“इन्साफको समय” आएको छ
“इन्साफको समय” आएको छ
स्वर्गको बीचमा उडिरहेका एउटा दूतसित “अनन्त सुसमाचार” छ भनी बाइबलको अन्तिम पुस्तक प्रकाशले हामीलाई सजग गराउँछ। तिनी ठूलो स्वरमा यसो भन्छन्: “परमेश्वरसँग डराओ, र उहाँलाई महिमा देओ। किनकि उहाँको ठूलो इन्साफको समय आएको छ।” (प्रकाश १४:६, ७) त्यो ‘इन्साफको समयमा’ ईश्वरीय न्यायको घोषणा र कार्यान्वयन दुवै समावेश छ। न्यायको कार्यान्वयन अहिले हामी बाँचिरहेको “आखिरी दिन[को]” चरमोत्कर्षमा हुनेछ।—२ तिमोथी ३:१.
धार्मिकताका प्रेमीहरूको लागि “इन्साफको समय” सुसमाचार हो। यो परमेश्वरले आफ्ना सेवकहरूको निम्ति छुटकारा ल्याउनुहुने समय हो जसले यस हिंस्रक र प्रेमरहित रीतिरिवाजमा दुःखकष्ट भोगेका छन्।
“इन्साफको समय[को]” अन्तमा वर्तमान दुष्ट रीतिरिवाजको विनाश हुनेछ र यसो हुनुअघि नै हामीलाई यस्तो आग्रह गरिएको छ: “परमेश्वरसँग डराओ, र उहाँलाई महिमा देओ।” के तपाईंले त्यसो गरिरहनुभएको छ? यसो गर्नुमा “म परमेश्वरमा विश्वास गर्छु” भन्नु मात्र पर्याप्त छैन। (मत्ती ७:२१-२३; याकूब २:१९, २०) परमेश्वरप्रतिको उचित भयले हामीलाई उहाँको श्रद्धा गर्न उत्प्रेरित गर्नुपर्छ। यसले हामीलाई खराब कुराहरूबाट अलग्गै बस्न लगाउनुपर्छ। (हितोपदेश ८:१३) यसले हामीलाई भलाइलाई प्रेम गर्न अनि खराबी अथवा बुराइलाई घृणा गर्न मदत गर्नुपर्छ। (आमोस ५:१४, १५) हामी परमेश्वरको आदर गर्छौं भने उहाँको कुरा निकै आदरपूर्वक सुन्नेछौं। हामी अरू नै कुराहरूमा अति व्यस्त भएर उहाँको वचन बाइबल नियमित तवरमा पढ्न फुर्सदै नहुने मानिसहरू हुनेछैनौं। हामी हर बखत अनि आफ्नो सम्पूर्ण हृदयले उहाँमा भरोसा राख्नेछौं। (भजन ६२:८; हितोपदेश ३:५, ६) उहाँलाई साँच्चै आदर गर्ने व्यक्तिहरू उहाँ स्वर्ग अनि पृथ्वीको सृष्टिकर्ता हुनुभएकोले ब्रह्माण्डको सार्वभौम हुनुहुन्छ भनेर मानिलिन्छन् अनि आफ्नो जीवनको सार्वभौम उहाँ नै हुनुहुन्छ भनेर खुसीसाथ उहाँको अधीनमा बस्छन्। यी मामिलाहरूमा हामीले अझ बढी ध्यान दिनुपर्ने महसुस गर्छौं भने ढिलासुस्ती नगरी कदम चालिहालौं।
स्वर्गदूतले बताएको न्याय कार्यान्वयनको समयलाई “परमप्रभुको [“यहोवाको,” NW] दिन” पनि भनिन्छ। त्यस्तो “दिन” पुरातन यरूशलेममाथि सा.यु.पू. ६०७ मा आइपऱ्यो किनभने यहोवाले आफ्ना अगमवक्ताहरू मार्फत दिनुभएको चेतावनी त्यहाँका बासिन्दाहरूले पालन गरेनन्। यहोवाको दिनलाई ढिला सम्झेर तिनीहरूले अझ उल्टै आफ्नो जीवन खतरामा पारे। यहोवाले तिनीहरूलाई यस्तो चेतावनी दिइसक्नुभएको थियो: “नजीकै [छ], त्यो चाँड़ै आउँदैछ।” (सपन्याह १:१४) पुरातन बेबिलोनमाथि “परमप्रभुको [“यहोवाको,” NW] दिन” फेरि सा.यु.पू. ५३९ मा आइपऱ्यो। (यशैया १३:१, ६) तिनीहरूको गढ तथा तिनीहरूका देवहरूमाथि विश्वस्त भई बेबिलोनीहरूले यहोवाका अगमवक्ताहरूले दिएका चेतावनीहरू बेवास्ता गरे। तर एकै रातमा मादी र फारसीहरूको हातबाट महान् बेबिलोनको पतन भयो।
