सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“आखिरी दिन[मा]” छौं भनेर हामी कसरी भन्‍न सक्छौं

“आखिरी दिन[मा]” छौं भनेर हामी कसरी भन्‍न सक्छौं

भाग ९

“आखिरी दिन[मा]” छौं भनेर हामी कसरी भन्‍न सक्छौं

१, २. हामीहरू आखिरी दिनमा छौं भनेर हामी कसरी थाह लगाउन सक्छौं?

 मानव शासनको यस वर्तमान रीतिरिवाजको विरुद्ध परमेश्‍वरले कारबाही गर्नुहुने समयमै हामी बाँचिरहेका छौं भनेर हामी कसरी निश्‍चित हुन सक्छौं? परमेश्‍वरले सबै दुष्टता र दुःख-कष्टको अन्त गरिदिनुहुने समयको हामी धेरै नै नजिक छौं भनेर हामी कसरी थाह लगाउन सक्छौं?

यही कुराहरू येशू ख्रीष्टका चेलाहरू जान्‍न चाहन्थे। राज्य शक्‍तिमा उहाँको उपस्थिति र “जगत्‌को अन्तको चिन्ह” के हुनेछ भनेर तिनीहरूले उहाँलाई सोधे। (मत्ती २४:३) यस प्रश्‍नको जवाफ, येशूले संसारलाई हल्लाउने घटनाहरू र परिस्थितिहरूको विस्तृत वर्णन गर्दै दिनुभयो। सामूहिक रूपमा ती घटनाहरू र परिस्थितिहरूले मानवजाति यस जगत्‌को “आखिरी दिन” वा “अन्तको समय[मा]” प्रवेश गरिसक्यो भनेर देखाउने थियो। (दानियल ११:४०; २ तिमोथी ३:१) के यस शताब्दीमा हामीले ती मिश्रित चिह्न देख्यौं? अवश्‍य, प्रचुर मात्रामा हामीले देखेका छौं!

विश्‍वयुद्धहरू

३, ४. यस शताब्दीमा भएका युद्धहरू येशूको भविष्यवाणीहरूसँग कसरी मिल्छन्‌?

‘जातिको विरूद्धमा जाति र राज्यको विरूद्धमा राज्य उठ्‌नेछ’ भनेर येशूले अगमवाणी गर्नुभयो। (मत्ती २४:७) सन्‌ १९१४ मा पूरै विश्‍व यस्तो युद्धले ग्रस्त भयो, जसमा राष्ट्रहरू र राज्यहरू युद्धका लागि सेनाहरू तयार पार्न व्यस्त थिए। यस प्रकारको तयारी योभन्दा पहिलेको कुनै पनि युद्धका लागि गरिएको थिएन। यस तथ्यलाई स्वीकार्दै त्यस बेलाका इतिहासकारहरूले यसलाई महायुद्ध भनी नामाकरण गरे। इतिहासमा त्यस प्रकारका युद्धहरूमध्ये त्यो पहिलो अर्थात्‌ प्रथम विश्‍वयुद्ध थियो। करिब २,००,००,००० सिपाहीहरू र नागरिकहरूले आफ्नो ज्यान गुमाए। योभन्दा अघि भएको कुनै पनि युद्धमा त्यतिका मानिसहरू मरेका थिएनन्‌।

प्रथम विश्‍वयुद्धले आखिरी दिनको सुरुवातलाई संकेत गऱ्‍यो। यो र अन्य घटनाहरू “कष्टको शुरू” हुनेछ भनेर येशूले भन्‍नुभएको थियो। (मत्ती २४:८) यो कुरा ठीक साबित भयो किनभने दोस्रो विश्‍वयुद्ध योभन्दा झन्‌ डरलाग्दो थियो। करिब ५,००,००,००० सिपाहीहरू र नागरिकहरूले यस युद्धमा आफ्नो ज्यान गुमाए। बीसौं शताब्दीमा मात्र १०,००,००,००० भन्दा बढी मानिसहरू लडाइँहरूमा मरिसकेका छन्‌। यो संख्याया बितेका ४०० वर्षको सबै लडाईंहरूमा मारिएकाहरूलाई जोड्‌ने हो भने पनि त्यसको चार गुणाभन्दा बढी हुनेछ! मानव शासनको कत्रो ठूलो दोष!

