सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“प्रलोभनमा नपर”

“प्रलोभनमा नपर”

“प्रलोभनमा नपर”

“जागा रह, र प्रार्थना गर, र परीक्षामा [ “प्रलोभनमा,” NW] नपर।”—मत्ती २६:४१.

 दबाब तीव्र थियो—यस्तो दबाब उहाँले पहिला कहिल्यै अनुभव गर्नुभएको थिएन। परमेश्‍वरको पुत्र येशू ख्रीष्ट आफ्नो पार्थिव जीवनको अन्तको नजिकै हुनुहुन्थ्यो। येशूलाई आफू अब चाँडै गिरफ्तार हुनेछु, मृत्युको लागि दोषी ठहऱ्‍याइनेछु अनि शासनाको खम्बामा झुन्ड्याइनेछु भनेर थाह थियो। उहाँको हरेक निर्णय र काम, उहाँको पिताको नाउँमा झल्कनेछ भनेर येशूलाई थाह थियो। मानिसजातिको भावी जीवनका प्रत्याशाहरू अब निर्णायक घडीमा आइपुगेको छ भनेर पनि उहाँलाई थाह थियो। यी सबै दबाब आइपर्दा उहाँले के गर्नुभयो?

येशू आफ्ना चेलाहरूसित गेतसमनीको बगैंचामा जानुभयो। यो येशूलाई मन पर्ने ठाउँ थियो। त्यहाँ येशू आफ्ना चेलाहरूभन्दा अलि पर जानुभयो। एक्लै हुँदा उहाँले स्वर्गमा हुनुहुने आफ्नो पितालाई मन खोलेर व्यग्र प्रार्थना गर्दै मदत माग्नुभयो अनि एक चोटि होइन, तीन-तीन चोटि प्रार्थना गर्नुभयो। सिद्ध हुनुभए तापनि येशूलाई आफ्नै बल-बर्कतमा यी दबाबहरूको सामना गर्न सक्छु जस्तो लागेन।—मत्ती २६:३६-४४.

आज, हामी पनि दबाबहरूको सामना गर्छौं। हामी यस दुष्ट रीतिरिवाजको आखिरी दिनमा बाँचिरहेका छौं भन्‍ने प्रमाणहरू हामीले यस पुस्तिकाको सुरुतिर विचार गऱ्‍यौं। शैतानको संसारका प्रलोभन तथा दबाबहरू बढ्‌दैछन्‌। साँचो परमेश्‍वरको उपासना गरेको दाबी गर्ने हामी प्रत्येकका निर्णय तथा कामहरू उहाँको नाउँमा झल्कन्छ अनि उहाँको नयाँ संसारमा जीवन पाउने हाम्रा व्यक्‍तिगत प्रत्याशाहरूमा त्यसले गहिरो असर पार्छ। हामी यहोवालाई प्रेम गर्छौं। हामी ‘अन्तसम्म स्थिर रहन’ चाहन्छौं र त्यो, हाम्रो जीवनको अन्त वा यस रीतिरिवाजको अन्त जुन पनि हुन सक्छ। (मत्ती २४:१३) तर हामी कसरी आफ्नो अविलम्बी भाव कायम राख्न अनि जागा रहन सक्छौं?

त्यतिबेला अनि अहिलेका चेलाहरूमाथि पनि दबाब आइपर्नेछ भनी थाह भएको हुँदा येशूले यस्तो आग्रह गर्नुभयो: “जागा रह, र प्रार्थना गर, र परीक्षामा [“प्रलोभनमा,” NW] नपर।” (मत्ती २६:४१) यी शब्दहरूले आज हाम्रो लागि कस्तो अर्थ राख्छ? तपाईं कस्तो प्रलोभनको सामना गर्नुहुन्छ? अनि तपाईं कसरी ‘जागा रहन’ सक्नुहुन्छ?

के गर्ने प्रलोभन?

हामी सबैले “शैतानको पासो[सामु]” हार स्वीकार्न लगाउने प्रलोभनहरू दिनहुँ सामना गर्छौं। (२ तिमोथी २:२६) शैतानले विशेष गरी यहोवाका उपासकहरूलाई आफ्नो तारो बनाएको छ भनेर बाइबल चेतावनी दिन्छ। (१ पत्रुस ५:८; प्रकाश १२:१२, १७) किन? त्यसले सधैं हाम्रो ज्यानै लिन त खोज्दैन। हामी परमेश्‍वरप्रति विश्‍वासी भएर मऱ्‍यौं भने शैतान विजयी हुनेछैन। यहोवाले आफ्नो तोकिएको समयमा मरेकाहरू सबैको पुनरुत्थान गर्नुहुनेछ भनी शैतानलाई थाह छ।—लूका २०:३७, ३८.

