नयाँ संसारको पूर्वाधार अहिले बसालिंदैछ
भाग ११
नयाँ संसारको पूर्वाधार अहिले बसालिंदैछ
१, २. बाइबलको भविष्यवाणीको पूर्तिअनुसार हाम्रै आखाँको सामने आज के भइरहेको छ?
शैतानको पुरानो संसार भ्रष्ट हुँदै गएको छ। तर त्यसोभए तापनि परमेश्वरको नयाँ संसारको पूर्वाधार अहिले हाम्रै समयमा बसालिंदैछ। वास्तवमा यो अर्को आश्चर्यपूर्ण कुरा हो। हाम्रै आँखासामु सारा राष्ट्रका मानिसहरूलाई परमेश्वरले जम्मा गर्नुहुँदैछ र तिनीहरूद्वारा नयाँ पार्थिव समाजका लागि एउटा पूर्वाधार बसाल्नुहुँदैछ। यही नयाँ समाजले फूटले भरिएको आजको यस संसारको ठाँउ लिनेछ। बाइबलमा, २ पत्रुस ३:१३ मा यस नयाँ समाजलाई “नयाँ पृथ्वी” भनिएको छ।
२ बाइबलको भविष्यवाणीले यसो पनि भन्छ: “पछिल्ला दिनमा [अहिले हामी बाँचिरहेको समय] . . . जाति जातिका धेरै मानिसहरू त्यहाँ गएर भन्नेछन्, आऊ हामी परमप्रभुको पर्वतमा [यहोवाको साँचो उपासना] . . . जाऔं। उहाँले हामीलाई आफ्नो मार्ग देखाउनुहुनेछ र हामी उहाँको बाटोमा हिंड़नेछौं।”—यशैया २:२-३.
३. (क) कसको माझमा यशैयाको भविष्यवाणी पूरा भइरहेको छ? (ख) यस विषयमा बाइबलको अन्तिम पुस्तकले के टिप्पणी गर्छ?
३ ‘परमेश्वरको मार्गको’ अधीनमा बस्ने र ‘उहाँको बाटोमा हिंड्ने’ मानिसहरूबीच आज यो भविष्यवाणी पूरा भइरहेको छ। यी शान्तिप्रेमी मानिसहरूको अन्तरराष्ट्रिय समाजलाई बाइबलको अन्तिम पुस्तकले “हरेक जातिबाटको र सबै कुलको र मानिसको, र भाषा भाषाहरूको एक ठूलो भीड़” भनेको छ। एकताबद्ध भएर परमेश्वरको सेवा गरिरहेको यो एउटा साँचो विश्वव्यापी भ्रातृत्व हो। बाइबलले अझ यसो भन्छ: “यी तिनै हुन् जो महा सङ्कष्टबाट आएका छन्।” अर्थात् तिनीहरूले यस दुष्ट रीतिरिवाजको अन्तलाई पार गर्नेछन्।—प्रकाश ७:९, १४; मत्ती २४:३.
एउटा साँचो अन्तररष्ट्रिय भ्रातृत्व
४, ५. यहोवाका साक्षीहरूको विश्वव्यापी भ्रातृत्व किन सम्भव भएको छ?
४ यहोवाको निर्देशन र मार्गअनुसार हिंड्न लाखौं यहोवाका साक्षीहरू हृदयदेखि प्रयास गर्छन्। अनन्त जीवन प्राप्त गर्ने तिनीहरूको आशा परमेश्वरको नयाँ संसारमा अडेको छ। परमेश्वरका नियमहरू अनुरूप तिनीहरू आफ्नो दैनिक जीवन यापन गर्छन्। यसप्रकार नयाँ संसारमा र अहिले उहाँको शासन प्रणालीको अधीनमा बस्ने आफ्नो इच्छा तिनीहरू व्यक्त गर्छन्। जहाँकहीं, जुनसुकै राष्ट्र वा जातिका भए तापनि तिनीहरू एकै स्तरहरू अर्थात् परमेश्वरले आफ्नो वचनमा दिनुभएका स्तरहरू पालन गर्छन्। यसैकारण तिनीहरू एउटा साँचो अन्तरराष्ट्रिय भ्रातृत्व, परमेश्वरले खडा गर्नुहुने एउटा नयाँ पार्थिव समाज हुन्।—यशैया ५४:१३; मत्ती २२:३७, ३८; यूहन्ना १५:९, १४.
