सीधै सामग्रीमा जाने

के हाम्रो चिन्ता गर्ने एउटा परमेश्‍वर हुनुहुन्छ?

के हाम्रो चिन्ता गर्ने एउटा परमेश्‍वर हुनुहुन्छ?

के हाम्रो चिन्ता गर्ने एउटा परमेश्‍वर हुनुहुन्छ?

१, २. (क) के तपाईंले पनि पहिलो परिच्छेदमा दिएका प्रश्‍नहरू कहिल्यै सोध्नुभएको छ? (ख) कस्तो परिस्थितिहरूले गर्दा मानिसले त्यसप्रकारका प्रश्‍नहरू सोध्छन्‌?

 परमेश्‍वर हुनुहुन्छ भने, सम्पूर्ण इतिहासमा मानवजातिमाथि अनेकौं नराम्रा कुराहरू किन बित्न दिनुभयो? उहाँलाई वास्तवमा हाम्रो चिन्ता छ भने उहाँले दुष्टता र पीडाको वृद्धि हुने अनुमति किन दिनुहुन्छ? उहाँले हाम्रो चिन्ता गर्नुभएको भए यो दुष्टता र पीडा किन नहटेको?

विचार गर्ने मानिसहरूले सबै ठाउँ त्यसप्रकारका प्रश्‍नहरू सोध्छन्‌। र सोध्ने ठोस कारण पनि छ। किनभने कैयौं शताब्दीदेखि मानिसलाई डरलाग्दा युद्धहरू, अनिकाल, दरिद्रता, अपराध र रोगले पीडित पारेको छ। अन्याय र दबाब साथै बाढी र भुइँचालोजस्ता दुर्घटनाहरू पनि ठूलो शोकको कारण भएका छन्‌। कति चोटि त आफ्नो केही कसूरैबिना निर्दोष मानिसहरू दुःख पाउँछन्‌। परमेश्‍वरलाई हाम्रो चिन्ता छ भने के यी कुराहरू नै प्रमाण हो? के यसप्रकारका दुःखहरूबाट मुक्‍त भएर यस पृथ्वीमा जीवनको पूरा आनन्द उठाउन पाउने एउटा उत्तम संसारको साँचो आशा हाम्रो छ र?

३. यी प्रश्‍नहरूको जवाफ किन पाउनुपर्ने हो?

त्यसप्रकारका प्रश्‍नहरूलाई साँचो र सन्तोषजनक जवाफहरू चाहिन्छ। तर “हाम्रो दुःख परमेश्‍वरको इच्छा हो” अथवा “यी कुराहरू हामीले बुझ्न सक्दैनौं” भन्‍ने जवाफहरूलाई साँचो र सन्तोषजनक भन्‍न सकिंदैन। यति अद्‌भुत व्यवस्था भएको यो महान्‌ संसार परमेश्‍वरको सृष्टि हो भने अवश्‍य पनि उहाँले मानिसलाई यति व्यवस्थाहीन हुन दिएकोमा कुनै राम्रो ठोस कारण हुनुपर्छ। के यो सृष्टिकर्त्ताले आफ्नो मानव सृष्टिको चिन्ता गर्दै दुष्टता रहने अनुमति दिनुभएको कारण हामीलाई बताउनुहुन्‍न होला? र के उहाँले आफ्नो शक्‍ति छ भने यी कुअवस्थाहरूलाई समयमा सुधार्न उचित कुरा हुन्‍न होला? यो त आफ्नो शक्‍ति भए, कुनै पनि मायालु बाबुले आफ्नो छोराछोरीको लागि गर्ने कुरा हो। अवश्‍य पनि एउटा सर्वशक्‍तिमान्‌, सर्वज्ञानी र मायालु सृष्टिकर्त्ताले आफ्नै पार्थिव छोराछोरीको लागि केही कम गर्नुहुन्‍न।

कसले सबैभन्दा राम्रो जवाफ दिनसक्छ?

४. परमेश्‍वरले किन दुष्टता रहिरहने अनुमति दिनुभएको छ भन्‍ने प्रश्‍नको सबैभन्दा राम्रो जवाफ कसले दिनसक्छ?

परमेश्‍वरले दुष्टता रहिरहन दिनुभएको विषयसित सम्बन्धित प्रश्‍नहरूको सबैभन्दा राम्रो जवाफ कसले दिनसक्छ? यदि तपाईंलाई कुनै कुराको दोष लगाइएको छ भने, यसबारे मान्छेहरूले अरूको राय मात्र सुनोस्‌ भनी के तपाईं चाहनुहुन्छ? या के तपाईं आफ्नो निम्ति स्वयं बोलेर साँचो हृदयले जान्‍न चाहने मान्छेको मनमा यो कुरा सफा गरिदिन चाहनुहुन्छ? आज दुष्टता रहिरहने अनुमति दिनुभएको हुनाले परमेश्‍वरलाई दोषी ठहराइएको छ। यो अनुमति किन दिनुभयो भनी उहाँलाई नै सर्वप्रथम थाह हुने भएकोले के उहाँलाई नै आफ्नोनिम्ति बोल्न दिनु उचित हुन्‍न र? मानिसतर्फ हेरेर कहिले पनि चित्तबुझ्दो जवाफ पाउन सकिंदैन किनभने यी विषयहरूमा मानिसहरूको राय धेरैजसो आपसमा मिल्दैनन्‌।

५. के बाइबलको लेखक परमेश्‍वर हो भनी विश्‍वास गर्नु उचित छ? (२ पत्रुस १:२१; हबकूक २:२)

तर परमेश्‍वरले दिनुभएका उत्तरहरू कहाँ पाइन्छ? वास्तवमा के भयो र किन भयो भनी हामीलाई बताउन सृष्टिकर्त्ताले एकमात्र स्रोतलाई अधिकार दिनुभएको छ। त्यो स्रोत हो बाइबल जसले यसो भन्दछ: “परमेश्‍वरबाट प्रेरणा भएको हरेक धर्मशास्त्र।” (२ तिमोथी ३:१६) a यो कुनै आश्‍चर्यको कुरा नहुनुपर्ने किनभने परमेश्‍वरले यो अद्‌भुत जगत्‌को सृष्टि गर्नसक्नुभयो भने उहाँ एउटा पुस्तकको लेखक त अवश्‍य बन्‍न सक्नुहुन्छ। मानिसले त वायुको अदृश्‍य लहरहरूद्वारा तपाईंको रेडियो अथवा टेलिभिजन सेटमा आवाज, विचारहरू र तस्बिरसमेत प्रस्तुत गर्नसक्दछ। तसर्थ, सर्वशक्‍तिमान्‌ सृष्टिकर्त्तालाई आफ्नो विचारहरू विश्‍वासी मानवीय लेखकहरूद्वारा प्रस्तुत गरी त्यसलाई सही ढंगमा लेख्न लगाउनु कुनै गाह्रो काम हुनेभएन। त्यसैकारण प्रेरित पावलले निर्धक्क भई यसो भन्‍न सके: “तिमीहरूले हामीबाट सुनेको वचन, अर्थात्‌ परमेश्‍वरको वचन पाएर, मानिसको वचन गरी जस्तो होइन, तर परमेश्‍वरको वचन जस्तैगरी, जो साँच्चिनै हो पनि, ग्रहण गऱ्‍यौं जुन वचनले तिमी विश्‍वास गर्नेहरूमा काम पनि गर्दछ।”—१  थिस्सलोनिकी २:१३.

६. बाइबलको इतिहास कहाँदेखि सुरु हुन्छ र यसकारण त्यसले हामीलाई के को वृत्तान्त पनि दिनसक्छ? (लूका १:१-४; लूका ३:२३-३८)

शायद तपाईंले कहिले पनि बाइबललाई जाँच गर्नुभएको छैन होला। तापनि, त्यसैमा नै आज सबैभन्दा पूर्ण, तिथिसहितका ऐतिहासिक प्रमाण पाइन्छ भनी जान्‍न तपाईंलाई चाह होला। वास्तवमा, पहिलो शताब्दीका इतिहासकार र चिकित्सक लूकाले नासरतको बासिन्दा येशूको चार हजार वर्षको पुर्खौली क्रमअनुसार, नामसहित केलाउँदै पहिलो मानिससम्म पुऱ्‍याउन सके। बाइबल मानव अस्तित्वको सुरुसम्मै पुग्न सकेको हुनाले दुष्टताको लागि दोषी कसलाई ठहऱ्‍याउने, त्यसलाई रहिरहने अनुमति परमेश्‍वरले किन दिनुभयो र त्यसको समाधान कसरी हुनेछ भनी बाइबलले नै हामीलाई बताउन सक्दछ।

के परमेश्‍वर दोषी हो?

७. गलत कामहरू हुँदा दोष कसलाई लाउनुपर्छ?