शैतान हाम्रो वर्तमान जीवनभन्दा अझ बहुमूल्य कुरा नाश गर्न चाहन्छ—त्यो हो, परमेश्‍वरप्रतिको हाम्रो निष्ठा। हामीलाई यहोवाको उपासनाबाट बहकाउन सक्छु भनी प्रमाणित गर्न शैतान लागिपरेको छ। यसर्थ, हामीलाई अविश्‍वासी हुन उक्साउन, सुसमाचारको प्रचारकार्य बन्द गराउन वा मसीही सिद्धान्तहरू त्याग्न लगाउन सफल भएको खण्डमा शैतानको लागि त्यो ठूलो विजय हुनेछ! (एफिसी ६:११-१३) त्यसकारण त्यो “परीक्षा गर्नेले [“प्रलोभकले,” NW]” हाम्रोसामु अनेकन्‌ प्रलोभनहरू बिछ्याउँछ।—मत्ती ४:३.

शैतानका धूर्त “युक्‍तिहरू” अनेकौं छन्‌। (एफिसी ६:११) त्यसले हामीलाई भौतिकवाद, डर, शङ्‌का वा सुखविलास खोज्नेजस्ता कुराहरूले लोभ्याउन सक्छ। तर त्यसको एउटा सबैभन्दा प्रभावकारी हतियार निराशा हो। अरूको अवस्थाको फाइदा उठाउन खप्पिस त्यसलाई कुन कुरा थाह छ भने, दिक्दारीले हामीलाई आध्यात्मिक तवरमा कमजोर बनाएर पासोमा फस्न सक्ने अवस्थामा पुऱ्‍याउन सक्छ। (हितोपदेश २४:१०) त्यसकारण हामीले विशेष गरी भावनात्वक तवरमा “चोट पाएको” बेला त्यसले हामीलाई लत्तो छोड्‌ने प्रलोभनमा पार्छ।—भजन ३८:८.

हामी आखिरी दिनको सँघारमा पुग्दा निराश हुने कारण बढेजस्तो देखिन्छ अनि हामी त्यसबाट मुक्‍त छैनौं। (“निराश पार्ने केही कारणहरू” भन्‍ने पेटी हेर्नुहोस्‌।) कारण जेसुकै होस्‌, निराशाले हाम्रो बललाई कमजोर बनाउन सक्छ। तपाईं शारीरिक, मानसिक र भावनात्मक तवरमा लखतरान हुनुभएको छ भने बाइबल अध्ययन गर्न, मसीही सभाहरूमा उपस्थित हुन अनि सेवकाईमा भाग लिन “समयको अवसर विचार गरेर” आध्यात्मिक कुराहरूको लागि समय किन्‍नु कठिन हुन सक्छ। (एफिसी ५:१५, १६) नबिर्सनुहोस्‌, त्यो महाप्रलोभक तपाईंले लत्तो छोडेको चाहन्छ। तर यो ढिला-सुस्ती गर्ने वा हामी बाँचिरहेको समयबारे अविलम्बी भाव गुमाउने समय होइन! (लूका २१:३४-३६) तपाईं कसरी प्रलोभनको प्रतिरोध गरेर जागा रहन सक्नुहुन्छ? मदतकारी हुन सक्ने चारवटा सुझाव विचार गर्नुहोस्‌।

‘प्रार्थना गरिरहनुहोस्‌’

प्रार्थनाद्वारा यहोवामा भर पर्नुहोस्‌। गेतसमनीको बगैंचामा येशूको उदाहरणलाई सम्झनुहोस्‌। तीव्र भावनात्मक दबाबको बेला उहाँले के गर्नुभयो? उहाँले मदतको लागि यहोवालाई पुकार्नुभयो अनि उहाँले यस्तो व्यग्र प्रार्थना गर्नुभयो कि “उहाँको पसीना रगतका ठूला ठूला थोप्लाजस्तै भूइँमा खसिरहेका थिए।” (लूका २२:४४) यसबारे सोच्नुहोस्‌। येशूले शैतानलाई राम्ररी चिन्‍नुभएको थियो। शैतानले परमेश्‍वरका सेवकहरूलाई पासोमा फसाउन प्रयोग गर्ने सबै प्रलोभनहरू येशूले स्वर्गबाट हेरिसक्नुभएको थियो। यद्यपि, त्यो महाप्रलोभकले जस्तोसुकै प्रलोभन ल्याए तापनि त्यो त बायाँ हातको खेल हुनेछ भन्‍ने सोचाइ येशूले राख्नुभएन। परमेश्‍वरको सिद्ध पुत्रले त ईश्‍वरीय मदत र बलको लागि प्रार्थना गर्नुपर्ने आवश्‍यकता महसुस गर्नुभयो भने हामीले झन्‌ कत्ति बढ्‌ता महसुस गर्नुपर्छ!—१ पत्रुस २:२१.

