परमेश्वरले प्रतिज्ञा गर्नुभएको नयाँ संसार
परमेश्वरले प्रतिज्ञा गर्नुभएको नयाँ संसार
परमेश्वरको लिखित वचन बाइबलले हामीलाई यसरी आशा दिन्छ: “उहाँको प्रतिज्ञाबमोजिम हामी नयाँ स्वर्ग र नयाँ पृथ्वीको बाटो हेर्छौं, जसमा धार्मिकताले बास गर्छ।”—२ पत्रुस ३:१३.
“नयाँ स्वर्ग” के हो? बाइबलले स्वर्गलाई शासनसित जोडेको छ। (प्रेरित ७:४९) “नयाँ स्वर्ग” भनेको पृथ्वीमाथि शासन गर्ने नयाँ सरकार हो। यसलाई नयाँ भनिएको छ किनभने यसले वर्तमान शासन प्रणालीलाई प्रतिस्थापन गर्नेछ; यो परमेश्वरको उद्देश्य पूरा गर्ने सन्दर्भमा पनि एउटा नयाँ कदम हो। येशूले हामीलाई प्रार्थना गर्न सिकाउनुभएको राज्य यही हो। (मत्ती ६:१०) यसको मूल परमेश्वर हुनुहुन्छ र उहाँ स्वर्गमा बास गर्नुहुने हुनाले यसलाई “स्वर्गको राज्य” भनिन्छ।—मत्ती ७:२१.
“नयाँ पृथ्वी” के हो? यो एउटा नयाँ ग्रह होइन किनभने पृथ्वी सदाको लागि आबाद हुनेछ भनेर बाइबलले स्पष्टसित बताउँछ। “नयाँ पृथ्वी” भनेको नयाँ मानव समाज हो। दुष्ट सबै हटाइने हुँदा यो नयाँ हुनेछ। (हितोपदेश २:२१, २२) त्यतिबेला बाँच्ने सबैले सृष्टिकर्ताको आदर गर्नेछन् र उहाँको आज्ञाकारी हुनेछन् अनि उहाँले चाहनुभएअनुसार जीवन बिताउनेछन्। (भजन २२:२७) उहाँले चाहनुहुने कुराहरू के-के हुन् भनी सिक्न र अहिले नै त्यसअनुसार आफ्नो जीवन बिताउन सबै जातिका मानिसहरूलाई निमन्त्रणा दिइँदैछ। के तपाईंले त्यसो गरिरहनुभएको छ?
परमेश्वरको नयाँ संसारमा उहाँको शासनलाई सबैले आदर गर्नेछन्। के परमेश्वरप्रतिको प्रेमले तपाईंलाई उहाँप्रति आज्ञाकारी हुन उत्प्रेरित गर्छ? (१ यूहन्ना ५:३) के त्यो तपाईंको घर, काम गर्ने ठाउँ वा स्कूल र तपाईंको आफ्नो जीवन शैलीमा प्रस्ट हुन्छ?
त्यो नयाँ संसारमा मानव समाज साँचो परमेश्वरको उपासनामा एकताबद्ध हुनेछ। के तपाईं स्वर्ग र पृथ्वीको सृष्टिकर्ताको उपासना गर्नुहुन्छ? के तपाईंले गर्ने उपासनाले सबै राष्ट्र, सबै कुल र सबै भाषाका सँगी उपासकहरूसित तपाईंलाई साँच्चै एकतामा बाँध्छ?—भजन ८६:९, १०; यशैया २:२-४; सपन्याह ३:९.
[पृष्ठ १७-मा भएको पेटी]
कुराहरू प्रतिज्ञा गर्नुहुने परमेश्वर
उहाँ आकाश र पृथ्वीको सृष्टिकर्ता हुनुहुन्छ। “एकमात्र सत्य परमेश्वर” भनेर येशू ख्रीष्टले चिनाउनुभएको उहाँ नै हुनुहुन्छ।—यूहन्ना १७:३.
अधिकांश मानिसहरू आफैले बनाएका देवताहरूको आदर गर्छन्। लाखौंले निर्जीव मूर्तिहरूलाई ढोग्छन्। अरूले भने मानव संगठन, भौतिकवादी दर्शन वा आफ्नै चाहनाहरूको गुणगान गर्छन्। बाइबलअनुसारै परमेश्वरको उपासना गरेको दाबी गर्नेहरूले समेत बाइबलले “साँचो परमेश्वर” भनेर जसलाई चिनाएको छ, उहाँको नाउँको आदर गर्दैनन्।—व्यवस्था ४:३५.