तपाईंलाई कसैले गरेको अपराधको लागि दोषी ठहऱ्‍याइयो भने तपाईंलाई कस्तो लाग्नेछ? अवश्‍य तपाईंले यसलाई ठूलो अन्याय ठान्‍नुहुनेछ। न्यायको मागअनुसार दोषीले सजाय पाउनै पर्छ र निरपराधलाई दोषबाट मुक्‍त पार्नुपर्छ। यदि एउटा व्यस्त चौरस्तामा देखिएको रोक्ने संकेतलाई कुनै मोटर चालकले ध्यान नदिंदा नराम्रो दुर्घटना भयो भने, त्यो कानुनको दोष होइन। यदि कुनै मानिस खन्चुवा हुनाले बढी खाएर बिरामी भयो भने, त्यो अन्‍न उब्जाउने किसानको कसूर होइन। यदि राम्रो पालन पोषण हुँदाहुँदै कुनै जवान मानिस आफ्नो घर छाडि आफ्नो बाबुको उपदेशप्रति ध्यान नदिना कारण कष्टमा पऱ्‍यो भने, बाबुलाई दोष दिन सकिंदैन। त मानिसले गल्ती गर्दा किन हाम्रा स्वर्गीय पिता, परमेश्‍वरमाथि दोष लाउने? दोष त लाउनुपर्ने ठाउँमा अर्थात्‌ दोषीको पक्षमाथि दोष लाउनुपर्छ होइन र?

८. हामीले नराम्रो कुराको लागि परमेश्‍वरलाई दोषी ठहऱ्‍यायौं भने, के विरोधाभास देखिन्छ?

साथै विचार गर्नुपर्ने अर्को कुरा पनि छ। यदि भोकमरी र अनिकालको लागि परमेश्‍वरलाई दोषी ठहऱ्‍याउँछौ भने, कतिपय देशहरूमा प्रशस्त गरी अन्‍न उब्जाउने खेती र फलफूलको बारीको निम्ति कसलाई श्रेय दिने? यदि रोगहरूको लागि परमेश्‍वर दोषी हुनुहुन्छ भने, शरीरलाई स्वस्थ राख्ने अद्‌भुत व्यवस्थाको लागि कसलाई श्रेय? शहरको फोहर गल्लीहरूका निम्ति परमेश्‍वर दोषी हुनुहुन्छ भने, ऐश्‍वर्यपूर्ण पहाड, सफा र चम्किलो झील, रमणीय फूल र सुन्दर वृक्षहरूको लागि हामीले कसलाई श्रेय दिने? स्पष्ट छ कि संसारको दुःखहरूको लागि परमेश्‍वरलाई दोषी ठहऱ्‍याउनु र पृथ्वीको असल कुराहरूको निम्ति पनि उहाँलाई नै श्रेय दिनु त एउटा विरोधाभास हो। एउटा प्रेमयुक्‍त परमेश्‍वरले राम्रो र नराम्रो दुवैको एकैसाथ समर्थन गर्नुहुन्‍न।

९. तर्कअनुसार के मानिसको नराम्रो कामहरूले गर्दा परमेश्‍वर हुनुहुन्‍न भन्‍न सकिन्छ? (यशैया ४५:१८)

परमेश्‍वर हुनुहुन्‍न भन्‍नाले समस्या अझ बिग्रन्छ। यो पृथ्वी र यसमा भएका अनेकौं प्रकारका अद्‌भुत जीवहरू संयोगले भयो भनी विश्‍वास गर्नु त वास्तविकतालाई अस्वीकार गर्नु हो। प्रत्येक घर बनाउने र सजाउने एक बुद्धिमान व्यक्‍ति हुन्छ भने संसारको कुनै घरमा भन्दा राम्रो यस पृथ्वीमा जीवन टिकाउने साधन छ। त हावा, जमीन र पानीद्वारा जीवन टिकाउने यस पृथ्वीको अझ विशाल व्यवस्थाहरूबारे के भन्‍न सकिन्छ? बाइबलको तर्कअनुसार यसो भन्दछ: “हरेक घर कुनै नकुनै मानिसबाट बनिएको हुन्छ, तर सबै थोक बनाउने ता परमेश्‍वरनै हुनुहुन्छ।” (हिब्रू ३:४) हो, मानिसहरूले नराम्रो काम गर्दा कोही कोही मानिस परमेश्‍वर हुनुहुन्‍न भन्‍ने निष्कर्षमा पुग्दछन्‌। तथापि, यसो भन्‍नु त घरमा बस्ने मानिसहरूको नराम्रो कामले गर्दा घरको व्यवस्थापक अथवा बनाउने कोही छैन भनेझैं हुनेछ। यो त कुनै व्यक्‍तिको नराम्रा कार्यहरूका कारण उसको बाबु कहिले पनि थिएन भन्‍नु जस्तै हुनेछ।

१०. दुष्टताको लागि धेरैजसो दोष कहाँ लगाउनुपर्छ?

१० त्यसोभए, मानव परिवारमाथि बितेका भयानक कुराहरूको दोषी को हो? धेरैजसो दोष त स्वयं मानिसहरूको नै हो। मानवीय बेइमानी र नैराश्‍यले गर्दा अपराधहरू हुन्छन्‌। मानव अहंकार र स्वार्थले गर्दा नै विवाहको नाश, घृणा र जातीय झगडा हुन्छ। दूषित वातावरण र फोहरको कारण मानव लापरवाही हुन्‌। मानव घमण्ड र मूर्खताले गर्दा युद्धहरू हुन्छन्‌; र युद्धमा पूरै राष्ट्रहरूले अन्धो भएर राजनैतिक नेताहरूको समर्थन गर्दा युद्धबाट हुने पीडाहरूको दोष उनीहरूले पनि लिनुपर्दछ। भोकमरी र दरिद्रता सर्वप्रथम मानव लापरवाही र लोभले गर्दा भएका हुन्‌। विचार गर्नुहोस्‌, विश्‍वमा प्रत्येक साल शस्त्रसंभारमा २०० अरब डलरभन्दा बढी खर्च हुन्छ। यदि यस रकमलाई अन्‍न उब्जाउन, बराबर गरी झोपडीहरू हटाउन र खाना बाँड्‌नमा सही ढंगले खर्च गरेको भए स्वयं सोच्नुहोस्‌, के के गर्न सकिने थियो!

११. आफ्ना राष्ट्रिय सेनाहरूको लागि धर्मगुरुहरूले प्रार्थना गर्छन्‌ भन्दैमा के ती सेनाहरूले लडेका युद्धहरूका लागि परमेश्‍वरलाई दोषी ठहराउन सकिन्छ? (यशैया १:१५; हितोपदेश २८:९)

११ धर्मको नाममा गरिएका गल्तीहरूको लागि पनि परमेश्‍वर दोषी हुनसक्नुहुन्‍न। उदाहरणको लागि, धर्मगुरुहरूले आफ्ना राष्ट्रिय युद्धमा परमेश्‍वरको आशिष्‌ होस्‌ भनी प्रार्थना गर्दछन्‌। तर धेरैजसो, एकअर्कालाई मार्ने दुवै पक्षका सिपाहीहरू एउटै धर्मका हुन्छन्‌! अनि यसको लागि परमेश्‍वरलाई दोष लगाउन सकिंदैन किनभने उहाँले यसप्रकारको कार्यलाई गलत साबित गर्दै भन्‍नुहुन्छ कि उहाँका साँचो सेवकहरूले ‘आपसमा प्रेम’ गर्नुपर्छ। (यूहन्‍ना १३:३४, ३५) उनीहरूमा यसप्रकारको प्रेम छैन भने उनीहरू “कयिनजस्तै [हुन्‌], जो दुष्टबाटको थियो, र जसले आफ्नो भाइलाई माऱ्‍यो” भनी परमेश्‍वर भन्‍नुहुन्छ। (१ यूहन्‍ना ३:१०-१२) युद्धमा होस्‌ या अरू कुनै काममा, परमेश्‍वरको नाममा मान्छे मार्न प्राचीनकालमा झूटो देवताहरूलाई केटाकेटीको बलि चढाएको जस्तै हो। जसबारे सर्वशक्‍तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ, “त्यसो गर्ने मैले आज्ञा दिएको थिइनँ। त्यो कुरा मेरो मनमा कहिल्यै उब्जेको थिइनँ।”—यर्मिया ७:३१.