१० यो कुरा पनि नबिर्सनुहोस्‌, येशूले आफ्ना चेलाहरूलाई ‘प्रार्थना गरिरह’ भनेर आग्रह गरिसक्नुभएपछि यसो भन्‍नुभयो: “आत्मा ता साँच्चै तयार छ, तर शरीर दुर्बल छ।” (मत्ती २६:४१) येशूले कसको शरीरलाई सङ्‌केत गरिरहनुभएको थियो? आफ्नो त पक्कै होइन; उहाँको सिद्ध मानव शरीरमा केही कमजोरी थिएन। (१ पत्रुस २:२२) तर उहाँका चेलाहरूको अवस्था भने फरक थियो। जन्मजात असिद्धता र पापी झुकावहरूले गर्दा विशेष गरी प्रलोभनहरूको प्रतिरोध गर्न तिनीहरूलाई मदत चाहिने थियो। (रोमी ७:२१-२४) त्यसैकारण उहाँले तिनीहरूलाई र पछि आउने सबै मसीहीहरूलाई प्रलोभनको सामना गर्नुपर्दा मदतको लागि प्रार्थना गर्न आग्रह गर्नुभयो। (मत्ती ६:१३) यहोवाले त्यस्ता प्रार्थनाहरूको जवाफ दिनुहुन्छ। (भजन ६५:२) कसरी? कम्तीमा दुइटा तरिकामा।

११ सर्वप्रथम, परमेश्‍वरले हामीलाई प्रलोभनहरू चिन्‍ने मदत दिनुहुन्छ। शैतानका प्रलोभनहरू अँध्यारो गल्लीमा बिछ्याइएका पासोहरूजस्तै हुन्‌। तपाईंले ती देख्नुभएन भने पासोमा पर्न सक्नुहुन्छ। बाइबल र बाइबल आधारित प्रकाशनहरूद्वारा यहोवाले शैतानका पासोहरू उदाङ्‌ग पार्नुहुन्छ र यसबाट हामी प्रलोभनहरूमा नफस्ने मदत पाउँछौं। वर्षौंको दौडान, मुद्रित साहित्य तथा अधिवेशन र सम्मेलन कार्यक्रमहरूले मानिसको डर, यौन अनैतिकता, भौतिकवाद र अन्य शैतानी प्रलोभनजस्ता खतराहरूबारे बारम्बार सतर्क गराएको छ। (हितोपदेश २९:२५; १ कोरिन्थी १०:८-११; १ तिमोथी ६:९, १०) शैतानका युक्‍तिहरूबारे हामीलाई सचेत गराउनुभएकोमा के तपाईं यहोवाप्रति कृतज्ञ हुनुहुन्‍न र? (२ कोरिन्थी २:११) यी सबै चेतावनीहरू, प्रलोभनहरूको प्रतिरोध गर्न तपाईंले मदत माग्नुभएका प्रार्थनाहरूका जवाफ हुन्‌।

