सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

हामीले आफ्नो घरैमा ईश्‍वरीय भक्‍तिको अभ्यास गर्नु पर्दछ

हामीले आफ्नो घरैमा ईश्‍वरीय भक्‍तिको अभ्यास गर्नु पर्दछ

अध्याय १८

हामीले आफ्नो घरैमा ईश्‍वरीय भक्‍तिको अभ्यास गर्नु पर्दछ

१. (क) विवाहसम्बन्धी यहोवाका आदर्शहरूबारे सिकेपछि धेरैले आफूमा के परिवर्तन ल्याएका छन्‌? (ख) तर मसीही पारिवारिक जीवनमा अझ अरू के कुराहरू बिथोलित छन्‌?

 हामीले सुरुमा बाइबल अध्ययन गर्दा सिकेका हृदयग्राही सत्यहरूमध्ये विवाह र पारिवारिक जीवनसम्बन्धी विषयहरू पनि थिए। हामीले यहोवा नै विवाहका प्रारम्भक हुनुहुन्छ भन्‍ने कुरा बुझ्यौं र परिवारहरूका निम्ति सबैभन्दा असल निर्देशनहरू बाइबलमा पाइन्छ भन्‍ने कुरा पनि देख्यौं। त्यस निर्देशनको परिणामस्वरूप धेरै मानिसहरूले यौनिक अनैतिकताको जीवन त्यागेर आफ्नो विवाहलाई उचित रूपमा दर्ता गराए। तर मसीही पारिवारिक जीवनमा त्यसबाहेक अरू कुराहरू पनि छन्‌। वैवाहिक सम्बन्धको स्थायित्वबारे हाम्रो दृष्टिकोण, परिवारभित्र आफ्नो जिम्मावारी पूरा गर्ने कुरा, र परिवारका अन्य सदस्यहरूसित हाम्रो बरताव, यी सबै कुराहरू पनि यसमा बिथोलित छन्‌।—एफि. ५:३३–६:४.

२. (क) बाइबलबाट सिकेका कुराहरूलाई के सबैले नै आफ्नो घरमा प्रयोगमा ल्याउने गर्दछन्‌? (ख) यसो गर्ने महत्त्वमाथि येशू र पावलले कसरी जोड दिएका छन्‌?

यी विषयहरूमा बाइबलले के भन्दछ, लाखौं मानिसहरूले जान्दछन्‌। तर आफ्नो घरमा समस्या आइपर्दाचाहिं त्यसलाई प्रयोगमा ल्याउँदैनन्‌। हामी नि? निश्‍चय नै येशूले निन्दा गर्नु भएका जनहरूजस्ता हामी कोही पनि हुन चाहँदैनौं। तिनीहरूले धार्मिक भक्‍तिको बाहिरी भेष धारण गरेमा पुगी हाल्छ भन्दै छोरा-छोरीले आफ्ना आमा-बाबुको आदर गर्नुपर्छ भन्‍ने परमेश्‍वरको आज्ञाको उपेक्षा गर्थे। (मत्ती १५:४-९) भक्‍तिको भेषचाहिं लिने तर त्यसको प्रयोग “आफ्नै परिवारमा” चाहिं नगर्ने मानिसहरूजस्ता हामी हुन चाँहदैनौं। बरु, हामी ईश्‍वरीय भक्‍तिको प्रर्दशन गर्न चाहन्छौं जो साँच्चै नै “ठूलो लाभ” हो।—१ तिमो. ५:४; ६:६; २ तिमो. ३:५.

विवाह कहिलेसम्मका लागि हो?

