सीधै सामग्रीमा जाने

के आशा छ मरिगएका प्रिय जनहरूको निम्ति?

के आशा छ मरिगएका प्रिय जनहरूको निम्ति?

के आशा छ मरिगएका प्रिय जनहरूको निम्ति?

“कोही मानिस मऱ्‍यो भने के त्यो फेरि जीवित हुनसक्छ?” यो प्रश्‍न धेरै पहिले नै अय्यूब नाउँको मानिसले सोधेका थिए। (अय्यूब १४:१२) सायद यस विषयमा तपाईंले पनि सोच्नुभएको छ होला। तर यसै पृथ्वीमा, सर्वसुन्दर वातावरणको माझमा, तपाईंले फेरि आफ्ना प्रिय जनहरूसँग भेट गर्नसक्नु हुनेछ।

किनकि बाइबलमा यो प्रतिज्ञा दिइएको छ: “मरिगएका तपाईंका जनहरू जिउनेछन्‌। तिनीहरूको . . . पुनरुत्थान हुनेछ।” साथै, बाइबलले यसो पनि भन्दछ: “धर्मात्माहरूले पृथ्वी अधिकार गर्नेछन्‌ र त्यसैमा सधैंभरि रहन्छन्‌।”—यशैया २६:१९; भजन ३७:२९.

यी प्रतिज्ञाहरूमा विश्‍वास गर्न सक्नुअघि, केही मौलिक प्रश्‍नहरूको उत्तर पाउन जरुरी छ। मानिस किन मर्छ? मरिगएकाहरू कहाँ छन्‌? तिनीहरू फेरि जिउनेछन्‌ भनेर हामी कसरी निश्‍चित हुनसक्छौं?

मृत्यु र हामी मर्दा के हुन्छ ?

आरम्भमा, परमेश्‍वरले मानिसलाई मर्नुको निम्ति सृष्टि गर्नुभएको थिएन। यो कुरा बाइबलमा स्पष्ट छ। उहाँले प्रथम मानव जोडी आदम र हव्वाको सृष्टि गर्नुभयो। तिनीहरूलाई अदन नाउँ भएको एउटा सुन्दर पार्थिव प्रमोदवनमा राख्नुभयो। साथै, तिनीहरूलाई सन्तान उत्पन्‍न गर्ने र आफ्नो प्रमोदवन पृथ्वीभरि फैलाउने आदेश पनि दिनुभयो। परमेश्‍वरका आज्ञाहरू उल्लंघन गरेमा मात्र तिनीहरू मर्ने थिए।—उत्पत्ति १:२८; २:१५-१७.

तर तिनीहरूले परमेश्‍वरको करुणाको मोल गरेनन्‌। आदम र हव्वाले परमेश्‍वरको आज्ञाको अवहेलना गरे। र आज्ञा अवहेलना गरेको सजाय तिनीहरूले भोग्नुपऱ्‍यो। परमेश्‍वरले आदमलाई यसो भन्‍नुभयो, “माटैबाट तँ निकालिएको थिइस्‌। तँ माटै होस्‌ र माटैमा फर्किजानेछस्‌।” (उत्पत्ति ३:१९) आदमको सृष्टि हुनुभन्दा अघि, उसको केही अस्तित्व थिएन। उनी माटो थिए। उसको अनाज्ञाकारिता अथवा पापले गर्दा, उनी फेरि माटैमा अर्थात्‌ अस्तित्वविहीनतामा फर्कनुपऱ्‍यो।

यसकारण, जीवन नहुनु नै मृत्यु हो। बाइबलमा यी दुई चीजको भेद यसप्रकार छुट्याएको छ: “पापको ज्याला मृत्यु हो, तर परमेश्‍वरको . . .  वरदान . . . अनन्त जीवन हो।” (रोमी ६:२३) मृत्यु पूर्णतया चेतनारहित अवस्था हो। यस विषयमा बाइबलले यसो भन्दछ: “जिउँदाहरूले हामी मर्नेछौं भनी जान्दछन्‌, तर मरेकाहरूले ता केही पनि जान्दैनन्‌।” (उपदेशक ९:५) मानिस मर्दा के हुन्छ, बाइबलले यसो भन्छ: “त्यसको आत्मा निस्किहाल्छ त्यो माटैमा मिलिहाल्छ। त्यही दिन त्यसका युक्‍तिहरू नष्ट भइहाल्छन्‌।”—भजन १४६:३, ४.

