सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

परमेश्‍वर हुनुहुन्छ भनेर हामी कसरी थाह लगाउन सक्छौं

परमेश्‍वर हुनुहुन्छ भनेर हामी कसरी थाह लगाउन सक्छौं

भाग ३

परमेश्‍वर हुनुहुन्छ भनेर हामी कसरी थाह लगाउन सक्छौं

१, २. कुनचाहिं सिद्धान्तले हामीलाई परमेश्‍वर हुनुहुन्छ भनेर निश्‍चित गर्न मदत दिन्छ?

 परमेश्‍वर हुनुहुन्छ कि हुनुहुन्‍न भनेर थाह लगाउने एउटा तरिका यस प्रचलित सिद्धान्तलाई प्रयोगमा ल्याउनु पनि हो: “हरेक निर्मित वस्तुको एक जना निर्माता हुनुपर्छ।” निर्मित वस्तु जति जटिल हुन्छ, यसको निर्माता पनि त्यति नै दक्ष हुनुपर्छ।

उदाहरणका लागि, आफ्नै घर वरिपरि हेर्नुहोस्‌। टेबुल, कुर्सी, डेस्क, पलङ, भाँडा, कराही, थाल र खानपानका अन्य भाँडाकुँडाहरू सबैको एक जना बनाउनेवाला हुनुपर्छ जसरी भित्ता, भुइँ र छतको पनि एक जना बनाउनेवाला हुन्छ। तथापि, यी वस्तुहरू बनाउन अन्य वस्तुहरूको दाँजोमा सरल छ। यस्ता सरल वस्तुहरूको त एक जना बनाउनेवाला चाहिन्छ भने, यीभन्दा जटिल वस्तुहरूको एक जना झन्‌ बुद्धिमान्‌ निर्माताको आवश्‍यक पर्नु के तर्कसंगत कुरा होइन र?

हाम्रो विस्मयकारी ब्रह्‍माण्ड

३, ४. परमेश्‍वरको अस्तित्व छ भनेर बुझ्न ब्रह्‍माण्डले हामीलाई कसरी मदत गर्छ?

घडी बनाउन एक जना घडीसाज चाहिन्छ। सूर्य र यसका वरिपरि शताब्दीयौंदेखि सेकेण्ड-मिलिसेकेण्डको हिसाबले सुनिश्‍चित ढङ्‌गमा परिक्रमा गरिरहेका ग्रहहरू सहितको जटिल सौर्य-मण्डलको विषयमा चाहिं के भन्‍न सकिन्छ? हामी बसिरहेको विस्मयकारी तारामण्डलबारे नि? जसलाई आकाशगङ्‌गा पनि भनिन्छ र जसमा एक खरबभन्दा बढी ताराहरू छन्‌। के तपाईंले कहिल्यै साँझपख यसो बसेर आकाशगङ्‌गालाई हेर्नुभएको छ? त्यसलाई देखेर के तपाईं प्रभावित हुनुभयो? त्यसो भए, अति नै विशाल ब्रह्‍माण्डलाई सम्झनुहोस्‌, जसमा आकाशगङ्‌गा जस्ता करोडौं असीमित तारामण्डलहरू छन्‌! साथ-साथै यी आकाशीय पिण्डहरू शताब्दीयौंसम्म पनि आफ्नो चालमा यति भरपर्दा छन्‌ कि तिनीहरूको तुलना ठीक-ठीक समय दिने घडीहरूसँग गरिएको छ।

