के परमेश्वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?
भाग १
के परमेश्वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?
१, २. परमेश्वरबारे मानिसहरू कस्ता प्रश्नहरू सोध्छन् र किन?
सायद आफ्नो जीवनमा तपाईंले कुनै न कुनै बेला यो प्रश्न सोध्नुभएको होला: ‘साँच्चै नै हाम्रो चिन्ता गर्ने एउटा परमेश्वर हुनुहुन्छ भने उहाँले यत्तिका दुःख-कष्ट हुने अनुमति किन दिनुहुन्छ?’ हामी सबैले नै दुःख-कष्ट भोगेका छौं अथवा कसैले भोगेको देखेका छौं।
२ निस्सन्देह इतिहासभरि युद्ध, क्रूरता, अपराध, अन्याय, गरिबी, रोग र आफ्नो प्रियजनको मृत्यु जस्ता कुराहरूले गर्दा मानिसहरूले पीडा र चोट अनुभव गरेका छन्। बीसौं शताब्दीमा मात्र लडाइँहरूले गर्दा दस करोडभन्दा बढी मानिसहरू मारिए। अरू करोडौं मानिसहरू या त घाइते भए या आफ्नो घरबार र धन-सम्पत्ति सबै गुमाए। हाम्रो समयमा पनि निरन्तर त्यस्ता थुप्रै भयावह घटनाहरू घटिसकेका छन्। यी सब कुराहरूले गर्दा अनगिन्ती मानिसहरूले खपिनसक्नु व्यथा, रोकिनसक्नु आसुँ र नैराश्य अनुभव गरेका छन्।
३, ४. परमेश्वरले दुःख-कष्ट हुन दिनुभएको अनुमतिबारे धेरैजसो मानिसहरू कस्तो महसुस गर्छन्?
३ यी कुराहरूले गर्दा केही व्यक्तिहरू असाध्यै झोक्किन्छन् र सोच्छन्, यदि परमेश्वर हुनुहुन्छ नै भने पनि वास्तवमा उहाँलाई हाम्रो कुनै वास्ता छैन। सायद तिनीहरूलाई परमेश्वर नै हुनुहुन्न भनेर पनि लाग्न सक्छ। उदाहरणका लागि, प्रथम विश्वयुद्धको समयमा जातीय सतावट खप्नुपरेका र आफ्ना मित्रहरू र परिवारलाई समेत गुमाउनुपरेका एक जना व्यक्तिले यस्तो प्रश्न उठाएका थिए: “कहाँ हुनुहुन्थ्यो परमेश्वर, जुन बेला हामीलाई उहाँको जरुरत परेको थियो?” त्यस्तै, दोस्रो विश्वयुद्धमा नाजीहरूले लाखौं व्यक्तिहरूको हत्या गर्दाखेरि उम्केका एक जना व्यक्ति आफूले देखेका कष्टहरूबाट यति दुःखी थिए कि तिनले यसो समेत भने: “मेरो हृदय यति तीतो भएको छ कि तपाईंले त्यसलाई चाट्नुभयो भने तपाईंलाई विष लाग्नेछ।”
४ तसर्थ, एउटा असल परमेश्वरले किन खराब कुराहरू हुन दिनुहुन्छ भनेर धेरै मान्छेहरू बुझ्नै सक्दैनन्। के परमेश्वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ त, न उहाँ अस्तित्वमै हुनुहुन्न कि भनेर तिनीहरू प्रश्न उठाउँछन्। तिनीहरूमध्ये धेरैलाई दुःख-कष्ट भन्ने कुरा सधैं मानिसको जीवनको एउटा भाग हुनेछ भन्ने लाग्छ।
[अध्ययनका लागि प्रश्नहरू]