तर अदनमा आदम र हव्वाले मात्र आज्ञा तोडेका थिए। त्यसको निम्ति हामी सबै किन मर्नुपर्छ? किनभने हामी सबै आदमले आज्ञा तोडेपछि जन्मेका हौं। आदमबाट हामी सबैले वंशानुगत पाप र मृत्यु पाएका छौं। बाइबलमा कुरा यसप्रकार बताइएको छ: “जसरी एउटै मानिसद्वारा पाप संसारमा प्रवेश भयो र पापबाट मृत्यु, त्यसरीनै मृत्यु सबै मानिसमा व्याप्त भयो।”—रोमी ५:१२; अय्यूब १४:४.

तापनि, कसैले यो प्रश्‍न गर्नु होला: “मृत्युपछि पनि बाँचिरहने, के मानिसमा कुनै अमर प्राण छैन र?” किनकि धेरैले यो शिक्षा दिएका छन्‌। मृत्यु त एउटा अर्को जीवनमा प्रवेश गर्ने ढोका हो भन्छन्‌। तर यो शिक्षा बाइबलमा छैन। परमेश्‍वरको वचनको शिक्षाअनुसार स्वयम्‌ तपाईं प्राणी हुनुहुन्छ। तपाईं आफ्नो शारीरिक र मानसिक गुणहरूसहित नै एउटा प्राणी हुनुहुन्छ। (उत्पत्ति २:७; यर्मिया २:३४; हितोपदेश २:१०) साथै, बाइबलमा यसो पनि भनेको पाउँछौं “जुन प्राणीले पाप गर्छ त्यही मर्छ।” (इजकिएल १८:४) मानिसको शरीर मरे तापनि उसको प्राण अमर रहन्छ भन्‍ने शिक्षा बाइबलमा कतै पनि छैन।

मानिस फेरि कसरी जिउन सक्छ

पाप र मृत्यु संसारमा प्रवेश भएपछि परमेश्‍वरले आफ्नो यो उद्देश्‍य प्रकट गर्नुभयो अर्थात्‌ मरिगएका मानिसहरू पुनरुत्थानद्वारा फेरि जिउनेछन्‌। बाइबलमा यो व्याख्या पाउँदछौं, ‘मरेकोबाट पनि परमेश्‍वरले बिउँताउनसक्नुहुन्छ भनी अब्राहामले विश्‍वास गरे।’ (हिब्रू ११:१७-१९) अब्राहामको विश्‍वास गलत थिएन। किनकि सर्वशक्‍तिमान्‌बारे बाइबलमा यसो भनिएको छ: “उहाँ मुर्दाहरूका परमेश्‍वर हुनुहुन्‍न, तर जीवितहरूका, किनकि सबै जना उहाँको निम्ति जीवित छन्‌।”—लूका २०:३७, ३८.

हो, सर्वशक्‍तिमान्‌ परमेश्‍वरमा, उहाँले छान्‍नुभएका मानिसहरूको पुनरुत्थान गराउने शक्‍ति मात्र होइन, इच्छा पनि छ। स्वयम्‌ येशू ख्रीष्टले यसो भन्‍नुभयो, “यसमा अचम्म नमान, किनभने बेला आउँछ, जब चिहानमा हुनेहरू सबैले उसको स्वर सुन्‍नेछन्‌ र . . . निस्किआउनेछन्‌।”—यूहन्‍ना ५:२८, २९; प्रेरित २४:१५.

यी शब्दहरू बोल्नुभएको केही समयपछि, इस्राएली शहर नैनबाट शवयात्रामा हिंडेका एउटा भीडसँग येशूको बाटोमा भेट भयो। मरिगएका जवान केटो एउटी विधवाको एक मात्र सन्तान रहेछ। येशूले त्यो विधवाको घोर अफसोस देख्नुभयो। उहाँको हृदयमा दया जागेर आयो। उहाँले मुर्दालाई सम्बोधन गर्दै यसो भन्‍नुभयो: “ए युवक, म तिमीलाई भन्दछु, उठ।” त्यो जवान जुरुक्क उठेर बस्यो औ येशूले त्यसलाई उसको आमाको जिम्मा लगाउनुभयो।—लूका ७:११-१७.

त्यो विधवाले झैं याइरसको घरानाले पनि ठूलो आनन्द अनुभव गरे। याइरस यहूदी सभाघरको एउटा अफिसर थिए। उसको १२ वर्ष उमेर भएकी छोरीको मृत्यु भयो। येशू याइरसको घरमा आउनु भएर सोझै मरिसकेकी बालिका कहाँ जानुभयो र यसो भन्‍नुभयो: “ए कन्या उठ।” औ त्यो उठी।—लूका ८:४०-५६.