अन्य प्रमाणहरू

५-७. हामी आखिरी दिनमा छौं भनेर देखाउने अरू केही भविष्यवाणीहरू के-के हुन्‌?

आखिरी दिनमा हुने अन्य कुराहरू पनि येशूले थप्नुभयो: “ठूला ठूला भैंचालो जानेछ, औ विभिन्‍न ठाउँहरूमा रूढी [रोगहरूको महामारी] र अनिकाल हुनेछ।” (लुका २१:११) सन्‌ १९१४ देखि घटेका घटनाहरूसँग यी कुराहरू ठिक्क मिल्छ किनभने यस्ता संकटहरूको कारण कष्टहरू धेरै नै बढेका छन्‌।

ठूलठूला भैंचालोहरू एउटा नियमित घटना भएको छ र यसबाट थुप्रै ज्यानहरू गएका छन्‌। प्रथम विश्‍वयुद्ध समाप्त हुने बित्तिकै स्पेनिश इनफ्लुऐन्जा भन्‍ने रोगले मात्र करिब २,००,००,००० जति मानिसहरू मरे—केहीले यो संख्या ३,००,००,००० वा त्योभन्दा बढी पनि हुन सक्छ भनी अनुमान लगाएका छन्‌। एड्‌सले गर्दा लाखौं मानिसहरू मरिरहेका छन्‌ र चाँडै नै भविष्यमा अरू लाखौं मानिसहरू मर्न सक्छन्‌। हृदय रोग, क्यान्सर र अरू रोगहरूको कारण प्रत्येक वर्ष लाखौं मानिसहरू मर्छन्‌। खान नपाएर अरू लाखौं मानिसहरू बिस्तारै मृत्युको मुखमा पुगिरहेका छन्‌। निस्सन्देह १९१४ देखि यता ‘प्रकाशको पुस्तकका घोडचढीहरूले’ लडाइँ, अनिकाल र रोगका महामारीहरूद्वारा थुप्रै संख्यामा मानव परिवारहरूलाई खत्तम पारिराखेका छन्‌।—प्रकाश ६:३-८.

अपराधमा पनि वृद्धि हुनेछ भनेर येशूले अगमवाणी गर्नुभएको थियो। यसको अनुभव आज सारा मुलुकहरूमा गरिंदैछ। उहाँले भन्‍नुभयो: “औ अधर्म बढ्‌ने हुनाले धेरैका प्रेम सेलाएर जानेछ।”—मत्ती २४:१२.

८. हाम्रो समयसँग २ तिमोथी अध्याय ३ को भविष्यवाणी कसरी मिल्छ?

यसबाहेक आज संसारभरि खुलस्त देखिएको नैतिक पतनको विषयमा पनि बाइबलका भविष्यवाणीले पहिल्यै यसो भनेको थियो: “तर यो जान, कि आखिरी दिनमा डरलाग्दो समय आउनेछ। किनभने मानिसहरू स्वार्थी, धनका लोभी, अहंकारी, हठी, निन्दक, आमा-बाबुको आज्ञा पालन नगर्ने, बैगुणी, र अपवित्र, स्वाभाविक प्रेम रहितका, खुशी नहुने, अर्कालाई दोष लाउने, असंयमी, निष्ठूर, असल नरूचाउने, विश्‍वासघाती, उत्ताउला, दिमागी, परमेश्‍वरभन्दा बरु सुख-विलास निको मान्‍ने, भक्‍तिको भेष चाहिं लिने तर त्यसको शक्‍तिलाई इन्कार गर्ने . . . हुनेछन्‌। . . . खराब मानिसहरू र ठगाहाहरू . . . झन्‌ झन्‌ खराब हुँदै जानेछन्‌।” (२ तिमोथी ३:१-१३) यी सब कुराहरू हाम्रै आखाँको सामुन्‍ने सत्य साबित भएका छन्‌।