तुलनात्मक रूपमा एउटा साधारण घडीले त आफ्नो बनाउनेवालाको अस्तित्वलाई संकेत गर्छ भने अवश्‍य योभन्दा लाखौं गुना जटिल र विस्मयकारी ब्रह्‍माण्डले पनि एक जना रचनाकार र निर्माताको अस्तित्वलाई संकेत गर्छ। यसैकारण त आफ्नो ‘आखाँ माथि उठाएर हेर’ भनेर बाइबलले हामीलाई आह्वान गर्दछ र त्यसपछि सोध्छ: “यी कसले बनाएका हुन्‌?” उत्तर: “उहाँलेनै [परमेश्‍वर] होइन र? जसले तिनीहरूका दललाई गन्ती गरेर नाउँ बोलाउँदै ल्याउनुहुन्छ। उहाँको शक्‍तिको बडप्पनले गर्दा, उहाँ सामर्थ्यमा बलियो भएको हुनाले, तिनीहरूमध्ये एउटै पनि हराउनेछैन।” (यशैया ४०:२६) यसर्थ, यस ब्रह्‍माण्डको अस्तित्वको श्रेय एक जना अदृश्‍य, सबैकुरा नियन्त्रण गर्ने, बुद्धिमान शक्‍ति—अर्थात परमेश्‍वरलाई जान्छ।

अद्वितीय तरिकाले रचिएको पृथ्वी

५-७. कुनचाहिं तथ्यहरूले पृथ्वीको रचनाकार छ भनेर देखाउँछ?

वैज्ञानिकहरू जति-जति पृथ्वीको अध्ययन गर्छन्‌, त्यति-त्यति तिनीहरू यो पृथ्वी मानव बसोबासका लागि अद्वितीय ढङ्‌गमा रचना गरिएको छ भनेर महसुस गर्छन्‌। ठीक मात्रामा प्रकाश र ताप प्राप्त होस्‌ भन्‍ने हेतुले सूर्यदेखि ठीक दूरीमा पृथ्वी रहेको छ। एउटा निश्‍चित कोणमा ढल्केर वर्षको एक पटक यसले सूर्यको वरिपरि परिक्रमा गर्छ, जसले गर्दा पृथ्वीको हरेक भागमा फरक फरक ऋतुहरू आउन सम्भव भएको छ। आफ्नै कक्षमा पनि दिनको चौबीसै घण्टा पृथ्वी घुम्छ र यसको परिणामस्वरूप पृथ्वीमा नियमित रूपमा दिन र रात हुने गर्दछ। हामीले श्‍वास फेर्न सकोस्‌ र अन्तरिक्षबाट आउने विकिरणबाट हामी बच्न सकोस्‌ भन्‍ने हेतुले यसको वायुमण्डल ग्याँसहरूको सही मिश्रणबाट बनेको छ। साथै खाद्य पदार्थ उब्जाउन चाहिने माटो र पानी पनि यसमा पाइन्छ।

यी सबै र अरू कुराहरू आपसमा मिलेर काम नगरेका भए जीवन भन्‍ने कुरा नै सम्भव हुने थिएन। के यी सब कुराहरू एउटा आकस्मिक घटना हुन सक्थ्यो र? साइन्स न्युज-ले भन्छ: “यस्तो लाग्छ कि त्यस्तो विशेष र ठीक परिस्थिति जथाभावी, कुनै उद्देश्‍यविना बनेको हुन सक्‍तैन।” हो, कदापि हुन सक्‍तैन। किनभने यो एक जना महान्‌ रचनाकारको उद्देश्‍यपूर्ण रचना थियो।

तपाईं एउटा सुन्दर घरमा जानुभयो र त्यस घरलाई प्रशस्त खानेकुराहरूले भरिएको, तताउने र वातानुकूल बनाउने उत्तम बन्दोबस्त भएको र पानीका लागि धाराको राम्रो व्यवस्था भएको भेट्टाउनुभयो भने तपाईं के भन्‍नुहुन्छ? के तपाईं यी सब कुरा आफ से आफ आयो भन्‍नुहुन्छ? अवश्‍य भन्‍नुहुन्‍न। पक्कै पनि यी सब कुराहरू एक जना बुद्धिमान व्यक्‍तिले रचेको हो र ठूलो ध्यान पुऱ्‍याएर त्यसको निर्माण गरेको हो भनेर तपाईं भन्‍नुहुनेछ। त्यस्तै, पृथ्वी पनि आफ्ना निवासीहरूको सबै आवश्‍यकताहरूलाई पूरा गर्न सकोस्‌ भनेर ठूलो ध्यान पुऱ्‍याएर रचिएको र निर्माण गरिएको थियो र यो कुनै पनि घरभन्दा ज्यादै जटिल र सब कुराहरूले भरिपूर्ण छ।

८. परमेश्‍वर हाम्रो मायालु चिन्ता गर्नुहुन्छ भनेर पृथ्वीका अन्य कुन कुराहरूले देखाउँछ?