५ आफू एउटा अद्वितीय विश्वव्यापी भ्रातृत्व भएकोमा त्यसको श्रेय यहोवाका साक्षीहरू आफै लिंदैनन्। यो परमेश्वरका नियमहरूको अधीनमा बस्ने मानिसहरूमाथि काम गर्ने उहाँको शक्तिशाली आत्माको असर हो भनी तिनीहरू जान्दछन्। (प्रेरित ५:२९, ३२; गलाती ५:२२, २३) यो परमेश्वरको काम हो। येशूले भनेझैं “मानिसहरूलाई असम्भव हुने कुराहरू परमेश्वरलाई सम्भव छ।” (लूका १८:२७) अतः जुन परमेश्वरले सदाकाल चलिरहने यस ब्रह्माण्डलाई बनाउनुभयो, त्यही परमेश्वरले सदकालसम्म चल्ने नयाँ संसार पनि बनाउनुहुन्छ।
६. किन यहोवाका साक्षीहरूको भ्रातृत्वलाई आधुनिक चमत्कार भन्न सकिन्छ?
६ तसर्थ, नयाँ संसारका लागि हाल तयार भइरहेको पूर्वाधारद्वारा यहोवाले आज सम्पन्न गर्नुभएको कामबाट नै हामीले नयाँ संसारमा लागू हुने उहाँको शासन प्रणालीको झलक देख्न सक्छौं। उहाँले आफ्ना साक्षीहरूबीच जे गर्नुभएको छ वास्तवमा त्यो एउटा आधुनिक चमत्कार हो। किन? किनभने यहोवाका साक्षीहरूलाई उहाँले एउटा साँचो विश्वव्यापी भ्रातृत्व बनाउनुभएको छ, जसलाई फूट उत्पन्न गराउने राष्ट्रिय, जातीय वा धार्मिक स्वार्थहरूद्वारा कहिल्यै टुक्राउन सकिंदैन। लाखौं साक्षीहरू २०० भन्दा बढी मुलुकहरूमा छरिएर रहेका भए तापनि तिनीहरू एउटा अटुट बन्धनमा एक भएर बाँधिएका छन्। सारा इतिहासमा नै अतुलनीय साबित भएको यो अन्तरराष्ट्रिय भ्रातृत्व वास्तवमा एउटा आधुनिक चमत्कार हो—अर्थात् परमेश्वरको कार्य।—यशैया ४३:१०, ११, २१; प्रेरित १०:३४, ३५; गलाती ३:२८.
परमेश्वरका मानिसहरूलाई चिन्ने
७. आफ्ना साँचो अनुयायीहरूलाई कसरी चिनिन्छ भनेर येशूले भन्नुभयो?
७ आफ्नो नयाँ संसारको पूर्वाधारको रूपमा परमेश्वरले चलाइरहनुभएका मानिसहरू को हुन् भनेर अझ विस्तृत रूपमा कसरी थाहा लगाउन सकिन्छ? कसले यूहन्ना १३:३४, ३५ मा येशूले भनेका वचनहरू पूरा गर्छन्? उहाँले भन्नुभयो: “एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिंदैछु, कि तिमीहरू आपसमा प्रेम गर, जस्तो मैले तिमीहरूलाई प्रेम गरेको छु, तिमीहरूले पनि आपसमा प्रेम गर। यदि तिमीहरूले आपसमा प्रेम गऱ्यौ भने, तिमीहरू मेरा चेलाहरू हौ भनी यसैबाट सबैले जान्नेछन्।” यहोवाका साक्षीहरू येशूका यी शब्दहरूलाई विश्वास गर्छन् र त्यसअनुसार काम गर्छन्। परमेश्वरको वचनले निर्देशन दिएझैं तिनीहरू “आपसमा प्रगाढ प्रेम” राख्छन्। (१ पत्रुस ४:८) तिनीहरू “प्रेम धारण” गर्छन्, “जो सिद्धताको गाँठो हो।” (कलस्सी ३:१४) अतः भ्रातृप्रेम “सरेस” जस्तै हो जसले तिनीहरूलाई विश्वव्यापी रूपमा एकसाथ जोडेको छ।
८. परमेश्वरका मानिसहरूलाई १ यूहन्ना ३:१०-१२ ले अझ कसरी चिनाउँछ?
