सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

स्वतन्त्र इच्छाको अद्‌भुत वरदान

स्वतन्त्र इच्छाको अद्‌भुत वरदान

भाग ५

स्वतन्त्र इच्छाको अद्‌भुत वरदान

१, २. कुनचाहिं अद्‌भुत वरदान हाम्रो बनौटको भाग हो?

 परमेश्‍वरले दुःख-कष्ट हुने अनुमति किन दिनुभएको र यस सम्बन्धमा उहाँले के गर्नुहुनेछ भन्‍ने कुरा बुझ्नुअघि उहाँले हामीलाई कसरी बनाउनुभयो भन्‍ने कुरा जान्‍नु जरुरी छ। उहाँले शरीर र मस्तिष्क मात्र सृष्टि गर्नुभएन। उहाँले हामीलाई विशेष मानसिक र भावनात्मक गुणहरूका साथ सृष्टि गर्नुभयो।

हाम्रो मानसिक र भावनात्मक बनौटको एउटा मुख्य भाग स्वतन्त्र इच्छा पनि हो। हो, परमेश्‍वरले हामीभित्र स्वतन्त्रताका साथ छनौट गर्ने योग्यता राख्नुभयो। निस्सन्देह त्यो परमेश्‍वरले दिनुभएको अद्‌भुत वरदान थियो।

हामी कुन रूपमा बनिएका छौं

३-५. हामी किन स्वतन्त्र इच्छाको मूल्यांकन गर्छौं?

दुःख-कष्ट हुन परमेश्‍वरले दिनुभएको अनुमतिमा स्वतन्त्र इच्छा कसरी मुछिएको छ भन्‍ने कुरालाई आउनुहोस्‌ हामी विचार गरौं। सबैभन्दा पहिला यस कुरालाई विचार गर्नुहोस्‌: तपाईं के गर्नुहुन्छ र के बोल्नुहुन्छ, के खानुहुन्छ र लगाउनुहुन्छ, कस्तो किसिमको काम तपाईं गर्नुहुन्छ र कहाँ कसरी बस्नुहुन्छ भन्‍ने कुराहरूको छनौट गर्न तपाईंले पाउनुभएको स्वतन्त्रताको के तपाईं मूल्यांकन गर्नुहुन्छ? वा जीवनको हरेक क्षणमा तपाईंको हर वचन र काममा कसैले हुकुम चलाएको तपाईं चाहनुहुन्छ?

सामान्य स्थितिमा रहेको कुनै पनि व्यक्‍ति आफ्नो जीवन यसरी आफ्नो नियन्त्रणबाट पूर्णतः खोसिएको चाहँदैन। किन? किनभने परमेश्‍वरले हामीलाई त्यस्तै रीतिले बनाउनुभएको थियो। परमेश्‍वरले मानिसलाई ‘आफ्नै स्वरूपमा’ बनाउनुभयो भनेर बाइबलले हामीलाई बताउँछ र स्वयम्‌ परमेश्‍वरको एउटा योग्यता, छनौट गर्ने स्वतन्त्रता पनि हो। (उत्पत्ति १:२६; व्यवस्था ७:६) मानवजातिलाई सृष्टि गर्नुहुँदा उहाँले त्यही अद्‌भुत योग्यता—अर्थात स्वतन्त्र इच्छाको वरदान तिनीहरूलाई दिनुभयो। यो एउटा कारणले गर्दा पनि हो, हामीलाई अत्याचारी शासकको वशमा बस्न साह्रै दिक्क लाग्छ।

अतः हामीमा स्वतन्त्रताको अभिलाषा हुनु कुनै सन्जोग होइन। किनभने परमेश्‍वर, स्वतन्त्रताको परमेश्‍वर हुनुहुन्छ। बाइबलले भन्छ: “जहाँ प्रभुका आत्मा हुन्छ, त्यहाँ स्वतन्त्रता हुन्छ।” (२ कोरिन्थी ३:१७) तसर्थ, हाम्रो बनौटको एउटा भाग नै स्वतन्त्र इच्छा हुने गरी परमेश्‍वरले हामीलाई सृजनुभयो। हाम्रो मन र भावनाहरूले कसरी काम गर्नेछ भन्‍ने कुरा उहाँलाई थाह थियो। अतः स्वतन्त्र इच्छा भएमा हामी धेरै आनन्दित हुनेछौं भन्‍ने कुरा उहाँ जान्‍नुहुन्थ्यो।

६. स्वतन्त्र इच्छा अनुरूप काम गर्न परमेश्‍वरले कसरी हाम्रो मस्तिष्कलाई सृष्टि गर्नुभयो?