हामीलाई खुसी पार्ने ती नगण्य वस्तुहरूलाई पनि विचार गर्नुहोस्‌। हृदयलाई प्रसन्‍न पार्ने सुवास र सुन्दर रंगहरूले भरिएका ती विभिन्‍न किसिमका फूलहरूलाई हेर्नुहोस्‌ जसलाई देखेर मानिसहरू आनन्द मान्छन्‌। त्यस्तै गरी मीठो स्वाद भएका ती अनेक थरिका फलफूलहरूलाई विचार गर्नुहोस्‌ र हेर्दै रमाइलो लाग्ने ती जंगल, हिमाल, ताल र अन्य सृष्टिहरूलाई हेर्नुहोस्‌। अनि सुन्दर सूर्यास्तलाई नि? जसले जीवनमा हामीले उठाउन पाएका आनन्दहरूलाई अझ बढाउँछ। जनावरहरूको आफ्नै संसारलाई पनि नबिसर्नुहोस्‌। छाउराहरू, न्याउराहरू र अन्य जनावरहरूका स-साना बच्चाहरूको चञ्चले बानी र मायालाग्दो स्वभाव देख्दा के हामी प्रफुल्लित हुँदैनौं र? अतः पृथ्वीले हाम्रा लागि थुप्रै आनन्द दिने कुराहरूको प्रबन्ध गरेको छ, जुन कुराहरू जीवन धान्‍ने मात्र हो भने त्यसको कुनै आवश्‍यकता छैन। यी सब कुराहरूले यो देखाउँछ कि मानिसहरूकै लागि प्रेमपूर्वक विचार पुऱ्‍याएर यो पृथ्वीलाई रचना गरिएको थियो, ताकि हामी बाँच्ने मात्र होइन तर जीवनको आनन्द पनि उठाउन सकौं।

९. पृथ्वीलाई कसले बनाउनुभयो र किन बनाउनुभयो?

तसर्थ, बाइबलका एक जना लेखकले मानिलिएझैं, यी सब कुराहरूका दाताको अस्तित्वलाई मानिलिनु नै व्यावहारिक निर्णय हो। ती लेखकले यहोवा परमेश्‍वरको विषयमा यसो भनेका थिए: “स्वर्ग र पृथ्वी तपाईंले नै सृष्टि गर्नुभएको हो।” कुन उद्देश्‍यका लागि? यस प्रश्‍नको उत्तरमा तिनी भन्छन्‌, परमेश्‍वरले “पृथ्वी रच्नुभयो र बनाउनुभयो। उहाँले त्यो व्यर्थको वस्तु सृष्टि गर्नुभएन, उहाँले त्यो आबाद गर्नलाई बनाउनुभयो।”—यशैया ३७:१६; ४५:१८.

उदेकलाग्दो जीवित कोष

१०, ११. एउटा जीवित कोष किन उदेकलाग्दो छ?

