सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के अदनको बगैँचा साँच्चै अस्तित्वमा थियो?

के अदनको बगैँचा साँच्चै अस्तित्वमा थियो?

के अदनको बगैँचा साँच्चै अस्तित्वमा थियो?

के तपाईँले आदम र हव्वा अनि अदनको बगैँचाबारे सुन्‍नुभएको छ? संसारभरिका थुप्रै मानिसले यसबारे सुनेका छन्‌। यसबारे तपाईँ आफैले पढ्‌नुभए कसो होला? यो विवरण उत्पत्ति १:२६–३:२४ मा पढ्‌न सक्नुहुन्छ। यस विवरणको सारांश यस्तो छ:

यहोवा परमेश्‍वरले * पहिलो मानिसलाई माटोबाट बनाउनुहुन्छ र तिनको नाम आदम राखिदिनुहुन्छ। परमेश्‍वरले तिनलाई अदन नाम गरेको ठाउँमा रहेको बगैँचामा राख्नुहुन्छ। त्यो बगैँचा परमेश्‍वर आफैले बनाउनुभएको थियो। त्यहाँ प्रशस्तै पानी छ र फल फलाउने थुप्रै रूखहरू छन्‌। बगैँचाको बीचमा परमेश्‍वरले “असल र खराबको ज्ञानको रूख” लगाउनुहुन्छ। परमेश्‍वरले मानिसहरूलाई त्यो रूखको फल नखानू भन्‍ने आज्ञा दिनुहुन्छ अनि खाएमा तिनीहरू मर्नेछन्‌ भनेर पनि बताउनुहुन्छ। त्यसपछि यहोवाले आदमको लागि एउटा जोडी बनाउनुहुन्छ। उहाँले आदमकै करङ्‌बाट एक स्त्री, हव्वा बनाउनुहुन्छ। त्यसपछि परमेश्‍वरले तिनीहरूलाई त्यस बगैँचाको हेरविचार गर्न र पृथ्वी भर्दै जान आज्ञा दिनुहुन्छ।

हव्वा एक्लै भएको बेला एउटा सर्पले तिनीसित कुरा गर्छ। सर्पले हव्वालाई परमेश्‍वरले निषेध गर्नुभएको रूखको फल खान लोभ्याउँछ। त्यसले हव्वालाई परमेश्‍वरले झूट बोल्नुभएको छ, उहाँले तिनलाई असल कुराबाट वञ्चित गर्नुभएको छ अनि त्यो फल खाएपछि परमेश्‍वरजस्तै हुन सकिन्छ भनी बताउँछ। त्यसको कुरा सुनेर हव्वाले त्यो रूखको फल खान्छिन्‌। पछि आदमले पनि हव्वालाई साथ दिएर परमेश्‍वरको आज्ञा उलङ्‌घन गर्छन्‌। नतिजास्वरूप यहोवा परमेश्‍वरले आदम, हव्वा र सर्पलाई सजाय सुनाउनुहुन्छ। त्यसपछि उहाँले आदम र हव्वालाई प्रमोदवनरूपी बगैँचाबाट पनि निकालिदिनुहुन्छ अनि बगैँचाभित्र कोही पनि नपसून्‌ भनेर बगैँचाको प्रवेशद्वारमा स्वर्गदूतहरूलाई राख्नुहुन्छ।

पहिले-पहिलेका विद्वान्‌, बुद्धिजीवी र इतिहासकारहरूले उत्पत्तिको किताबमा भएको विवरण सत्य र ऐतिहासिक छ भनेर विश्‍वास गर्थे। तर हिजोआज धेरैले यो विवरणमा शङ्‌का गर्छन्‌। मानिसहरू किन आदम र हव्वा अनि अदनको बगैँचाबारे उत्पत्तिको किताबमा बताइएको विवरणमाथि शङ्‌का गर्छन्‌? यसका चार वटा कारण विचार गरौँ।

१. के अदनको बगैँचा कुनै वास्तविक ठाउँ थियो?