आज हाम्रो सामु के छ? अर्को अनि अझ व्यापक असर पार्ने ‘परमेश्वरको [“यहोवाको,” NW] दिन।’ (२ पत्रुस ३:११-१४) “महान् बेबिलोन[माथि]” ईश्वरीय न्याय सुनाइसकिएको छ। प्रकाश १४:८ अनुसार एउटा स्वर्गदूत यस्तो घोषणा गर्छन्: “बेबिलोनको पतन भएको छ।” त्यो घटना घटिसक्यो। त्यसले अब यहोवाका उपासकहरूलाई रोक्न सक्दैन। त्यसको भ्रष्टता र युद्धमा सहभागिता सर्वत्र उदाङ्ग भइसक्यो। अब त्यसको अन्तिम विनाश नजिकै छ। यसैकारण सबै ठाउँका मानिसहरूलाई बाइबल यस्तो आग्रह गर्छ: “त्यसबाट [महान् बेबिलोनबाट] निस्केर आओ। त्यसका पापसँग तिमीहरूको केही संगत हुन नपाओस्। त्यसका विपत्तिहरू तिमीहरूले भोग्न नपरोस्, किनभने त्यसका पाप स्वर्गसम्मै चुल्लिएका छन्, र परमेश्वरले त्यसका अधर्म सम्झनुभएको छ।”—प्रकाश १८:४, ५.
महान् बेबिलोन के हो? यो विश्वव्यापी धार्मिक प्रणाली हो जसले पुरातन बेबिलोनको खास चिनारी बोकेको छ। प्रकाश अध्याय १७, १८) केही समानताहरू विचार गर्नुहोस्:
(• पुरातन बेबिलोनका पूजाहारीहरू आफ्नो राष्ट्रको राजनैतिक मामिलामा पूरै मुछिएका थिए। आजको प्रायजसो धर्ममा पनि त्यही कुरा लागू हुन्छ।
• बेबिलोनका पूजाहारीहरूले अक्सर युद्धलाई प्रोत्साहन दिए। वर्तमान समयका धर्महरू अक्सर युद्धमा मुछिने राष्ट्रका सिपाहीहरूलाई आशिष् दिन अग्रपङ्क्तिमा छन्।
• पुरातन बेबिलोनका शिक्षा तथा प्रचलनहरूले राष्ट्रलाई घोर अनैतिकतातर्फ धकेल्यो। आज धार्मिक नेताहरूले नैतिकतासम्बन्धी बाइबलको स्तरलाई पन्छाउँदा पादरीवर्ग र सर्वसाधारण माझ अनैतिकता व्याप्त भएको छ। अर्को उल्लेखनीय कुरा के हो भने, महान् बेबिलोनले यो संसार र यसको राजनैतिक प्रणालीसित व्यभिचार गर्ने हुँदा प्रकाशको पुस्तकले त्यसलाई वेश्या भनेर चित्रण गरेको छ।
• बाइबलले महान् बेबिलोन निर्लज्ज “सुख-विलासमा” रहन्छे भनेर पनि बताउँछ। पुरातन बेबिलोनमा मन्दिर व्यवस्थापनसित विशाल जग्गाजमिनको स्वामित्व अनि आर्थिक गतिविधिमा पूजाहारीहरूको प्रमुख भूमिका हुन्थ्यो। आज, उपासना थलोहरूको अलावा महान् बेबिलोनको स्वामित्वमा ठूल्ठूला व्यापार र जग्गाजमिन छन्। त्यसका शिक्षा र त्यसका पर्वहरूले त्यसको आफ्नै र व्यापारजगत्मा अरूको निम्ति धनसम्पत्ति थुपार्छ।
• पुरातन बेबिलोनमा मूर्तिपूजा, जादुगरी र तन्त्रमन्त्र सामान्य थियो र आज पनि थुप्रै ठाउँहरूमा व्याप्त छ। मृत्यु भनेको अर्को किसिमको जीवनमा जाने बाटो हो भन्ने धारणा राखिन्थ्यो। बेबिलोनमा आफ्ना देवताहरूको सम्मानमा जताततै मन्दिर र पूजा-घरहरू थिए तर बेबिलोनीहरूले यहोवाका उपासकहरूको विरोध गरे। त्यस्तै विश्वास तथा प्रचलनहरूले महान् बेबिलोनको चिनारी दिन्छ।