३. (क) धेरै विवाहहरूलाई के भैरहेको छ, तर हामीले चाहिं के गर्ने सङ्‌कल्प गर्नु पर्छ? (ख) विवाहको स्थायित्वबारे माथि दिएका प्रश्‍नहरूलाई उत्तर दिंदा आफ्नो बाइबलको प्रयोग गर्नुहोस्‌।

वैवाहिक सम्बन्ध आज झनझन फितलो साबित हुन थालेको छ। बीस, तीस वा चालीस वर्षदेखि सङ्‌गै बसेका दम्पतीहरू अहिले आएर एकजना अर्कै व्यक्‍तिसित “नयाँ जीवन” सुरु गर्ने निर्णय गरिरहेका छन्‌। भर्खरै विवाह गरेका दम्पतीहरू पनि केही महिनापछि नै छुट्टिएको खबर सुन्‍नु आज कुनै असामान्य कुरा होइन। तर अरूहरूले जे गरे तापनि हामी यहोवाका उपासकहरूमा परमेश्‍वरलाई प्रसन्‍न तुल्याउने इच्छा हुनुपर्छ। यसबारे उहाँको वचनले के भन्छ?

 कति समयसम्म एकसाथ बस्ने विचार राखेर एकजना पुरुष र स्त्रीले विवाह गर्नुपर्छ? (रोमी ७:२, ३; मर्कूस १०:६-९)

 कुन कारणवश पारपाचुके गरेमा मात्र त्यो परमेश्‍वरको सामने स्वीकार्य हुनेछ? (मत्ती १९:३-९; ५:३१, ३२)

 यहोवाको वचनअनुसार नगरिएका पारपाचुकेहरूलाई यहोवाले कतिको गम्भीर ठान्‍नु हुन्छ? (मला. २:१३-१६)

 के बाइबलले पारपाचुकेलाई वैवाहिक समस्याको समाधान ठान्दछ? (१ कोरि. ७:१०-१३)

४. आधुनिक चलनचल्तीको बावजूद केही विवाहहरू किन टिक्न सकेका छन्‌?

कुनै कुनै विवाहहरू किन टिक्छन्‌ र आफूलाई मसीही भन्‍ने कुनै कुनै मानिसहरू समेतका विवाहरूचाहिं किन भताभुङ्‌ग भइ रहेछन्‌? दुवै पक्ष परिपक्व नहोउञ्जेल विवाह गर्न पर्खिन नसक्नु अक्सर एउटा मुख्य कारण हो। एक अर्काको चासोका विषयहरूमा चासो लिने र आफूले मन खोलेर कुराकानी गर्न सक्ने खालको जीवन साथी भेट्टाउनु पनि महत्त्वपूर्ण हो। तर योभन्दा अझ महत्त्वको कुराचाहिं असली ईश्‍वरीय भक्‍ति गर्ने खालको व्यक्‍ति हुनु हो। एकजना व्यक्‍ति यहोवालाई साँचो हृदयले प्रेम गर्दै उहाँका मार्गहरू नै सही हुन्‌ भनी विश्‍वस्त छ भने उठेका समस्याहरूको समाधान गर्ने ऊसङ्‌ग एउटा ठोस आधार हुनेछ। (भजन. ११९:९७, १०४; हितो. २२:१९) विवाह सफल नभएमा छुटानाम वा पारपाचुके गरी हाल्न सकिन्छ भन्‍ने प्रवृत्ति यसप्रकारको व्यक्‍तिले राख्नेछैन। आफ्नो जीवन-साथीको कुनै कमजोरीलाई उसले आफ्नो जिम्मावारीबाट उम्कने एउटा बहाना बनाउनेछैन। बरु, जीवनका समस्याहरूको सामना गर्न उसले सिक्नेछ र व्यावहारिक समाधानहरू खोज्नेछ।

५. (क) यहोवाप्रतिको वफादारी यसमा कसरी बिथोलित छ? (ख) धेरै नै कठिन समस्याहरूको सामना गर्नुपर्दा पनि यहोवाका स्तरहरूलाई पक्रिराख्नाले के लाभहरू उठाउन सकिन्छ?