यस विषयमा थुप्रैले किन शङ्‌का गर्छन्‌? यसमा दार्शनिकहरूले सिकाएको कुराले ठूलो भूमिका खेलेको छ। धर्मबारे अध्ययन गर्नेहरूले शताब्दियौँअघि अदनको बगैँचा कतै न कतै अस्तित्वमा छ भनेर बताउँदै आएका थिए। तर चर्चहरूमा भने प्लेटो र अरस्तुजस्ता ग्रीक दार्शनिकहरूको प्रभाव थियो। तिनीहरू पृथ्वीमा कुनै त्रुटिरहित कुरा हुन सक्दैन, त्रुटिरहित कुरा त स्वर्गमा मात्र हुन्छ भन्‍ने धारणा राख्ने गर्थे। त्यसैले धर्मबारे अध्ययन गर्नेहरूले प्रमोदवन स्वर्गको नजिकै हुनुपर्छ भन्‍ने धारणा राख्न थाले। अरूले चाहिँ पृथ्वीको भ्रष्टताले कुनै असर नगरोस्‌ भनेर अदनको बगैँचा कुनै उच्च स्थानमा बनाइएको थियो भने। * कसै-कसैले चाहिँ उत्तरी ध्रुव अथवा दक्षिणी ध्रुवमा अदनको बगैँचा हुनुपर्छ भन्‍ने कुरा बताए। अनि कोही-कोहीले भने त्यो बगैँचा चन्द्रमामा वा चन्द्रमानजिकै छ भने। यस्ता कुराहरूले गर्दा अदनको बगैँचा कथाकहानीमा मात्र सीमित रह्‍यो। आज आधुनिक समयका केही विद्वानहरूले भने अदनको बगैँचाजस्तो कुनै ठाउँ कहिल्यै अस्तित्वमा थिएन भन्छन्‌।

बाइबलले अदनको बगैँचालाई ती मानिसहरूलेभन्दा फरक तरिकामा चित्रण गरेको छ। उत्पत्ति २:८-१४ मा यस ठाउँबारे केही जानकारी दिइएको छ। यो बगैँचा अदन नाम गरेको ठाउँमा पूर्वतिर थियो। अदनबाट एउटा नदी बगेको थियो, जसले गर्दा बगैँचा सुख्खा हुन पाउँदैनथ्यो। त्यो नदी चार वटा शाखा नदीमा परिणत भएर बगैँचाबाट निस्केको थियो। चारै वटा नदीको नाम अनि त्यसबारे केही जानकारी बाइबलमा दिइएको छ। यी जानकारीहरू पढेर थुप्रै विद्वान्‌ अलमलमा परेका छन्‌ र यो ठाउँ कहाँ थियो होला भनेर खोज्ने प्रयास पनि गरेका छन्‌। अदनको बगैँचा कहाँ थियो भन्‍नेबारे तिनीहरूको आ-आफ्नै धारणा छ। के यसको मतलब अदन, त्यहाँको बगैँचा अनि त्यहाँ भएका नदीहरूसम्बन्धी विवरण मिथ्या अनि कथाकहानी मात्रै हो?

अदनको बगैँचामा घटेका घटनाहरू ६,००० वर्षभन्दा पहिलेका हुन्‌। मोसाले आफूले सुनेका र पाएका लेखोटहरूमा भएका कुराहरूलाई आफ्नो विवरणमा समावेश गरेका हुन सक्छन्‌। तैपनि अदनको बगैँचामा घटेको घटनाको २,५०० वर्षपछि मात्रै मोसाले ती विवरणहरू लेखेका थिए। त्यसैले मोसाको समयमै त्यो पुरानो इतिहास भइसकेको थियो। के शताब्दियौँको दौडान परिवर्तन सम्भव छैन र? पृथ्वीको भौगोलिक अवस्था परिवर्तन भइरहन्छ। उदाहरणको लागि, नदीहरूको दिशा परिवर्तन भएको हुन सक्छ। त्यहाँ थुप्रै भूकम्प गएका हुन सक्छन्‌। साथै नुहको समयमा आएको जलप्रलयले गर्दा पनि पृथ्वीको सतहमा थुप्रै परिवर्तन भए। त्यसकारण अदनको बगैँचा ठ्याक्कै कहाँ थियो भनेर बताउन सकिँदैन। *

