तपाईंको जीवन कतातिर लम्कँदैछ?
तपाईंको जीवन कतातिर लम्कँदैछ?
• धेरै मानिसहरू आफ्नो दिनचर्यामा अति व्यस्त भएको हुँदा आफ्नो जीवन कतातिर लम्कँदैछ भन्ने कुरालाई त्यति ध्यान दिंदैनन्।
• बाइबलले हामीलाई भविष्यमा हुने अद्भुत घटनाहरूबारे सजग गराउँछ। यसले मानव संस्थाहरूमाथि आइपर्ने सन्निकट विश्वव्यापी उथलपुथलबारे पनि चेतावनी दिन्छ। बाइबलले बताउने कुराबाट लाभ उठाउन तथा विपत्तिबाट जोगिन सकारात्मक कदम चाल्नु जरुरी छ।
• बाइबलले के बताउँछ भनेर थाह भएको अनि त्यसलाई व्यवहारमा उतार्न प्रयास गर्ने तर जीवनको फिक्रीले गर्दा गलत दिशातर्फ धकेलिने मानिसहरू पनि छन्।
• तपाईंको जीवन जुन दिशातर्फ जाँदैछ के तपाईं त्यसमा खुसी हुनुहुन्छ? तपाईंले आफ्नो कामकुराको चाँजोपाँजो मिलाउनुहुँदा यसले तपाईंको जीवनका दीर्घकालीन लक्ष्यहरूमा कस्तो असर गर्नेछ भनेर के तपाईं विचार गर्नुहुन्छ?
[पृष्ठ ९-मा भएको पेटी/चित्र]
तपाईंको लागि सर्वमहत्त्वपूर्ण कुरा के हो?
तपाईं निम्न कुराहरूलाई कुन क्रममा राख्नुहुन्छ? क्रमानुसार राख्नुहोस्।
जीवनमा यी सबैको उचित स्थान छ तर तपाईंले छनौट गर्नुपर्दा क्रमशः पहिलो, दोस्रो, अनि त्यसपछि कुन-कुन पर्छन्?
․․․ मनोरञ्जन/सोख
․․․ मेरो जागिर वा पेसा
․․․ मेरो स्वास्थ्य
․․․ मेरो आनन्द
․․․ मेरो पति/पत्नी
․․․ मेरा आमाबाबु
․․․ मेरा छोराछोरी
․․․ एउटा सुन्दर घर, दामी लुगाहरू
․․․ मैले जे गरे पनि उत्कृष्ट हुनुपर्ने
․․․ परमेश्वरको उपासना
[पृष्ठ १०, ११-मा भएको पेटी]
के तपाईंका छनौटहरूले तपाईंले साँच्चै चाहेका कुराहरूतर्फ डोऱ्याइरहेका छन्?
यी प्रश्नहरू विचार गर्नुहोस्
मनोरञ्जन/सोख: के मैले रोजेको मनोरञ्जनले मलाई स्फूर्ति दिन्छ? के म आफ्नो स्वास्थ्यलाई खतरामा पार्ने वा मलाई जिन्दगीभर अपाङ्ग बनाउन सक्ने साहसिक खेलहरू भएको मनोरञ्जनमा भाग लिन्छु? के यो जिन्दगी बर्बाद गर्न सक्ने एकछिनको “रमाइलो” मात्र हो? मैले रोजेको मनोरञ्जन स्वास्थ्यकरै भए तापनि यसमा अचाक्ली समय बिताएको हुँदा के म अझ महत्त्वपूर्ण कुराहरू गर्न समय नै पाउँदिनँ?
मेरो जागिर वा पेसा: के यो मेरो जीवन धान्ने माध्यम हो वा म यसकै दास भइरहेको छु? के यसले मेरो स्वास्थ्यमा नराम्रो असर पारिरहेको छ? म कसरी समय बिताउन रुचाउँछु—जागिरमा ओभरटाइम गर्न वा मेरो पति/पत्नी वा छोराछोरीसित समय बिताउन? मेरो मालिकले मेरो अन्तस्करणलाई खलबल्याउने वा अक्सर आध्यात्मिक गतिविधिहरूमा भाग लिन फुर्सदै नहुने गरी कुनै काम गर्न लगाउँदा के म जागिर जाला भन्ने डरले त्यो काम गर्नेछु?