८ साथै, १ यूहन्ना ३:१०-१२ ले यसो भन्छ: “परमेश्वरको सन्तान र शैतानको सन्तान यसैबाट प्रष्ट हुन्छ, उचित काम नगर्ने हरेक परमेश्वरबाटको हुँदैन। किनभने तिमीहरूले शुरूदेखि सुनेको समाचार यही हो, कि हामीले एउटाले अर्कोसँग प्रेम गर्नुपर्छ। कयिनजस्तै ता होइन, जो दुष्टबाटको थियो, र जसले आफ्नो भाइलाई माऱ्यो।” अतः परमेश्वरका मानिसहरू एउटा अहिंसावादी र विश्वव्यापी भ्रातृत्व हुन्।
चिन्ने अर्को विशेषता
९, १०. (क) आखिरी दिनमा कुन कामले गर्दा परमेश्वरका सेवकहरू चिनिनेछन्? (ख) मत्ती २४:१४ लाई यहोवाका साक्षीहरूले कसरी पूरा गरेका छन्?
९ यहोवाका सेवकहरूलाई चिन्ने अर्को तरिका पनि छ। आजको वर्तमान समयलाई आखिरी दिनको रूपमा चिनाउने त्यस्ता थुप्रै कुराहरू येशूले जगत्को अन्तको भविष्यवाणीमा भन्नुभएको थियो। (भाग ९ हेर्नुहोस्।) यही भविष्यवाणीको एउटा मौलिक विशेषतालाई मत्ती २४:१४ मा उहाँका शब्दहरूमा यसरी उल्लेख गरिएको छ: “राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त हुनेछ।”
१० के हामीले यो भविष्यवाणी पूरा भएको देखेका छौं? अवश्य देखेका छौं। येशूले आज्ञा गर्नुभएझैं अर्थात् मानिसहरूको घर-घरमा गएर यहोवाका साक्षीहरूले १९१४ मा आखिरी दिनको सुरुवात भएदेखि सारा संसारमा राज्यको सुसमाचार प्रचार गरिरहेका छन्। (मत्ती १०:७, १२; प्रेरित २०:२०) संसारका हरेक राष्ट्रहरूमा लाखौं साक्षीहरू नयाँ संसारको विषयमा कुरा गर्न मानिसहरूकहाँ जान्छन्। यही कामले गर्दा नै तपाईंले यो पुस्तिका पाउन सक्नुभएको हो। किनभने यहोवाका साक्षीहरूको काममा परमेश्वरको राज्यको विषयमा करोडौं प्रति साहित्यहरू छपाउने र त्यसलाई वितरण गर्ने काम पनि सम्मिलित छ। संसारभरि घर-घरमा गएर परमेश्वरको राज्यको विषयमा के तपाईंले अरू कसैले प्रचार गरेको देख्नुभएको छ? प्रचार गर्ने र सिकाउने यस कामलाई अन्त आउनुभन्दा “पहिला” नै गरिनुपर्छ भनेर मर्कूस १३:१० ले देखाउँछ।
दोस्रो ठूलो विवादको उत्तर दिनु
११. परमेश्वरको शासनको अधीनस्थ यहोवाका साक्षीहरूले अरू कुन कुरा पनि पूरा गर्छन्?
११ परमेश्वरका नियमहरू र सिद्धान्तहरूको अधीनमा बसेर यहोवाका साक्षीहरूले अर्को कुरा पनि पूरा गर्छन्। अर्थात् परीक्षामा पर्दा मानिसहरू परमेश्वरप्रति वफादार रहन सक्दैनन् भनेर शैतानले गरेको दाबीलाई तिनीहरूले गलत साबित गरिदिन्छन्। यसप्रकार तिनीहरू दोस्रो ठूलो विवादको उत्तर दिन्छन्, जसमा मानिसहरूको निष्ठा मुछिएको थियो। (अय्यूब २:१-५) संसारभरिका लाखौं मानिसहरूको एउटा समाज भएको हुनाकारण साक्षीहरू सामूहिक रूपमा यहोवाको शासनप्रति आफ्नो वफादारिता प्रदर्शित गर्छन्। आफू असिद्ध मानव भए तापनि शैतानको दबाबको बावजुद तिनीहरू विश्वव्यापी सार्वभौमिकताको विवादमा यहोवाको पक्ष लिन्छन्।
१२. आफ्नो विश्वासद्वारा साक्षीहरू कसको अनुकरण गर्छन्?