उत्पत्तिको किताबमा बताइएको बगैँचा वास्तविक ठाउँ हो भन्‍न सकिने केही कारणहरू छन्‌। त्यहाँ बग्ने युफ्रेटिस र टाइग्रीस अर्थात हिद्दकेल नदी अहिले पनि अस्तित्वमा छन्‌। बाइबलमा ती नदीहरू कुन ठाउँबाट बग्थे र त्यो ठाउँ कस्तो थियो भन्‍ने विषयमा बताइएको छ। पुरातन समयका इस्राएलीहरूले यी विवरणहरू पढेर त्यस ठाउँबारे बुझ्न सक्थे।

के मिथ्या र दन्त्यकथा यस्तै हुन्छ? हुँदैन। त्यसमा विवरणहरू विस्तृत ढङ्‌गमा उल्लेख नगरिने भएकोले ती सत्य हुन्‌ कि होइनन्‌ भनेर प्रमाणित गर्न सकिँदैन। दन्त्यकथा “एकादेशमा” भन्दै सुरु हुन्छ। तर इतिहास सही विवरण अनि विस्तृत जानकारीमा आधारित हुन्छ, अदनको बगैँचाको विवरणजस्तै।

२. के परमेश्‍वरले आदमलाई माटोबाट बनाउनुभयो र हव्वालाई आदमको करङबाट बनाउनुभयो भनेर विश्‍वास गर्न सकिन्छ?

आधुनिक विज्ञानले मानव शरीर विभिन्‍न तत्त्व मिलेर बनेको छ भनेर प्रमाणित गरेको छ। जस्तै: हाइड्रोजन, अक्सिजन र कार्बन। यी तत्त्वहरू पृथ्वीको सतहमा पाउन सकिन्छ। तर यस्तै तत्त्वहरू मिलेर कसरी जीवित प्राणी बन्‍न सक्यो?

थुप्रै वैज्ञानिकहरू जीवनको सुरुवात आफै भएको हो भन्‍ने गर्छन्‌। तिनीहरूको विचारमा सुरुमा सूक्ष्म जीवहरू अस्तित्वमा आए र लाखौँ वर्षको दौडान ती जटिल प्रकारका जीवहरूमा परिणत हुँदै गए। तर सूक्ष्म अनि एक-कोषीय जीवहरूलाई साधारण भन्‍नु उपयुक्‍त हुँदैन किनभने त्यस्ता जीवहरू अत्यन्तै साना भए पनि जटिल प्रकारका हुन्छन्‌। त्यस्ता स-साना जीवहरूबाट नै जटिल प्रकारका जीवहरू बनेका हुन्‌ भन्‍ने कुराको कुनै प्रमाण छैन। हामी यी सबै कुराको सृष्टि हाम्रो कल्पना बाहिरको बुद्धिको उपज हो भन्‍न सक्छौँ। *रोमी १:२०.

कुनै सुमधुर सङ्‌गीत सुन्दा, सुन्दर चित्र देख्दा अनि कुनै मेसिनले अचम्मलाग्दो तरिकामा काम गरेको देख्दा के तपाईँ त्यो आफै बनेको हो भनेर सोच्नुहुन्छ? पक्कै सोच्नुहुन्‍न। ती कुराहरू जति नै उत्कृष्ट देखिए तापनि मानव शरीरको जटिलता, सुन्दरता र बौद्धिक क्षमताको तुलनामा ती केही पनि होइनन्‌। त्यसोभए मानव शरीरको सृष्टिकर्ता नै छैन भनेर कसरी सोच्न सक्छौँ र? उत्पत्तिको विवरणले बताएअनुसार मानिस परमेश्‍वरको स्वरूपमा सृष्टि गरिएको हो। (उत्पत्ति १:२६) त्यसैले परमेश्‍वरले हामीलाई दिनुभएको सृजनात्मक क्षमता प्रयोग गरेर नै हामी सङ्‌गीत रच्न, चित्र कोर्न र मेसिन बनाउन सक्छौँ। त्यसोभए मानिसको भन्दा परमेश्‍वरको सृष्टि गर्ने क्षमता झन्‌ कति उत्कृष्ट होला!

