सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विद्रोहको के नतिजा भएको छ?

विद्रोहको के नतिजा भएको छ?

भाग ७

विद्रोहको के नतिजा भएको छ?

१-३. यहोवाले भन्‍नुभएको कुरा ठीक थियो भनेर समयले कसरी प्रमाणित गरेको छ?

 शासन गर्ने परमेश्‍वरको हकको सम्बन्धमा, स्वयम्‌ मानिसहरू आफै यतिका शताब्दीहरूसम्म परमेश्‍वरबाट स्वाधीन भएर चलाएको शासनको नतिजा के भएको छ? के मानिसहरू परमेश्‍वरभन्दा उत्तम शासक साबित भएका छन्‌ त? मानिसले मानिसमाथि गरेको अत्याचारको लामो अभिलेखलाई विचार गरेर भन्‍ने हो भने, हामी अवश्‍य छैन भन्‍न सक्छौं।

हाम्रो प्रथम मातापिताले परमेश्‍वरको शासनलाई इन्कार गरेपछि विपत्तिको सुरुवात भयो। तिनीहरूले आफू र आफूबाट आएका सम्पूर्ण मानव परिवारमाथि दुःख-कष्ट ल्याए। यसको दोषी तिनीहरू आफै थिए। परमेश्‍वरको वचनले यस सम्बन्धमा यसो भन्छ: “तिनीहरूले [“आफैसँग,” NW] भ्रष्ट व्यवहार गरे, तिनीहरूको खोटको कारणले तिनीहरू उहाँको सन्तान हुनसक्‍तैनन्‌।”—व्यवस्था ३२:५.

परमेश्‍वरले गर्नुहुने प्रबन्धहरूको अधीनमा तिनीहरू नबसेमा तिनीहरूको पतन हुनेछ र अन्ततोगत्वा तिनीहरू मर्नेछन्‌ भनेर परमेश्‍वरले आदम र हव्वालाई चेतावनी दिनुभएको थियो। यो चेतावनी वास्तवमा ठीक साबित भयो भनेर इतिहासले देखाएको छ। (उत्पत्ति २:१७; ३:१९) साँच्चै नै तिनीहरू परमेश्‍वरको शासनको अधीनबाट निस्के र समयमा तिनीहरूको पतन र मृत्युसमेत भयो।

४. हामीहरू असिद्ध र रोग अनि मृत्युको सामने कमजोर भएर किन जन्मन्छौं?

पछि तिनीहरूको सबै सन्तानहरूलाई रोमी ५:१२ ले वर्णन गरे झैं भयो: “एउटै मानिसद्वारा [मानवजातिको प्रथम पिता, आदम] पाप संसारमा प्रवेश भयो र पापबाट मृत्यु, त्यसरीनै मृत्यु सबै मानिसमा व्याप्त भयो।” अतः जब हाम्रा प्रथम मातापिताले परमेश्‍वरको निरीक्षणको विद्रोह गरे तब तिनीहरू त्रुटिपूर्ण पापीहरू भए। जनन विज्ञानको नियमहरूबमोजिम तिनीहरूले आफ्ना सन्तानहरूलाई आफूले नतिजा स्वरूप पाएको असिद्धताबाहेक अरू केही दिन सकेनन्‌। त्यसैकारण त हामी सबै नै त्रुटिपूर्ण भएर जन्मन्छौं र रोग र मृत्युको सामने कमजोर छौं।

५, ६. साँचो शान्ति र संवृद्धि ल्याउन मानिसले गरेको प्रयासबारे इतिहासले के देखाएको छ?

कैयौं शताब्दीहरू बिते। एकपछि अर्को साम्राज्य आए र गए। कल्पना गर्न सक्ने जति सबै प्रकारका सरकारहरूले कोसिस गरेर हेरे। तैपनि पटक पटक मानव परिवारमाथि त्यही भयानक घटनाहरू घटेका छन्‌। छ हजार वर्षसम्ममा त मानिसहरूले पृथ्वीभरि शान्ति, न्याय र सम्पन्‍नता स्थापना गर्न सक्नेसम्मको उन्‍नति गरिसक्नुपर्ने थियो। साथै दया, सहानुभूति र सहयोगजस्ता कुराहरूमा पनि निपुण भइसक्नुपर्ने हो।

तर वास्तविकता यसको ठीक विपरीत छ। अहिलेसम्म कुनै पनि मानव सरकारले सबैका निम्ति साँचो शान्ति र सम्पन्‍नता ल्याउन सकेको छैन। बीसौं शताब्दीमा मात्र युद्धको महासंहार र काटमारमा १० करोडभन्दा बढी मानिसहरूको लगातार हत्या भएको हामीले देखिसकेका छौं। राजनैतिक मतभेद र संकीर्णताले गर्दा हाम्रो समयमा अनगिन्ती मानिसहरू सताइएका, मारिएका र जेलमा परेका छन्‌।

आजको परिस्थिति

७. मानव परिवारको वर्तमान स्थितिलाई कसरी व्याख्या गर्न सकिन्छ?