१२ दोस्रो, यहोवाले प्रलोभन सहने बल दिनुभएर हाम्रा प्रार्थनाहरूको जवाफ दिनुहुन्छ। उहाँको वचनले यसो भन्छ: “परमेश्‍वर[ले] . . . तिमीहरूलाई तिमीहरूका शक्‍तिदेखि बाहिरको परीक्षामा पर्न दिनुहुनेछैन, तर तिमीहरूले सहनसकोस्‌ भनेर परीक्षाको साथसाथै उम्कने बाटो पनि दिनुहुन्छ।” (१ कोरिन्थी १०:१३) हामीले परमेश्‍वरमा भरोसा राखिरह्‍यौं भने प्रलोभनको प्रतिरोध गर्नको लागि आध्यात्मिक बल नै नहुने किसिमले कहिल्यै विचलित हुन दिनुहुनेछैन। उहाँले कसरी हाम्रो लागि “उम्कने बाटो” दिनुहुन्छ? ‘उहाँसँग माग्नेहरूलाई पवित्र आत्मा दिएर।’ (लूका ११:१३) त्यो आत्माले सही कुरा गर्ने हाम्रो सङ्‌कल्पलाई अझ सुदृढ बनाउन अनि बुद्धिमानी ढङ्‌गमा निर्णयहरू गर्नको लागि बाइबल सिद्धान्तहरू सम्झन मदत गर्न सक्छ। (यूहन्‍ना १४:२६, याकूब १:५, ६) यसले हामीलाई गलत झुकावहरूमाथि विजयी हुन चाहिने अत्यावश्‍यक गुणहरू प्रकट गर्न मदत गर्न सक्छ। (गलाती ५:२२, २३) परमेश्‍वरको आत्माले सँगी विश्‍वासीहरूलाई हाम्रो लागि “सुदृढ पार्ने मानिसहरू” बन्‍नसमेत उत्प्रेरित गर्न सक्छ। (कलस्सी ४:११, NW) मदतको लागि प्रार्थना गर्दा यहोवाले त्यस्तो मायालु ढङ्‌गमा जवाफ दिनुहुँदा के तपाईं कृतज्ञ हुनुहुन्‍न र?

व्यावहारिक प्रत्याशाहरू राख्नुहोस्‌

१३ जागा रहनको लागि हामीले व्यावहारिक प्रत्याशाहरू राख्नुपर्छ। जीवनमा आइपर्ने दबाबहरूले गर्दा हामी सबै कहिलेकाहीं थकित हुन्छौं। तर परमेश्‍वरले हामीलाई यस पुरानो रीतिरिवाजमा समस्यामुक्‍त जीवन कहिल्यै प्रतिज्ञा गर्नुभएको थिएन भनेर हामीले बिर्सनु हुँदैन। बाइबलकालमा पनि परमेश्‍वरका सेवकहरूले सतावट, गरिबी, निराशा र बिमारीजस्ता कठिनाइहरू भोगेका थिए।—प्रेरित ८:१; २ कोरिन्थी ८:१, २; १ थिस्सलोनिकी ५:१४; १ तिमोथी ५:२३.

१४ आज, हामीले पनि भोग्नुपर्ने समस्याहरू त छँदै छन्‌। हामीले सतावट र आर्थिक चिन्ता भोग्नुपर्ने हुन सक्छ, निराशा विरुद्ध सङ्‌घर्ष गर्नुपर्ने र बिरामी अनि अन्य तरिकामा दुःख भोग्नुपर्ने हुन सक्छ। यहोवाले हामीलाई सबै किसिमका हानिबाट चमत्कारपूर्ण ढङ्‌गमा जोगाउनुभएमा के त्यसले शैतानलाई यहोवाको आलोचना गर्ने बाटो दिंदैन र? (हितोपदेश २७:११) यहोवाले आफ्ना सेवकहरूलाई प्रलोभनको सामना गर्न र परीक्षामा पर्न दिनुहुन्छ अनि कुनै-कुनै अवस्थामा त विरोधीहरूको हातमा अकाल मृत्युसमेत भोग्न दिनुहुन्छ।—यूहन्‍ना १६:२.

१५ त्यसोभए यहोवाले कस्तो प्रतिज्ञा गर्नुभएको छ? माथि उल्लेख गरिएझैं हामी उहाँमा पूर्ण भरोसा राख्छौं भने कुनै पनि प्रलोभनको सामना गर्नुपर्दा त्यसको प्रतिरोध गर्न सक्षम बनाउने उहाँले प्रतिज्ञा गर्नुभएको छ। (हितोपदेश ३:५, ६) आफ्नो वचन, आफ्नो आत्मा र आफ्नो संगठनद्वारा उहाँले हामीलाई आध्यात्मिक तवरमा जोगाउनुहुन्छ र उहाँसितको सम्बन्ध बचाइराख्न मदत गर्नुहुन्छ। त्यो सम्बन्धलाई सुरक्षित राख्दै यदि हामी मरिहाल्यौं भने पनि हामी विजयी हुनेछौं। आफ्ना विश्‍वासी सेवकहरूलाई इनाम दिनदेखि कुनै पनि कुराले—मृत्युले समेत परमेश्‍वरलाई रोक्न सक्दैन। (हिब्रू ११:६) अनि अहिले सन्‍निकट नयाँ संसारमा यहोवाले उहाँलाई प्रेम गर्नेहरूका लागि आशिष्‌हरूका बाँकी सबै प्रतिज्ञाहरू पूरा गर्न ढिला गर्नुहुनेछैन।—भजन १४५:१६.