१० जीवित वस्तुहरूबारे के भन्‍न सकिन्छ? के तिनीहरूको निर्माता हुनु पर्दैन र? उदाहरणका लागि, एउटा जीवित कोषको केही आश्‍चर्यलाग्दा विशेषताहरूलाई विचार गर्नुहोस्‌। परमाणु जीवशास्त्री माइकल डेन्टन आफ्नो पुस्तक इभोल्युसन: अ थ्योरी इन क्राइसिस-मा यसो भन्छन्‌: “आज संसारमा भएका जीवित वस्तुहरूमध्ये सबैभन्दा सरल वस्तु, व्याक्टेरिया कोषहरू अति नै जटिल वस्तुहरू हुन्‌, . . . वास्तवमा प्रत्येक कोष अति सानो पारिएको एउटा यस्तो कारखाना हो जसका उत्कृष्ट ढङ्‌गमा रचना गरिएका हजारौं जटिल आणविक मेसिनहरू छन्‌ . . . यी कोषहरू मानिसले बनाएको कुनै पनि मेसिनभन्दा कयौं गुना जटिल छन्‌ र निर्जीव वस्तुहरूको संसारमा यससँग तुलना गर्न मिल्ने कुनै वस्तु नै छैन।”

११ हरेक कोषमा रहेको आनुवंशिक कोडको विषयमा चाहिं तिनी भन्छन्‌: “डि एन ए को जानकारी जम्मा गर्ने क्षमता अहिलेसम्म थाह भएको कुनै पनि प्रणालीको भन्दा कयौं गुना बढी छ; यो यति कार्यकुशल छ कि मानिस जस्तो जटिल जीवको रूपरेखा वर्णन गर्न चाहिने सम्पूर्ण जानकारी अरबौं भागमा विभाजित एक ग्राम तौलको केही अंशहरूमा अटाउन सक्छ . . . जीवनको परमाणु यन्त्रहरूले देखाएको निपुणता र जटिलताको स्तरको सामने हाम्रा सबैभन्दा विकसित [उत्पादनहरू] समेत भद्दा देखिन्छन्‌। हामी आफूलाई एकदम तुच्छ महसुस गछौं।”

१२. कोषको सुरुवातबारे एक जना वैज्ञानिकले के भने?

१२ डेन्टन अझ थप्छन्‌: “अहिलेसम्म पत्ता लागेका सबैभन्दा सरल प्रकारको कोष पनि यति जटिल छ कि यी वस्तुहरू अनौठो र हुनै नसक्ने घटनाद्वारा एक्कासि बन्‍न पुगेका हुन्‌ भनेर मानिलिनु असम्भव छ।” अवश्‍य यसको एक जना रचनाकार र निर्माता हुनै पर्थ्यो।

हाम्रो उदेकलाग्दो मस्तिष्क

१३, १४. एउटा जीवित कोषभन्दा मस्तिष्क अझ उदेकलाग्दो कुरा किन हो?

१३ सोही वैज्ञानिक फेरि यसो भन्छन्‌: “जटिलताको विषयमा कुरा गर्ने हो भने स्तनपायीको मस्तिष्क जस्तो प्रणालीको सामने त्यो एउटा सिङ्‌गो कोष केही पनि होइन। मानव मस्तिष्कमा दस अरबभन्दा बढी स्नायु कोषहरू हुन्छन्‌। प्रत्येक स्नायु कोष दस हजारदेखि लिएर एक लाख संयोजक रेसाहरूको क्षेत्रमा रहेको हुन्छ र यिनै रेसाहरूद्वारा एक स्नायु कोषले मस्तिष्कको अर्को स्नायु कोषसँग सम्पर्क गर्दछ। यी सब संयोजकहरूलाई जम्मा गर्ने हो भने मानव मस्तिष्कमा संयोजकको कुल संख्या . . . दस हजार खरब जति पुग्छ।”

१४ डेन्टन भन्दै जान्छन्‌: “मस्तिष्कमा भएका संयोजकहरूको सय भागलाई मात्र निश्‍चित ढङ्‌गमा एक ठाउँमा जम्मा गर्ने हो भने पनि पृथ्वीमा भएको सम्पूर्ण सञ्चार नेटवर्कभन्दा यो अझ धेरै निश्‍चित संयोजकहरू भएको प्रणाली हुनेछ।” त्यसपछि तिनी यसो भनेर सोध्छन्‌: “के कुनै अति निरुद्देश्‍य प्रक्रियाद्वारा त्यस्ता प्रणालीहरू कहिल्यै बन्‍न सक्छन्‌ र?” स्पष्टतः यसको उत्तर सक्दैन भन्‍ने नै हुन्छ। अवश्‍य पनि मस्तिष्कको एक जना मायालु रचनाकार र निर्माता हुनै पर्छ।

१५. मस्तिष्कको विषयमा अरूहरूले के-कस्ता टिप्पणीहरू गरेका छन्‌?