पछि गएर, येशूको मित्र लाजरसको पनि मृत्यु भयो। येशू आफ्नो मित्रको घरमा आइपुग्नुहुँदा, लाजरस मरेर चार दिन भइसकेको थियो। हृदयमा गहिरो चोट भए तापनि, लाजरसको दिदीले यसो भन्दै आशा व्यक्‍त गरी: “म जान्दछु, पछिल्लो दिनको पुनरुत्थानमा त्यो फेरि बिउँतनेछ।” तर येशू चिहानमै जानुभयो र ढुंगा हटाउने आदेश दिनुभयो। त्यसपछि उहाँले “लाजरस, बाहिर निस्की आऊ” भनेर ठूलो स्वरले कराउनुभयो। लाजरस बाहिर निस्किआयो।—यूहन्‍ना ११:११-४४.

अब तपाईं आफै सोच्नुहोस्‌: चार दिनसम्म लाजरस कुन अवस्थामा थियो? लाजरसले न त स्वर्गको आनन्द न नरकको सन्तापको अनुभवबारे कुरा गऱ्‍यो। उनी स्वर्ग वा नरकमा चार दिनसम्म हुँदो हो ता, अवश्‍य त्यहाँको अनुभवबारे कुरा गर्नेथ्यो। तर होइन, लाजरस मृत्युमा पूर्णतया अचेत थियो। येशूले उसलाई त्यतिखेर नब्यूँताउनु भएको खण्डमा, उनी “पछिल्लो दिनको पुनरुत्थान” नहोउञ्जेल त्यही अचेत अवस्थामै हुने थियो।

हो, येशूका ती चमत्कारहरूको लाभ स्थायी थिएन। किनभने, उहाँले पुनरुत्थान गराउनुभएका मानिसहरू फेरि मरे। तर, मरिगएका मानिसहरू परमेश्‍वरको शक्‍तिद्वारा फेरि जिउन सक्नेछन्‌ भनी, १९०० वर्षअघि येशूले प्रमाणचाहिं दिनुभयो। येशूले आफ्ना चमत्कारहरूद्वारा, भविष्यमा परमेश्‍वरको राज्यमनि पृथ्वीभरि हुने घटनाहरूका एउटा सानो झल्को देखाउनुभयो।

प्रिय जन मरेको बेलामा

पुनरुत्थानमा तपाईंको आशा भए तापनि, शत्रु मृत्युको आक्रमण आउँदा, तपाईंको शोक गहिरो होला। आफ्नो स्वास्नी फेरि जिउनेछ भनी अब्राहामको पूरा विश्‍वास थियो। तापनि, स्वास्नी साराको मृत्यु हुँदा “अब्राहामले शोक र विलाप” गरेको कुरा हामी बाइबलमा पाउँछौं। (उत्पत्ति २३:२) लाजरसको मृत्यु हुँदा, येशू पनि “आत्मामा अति विचलित” हुनु भएर “रुनु भयो।” (यूहन्‍ना ११:३३, ३५) यसकारण तपाईंले प्रेम गर्नुभएको व्यक्‍ति मरेर जाँदा, शोक गर्नु र रुनु कमजोरी होइन।

बच्चाको मृत्यु हुँदा, विशेष आमालाई सहनु गाह्रो हुन्छ। आमाको मुटु छेड्‌ने शोकलाई बाइबलमा पनि मान्यता दिइएको छ। (२ राजा ४:२७) साथै, जन्म दिने बाबुको निम्ति पनि शोक खप्नु कठिन हुनसक्छ। आफ्नो छोरा अब्शालोमको मृत्यु हुँदा, उसको दुःखी पिता दाऊदले यसो भन्दै विलाप गऱ्‍यो: “तेरा सट्टामा म मरेको भएता हुने थियो।—२ शमूएल १८:३३.

तर पुनरुत्थानमा तपाईंको विश्‍वास भएको हुनाकारण, तपाईं शोकले सधैं नै छटपटाउनुहुने छैन। बाइबलमा भनेझैं, तपाईं “आशा नहुने अरू बाँकीहरूले जस्तो शोक” गर्नुहुने छैन। (१ थिस्सलोनिकी ४:१३) बरु, तपाईं प्रार्थनाद्वारा परमेश्‍वरको नजिक सर्नुहुनेछ। किनभने बाइबलमा यो प्रतिज्ञा छ: “उहाँले तँलाई सम्भाल्नुहुनेछ।”—भजन ५५:२२.

अन्यथा उल्लिखित नभए यस पर्चामा चलाइएका बाइबल उद्धरणहरू पवित्र बाइबल-बाट लिइएका हुन्‌। उद्धरणपछि जहाँ NW देख्नुहुन्छ, त्यहाँ अंग्रेजी भाषाको न्यु वर्ल्ड ट्रान्सलेसन अफ द होलि स्क्रिप्चर्स विथ रेफरेन्स-बाट उद्धृत गरिएका हुन्‌।