१२. धर्मगुरुहरूलाई बाइबलमा किन “कपटीहरू” भनिन्छ? (मत्ती १५:७-९)

१२ धर्मगुरुहरूको राजनीतिमा हात, युद्धमा समर्थन र यो संसारको दुःखको जिम्मेवार परमेश्‍वर हुनुहुन्छ अर्थात्‌ उहाँले अनन्त कालसम्म मानिसलाई नर्कको आगोमा जलाउनुहुन्छ भन्‍ने उनीहरूको झूटो शिक्षाहरू जम्मै नै विचार गर्ने मानिस र परमेश्‍वर, दुवैका लागि घृणित छन्‌। परमेश्‍वरको विरुद्धमा यसप्रकारका कुराहरू सिकाउने र प्रयोग पनि गर्ने धर्मगुरुहरूलाई परमेश्‍वरको वचनले “कपटीहरू” भनी सम्बोधन गर्दै यसो भन्दछ: “तिमीहरू चून लाइराखेका चिहानहरू जस्ता छौ, जो बाहिरपट्टि सुन्दर देखा पर्छन्‌, तर भित्रपट्टि भने मुर्दाहरूका हाड़हरू र सबै अशुद्ध वस्तुले भरिएका हुन्छन्‌।” (मत्ती २३:२७, २८) वास्तवमा, कपटी धर्मगुरुहरूबारे येशूले यसो भन्‍नुभयो “तिमीहरू ता आफ्ना पिता, शैतानका तर्फबाटका हौ।”—यूहन्‍ना ८:४४.

१३. (क) त के मानिस अर्थात्‌ धर्मगुरुहरूले गल्ती गर्दा परमेश्‍वरलाई दोषी ठहराउनुहुन्छ? (ख) तापनि, के प्रश्‍नहरू सोध्न सकिन्छ?

१३ होइन, स्वयं मानिसले गरेको गल्तीको लागि परमेश्‍वरलाई दोषी ठहराउनु हुन्‍न। र परमेश्‍वरको सेवा गर्ने दाबा गर्दै न सत्य बोल्ने न आफ्नो जीवनमा सत्यको प्रयोग गर्ने धर्मगुरुहरूले आशिष्‌ दिएका अपराधहरूको लागि पनि परमेश्‍वर दोषी हुनसक्नुहुन्‍न। त्यसोभए, के परमेश्‍वरले मानिसको बनावटमा नै केही गल्ती गर्नुभयो त? के उहाँले मानव परिवारको सुरुआत नै नराम्रो पार्नुभयो?

एउटा सिद्ध सुरुआत

१४. परमेश्‍वरले हाम्रा प्रथम पुर्खाहरूलाई दिनुभएको सुरुआतको वर्णन गर्नुहोस्‌। (उत्पत्ति १:२६-३१; २:७-९, १५)

१४ परमेश्‍वरले लोग्ने मानिस र स्वास्नी मानिसको सृष्टि गर्नुभएको समयमा उनीहरूलाई एउटा सिद्ध सुरुआत दिनुभएछ भनी उत्पत्तिको पहिलो दुइवटा अध्यायबाट स्पष्ट थाह हुन्छ। मृत्यु र रोगले कहिले पनि पीडित हुन नपरोस्‌ भनेर सिद्ध शरीर र मनसहित उनीहरूको सृष्टि गर्नुभएको थियो। उनीहरूको घर आनन्ददायक फूल, घासपातको हरियाली र फलदायक वृक्षहरूले भरिपूर्ण एउटा सुन्दर बगैंचा थियो। त्यहाँ कुनै कुराको अभाव थिएन। बरु, सबै कुरा प्रशस्त थियो। साथसाथै, हाम्रा प्रथम पुर्खाहरूको सामु परमेश्‍वरले चाखलाग्दा र उत्साहवर्धक लक्ष्यहरू राखिदिनुभयो। त्यो सुन्दर बगैंचालाई सारा पृथ्वीमा फैलाउन भनेर परमेश्‍वरले उनीहरूलाई अह्राउनुभयो। समय बित्दै जाँदा उनीहरूलाई यस काममा उनीहरूको सिद्ध छोराछोरीले सहायता दिनेथिए। तसर्थ, अन्तमा मानव परिवार एउटा पार्थिव प्याराडायजमा अर्थात्‌ सुन्दर वाटिकामा बास गर्ने, अनन्त जीवनको आनन्द उठाउने र जनावरहरूलाई समेत स्नेहपूर्ण वशमा राख्ने एउटा सिद्ध जाति हुनेथियो।

१५. मानवीय सिद्धताको अर्थ के हो र के होइन?

१५ तर कुरा किन यति दुर्भाग्यपूर्ण भएर निस्कियो? के मानवजातिलाई परमेश्‍वरले वास्तवमा सिद्ध सृष्टि नगर्नाले हो? होइन, त्यसो हुनसक्दैन, किनभने परमेश्‍वरबारे व्यवस्था ३२:४ ले यसो भन्दछ: “उहाँको काम सिद्ध छ।” तथापि, मानवीय सिद्धताको अर्थ, त्यो प्रथम मानव जोडीलाई सबै कुरा थाह हुनु वा सबै थोक गर्नसक्नु अथवा उनीहरूले गल्ती गर्न नसक्नु होइन। सिद्ध व्यक्‍तिहरूका पनि सीमित क्षमताहरू हुन्छन्‌। उदाहरणको लागि, उनीहरूका शारीरिक क्षमताहरू सीमित थियो। उनीहरूले खाना नखाए, पानी नपिए र सास नफेरेमा मर्न सक्थे। न ता उनीहरूले भूआकर्षणको सिद्धान्तलाई उल्लंघन गर्दै कुनै उच्च स्थानबाट फाल हानी चोट नखाने आशा गर्नसक्थे। साथै, उनीहरूको मानसिक क्षमताहरू पनि सीमित थिए। आदम र हव्वाले धेरै कुराहरू सिक्नु परेका थिए किनभने उनीहरूमा केही कुराको पनि अनुभव थिएन। तर जति नै सिके तापनि, उनीहरूले आफ्नो सृष्टिकर्त्ताले जति कहिले पनि जान्‍न सक्ने थिएनन्‌। तसर्थ, उनीहरू मानवीय स्तरमा हुनाले सिद्ध भए तापनि उनीहरूका क्षमताहरू सीमित थिए। उनीहरूको सम्पूर्णता अर्थात्‌ उनीहरूको त्रुटिरहित शारीरिक र मानसिक बनावट नै सिद्धताको अर्थ थियो।

१६. कुन सीमाहरूभित्र मानव स्वतन्त्रता सर्वोत्तम रीतिले काम गर्नको लागि बनाइएको थियो? (१ पत्रुस २:१६)

१६ साथै, परमेश्‍वरले मानिसलाई पशुझैं अन्त प्रेरणाले डोऱ्‍याइनु होइन, तर स्वतन्त्र नैतिक अभिकर्ता-को रूपमा सृष्टि गर्नुभयो। र अवश्‍य पनि, तपाईंले यसप्रकारको स्वतन्त्रताको मूल्यांकन गर्नुहुन्छ। जीवनको हरपलमा के कसो गर्नुपर्छ भनी कसैले तपाईंलाई अह्राइरहेको तपाईंले मन पराउनुहुनेथिएन। तापनि, त्यो स्वतन्त्रता सम्पूर्ण अर्थात्‌ असीमित होइन तर सापेक्ष हुनु थियो। त्यो स्वतन्त्रता परमेश्‍वरका आज्ञाहरूको सीमाभित्र प्रयोग गर्नको निम्ति थियो र सम्पूर्ण मानव परिवारको खुशीलाई ध्यानमा राखि बनाइएका ती असल आज्ञाहरू थोरै र सरल हुनेथिए। परमेश्‍वरले मानवजातिप्रति आफ्नो प्रेम देखाउँदै उहाँका आज्ञाहरूको पालन गर्न आवश्‍यक छ भन्‍नुभयो किनभने ती आज्ञाहरूको आदर गर्न मानवजातिको निम्ति अनन्त कालसम्म लाभदायक हुनेथियो। परमेश्‍वर र उहाँका आदेशहरूको अनादर गर्नाले मानव खुशीमा रूकावट आउने थियो। त्यसबाट कुनै पनि राम्रो कुरा निस्कने थिएन। वास्तवमा त्यसले विपत्ति ल्याउने थियो किनभने परमेश्‍वरलाई त्यागेमा उनीहरू “त्यसै दिन . . . मर्नेछस्‌” भनी आदम र हव्वालाई परमेश्‍वरले चेताउनी दिइसक्नुभएको थियो। (उत्पत्ति २:१७) तसर्थ, जीवित रहनको लागि उनीहरूले सिर्फ खाना खान, पानी पिउन, र हावा लिन मात्र होइन तर परमेश्‍वर र उहाँको आज्ञाहरूको निर्देशनलाई अपनाउनु पनि आवश्‍यक थियो।

१७. मानवजातिले परमेश्‍वरमाथि भरोसा गर्न अर्को के मुख्य कारण छ? (भजन १४६:३; यर्मिया १७:५-९)

१७ हाम्रा प्रथम पुर्खाहरूले परमेश्‍वरमाथि निर्भर गरिरहन अर्को पनि महत्त्वपूर्ण कारण थियो। त्यो कारण यही थियो, मानवजाति परमेश्‍वरबाट स्वतंन्त्र भएर आफ्नो जीवनका कार्यहरू अनुशासनमा राख्न सृष्टि गरिएको थिएन। त्यसो गर्न परमेश्‍वरले मानिसलाई न ता क्षमता दिनुभएको थियो न अधिकार। जस्तोगरि बाइबलले भन्दछ: “मानिसहरूको मार्ग त्यो आफैमा छैन। आफ्नो पाइलालाई ठीक मार्गमा हिंड़ाउने शक्‍ति मानिसमा छैन।” (यर्मिया १०:२३) यसैकारण बाइबलले यो घोषणा गर्छ: “आफ्नो बुद्धिमा मात्र भरोसा गर्नु सरासर मूर्खता हो।”—हितोपदेश २८:२६.