पुरातन समयमा यहोवाले शक्तिशाली राजनैतिक तथा सैन्य राष्ट्रहरू चलाउनुभएर उहाँ अनि उहाँको इच्छाप्रति बेवास्ता देखाइरहनेहरूलाई सजाय दिनुभयो। यसै अनुरूप सा.यु.पू. ७४० मा अश्शूरीहरूद्वारा सामरियाको विनाश भयो। सा.यु.पू. ६०७ मा बेबिलोनीहरूबाट अनि सा.यु. ७० मा रोमीहरूबाट यरूशलेमको विध्वंस भयो। पछि मादी र फारसीहरूले सा.यु.पू. ५३९ मा बेबिलोनमाथि कब्जा जमाए। हाम्रो समयमा राजनैतिक सरकारहरूले एउटा जङ्गली जनावरले जस्तै त्यस “वेश्या[लाई]” आक्रमण गर्नेछन् र त्यसलाई नङ्ग्याएर त्यसको साँचो चरित्र देखाइदिनेछन् भनी बाइबलले अगमवाणी गर्छ। तिनीहरूले त्यसको सर्वनाश गर्नेछन्।—प्रकाश १७:१६.
के विश्वका सरकारहरूले साँच्चै त्यसो गर्नेछन्? बाइबलले बताएअनुसार ‘परमेश्वरले तिनीहरूलाई त्यस्तो मन दिनुहुनेछ।’ (प्रकाश १७:१७) यो प्रत्याशित वा बिस्तारै हुनेछैन तर अचानक, उदेकलाग्दो अनि भयानक हुनेछ।
तपाईंले कस्तो कदम चाल्नुपर्छ? आफैलाई सोध्नुहोस्: ‘के म महान् बेबिलोनको भागको रूपमा चिनिने शिक्षा तथा प्रचलनहरू भएको धार्मिक संगठनसित अझै संलग्न छु?’ तपाईं त्यसको सदस्य हुनुहुन्न भने पनि आफैलाई सोध्न सक्नुहुन्छ: ‘के मैले त्यसको मनोभावले आफूलाई प्रभावित हुन दिएको छु?’ कस्तो मनोभाव? छाडा नैतिकता सहने, परमेश्वरप्रतिको प्रेमभन्दा भौतिक धनसम्पत्तिको प्रेम वा जानाजानी यहोवाको वचन बेवास्ता (सानो जस्तो देखिने कुराहरूमा समेत) गर्ने मनोभाव। आफ्नो जवाफबारे विचार पुऱ्याएर सोच्नुहोस्।
हामीले यहोवाको अनुग्रह पाउन हामी साँच्चै महान् बेबिलोनको कुनै भाग होइनौं भनी प्रमाण दिनु अत्यावश्यक छ र यो हाम्रो काम तथा हृदयका इच्छाहरूमा प्रस्ट हुनुपर्छ। ढिलासुस्ती गर्ने समय पटक्कै छैन। अन्त अकस्मात् आउनेछ भनेर हामीलाई सजग गराउँदै बाइबल यसो भन्छ: “महान् शहर बेबिलोन ठूलो झोक्काले फालिनेछ, र फेरि कहिल्यै पाइनेछैन।”—प्रकाश १८:२१.
प्रकाश १३:१, २; १९:१९-२१) दानियल २:२०-४५ मा लिपिबद्ध भविष्यसूचक दर्शनले पुरातन बेबिलोनको समयदेखि अहिलेसम्मको राजनैतिक शासनलाई सुन, चाँदी, पित्तल, फलाम र माटोले बनेको विशाल मूर्तिले चित्रण गर्छ। हाम्रो समयबारे यस्तो भविष्यवाणी गरिएको थियो: “स्वर्गका परमेश्वरले एउटा राज्य खड़ा गर्नुहुनेछ जो कहिल्यै नाश हुनेछैन।” यहोवाको ‘इन्साफको समयमा’ त्यो राज्यले अझै के गर्नेछ भन्ने सन्दर्भमा बाइबल यस्तो घोषणा गर्छ: “त्यसले यी सबै [मानव-निर्मित] राज्यहरूलाई चक्नाचूर पार्नेछ, र तिनीहरूको अन्त गरिदिनेछ। तर यो राज्य चाहिं सदा सर्वदै रहिरहनेछ।”—दानियल २:४४.