परमेश्‍वरले पुरुषको करङबाट स्त्रीलाई बनाउनुभयो। तर किन? * के तिनलाई सृष्टि गर्ने अरू तरिका थिएन र? वास्तवमा परमेश्‍वरले स्त्रीलाई यसरी सृष्टि गर्नुको पछाडि एउटा महत्त्वपूर्ण कारण छ। परमेश्‍वर ती दुईबीच मायालु सम्बन्ध विकास भएको र तिनीहरू “एउटै शरीर” भएको चाहनुहुन्थ्यो। (उत्पत्ति २:२४) के परमेश्‍वर बद्धिमान र मायालु सृष्टिकर्ता हुनुहुन्छ भन्‍ने कुराको यो स्पष्ट प्रमाण होइन र?

थुप्रै विज्ञहरूले समेत सबै मानिसहरू एक पुरुष र एक स्त्रीबाट आएका हुन्‌ भनेर मानिलिन्छन्‌। त्यसैले सृष्टिबारे बाइबलले बताउने कुरामा हामी विश्‍वास गर्न सक्छौँ।

३. ज्ञानको रूख र जीवनको रूख मिथ्या हो जस्तो देखिन सक्छ।

वास्तवमा उत्पत्तिको विवरणले ती रूखहरूमा कुनै अलौकिक शक्‍ति थियो भनेर सिकाउँदैन। ती वास्तविक रूखहरू नै थिए। यहोवाले ती रूखहरूलाई प्रतीकको रूपमा चलाउनुभयो।

अहिले पनि मानिसहरू यसो गर्ने गर्छन्‌। उदाहरणको लागि न्यायाधीशले अदालतको अवहेलना नगर्न चेतावनी दिन सक्छन्‌। न्यायाधीशले अदालतको सामानलाई जोगाउन त्यस्तो चेतावनी दिएका होइनन्‌, बरु अदालतले प्रतिनिधित्व गर्ने न्यायप्रणालीको मर्यादा कायम राख्न त्यसो गर्छन्‌। थुप्रै शासकहरूले पनि राजदण्ड अनि मुकुटलाई शासन व्यवस्थाको प्रतीकको रूपमा प्रयोग गरेका छन्‌।

त्यसोभए ती दुई रूख कुन कुराको प्रतीक हुन्‌? हुनत यसबारे धेरैको आ-आफ्नै तर्क छ। तर यसको खास जवाफ भने सरल तर महत्त्वपूर्ण छ। असल र खराबको ज्ञानको रूखले के असल हो र के खराब हो भनेर निर्धारण गर्ने अधिकार परमेश्‍वरसित मात्रै छ भन्‍ने कुरालाई चित्रण गर्थ्यो। (यर्मिया १०:२३) त्यसैले त्यो रूखको फल खानु गलत थियो। अर्कोतर्फ जीवन दिने रूखले परमेश्‍वरले मात्रै हामीलाई अनन्त जीवन दिन सक्नुहुन्छ भन्‍ने कुरालाई चित्रण गर्थ्यो।—रोमी ६:२३.

४. बोल्ने सर्प कुनै दन्त्यकथाको पात्रजस्तो देखिन सक्छ।

उत्पत्तिको यो विवरण सरसरती पढ्यौँ र बाइबलका अरू विवरणहरूलाई त्यति ध्यान दिएनौँ भने यो कुरा हामीलाई अनौठो लाग्न सक्छ। तर धर्मशास्त्रले यस रहस्यलाई क्रमिक रूपमा स्पष्ट पारेको छ।