दुष्टताको आरम्भ कसरी भयो?

१८. हाम्रा प्रथम पुर्खाहरूबाट के गल्ती भयो? (याकूब १:४, १५; भजन ३६:९)

१८ यति राम्रो आरम्भ हुँदाहुँदै के चाहिं गल्ती भयो? यही हाम्रा प्रथम पुर्खा आदम र हव्वाले आफ्नो स्वतन्त्र इच्छाको गलत प्रयोग गरे। त्यो स्वास्नीमानिसले त वास्तवमा उनीहरू “असल र खराब ज्ञान पाएर परमेश्‍वर जस्तै हुनेछ,” भनी सोचिछिन्‌। (उत्पत्ति ३:५) उनीहरूले आफ्नै सोचविचारमा भरोसा गर्दै आफ्नो निम्ति के राम्रो र के नराम्रोको फैसला आफै गर्न चाहे। यसप्रकारका सोचाइबाट आउने ठूलो हानि उनीहरूले देखेनन्‌। तर ठीक त्यस्तै भयो किनभने “परमेश्‍वर कहिल्यै झूट नबोल्नुहुने” हुनुहुन्छ। (तीतस १:२) परमेश्‍वरको शासनबाट अलग हुँदा नतिजा त्यही भयो जो एउटा बिजुली पंखाको प्लग तानि दिंदा हुन्छ। आफूलाई संचालन गर्ने शक्‍तिको स्रोतबाट काटिए पछि, त्यो पंखाको गति ढिला भएर अन्तमा बन्द हुन्छ। त्यस्तैगरि, जीवनको स्रोत अर्थात्‌ यहोवा परमेश्‍वरबाट त्यो प्रथम मानव परिवार अलग भएपछि परमेश्‍वरले दिनुभएको चेताउनीअनुसार उनीहरू भ्रष्ट भएर अन्तमा मरे।

१९. सारा मानवजाति किन असिद्ध भएर जन्मे? (रोमी ५:१२)

१९ हाम्रा प्रथम पुर्खाले सन्तान पाउनुको पहिला नै परमेश्‍वरको विद्रोह गरेको हुनाले उनीहरूको पहिलो बच्चाको जन्मभन्दा अघि नै उनीहरू असिद्ध भए। आदम र हव्वा एउटा त्रुटियुक्‍त साँचोजस्तो भए। आफ्नो सन्तानलाई अब आफूसँग जे थियो अर्थात्‌ एउटा असिद्ध मन र शरीर त्यही मात्र दिनसक्थे। सिद्धता र जीवनलाई टिकाउने स्रोत, यहोवा परमेश्‍वरबाट अलग भएको हुनाले उनीहरू अब सिद्ध रहेनन्‌। यसकारण बाइबलले रोमी ५:१२ मा भनेको कुराअनुसार त्यहाँदेखि जन्म लिने हरेक व्यक्‍ति असिद्धतामा जन्मन्छन्‌ र रोग, बुढेसकाल र मृत्युतर्फ झुकेका छन्‌। तर यसको लागि परमेश्‍वरलाई दोषी ठहऱ्‍याउन सकिन्‍न। व्यवस्था ३२:५ ले यसो भन्दछ: “तिनीहरूले उहाँसँग भ्रष्ट व्यवहार गरे, तिनीहरूको खोटको कारणले गर्दा तिनीहरू उहाँको सन्तान हुनसक्‍तैनन्‌।” र उपदेशक ७:२९ ले यो टिप्पणी गर्दछ: “परमेश्‍वरले मानिसलाई सृजनुभयो तब उहाँले त्यसलाई सोझो बनाउनुभयो तर मानिस आफैले चाहिं अनेकौं छलहरू रच्दछ।”

२०. एक दुइ जनाको गल्तीले गर्दा कसरी धेरै मानिसहरूलाई हानि हुनसक्दछ?

२० तर के दुइ जना व्यक्‍ति अनाज्ञाकारी हुनाले सबैको लागि यति विपत्तिमय अवस्था आउनु उचित कुरा हो र? कुनै घरको निर्माणमा एउटा सानो सुरक्षात्मक व्यवस्था संचालन गर्दा एक मानिसको लापरवाही पनि ठूलो दुर्घटनाको कारण भएर धेरै मानिसको प्राण जानसक्छ। एउटा बाँधमा पनि त्यस्तो कुनै सानो कुराको ठीक संचालन भएन भने त्यो फुटेर बाढी र बृहत्‌ नाश ल्याउनसक्छ। कुनै शासकको एउटै भ्रष्ट कार्यद्वारा पूरै सरकारमा भ्रष्टाचार फैलेर लाखौं मानिसको ठूलो हानि हुनसक्दछ। परिवारमा पनि आमा र बाबुको गलत फैसलाले गर्दा उनीहरूको छोराछोरीले गम्भीर नतिजा भोग्नु पर्दछ। हाम्रा प्रथम पुर्खाहरूको गलत फैसलाले गर्दा सारा मानव परिवार असिद्धता र दुर्घटनामा डुबे।

२१. परमेश्‍वरले मृत्युको सजाय कसरी कार्यान्वित गर्नुभयो र साथै, उहाँले आफ्नो दया पनि कसरी देखाउनुभयो?

२१ परमेश्‍वरको कानुन र उहाँको धार्मिकतासमेत अन्तर्ग्रस्त भएको हुनाले आफ्नो त्यही कानुनको प्रयोग नगरिकन उहाँले त्यो अनाज्ञाकारितालाई त्यसै छोड्‌न सक्नुभएन। उहाँले त्यसबारे केही नगर्नु हुँदो हो त मानिसले उहाँ स्वयं र उहाँको कानुनको के आदर गर्थ्यो होला? आज पनि के हामी ती शासकहरूको आदर गर्छौं र, जसले आफ्नै कानुनहरूको पालन गर्दैनन्‌ र अरू कतिलाई पनि ती कानुनहरूको उल्लंघन बिनासजाय र जानिबुझिकन गर्न दिन्छन्‌? तसर्थ, परमेश्‍वरले तोक्नुभएको अनाज्ञाकारिताको सजाय अर्थात्‌ मृत्यु, उहाँले कार्यान्वित गर्नुभयो। तर उहाँले दयापूर्वक त्यो प्रथम जोडीलाई सन्तान उत्पन्‍न गर्न दिनुभयो र यसको मूल्यांकन हामी गर्दर्छौं नत्रता हाम्रो जन्मै हुनेथिएन। आदम र हव्वाको गल्तीले गर्दा हामी असिद्ध नै भए तापनि के हामी मरेकोभन्दा जिउँदो हुनु मन पराउँदैनौं र?

२२. दुष्टताको लागि धेरैजसो जिम्मेवार अरू को पनि छन्‌? (मत्ती ४:१-११; एफिसी ६:१२)

२२ के यसको अर्थ सम्पूर्ण दुष्टता मनुष्यजातिबाटै सुरु भएको हो? होइन, यसमा अझ केही कुरा बाँकी छ। परमेश्‍वरले बुद्धिमान जीवहरूको सृष्टि मानवजातिमा सीमित पार्नुभएन। उहाँले स्वर्गमा अनगिन्ती अरू बुद्धिमान पुत्रहरू अर्थात्‌ आत्मिक व्यक्‍तिहरूको सृष्टि गरिसक्नुभएको थियो। उनीहरू स्वतन्त्र नैतिक अभिकर्ताहरू भए तापनि जीवित रहनको लागि उनीहरू पनि परमेश्‍वरको असल र उचित कानुनको अधीनमा बस्नु परेका थिए। तथापि, उनीहरूमध्ये एक आत्मिक व्यक्‍तिले गलत विचारहरूमा ध्यान दिएछ। र जब कसैले कुनै गलत कुरामा ध्यान दिन्छ तब त्यो बढ्‌दै गएर उसले सोचिरहेको त्यही गलत कुरा गर्न सक्दछ। यो आत्मिक व्यक्‍तिसित पनि त्यस्तै भयो। उसले आफूमा स्वार्थी आकांक्षा यहाँसम्म बढायो कि परमेश्‍वरको कार्यलाई समेत चुनौती दियो। परमेश्‍वरको आज्ञा उल्लंघन गरेर पनि “तिमीहरू कदापि मर्दैनौ,” भनी उसले आदमको स्वास्नी हव्वालाई भन्यो। (उत्पत्ति ३:४) उनीहरूको जीवन र आनन्दको लागि परमेश्‍वरमाथि भरोसा गर्नुपर्छ भन्‍ने कुरालाई उसले सन्देहयुक्‍त बनायो। तसर्थ, उसले परमेश्‍वरको सत्यतालाई पनि विवादास्पद पारिदियो। र परमेश्‍वरको कानुनलाई विवादास्पद पार्नाले परमेश्‍वरको शासन गर्ने ढंग अर्थात्‌ उहाँको शासन गर्ने अधिकार-लाई समेत सन्देहयुक्‍त पारिदियो। यसो गरेको हुनाले त्यसलाई शैतान अर्थात्‌ विद्रोही र दियाबल अर्थात्‌ निन्दक भनिन्छ।

यति धेरै समयसम्म दुष्टता रहन किन दिएको?