अर्को तत्त्व

९. पृथ्वीमा आखिरी दिनको सुरुवातसँगसँगै स्वर्गमा त्यस्तो अर्को के घटना घट्यो?

यस शताब्दीमा दुःख-कष्टको यति ठूलो वृद्धि हुनुमा अर्को एउटा तत्त्व पनि जिम्मेवार छ। आखिरी दिन सुरु हुनका साथ-साथै १९१४ मा मानवजातिलाई अझ ठूलो खतरामा पार्ने अर्को एउटा घटना पनि घटेको थियो। बाइबलको अन्तिम पुस्तकले भने झैं त्यस समयमा: “स्वर्गमा लडाइँ भयो। माइकल [स्वर्गीय शक्‍तिमा रहनुभएका ख्रीष्ट] र तिनका दूतहरू त्यस अजींगर [शैतान] जस्तै पशुसँग लडाइँ गर्न गए, र अजीङ्‌गरजस्तै पशु र त्यसका दूतहरूहले युद्ध गरे। औ तिनीहरूले जित्नसकेनन्‌, नता तिनीहरूका निम्ति स्वर्गमा फेरि कुनै ठाउँ नै रह्‍यो। अनि त्यो अजीङ्‌गरजस्तै पशु तल फ्याँकियो त्यो वृद्ध साँप, दियाबल र शैतान भनिने, सारा संसारलाई ठग्ने, पृथ्वीतलमा फ्याँकियो, र त्यसका दूतहरू त्यसका साथसाथै फ्याँकिए।”—प्रकाश १२:७-९.

१०, ११. शैतान र त्यसका प्रेतहरूलाई पृथ्वीमा झारिदिंदा मानवजाति कसरी प्रभावित भए?

१० मानव परिवारका लागि यसको नतिजा के भयो त? भविष्यवाणी फेरि भन्छ: “पृथ्वी र समुद्रलाई धिक्कार छ, किनभने आफ्नो अल्प समय थाहा पाएर शैतान ठूलो क्रोधसँग तिमीहरूकहाँ तल गएको छ।” हो, आफ्नो रीतिरिवाज अन्तको नजिक पुग्दैछ भनेर शैतानलाई थाह छ। त्यसैकारण आफू र आफ्नो संसार बितेर जानुअघि मानवजातिलाई परमेश्‍वरको विरूद्धमा उठाउन आफूले भ्याएसम्म त्यसले सबै थोक गरिरहेको छ। (प्रकाश १२:१२; २०:१-३) आफ्नो स्वतन्त्र इच्छाको दुरुपयोग गरेर ती आत्मिक प्राणीहरू कति भ्रष्ट भएका छन्‌! तिनीहरूको प्रभावमा पृथ्वीको अवस्था, विशेष गरी १९१४ देखि कस्तो भयानक भएको छ!

११ अतः हाम्रो समयलाई लिएर येशूले यसरी अगमवाणी गर्नुभएकोमा कुनै आश्‍चर्य छैन: “आकाशबाट डरलाग्दा लक्षण र ठूला ठूला चिह्नहरू हुनेछन्‌।”—लूका २१:११.

मानव र प्रेत शासनको अन्त नजिक

१२. यस रीतिरिवाजको अन्त हुनुभन्दा अघि पूरा हुनुपर्ने भविष्यवाणीहरूमध्ये बाँकी रहेको एउटा भविष्यवाणी कुन हो?