ती विवादहरू सम्झनुहोस्‌

१६ अन्तसम्म धीरजी हुन परमेश्‍वरले दुष्टता रहिरहन दिनुमा मुछिएका महत्त्वपूर्ण विवादहरूलाई हामीले सम्झनै पर्छ। कहिलेकाहीं हाम्रा आफ्ना समस्याहरू अत्यन्तै ठूलो पहाडरूपी देखिंदा र हामीलाई लत्तो छोडुँ जस्तो लाग्दा शैतानले यहोवाको सार्वभौमिकताको वैधानिकतालाई चुनौती दिएको छ भनेर आफैलाई सम्झाउनु बेस हुनेछ। अरूलाई ठग्न खप्पिस शैतानले परमेश्‍वरका उपासकहरूको भक्‍ति र निष्ठामाथि पनि प्रश्‍न उठाएको छ। (अय्यूब १:८-११; २:३, ४) ती विवादहरू अनि यहोवाले ती समाधान गर्न अपनाउनुभएको तरिका हाम्रो आफ्नो जीवनभन्दा कता हो कता ठूलो छ। कसरी?

१७ परमेश्‍वरले केही समयको लागि कठिनाइ रहन दिनुभएको हुँदा अरूले सत्य स्वीकार्ने मौका पाएका छन्‌। यसबारे सोच्नुहोस्‌: हामीले जीवन पाओस्‌ भनेर येशूले दुःख भोग्नुभयो। (यूहन्‍ना ३:१६) के हामी त्यसको लागि कृतज्ञ छैनौं र? तर अझ अरूले जीवन पाऊन्‌ भनेर के हामी अलिक बढी समयको लागि कठिनाइ सहन तयार छौं? अन्तसम्म धीरजी हुन यहोवाको बुद्धि हाम्रो बुद्धिभन्दा निकै श्रेष्ठ छ भनेर हामीले मानिलिनै पर्छ। (यशैया ५५:९) उहाँले सदाको लागि अनि हाम्रो अनन्त भलाइको लागि सबैभन्दा उपयुक्‍त समयमा दुष्टताको अन्त गर्नुहुनेछ। साँच्चै, योभन्दा राम्रो तरिका अरू के हुन सक्छ र? परमेश्‍वरले अन्याय गर्नुहुन्‍न!—रोमी ९:१४-२४.

“परमेश्‍वरको नजीक आओ”

१८ हाम्रो अविलम्बी भाव कायम राख्न हामी यहोवासित नजिक हुनुपर्छ। यहोवासितको हाम्रो राम्रो सम्बन्ध बिगार्न शैतानले आफ्नो बल-बर्कतले भ्याएजति सबै गरिरहेको छ भनेर कहिल्यै नबिर्सनुहोस्‌। अन्त कहिल्यै आउनेछैन र सुसमाचार प्रचार गर्नुको कुनै अर्थ छैन वा बाइबलको स्तरअनुसार जीवन बिताउनु बेकार छ भनेर हामीले विश्‍वास गरोस्‌ भन्‍ने शैतान चाहन्छ। तर त्यो “झूट र झूटको पिता हो।” (यूहन्‍ना ८:४४) हामी “शैतानको विरोध गर्न” कटिबद्ध हुनै पर्छ। यहोवासितको सम्बन्धलाई हामीले कहिल्यै हल्कासित लिनु हुँदैन। बाइबलले हामीलाई मायालु ढङ्‌गमा यस्तो आग्रह गर्छ: “परमेश्‍वरको नजीक आओ, र उहाँ तिमीहरूका नजीक आउनुहुनेछ।” (याकूब ४:७, ८) तपाईं कसरी यहोवासित अझ नजिक हुन सक्नुहुन्छ?