२३, २४. यी प्रश्‍नहरूको फैसला हुन किन समय लाग्ने भयो?

२३ परमेश्‍वरले यी मानवीय र आत्मिक विद्रोहीहरूलाई सुरुमा नै नष्ट गरिदिनसक्नुहुन्थ्यो किनभने उहाँ उनीहरूभन्दा बढी शक्‍तिशाली हुनुहुन्छ। तर यसो गर्नाले ती कुराहरूको सन्तोषजनक फैसला हुनेथिएन। किन थिएन? किनभने परमेश्‍वरको शक्‍तिलाई चुनौती दिएको थिएन। त्यहाँ नैतिक प्रश्‍नहरू उठाइएको थियो र तीमध्ये एउटा महत्त्वपूर्ण प्रश्‍न यो थियो: के विद्रोहको मार्ग सफल हुनेछ? के परमेश्‍वरको केही वास्ता नगर्ने शासन, सारा मानव परिवारको निम्ति सधैंभरि लाभदायक हुनसक्ला? मानवजातिमाथि परमेश्‍वरको शासन असल हुने वा मान्छेकै शासन असल हुने? यसप्रकार र उठाइएका अरू पनि मुख्य प्रश्‍नहरूको फैसला हुन समय लाग्नेछ भनी बुद्धिमान परमेश्‍वरलाई थाह थियो। यसकारण मानिसलाई उनीहरूको राजनैतिक, सामाजिक, औद्योगिक र वैज्ञानिक उपलब्धिहरूको शिखरसम्म पुग्ने प्रशस्त मौका दिन परमेश्‍वरले एउटा सीमित समय तोकिदिनुभयो।

२४ त्यो समय एक दुइ दिन या एक दुइ साल हुने भएन। निस्सन्देह गरी जवाफ प्रदर्शित हुनको लागि धेरै पुस्ताहरू लाग्नेभयो। दुइ जना मानिस मात्र विथोलित हुँदा त अदालती मामलाहरूको फैसला हुन कैयौं सप्ताह अथवा महिनौं लाग्न सक्दछ। परमेश्‍वरको शासनसम्बन्धी ती ठूला प्रश्‍नहरूलाई सम्पूर्ण जवाफ चाहिन्छ, आधा फैसला होइन। यसो गर्नाले यी प्रश्‍नहरूलाई भविष्यमा फेरि कहिल्यै पनि दोहऱ्‍याउने आवश्‍यकता पर्ने भएन। साथै, एउटा प्रेमयुक्‍त परमेश्‍वरले सम्पूर्ण फैसलाभन्दा केही कम स्वीकार गर्नै सक्नुहुन्‍न। र यो जानेर हामी खुशी हुनसक्छौं किनभने यसप्रकारको फैसलाले मात्र परमेश्‍वरको पार्थिव र स्वर्गीय दुवै परिवारको लागि अनन्त शान्ति र सुरक्षाको बाटो खोल्नसक्छ।

२५. भौतिक प्रगति भए तापनि के परमेश्‍वरबाट स्वतन्त्र भएर मानिसले साँचो शान्ति र आनन्द ल्याउन सकेको छ?

२५ पहिलो चोटि ती प्रश्‍नहरू उठाइएको समयदेखि अहिले लगभग ६,००० वर्ष बितिसकेको छ। परमेश्‍वरको शासनबाट स्वतन्त्र हुनाले नतिजा के भएको छ? हरप्रकारका सरकारहरू, हरप्रकारका आर्थिक व्यवस्थाहरू र हरप्रकारका साम्प्रदायिक धर्महरूलाई जाँच गरिसकिएको छ। तर कुनैले पनि साँचो शान्ति, सुरक्षा, स्थायी स्वास्थ्य र आनन्द ल्याउन सकेको छैन। भौतिक प्रगतिबारे कसैले के गर्व गर्नसक्ला जब दोस्रो विश्‍वयुद्धले मात्र ५० करोड ज्यानहरू लियो? के चन्द्रमामा मानिसहरू पठाएकोलाई प्रगति भन्‍न सकिन्छ र जब परमाणु हतियारहरूसँग त्यही रकेटहरूले मानिसलाई नाश गर्नसक्छन्‌ र जब मानिसहरू चन्द्रमामा हिंडेको बेला पृथ्वीमा सयकडौं मानिसहरू भोक र गरीबीले पीडित थिए? अनेक सुविधाहरूले सम्पन्‍न भएको घर के काम जब परिवारहरू नै तर्क वितर्कले फाटिएका छन्‌, जब तलाकको संख्या बढ्‌दो छ, जब पडोसमा अपराधको डर फैलिरहेको छ, जब दूषित वातावरण र फोहर गल्लीहरू बढिरहेको छ, जब आर्थिक अवसादले गर्दा सयकडौं मानिसहरू आफ्नो कामबाट निकालिन्छन्‌, जब क्रान्ति, गृहयुद्ध र सरकारहरूलाई खसाल्न मानिसको घर र जीवनलाई खतरामा पार्ने वार्षिक घटनाहरू हुन्छन्‌?

२६. खटाएको समयले परमेश्‍वरबाट मानव स्वतन्त्रताबारे के प्रकट गरेको छ? (भजन १२७:१)

२६ सत्य चाहिं संयुक्‍त राष्ट्र संघको सेक्रेटरी जेनरल कर्ट वालढायमले मानि लिनुभएको जस्तै हो अर्थात्‌: “भौतिक प्रगति हुँदाहुँदै पनि मानव जीवनले आजभन्दा बढी असुरक्षा पहिला कहिले पनि अनुभव गरेको थिएन।” b इनभाईरन्मेन्टल एथिक्स भन्‍ने पुस्तकले पनि यसो भन्दछ: “स्वच्छ हावा लिन, चोखो पानीको आनन्द उठाउन र आफ्नो प्राकृतिक वातावरणको साहसिकतामा रमाउनको लागि सृष्टि भएको मानिसले आज आफ्नो वातावरणमा परिवर्तन गरेर त्यसमा स्वयं मिल्न सकेको छैन। उसले आफ्नै समूहको हत्याको तयारी गरिरहेको छ।” c साँच्चै नै, परमेश्‍वरको डोऱ्‍याइबाट अलग भएर आफ्नो व्यवस्था सफलतापूर्वक चलाउन सक्ने क्षमता मानिसमा छैन भन्‍ने कुरा यति धेरै समयदेखि चलिआएको दुष्टताले सबै व्यक्‍तिहरूलाई प्रदर्शित गरिसकेको हुनुपर्ने हो। साथै मानव असफलताको छ हजार वर्ष प्रमाण हुँदाहुँदै मानिसलाई कोसिस गर्न पुग्दो समय दिनुभएन भनी कसैले पनि परमेश्‍वरलाई दोष लगाउन सक्नेछैन। परमेश्‍वरको विरोधमा विद्रोहको मार्ग पूरै विपत्तिमय भएको छ भनी साबित गराउन खटाएको समय प्रशस्त छ।

चाँडै दुष्टताको नाश

२७. परमेश्‍वरले कत्तिको विस्तृत परिवर्तन ल्याउने उद्देश्‍य रच्नुभएको छ? (हितोपदेश २:२१, २२; रोमी १६:२०)

२७ मानव परिवारलाई एउटा ठूलो उन्‍नतशील परिवर्तनको आवश्‍यकता छ। वास्तवमा, हामीलाई एउटा सम्पूर्ण नयाँ रीतिरिवाज चाहिएको छ। जस्तोगरि समाजशास्त्री एरिक फ्रोमले पनि मानि लिनुभयो कि “बितेको ६,००० वर्षदेखि चलिआएको रीतिरिवाजलाई हटाएर मौलिक भिन्‍नता भएको अर्कै रीतिरिवाज ल्याए मात्र।” d समाजको खराबीहरूलाई सुधार्न सकिन्छ। ठीक यसो गर्ने परमेश्‍वरको विचार छ। परमेश्‍वरले खटाउनुभएको समय सिद्धिसकेपछि यो वर्तमान सम्पूर्ण दुष्ट रीतिरिवाज र यसलाई चाहनेहरू दुवैको नाश गर्ने निश्‍चित प्रमाण दिनुभएको छ। “सबै दुष्टहरूलाई उहाँले नाश गर्नुहुनेछ।”—भजन १४५:२०.