व्यक्‍तिगत रूपमा आपत्‌विपत्‌ आइपर्दा हामी यहोवाका मार्गहरूको उपेक्षा गर्नेछौं र आफ्नोनिम्ति असल खराब आफै निर्णय गर्नु बेस हो भन्‍ने निष्कर्षमा पुग्नेछौं भनेर शैतानले गरेको दाबी हामीलाई राम्ररी थाह छ। तर यहोवाप्रति वफादार हुनेहरूले त्यसो गर्दैनन्‌। (अय्यु. २:४, ५; हितो. २७:११) विश्‍वासमा नभएका आफ्ना पति वा पत्नीबाट सतावट अनुभव गर्ने यहोवाका साक्षीहरूमध्येका धेरैजसोले विवाह गर्दा दिएको वचन तोडेका छैनन्‌। (मत्ती ५:३७) कसै-कसैले त विश्‍वासमा नभएका पति वा पत्नी पनि केही वर्षपछि यहोवाको सेवामा सामेल भएको आनन्द अनुभव गर्न सकेका छन्‌। (१ कोरि. ७:१६; १ पत्रु. ३:१, २) तर कसै-कसैका पति वा पत्नीले चाहिं बद्‌लिने केही सुरसार देखाउँदैनन्‌ अथवा विश्‍वासमा दह्रो भएर बस्ने आफ्नो जीवन-साथीलाई तिनीहरूले छाडेर गएका छन्‌। तापनि ती पीडित अथवा त्यागेकाहरूले यहोवाका आदर्शहरूलाई समर्थन गर्दै प्रशस्त आशिष अनुभव गर्न सकेका छन्‌। कुन कुन तरिकामा? तिनीहरूको परिस्थितिले तिनीहरूलाई यहोवाको नजिक हुन सिकाएको छ। आपत्‌विपत्‌ पर्दा पनि ईश्‍वरीय गुण प्रतिबिम्बित गर्न तिनीहरूले सिकेका छन्‌। आफ्नो जीवनमा ईश्‍वरीय भक्‍तिको बल प्रमाणित गरेर देखाउने यिनीहरू नै हुन्‌।—भजन. ५५:२२; याकु. १:२-४; २ पत्रु. १:५, ६.

हरेकले आफ्नो भूमिका निभाउनु

६. विवाहलाई सफल पार्नका लागि कुन प्रबन्धको आदर गर्नुपर्दछ?

एउटा साँच्चै नै सफल वैवाहिक जीवनको अर्थ एकसाथ बस्नु मात्र होइन। परिवारको प्रत्येक सदस्यले अगुवाइसम्बन्धी यहोवाले मिलाउनु भएको प्रबन्धलाई आदर गर्नु एउटा आधारभूत आवश्‍यकता हो। यसबाट घरमा राम्रो व्यवस्था र सुरक्षाको भाव कायम गर्न मदत मिल्नेछ।—१ कोरि. ११:३; तित. २:४, ५; हितो. १:८, ९; ३१:१०, २८.

७. परिवारमा अगुवाइको प्रयोग कसरी गर्नुपर्दछ?

त्यसप्रकारको अगुवाइलाई व्यवहारमा ल्याउने तरिका के हो? त्यो तरिका येशू ख्रीष्टका गुणहरू प्रतिबिम्बित गर्ने तरिका हो। येशूले यहोवाका मार्गहरूलाई दृढताका साथ समर्थन गर्नुहुन्छ; उहाँले धार्मिकतालाई प्रेम र अधर्मलाई घृणा गर्नुहुन्छ। (हिब्रू १:८, ९) उहाँ आफ्नो मण्डलीलाई पनि गहिरो प्रेम गर्नुहुन्छ, त्यसलाई आवश्‍यक निर्देशन दिनुहुन्छ र त्यसको हेरचाह गर्नुहुन्छ। उहाँ अहङ्‌कारी र अविवेकी हुनुहुन्‍न। बरु उहाँ “विनयी र नम्र हृदयका” हुनुहुन्छ र उहाँको अगुवाइलाई स्वीकार गर्ने सबैलै ‘आ-आफ्ना आत्मामा विश्राम पाउँछन्‌।’ (मत्ती ११:२८, २९; एफि. ५:२५-३३) आफ्नो घरका सदस्यहरूसित यसप्रकारको बरताव गर्ने पति वा बाबुले स्पष्टतया आफूलाई ख्रीष्टको अधीनमा राख्दछ। किनकि ख्रीष्टले नै ईश्‍वरीय भक्‍तिको सिद्ध उदाहरण कायम गर्नुभयो। मसीही आमाहरूले पनि आफ्ना छोरा-छोरीसँग व्यवहार गर्दा यसै प्रकारका गुणहरू प्रतिबिम्बित गर्नुपर्छ।