यसबाहेक आज मानव परिवारको तमाम परिस्थितिलाई विचार गर्नुहोस्‌। अपराध र हिंसाको चर्को वृद्धि भइरहेको छ। लैङ्‌गिक क्रियाकलापहरूद्वारा सर्ने रोगहरू जताततै व्याप्त छन्‌। डरलाग्दो रोग एड्‌सद्वारा लाखौं मानिसहरू ग्रसित छन्‌। प्रत्येक वर्ष करोडौं मानिसहरू खान नपाएर र रोगका कारण मर्छन्‌ जब कि एकातिर केही मानिसहरूसँग भने प्रशस्त धन थुप्रिरहेको छ। मानिसहरू पृथ्वीलाई प्रदूषित गर्छन्‌ र बिगार्छन्‌। चारैतिर पारिवारिक जीवन र नैतिक स्तर पतन भएको छ। साँच्चै नै आजको जीवनले ‘यस संसारको देव’ शैतानको शासनको कुरूपतालाई प्रतिबिम्बित गर्छ। ऊ मालिक भएर बसेको यो संसार भावशून्य, निष्ठुर र पूरै भ्रष्ट भएको छ।—२ कोरिन्थी ४:४.

८. मानिसहरूले प्राप्त गरेका सफलताहरूलाई हामीले किन साँचो उन्‍नति भन्‍न मिल्दैन?

आफ्नो वैज्ञानिक तथा भौतिक उन्‍नतिको चरम विन्दुसम्म पुग्न परमेश्‍वरले मानिसहरूलाई यथेष्ट समय दिनुभएको छ। तर जब धनु र तीरको ठाउँमा स्वचालित बन्दुक, बख्तरबन्द गाडी, बमवर्षक विमान र आणविक क्षेप्यास्त्र जस्ता कुराहरू आइसकेका छन्‌ भने, के त्यसलाई साँचो उन्‍नति भन्‍न सकिन्छ र? के त्यो उन्‍नति हो, जब मानिसहरू अन्तरिक्षसम्म पुग्न सक्छन्‌ तर पृथ्वीमा भने आपसमा मिलेर बस्न सक्दैनन्‌? के त्यो उन्‍नति हो जब मानिसहरू खुला सडकमा राती र कतिपय स्थानहरूमा त दिनमा समेत हिंड्‌न डराउँछन्‌?

समयले के देखाएको छ

९, १०. (क) बितेका शताब्दीहरूले कुन कुरा स्पष्टसँग देखाएका छन्‌? (ख) स्वतन्त्र इच्छालाई परमेश्‍वरले किन खोस्नुहुनेछैन?

परमेश्‍वरको राज्यविना मानिसहरू आफ्नै पाइलालाई समेत सफलतापूर्वक डोऱ्‍याउन सक्दैनन्‌। यस कुरालाई शताब्दीयौंसम्म चलेको जाँचले देखाइसकेको छ। जसरी नखाईकन, नपिईकन र श्‍वास नफेरीकन बस्न सम्भव छैन, त्यसै गरी मानिसहरूलाई आफ्नो पाइलालाई ठीक मार्गमा डोऱ्‍याउन सम्भव छैन। प्रमाण स्पष्ट छ: जसरी हामी खाना, पानी र हावामा भर पर्न सृजिएका थियौं, त्यसरी नै सृष्टिकर्ताको निर्देशनमा भर पर्न हामी रचिएका थियौं।

१० दुष्टतालाई अनुमति दिएर परमेश्‍वरले सधैंको निम्ति, स्वतन्त्र इच्छाको दुरुपयोग गर्दा हुने दुःखलाग्दो नतिजालाई प्रदर्शित गर्नुभएको छ। स्वतन्त्र इच्छा एउटा यस्तो बहुमूल्य वरदान हो, जसलाई मानिसहरूबाट खोसेर लैजानुको सट्टा परमेश्‍वरले तिनीहरूलाई त्यसको दुरुपयोगको अर्थ के हो भनेर हेर्ने मौका दिनुभएको छ। अतः परमेश्‍वरको वचनले यसो भन्दा ठीक भनेको हो: “आफ्नो पाइलालाई ठीक मार्गमा हिंडाउने शक्‍ति मानिसमा छैन।” त्यसमा भनिएको यो कुरा पनि ठीक हो: “एउटा मानिसले अर्को मानिसलाई दुःख दिने अधिकारको समय थियो।”—यर्मिया १०:२३; उपदेशक ८:९.