२८. बाइबलले हाम्रै समयलाई के भन्दछ र किन? (२ तिमोथी ३:१-५, १२, १३; मत्ती २४:३-१४)

२८ यो कहिले हुनेछ? चाँडै, किनभने पहिलो विश्‍वयुद्ध अर्थात्‌ १९१४ देखि मानव परिवारमाथि आइपरेको पहिला कहिले नभएको दुःखहरू मिलेर बाइबलमा उल्लेख गरिएको “अन्तिम दिनहरू[लाई]” चिनाउने एउटा चिन्ह बन्दछ। यी “अन्तिम दिनहरू[मा]” विश्‍वयुद्धहरू, बढ्‌दो अपराध, भोक, महामारी, आममानिस सुखविलासको भोगी हुने, परमेश्‍वरमाथि विश्‍वास नगर्ने, धार्मिक कपट र भ्रष्टाचार र अरू धेरै घटनाहरू हुनेछन्‌ भनी बाइबलमा भविष्यवाणी गरिएको थियो। यसप्रकारका कुअवस्थाहरूलाई परमेश्‍वरले अब अन्तिम चोटि हाम्रै पुस्तासम्म मात्र सहनुहुनेछ भनी यी घटनाहरूले स्पष्ट गरी एउटा अँगुली-चिन्हको रेखाले झैं देखाउँछ। सारा पृथ्वीमा चलिआएको रीतिरिवाजको अन्त वास्तवमा हाम्रै समयले देख्नेछ भनी येशूले भविष्यवाणी गर्नुभएको थियो।

२९. यो रीतिरिवाजको अन्त नजीकै छ भनी हामीलाई कसरी थाह हुन्छ?

२९ सन्‌ १९१४ मा “अन्तिम दिनहरू[को]” सुरु देख्ने पुस्ताबारे येशूले यसो पनि भन्‍नुभयो: “म तिमीहरूलाई साँच्चै भन्दछु, कि यो पुस्ता बिती नजाँदै यी सब कुराहरू पूरा भइजानेछ।” (मत्ती २४:३४) यसको अर्थ १९१४ मा पहिलो विश्‍वयुद्धको सुरु देख्ने मानिसहरूले यो वर्तमान रीतिरिवाजको अन्त पनि हेर्न जिउँदो रहनेछन्‌। त्यो पहिलो विश्‍वयुद्धको पुस्ता अब निकै बूढो हुनलागेको छ र यसले अब दुष्टताको अन्त अति नजीक आउन लागेको ठूलो प्रमाण दिन्छ।

३०. पृथ्वीमाथि अधिकार चलाउने वर्तमान मानवीय शासन र व्यवस्थाहरू के हुनेछन्‌? (सपन्याह ३:८; यशैया १:२८)

३० अन्त आउँदा परमेश्‍वरले आफ्नो शक्‍तिशाली सामर्थ देखाउनुहुनेछ र मानिसका कार्यहरूमा सोझै हस्तक्षेप गर्नुहुनेछ। उहाँको विद्रोह गर्ने सबै मानवीय व्यवस्थाहरूको नाश हुनेछ। यसबारे दानियल २:४४ ले यसो भन्दछ: “ती राजाहरूका समयमा स्वर्गका परमेश्‍वरले एउटा राज्य खड़ा गर्नुहुनेछ जो कहिल्यै नाश हुनेछैन, नता त्यसको राज्य अरू कुनै जातिको हातमा दिइनेछ। त्यसले यी सबै राज्यहरूलाई चक्नाचूर पार्नेछ, र तिनीहरूको अन्त गरिदिनेछ। तर यो राज्य चाहिं सदा सर्वदै रहिरहनेछ।” सारा हानिकारक मानवीय व्यवस्थाहरू हटेपछि परमेश्‍वरको शासनले सारा पृथ्वीमाथि सम्पूर्ण अधिकार लिनेछ।

३१. सारा मानवजातिको निम्ति परमेश्‍वरले कुन शासनको प्रबन्ध गर्नुहुनेछ? (मत्ती ६:९, १०)

३१ तसर्थ, परमेश्‍वरको शासन एउटा नयाँ सरकार, एउटा स्वर्गीय सरकार अर्थात्‌ परमेश्‍वरको राज्यद्वारा कार्यान्वित हुनेछ। त्यही सरकारलाई येशू मसीहले आफ्नो शिक्षाको मुख्य ध्येय बनाउनुभयो र समयमा त्यसैले मात्र सारा पृथ्वीलाई वशमा राख्नेछ भनी भविष्यवाणीसमेत गर्नुभएको थियो। त्यो राज्यले परमेश्‍वरको निर्देशनअनुसार प्रत्यक्ष स्वर्गबाट शासन गर्नेछ। यसकारण त्यसलाई स्वार्थी मानिसहरूले भ्रष्ट पार्न सम्भव हुनेछैन। तसर्थ, शासन गर्ने अधिकार त्यहीं हुनेछ जहाँ सुरुमा थियो, अर्थात्‌ स्वर्गमा परमेश्‍वरसँग। सारा पृथ्वी परमेश्‍वरको वशमा भएपछि उहाँले प्रतिज्ञा गर्नुभएको छ कि “संसारका बासिन्दाहरूले धार्मिकता सिक्नेछन्‌।” (यशैया २६:९) नता झूटो धर्मले कसैलाई धोका दिनेछ, किनभने त्यहाँ झूटो धर्म नै हुनेछैन। प्रत्येक जीवित व्यक्‍तिलाई परमेश्‍वर र उहाँका उद्देश्‍यहरूबारे सच्चाइ सिकाइनेछ र वास्तवमा “समुद्र पानीले भरिएझैं पृथ्वी परमप्रभुको ज्ञानले भरिपूर्ण हुनेछ।” —यशैया ११:९.

एउटा धार्मिक नयाँ रीतिरिवाज

३२. परमेश्‍वरको राज्यको शासनअर्न्तगत शान्ति कत्तिको विस्तृत रूपमा हुनेछ? (यशैया २:२-४)

३२ परमेश्‍वरको राज्यको शासनअन्तर्गत एउटा सम्पूर्ण नयाँ मानव समाज अर्थात्‌ धार्मिक मानिसहरूको समाजको वृद्धि हुनेछ। त्यो नयाँ रीतिरिवाजमा हामीप्रति परमेश्‍वरको चिन्ता उहाँको कार्यद्वारा प्रकट हुनेछ। एक त त्यहाँ मानव शान्ति र आनन्दमा युद्धहरूले फेरि कहिले पनि बाधा दिनेछैन। किन नहुने? किनभने वर्तमान दुष्ट रीतिरिवाजको अन्तलाई पार गरी सबै बाँच्नेहरूले शान्तिको शिक्षा पाइसकेका हुनाकारण त्यो नयाँ मानव समाजको एउटा शान्त सुरुआत हुनेछ। तसर्थ, त्यसपछि त्यो नयाँ रीतिरिवाजमा आउने जतिले पनि परमेश्‍वरको इच्छा गर्न त्यही शिक्षा लगातार पाउनेछन्‌। त्यसैकारण “पृथ्वीको अन्तसम्मै उहाँले युद्धहरू रोक्नुहुन्छ” (भजन ४६:८, ९) भन्‍ने बाइबलको प्रतिज्ञा अवश्‍य पूरा हुनेछ। त्यो शान्ति कति पूर्ण हुनेछ? परमेश्‍वरको वचनले यो जवाफ दिन्छ “नम्रहरूले देश अधिकार गर्नेछन्‌। प्रशस्त शान्तिमा आफै खुशी मनाउनेछन्‌।”भजन ३७:११.

३३. पृथ्वीमा के परिवर्तन हुनेछ?

३३ साथै, त्यो नयाँ रितिरिवाजका बासिन्दाहरूले परमेश्‍वरको प्रथम उद्देश्‍यअनुसार यस पृथ्वीलाई एउटा प्याराडायज अर्थात्‌ सुन्दर वाटिका बनाइदिनेछ। र यो काम मानवजातिको लागि कति सन्तोषजनक हुनेछ! र सुन्दर वाटिका पुनर्स्थापित भएपछि मानिसले पोखरी, नदी, सागर, डाँडाकाँडा, पहाड, तराई र उपत्यका, सुन्दर फूल, बोट र रूखहरू साथै ती चाखलाग्दो जीव-जन्तुहरूको पूर्ण आनन्द उठाउनसक्नेछ। न ता फेरि कहिल्यै अन्‍नको अभाव हुनेछ किनभने “पृथ्वीले आफ्नो उब्जनी बढ़ाएको छ र परमेश्‍वर, हाम्रा आफ्नै परमेश्‍वरले हामीलाई आशिष दिनुहुनेछ।” हो, “पृथ्वीमा पहाड़का टाकुराहरूमा प्रशस्तगरी अन्‍न हुनेछ।”—भजन ६७:६; ७२:१६.

