितिहरूबारे यस अनुच्छेदको अन्तमा दिएका प्रश्नहरूको एक एक गरी उत्तर दिनुहोस्।
१३ संसारमा भक्तिहीन व्यवहार साधारण कुरा हो भन्दैमा हामीले त्यसलाई हल्का ठान्नु हुँदैन। सम्पूर्ण निष्ठा कायम राख्नुको अर्थ जीवनको प्रत्येक कुरामा यहोवाका धार्मिक प्रणालीहरूलाई प्रयोगमा ल्याउनु हो। उदाहरणका लागि, निम्नलिखित कुराहरूमाथि विचार गर्नुहोस्:
(१) हाम्रा प्रथम आमा-बाबुलाई पापको बाटोमा हिंडाउन शैतानले एउटा झूटको प्रयोग गऱ्यो। यसप्रकार त्यो “झूटको पिता” भयो। (यूह. ८:४४)
कहिलेकाहीं नौजवानहरू कुन परिस्थितिहरूमा आफ्ना आमा-बाबुसित सत्य कुरा गर्दैनन्? यसो हुन नदिनु मसीही नौजवानहरूका लागि किन महत्त्वपूर्ण छ? (हितो. ६:१६-१९)
व्यापारका कुन कुन चलनहरूले एक जना व्यक्तिलाई सत्यका परमेश्वरको सट्टा “झूटको पिता”-सित सम्बन्धित पारिदिन सक्छ? (मीका ६:११, १२)
कसैको हानि हुँदैन भन्दैमा कुरा बङ्ग्याउँदै अरूहरूलाई आफ्नोबारेमा गलत धारणा दिनु के गलत हो? (भजन. ११९:१६३; प्रेरित ५:१-११ सङ्ग तुलना गर्नुहोस्।)
कुनै गम्भीर गलतीमा विथोलित हुँदा झूट बोलेर त्यसलाई ढाकछोप नगर्नु किन महत्त्वपूर्ण हो? (हितो. २८:१३)
(२) असल र खराब के हो भन्ने विषयमा आफै फैसला गर्ने सुझाव शैतानले दियो। यही सुझावलाई पहिले हव्वा र पछि आदमले स्वीकारे। यसका साथै तिनीहरूले आफ्नो हक नलाग्ने कुनै कुरा लिए। तिनीहरू चोर भए।
आफूलाई आवश्यकता परेको छ वा कसैसित धेरै छ भन्दैमा कसैको माल चोर्नु के उचित हो? (हितो. ६:३०, ३१; १ पत्रु. ४:१५)
चोर्नु आफ्नो समाजमा एउटा साधारण चलन हो वा चोरेको सामान अति नै सानो छ भन्दैमा के चोर्नु कम आपत्तिजनक हुन्छ? (रोमी १२:२; एफि. ४:२८; लूका १६:१०)
१४, १५. (क) ख्रीष्टको हजार वर्षे राज्यको अन्तमा सबै मानव जातिमाथि के परीक्षा आउनेछ? (ख) आज हामी जे गर्दछौं, त्यसले हाम्रो त्यस बेलाको स्थितिमा के असर पार्नेछ?
१४ ख्रीष्टको हजार वर्षे राज्यभरि शैतान र त्यसका दूतहरू अगाध खाँदमा हुनेछन्। तिनीहरूले मानवजातिमाथि प्रभाव पार्न सक्ने छैनन्। त्यो कति आरामदायी कुरा हुनेछ! तर हजार वर्षपछि तिनीहरू केही समयका निम्ति बाहिर छाडिनेछन्। शैतान र त्यसलाई अनुसरण गर्नेहरूले “पवित्र जनहरू” अर्थात् आफ्नो सम्पूर्ण निष्ठा कायम राख्ने पुनःस्थापित भएका मानवजातिमाथि दबाउ हाल्नेछन्। “प्रिय शहर” स्वर्गीय यरूशलेमले पृथ्वीमा स्थापित गरेको धार्मिकतालाई शैतानले मेटाउने प्रयास गर्दै त्यो युद्ध गर्न अघि बढ्नेछ।—प्रकाश २०:७-१०.
१५ शैतानले बितेका समयहरूमा जस्तै स्वार्थ र अहङ्कारको भावना जगाउँदै र छली तरिकाको प्रयोग गर्दै मानिसहरूलाई यहोवाप्रति अविश्वासी हुन उस्काउने सम्भावना छ। त्यसबेला जिउँदो रहने सुअवसर पायौं भने हामीले व्यक्तिगत रूपमा के कस्तो प्रतिक्रिया देखाउने छौं? विश्वव्यापी मुद्दाबारे हाम्रो के अडान हुनेछ? त्यसबेला सारा मानवजाति सिद्ध भएकोले कुनै पनि भक्तिहीन कार्य एउटा जानाजानी गरिएको गलती हुनेछ र त्यसको परिणाम अनन्त विनाश हुने हो। अतः यहोवाले आफ्नो वचन वा सङ्गठनद्वारा दिनु हुने जुनसुकै निर्देशन पनि तुरुन्तै र सकारात्मक विचारका साथ पालन गर्ने बानी अहिलेदेखि नै बसाल्नु कति महत्त्वपूर्ण हो! यसले हामीलाई त्यतिखेर भक्त साबित हुने साथै उहाँलाई विश्वका सार्वभौमिक शासकको रूपमा आज निष्कपट भक्ति चढाउने मदत दिनेछ।
पुनरावलोकन एवं छलफल
• सारा सृष्टिले सामना गर्नुपर्ने महान विवाद के हो? हामी त्यसमा कसरी सामेल भयौं?
• पाना ४९-मा देखाइएका प्रत्येक पुरुष र स्त्रीले यहोवाप्रति कायम राखेका आफ्नो सम्पूर्ण निष्ठा कुन कुन तरिकाहरूमा उल्लेखनीय छन्?
• आफ्नो व्यवहारद्वारा यहोवाको आदर गर्ने कुरामा प्रत्येक दिन हामी होसियार रहनु किन अत्यावश्यक छ?
[अध्ययनका लागि प्रश्नहरू]
[पृष्ठ ४९-मा भएको चित्र]
यिनीहरूले यहोवाको सार्वभौमिकतालाई समर्थन गरे
नूह
सारा
मोशा
यूसुफ
अय्यूब
यिनीहरूका उदाहरणहरूबाट हामी कसरी लाभ उठाउन सक्छौं?