सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“तिनीहरूले थाहै पाएनथे”

“तिनीहरूले थाहै पाएनथे”

“तिनीहरूले थाहै पाएनथे”

चेतावनीहरूलाई हल्कासित लिंदा परिणाम विपत्तिजनक हुन सक्छ।

अस्ट्रेलियाको डार्विन सहर १९७४ को बिदाको रमझमको तयारीमा व्यस्त भएको बेला आउँदै गरेको आँधीबारे चेतावनी दिन साइरन बज्न थाल्यो। तर आँधीले डार्विनमा कुनै क्षति नपुऱ्‍याएको लगभग ३० वर्ष भइसकेको थियो। अहिले आएर चाहिं किन नि? तुफानी बतासले घरभित्र ओत लागेर बसेका मानिसहरूको घरको छतलाई उडाएको र भित्ताहरू भत्काएको नदेखुन्जेल त्यहाँका प्रायजसो बासिन्दाहरूले सन्‍निकट खतरालाई त्यति गम्भीर ठानेनन्‌। भोलिपल्ट बिहानसम्ममा त सहर तहसनहस भइसकेको थियो।

कोलम्बियामा नोभेम्बर १९८५ मा एउटा ज्वालामुखी विस्फोटन भयो। पग्लिएको हिउँ र बरफबाट निस्केको लेदोले आर्मेरो सहरका २०,००० भन्दा बढी बासिन्दाहरूलाई पुऱ्‍यो। के कुनै अग्रिम चेतावनी दिइएको थिएन? यो पहाड हल्लिन थालेको महिनौं भइसकेको थियो। तथापि, ज्वालामुखीको छेउछाउमा बस्ने बानी परिसकेको हुँदा आर्मेरोका प्रायजसो मानिसहरू त्यति चिन्तित थिएनन्‌। पदाधिकारीहरूले चाँडै विपत्ति आइपर्नेछ भन्‍ने चेतावनी पाए तर तिनीहरूले सर्वसाधारणलाई चेतावनी दिन केही गरेनन्‌। जनसाधारणलाई चिन्तित हुनु पर्दैन भनी रेडियोमार्फत घोषणाहरू गरिए। चर्चमा राखिएको लाउडस्पिकरले मानिसहरूलाई शान्त रहन आग्रह गऱ्‍यो। त्यो साँझ दुइटा भयानक विस्फोटन भए। के तपाईं आफ्नो सरसम्पत्ति छोडेर भाग्नुहुने थियो? त्यतिबेला एकदमै ढिलो हुनुअघि थोरै मानिसहरू मात्र त्यहाँबाट भागे।

कुन इलाकामा भूकम्प जानेछ भनेर भूगर्भशास्त्रीहरूको पूर्वानुमान अक्सर सही हुन्छ। तर तिनीहरू त्यो कहिले जानेछ भनेर ठ्याक्कै तोक्न भने प्राय सक्दैनन्‌। सन्‌ १९९९ मा संसारभरि गएका भूकम्पहरूले लगभग २०,००० मानिसहरूको ज्यान लियो। ती मर्नेहरूमध्ये धेरैले आफूमाथि यस्तो विपत्ति आइपर्ला भनेर कहिल्यै सोचेका थिएनन्‌।

परमेश्‍वर स्वयम्‌ले दिनुहुने चेतावनीहरूप्रति तपाईं कस्तो प्रतिक्रिया देखाउनुहुन्छ?

बाइबलले आखिरी दिनलाई चिनाउने घटनाहरूबारे धेरै अघि नै सुस्पष्ट विवरण दिएको थियो। त्यस सन्दर्भमा बाइबलले हामीलाई “नूहको दिन” विचार गर्न आग्रह गरेको छ। “जलप्रलयअघिका दिनमा” मानिसहरू त्यतिबेला व्याप्त हिंसाबारे अवश्‍य चिन्तित थिए तैपनि तिनीहरू आफ्नो सामान्य दिनचर्यामै व्यस्त थिए। परमेश्‍वरले आफ्नो सेवक नूहमार्फत दिनुभएको चेतावनीको सन्दर्भमा भने, “जलप्रलय आएर सबलाई स्वात्तै नलगुञ्जेल तिनीहरूले थाहै पाएनथे।” (मत्ती २४:३७-३९) के तपाईंले त्यो चेतावनी पालन गर्नुहुने थियो? के तपाईं अहिले पालन गर्नुहुन्छ?

तपाईं मृत सागरको नजिकै सदोममा अब्राहामका भतिजा लूतको समयमा जीवित हुनुभएको भए नि? त्यो सहरको छेउछाउको इलाका प्रमोदवनजस्तै थियो। सहर संवृद्ध थियो। मानिसहरू बेफिक्री जीवन बिताइरहेका थिए। लूतको दिनमा मानिसहरू “खाँदैथिए, पिउँदैथिए, किनबेच गर्दैथिए, रोप्तैथिए, बनाउँदैथिए।” तिनीहरू बाँचिरहेको समाज घोर अनैतिकताले पनि भरिएको थियो। लूतले ती खराब प्रचलनहरूबारे चेतावनी दिंदा के तपाईंले त्यो पालन गर्नुहुने थियो? परमेश्‍वरले सदोम सहरलाई विनाश गर्ने निधो गरिसक्नुभयो भनी लूतले बताउँदा के तपाईंले सुन्‍नुहुने थियो? वा लूतका सम्भाव्य जुवाइँहरूलाई जस्तै तपाईंलाई पनि ठट्टा गरेजस्तो लाग्ने थियो? के तपाईं पनि लूतकी पत्नीजस्तै त्यहाँबाट भाग्ने तर पछि फेरि फर्कनुहुने थियो? अरूले यो चेतावनी गम्भीरतापूर्वक नलिए तापनि लूत सदोमबाट निस्केको दिन “आकाशबाट आगो र गन्धक वर्षेर सबैलाई नष्ट पाऱ्‍यो।”—लूका १७:२८, २९.

आज हाम्रो समयमा पनि अधिकांशले वास्तै गर्दैनन्‌। तर यी उदाहरणहरू हामीलाई चेतावनी दिन र हामीलाई जागा रहो! भनी प्रोत्साहन दिनको लागि परमेश्‍वरको वचनमा सञ्चय गरेर राखिएका छन्‌।

[पृष्ठ २२-मा भएको पेटी/चित्र]

के विश्‍वव्यापी जलप्रलय साँच्चै भएको थियो?

थुप्रै आलोचकहरू भएको थिएन भन्छन्‌। तर बाइबल भएको थियो भन्छ।

येशू ख्रीष्ट स्वयम्‌ले यसबारे बताउनुभयो अनि यो घटना हुँदा उहाँ जीवित हुनुहुन्थ्यो, उहाँले स्वर्गबाट हेरिरहनुभएको थियो।

[पृष्ठ २३-मा भएको पेटी/चित्र]

के सदोम र गमोराको विनाश साँच्चै भएको थियो?

पुरातत्त्वले यो घटना पुष्टि गरेको छ।

संसारको इतिहासले यसबारे उल्लेख गरेको छ।

येशू ख्रीष्टले त्यस घटनाको सत्यता प्रमाणित गर्नुभयो अनि त्यस घटनाबारे बाइबलको १४ वटा पुस्तकमा उल्लेख गरिएको छ।