१२ परमेश्वरप्रति आफ्नो वफादारी प्रदर्शन गर्ने बितेका समयका अरू थुप्रै साक्षीहरूको लामो पङ्क्तिमा आज लाखौं साक्षीहरूले आफ्नो गवाही थपेका छन्। तिनीहरूमध्ये केही व्यक्तिहरू हाबिल, नूह, अय्यूब, अब्राहाम, सारा, इसहाक, याकूब, दबोरा, रूथ, दाऊद र दानियल हुन्। (हिब्रू, अध्याय ११) बाइबलले भनेझैं तिनीहरू “गवाहीका मेघ” हुन्। (हिब्रू १२:१) यी व्यक्तिहरू र येशूका चेलाहरूका साथै अन्यले यहोवा परमेश्वरप्रति आफ्नो निष्ठालाई कायम राखे। येशू आफैले सिद्धतापूर्वक आफ्नो निष्ठालाई कायम राखेर सबैभन्दा ठूलो उदाहरण छाड्नुभयो।
१३. शैतानको विषयमा येशूले भन्नुभएको कुन चाहिं वचन सत्य साबित भएको छ?
१३ धार्मिक नेताहरूलाई शैतानको विषयमा येशूले भन्नुभएको कुरा ठीक हो भनेर यसले प्रमाणित गर्दछ। उहाँले भन्नुभएको थियो: “तर अहिले तिमीहरू मलाई मार्न खोज्दछौ, अर्थात् म एउटा मान्छेलाई जसले परमेश्वरबाट सुनेको सत्य कुरा तिमीहरूलाई भन्दैआएको छ। . . . तिमीहरू ता आफ्ना पिता शैतानका तर्फबाटका हौ, औ आफ्नै पिताका अभिलाषा गर्ने इच्छा गर्छौ। त्यो ता शुरूदेखिनै हत्यारा थियो र सत्यमा ठहरेन। किनभने त्यसमा सत्य छँदैछैन। त्यसले झूट बोल्दछ भने त्यो आफ्नैतर्फबाट बोल्दछ, किनभने त्यो झूट र झूटको पिता हो।”—यूहन्ना ८:४०, ४४.
तपाईं के रोज्नुहुन्छ?
१४. नयाँ संसारको पूर्वाधारलाई अहिले के भइरहेको छ?
१४ यहोवाका साक्षीहरूको अन्तरराष्ट्रिय समाजमा परमेश्वरले नयाँ संसारका लागि अहिले स्थापना गर्नुभएको पूर्वाधार झन्-झन् बलियो हुँदै गएको छ। सही ज्ञानमा आधारित आफ्नो स्वतन्त्र इच्छाको प्रयोग गर्दै प्रत्येक वर्ष लाखौं मानिसहरूले परमेश्वरको शासनलाई स्वीकारिरहेका छन्। यसरी तिनीहरू नयाँ समाजको एउटा भाग बन्छन्, सार्वभौमिकताको विवादमा यहोवाको पक्ष लिन्छन् र शैतानलाई झूटो साबित गर्छन्।
१५. हाम्रो समयमा कुन काम हुनेछ?
१५ परमेश्वरको राज्यलाई छानेर तिनीहरू ख्रीष्टले “भेडाहरूलाई बाख्राबाट” छुट्याउनुहुँदा उहाँको “दाहिने हातपट्टि” बस्ने योग्यका हुनेछन्। आखिरी दिनबारे आफ्नो भविष्यवाणीमा येशूले अगमवाणी गर्नुभएको थियो: “उसको सामु सबै देशका मानिसहरू जम्मा हुनेछन्, र जसरी गोठालाले भेडालाई बाख्राबाट छुट्याउँछ, उसरीनै उसले तिनीहरू एकलाई अर्कोबाट छुट्याउनेछ। औ उसले भेड़ाहरूलाई आफ्नो दाहिने हातपट्टि, तर बाख्राहरूलाई देब्रेपट्टि राख्नेछ।” परमेश्वरको शासनको अधीनमा बस्दै ख्रीष्टका भाइहरूसँग संगत गरेका र तिनीहरूलाई समर्थन गरेका नम्र व्यक्तिहरू भेडाहरू हुन्। ती ढीट मानिसहरू बाख्राहरू हुन्, जसले ख्रीष्टका भाइहरूलाई इन्कार गरेका छन् र परमेश्वरको शासनलाई समर्थन गर्न केही पनि गरेका छैनन्। तिनीहरूको नतिजा? त्यसबारे येशूले भन्नुभयो: “यिनीहरूचाहिं [बाख्राहरू] अनन्त दण्डमा, तर धार्मिकहरूचाहिं [भेडाहरू] अनन्त जीवनमा जानेछन्।”—मत्ती २५:३१-४६.