१५ अति विकसित कम्प्युटरहरू पनि मानव मस्तिष्कको अगाडि एउटा कच्चा वस्तुझैं देखिन्छन्‌। विज्ञानसम्बन्धी लेखक मोर्टन हन्टले यस विषयमा यसो भने: “हाम्रो क्रियाशील स्मरण शक्‍तिले वर्तमान समयको ठूलो रिसर्च कमप्युटरले भन्दा करोडौं गुना बढी जानकारीहरू जम्मा गर्न सक्छ।” तसर्थ, मस्तिष्क शल्य-चिकित्सक डा. रोबर्ट जे. ह्वाइट यस्तो निष्कर्षमा पुगे: “मस्तिष्क र दिमागको अविश्‍वसनीय आपसी सम्बन्धलाई बुझ्नु मानिसको क्षमताभन्दा बाहिरको कुरा हो। यसको रचना र विकासका लागि जिम्मेवार एक जना महान्‌ बुद्धिमान्‌ व्यक्‍तिको अस्तित्वलाई मानिलिनु बाहेक मेरो लागि अरू कुनै उपाय छैन। . . . यी सब कुराहरूको एउटा बुद्धिमत्तापूर्ण सुरुवात थियो र कसैले यसलाई बनाएको हो भनेर मानिलिनु मलाई करै लाग्छ।” साथ-साथै यसको चिन्ता गर्ने एक जना पनि हुनुपर्छ।

अद्वितीय रक्‍त-प्रणाली

१६-१८. (क) कुन कुराहरूले गर्दा रक्‍त-प्रणाली अद्वितीय भएको छ? (ख) हामी कुन निष्कर्षमा पुग्नुपर्छ?

१६ अक्सिजन र पोषक तत्त्वहरूलाई ओसार-पसार गर्ने र संक्रमणदेखि बचाउने अद्वितीय रक्‍त-प्रणालीलाई पनि विचार गर्नुहोस्‌। यस प्रणालीको मुख्य तत्त्व रातो रक्‍त-कोषको विषयमा ए बि सिज अफ द ह्‍युमन बडी यसो भन्छ: “एक थोपा रगतमा २५ करोडभन्दा बढी छुट्टा-छुट्टै रक्‍त-कोषहरू हुन्छन्‌ . . . शरीरमा करिब २५० खरबजति त्यस्ता कोषहरू हुन्छन्‌ र यी सब कोषहरूलाई भुइँमा ओछ्याउने हो भने चारवटा टेनिस खेल्ने मैदानलाई ढाक्न यथेष्ट हुनेछ। . . . र प्रतिसेकेण्ड ३० लाखको दरमा पुरानो कोषहरूको ठाउँमा नयाँ कोषहरू प्रतिस्थापन भइरहेका हुन्छन्‌।”

१७ अद्वितीय रक्‍त-प्रणालीको अर्को तत्त्व श्‍वेत रक्‍त-कोषबारे सोही स्रोत हामीलाई यो जानकारी दिन्छ: “रातो कोष एउटै किसिमको हुन्छ जब कि श्‍वेत रक्‍त-कोष थुप्रै किसिमका हुन्छन्‌ र प्रत्येक किसिमको कोषले भिन्‍नाभिन्‍नै तरिकामा रोग विरुद्ध लड्‌न सक्छ। उदाहरणका लागि, एक प्रकारको कोषले मरिसकेका कोषहरूलाई नाश गर्दछ। अन्य प्रकारका कोषहरूले भाइरसहरूलाई खत्तम पार्ने रोग प्रतिरोधक तत्व उत्पादन गर्ने, बाह्‍य पदार्थहरूलाई विषमुक्‍त बनाउने वा व्याक्टेरियालाई साँच्चिकै खाएर पचाउने गर्दछ।”