१२ यस वर्तमान रीतिरिवाजलाई परमेश्‍वरले नष्ट गर्नुभन्दा अघि बाइबलका कतिवटा भविष्यवाणीहरू पूरा हुन बाँकी छन्‌? ज्यादै कम! पूरा हुन बाँकी अन्तिम भविष्यवाणीहरूमध्ये एकको उल्लेख १ थिस्सलोनिकी ५:३ मा गरिएको छ, जसले यसो भन्छ: “शान्ति र सुरक्षाको विषयमा तिनीहरूले कुरा गरिरहेकै बेलामा, एक्कासि तिनीहरूमाथि विपत्ति आइपर्नेछ।” (द न्यु इङ्‌गलिस बाइबल) यसले यो देखाउँछ कि यस रीतिरिवाजको अन्त “तिनीहरूले कुरा गरिरहेकै बेलामा” सुरु हुनेछ। तिनीहरूले आशै नगरेको बेलामा अर्थात्‌ त्यो प्रतीक्षित शान्ति र सुरक्षातर्फ मानिसहरूको ध्यान गएको बेलामा, संसारले बेवास्ता गरेको त्यो विनाश तिनीहरूमाथि आइपर्नेछ।

१३, १४. कुन संकष्टको समयबारे येशूले अगमवाणी गर्नुभयो र त्यसको समापन कसरी हुनेछ?

१३ शैतानको प्रभावमा परेको यस संसारको निम्ति समय झन्‌झन्‌ कम हुँदै गइरहेको छ। चाँडै नै संकटको समयमा यसको अन्त हुनेछ। यस विषयमा येशूले भन्‍नुभयो: “त्यस बेला यस्तो महा संकष्ट हुनेछ, जो जगत्‌को शुरूदेखि अहिलेसम्म भएको छैन, नता फेरि कहिल्यै हुनेछ।”—मत्ती २४:२१.

१४ यो “महा संकष्ट” परमेश्‍वरको युद्ध अर्थात्‌ आरमागेडोनमा टुंगिनेछ। यो त्यही समय हो, जब परमेश्‍वरले “सबै राज्यहरूलाई चक्नाचूर पार्नुहुनेछ र तिनीहरूको अन्त” गरिदिनुहुनेछ भनी अगमवक्‍ता दानियलले बताएका थिए। यसको अर्थ परमेश्‍वरबाट स्वाधीन भएका सम्पूर्ण वर्तमान मानव शासनहरूको अन्त हुनेछ। त्यसपछि स्वर्गबाट उहाँको राज्य शासनले सारा मानवीय क्रियाकलापहरूलाई आफ्नो वशमा लिनेछ। दानियलले अगमवाणी गरे झैं फेरि कहिल्यै “अरू कुनै जातिको हातमा” शासन गर्ने अधिकार दिइनेछैन।—दानियल २:४४; प्रकाश १६:१४-१६.

१५. शैतान र त्यसका प्रेतहरूको प्रभावलाई के हुनेछ?

१५ त्यस बेला शैतान र त्यसका प्रेतहरूको प्रभाव पनि खत्तम हुनेछ। तिनीहरूले “जाति जातिलाई फेरि नठगोस्‌” भन्‍ने हेतुले ती आत्मिक प्राणीहरू हटाइने छन्‌। (प्रकाश १२:९; २०:१-३) तिनीहरूलाई मृत्युदण्ड सुनाइसकेको छ र विनाशका लागि तिनीहरू पर्खिरहेका छन्‌। तिनीहरूको भ्रष्ट प्रभावबाट मुक्‍त हुन पाउँदा मानवजातिले कस्तो सञ्चो मान्‍नेछन्‌!

को बच्ने छ? को बच्ने छैन?

१६-१८. यस रीतिरिवाजको अन्तमा को बच्नेछ र को बच्नेछैन?