१६. तपाईं आउने प्रमोदवनमा बाँच्न चाहनुहुन्छ भने तपाईंले के गर्नै पर्छ?
१६ वास्तवमा, परमेश्वर हाम्रो चिन्ता गर्नुहुन्छ! चाँडै नै उहाँले एउटा आनन्दमय पार्थिव प्रमोदवनको प्रबन्ध गर्नुहुनेछ। त्यस प्रमोदवनमा के तपाईं बस्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने उहाँको विषयमा सिकेर र आफूले सिकेका कुराहरूलाई प्रयोगमा ल्याएर यहोवाले गर्नुभएका प्रबन्धहरूका लागि आफ्नो मूल्यांकन प्रकट गर्नुहोस्। “जबसम्म परमप्रभुलाई पाउनसक्छ उहाँलाई [खोज्नुहोस्]। उहाँ नजीक हुनुहुँदानै उहाँलाई [पुकार्नुहोस्]। दुष्टहरूले आफ्नो बाटो र अधर्मीहरूले आफ्नो विचार त्यागोस् र परमप्रभुतिर फर्कोस्, र उहाँले त्यसमाथि कृपा गर्नुहुनेछ। हाम्रा परमेश्वरतर्फ त्यो फर्कोस्, औ उहाँले त्यसलाई प्रशस्त गरी क्षमा गर्नुहुनेछ।”—यशैया ५५:६, ७.
१७. कसको सेवा गर्ने भनेर फैसला गर्ने समय किन ज्यादै कम छ?
१७ समय ज्यादै कम छ। यस पुरानो रीतिरिवाजको अन्त धेरै नै नजिक छ। परमेश्वरको वचनले सल्लाह दिन्छ: “संसारलाई प्रेम नगर, नता संसारमा भएका कुनै चीजलाई प्रेम गर। यदि कुनै मानिसले संसारलाई प्रेम गर्दछ भने, पिताको प्रेम त्यसमा हुँदैन। . . . औ संसार बितिजान्छ र त्यसको अभिलाषा पनि बितेर जान्छ, तर परमेश्वरको इच्छाबमोजिम गर्ने चाहिं सधैंभरि रहिरहन्छ।”—१ यूहन्ना २:१५-१७.
१८. कुन कामहरू गर्नुभयो भने ढुक्क भएर तपाईं परमेश्वरको अद्भुत नयाँ संसारमा बाँच्ने आशा राख्न सक्नुहुनेछ?
१८ नयाँ संसारमा अनन्त जीवनका लागि अहिले परमेश्वरका मानिसहरूलाई प्रशिक्षण दिइँदैछ। प्रमोदवनलाई विकास गर्न चाहिने आध्यात्मिक र अन्य सीपहरू तिनीहरूले सिकिरहेका छन्। परमेश्वरलाई शासकको रूपमा छान्न र उहाँले सारा पृथ्वीभरि सञ्चालन गरिरहनुभएको जीवन बचाउने कामलाई समर्थन गर्न हामी तपाईंलाई आग्रह गर्छौं। यहोवाका साक्षीहरूसँग बाइबल अध्ययन गर्नुहोस् र त्यस परमेश्वरलाई चिन्नुहोस्, जो साँच्चै नै तपाईंको चिन्ता गर्नुहुन्छ र जसले दुःख-कष्टलाई अन्त गरिदिनुहुनेछ। यसप्रकार तपाईं पनि त्यस नयाँ संसारको पूर्वाधारको एउटा भाग बन्न सक्नुहुनेछ। तत्पश्चात ढुक्क भएर तपाईं परमेश्वरको अनुमोदन प्राप्त गर्ने र त्यस अद्भुत नयाँ संसारमा सधैंभरि बाँच्ने आशा गर्न सक्नुहुन्छ।
[अध्ययनका लागि प्रश्नहरू]
[पृष्ठ ३१-मा भएको चित्र]
यहोवाका साक्षीहरूसँग एउटा साँचो अन्तरराष्ट्रिय भ्रातृत्व छ