१८ कस्तो आश्‍चर्यपूर्ण र उच्चकोटीको संगठित प्रणाली! अवश्‍य कुनै पनि कुरा अति सुसज्जित ढङ्‌गमा राखिएको र पूर्णरूपमा सुरक्षित छ भने त्यसको एक जना अति नै बुद्धिमान्‌ र विचार पुऱ्‍याउने संगठनकर्ता—अर्थात परमेश्‍वर हुनै पर्छ।

अन्य चमत्कारहरू

१९. मानव निर्मित यन्त्रहरूसँग आँखाको तुलना गर्दा के भिन्‍नता देखिन्छ?

१९ मानव शरीरमा अरू थुप्रै चमत्कारहरू छन्‌। तीमध्ये एउटा चमत्कार आँखा, यति भव्य रीतिले रचना गरिएको छ कि कुनै क्यामराले पनि त्यसको नकल गर्न सक्दैन। खगोलशास्त्री रोबर्ट ज्यासत्रोले यस विषयमा यसो भने: “आँखाको रचना गरिएको हुनुपर्छ; दूरदर्शक यन्त्र बनाउने कुनैपनि व्यक्‍तिले योभन्दा उत्तम रचना गर्न सक्दैन।” पप्युलर फोटोग्राफी नामक प्रकाशन यसो भन्छ: “फिल्मले भन्दा मानव आँखाले कयौं गुना विस्तृत ढङ्‌गमा देख्छ। मानव आँखाले फराकिलो दृष्टिपथमा हिंडिरहेको वस्तुहरूलाई समेत त्रिआयाममा स्पष्टसँग देख्छ . . . मानव आँखा यति जटिल छ कि क्यामारासित त्यसको तुलना गर्नु पटक्कै सुहाँउदैन। मानव आँखा, कृत्रिम बुद्धि भएको, जानकारीहरूलाई प्रसार गर्ने क्षमता भएको, छिटो काम गर्न सक्ने र अहिलेसम्म मानिसले बनाएको कुनै पनि यन्त्र, कम्प्युटर वा क्यामराले भन्दा विभिन्‍न ढङ्‌गमा काम गर्न सक्ने एउटा सुपर कम्प्युटर जस्तै हो।”

२०. मानव शरीरका केही अन्य आश्‍चयपूर्ण पक्षहरू के के हुन्‌?

२० शरीरका सबै जटिल अंगहरू कसरी एक आपसमा हाम्रो कुनै प्रत्यक्ष प्रयासविना काम गर्छन्‌, त्यसलाई पनि यसो विचार गर्नुहोस्‌। उदाहरणका लागि, हाम्रो पेटमा हामी थरीथरीका खानेकुराहरू र पेय पदार्थहरू पठाउँछौं तैपनि शरीरले तिनीहरू सबैलाई पचाउँछ र शक्‍ति उत्पादन गर्छ। त्यतिनै थरीका सामानहरू मोटरगाडीको पेट्रोल ट्याङ्‌कीमा राखेर हेर्नुहोस्‌ त, कति परसम्म त्यो गाडी चल्दो रहेछ! त्यस्तै जन्मने प्रक्रियाको चमत्कार। कसरी नौ महिनाभित्रमा दुरुस्त आफ्नो आमा-बाबुजस्तै एउटा मायालाग्दो बच्चा जन्मन्छ। भर्खर केही वर्ष पुगेको एउटा बच्चाले जटिल भाषामा कुरा गर्न सिक्ने क्षमताबारे के भन्‍न सकिन्छ नि?

