परमेश्वर आफ्ना उद्देश्यहरू हामीलाई बताउनुहुन्छ
भाग ४
परमेश्वर आफ्ना उद्देश्यहरू हामीलाई बताउनुहुन्छ
१, २. इमानदारीसाथ सोध्नेहरूलाई परमेश्वरले उत्तर दिनुहुन्छ भनेर हामी कसरी जान्न सक्छौं?
उहाँको खोजी गर्ने इमानदार व्यक्तिहरूलाई अवश्य पनि एक जना मायालु परमेश्वरले आफ्ना उद्देश्यहरू प्रकट गर्नुहुन्छ। किन उहाँले दु:ख-कष्ट हुने अनुमति दिनुभएको भन्ने जस्ता प्रश्नहरूको उत्तर उहाँको खोजीनिती गर्ने व्यक्तिहरूलाई दिनुहुन्छ।
२ बाइबलले भन्दछ: “यदि उहाँलाई [परमेश्वरलाई] खोज्यौ भने तिमीले उहाँलाई भेट्टाउनेछौ।” “स्वर्गमा एक जना परमेश्वर हुनुहुन्छ जो गुप्त कुराहरू प्रकट गर्नुहुन्छ।” “निश्चय परमप्रभुले आफ्ना दास अगमवक्ताहरूलाई आफ्नो रहस्य प्रकट नगरीकन केही गर्नुहुनेछैन।”—१ इतिहास २८:९; दानियल २:२८, NW; आमोस ३:७.
उत्तरहरू कहाँ छन्?
३. परमेश्वरले दुःख-कष्ट हुने अनुमति किन दिनुहुन्छ भन्ने कुरा हामी कहाँबाट थाह लगाउन सक्छौं?
३ परमेश्वरले दुःख-कष्ट हुने अनुमति किन दिनुहुन्छ र यस विषयमा उहाँले के गर्नुहुनेछ भन्ने जस्ता प्रश्नहरूको उत्तर हाम्रो फाइदाका निम्ति उहाँले प्रेरित गर्नुभएको अभिलेखमा पाइन्छ। त्यो अभिलेख उहाँको वचन, बाइबल हो। “परमेश्वरबाट प्रेरणा भएको हरेक धर्मशास्त्र जो छ, सो सिकाउनलाई, अर्ती दिनालाई, सच्याउनालाई, उचित जीवन यापन गर्नालाई उपयोगी हुन्छ, र परमेश्वरको जन हरेक सुकर्ममा पूर्णरूपले सुसज्जित भई सिद्ध भएको होस्।”—२ तिमोथी ३:१६, १७.
४, ५. कुन कुराहरूले बाइबललाई अद्वितीय बनाउँछ?
४ बाइबल साँच्चै नै एउटा अद्वितीय पुस्तक हो। यसमा मानव इतिहासको सबैभन्दा यथार्थ विवरण पाइन्छ र यसले मानिसहरूको सृष्टि हुनुभन्दा अघिदेखिको कुरा बताउँछ। यो आधुनिक पनि छ किनभने यसमा भएका भविष्यवाणीहरू हाम्रो समय र नजिकै भविष्यमा हुने घटनाहरूसँग सम्बन्धित छन्।
५ ऐतिहासिक यथार्थताका लागि अरू कुनै पनि पुस्तक यत्तिको प्रमाणिक छैन। उदाहरणका लागि, प्राचीन समयका प्रतिष्ठित लेखकहरूको एक-दुईवटा पाण्डुलिपि मात्र आज पाइन्छन्। तर बाइबलको भने धेरैजसो पाण्डुलिपिहरू कुनै पूर्ण र कुनै आंशिक भागहरूमा पाइन्छन्: जसमा हिब्रू शास्त्र (“पुरानो नियम”-को ३९ वटा किताब)-को करिब ६,००० वटा र मसीही युनानी शास्त्र (“नयाँ नियम”-को २७ वटा किताब)-को १३,००० वटा टुक्रा सम्मिलित छन्।
६. परमेश्वरले प्रेरित गर्नुहुँदा बाइबल आधारभूत रूपमा जस्तो थियो, अहिले पनि त्यस्तै छ भनेर हामी किन निश्चिन्त हुन सक्छौं?