कसले वा कुन कुराले गर्दा सर्प बोलेको भान पऱ्‍यो? पुरातन समयका इस्राएलीहरूलाई केही कुरा थाह थियो जसले गर्दा तिनीहरूले सर्पले बोल्न सक्नुको कारण बुझेको हुनुपर्छ। उदाहरणको लागि, इस्राएलीहरूलाई जनावरहरू बोल्न सक्दैनन्‌ तर शक्‍तिशाली अदृश्‍य व्यक्‍तिहरूले ती जनावरहरू बोलेको भान पार्न सक्छन्‌ भनेर थाह थियो। मोसाले बालाम नाम गरेका व्यक्‍तिबारे लेखे, जसको गधालाई परमेश्‍वरले स्वर्गदूत पठाएर मानिसले झैँ बोल्न लगाउनुभयो।—गन्ती २२:२६-३१; २ पत्रुस २:१५, १६.

के परमेश्‍वरका शत्रुहरू अर्थात दुष्ट स्वर्गदूतहरूले पनि चमत्कार गर्न सक्छन्‌? परमेश्‍वरले मोसामार्फत गर्नुभएका केही चमत्कार मिश्रका जादुगरहरूले पनि गर्न सकेको मोसाले देखेका थिए। जस्तै, तिनीहरूले चमत्कार गर्दै लौरोलाई सर्पमा परिणत गरे। तिनीहरूले त्यसो गर्ने शक्‍ति परमेश्‍वरका शत्रुहरू अर्थात दुष्ट स्वर्गदूतहरूबाट नै पाएको हुनुपर्छ।—प्रस्थान ७:८-१२.

अय्युबको किताब मोसाले नै लेखेका हुन सक्छन्‌। त्यस किताबले बताएअनुसार सैतानले झूट बोलेर परमेश्‍वरका सेवकहरूको वफादारीको जाँच लियो। (अय्युब १:६-११; २:४, ५) त्यसोभए हव्वालाई बहकाएर तिनको वफादारी तोड्‌न लगाउने सैतान नै हो भनेर के इस्राएलीहरूले बुझेका थिए? तिनीहरूले यो कुरा बुझेका थिए जस्तो देखिन्छ।

के सर्प बोल्नुपछाडि सैतानको हात थियो? येसुले सैतान “झूटा हो र झूटको बुबा हो” भन्‍नुभयो। (युहन्‍ना ८:४४) “झूटको बुबा”-ले नै सुरुमा झूट बोलेको हुनुपर्छ नि, होइन र? सैतानले हव्वासित पनि झूट बोलेको थियो। परमेश्‍वरले त्यो फल खाएमा तिनीहरू मर्नेछन्‌ भन्‍नुभएको थियो तर त्यसले ठीक उल्टो कुरा भन्यो। सर्पले यसो भन्यो: “अहँ! तिमीहरू कदापि मर्नेछैनौ!” (उत्पत्ति ३:४) सैतानले नै सर्पलाई चलाएको हो भन्‍ने कुरा पनि येसुलाई थाह थियो। उहाँले युहन्‍नालाई देखाउनुभएको दर्शनमा यो कुरा प्रष्ट पार्नुभयो। उहाँले सैतानलाई “पुरानो सर्प” भन्‍नुभयो।—प्रकाश १:१; १२:९.

एउटा शक्‍तिशाली स्वर्गदूतले सर्पलाई बोल्न लगाएको भनेर हो विश्‍वास गर्नु के सोच्नै नसकिने कुरा हो? स्वर्गदूतहरूको तुलनामा अत्यन्तै कम शक्‍ति भएका मानिसहरूले समेत कठपुतली नै बोलेको हो भन्‍ने भान पर्नेगरि त्यसलाई चलाउन सक्छन्‌।

सबैभन्दा सशक्‍त प्रमाण

उत्पत्तिको विवरणमा शङ्‌का गर्ने कुनै खास आधार देखिँदैन। अर्कोतर्फ, यो विवरण सत्य हो भन्‍ने कुराको हामीसित सशक्‍त प्रमाण छ।