२१. शरीरका आश्‍चर्यहरू देखेपछि एकजना विवेकी मानिसले के भन्छ?

२१ हो, मानव शरीरमा भएका थुप्रै आश्‍चर्यलाग्दा र जटिल सृष्टिहरूले हामीलाई छक्क पार्छ। कुनै इन्जिनियरले ती कुराहरूको नकल गर्न सक्‍तैन। के ती कुराहरू अन्धो संयोगको काम हुन सक्छ र? कदापि हुन सक्‍तैन। बरु, मानव शरीरका उदेकलाग्दा यी सब कुराहरूलाई विचार गरिसकेपछि एकजना व्यावहारिक व्यक्‍तिले भजन रचयिताले भनेझैं यसो भन्‍नेछ: “म तपाईंलाई [परमेश्‍वर] धन्यवाद दिनेछु। किनकि म भयानक र आश्‍चर्य रीतिले बनिएको छु। तपाईंका कार्यहरू आश्‍चर्यका छन्‌।”—भजन १३९:१४.

सर्वोच्च निमार्ता

२२, २३. (क) सृष्टिकर्ताको अस्तित्वलाई हामीले किन मानिलिनु पर्छ? (ख) परमेश्‍वरको विषयमा बाइबलले ठीकसँग के कुरा भन्छ?

२२ बाइबल भन्दछ: “अवश्‍य हरेक घर कुनै न कुनै व्यक्‍तिबाट बनिएको हुन्छ; तर अस्तित्वमा रहेको सबै कुराहरूलाई परमेश्‍वरले नै बनाउनुभयो।” (हिब्रू ३:४, यरूशलेम बाइबल) एउटा अति नै साधारण घरको त एक जना निर्माता हुनुपर्छ भने योभन्दा ज्यादै जटिल ब्रह्‍माण्ड र साथै पृथ्वीमा रहेका अनगिन्ती जीवनको पनि एक जना निर्माता हुनै पर्छ। हवाईजहाज, टेलिभिजन र कम्प्युटर जस्ता उपकरणहरूको आविष्कार गर्ने मानिसहरूको अस्तित्वलाई हामी स्वीकार्दछौं भने त्यस्ता कुराहरू बनाउने मानिसहरूलाई मस्तिष्क दिने व्यक्‍तिको अस्तित्वलाई के हामीले स्वीकार्नु पर्दैन र?

२३ “आकाश सृष्टि गरेर त्यो फैलाउनुहुने, औ पृथ्वी र त्यसबाट उत्पन्‍न हुनेलाई फैलाउनुहुने, र त्यसमा भएका मानिसहरूलाई सास . . . दिनुहुने, परमेश्‍वर [“यहोवा,” NW]” भनेर उहाँको अस्तित्वलाई बाइबलले मानिलिएको छ। (यशैया ४२:५) बाइबलले यसो भनेर ठीकै घोषणा गर्छ: “हे हाम्रा प्रभु र परमेश्‍वर, तपाईं महिमा, आदर र शक्‍ति ग्रहण गर्ने योग्यको हुनुहुन्छ, किनभने सबै कुरा तपाईंलेनै सृष्टि गर्नुभएको हो, र तपाईंकै इच्छाबमोजिम ती भए, र सृजिए।’ ”—प्रकाश ४:११.

२४. परमेश्‍वर हुनुहुन्छ भनेर हामी कसरी थाह लगाउन सक्छौं?

२४ हो, परमेश्‍वरले बनाउनुभएका कुराहरूबाट हामी उहाँको अस्तित्व छ भनेर थाह लगाउन सक्छौं। “किनकि उहाँको [परमेश्‍वरको] अदृश्‍य गुण, अर्थात्‌ उहाँको अनन्त शक्‍ति र ईश्‍वरीय स्वभाव, संसारको सृष्टिदेखिनै बनिएका कुराबाट थाह पाएर, उहाँको [परमेश्‍वरको] कामद्वारा बुझ्न सकिने र छर्लंगै देखिने भएको छ।”—रोमी १:२०.