मेरो स्वास्थ्य: के म यसलाई हल्कासित लिन्छु वा यसको सुरक्षा गर्न सजग छु? के म सधैं आफ्नो स्वास्थ्यको मात्र कुरा गरिरहन्छु? के म आफ्नो परिवारप्रति चासो झल्कने ढङ्गमा मेरो स्वास्थ्यको हेरचाह गर्छु?
मेरो आनन्द: के यो मेरो प्रमुख चासो हो? के म यसलाई मेरो पति/पत्नी वा परिवारको आनन्दभन्दा बढी महत्त्वपूर्ण ठान्छु? के मैले आफ्नो व्यक्तिगत आनन्दको लागि गर्ने कुराहरूद्वारा म साँचो परमेश्वरको उपासक हुँ भनेर देखिन्छ?
मेरो पति/पत्नी: के म आफूलाई अनुकूल भएको बेला मात्र मेरो पति/पत्नीलाई आफ्नो सहयोगी ठान्छु? के म मेरो पति/पत्नी पनि मर्यादा पाउन योग्य व्यक्ति हो भनी सम्झँदै आदरपूर्वक व्यवहार गर्छु? के परमेश्वरप्रतिको विश्वासले मेरो पति/पत्नीप्रतिको व्यवहारलाई असर गर्छ?
मेरा आमाबाबु: केटाकेटी नै छु भने, के म आमाबाबुप्रति आज्ञाकारी छु—आदरपूर्वक जवाफ दिएर, घरमा अह्राएको कामकुरा गरेर, उहाँहरूले तोक्नुभएको समयमा घर फर्केर, उहाँहरूले जुन संगति र क्रियाकलाप विरुद्ध चेतावनी दिनुहुन्छ, त्यसबाट अलग्गै रहेर आज्ञाकारिता देखाउँछु? वयस्क भइसकेको छु भने के म आदरपूर्वक आमाबाबुको कुरा सुन्छु अनि चाहिएको बेला उपयुक्त मदत दिन्छु? के म आफ्नो सुविधाअनुसार उहाँहरूसित व्यवहार गर्छु वा परमेश्वरको वचनको सल्लाहअनुसार गर्छु?
मेरा छोराछोरी: के म आफ्ना छोराछोरीलाई सही नैतिक मूल्यमान्यताहरू सिकाउनुपर्ने जिम्मेवारी महसुस गर्छु वा त्यो सिकाउने काम स्कूलकै जिम्मामा छोडिदिन्छु? के म आफ्ना छोराछोरीसित समय बिताउँछु वा खेलौना, टिभी वा कम्प्युटरले नै तिनीहरूलाई भुलाओस् भन्ने आशा गर्छु? के म आफ्ना छोराछोरीलाई परमेश्वरका सम्झौटाअनुसार एकरूपले अनुशासन दिन्छु वा खास गरी मलाई रिस उठेको बेला मात्र अनुशासन दिने गर्छु?
एउटा सुन्दर घर, दामी लुगाहरू: म आफ्नो बाह्य रूपरङ र सम्पत्तिमा किन ध्यान दिन्छु—छिमेकीहरूलाई प्रभाव पार्न? परिवारको हितको लागि? परमेश्वरको उपासक भएकोले?
मैले जे गरे पनि उत्कृष्ट हुनुपर्ने: के मलाई कामकुरा एकदमै राम्रोसित गर्नुपर्छ जस्तो लाग्छ? के म सबैभन्दा राम्रो हुने प्रयास गर्छु? अरू कसैले मैले भन्दा राम्रो गर्दा के म खिस्रिक्क हुन्छु?
परमेश्वरको उपासना: के म मेरो पति/पत्नी, मेरा छोराछोरी, मेरा आमाबाबु वा मेरो मालिकको अनुमोदनभन्दा परमेश्वरको अनुमोदनलाई बढी महत्त्वपूर्ण ठान्छु? आरामदायी जीवन बिताउनको लागि के म परमेश्वरको सेवालाई दोस्रो स्थानमा राख्न तयार हुन्छु?
बाइबलको सल्लाहलाई होसियारीपूर्वक विचार गर्नुहोस्
तपाईंको जीवनमा परमेश्वरको उपासना कत्तिको महत्त्वपूर्ण छ?