११. के कुनै प्रकारको सरकारले दुःख-कष्टलाई हटाएको छ?

११ दुःख-कष्ट हटाउन मानिस पूर्णतया असक्षम छ। यस कुरालाई परमेश्‍वरले छ हजार वर्षसम्म मानव शासनलाई दिनुभएको अनुमतिले जोडदार ढङ्‌गमा देखाउँछ। भनौं भने अहिलेसम्म कुनै पनि समयमा मनिसले त्यो काम गर्न सकेको छैन। उदाहरणका लागि, इस्राएलका राजा सुलेमानले आफ्नो सम्पूर्ण बुद्धि, सम्पत्ति र शक्‍तिको बावजुद पनि मानव शासनले ल्याउने दुःखलाई हटाउन सकेनन्‌। (उपदेशक ४:१-३) त्यस्तै गरी हाम्रो समयमा आधुनिक प्रविधिहरूको जतिसुकै विकास भए पनि दुःख-कष्टलाई संसारका नेताहरूले हटाउन सक्दैनन्‌। सबैभन्दा दुःखको कुरा, परमेश्‍वरको शासनबाट स्वाधीन भएका मानिसहरूले दुःख-कष्टलाई मेटाउनुको सट्टा झन्‌ बढाएका छन्‌ भनेर इतिहासले समेत देखाएको छ।

परमेश्‍वरको दूरदर्शी दृष्टिकोण

१२-१४. दुःख-कष्ट हुन परमेश्‍वरले दिनुभएको अनुमतिबाट पछि के फाइदाहरू हुन्छन्‌?

१२ परमेश्‍वरले दुःख-कष्टलाई रहिरहन दिनुभएको अनुमति हाम्रो लागि दुःखदायी भएको छ। तर त्यसको परिणाम पछि राम्रै हुनेछ भनेर उहाँलाई थाह भएको हुनाकारण उहाँले दूरदर्शी दृष्टिकोण अपनाउनुभएको छ। परमेश्‍वरको यो दृष्टिकोणले केही वर्ष वा केही हजार वर्ष नभई लाखौं वर्षसम्म, अझ भनौं भने अनन्तसम्म सबै प्राणीहरूको हित गर्नेछ।

१३ आफ्नो स्वतन्त्र इच्छाको दुरुपयोग गर्दै भविष्यमा फेरि-फेरि कसैले परमेश्‍वरको काम गर्ने तरिकामा प्रश्‍न खडा गरेमा उसको विचारलाई प्रमाणित गर्न अनुमति दिन जरुरी पर्ने छैन। विद्रोहीहरूलाई हजारौं वर्षको समय दिएर परमेश्‍वरले एउटा कानुनी नजिर स्थापना गर्नुभएको छ, जसलाई अनन्तसम्म ब्रह्‍माण्डको कुनै पनि ठाउँमा लागू गर्न सकिन्छ।

१४ यहोवाले दुष्टता र दुःख-कष्टलाई अहिले अनुमति दिनुभएको हुनाकारण उहाँको विपरीत चल्ने कुनै पनि कुरा सफल हुन सक्दैन भनेर प्रशस्त मात्रामा प्रमाणित भइसकेको हुनेछ। मानिसहरू वा आत्मिक प्राणीहरूका कुनै पनि स्वतन्त्र योजनाले चिरस्थायी फाइदाहरू ल्याउन सक्दैन भन्‍ने कुरा, कुनै शङ्‌का नहुने गरी स्पष्ट भइसकेको हुनेछ। तसर्थ, त्यतिबेला कुनै पनि विद्रोहीलाई तुरुन्त नाश गर्न यहोवाको निम्ति पूर्ण न्यायोचित हुनेछ। “दुष्टहरूलाई उहाँले नाश गर्नुहुनेछ।”—भजन १४५:२०; रोमी ३:४.

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १५-मा भएको चित्र]

हाम्रा प्रथम माता-पिताले परमेश्‍वरबाट स्वाधीन हुन रोजेपछि अन्ततोगत्वा तिनीहरू वृद्ध हुँदै गए र मरे

[पृष्ठ १६-मा भएको चित्र]

परमेश्‍वरबाट अलग भएको मानव शासन दुर्दशापूर्ण साबित भएको छ

U. S. Coast Guard photo