६ बाइबल लेख्न प्रेरणा दिने सर्वशक्तिमान परमेश्वरले ती पाण्डुलिपिका प्रतिलिपिहरूमा मौलिक समानता कायम राख्न ध्यान पुऱ्याउनुभएको छ। अतः आज हाम्रो समयको बाइबल र मूल प्रेरित लेखोटहरू सारभुत रूपमा समान छन्। यस कुरालाई मूल्यांकन गर्न हामीलाई मदत दिने अर्को कुरा के हो भने मसीही युनानी शास्त्रका मूल लेखोटहरू लेखिएको सयवर्ष भित्रमा नै त्यसका केही पाण्डुलिपि प्रतिलिपिहरू बनाइएका थिए। जब कि प्राचीन सांसारिक लेखकहरूका अहिलेसम्म अस्तित्वमा रहेका एक-दुईवटा पण्डुलिपि प्रतिलिपिहरू प्रायः मूल ग्रन्थकारहरूको समयभन्दा कैयौं शताब्दी पछिका छन्।
परमेश्वरको वरदान
७. बाइबल कतिको विस्तृत रूपमा वितरित भएको छ?
७ इतिहासभरि सबैभन्दा बढी वितरण भएको पुस्तक पनि बाइबल नै हो। यसका करिब तीन अरब प्रतिहरू छापिसकेका छन्। अरू कुनै पुस्तक यति प्रति छापिएको छैन। बाइबल वा यसका भागहरूलाई २,२५० भन्दा बढी भाषाहरूमा अनुवाद गरिएको छ। तसर्थ, हाम्रो ग्रहको ९० प्रतिशतभन्दा बढी जनसंख्याले बाइबल प्राप्त गर्न सक्छन् भनी अनुमान गरिएको छ।
८-१०. के-कस्ता कारणहरूले गर्दा बाइबल हाम्रो परीक्षणको योग्य भएको छ?
८ निस्सन्देह, परमेश्वरबाट आएको दाबी गर्ने र विश्वसनीयताका लागि थुप्रै आन्तरिक र बाह्य प्रमाणहरू दिने पुस्तक हामीले जाँच्न योग्यको छ। a यसले जीवनको उद्देश्य, संसारमा भइरहेका घटनाहरूको अर्थ, र हाम्रो लागि कस्तो भविष्य छ भन्ने कुरा वर्णन गर्दछ। अरू कुनै पनि पुस्तकले यसो गर्न सक्दैन।
९ हो, बाइबल मानवजातिसँग सम्पर्क राख्ने परमेश्वरको सञ्चार माध्यम हो। यसलाई लेख्न उहाँले आफ्नो सक्रिय शक्ति वा आत्माद्वारा निर्देशित गर्नुभयो र ४० जना मानिसहरूलाई ती कुराहरू लिपिबद्ध गर्न चलाउनुभयो। तसर्थ, परमेश्वर हामीसँग आफ्नो वचन, पवित्र बाइबलद्वारा बोल्नुहुन्छ। प्रेरित पावलले यस्तो लेखे: “तिमीहरूले हामीबाट सुनेको वचन, अर्थात् परमेश्वरको वचन पाएर, मानिसको वचन गरी जस्तो होइन, तर परमेश्वरको वचन जस्तैगरी, जो साँच्चिनै हो पनि, ग्रहण गऱ्यौ।”—१ थिस्सलोनिकी २:१३.
१० अमेरिकाको १६ औं राष्ट्रपति, अब्राहाम लिन्कनले गरेको टिप्पणीअनुसार, बाइबल “मानिसलाई परमेश्वरले दिनुभएको सबैभन्दा उत्तम उपहार हो . . . यो नहुँदो हो त हामीले सही वा गलत छुट्टयाउन सक्ने थिएनौं।” त्यसो हो भने, दुःख-कष्टको सुरुवात कसरी भयो, परमेश्वरले त्यसो हुने अनुमति किन दिनुभयो र त्यसबारे उहाँले के गर्नुहुनेछ भन्ने विषयमा यस सर्वश्रेष्ठ उपहारले हामीलाई के भन्छ त?
[फुटनोट]
a बाइबलको विश्वसनीयताबारे अझ विस्तृत जानकारीका लागि सन् १९८९ मा वाचटावर बाइबल एण्ड ट्रयाक्ट सोसाइटी अफ न्यु योर्क, इन्क.-द्वारा छापिएको पुस्तक द बाइबल—गड्स वर्ड अर म्यान्स् हेर्नुहोस्।
[अध्ययनका लागि प्रश्नहरू]
[पृष्ठ १०-मा भएको चित्र]
परमेश्वरबाट प्रेरित बाइबल, मानव परिवारका लागि उहाँको सञ्चार माध्यम हो