८. (क) कुनै कुनै घरहरूमा मसीही तौरतरिकाद्वारा चाहेको जस्तो परिणाम अनुभव गर्न सकिन्दैन जस्तो किन लाग्न सक्छ? (ख) यस प्रकारको परिस्थितिको सामना गर्नु परेमा हामीले के गर्नुपर्दछ?

तथापि मानव असिद्धताले गर्दा समस्याहरू उठ्‌न सक्छन्‌। बाइबलका सिद्धान्तहरूलाई परिवारमा कसैले प्रयोग गर्नुभन्दा अघिदेखि नै अरूहरूले दिएको निर्देशन नलिने प्रवृत्ति कसैकसैमा जरा गाडिसकेको होला। विनम्रतापूर्वक गरिएका अनुरोधहरू र मायालु तौरतरिका काम नलाग्ला जस्तो देखिएला। बाइबलले “रीस, हो-हल्ला, निन्दालाई” त्याग्नु भन्छ भनी हामी जान्दछौं। (एफि. ४:३१) तर यसप्रकारको भाषा मात्र केही मानिसहरूले बुझ्छ जस्तो देखिन्छ भने के गर्ने? सम्झनुहोस्‌, ज्यादै दबाउको सामना गर्नु पर्दा येशूले के कस्तो प्रतिक्रिया व्यक्‍त गर्नुभयो? उहाँले ती धम्की दिनेहरू र ठट्टा गर्नेहरूको अनुकरण गर्नु भएन। बरु, उहाँले आफ्नो पितामाथि भरोसा गर्दै आफूलाई उहाँको हातमा छाडिदिनु भयो। (१ पत्रु. २:२२, २३) त्यसैगरी घरमा पनि अप्ठ्यारो स्थिति उठ्‌दा, सांसारिक तौरतरिकाहरू अपनाउनुको सट्टा यहोवातिर फर्केर मदत मागदै उहाँसित प्रार्थना गऱ्‍यौं भने ईश्‍वरीय भक्‍तिको प्रमाण हामीले दिइरहेका हुनेछौं।—हितो. ३:५-७.

९. एकअर्कामा त्रुटिहरू खोजीरहनुको सट्टा धेरै मसीहीहरूले कुन तरिकाहरू प्रयोग गर्न सिकेका छन्‌?

परिवर्तनहरू आउनमा अक्सर समय लागे तापनि बाइबलको सल्लाह वास्तवमा व्यावहारिक हुन्छ। ख्रीष्टले आफ्नो मण्डलीसित गर्नु भएको व्यवहारको राम्रोसित मूल्याङ्‌कन गर्न थालेपछि आफ्ना पत्नीहरूको त्रुटिहरूबारे कडा सिकायत गर्ने धेरै पतिहरूले आफूमा उन्‍नति ल्याउन थाले। तिनीहरूले बुझे कि ख्रीष्टको मण्डली सिद्ध मानिसहरूले बनेको हुँदैन। तापनि, येशूले मण्डलीलाई प्रेम गर्नुहुन्छ, त्यसका लागि राम्रो उदाहरण कायम गर्नुभयो, आफ्नो प्राण समेत अर्पण गर्नुभयो, र त्यसले उहाँलाई पूर्णरूपमा प्रसन्‍न पार्न सकोस्‌ भनेर त्यसलाई उन्‍नति गर्ने मदत दिन शास्त्रको प्रयोग गर्नुहुन्छ। (एफि. ५:२५-२७; १ पत्रु. २:२१) उहाँको उदाहरणले धेरै नै मसीही पतिहरूलाई राम्रो उदाहरण प्रस्तुत गर्न मेहनत गर्ने प्रोत्साहन दिएको छ र त्यसतर्फ उन्‍नति गर्न मायालु मदत दिएको छ। कठोरताका साथ खोटहरू देखाउने गर्नु वा कुराकानी बन्द गर्नुभन्दा त ती तरिकाहरूले धेरै नै राम्रो परिणाम दिन्छ।