आफ्नो विषयमा सृष्टिकर्ता यसो भन्नुहुन्छ: “म परमप्रभु [“यहोवा,” NW] हुँ। मेरो नाउँ त्यही हो।” (यशैया ४२:५, ८) मौलिक भाषामा लेखिएको बाइबलमा यो नाउँ लगभग ७,००० चोटि प्रयोग गरिएको छ। येशू ख्रीष्टले आफ्ना अनुयायीहरूलाई यसरी प्रार्थना गर्न सिकाउनुभयो: “हे हाम्रा स्वर्गमा बस्ने पिता, तपाईंको नाउँ पवित्र गरिओस्।”—मत्ती ६:९.
साँचो परमेश्वरको व्यक्तित्व कस्तो छ? “टिठाउनमा भरिपूर्ण र दयालु . . . , रीस गर्नमा ढीलो, र कृपा र सत्यतामा प्रशस्त” अनि जानाजानी उहाँका आज्ञा तोड्नेहरूलाई कुनै हालतमा सजायबाट नजोगाउने परमेश्वर भनेर उहाँ आफूलाई वर्णन गर्नुहुन्छ। (प्रस्थान ३४:६, ७) मानवजातिसित उहाँले गर्नुभएको व्यवहारको इतिहासले उक्त विवरणको पुष्टि गर्छ।
त्यो नाउँ र त्यो नाउँले प्रतिनिधित्व गर्ने परमेश्वरलाई पवित्र पार्नुपर्छ वा पवित्र ठान्नुपर्छ। सृष्टिकर्ता र विश्वव्यापी सार्वभौमको हैसियतमा उहाँ हाम्रो आज्ञाकारिता र हाम्रो सम्पूर्ण उपासनाको योग्य हुनुहुन्छ। के तपाईंले व्यक्तिगत तवरमा यी कुराहरू उहाँलाई दिनुहुन्छ?
[पृष्ठ १८-मा भएको पेटी/चित्र]
“नयाँ स्वर्ग र नयाँ पृथ्वी[ले]” कस्ता परिवर्तनहरू ल्याउनेछ?
पृथ्वी प्रमोदवनमा परिणत हुनेछ लूका २३:४३, NW
सबै जाति, सबै कुल र सबै भाषाका मानिसहरू यूहन्ना १३:३५;
प्रेममा एकताबद्ध भएको विश्वव्यापी समाज प्रकाश ७:९, १०
विश्वभरि शान्ति, सबैका लागि भजन ३७:१०, ११;
साँचो सुरक्षा मीका ४:३, ४
सन्तोषजनक काम, प्रशस्त खानेकुरा यशैया २५:६; ६५:१७, २१-२३
बिरामी, शोक र मृत्यु हटाइनेछ यशैया २५:८; प्रकाश २१:१, ४
साँचो परमेश्वरको उपासनामा एकताबद्ध संसार प्रकाश १५:३, ४
[पृष्ठ १९-मा भएको पेटी/चित्र]
के तपाईंले लाभ उठाउनुहुनेछ?
परमेश्वर झूट बोल्नुहुन्न!—तीतस १:२.
यहोवा यस्तो घोषणा गर्नुहुन्छ: “मेरो वचन . . . मकहाँ व्यर्थै फर्कनेछैन, तर मैले इच्छा गरेको काम त्यसले पूरा गर्नेछ, र जुन कामको निम्ति म त्यसलाई पठाउँछु, त्यसमा त्यो सफल हुनेछ।”—यशैया ५५:११.
यहोवाले “नयाँ स्वर्ग र नयाँ पृथ्वी” सृजने काम थालिसक्नुभयो। स्वर्गीय सरकारले आफ्नो काम थालिसक्यो। “नयाँ पृथ्वीको” जग बसालिसक्यो।
“नयाँ स्वर्ग र नयाँ पृथ्वी[ले]” मानवजातिको लागि गर्ने केही अद्भुत कुराहरूबारे बताइसकेपछि विश्वव्यापी सार्वभौम परमेश्वर स्वयम्ले भन्नुभएको कुरा उद्धरण गर्दै प्रकाशको पुस्तक यसो भन्छ: “हेर, म सब कुरा नयाँ तुल्याउँछु।” साथै, उहाँ यसो भन्नुहुन्छ: “लेख, किनकि यी कुराहरू विश्वासयोग्य र सत्य छन्।”—प्रकाश २१:१, ५.
त्यसैले यो महत्त्वपूर्ण प्रश्न खडा हुन्छ, “नयाँ स्वर्ग” अन्तर्गत त्यो “नयाँ पृथ्वी[को]” भाग हुन योग्य ठहरिनको लागि के हामीले व्यक्तिगत तवरमा आवश्यक छाँटकाँट गरिरहेका छौं?