स्वतन्त्र इच्छाको वरदानलाई साथ दिन परमेश्‍वरले हामीलाई सोच्ने, कुरालाई जाँच्ने, निर्णय गर्ने र सही वा गलत छुट्टयाउने क्षमता पनि दिनुभयो। (हिब्रू ५:१४) यसर्थ, स्वतन्त्र इच्छा बुद्धिमत्तापूर्ण छनौटमा आधारित हुनुपर्ने थियो। आफ्नो स्वेच्छा नभएको दिमागहीन यन्त्रमानव जस्तो हामीलाई बनाइएको थिएन न त जनावरहरू जस्तो आफ्नो सहज ज्ञानअनुसार चल्न नै बनाइएको थियो। बरु छनौट गर्ने हाम्रो स्वतन्त्रता अनुरूप काम गर्न हाम्रो आश्‍चर्यपूर्ण दिमागको रचना गरिएको थियो।

उत्तम सुरुवात

७, ८. हाम्रा प्रथम मातापितालाई परमेश्‍वरले कुन उत्तम सुरुवात दिनुभयो?

उहाँ तिनीहरूको कत्ति चिन्ता गर्नुहुन्छ भनेर देखाउन परमेश्‍वरले आदम र हव्वालाई स्वतन्त्र इच्छाको वरदानका साथै एक जना विवेकी मानिसले चाहना गर्न सक्ने जति सबै थोक दिनुभएको थियो। तिनीहरूलाई एउटा ठूलो बगैंचाजस्तो प्रमोदवनमा राखिएको थियो। तिनीहरूसँग भौतिक प्रशस्तता थियो। तिनीहरूसँग सिद्ध मन र शरीर थियो। अतः तिनीहरू वृद्ध वा बिरामी हुनु वा मर्नुपर्ने थिएन—अर्थात्‌ तिनीहरू सधैंभरि बाँच्ने थिए। तिनीहरूका सिद्ध छोराछोरीहरू हुने थिए र तिनीहरूले पनि आनन्दमय अनन्तकालीन भविष्य पाउन सक्ने थिए। वृद्धि हुँदै जाने त्यस जनसमुदायले अन्ततोगत्वा सम्पूर्ण पृथ्वीलाई एउटा प्रमोदवनमा परिवर्तन गर्ने सन्तोषप्रद काम पाउने थिए।—उत्पत्ति १:२६-३०; २:१५.

त्यहाँ उपलब्ध कुराहरूबारे बाइबल यसो भन्छ: “औ आफूले बनाउनुभएको हरेक कुरा परमेश्‍वरले हेर्नुभयो। औ हेर, त्यो साह्रै राम्रो थियो।” (उत्पत्ति १:३१) परमेश्‍वरबारे पनि बाइबलले भन्छ: “उहाँको काम सिद्ध छ।” (व्यवस्था ३२:४) हो, मानवजातिलाई सृष्टिकर्त्ताले एउटा सिद्ध सुरुवात दिनुभएको थियो। वास्तवमा अरू कुनै कुरा योभन्दा असल हुन सक्दैन थियो। साँच्चै उहाँ एक जना चिन्ता गर्नुहुने परमेश्‍वर साबित हुनुभयो!

सीमाभित्रको स्वतन्त्रता

९, १०. स्वतन्त्र इच्छालाई किन ठीकसँग चलाउनुपर्छ?

तथापि, के परमेश्‍वरको उद्देश्‍य स्वतन्त्र इच्छाको कुनै सीमा नै नरहोस्‌ भन्‍ने थियो त? सवारी नियमहरू नभएको एउटा व्यस्त सहरको कल्पना गर्नुहोस्‌, जहाँ आफूले चाहेको गतिमा कुनै पनि व्यक्‍तिले जुनसुकै दिशामा गाडी दौडाउन सक्छ। त्यस्तो स्थितिमा के तपाईं गाडी चलाउन चाहनुहुन्छ? अवश्‍य चाहनुहुन्‍न। यसो गरेमा सडकमा गोलमाल हुन सक्छ र यसले गर्दा अवश्‍य पनि थुप्रै दुर्घटनाहरू हुन सक्छन्‌।

१० परमेश्‍वरले दिनुभएको स्वतन्त्र इच्छाको वरदान पनि त्यस्तै हो। असीमित स्वतन्त्रताको अर्थ समाजमा अराजकता हुनु हो। मानव क्रियाकलापहरूलाई डोऱ्‍याउन कानुनहरू हुनै पर्छ। परमेश्‍वरको वचनले भन्छ: “स्वतन्त्र मानिस झैं व्यवहार गर, र कहिल्यै आफ्नो स्वतन्त्रतालाई दुष्टताका लागि बहाना नबनाउ।” (१ पत्रुस २:१६, यरूशलेम बाइबल) स्वतन्त्र इच्छालाई सबैको भलाइ हुने कामहरूमा चलाएको परमेश्‍वर चाहनुहुन्छ। हामीले पूर्ण स्वतन्त्रता होइन तर कानुनी व्यवस्थाको अधीनमा रहेर सापेक्षिक स्वतन्त्रता पाऔं भन्‍ने परमेश्‍वरको उद्देश्‍य थियो।

कसका नियमहरू?

११. कसका कानुनहरू पालन गर्न हामी बनिएका थियौं?