३४. के कस्तो शारीरिक निको पार्ने कामहरू हुनेछन्‌?

३४ स्थायी शान्ति र प्रशस्त अन्‍नसँगसँगै ताजा स्वास्थ्य पनि आउनेछ। परमेश्‍वरले नै मानिसको सृष्टि गर्नुभएको हुनाले अपांगलाई निको पार्न, अन्धाको आँखा खोलिदिन, बहिरोलाई सुन्‍ने शक्‍ति दिन र हरप्रकारका रोग, बुढेसकाल र मृत्युलाई हटाउन कुनै डाक्टरलाई भन्दा उहाँलाई नै थाह छ। परमेश्‍वरको यसो गर्ने शक्‍तिको सानो प्रदर्शन येशूले उहाँ पृथ्वीमा हुनुहुँदा गर्नुभयो। बाइबलले हामीलाई यसो भन्दछ: “तब त्यहाँ लंगडा, अन्धा, लाटा, कूँजो र धेरै अरूहरूसित भएका ठूला भीड़ उहाँकहाँ आए र तिनीहरूलाई उहाँका चरणमा राखिदिए, र उहाँले तिनीहरूलाई निको पार्नुभयो। यहाँसम्म कि, लाटाहरू बोलेका, कूँजोहरू निको भएका लंगडाहरू हिंडेका, अन्धाहरूका आँखा खोलिएका देखेर भीड़हरू छक्क परे, र तिनीहरूले इस्राएलका परमेश्‍वरको महिमा गरे।”—मत्ती १५: ३०, ३१.

३५, ३६. मरेकाहरूले पनि परमेश्‍वरको नयाँ रीतिरिवाजमा बाँच्ने मौका कसरी पाउनेछन्‌? (यूहन्‍ना ५:२८, २९; लूका ७:११-१५)

३५ यो पार्थिव प्याराडायज अर्थात्‌ सुन्दर वाटिकालाई नै संकेत गर्दै येशूले उहाँसँगसँगै झुण्डयाएको मानिसलाई यसो भन्‍नुभयो: “तिमी मसित स्वर्ग–लोकमा [“प्याराडायज,” NW] हुनेछौ।” (लूका २३:४३) तर त्यो मानिस त मऱ्‍यो। ऊ त्यो सुन्दर वाटिकामा प्रवेश कसरी गर्ने? परमेश्‍वरको एउटा अर्को अद्‌भुत प्रबन्धद्वारा अर्थात्‌ मृत्युबाट पुनरुत्थान पाएर जसबाट परमेश्‍वरलाई हाम्रो कत्ति चिन्ता रहेछ भनी देखिन्छ। प्रेरित २४:१५ मा बाइबलले यसो भन्दछ: “धर्मी र अधर्मीहरूसमेतको पुनरुत्थान” हुनेछ। आफ्नो राज्यमा परमेश्‍वरले यसो गर्नुसक्नुहुनेछ भनी देखाउन येशूले उहाँ पृथ्वीमा हुनुहुँदा मरेकाहरूलाई पुनर्जीवित पार्नुभयो।

३६ के तपाईंलाई पुनरुत्थानमा विश्‍वास गर्न गाह्रो लाग्छ? तर तपाईंले आज पनि धेरै पहिला मरिसकेका मानिसहरूलाई टेलिभिजनमा त हेर्नुहुन्छ। उनीहरूको आवाज सुन्‍नुहुन्छ, उनीहरूको कार्य र विशिष्ट गुनहरू पनि देख्नुहुन्छ। यी कुराहरूलाई टेलिभिजनको टेपमा मानिसले त बचाएर राख्नसक्छ भने, सर्वज्ञानी परमेश्‍वरलाई पुनः सृष्टि हुने प्रत्येक व्यक्‍तिको व्यक्‍तित्व र गुनहरूको विस्तृत छाप आफ्नो सम्झनामा राख्न केही गाह्रो हुनेछैन। उहाँले ठीक यसो गर्नुभएको छ र मरेकाहरूलाई उहाँले पुनः जीवित पनि गर्नुहुनेछ। यसरी परमेश्‍वरको नयाँ रीतिरिवाजमा उनीहरूले पनि जीवनको आनन्द उठाउने मौका पाउनेछन्‌। चिहानहरूलाई रित्याएर र मानिसलाई पैतृक रोग, बुढेसकाल र मृत्युबाट निको पारेर परमेश्‍वरले “मृत्युलाई सदाको निम्ति निल्नुहुनेछ।” (यशैया २५:८) त्यसपछि, मानिस सँधैभरि बाँच्न सक्नेछ!

३७. मानिसमाथि परेको अत्याचार र चोटलाई परमेश्‍वरले मेटाइदिनुहुनेछ भनी किन भन्‍न सकिन्छ?

३७ यति लामो समयदेखि चलिआएको कुअवस्थाहरूलाई परमेश्‍वरले आफ्नो राज्यद्वारा उल्टाइदिनुहुनेछ! हाम्रो लागि कत्ति चिन्ता छ भनी देखाउँदै उहाँले हामीमाथि अनन्तकालसम्म आशिष्‌ बर्साउनुहुनेछ जसको सामने हामीले बितेका समयमा पाएको कुनै पनि चोट केही जस्तो लाग्नेछैन। यो वर्तमान रीतिरिवाजमा हामीले अनुभव गरेको दुःखहरू त्यतिबेला याद गर्न खोज्यौं भने पनि हाम्रा सम्झनामा ती कुराहरू अति मधुरो भइसकेका हुनेछन्‌। परमेश्‍वरले यसो भनी प्रतिज्ञा गर्नुभएको छ: “किनकि हेर, म नयाँ आकाश (सारा मानवजातिमाथि एउटा नयाँ स्वर्गीय सरकार) र नयाँ पृथ्वी (एउटा धार्मिक मानव समाज) सृष्टि गर्नेछु। र अघिअघिका कुराहरूको सम्झना हुनेछैन, नता ती स्मरणमा आउनेछन्‌। तर तिमीहरू मैले सृष्टि गरेको कुरामा सदा सर्वदा आनन्द गर र हर्ष मनाऊ।” (यशैया ६५:१७, १८) यो आउन लागेको यति महान्‌ आशिष्‌हरूका साथसाथै “उहाँले तिनीहरूका आँखाबाट आँसु पुछिदिनुहुनेछ” भनेर बाइबलले किन भन्दछ भनी तपाईंले अब बुझ्नुहुनेछ। अनि किन नभन्‍नु? किनभने “मृत्यु हुनेछैन, औ शोक, रुवाइ, पीड़ा, फेरि केही हुनेछैन। पहिलेका कुराहरू बितिसकेका छन्‌।”—प्रकाश २१:४.

परमेश्‍वरले त वास्ता गर्नुहुन्छ—के हामी गर्छौं?

३८. परमेश्‍वरले आफ्नो नयाँ रीतिरिवाजमा कुन प्रकारका मानिसहरू चाहनुहुन्छ? (भजन ३७:३७, ३८)

३८ परमेश्‍वरले चाँडै दुष्टताको नाश गरी एउटा नयाँ र आनन्ददायक जमाना ल्याउने कुराले देखाउँछ कि उहाँले वास्तवमा हाम्रो वास्ता गर्नुहुन्छ। तर के हामीले उहाँको वास्ता गर्छौं? गर्छौं भने, देखाउन आवश्‍यक छ। त हामीले गर्नुपर्ने के? बाइबलले यसो भन्दछ: “संसार बितिजानेछ र त्यसको अभिलाषा पनि बितेर जानेछ, तर परमेश्‍वरको इच्छाबमोजिम गर्ने चाहिं सधैंभरि रहिरहनेछ।” (१ यूहन्‍ना २:१७) परमेश्‍वरले आफ्नो नयाँ रीतिरिवाजमा त्यसप्रकारका मानिसहरू चाहनुहुन्छ जसले उहाँको इच्छा गर्छन्‌ र उहाँको धार्मिक शासनको अधीनमा बस्छन्‌। यसप्रकारका व्यक्‍तिहरूले नै उहाँका आज्ञाहरू पालन गर्नेछन्‌ र “नयाँ पृथ्वी[लाई]” एउटा राम्रो बस्ने ठाउँ बनाउन अंशदान दिनेछन्‌। परमेश्‍वरको शासनको विद्रोह गर्नेहरूले कष्ट मात्र दिनेछन्‌ यसकारण उनीहरूले त्यहाँ बस्न पाउनेछैनन्‌।

३९. अनन्त जीवन चाहनुहुन्छ भने के को खोजी गर्नुपर्छ? (हितोपदेश २:१-६)

३९ के तपाईं परमेश्‍वरको धार्मिक नयाँ रीतिरिवाजमा बस्न चाहनुहुन्छ? चाहनुहुन्छ भने, सर्वप्रथम जीवन पाउन परमेश्‍वरले दिनुभएको आवश्‍यकताहरूलाई सिक्नुपर्छ। तपाईंको सामने कुनै रमणीय बगैंचाजस्तो वातावरणमा बिनामूल्य एउटा सुन्दर घरको प्रस्ताव राखियो भने, त्यो पाउने योग्य कसरी हुने भनेर थाह लाउन के तपाईंले समय दिनुहुन्‍न? हाम्रोनिम्ति परमेश्‍वरको इच्छा थाह लाउन खोजी गऱ्‍यौं र त्यसअनुसार काम पनि गऱ्‍यौं भने परमेश्‍वरको वचनले हाम्रो सामने अझ धेरै ठूलो प्रस्ताव राखेको छ अर्थात्‌ सुन्दर वाटिकारूपी पृथ्वीमा अनन्त जीवन। बाइबलले यसो भन्दछ: “अनन्त जीवन यही हो, कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्‍वरलाई, र जसलाई तपाईंले पठाउनुभयो, अर्थात्‌ येशू ख्रीष्टलाई चिनून्‌।”—यूहन्‍ना १७:३.