१६ यस संसारको विरूद्ध परमेश्‍वरले न्याय गर्नुहुँदा को बच्ने छ? र को बच्ने छैन? बाइबलले बताउँछ कि ज-जसले परमेश्‍वरको शासन चाहन्छन्‌ तिनीहरूलाई सुरक्षित राखिनेछ र तिनीहरू बाँच्नेछन्‌। ज-जसले परमेश्‍वरको शासन चाहँदैनन्‌ तिनीहरूलाई सुरक्षित राखिनेछैन र शैतानको संसार सँगसँगै तिनीहरूलाई नाश गरिनेछ।

१७ हितोपदेश २:२१, २२ ले भन्छ: “सोझाहरू [परमेश्‍वरको शासनको अधीनमा बस्नेहरू] पृथ्वीमा बास गर्नेछन्‌। र निर्दोष मानिसहरू त्यहाँ रहनेछन्‌। तर दुष्टहरू [परमेश्‍वरको शासनको अधीनता अस्वीकार गर्नेहरू] त्यहाँबाट जरैसमेत उखेलिनेछन्‌, र विश्‍वासघातीहरू झारझैं फ्याँकिनेछन्‌।”

१८ त्यस्तै गरी भजन ३७:१०, ११ ले पनि भन्छ: “थोरै बेरपछि, दुष्ट रहनेछैन। . . . तर नम्रहरूले देश अधिकार गर्नेछन्‌। र प्रशस्त शान्तिमा आफै खुशी मनाउनेछन्‌।” यसमा पद २९ यो कुरा थप्छ: “धर्मात्माहरूले देश अधिकार गर्नेछन्‌, र त्यसैमा सधैंभरि रहन्छन्‌।”

१९. कुन सल्लाहलाई हामीले हृदयङ्‌गम गर्नुपर्छ?

१९ अतः हामीले भजन ३७:३४ मा दिएको सल्लाहलाई हृदयङ्‌गम गर्नुपर्छ जसमा यसो भनिएको छ: “परमप्रभुको बाटो हेर्‌, उहाँकै मार्गमा हिंड्‌, र उहाँले तँलाई देश अधिकार गर्न बढ़ाउनुहुनेछ, दुष्टहरू नष्ट भएर जाँदा तैंले त्यो देख्नेछस्‌।” पद ३७ र ३८ ले भन्छ: “सिद्ध मानिसलाई दृष्टि लगा, र धर्मात्मालाई हेर्‌, किनभने त्यस्ता मानिसको आखिरको अवस्था शान्तिमय हुन्छ। अपराधीहरू चाहिं सबै सँगसँगै नाश हुनेछन्‌, दुष्टको आखिर अवस्था सर्वनाशको हुनेछ।”

२०. वर्तमान समय हर्षले गद्‌गद्‌ हुने समय हो भनेर हामी किन भन्‍न सक्छौं?

२० कस्तो सान्त्वनादायी कुरा! हो, परमेश्‍वर साँच्चै हाम्रो चिन्ता गर्नुहुन्छ र चाँडै नै दुष्टता र दुःख-कष्टलाई उहाँले अन्त गरिदिनुहुनेछ भनेर जान्‍न पाउनु कत्ति प्रेरणादायी छ! ती सानदार भविष्यवाणीहरू चाँडै पूरा हुनेछन्‌ भनेर थाह पाउँदा हृदय हर्षले कति गद्‌गद्‌ हुन्छ!

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ २०-मा भएको चित्र]

आखिरी दिनका लागि “चिह्न” हुने विभिन्‍न घटनाहरूबारे बाइबलमा भविष्यवाणी गरिएको थियो

[पृष्ठ २२-मा भएको चित्र]

परमेश्‍वरको शासनको अधीनता अस्वीकार गर्नेहरूलाई चाँडै नै आरमागेडोनमा नाश गरिनेछ। स्वीकार गर्नेहरूजति बच्नेछन्‌ र धार्मिक नयाँ संसारमा प्रवेश गर्नेछन्‌