२५, २६. कुनै चीजको दुरुपयोग हुँदैमा त्यसको निर्माता छैन भनेर विवाद गर्नु किन मिल्दैन?

२५ कुनै निर्मित वस्तुको दुरुपयोग भयो भन्दैमा त्यसको निर्माता नै छैन भन्‍न मिल्दैन। हवाईजहाजलाई विमानसेवाको रूपमा शान्तिमय उद्देश्‍यहरूका लागि प्रयोग गर्न सकिन्छ। तर त्यसै हवाईजहाजलाई बमवर्षक विमानको रूपमा विनाशकारी कामका लागि पनि चलाउन सकिन्छ। अरूहरूको ज्यान लिन त्यसको प्रयोग गऱ्‍यो भन्दैमा त्यसको निर्माता नै छैन भन्‍न मिल्दैन।

२६ त्यस्तै गरी मानिसहरू समय समयमा धेरै पटक खराब भएर निस्के भन्दैमा तिनीहरूको सृष्टिकर्ता वा परमेश्‍वर नै हुनुहुन्‍न भन्‍न मिल्दैन। तसर्थ, बाइबलले यसप्रकार ठीक कुरा भन्छ: “तिमीहरू कुरा उल्टो-पुल्टो पार्छौ! के कुमाले माटोजस्तै गनिन्छ? के बनाएको चीजले बनाउनेको विषयमा भन्छ, ‘त्यसले मलाई बनाएको होइन।’ अथवा रचितले रचयितालाई ‘त्यसको बुद्धिनै छैन’ भन्छ?”—यशैया २९:१६.

२७. दुःख-कष्टबारे हाम्रा प्रश्‍नहरूको उत्तर परमेश्‍वरले दिनुहुनेछ भनेर हामी किन आशा गर्न सक्छौं?

२७ आफूले बनाउनुभएका वस्तुहरूको उदेकलाग्दो जटिलताद्वारा सृष्टिकर्ताले आफ्नो बुद्धि देखाउनुभएको छ। उहाँले पृथ्वीलाई हामी बस्न योग्यको बनाउनुभयो। हाम्रो शरीर र दिमाग अद्‌भुत तरिकाले बनाउनुभयो र हाम्रो आनन्दका लागि अनगिन्ती असल कुराहरू प्रदान गर्नुभयो। यसप्रकार उहाँ हाम्रो साँच्चै नै चिन्ता गर्नुहुन्छ भनेर परमेश्‍वरले देखाउनुभएको छ। निश्‍चय नै उहाँले यस्तै प्रकारको बुद्धि र चिन्ता व्यक्‍त गर्नुहुँदै यी प्रश्‍नहरूको पनि उत्तर दिनुहुनेछ: उहाँले दुःख-कष्ट हुने अनुमति किन दिनुभएको? र यस विषयमा उहाँले के गर्नुहुनेछ?

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ ५-मा भएको चित्र]

सुरक्षित वायुमण्डल भएको हाम्रो पृथ्वी, परमेश्‍वरले हाम्रो लागि रचना गर्नुभएको अद्वितीय घर हो

[पृष्ठ ६-मा भएको चित्र]

हामीले जीवनको पूरा आनन्द उठाउन सकोस्‌ भन्‍ने हेतुले पृथ्वीलाई मायालु विचारसहित बनाइएको थियो

[पृष्ठ ७-मा भएको चित्र]

‘पृथ्वीमा भएको सम्पूर्ण संचार नेटवर्कमा भन्दा एउटा मस्तिष्कमा बढी संयोजकहरू हुन्छन्‌’परमाणु जीवशास्त्री

[पृष्ठ ८-मा भएको चित्र]

“आखाँको रचना गरिएको हुनुपर्छ; दूरदर्शक यन्त्र बनाउने कुनै पनि रचनाकारले योभन्दा उत्तम रचना गर्न सक्दैन।”—खगोलशास्त्री