तर त्यति मात्र होइन। त्यो ‘इन्साफको समयको’ अर्को पक्ष हेर्ने हो भने, यहोवा परमेश्वरले उहाँको वैध शासनको बेवास्ता गर्ने विश्वव्यापी राजनैतिक प्रणाली, यसका शासकहरू अनि अरू सबैलाई येशू ख्रीष्टमार्फत आफ्नो स्वर्गीय राज्यद्वारा न्याय गर्नुहुनेछ। (बाइबलले साँचो उपासकहरूलाई ‘संसारमा भएका चीजलाई’ अर्थात् साँचो परमेश्वरबाट तर्किएको यो संसारले प्रोत्साहन दिने जीवन शैलीलाई प्रेम नगर्न चेतावनी दिन्छ। (१ यूहन्ना २:१५-१७) के तपाईंका निर्णय तथा कामहरूले तपाईं पूर्णतया परमेश्वरको राज्यको पक्षमा हुनुहुन्छ भनेर देखाउँछ? के तपाईंले यसलाई साँच्चै आफ्नो जीवनमा प्रथम स्थान दिनुभएको छ?—मत्ती ६:३३; यूहन्ना १७:१६, १७.
[पृष्ठ १४-मा भएको पेटी]
अन्त कहिले आउनेछ?
“मानिसको पुत्र तिमीहरूले नचिताएको बेलामा आउँछ।”—मत्ती २४:४४.
“जागा रहो, किनकि तिमीहरू त्यो दिन र त्यो बेला थाह पाउँदैनौ।”—मत्ती २५:१३.
“त्यसले ढीलो गर्नेछैन।”—हबकूक २:३.
[पृष्ठ १४-मा भएको पेटी]
तपाईंले थाह पाउनुभएको भए के कुनै फरक पर्ने थियो?
सन्निकट ईश्वरीय न्यायको कार्यान्वयन आगामी केही वर्ष हुनेछैन भनेर पक्का थाह भएको खण्डमा के तपाईंको जीवन बिताउने तरिकामा कुनै फरक पर्ने थियो? यस पुरानो रीतिरिवाजको अन्त तपाईंले आशा गरेभन्दा ढिलो भइसक्यो भने के तपाईं यसको कारण यहोवाको सेवामा सुस्त हुनुभएको छ?—हिब्रू १०:३६-३८.
हामीलाई ठीक समय थाह नभएको हुँदा हामी शुद्ध मनसायले परमेश्वरको सेवा गर्छौं भनेर देखाउने मौका पाउँछौं। यहोवालाई चिनेकाहरूले कुन कुरा बुझेका छन् भने, अन्तिम क्षणमा देखाएको जोसले परमेश्वरलाई खुसी पार्नेछैन किनभने उहाँले मानिसको हृदय हेर्नुहुन्छ।—यर्मिया १७:१०; हिब्रू ४:१३.
यहोवालाई साँच्चै प्रेम गर्नेहरूका लागि जीवनमा प्राथमिकता भनेको सधैं उहाँ नै हो। अरू मानिसहरूको जस्तै साँचो मसीहीहरूको पनि कुनै जागिर वा काम हुन सक्छ। तथापि, तिनीहरूको लक्ष्य धनी हुने होइन तर खान-लाउन पुग्ने भौतिक साधन र अरूसित बाँड्न अलिकता हुनु हो। (एफिसी ४:२८; १ तिमोथी ६:७-१२) तिनीहरू स्वास्थ्यकर मनोरञ्जनमा भाग लिन्छन् तथा आफ्नो दिनचर्यामा केही हेरफेर गरेर जीवनमा आनन्द उठाउँछन् तर तिनीहरूको चाहना स्फूर्ति पाउनु हो, अरूले जे-जे गर्छन्, त्यसको नक्कल गर्नु मात्र होइन। (मर्कूस ६:३१; रोमी १२:२) येशू ख्रीष्टजस्तै तिनीहरू परमेश्वरको इच्छा गर्न रमाउँछन्।—भजन ३७:४; ४०:८.