१०. (क) मसीही हुँ भन्‍ने दाबी गर्ने एकजना पिता वा पतिले समेत आफ्नो घरका अरू सदस्यहरूको जीवन कसरी पीडित पारिदिन सक्छ? (ख) परिस्थितिमा सुधार ल्याउन के गर्न सकिन्छ?

१० सम्भवतः पति र पिताकै कमजोरीहरूको कारण घरमा समस्याहरू उठेका होलान्‌। परिवारको भावनात्मक आवश्‍यकताहरूबारे ऊ संवेदनशील छैन अथवा पारिवारिक बाइबल छलफल गर्ने र अन्य अरू गतिविधिको व्यवस्था मिलाउने काममा उसले अगुवाइ लिने गर्दैन भने नि? कुनै कुनै घर-परिवारहरूमा यसप्रकारका समस्याहरूबारे खुल्लमखुल्ला तर आदरपूर्वक छलफल गर्दा परिणाम राम्रो भएको छ। (हितो. १५:२२; १६:२३; ३१:२६) तर परिणाम आशा गरे जतिको राम्रो नभए तापनि घरको वातावरणमा उन्‍नति ल्याउन परिवारको प्रत्येक सदस्यले व्यक्‍तिगत रूपमा आत्माको फलको विकास गर्नुपर्छ। परिवारका अरू सदस्यहरूप्रति प्रेमपूर्ण चासो र विवेक व्यक्‍त गर्न सकिन्छ। उन्‍नति देख्न चाहन्छौं भने हामीले अरूको मुख ताक्नुको सट्टा आफ्नो भूमिका राम्रोसित निभाउँनु पर्छ। घरैमा पनि हामी व्यक्‍तिगतरूपमा ईश्‍वरीय भक्‍ति प्रयोगमा ल्याउने गर्दछौं भनी प्रमाणित गर्नुपर्छ।—कल. ३:१८-२०, २३, २४.

उत्तरहरू कहाँ खोज्ने

११, १२. (क) पारिवारिक जीवनमा उठ्‌ने समस्याहरूको सामना गर्न हामीलाई मदत दिनका लागि यहोवाले के प्रबन्धहरू मिलाइ दिनु भएको छ? (ख) ती बाट पूर्ण लाभ उठाउनका निम्ति हामीलाई के गर्ने सल्लाह दिइएको छ?

११ मानिसहरूले विभिन्‍न स्रोतहरूबाट आफ्ना पारिवारिक समस्याहरूका लागि सल्लाह खोज्ने गर्छन्‌। तर सबैभन्दा राम्रो सल्लाहचाहिं परमेश्‍वरको वचनमा नै पाइन्छ भनी हामी जान्दछौं। त्यसलाई प्रयोगमा ल्याउन उहाँले आफ्नो दृश्‍य सङ्‌गठनद्वारा हामीलाई दिनु भएको मदतका लागि हामी कृतज्ञ छौं। के तपाईं त्यस मदतको पूर्ण लाभ उठाइ रहनु भएको छ?—भजन. ११९:१२९, १३०; मीका ४:२.

१२ मण्डलीका सभाहरूमा उपस्थित हुनु बाहेक के तपाईं पारिवारिक बाइबल अध्ययनका लागि पनि नियमित रूपमा समय निकाल्नु हुन्छ? प्रत्येक हप्ता नियमित रूपले यसो गर्ने परिवारहरू आफ्नो उपासनामा एकताबद्ध हुन्छन्‌। आफ्नै परिस्थितिहरूमा परमेश्‍वरको वचनलाई प्रयोग गर्ने विषयमा छलफल गरेर तिनीहरूले आफ्नो पारिवारिक जीवनलाई अझ अर्थपूर्ण पार्दछन्‌।—व्यव. ११:१८-२१ सङ्‌ग तुलना गर्नुहोस्‌।

१३. (क) वैवाहिक वा पारिवारिक कुराहरूसित सम्बन्धित कुनै खास प्रश्‍नहरू हामीसित छन्‌ भने आवश्‍यक मदत अक्सर हामीले कहाँ पाउनेछौं?