१९ प्रार्थनापूर्वक मनन गर्नु अत्यावश्‍यक छ। जीवनमा आइपर्ने दबाबहरू अति ठूलो देखिंदा यहोवासँग आफ्नो मनको कुरा पोख्नुहोस्‌। तपाईं जति स्पष्टसित बताउनुहुन्छ, आफ्ना बिन्तीहरूको उहाँले दिनुहुने जवाफ बुझ्न तपाईंलाई त्यति नै सजिलो हुनेछ। जवाफ सधैं तपाईंले सोच्नुभएकै जस्तो नहोला तर तपाईं उहाँको आदर गर्न र निष्ठा कायम गर्न चाहनुहुन्छ भने तपाईं ती सामना गर्न सफल होस्‌ भनेर उहाँले आवश्‍यक मदत दिनुहुनेछ। (१ यूहन्‍ना ५:१४) आफ्नो जीवनमा उहाँको निर्देशन पाउँदा तपाईं उहाँसित नजिक हुनुहुनेछ। बाइबलमा प्रकट गरिएको यहोवाका गुण तथा तौरतरिकाबारे पढेर त्यसबारे गम्भीरतापूर्वक विचार गर्नु पनि अत्यावश्‍यक छ। त्यसरी मनन गर्दा उहाँलाई अझ राम्ररी चिन्‍न मदत पाउनुहुन्छ; तपाईंको हृदयलाई झकझकाउँछ अनि उहाँप्रति तपाईंको प्रेम अझ प्रगाढ बनाउँछ। (भजन १९:१४) अनि अरू कुराभन्दा त्यो प्रेमले तपाईंलाई प्रलोभनहरूको प्रतिरोध गर्न र जागा रहन मदत गर्नेछ।—१ यूहन्‍ना ५:३.

२० यहोवासित नजिक हुन हामी आफ्ना सँगी विश्‍वासीहरूसित नजिक हुनु पनि महत्त्वपूर्ण छ। यसबारे यस पुस्तिकाको अन्तिम खण्डमा छलफल गरिनेछ।

अध्ययन प्रश्‍नहरू

• आफ्नो जीवनको अन्ततिर तीव्र दबाबको सामना गर्नुपर्दा येशूले के गर्नुभयो अनि उहाँले आफ्ना चेलाहरूलाई के गर्न आग्रह गर्नुभयो? (अनु. १-४)

• शैतानले किन यहोवाका उपासकहरूलाई आफ्नो तारो बनाएको छ अनि त्यसले हामीलाई कसरी प्रलोभनमा पार्छ? (अनु. ५-८)

• प्रलोभनको प्रतिरोध गर्न हामीले किन प्रार्थना गरिरहनै पर्छ (अनु. ९-१२), व्यावहारिक प्रत्याशाहरू राख्नुपर्छ (अनु. १३-१५), ती विवादहरू सम्झनुपर्छ (अनु. १६-१७) अनि “परमेश्‍वरसित नजीक” हुनुपर्छ (अनु. १८-२०)?

[पृष्ठ २५-मा भएको पेटी]

निराश पार्ने केही कारणहरू

स्वास्थ्य/उमेर। हामीलाई कुनै दीर्घकालीन रोग लागेको छ वा उमेर ढल्कँदै गएको कारण सीमित भएका छौं भने परमेश्‍वरको सेवामा अझ बढी गर्न नसकेकोमा हामी उदास हुन सक्छौं।—हिब्रू ६:१०.

निराशा। परमेश्‍वरको वचनको प्रचारकार्यमा हामीले गर्ने प्रयास त्यति फलदायी भएन भने हामी हतोत्साहित हुन सक्छौं।—हितोपदेश १३:१२.

बेकम्मा महसुस गर्नु। अरू कसैबाट वर्षौंसम्म दुर्व्यवहार भोग्नु परेकोले आफूलाई कसैले अनि यहोवा परमेश्‍वरले समेत माया गर्नुहुन्‍न भनेर कोही-कोही विश्‍वस्त हुन सक्छन्‌।—१ यूहन्‍ना ३:१९, २०.

चोट पुग्दा। सँगी विश्‍वासीले गर्दा कसैलाई असाध्यै चित्त दुखेको छ भने एकदमै विचलित भएर तिनी मसीही सभाहरू नै धाउन छोड्‌ने वा सेवकाईमा भाग नलिनेसम्मको प्रलोभनमा पर्न सक्छन्‌।—लूका १७:१.

सतावट। तपाईंको भन्दा बेग्लै धर्म मान्‍ने व्यक्‍तिहरूले तपाईंको विरोध गर्न, सताउन वा गिल्ला गर्न सक्छन्‌।—२ तिमोथी ३:१२; २ पत्रुस ३:३, ४.

[पृष्ठ २६-मा भएको चित्र]

प्रलोभनहरू विरुद्ध सङ्‌घर्ष गर्ने मदतको लागि येशूले हामीलाई ‘प्रार्थना गरिरहन’ आग्रह गर्नुभयो