साँचो मसीहीहरू सधैंभरि बाँच्न र सधैंभरि यहोवाको सेवा गर्न चाहन्छन्। कुनै-कुनै आशिष्हरूको लागि कसै-कसैले आशा गरेभन्दा लामो समय पर्खनुपर्दैमा ती प्रत्याशाहरू कम महत्त्वपूर्ण भएका छैनन्।
[पृष्ठ १५-मा भएको पेटी]
सार्वभौमिकताको विवाद
परमेश्वरले यति धेरै दुःखकष्ट किन हुन दिनुहुन्छ भनी बुझ्नको लागि हामीले सार्वभौमिकताको विवाद बुझ्नुपर्छ। सार्वभौमिकता भनेको के हो? यो सर्वोच्च अख्तियार हो।
यहोवा सृष्टिकर्ता हुनुभएकोले पृथ्वी र पृथ्वीमा बास गर्ने सबैमाथि शासन गर्ने अधिकार उहाँसित छ। तथापि, बाइबलले बताएअनुसार मानव इतिहासको सुरुमै यहोवाको सार्वभौमिकतामाथि प्रश्न खडा गरिएको थियो। यहोवाले अनावश्यक प्रतिबन्धहरू राख्नुभयो, परमेश्वरको व्यवस्था अवहेलना गरेर आफ्नै तरिकाले कामकुरा गरेको खण्डमा के हुनेछ भन्ने सन्दर्भमा उहाँले हाम्रो प्रथम मातापितासँग झूट बोल्नुभयो र तिनीहरू परमेश्वरबाट स्वाधीन भएर आफै शासन गरेको खण्डमा साँच्चै बेस हुनेछ भनेर शैतान अर्थात् दियाबलले दाबी गऱ्यो।—उत्पत्ति अध्याय २ र ३।
परमेश्वरले ती विद्रोहीहरूलाई त्यति नै खेर नाश गर्नुभएको भए उहाँको शक्तिको प्रदर्शन त हुने थियो तर जुन विवादहरू खडा भएका थिए, त्यसको जवाफ पाइने थिएन। यहोवाले ती विद्रोहीहरूलाई त्यति नै खेर नाश गर्नुको साटो उहाँले आफ्नो सम्पूर्ण बौद्धिक सृष्टिलाई विद्रोहको परिणाम कस्तो हुनेछ भनेर हेर्ने मौका दिनुभयो। यसले गर्दा दुःखकष्ट भोग्नुपरे तापनि अर्कोतिरबाट हेर्ने हो भने, हामीले जन्मने मौका पायौं।
यसबाहेक, आफूले ठूलो मूल्य चुकाएर यहोवाले उहाँको आज्ञा पालन गर्ने तथा उहाँको पुत्रको छुडौतीको बलिदानमा विश्वास राख्नेहरूलाई पाप र यसका परिणामहरूबाट मुक्त हुने तथा प्रमोदवनमा बाँच्ने मायालु प्रबन्ध मिलाउनुभयो। आवश्यक भएको खण्डमा उहाँले यसको लागि पुनरुत्थानद्वारा मरेकाहरूलाई बिउँताउन सक्नुहुन्छ।
यो विवाद सुल्झाउन समय दिंदा परमेश्वरका सेवकहरूले यहोवाको प्रेमप्रति सकारात्मक प्रतिक्रिया देखाउन र सबै परिस्थितिमा यहोवाप्रति आफ्नो निष्ठा प्रमाणित गर्न सक्षम छन् भनी प्रदर्शन गर्ने मौका पनि पाएका छन्। ब्रह्माण्डको नियमप्रति उचित आदर कायम राख्न ईश्वरीय सार्वभौमिकताको विवादको साथै मानव निष्ठासित सम्बन्धित विवाद समाधान गर्नु अत्यावश्यक छ। त्यसो नगरी साँचो शान्ति कहिल्यै सम्भव हुनेछैन। a
[फुटनोट]
a यी विवादहरू र त्यसको अर्थबारे यहोवाका साक्षीहरूद्वारा प्रकाशित एक मात्र साँचो परमेश्वरको उपासना गर्नुहोस् भन्ने पुस्तकमा विस्तृत छलफल गरिएको छ।
[चित्र]
संसारको राजनैतिक शासन प्रणालीको अन्त हुनेछ