४०. आज बाइबलबाट के के लाभहरू पाउन सकिन्छ? (२ तिमोथी ३:१६, १७)

४० बाइबल अध्ययन गर्दा तपाईं र तपाईंको परिवारले यी कष्टमय समयहरूमा दैनिक जीवनको लागि अत्यावश्‍यक र व्यवहारिक डोऱ्‍याइ पनि पाउनुहुनेछ। साथै, आज अवस्थाहरू यति नराम्रा किन छन्‌ र भविष्यमा के हुनेछ भनी यसले हामीलाई बताउनाले यसबाट हामीले साँचो मनोशान्ति पनि पाउनसक्छौं। तर सर्वप्रथम, यसले तपाईंलाई परमेश्‍वरको साँचो प्रेम गर्न सहायता दिनेछ र परमेश्‍वर “उहाँका खोजी गर्नेहरूलाई प्रतिफल दिनुहुन्छ” भनी तपाईंले देख्नुहुनेछ।—हिब्रू ११:६.

४१. यहोवाका साक्षीहरूले बिनामूल्यमा के सहायता दिनेछन्‌?

४१ यहोवाका साक्षीहरूले खुशीसाथ बिनामूल्यमा तपाईंलाई परमेश्‍वरको नयाँ रीतिरिवाजमा जीवनको प्रबन्धबारे सिक्न सहायता र समय दिनेछन्‌। अवश्‍य, परमेश्‍वर र बाइबलबारे तपाईंका अरू पनि प्रश्‍न होला। यी प्रश्‍नहरूबारे तपाईंकै घरमा र तपाईंकै बाइबलबाट छलफल गर्न यहोवाका साक्षीहरू खुशी हुनेछन्‌। तसर्थ, जीवनमा एउटा स्वतन्त्र बाटो अपनाउनु अथवा असिद्ध मानिसहरूको सोचाइमा भरोसा गर्नुभन्दा आज पाइने सर्वोत्तम सूचनाको डोऱ्‍याइ तपाईंले पाउनुहुनेछ। यसकारण, समय हुँदाहुँदै परमेश्‍वरद्वारा प्रेरित भएको वचनले भनेअनुसार गर्नुहोस्‌ भनी तपाईंलाई अनुरोध गरिन्छ अर्थात्‌ “यसकारण परमेश्‍वरका बलवान बाहुलीमनि तिमीहरूले आफैलाई नम्र तुल्याओ, र उहाँले समयमा तिमीहरूलाई उच्च पार्नुहुनेछ। तिमीहरूका सारा फिक्री उहाँमाथि राखिदेओ, किनकि उहाँले तिमीहरूको फिक्री गर्नुहुन्छ।”—१ पत्रुस ५:६, ७.

[फुटनोटहरू]

a अन्यथा उल्लिखित नभए बाइबल उद्धरणहरू पवित्र बाइबलRV) बाट लिइएका हुन्‌। उद्धरणपछि जहाँ  NW  देख्नुहुन्छ, त्यहाँ पवित्र धर्मशास्त्रको नयाँ विश्‍व अनुवाद—सन्दर्भिकासहित-बाट (अंग्रेजी) उद्धृत गरिएका हुन्‌।

b New York Times, November 6, 1972, p. 5.

c Environmental Ethics, edited by Donald R. Scoby, 1971, p. 17.

d New York Post, March 30, 1974, p. 35.

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ २२-मा भएको तालिका]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

सबै एउटै पुस्तामा

१९१४

विश्‍वयुद्धहरू

अत्यधिक अनिकाल

हिंस्रक अपराधहरू

रोगको महामारी

विश्‍वव्यापी प्रदूषण

यस रीति-रिवाजको अन्त

[पृष्ठ ६-मा भएका चित्र]

मानव गरीबी अनि मैला अवस्था परमेश्‍वरले गर्दा हो भने . . .

[पृष्ठ ७-मा भएका चित्र]

. . . पृथ्वीको सुन्दरता अनि फलदायक जमीनको लागि चाहिं श्रेय कसलाई दिने

[पृष्ठ ९-मा भएका चित्र]

अरू कुनै घरभन्दा पृथ्वी जीवन रहनका लागि धेरै राम्ररी सबै कुराहरूले युक्‍त छ

[पृष्ठ ९-मा भएका चित्र]

जब प्रत्येक घरलाई बनाउने कुनै न कुनै व्यक्‍ति हुन्छ भने झन्‌ पृथ्वीलाई बनाउने त हुनै पऱ्‍यो!

[पृष्ठ १३-मा भएका चित्र]

मानवजातिले आनन्दसँग सदासर्वदा जीवत रहनका लागि सारा पृथ्वीलाई एउटा सुन्दर वाटिका बनाउने उद्देश्‍य परमेश्‍वरको हो भनी बाइबलले देखाउँछ

[पृष्ठ १४-मा भएका चित्र]

जसरी एउटा बिजुलीको पंखा आफ्नो शक्‍तिको स्रोतबाट काटिएपछि त्यसको गति धीमा हुँदै बन्द हुन्छ त्यसैगरि मानवजाति परमेश्‍वरबाट अलग्गिएपछि अधोगति हुनथाल्यो

[पृष्ठ १६-मा भएका चित्र]

एउटा सानो सुरक्षात्मक व्यवस्थाप्रति लापरवाही गर्नाले कुनै ठूलो बाँध पनि भत्किन सक्छ: हाम्रो प्रथम पुर्खाहरूले परमेश्‍वरको आज्ञा उल्लंघन गर्दा दुष्ट र पीडाको बाँध सुरु गऱ्‍यो

[पृष्ठ १९-मा भएका चित्र]

दुइ जना व्यक्‍ति मात्र विथोलित हुँदा त एउटा अदालती मामलाको फैसला हुनमा कैयौं सप्ताह लाग्नसक्छ। परमेश्‍वरको शासनसित सम्बन्धित प्रश्‍नहरूको पूरा फैसला हुनुपर्दछ, सधैंभरिको लागि अनि यसको लागि यथेष्ट समय चाहिन्छ

[पृष्ठ २४-मा भएका चित्र]

परमेश्‍वरको नयाँ रीतिरिवाजमा युद्ध हुनेछैन किनभने “परमेश्‍वरले युद्धहरू रोक्नु हुनेछ”

[पृष्ठ २५-मा भएका चित्र]

मानवजाति फेरि कहिल्यै पनि भोकले पीडित हुनेछैन

[पृष्ठ २५-मा भएका चित्र]

परमेश्‍वरको आशिष्‌ले गर्दा पृथ्वीले प्रशस्त उब्जनी दिनेछ

[पृष्ठ २६-मा भएका चित्र]

बूढा मानिसहरूले फेरि जवानी र सिद्ध स्वास्थ्यको ताकत पाउनेछन्‌

[पृष्ठ २७-मा भएका चित्र]

परमेश्‍वरको सम्झनामा भएका सबै मरेकाहरू पुनर्जीवित भएर आफ्ना प्यारा जनहरूसित एक हुनेछन्‌

[पृष्ठ २९-मा भएका चित्र]

परमेश्‍वरको राज्यको शासनअन्तर्गत जीवन यति आनन्दमय हुनेछ। जसले गर्दा हामीमाथि आज आइपरेको कुनै पनि अन्याय र दुःख केही जस्तो पनि लाग्नेछैन

[पृष्ठ ३१-मा भएका चित्र]

रमणीय वातावरणमा जीवन बिताउने प्रस्ताव राखियो भने त्यसमा योग्य कसरी हुने भनेर के तपाईं थाह पाउन चाहनुहुन्छ? परमेश्‍वरको नयाँ व्यवस्थाले योभन्दा बढी कुराहरूको प्रस्ताव राख्छ तर त्यसमा हामीहरू कसरी योग्य हुने भनेर सिक्न समय निकाल्नुपर्छ