उपदेशक १२:१३: “परमेश्वरको भय राख्, र उहाँका आज्ञा पालन गर्। योबाहेक मानिसले गर्नुपर्ने अरू केही छैन।”
आफैलाई सोध्नुहोस्: म यस्तै दृष्टिकोण राख्छु भनेर के मेरो जीवनले देखाउँछ? के म परमेश्वरको आज्ञा पालन गर्दै घरमा, काममा वा स्कूलमा आफ्नो जिम्मेवारी पूरा गर्छु? अथवा परमेश्वरको लागि समय छुट्ट्याउने वा नछुट्ट्याउने भन्ने कुरा के मेरा अन्य गतिविधि वा जीवनको दौडधूपमा निर्भर हुन्छ?
परमेश्वरसित तपाईंको कस्तो सम्बन्ध छ?
हितोपदेश ३:५, ६: “तेरो सारा भरोसा परमेश्वरमा राख्, र तेरो आफ्नै समझ-शक्तिमा भरोसा नगर्। आफ्नो सबै चालमा उहाँलाई सम्झी र उहाँले तेरा बाटोहरू सुगम तुल्याइदिनुहुनेछ।”
मत्ती ४:१०: “तैंले परमप्रभु [ “यहोवा,” NW ] आफ्ना परमेश्वरलाई दण्डवत् गर्नू, औ उहाँको मात्र सेवा गर्नू।”
आफैलाई सोध्नुहोस्: के म परमेश्वरबारे यस्तै महसुस गर्छु? मेरो दिनचर्या र सङ्कट आइपर्दा मेरो व्यवहारले के त्यस्तो भरोसा र भक्ति देखाउँछ?
बाइबल पढ्नु र अध्ययन गर्नु तपाईंको लागि कत्तिको महत्त्वपूर्ण छ?
यूहन्ना १७:३: “अनन्त जीवन यही हो, कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्वरलाई, र जसलाई तपाईंले पठाउनुभयो, अर्थात् येशू ख्रीष्टलाई चिनून् [ “ज्ञान लिऊन्,” NW ]।”
आफैलाई सोध्नुहोस्: परमेश्वरको वचन पढ्ने तथा त्यसमा गहिरो मनन गर्ने कुरालाई मैले जुन स्थान दिएको छु, के त्यसले म उक्त कुरा साँच्चै विश्वास गर्छु भनेर देखाउँछ?
मसीही मण्डलीका सभाहरूमा उपस्थित हुनु तपाईंको लागि कत्तिको महत्त्वपूर्ण छ?
हिब्रू १०:२४, २५: “प्रेम र सुकर्ममा उत्तेजित गराएर एउटाले अर्कोको विचार राख्ने गरौं। . . . हामी एक ठाउँमा भेला हुनालाई नछोड़ौं। तर दिन नजीक नजीक आईपुगेको तिमीहरूले देखेकै हुनाले . . . झन् बढ़ता . . . गरौं।”
भजन १२२:१: “जब तिनीहरूले मलाई भने, ‘परमप्रभुको भवनमा जाऔं।’ तब म रमाएँ।”
आफैलाई सोध्नुहोस्: के मेरो जीवन शैलीले परमेश्वरको वचनमा पाइने यो निर्देशनप्रति मूल्याङ्कन देखाउँछ? अन्य कुरालाई महत्त्व दिएको हुँदा के मैले गत महिना कुनै मसीही सभाहरू छुटाएँ?
के तपाईं परमेश्वर र उहाँको उद्देश्यबारे अरूलाई बताउने कार्यमा जोसका साथ भाग लिनुहुन्छ?
मत्ती २४:१४: “राज्यको यो सुसमाचार सारा संसारमा . . . साक्षीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त हुनेछ।”
मत्ती २८:१९, २०: “यसकारण गएर सबै देशका जातिहरूलाई चेला बनाओ, . . . जे जे मैले तिमीहरूलाई आज्ञा गरें, तिनीहरूलाई ती सबै गर्नालाई सिकाओ।”
भजन ९६:२: “परमप्रभुको निम्ति गाओ, उहाँको नाउँलाई धन्य भन। दिनहुँ उहाँले दिनुभएको उद्धार प्रचार गर।”
आफैलाई सोध्नुहोस्: यो गतिविधिलाई जुन स्थानमा राख्नुपर्ने हो के मैले त्यही स्थानमा राखेको छु? के यसमा मेरो सहभागिताले हामी कत्तिको गम्भीर समयमा बाँचिरहेका छौं भन्ने मेरो विश्वस्तता झल्काउँछ?