१३ कुनै विशेष वैवाहिक वा पारिवारिक कुराहरूबारे तपाईंको मनमा केही प्रश्‍नहरू होलान्‌। उदाहरणका लागि, जन्म​निरोधबारे के भन्‍न सकिन्छ? के मसीहीहरूले बन्ध्याकरण गर्नु उचित हो? विकृत बच्चा जन्मने सम्भावना भएमा गर्भपात गर्नु के मनासिब हो? पति र पत्नीबीच कुन प्रकारको यौनसम्बन्ध उचित वा अनुचित हो, के यस विषयमा पनि केही रोकटोक छ? बीस वर्षभन्दा मुनिको कुनै नौजवानले आध्यात्मिक कुराहरूमा कम चासो देखायो भने, परिवारसित उपासनासम्बन्धी कामकुरामा भाग लिन उसलाई कुन हद्‌सम्म बाध्य पार्न सकिन्छ? यी प्रत्येक कुराबारे तपाईंको निश्‍चय पनि आफ्नो राय होला। तर के तपाईंले बाइबलका सिद्धान्तहरूको आधारमा तिनको उत्तर दिन सक्नुहुन्छ? यी प्रत्येक विषयहरू प्रहरीधरहरा-मा छलफल गरिएको छ। यस्ता विषयहरूलाई पता लगाउन तपाईंसँग भएका विषयतालिकाको (इन्डेक्स) प्रयोग गर्न सिक्नुहोस्‌। विषयतालिकामा सङ्‌केत गरिएका पुराना प्रकाशनहरू तपाईंसँग छैन भने राज्य सभा-गृहमा भएको पुस्तकालयमा तिनीहरूको खोजी गर्नुहोस्‌। प्रत्येक प्रश्‍नको उत्तर, हो अथवा होइन भनी स्पष्टसँग दिएको पाउने आशा नगर्नुहोस्‌। कहिलेकाहीं त तपाईं आफैले वा पति, पत्नी दुवैले मिलेर निर्णय गर्नुपर्छ। तर यहोवाका लागि र आफ्नो परिवारका लागि प्रेम प्रदर्शित गर्ने खालका निर्णयहरू गर्नुहोस्‌। परमेश्‍वरलाई खुशी तुल्याउने तपाईंको उत्कट इच्छालाई प्रमाणित गर्ने खालका निर्णयहरू लिनुहोस्‌। यसो गर्नुभयो भने तपाईं बाहिर मात्र होइन, तर आफ्नो घरमा पनि ईश्‍वरीय भक्‍ति प्रयोगमा ल्याउनु हुन्छ भन्‍ने कुरा यहोवा र तपाईंलाई चिन्‍नेहरूका सामु स्पष्ट हुनेछ।—एफि. ५:१०; रोमी १४:१९.

पुनरावलोकन एवं छलफल

• आफ्नो वैवाहिक वाचाप्रति विश्‍वासिलो हुनु यहोवाप्रति वफादार हुनुसित कसरी सम्बन्धित छ?

• पारिवारिक समस्याहरूको चापमा पर्दा परमेश्‍वरलाई खुशी तुल्याउने प्रकारको काम गर्नमा हामीलाई के ले मदत गर्नेछ?

• परिवारमा अरूहरूले गलती गरे तापनि परिस्थितिलाई सुधार्न हामीले के गर्न सक्छौं?

[अध्ययनका लागि प्रश्‍नहरू]

(ख) हामीले गरेका सबै नै निर्णयहरूबाट के प्रदर्शित हुनुपर्छ?