११ कसका नियमहरू पालन गर्नका निम्ति हामी बनाइएका थियौं? पहिलो पत्रुस २:१६ (यरूशलेम बाइबल) पदको अर्को भागले यसो भन्छ: “परमेश्‍वर बाहेक तिमीहरू अरू कसैको दास होइनौ।” यसको अर्थ कुनै अत्याचारी दासत्वमा पर्नु होइन। बरु परमेश्‍वरका कानुनहरूको अधीनमा बस्दा मात्र हामी सबैभन्दा बढी आनन्दित हुने गरी बनिएका थियौं भनेर यहाँ भन्‍न खोजिएको हो। (मत्ती २२:३५-४०) मानिसहरूले बनाएका कुनै पनि कानुनभन्दा उहाँको कानुनले उत्तम मार्गदर्शन दिन्छ। “म [“यहोवा,” NW] तेरा परमेश्‍वर हुँ, जसले तेरो फायदाको निम्ति तँलाई सिकाउँछ। जसले तँ जाने बाटोमा तँलाई डोऱ्‍याउँछ।”—यशैया ४८:१७.

१२. परमेश्‍वरको कानुनको परिधिभित्र छनौट गर्ने कुन स्वतन्त्रता हामीसँग छ?

१२ यसबाहेक परमेश्‍वरको नियमले त्यसका सीमाहरूभित्र रहेर छनौट गर्ने ठूलो स्वतन्त्रता पनि दिन्छ। यसले गर्दा विविधता आउँछ र मानव परिवारलाई अझ मोहक बनाउँछ। संसारभरिको विभिन्‍न प्रकारका खानेकुराहरू, लुगा, संगीत, कला र घरहरूलाई विचार गर्नुहोस्‌। अवश्‍य पनि यस्ता कुराहरू हाम्रा लागि अरूहरूले छानिदिएको भन्दा हामी आफै छान्‍न चाहन्छौं।

१३. आफ्नै भलाइका लागि हामीले कुन भौतिक नियमहरू मान्‍नै पर्छ?

१३ तसर्थ, मानव आचरणका लागि परमेश्‍वरले बनाउनुभएका कानुनहरूको अधीनमा हुँदा मात्र सबैभन्दा धेरै आनन्दित हुने गरी हामी सृजिएका थियौं। यो कुरा परमेश्‍वरको भौतिक नियमहरूको अधीनमा बस्नु जस्तै हो। उदाहरणका लागि, हामीले गुरुत्वाकर्षणको नियमलाई उल्लंघन गऱ्‍यौं र अग्लो ठाउँबाट हामफाल्यौं भने हामीलाई चोट-पटक लाग्न सक्छ वा मृत्युसमेत हुन सक्छ। त्यस्तै, हाम्रो शरीरका आन्तरिक नियमहरूलाई बेवास्ता गरेर खान, पिउन वा श्‍वास फेर्नै छाड्यौं भने हामी मर्नेछौं।

१४. परमेश्‍वरबाट स्वतन्त्र हुनका लागि मानिसहरू सृजिएका थिएनन्‌ भनेर हामी कसरी थाह लगाउन सक्छौं?

१४ जसरी हामी परमेश्‍वरका भौतिक नियमहरूको अधीनमा बस्न सृजिएका थियौं, त्यसरी नै परमेश्‍वरको नैतिक र सामाजिक नियमहरूको अधीनमा बस्न पनि हामी सृजिएका थियौं। (मत्ती ४:४) आफ्नो निर्माताबाट स्वतन्त्र भएर पनि सफल हुन सक्ने गरी मानिसहरूको सृष्टि गरिएको थिएन। अगमवक्‍ता यर्मिया भन्छन्‌: “आफ्नो पाइलालाई ठीक मार्गमा हिंड़ाउने शक्‍ति मानिसमा छैन। हे परमप्रभु मलाई सुधार्नुहोस्‌।” (यर्मिया १०:२३, २४) अतः हर तवरमा मानिसहरू आफ्नै होइन तर परमेश्‍वरको शासनको अधीनमा रहन सृजिएका थिए।

१५. के आदम र हव्वाका लागि परमेश्‍वरको कानुन बोझ हुने थियो?

१५ परमेश्‍वरका नियमहरूप्रति आज्ञाकारी हुनु हाम्रा प्रथम मातापिताका लागि कुनै बोझ हुने थिएन। बरु त्यसो गर्नु तिनीहरू र सम्पूर्ण मानव परिवारका लागि फाइदाजनक हुने थियो। त्यो प्रथम दम्पती परमेश्‍वरका कानुनहरूको सीमाभित्र रहिदिएको मात्र भए सबै कुरा असल हुने थियो। वास्तवमा अहिले हामी सबै नै एउटा मायालु र संयुक्‍त परिवारको रूपमा आनन्दले भरिपूर्ण एउटा अद्‌भुत प्रमोदवनमा बसिरहेका हुने थियौं! दुष्टता, दुःख-कष्ट र मृत्यु केही हुने थिएन।

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ ११-मा भएको चित्र]

सृष्टिकर्ताले मानिसहरूलाई एउटा सिद्ध सुरुवात दिनुभयो

[पृष्ठ १२-मा भएको चित्र]

सवारी नियमहरू नभएको भए के तपाईं सवारी-साधनहरूले खचाखच भरिएको सडकमा गाडी चलाउनुहुन्थ्यो?