उदाहरणको लागि, येसु “विश्‍वासयोग्य र साँचो साक्षी हुनुहुन्छ।” (प्रकाश ३:१४) उहाँ त्रुटिरहित मानिस हुनुहुन्थ्यो, जसले कहिल्यै झूट बोल्नुभएन अनि सत्यलाई कहिल्यै बङ्‌ग्याउनु भएन। बरु उहाँले आफू “संसारको उत्पत्ति हुनुअघि” परमेश्‍वरसितै भएको कुरा बताउनुभयो। (युहन्‍ना १७:५) त्यसैले पृथ्वीमा जीवनको सुरुवात हुँदा उहाँ जीवितै हुनुहुन्थ्यो। त्यसोभए सबैभन्दा विश्‍वासयोग्य साक्षी येसुले यसबारे के भन्‍नुभयो?

येसुले आदम र हव्वा साँच्चै अस्तित्वमा थिए भनेर बताउनुभयो। विवाहसम्बन्धी यहोवाको स्तरबारे बताउनुहुँदा उहाँले तिनीहरूबारे पनि बताउनुभयो। (मत्ति १९:३-६) यदि आदम र हव्वा अनि तिनीहरू बसेको बगैँचा मिथ्या मात्रै भएको भए, येसु कि त झुक्किनुभएको हुनुपर्छ, कि त उहाँले झूट बोलेको हुनुपर्छ। तर हामीलाई थाह छ, त्यस्तो त हुनै सक्दैन। वास्तवमा अदनमा भएका घटनाहरूलाई येसुले स्वर्गबाट हेरिरहनुभएको थियो। त्यसैले येसुले भन्‍नुभएको कुरामा हामी विश्‍वास गर्न सक्छौँ।

वास्तविकता के हो भने, उत्पत्तिको विवरणमा विश्‍वास गरेनौँ भने हामीले येसुमा पनि विश्‍वास गरिरहेका हुँदैनौँ। साथै अदनको बगैँचामा विश्‍वास गरेनौँ भने बाइबलको सबैभन्दा महत्त्वपूर्ण केही शिक्षा र प्रतिज्ञाहरू पनि हामी बुझ्न सक्दैनौँ। यस विषयमा हामी अर्को लेखमा छलफल गर्नेछौँ।

[फुटनोटहरू]

^ अनु. 3 बाइबलमा परमेश्‍वरको व्यक्‍तिगत नाम यहोवा हो भनेर बताइएको छ।

^ अनु. 7 यस्ता धारणाहरू धर्मशास्त्रमा आधारित छैनन्‌। बाइबलले परमेश्‍वरका कामहरू सिद्ध छन्‌, भ्रष्ट कुराहरूको स्रोत त अरू नै हो भनेर सिकाउँछ। (व्यवस्था ३२:४, ५) सृष्टिसम्बन्धी सबै काम सिद्ध्याउनुभएपछि यहोवाले आफूले बनाएका सबै थोकलाई “असाध्यै राम्रा” भन्‍नुभयो।—उत्पत्ति १:३१.

^ अनु. 9 परमेश्‍वरले ल्याउनुभएको जलप्रलयमा अदनको बगैँचाको अस्तित्व मेटियो। इजकिएल ३१:१८ ले “अदनका रूखहरू” ईसापूर्व सातौँ शताब्दीभन्दा धेरै अघि नै अस्तित्वबाट हराइसकेको थियो भनेर सङ्‌केत गर्छ। त्यसैले अदनको बगैँचा खोज्नेहरूले जति खोजे तापनि त्यो भेट्टाउने थिएनन्‌।

^ अनु. 14 यहोवाका साक्षीहरूद्वारा प्रकाशित पुस्तिका जीवनको सुरुवातबारे पाँच महत्त्वपूर्ण प्रश्‍न हेर्नुहोस्‌।

^ अनु. 16 आधुनिक चिकित्सा विज्ञानअनुसार करङको आफै निको हुन सक्ने क्षमता उल्लेखनीय छ। अरू हड्डीहरूजस्तो नभई करङका तन्तुहरू सुरक्षित छन्‌ भने यो फेरि पलाउन सक्छ।